आँपपिपल र गोरखा अस्पतालमा स्वास्थ्यमन्त्री

गोरखा | कात्तिक ५, २०८१

आँपपिपल र गोरखा अस्पतालमा स्वास्थ्यमन्त्री

गोरखा:    युनाइटेड मिसन टु नेपाल नामक संस्थाले २०१३ सालमा गोरखामा खोलेको अस्पताल २०५९ सालदेखि संघ सरकार मातहत छ । 


गत वर्ष फागुनमा उक्त अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय संघ सरकारको मन्त्रिपरिषद् बैठकले गरेपनि प्रक्रिया पूरा भइसकेको छैन । 


५० शय्यामा स्तरोन्नति गरेर संघ सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको उक्त अस्पतालको अवस्था बुझ्न गण्डकी सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक पालुङटार पुगेका छन् । 


ग्रामीण भेगमा विशेषज्ञ सेवा प्रवाह गरिरहेको अस्पतालको जनशक्ति र भौतिक पूर्वाधारको अवस्था बुझ्न मन्त्री पाठक आइतबार आँपपिपल पुगेका हुन् । ‘त्यहाँ उपकरण र भौतिक पूर्वाधारको समस्या देखिएन । 


उपकरणअनुसार जनशक्ति पनि व्यवस्थापन गरिएको रहेछ,’ उनले भने, ‘अब कर्मचारीको तलब सुविधाको समस्या हुनेजस्तो बुझियो । संघ सरकारले हस्तान्तरण गरिसकेपछि त्यो समस्या पनि समाधान हुन्छ ।’


आँपपिपल अस्पतालमा विशेषज्ञ चिकित्सकसहित ६४ जना कार्यरत छन् । तीमध्ये ३२ जनालाई संघ सरकारबाट प्राप्त अनुदानमार्फत पालुङटार नगरपालिकाले र बाँकीलाई अस्पताल व्यवस्थापन समितिले तलब सुविधा भुक्तानी गर्दै आएको छ । 


यो अस्पतालले दाँत, आँखा, हाडजोर्नी, जनरल मेडिसिन, मानसिक स्वास्थ्य, सामान्य शल्यक्रियालगायत सेवा प्रवाह गर्छ । 


आफूले प्रधानमन्त्री र संघ सरकारका स्वास्थ्यमन्त्रीलाई अस्पताल हस्तान्तरणको प्रक्रिया पूरा गरिदिन मन्त्री हुनेबित्तिकै भेटेर आग्रह गरेको मन्त्री पाठकले सुनाए । 


कार्तिकभित्र हस्तान्तरण भएमा त्यसपछि उक्त अस्पतालको सबै जिम्मा प्रदेश सरकारले लिने उनले बताए । 


‘आँपपिपल अस्पताल प्रविधिमैत्री पनि रहेछ । त्यहाँ इलोक्ट्रोनिक मेडिकल सिस्टम छ । एकपटक आएको बिरामीले कागजात बोकेर आउनुपर्ने झन्झट नहुने बुझेँ,’ मन्त्री पाठकले भने, ‘आँपपिपल अस्पतालको निरीक्षणमा जाँदा नयाँ कुरा सिक्ने मौका मिल्यो । अरु अस्पतालमा पनि यो प्रविधि जडान गर्न पहल हुन्छ ।’ 


मन्त्री पाठकले आइतबार नै गोरखा जिल्ला अस्पतालको निरीक्षण गरे । ५० शय्याको उक्त अस्तपालमा नयाँ भवन रहेको र त्यहाँ एमआरआई र सीटीस्क्यान सेवा माग भएको मन्त्री पाठकले बताए । 


‘गोरखा अस्पताल प्रदेशकै धेरै बिरामी उपचार गर्ने जिल्ला अस्पताल हो । त्यहाँको व्यवस्थापन समितिले एमआइरआई र सीटीस्क्यानको माग गर्नुभएको छ,’ उनले भने । 


माग भएका उपकरण जनशक्तिसहित व्यवस्थापन गर्न प्रदेश सरकार सकारात्मक रहेको मन्त्री पाठकले बताए । 


आफूले सार्वजनिक गरेका स्वास्थ्य सुधारका कार्यक्रम कार्यान्वयनमा तदारुकता साथ काम भइरहेको र त्यसमा सक्रिय सहयोग गर्न दुई अस्पतालका व्यवस्थापन समिति, स्वास्थ्यकर्मी, कर्मचारीलाई उनले आग्रह गरे । 
 

काठमाडौं:    सरकारले हालैको बाढीपहिरो र डुबानमा परी ज्यान गुमाएका परिवारका निकटका नातेदारलाई आर्थिक सहायता प्रदान गरेको छ ।       सरकारले प्रतिमृतक रु दुई लाख प्रदान गर...

थप पढ्नुहोस्

म्याग्दी:    चक्रीय अन्नपूर्ण पदमार्गअन्तर्गत पर्ने म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रसिद्ध पर्यटकीयस्थल घोडेपानी र पुनहिलमा दसैँपछि आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढेको छ ।   ...

थप पढ्नुहोस्

पोखरा:    गण्डकी प्रदेशसभाको अर्थ तथा विकास समितिको आज सम्पन्न बैठकमा गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक लगायतका विषयमा छलफल गरिएको छ...

थप पढ्नुहोस्