कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

काठमाडौं:    स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु छ सयले बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार यो मूल्य स्थानीय बजारमा हालसम्मकै सबैभन्दा बढी हो ।       आइतबार प्रतितोला रु एक लाख ६५ हजारमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६५ हजार छ सय निर्धारण भएको छ ।       यस्तै, चाँदीको मूल्यमा पनि कीर्तिमान कायम भएको छ । आइतबारको तुलनामा आज चाँदी प्रतितोला रु २० वृद्धि भएको छ ।  आइतबार चाँदी प्रतितोला रु दुई हजार ७५ मा कारोबार भएको चाँदी आजका लागि भने रु दुई हजार ९५ निर्धारण भएको महासङ्घले जनाएको छ ।

काठमाडौं:   नेपाली राष्ट्रिय भलिबल टोलीका कप्तान मानबहादुर श्रेष्ठले राष्ट्रिय र अन्तर्राष्ट्रिय भलिबल खेलबाट सन्यास लिएका छन् ।       सामाजिक सञ्जालमा आज एक श्रव्यदृश्य सन्देश सार्वजनिक गर्दै कप्तान श्रेष्ठले धेरै सोच विचार गरेर राष्ट्रिय टोली र अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिएको बताउनुभयो । नेपाल भलिबल सङ्घले उहाँलाई गत वर्ष साउनमा राष्ट्रिय भलिबल टोलीको कप्तान पदमा नियुक्त गरेको थियो ।       श्रेष्ठले सन् २०१५ मा बङ्गलादेशमा सम्पन्न एभिसी सेन्ट्रल जोन भलिबल प्रतियोगिताबाट राष्ट्रिय टोलीमा ‘डेब्यू’ गरेका थिए । त्यसयता उनी निरन्तर टोलीमा थिए । श्रेष्ठले यो जिम्मेवारी नयाँ पुस्तालाई सुम्पिने समय आएका कारण आफूले सन्न्यास लिएको बताए ।       त्रिभुवन आर्मी क्लबबाट घरेलु भलिबल खेल्दै आएका २७ वर्षीय श्रेष्ठले यसअघि राष्ट्रिय बिच भलिबल टोलीको कप्तानीको भूमिका पनि निर्वाह गरेका थिए ।  नेपालले गत वर्ष उनकै कप्तानीमा १९औँ एसियाली खेलकुद प्रतियोगितामा भाग लिएको थियो । श्रेष्ठ राष्ट्रिय पुरुष भलिबल टोलीको ११औँ कप्तान हुन् ।

कैलाली:    गत बुधबार बिहान कैलालीको जानकी गाउँपालिका–६ स्थित कैलाशेश्वर सामुदायिक वनभित्र पासोमा परेको अवस्थामा चितुवा फेला प¥यो । उद्धार टोलीलाई खबर पनि गरियो । टोली आइपुग्न ६ घण्टा लाग्यो । उद्धारको केही घण्टामै चितुवाको मृत्यु भयो ।       विसं २०७८ चैत १७ गते घोडाघोडी नगरपालिका–१० तुल्सीपुर सामुदायिक वनमा पासोमा परेको चितुवाको उद्धार नहुँदै मृत्यु भएको । विसं २०७६ वैशाख १५ गते घोडाघोडी नगरपालिका–३ नारायणपुरस्थित थाह्रा र मोहन्याल सामुदायिक वनको सिमानामा चितुवा पासोमा परेको अवस्थामा फेला प¥यो ।  डिभिजन वन कार्यालय नपुरसँग उद्धार गर्ने दक्ष जनशक्ति नभएपछि बर्दिया राष्ट्रिय निकुञ्जको उद्धार टोलीलाई खबर गरियो । उद्धार टोली घटनास्थल पुग्न नपाइ चितुवाको मृत्यु भयो ।       कैलालीमा पछिल्लो केही वर्षयता पासोमा परेर विश्वकै लोपोन्मुख प्रजातिका पाटे बाघ र चितुवाको मृत्यु भइरहेको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ ।      पछिल्लो छ वर्षमा पासोमा परेर कैलालीमा दुई वटा पाटे बाघ र पाँच वटा चितुवाको मृत्यु भएको डिभिजन वन कार्यालय पहलमानपुरले जनाएको छ ।  जिल्लामा आर्थिक वर्ष २०७५/०७६ मा एउटा चितुवा, आव २०७८/७९ मा दुई चितुवा र एउटा पाटे बाघ, आव २०८०/८१ मा  एक पाटे बाघ र एक चितुवाको मृत्यु भएको छ भने चालु आवमा एक चितुवाको मृत्यु भएको छ ।      कैलालीमा भारतको दुधुवा नेशनल पार्क जोड्ने वसन्ता जैविकमार्ग र बर्दिया राष्ट्रिय निकुञ्जलाई जोड्ने कर्णाली जैविकमार्ग छन् । यी मार्गबाट बाघ, चितुवा, हात्तीलगायतका जङ्गली जनावर ओहोरदोहोर गर्ने गर्दछन् ।  यी जैविक मार्गका वरिपरि बाक्लो मानव बस्ती छ । यसका कारण पनि यी क्षेत्रमा मानव वन्यजन्तु द्वन्द्वका घटना हुने गरेको डिभिजनल वन कार्यालय पहलमानपुरका निमित्त प्रमुख सुरेन्द्र कठायतले बताउनुभयो ।       जिल्लामा वन्यजन्तु उद्धारका लागि बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोष बर्दियाको टोलीलाई बोलाइने गरिन्छ । समन्वय गरेर उद्धार टोली आइपुग्दा घण्टौँ बितिसकेको हुन्छ ।  कठायतले भन्नुभयो, “यो अवस्थामा कतिपय मरिसकेका हुन्छन् र कतिपय उद्धार भएपछि मर्छन् । यदि हाम्रै ठाउँमा उद्धार टोली भएको भए समयमा उद्धार गरी बचाउन सकिन्थ्यो ।       उद्धार टोलीसँगै उद्धार गरिसकेपछि राख्ने ठाउँ यहाँ छैन । तत्काल उद्धार गरेर ‘साइकोलोजीकल थेरापी’सँगै पालनपोषणका लागि उद्धार केन्द्र आवश्यक पर्ने सुदूरपश्चिम प्रदेश वन निर्देशनालयका निर्देशक हेमराज विष्टले बताउनुभयो ।      विष्टकाअनुसार विविधकारणले उद्धार गरिएका वन्यजन्तु निकुञ्जले राख्न मान्दैन । सुदूरपश्चिममा उद्धार टोली र उद्धार केन्द्रको आवश्यकता रहेको बताउँदै उहाले भन्नुभयो, “त्यसका लागि हामीले पहल गरिरहेका छौँ ।” पहिले निकुञ्ज क्षेत्रमा धेरै जसो वन्यजन्तुको द्वन्द्व हुने गथ्र्यो । त्यसैले निकुञ्जमा उद्धार केन्द्रहरू राखिएका छन् ।  अहिले निकुञ्ज बाहिर उद्धार टोली र उद्धार केन्द्रको आवश्यकता महसुस भएको सुदूरपश्चिम प्रदेश उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव प्रमोद भट्टराईले बताउनुभयो ।       सुदूरपश्चिममा कैलाली, कञ्चनपुरसँगै पहाडी जिल्ला बैतडी, डोटी, डडेल्धुरालगायतमा यस्ता समस्या रहेको उहाँले बताउनुभयो । उद्धार टोलीका लागि नयाँ दरबन्दी राख्नुपर्छ । भेटनरी डाक्टरलगायतका कर्मचारीको आवश्यक पर्ने गरेको बताउँदै उहाँले भन्नुभयो, “सरकारलाई यसका लागि प्रस्ताव गरेका छौँ ।  स्वीकृत भएपछि अगाडि बढ्ने छौँ ।”       शुक्लाफाँटा राष्ट्रिय निकुञ्जले बनाइ रहेको उद्धार केन्द्रमा यो वर्ष बजेट विनियोजन गरेको बताउँदै उहाँले पहाडी जिल्लाका लागि डडेलधुरामा सेन्टर राख्ने योजना बनाएको जानकारी दिनुभयो ।

गलकोट:    पछिल्लो समय यहाँ उत्पादित  छुर्पीले राम्रो बजार पाएको छ । सहकारीमार्फत सङ्कलित दूधबाट उत्पादित छुर्पीको माग उच्च छ ।  यहाँ उत्पादित छुर्पी काठमाडौँ हुँदै अमेरिका निर्यात हुने गरेको छ । बागलुङ दुग्ध उत्पादक सहकारी सङ्घमार्फत दूध सङ्कलन, प्रशोधन र बजारीकरण हुने गरेको छ ।       वार्षिक रु आठ करोडको दूध तथा दुग्धजन्य पदार्थको कारोबार गर्ने सहकारी सङ्घले आर्थिक वर्ष २०८०/८१ मा मात्रै रु. ३८ लाख ५४ हजार चार सय १० को छुर्पी अमेरिका निर्यात गरेको हो ।  दुग्ध सहकारी सङ्घ बागलुङका अध्यक्ष दिपक गौतमकाअनुसार सहकारीबाट उत्पादित दूध, दही, घ्यू, पनिर, छुर्पी र खुवामध्ये छुर्पीको माग अन्तर्राष्ट्रिय बजारमा उच्च छ । “दूध, तथा अन्य उत्पादनहरु बागलुङमै खपत भइरहेको हुन्छ, तर छुर्पीको बजार अन्तर्राष्ट्रियस्तरमा छ”, गौतमले भन्नुभयो ।        दुग्ध उत्पादक सहकारी सङ्घमा एक हजार पाँच सय किसान आबद्ध छन् । सङ्घले किसानबाट सङ्कलित दूधसहित अन्य सात प्रकारका दुग्धजन्य परिकार उत्पादन गरी बिक्री तथा वितरण गर्दै आएको छ । सङ्घले बागलुङ जिल्ला दूधमा आत्मनिर्भर बनाएको छ ।  सहकारीले गत आवमा रु सात करोड ८३ लाखको दूध, एक करोडको दही, २० लाखको घ्यू, ३२ लाखको पनिर र ८० हजारको खुवा बिक्री गरेको जनाएको छ ।        हाल सहकारी सङ्घले छुर्पी प्रतिकिलो रु एक हजार दुई सयमा बिक्री गर्दै आएको छ । सहकारीमा आबद्ध किसानले सहकारीमा आवद्ध भएपछि दूधको मूल्यमा समानता र बजारको सुनिश्चिता भएकाले हौसला मिलेको बताएका छन् ।  सहकारी सङ्घमा १६ कर्मचारीले सङ्कलित दूध बागलुङ बजारका घरघरमै लगेर बिक्री गर्ने गरेको सहकारीका लेखापाल गणेश खड्काले बताउनुभयो ।       कृषकले उत्पादन गर्ने, सहकारीले सङ्कलन गर्ने र सहकारी सङ्घले दूध प्रशोधन गरी दुग्धजन्य पदार्थ बिक्री गरेर सहकारीको असल अभ्यास गरेको राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा सहकारी अभियन्ता रामबहादुर जिसीको भनाइ छ ।  दैनिक यहाँका काठेखोला गाउँपालिका र बागलुङ नगरपालिका किसानले उत्पादन गरेको दूध खरिद गरी १४ वटा सहकारीमार्फत सङ्घले बजारीकरण गर्दै आएको छ ।

बाजुरा:    बडीमालिका नगरपालिकामा अरिङ्गालको टोकाइबाट गम्भीर घाइते एक जनाको उपचारका क्रम गएराति मृत्यु भएको छ ।  असोज २५ गते अरिङ्गालले  टोकेर घाइते सोही नगरपालिका–५ मनाका ६० वर्षीय डम्मबहादुर साउदको मृत्यु भएको हो ।  भारतको मुम्बइ सेन्टरस्थित नायर अस्पतालमा उपचारका क्रममा दश दिनपछि साउदको मृत्यु भएको आफन्त नरेन्द्र थापाले बताउनुभयो ।  असोज २५ गते घरबाट करिब आधा घण्टाको दूरिमा पर्ने पान्लोटे भन्ने ठाउँमा रहेको भैँसी गोठ(छानो) नजिकै अरिङ्गालले बनाएको घार भत्काउन खोज्दा टोकेर उहाँ गम्भीर घाइते हुनुभएको थियो ।  उपचारका लागि जिल्ला अस्पताल बाजुरा हुँदै प्रादेशिक अस्पतालमा सम्भव नभएपछि उहाँलाई भारत लगिएको थियो ।  सोही घटनामा स्थानीय  ६५ वर्षीय अङ्गे बडुवालको घटनास्थलमै मृत्यु भएको थियो । 

काठमाडौं:    नेपालले अमेरिकाविरुद्धको ३ खेलको टी– २० सिरिज क्लिन स्विप गरेको छ । तेस्रो टी–२० खेलमा सोमवार ८ विकेटको जित हात पार्दै नेपालले सिरिज क्लिन स्विप गरेको हो । नेपालले टी–२० आईमा दोस्रो पटक सिरिज क्लिन स्विप गरेको हो । यसअघि सन् २०१९ मा नेपालले मलेसियामा घरेलु टोलीविरुद्धको २ खेलको टी–२० आई सिरिज क्लिन स्विप गरेको थियो । १ सय ५७ रनको मध्यम लक्ष्य नेपालले १८.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । नेपालको जितमा आसिफ शेखले ३९ बलमा ५ चौका र २ छक्काको सहयोगमा ५० रनको अर्धशतकीय इनिङ खेले । टी–२० करियरको छैठौं अर्धशतक बनाए लगत्तैको बलमा आसिफ जायस ड्रेल्सद्वारा आउट भए । कुशल मल्लले ३० बलमा ४ चौका र १ छक्काको सहयोगमा नट आउट ४४ रन बनाए । यस सिरिजमा पहिलो पटक मौका पाएका कुशलले कुशल भुर्तेलसँग मिलेर तेस्रो विकेटका लागि नट आउट ७४ रनको साझेदारी गरे । भुर्तेलले ३२ बलमा २ चौका र १ छक्काको सहयोगमा नट आउट ४० रन जोडे । ओपनर अनिलकुमार शाह पहिलो विकेटका रुपमा १३ रन बनाउँदै जसदिप सिंहको बलमा एलबिडब्लु आउट भए । अमेरिका लागि जायस ड्रेल्स र जसदिप सिंहले समान १ विकेट लिए । त्यसअघि अमेरिकाको ग्राण्ड प्रेरीमा टस जितेर पहिले ब्याटिङ गरेको घरेलु टोलीले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ५६ रनको योगफल तयार गरेको थियो । साइतेजा मुककामल्लाले ५० बलमा ५ चौका र २ छक्काको सहयोगमा ६८ रन बनाए । मुककामल्ला अर्धशतक बनाएर सोमपाल कामीको बलमा बोल्ड आउट भए । चौथो विकेटका लागि मुककामल्ला र मिलान्ड कुमारले ७६ रनको साझेदारी गरेका थिए । कुमारले ३५ बलमा ४ चौकाको सहयोगमा नट आउट ४३ रन बनाए । आरोन जोन्स १३ रन बनाउँदै ललित राजवंशीको बलमा रिजन ढकालबाट समातिए । अमेरिका कप्तान मोनांक पटेल २ रन बनाउँदै सोमपालको बलमा एलबिडब्लु धरापमा परे । हर्मित सिंह १० रनमा नट आउट रहे । नेपालका लागि सोमपालले ३ तथा रिजन ढकाल र ललितले समान १ विकेट लिए । नेपालले अमेरिकासँगको सिरिज भने एक खेल अगावै आइतवार नै जितिसकेको छ । पहिलो टी–२० आईमा १७ रनले जित हात पारेको नेपालले दोस्रो खेल सुपर ओभरमा जितेको थियो । यस सिरिज पछि नेपाली टोलीले अमेरिका ए सँग ५० ओभरको अभ्यास खेल खेल्नेछ । कात्तिक ९ गतेबाट विश्व कप लिग टु अन्तर्गतको त्रिकोणात्मक सिरिज सुरु हुनेछ । त्रिकोणात्मक सिरिजमा घरेलु टोली अमेरिका, नेपाल र स्कटल्याण्डको सहभागिता रहनेछ ।

गोरखा:    युनाइटेड मिसन टु नेपाल नामक संस्थाले २०१३ सालमा गोरखामा खोलेको अस्पताल २०५९ सालदेखि संघ सरकार मातहत छ ।  गत वर्ष फागुनमा उक्त अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय संघ सरकारको मन्त्रिपरिषद् बैठकले गरेपनि प्रक्रिया पूरा भइसकेको छैन ।  ५० शय्यामा स्तरोन्नति गरेर संघ सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको उक्त अस्पतालको अवस्था बुझ्न गण्डकी सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक पालुङटार पुगेका छन् ।  ग्रामीण भेगमा विशेषज्ञ सेवा प्रवाह गरिरहेको अस्पतालको जनशक्ति र भौतिक पूर्वाधारको अवस्था बुझ्न मन्त्री पाठक आइतबार आँपपिपल पुगेका हुन् । ‘त्यहाँ उपकरण र भौतिक पूर्वाधारको समस्या देखिएन ।  उपकरणअनुसार जनशक्ति पनि व्यवस्थापन गरिएको रहेछ,’ उनले भने, ‘अब कर्मचारीको तलब सुविधाको समस्या हुनेजस्तो बुझियो । संघ सरकारले हस्तान्तरण गरिसकेपछि त्यो समस्या पनि समाधान हुन्छ ।’ आँपपिपल अस्पतालमा विशेषज्ञ चिकित्सकसहित ६४ जना कार्यरत छन् । तीमध्ये ३२ जनालाई संघ सरकारबाट प्राप्त अनुदानमार्फत पालुङटार नगरपालिकाले र बाँकीलाई अस्पताल व्यवस्थापन समितिले तलब सुविधा भुक्तानी गर्दै आएको छ ।  यो अस्पतालले दाँत, आँखा, हाडजोर्नी, जनरल मेडिसिन, मानसिक स्वास्थ्य, सामान्य शल्यक्रियालगायत सेवा प्रवाह गर्छ ।  आफूले प्रधानमन्त्री र संघ सरकारका स्वास्थ्यमन्त्रीलाई अस्पताल हस्तान्तरणको प्रक्रिया पूरा गरिदिन मन्त्री हुनेबित्तिकै भेटेर आग्रह गरेको मन्त्री पाठकले सुनाए ।  कार्तिकभित्र हस्तान्तरण भएमा त्यसपछि उक्त अस्पतालको सबै जिम्मा प्रदेश सरकारले लिने उनले बताए ।  ‘आँपपिपल अस्पताल प्रविधिमैत्री पनि रहेछ । त्यहाँ इलोक्ट्रोनिक मेडिकल सिस्टम छ । एकपटक आएको बिरामीले कागजात बोकेर आउनुपर्ने झन्झट नहुने बुझेँ,’ मन्त्री पाठकले भने, ‘आँपपिपल अस्पतालको निरीक्षणमा जाँदा नयाँ कुरा सिक्ने मौका मिल्यो । अरु अस्पतालमा पनि यो प्रविधि जडान गर्न पहल हुन्छ ।’  मन्त्री पाठकले आइतबार नै गोरखा जिल्ला अस्पतालको निरीक्षण गरे । ५० शय्याको उक्त अस्तपालमा नयाँ भवन रहेको र त्यहाँ एमआरआई र सीटीस्क्यान सेवा माग भएको मन्त्री पाठकले बताए ।  ‘गोरखा अस्पताल प्रदेशकै धेरै बिरामी उपचार गर्ने जिल्ला अस्पताल हो । त्यहाँको व्यवस्थापन समितिले एमआइरआई र सीटीस्क्यानको माग गर्नुभएको छ,’ उनले भने ।  माग भएका उपकरण जनशक्तिसहित व्यवस्थापन गर्न प्रदेश सरकार सकारात्मक रहेको मन्त्री पाठकले बताए ।  आफूले सार्वजनिक गरेका स्वास्थ्य सुधारका कार्यक्रम कार्यान्वयनमा तदारुकता साथ काम भइरहेको र त्यसमा सक्रिय सहयोग गर्न दुई अस्पतालका व्यवस्थापन समिति, स्वास्थ्यकर्मी, कर्मचारीलाई उनले आग्रह गरे ।   

दाङ:   कुवामा डुबेर एकजनाको मृत्यु भएको छ ।  तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडी निवासी २९ वर्षीय रजमान चौधरीको आज बिहान कुवामा डुबेर मृत्यु भएको हो ।       आफ्नै घरको कुवामा डुबेको अवस्थामा चौधरी मृत फेला परेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।  चौधरीकी भाउजु आँसी चौधरीले कुवाबाट पानी तान्ने क्रममा रजमान डुबेपछि प्रहरीलाई खबर गरेको बताउनुभयो ।  प्रहरीले निजको शव निकालेर परिवारलाई जिम्मा लगाएको छ ।  

काठमाडौं:    सरकारले उपचार खर्च गर्न बेहोर्न नसक्नेलाई जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।  आज मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले कस्मेटिकबाहेकको जलन उपचारको व्यवस्था निःशुल्क गर्ने निर्णय भएको जानकारी दिनुभयो ।       सरकारले कोशी प्रदेशमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेस प्रदेशमा नारायणी अस्पताल, बागमती प्रदेशमा कीर्तिपुर अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमार्फत निःशुल्क उपचारको व्यवस्था गरिने जनाएको हो ।      स्वास्थ्य मन्त्रालयको आकलनअनुसार नेपालमा वार्षिक ५७ हजार व्यक्तिहरु जलनबाट प्रभावित हुने गरेका छन् ।  हालसम्म जलनको उपचार कीर्तिपुर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र सुस्मा मेमोरियल अस्पतालमा हुँदै आएको छ ।  वीर अस्पतालले लामो समयदेखि बन्द रहेको बर्न युनिट यही भदौदेखि सञ्चालनमा ल्याइसकेको छ ।