कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

पोखरा:    आठ हजार मिटरभन्दा बढी उचाइका १४ वटा हिमाल सफल आरोहण गर्नुभएका आरोही तेजन गुरुङलाई गुरुङ पर्यटन व्यवसायी सङ्घ (जिटिन) गण्डकी प्रदेशले पोखरामा सम्मान गरेको छ ।      उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशको समन्वय र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा आयोजित एक कार्यक्रमबीच गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, जिटिन गण्डकीका अध्यक्ष किसमकुुमारी गुरुङ, कार्यक्रम संयोजक एवं जिटिन गण्डकीका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङलगायतले संयुक्त रुपमा आरोही गुरुङलाई सम्मान गर्नुभएको हो ।      कार्यक्रममा मन्त्री बस्यालले गण्डकी प्रदेश पर्वतीय पर्यटनका धेरै सम्भावना बोकेको प्रदेश भएको बताउँदै यसको प्रवद्र्धन र विकासमा सबैको सामूहिक प्रयास आवश्यक हुने बताउनुभयो ।  कार्यक्रम संयोजक एवं जिटिन गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले तेजनले गर्नुुभएको १४ वटा हिमालको आरोहण गण्डकी प्रदेशको मात्र नभई समग्र राष्ट्रको गौैरव भएको बताउनुभयो ।      गण्डकी पदयात्रा र पर्वतीय पर्यटनमा धेरै सम्भावनायुक्त प्रदेश भएको बताउँदै उहाँले अन्नपूर्ण चक्रीय पदमार्ग २१ दिनबाट छोटिएर पाँच÷छ दिनमा सीमित भएको वास्तविकतामा जिटिन गण्डकी प्रदेशले हालै कास्कीको ताङतिङदेखि मनाङको तिमाङसम्मको गुरुङ सम्पदा पदमार्गको प्रवद्र्धन गरेको जानकारी गराउनुभयो । चार दिनदेखि १४ दिन समयावधिको गुरुङ सम्पदा पदमार्गलाई अन्नपूर्ण चक्रीय पदमार्गसँग जोड्न सकिने उहाँले बताउनुभयो ।      जिटिन गण्डकी प्रदेशका अध्यक्ष किसमकुुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जिटिन गण्डकीका महासचिव तुल गुरुङ, सम्मानित व्यक्तित्व तेजन गुुरुङ, नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी सदस्य गणेशबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का उपाध्यक्ष चौबहादुुर गुरुङ, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुन्दन मिश्र, पोखरा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष बलराम आचार्यलगायतले नेपालको पर्वतीय पर्यटनका सम्भावनाको खोजी गर्नुपर्नेमा जोड दिनुभयो ।      कार्यक्रमअघि आरोही गुरुङलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पृथ्वीचोक, हल्लनचोक हुँदै कार्यक्रमस्थलसम्म बाजागाजाका साथ नगर परिक्रमा गराइएको थियो ।  गुरुङले विभिन्न मितिमा आठ हजार मिटरभन्दा बढी उचाइका सगरमाथा, ल्होत्से, अन्नपूर्ण, मकालुु, कन्चनजङ्घा, नान्गा पर्वत, जी टू, जी वान, बोर्ड पिक, के टू, मनास्लु, धौलागिरि, चोयु, शिसापन्ज्म हिमालहरू आरोहण गर्नुभएको थियो । कार्यक्रममा अर्का आरोही मिङ्मा शेर्पालाई पनि सम्मान गरिएको थियो । 

काठमाडौं:    अमेरिकामा जारी टि ट्वान्टी आई सिरिजको दोस्रो खेलमा घरेलु टोलीलाई पराजित गर्दै नेपालले ३ खेलको सिरिज एक खेल अघि जितेको छ । आइतवार बिहान भएको दोस्रो टि ट्वान्टी आईमा नेपालले अमेरिकालाई सुपर ओभरमा पुगेर हराएको हो । जितसँगै नेपालले सिरिजमा एक खेल अगावै २(० ले जितेको हो । नेपालले २ राष्ट्र सम्मिलित टि२० सिरिज चौथो पटक जितेको हो । यसअघि नेपालले मलेसिया, युएई र केन्यालाई सिरिजमा पराजित गरेको थियो । डालसस्थित ग्राण्ड प्रेरीमा १ सय ७१ रनको लक्ष्य अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७० रन बनाएपछि खेल सुपर ओभरमा पुगेको थियो । अन्तिम ओभरमा जितका लागि ७ रन आवश्यक पर्दा सोमपालले ६ रन मात्र खर्चेका थिए । अन्तिम बलमा २ रन आवश्यक पर्दा अमेरिकाले दोस्रो रन लिने क्रममा रनआउटमा विकेट गुमाएपछि खेल सुपर ओभरमा पुगेको थियो । सुपर ओभरमा अमेरिका पहिले ब्याटिङमा आएको थियो । अमेरिकाका आन्द्रेस गौस र सायन जाहान्गिर ब्याटिङमा आएका थिए । नेपालको तर्फबाट बलिङको जिम्मेवारी सोमपाल पाएका थिए । सुपर ओभरको पहिलो र दोस्रो बलमा समान १ रन लिएको अमेरिकाकाले त्यसपछि लगातार २ विकेट गुमायो । तेस्रो बलमा जाहान्गिर बोल्ड भए र चौथो बलमा आरोन जोन्स क्याच आउट भए । सुपर ओभरमा ३ रनको सामान्य लक्ष्य साथ नेपालका कप्तान रोहितकुमार पौडेल र कुशल भुर्तेल क्रिजमा आएका थिए । अमेरिकाका लागि सौरभ नेत्राभाल्कर बलिङ गरेका थिए । पहिलो बलमा रोहितले १ रन लिएका थिए । दोस्रो बलमा कुशलले १ रन जोडेका थिए । तेस्रो रोहितले रन जोडेनन् । चौथो बलमा रोहितले १ रन लिएपछि नेपालले खेल मात्र नभई सिरिज नै जितेको थियो । त्यसअघि लक्ष्य पछ्याउने क्रममा अमेरिकाका लागि आन्द्रेस गौसले ४३ बलमा ६२ रनको अर्धशतकीय इनिङ खेले । खेल जिताउन ३ रन मात्र आवश्यक रहेको अवस्थामा लामो सट खेल्दै खेल समाप्त गर्ने चक्करमा उनी सोमपालको बलमा बाउन्ड्रि नजिकै कुशलबाट समातिएका थिए। दोस्रो विकेटका लागि गौस र साई तेजा मुककामल्लाबीचको शतकीय साझेदारी भएको थियो । यो शतकीय साझेदारी नेपाली बलर दीपेन्द्र सिंह ऐरीले तोडेका थिए । दीपेन्द्रले ४१ बलमा ४७ रन बनाएका मुककामल्लालाई आउटसँगै साझेदारी तोडिएको थियो । उनीहरुबीचमा दोस्रो विकेटका लागि १ सय ४ रनको साझेदारी भएको थियो । मुककामल्ला ४१ बलमा ४७ रन बनाउदै बाउन्ड्रिमा कुशलबाट क्याच भएका थिए। मिलान्ड कुमार ११ बलमा १५ रन बनाउँदै करण केसीको बलमा आउट भए । जाहान्गिर १४ रन बनाउँदै सागर ढकालको बलमा आउट भए । नेपालका लागि करणले ३, सोमपालले २ तथा सागर र दीपेन्द्रले समान १ विकेट लिएका थिए। त्यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रनको योगफल तयार गरेको थियो । नेपालका लागि कुशलले ५४ बलमा नट आउट रहँदै सर्वाधिक ९२ रन बनाएका थिए। उनले ५४ बलमा ७ चौका र ६ छक्का प्रहार गरेका थिए । कुशलले आफ्नो नवौं टि ट्वान्टी अर्धशतक ३३ बलमा पूरा गरेका थिए । कुशलले सन् २०२४ मार्चमा पपुवा न्युगिनीविरुद्धपछि पहिलो पटक टि ट्वान्टी आईमा अर्धशतक प्रहार गरेका हुन् । कुशलले यसअघि नेदरल्यान्ड्सविरुद्ध ३ तथा मलेसिया, सिंगापुर, ओमान र युएईसँग समान १ अर्धशतक प्रहार गरेका थिए । ओपनर अनिलकुमार शाह ३१ बलमा २५ रन बनाउँदै नोस्तुश केन्जिकेबाट कट एण्ड बोल्ड भएका थिए । अनिलले २ चौका र १ छक्का प्रहार गरेका थिए । गुलशन झा १२ बलमा १९ रन बनाउँदै नोस्तुश केन्जिकेको बलमा कप्तान मोनांक पटेलबाट समातिएका थिए। कप्तान रोहित १४ बलमा १८ रन बनाउँदै अमेरिकाका कप्तान पटेलबाट समातिएका थिए । करण १ बलमा ६ रन बनाउँदै नट आउट रहेका थिए । अमेरिकाका लागि नोस्तुश केन्जिके र जसदिप सिंहले समान २ तथा सौरभ नेत्राभाल्करले १ विकेट लिए । तेस्रो तथा अन्तिम टि ट्वान्टी आई सोमवार बिहान हुनेछ ।

काठमाडौं:    पर्यटन व्यवसायी वसन्तराज मिश्रको उपचारका क्रममा ७२ वर्षको उमेरमा निधन भएको छ ।  मिश्र केही दिनअघि डेङ्गी लागेर नर्भिक अस्पताल भर्ना हुनुभएको थियो ।  मिश्रको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि कुपण्डोलस्थित निवासमा दुई घण्टा राखिने र दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।  मुलुकको पर्यटन विकासका खातिर टेम्पल टाइगर ग्रुपका अध्यक्ष मिश्रले पाँच दशकभन्दा लामो समय योगदान गर्नुभएको थियो । मिश्रका श्रीमती र एक छोरा हुनुहुन्छ ।

काठमाडौं:     हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जनाएको छ ।  कोशी, मधेश, बागमती र कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।  आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने छ ।   कोशी, मधेश, बागमती प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागका अनुसार आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीलगायत बाँकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम  सफा रहने छ ।   कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

म्याग्दी:     म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ फलातेमा चियाखेतीको परीक्षण सफल भएको छ । स्थानीय केशबहादुर गौचनले समुद्र सतहबाट दुई हजार चार सय ७० मिटर उचाइमा रहेको फलातेमा गर्नुभएको चियाखेती सफल भएको हो ।  “कृषि अनुसन्धान परिषद् (नार्क)बाट विज्ञ र माटो विज्ञ ल्याएर अध्ययन गरेर हाइअल्टिच्युडमा परीक्षणका लागि धनकुटाको पाख्रीबासबाट चियाका बिरुवा ल्याएर रोपेको थिएँ”, गौचनले भन्नुभयो, “परीक्षणका लागि गरेको चियाखेती सफल भएको छ ।” परीक्षण खेती सफल भएपछि फलाते आसपासका बाँझो पाखा जमिनमा चियाखेती गरेर किसानले आम्दानी गर्न सक्ने गौचनले बताउनुभयो । आफन्त र बजारमा कोशेलीका रूपमा पठाउनुका साथै म्याग्दीको पर्यटकीय घोडेपानी, शिख, घारका होटलमा फलातेको चिया प्रयोग हुन थालेको छ ।  विषादी र रासायनिक मलको प्रयोग नगरी उत्पादन गरिएको चियालाई ‘बल्याक टी’ नाम दिइएको छ । स्वाद र गुणस्तर राम्रो भएकाले फलातेको चियाले स्थानीय उपभोक्ताको मन जित्न थालेको छ । वार्षिक ५० किलोग्रामसम्म चिया उत्पादन हुने गरेको गौचनले बताउनुभयो । काठमाडाँैमा व्यवसाय गर्दै आएका गौचनले पुख्र्यौली जन्मथलोमा खेर गएको बारीमा चियाखेतीसँगै दातेओखर पनि लगाउनुभएको छ । चिया बगानको रेखदेख भने ८२ वर्षीया आमा रनदेवी गौचनले गर्नुहुन्छ । रनदेवीसँगै अन्य दुई जना स्थानीय कामदारले रेखदेख, चिया टिप्ने, सुकाउने र प्रशोधन गर्दै आएका छन् ।  छ रोपनी क्षेत्रफलमा चियाखेती गर्न रु २० लाख लगानी भएको रनदेवीले बताउनुभयो । “अन्नपूर्ण चक्रीय पदमार्गको घोडेपानी–भुरुङ्ग तातोपानी पदमार्गमा यात्रा गर्ने पर्यटक पनि चिया बगान हेर्नका लागि आउँछन्”, उहाँले भन्नुभयो, “पाहुना र पर्यटकलाई आफ्नै बगानको चिया पकाएर खुवाउने गरेकी छु ।”  फलातेअघि अन्नपूर्ण गाउँपालिका–६ खिवाङको पाखामा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना ९एक्याप०मार्फत चियाखेती भए पनि रेखदेख र संरक्षण नहुँदा बगान मासिएको थियो । मालिका गाउँपालिका–३ किनेतीस्थित वडा कार्यालय पसिरको सार्वजनिक पाखोमा पनि परीक्षणका लागि गत वर्ष चियाखेती भएको छ ।  म्याग्दीका अन्य ठाउँमा व्यावसायिक रूपमा चियाखेती भएको छैन । फलातेको चिया बगानको अवलोकन गर्न पुग्नुभएका अन्नपूर्ण गाउँपालिका–६ का वडाध्यक्ष रामबहादुर खड्काले स्वाद, गुणस्तरका हिसाबले व्यावसायिक चियाखेतीको सम्भावना देखिएको बताउनुभयो ।  चियाखेतीको माध्यमबाट बाँझिएका खेतीयोग्य जमिनलाई सदुपयोग, रोजगारी र आयआर्जनको अवसर सिर्जनाका साथै पर्यटन प्रवर्द्धन गर्न सकिने उहाँले बताउनुभयो ।

सप्तरी:     कञ्चनरुप नगरपालिका बरमझियामा आज बिहान बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छभने २६ जना घाइते भएका छन् ।  कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी आठ जना गम्भीर घाइते भएका छन् ।  उनीहरूलाई  उपचारका लागि विराटनगर पठाइएको छ ।  घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा  भइरहेको छ । दुर्घटनामा उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको हो । उदयपुरको गाईघाटबाट काँकडभिट्टा गइरहेको बस विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको हो ।

काठमाडौं:     नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा कायम भएको छ ।        युरोपियन यूरो एकको खरिददर एक सय ४५ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ४६ रुपैयाँ १९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ०७ पैसा र बिक्रीदर एक सय ७५ रुपैयाँ ८५ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रुपैयाँ ९७ पैसा र बिक्रीदर एक सय ५५ रुपैयाँ ६६ पैसा कायम गरिएको छ ।        अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ०५ पैसा र बिक्रीदर ९० रुपैयाँ ४६ पैसा, क्यानेडियन डलर एकको खरिदद र ९७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय दुर्ई रुपैयाँ २७ पैसा र बिक्रीदर एक सय दुई रुपैयाँ ७३ पैसा निर्धारण गरिएको छ ।        जापानी येन १० को खरिददर आठ रुपैयाँ ९५ पैसा र बिक्रीदर आठ रुपैयाँ ९९ पैसा, चिनियाँ युआन एकको खरिददर १८ रुपैयाँ ८९ पैसा र बिक्रीदर १८ रुपैयाँ ९८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७३ पैसा र बिक्रीदर ३५ रुपैयाँ ९७ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ८१ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९७ पैसा कायम भएको छ ।        केन्द्रीय बैङ्कका अनुसार थाई भाट एकको खरिददर चार रुपैयाँ ०५ पैसा र बिक्रीदर चार रुपैयाँ ०६ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५४ पैसा र बिक्रीदर ३६ रुपैयाँ ७० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ १८ पैसा र बिक्रीदर ३१ रुपैयाँ ३२ पैसा, साउथ कोरियन वन एक सयको खरिददर नौ रुपैयाँ ७८ पैसा र बिक्रीदर नौ रुपैयाँ ८३ पैसा, स्विडिस क्रोनर एकको खरिददर १२ रुपैयाँ ७५ पैसा र बिक्रीदर १२ रुपैयाँ ८१ पैसा तथा डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ५२ पैसा र बिक्रीदर १९ रुपैयाँ ७० पैसा तोकिएको छ ।        राष्ट्र बैङ्कले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३७ रुपैयाँ ९४ पैसा र बिक्रीदर चार सय ३९ रुपैयाँ ८९ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ९८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ५७ पैसा तथा भारतीय रुपैयाँ एक सयको  खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ ।        राष्ट्र बैङ्कले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैङ्कले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैङ्कको वेबसाइटमा उपलब्ध हुने बताइएको छ । 

तनहुँ:     निर्माणाधीन एक सय ४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको ५८ दशमलव एक प्रतिशत प्रगति भएको छ ।  तीन ‘प्याकेज’मा काम जारी छभने ५२ दशमलव शून्य सात प्रतिशत वित्तीय प्रगति भएको छ ।  आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार प्याकेज–१ अन्तर्गत बाँधलगायत संरचना निर्माणमा ३५ प्रतिशत प्रगति भएको छ ।  प्याकेज–२ अन्तर्गत विद्युत्गृह निर्माणमा ५९ प्रतिशत प्रगति भएको छ ।  प्याकेज–३ अन्तर्गत प्रसारण लाइन निर्माणमा ७३ दशमलव पाँच प्रतिशत काम पूरुा भएको छ । आयोजना २०८३ असारभित्र सम्पन्न गर्ने लक्ष्य छ । प्याकेज–१ अन्तर्गत बाँध निर्माण जारी छभने सुरुङ, विद्युत्गृह निर्माणका साथै हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालनलगायत प्याकेज–२ को काम पनि भइरहेको छ ।  प्याकेज–३ अन्तर्गत दमौलीबाट चितवनको भरतपुरसम्म दुई सय २० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण भारतको केइसी इन्टरनेशनलले गरिरहेको छ । 

गलकोट:    बागलुङ नगरपालिका–१ रामरेखा खनियाबासस्थित माझी बस्तीमा लिफ्ट खानेपानी आयोजना बनेको तीन वर्ष भयो । तीन वर्षदेखि घरघरमा खानेपानीका धारा बने पनि पानी आएको छैन ।   बर्खामा जेनतेन पानीको गुजारा चले पनि हिउँदमा खानेपानीको चरम अभाव भोग्दै आएका छन् । सीमान्तकृत माझी समुदायको खानेपानीको अभाव टार्न तीन वर्षअघि रु ३० लाख खर्चेर खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले लिफ्ट खानेपानी आयोजना सम्पन्न गरेको थियो ।  आयोजनाको पूर्वाधार निर्माणपछि एकपटक धारामा बालुवासहितको पानी आएको र त्यसपछि पानी आउन बन्द भएको स्थानीय गमिला माझीले बताउनुभयो । उहाँले तीन वर्षदेखि दैलोको धारामा पानी नआएको बताउनुभयो । विसं २०४८ मा बागलुङ–पोखरा सडकखण्ड विस्तारका क्रममा विस्थापित माझी समुदायलाई २० वर्ष बाङ्गेचौर खेलमैदानमा राखियो । बागलुङ नगरपालिकाको पहलमा बागलुङ नगरपालिका–१ रामरेखास्थित कालीगण्डकी किनारामा छ वर्षअघिमात्रै जग्गा खरिद गरेर नयाँ घर व्यवस्थापन गरिएको थियो । त्यसपछि खानेपानीको समस्या समाधानका लागि आयोजना सम्पन्न भए पनि पानी आउन नसकेको हो । सत्र घरपरिवार रहेको माझी बस्तीमा अहिले नाङ्लीबाङबाट ल्याइएको पानीको एउटा अस्थायी धारामात्रै रहेको छ ।  उक्त धारामा पानी नआए कालीगण्डकीको पानीको भर पर्नुपर्ने बाध्यता रहेको गमिलीको भनाइ छ । नमूना बस्तीमा एक घर एक धारा वितरणका लागि खानेपानी आयोजना तीन वर्षअघि नै सकिएको, ट्याङ्की र धारालगायत पूर्वाधार निर्माण भइसके पनि पानी नआएको स्थानीय लक्ष्मी माझीले बताउनुभयो । सत्र घरको बाहिर धारा बने पनि उक्त धारा अहिले प्रयोगविहीन बनेका छन् । “घरअघि चिटिक्क धारा बनेको तीन वर्ष भइसक्यो तर धारामा पानी खस्दैन, यो लिफ्ट आयोजना भरपर्दोरैनछ, एक पटक कालीगण्डकीको लेदोसहितको पानी धारामा आएको थियो, त्यसपछि पानी आएको थाहा छैन”, लक्ष्मीले भन्नुभयो, “अहिले वैकल्पिक रुपमा नाङ्लीवाङको पानी खान्छौँ, एउटा पाइपमा आएको पानी १७ घरमा पुर्याउन मुस्किल छ, हिउँदमा त खानेपानीको साह्रै समस्या हुन्छ ।” उपभोक्ता समिति, वडा कार्यालय र खानेपानी तथा सरसफाइ कार्यालयको समन्वय अभावमा योजना सम्पन्न भए पनि पानी आउन नसकेको हो ।  एक घर एक धारा पुर्याउने माझी बस्ती खानेपानी आयोजना निर्माण गर्न झण्डै रु ३० लाख खर्च भइसकेको छ । माझी समुदायले दैलोमा खानेपानीको धारा बनेको तीन वर्ष बित्दा पनि खानेपानी नआएको दुःखेसो गरेका छन् । कालीगण्डकी किनाराको खानेपानीलाई लिफ्टमार्फत करिब पाँच सय मिटरमाथि तानेपछि एकीकृत बस्तीमा खानेपानी वितरण गर्ने योजना सम्पन्न भए पनि पानी आउन नसकेको हो ।  खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बागलुङका प्रमुख किरण पौडेलले आयोजना सम्पन्न भएर सफल भएपछि स्थानीयलाई हस्तान्तरण गरिएको बताउनुभयो । स्थानीयले पानी नआएको विषयमा कार्यालयमा जानकारी नगराएकोे बताउँदै प्राविधिक पठाएर खानेपानी सञ्चालन गर्ने जानकारी दिनुभयो ।  उहाँले यस विषयमा बुझ्न आयोजनास्थलमा प्राविधिक पठाउने र मर्मतसम्भार गरेर आयोजनामार्फत पानी सञ्चालन गर्ने बताउनुभयो ।  उहाँले माझी समुदालये लिफ्टमार्फत पानी तान्दा खर्चिलो भएको गुनासो गरेको बताउनुभयो ।