काठमाडौं: नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड र ट्रङ्कलाइनबाट विद्युत् आपूर्ति लिएका उपभोक्तालाई आगामी मङ्सिर १२ गतेभित्र बक्यौता रकम बुझाउन आग्रह गरेको छ । प्राधिकरणले आज १ सूचना जारी गर्दै बक्यौता रकम बुझाउन बाँकी रहेका उद्योगलाई तोकेको समयभित्र बक्यौता रकम बुझाउन आग्रह गरेको हो । मन्त्रिपरिषद् बैठक र सञ्चालक समिति बैठकको निर्णयअनुसार नै १५ दिनभित्र बक्यौता तिरिसक्न प्राधिकरणले उपभोक्तालाई आग्रह गरेको हो । “वितरण केन्द्रहरूबाट सम्बन्धित उद्योगको २०७२ माघदेखि २०७५ वैशाखसम्म टिओडी मिटरमा रेकर्ड भएको डिमान्ड तथा टी–वान, टि–टु र टि–थ्री टाइम इन्टरभलमा रेकर्ड भएको खपत इनर्जीको आधारमा गणना गरिएको छुट बिल प्राप्त गर्नुभएको, अतः उक्त बिल अनुसारको बक्यौता महसुल १५ दिन अर्थात २०८१ मङ्सिर १२ गतेभित्र सम्बन्धित वितरण केन्द्रमा बुझाउनुहुन अनुरोध गरिन्छ,” प्राधिकरणद्वारा जारी सूचनामा भनिएको छ । तोकिएको समयमा बक्यौता महसुल भुक्तानी नभएमा नियमानुसार कारबाही गरिने प्राधिकरणले जनाएको छ ।
काठमाडौं: अमेरिकी राष्ट्रपति जो बाइडेनले ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपतीय निर्वाचनबाट हालै नयाँ कार्यकालका लागि पुनरागमन गर्नुभएका रिपब्लिकन नेता डोनाल्ड ट्रम्पसँग भेटवार्ता गर्नुभएको छ । स्मरण रहोस्, राष्ट्रपति निर्वाचित ट्रम्फले चार वर्षअघि जो बाइडेनको विजयलाई अस्वीकार गर्दै शिष्टाचार भेट गर्ने र राष्ट्रपति निर्वाचित व्यक्तिलाई ह्वाइट हाउसमा स्वागत गर्ने र बधाई तथा शुभकामना दिने अमेरिकी परम्परालाई तोड्नुभएको थियो । बाइडेनले आफ्ना कटु प्रतिद्वन्द्वीलाई नयाँ कार्यकालका लागि ह्वाइट हाउसमा उपस्थित हुने र भेटवार्ता गर्ने निम्तो दिएर शिष्टताको प्रदर्शन गर्नुभएको छ । ट्रम्पको यो भ्रमण उहाँलाई अमेरिकी कङ्ग्रेसको पूर्ण नियन्त्रण प्रदान गर्नका लागि हाउस अफ रिप्रेजेन्टेटिभ्समा रिपब्लिकनहरूलाई बहुमत प्राप्त दल घोषणा गरिएको र उहाँले महान्यायाधिवक्ताको रूपमा फायरब्रान्ड म्याट गेट्जसहित आफ्नो शीर्ष टोलीको लागि केही प्रमुख नियुक्तिहरूको घोषणा गरिएको समयमा भएको हो । अमेरिकी राष्ट्रपति बाइडेन र आगामी फेब्रुअरी २० मा अमेरिकी नेतृत्वमा पुनरागमन गर्न लागेका नवनिर्वाचित राष्ट्रपति ट्रम्पले ओभल अफिसमा न्यानो आगोको अगाडि हात मिलाउँदै भेटवार्ता शुरू भएको थियो । ट्रम्पले सन् २०२० मा बाइडेनसँग आफ्नो हारलाई मान्यता दिन अस्वीकार गरेपछि तोडेको परम्परालाई पुनः स्थापित गर्दै बाइडेनले भन्नुभयो, “स्वागत छ ।” गत जुलाईमा चुनावबाट बाहिरिएका तर गत साता कमला ह्यारिस ट्रम्पसँग पराजित भएको देखेका एकासी वर्षीय बाइडेनले ७८ वर्षीय ट्रम्प लोकतन्त्रका लागि खतरा भएको संज्ञा पटक–पटक दिनुभएको थियो तर भेटमा मिठो स्वरमा शान्तिपूर्णरूपमा सत्ता हस्तान्तरण गर्ने प्रतिवद्धता जनाउनुभएको थियो । दुई नेताले हात मिलाउँदा बाइडेनले तलतिर हेर्नुभएको थियो भने भने ट्रम्पले अगाडि झुकेर बाइडेनको आँखामा नियाल्नुभएको थियो । बाइडेनसँगको निर्वाचनमा ट्रम्पले हार अस्वीकार गरेपछि सन् २०२१ मा अमेरिकी संसद भवनमा उहाँका समर्थकले आक्रमण गरेका थिए । रिपब्लिकन नेता ट्रम्पले यस वर्ष आक्रोशक र विभाजनकारी चुनावी अभियान चलाउनुभएको थियो ।
पर्वत: सुन्तला खेतीको लागि पकेट क्षेत्र मानिएका यहाँको मोदी गाउँपालिका–२ देउपुर, फलेवास नगरपालिका–१० कुर्घा, वडा नं ११ पाङराङ र दक्षिण पर्वतको पैँयू गाउँपालिका–३ त्रिवेणीमा १ सातादेखि औँसा कीराको प्रकोप फैलिएको छ । पाक्ने बेलाको सुन्तलामा औंसा कीराको प्रकोपले सुन्तला झर्ने र हाँगा सुक्न थालेपछि किसान चिन्तित बनेका छन् । देउपुरका किसान भूमिराज शर्माले असिना र खडेरीबाट जोगिएको सुन्तला बिक्री गरेर केही आम्दानी गर्ने बेलामा कीराको प्रकोपले क्षति पुगेको बताउनुभयो । देउपुरमा मात्रै तीन सय बढी किसानले व्यावसायिक सुन्तला खेती गर्दै आएका छन् । यो गाउँबाट गत वर्ष रु पाँच करोडको सुन्तला बिक्री भएको स्थानीय माछापुच्छ सुन्तला उत्पादक समूहका अध्यक्ष दाताराम चापागाईले जानकारी दिनुभयो । उहाँका अनुसार यसवर्ष ५० प्रतिशत बढी बोटमा प्रकोप फैलिसकेको छ । गत वर्ष पनि यस्तै समस्या भएपछि कृषि ज्ञान केन्द्रले अभियानकै रुपमा तालिम र विषादी वितरण गरेको थियो । अर्का किसान लालु चापागाईले कीरा लागेर धमाधम सुन्तला नष्ट भएको बताउनुभयो । पर्वतमा उत्पादित सुन्तला पोखरा, काठमाडौं, नारायणगढ र बुटबलसम्म बिक्रीका लागि लगिन्छ । यसवर्ष अहिलेसम्म व्यापारी आइपुगेका छैनन् । कृषि ज्ञान केन्द्रले देउपुरलगायत विभिन्न स्थानमा औँसा कीराको प्रकोप देखिएको जनाएको छ । केन्द्रका बाली संरक्षण अधिकृत शङ्कर पौडेलले सुन्तलाका पकेट क्षेत्रमा सुन्तला झर्ने र हाँगा सुक्ने समस्या देखिएको बताउनुभयो । “मुख्य गरी सुन्तला झर्ने समस्या फलमा आउने औंसा कीराको कारणले हो,” उहाँँले भन्नुभयो, “अघिल्लो वर्ष अभियानकै रूपमा तालिम र विषादी बाँडिएको थियो ।अघिल्लो पटक बाँडिएको विषादी सही रूपमा प्रयोग नगर्ने किसानको बगैँचामा समस्या देखिएको छ । समग्रमा अघिल्लो पटक भन्दा यस वर्ष उत्पादन घटेको छ ।” ग्रिनिङ रोगको समस्या, सुक्ष्म खाद्य तत्वको कमी, उपयुक्त व्यवस्थापनको कमी, अन्य रोग कीराले पनि यो समस्या आउने पौडेलले बताउनुभयो । पहिले सुन्तला उत्पादन हुने समुद्री सतहदेखि एक हजार तीन सय मिटर उचाइ भन्दा तल उत्पादन हुन छाडेको स्थानीय किसान भुमिराज शर्माले बताउनुभयो । थप क्षति हुन नदिन जतिसक्दो छिटो सुन्तला टिपेर बजार पठाउन कृषि ज्ञान केन्द्रले आग्रह गरेको छ । झरेका सुन्तलालाई प्लास्टिकमा जम्मा गर्ने र नष्ट गर्ने प्रक्रियाले कीराको चक्र ‘ब्रेक’ गर्न सकिने भएकाले किसानलाई प्लास्टिकमा जम्मा गरेर नष्ट गर्न लगाइएको बाली संरक्षण अधिकृत पौडेलले बताउनुभयो । सुन्तला पर्वतमा उत्पादन हुने मुख्य फल हो । गतवर्ष सुन्तला बिक्रीबाटरु २५ करोड जिल्लाका किसानले भित्र्याएका थिए ।
पोखरा: सहारा क्लब पोखराले तिहारको अवसरमा आयोजना गरेको देउसी भैलोबाट १२ लाख रुपैयाँ संकलन गरेको छ । मोफसलको चर्चित क्लब सहाराले स्थापनाकालदेखि नै नियमितरुपमा देउसीभैलो खेल्दै आएको छ । ‘संस्कृतिको जगेर्ना गरौं, सहारा फुटबल एकेडेमीलाई सहयोग गरौं’ भन्ने उद्देश्यसाथ तिहारमा ५ दिनसम्म पोखराका विभिन्न भागमा भएको देउसी भैलोबाट १२ लाख ९ हजार ३ सय १५ रुपैयाँ संकलन भएको क्लब महासचिव रामजीप्रसाद अधिकारीले जानकारी दिए । कार्यक्रमका लागि क्लब सहकोषाध्यक्ष अशोक लालचनलाई संयोजक तोकिएको थियो । पोखरा १७, दोबिल्लामा क्लबले सहारा फुटबल एकेडेमी संचालन गरेको छ । उक्त एकेडेमी संचालनका लागि क्लबले फुटबल प्रतियोगितासहित यसप्रकारका देउसी भैलो कार्यक्रमलाई निरन्तरता दिँदै आएको छ । एकेडेमीमा हाल चौंथो ब्याचको रुपमा विभिन्न जिल्लाका ३० जना बालकहरुले निःशुल्क आवासीय सुविधासहित शिक्षा, दीक्षा लिनुका साथै नियमित फुटबल सिकिरहेका छन् । यसैबीच, क्लब अध्यक्ष केशवराज बरालले देउसीभैलोमा सहयोग गर्ने सम्पूर्ण संघसंस्था, दाता, व्यक्ति विशेष लगायतप्रति धन्यवाद ज्ञापन गरेका छन् ।
काठमाडौं: किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन सरकारले खोप अभियान सञ्चालन गर्ने भएको छ । क्यान्सर दिवसको अवसर पारेर आगामी माघ २३ गतेदेखि १५ दिनसम्म देशव्यापी खोप अभियान सञ्चालन गरिने छ । अभियानअन्तर्गत ७ देखि १४ वर्षसम्मका १६ लाख ८८ हजार ९००किशोरीलाई निःशुल्क खोप लगाइने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हाल मुलुकमा हरेक दिन ४ जनाको पाठेघरको मुखको क्यान्सरबाट ज्यान गइरहेको सन्दर्भमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले त्यसविरुद्ध ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप अभियान सञ्चालन गर्ने निर्णय गर्नुभएको उक्त मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीले बताउनुभयो । मन्त्री पौडेलले कार्यभार सम्हालेका दिन आफ्नो योजना तथा प्राथमिकतामा किशोरीहरुको पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि खोप अभियान सञ्चालन गर्ने उल्लेख गर्नुभएको थियो । आगामी वर्षदेखि नियमित खोप अभियानमा पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपीभी’ खोप पनि समावेश गर्ने निर्णय भएको उहाँले जानकारी दिनुभयो । ‘एचपिभी’ खोपका लागि ग्लोबल एलायन्स’ (गाभी)को सहयोगका साथै सरकारी लगानी पनि छ । पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा। अरुण शाही पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमनपापिलोमा सङ्क्रमण भएकाले त्यसविरुद्ध खोप लगाउनुपर्नेमा जोड दिनुभयो । ह्युमनपापिलोमा सङ्क्रमण कलिलो उमेरमा विवाह गर्ने, कलिलो उमेरमै बच्चा जन्माउने, धेरै बच्चा जन्माउने, छोटो समयको अन्तरालमा लगातार बच्चा जन्माउने, धेरै जनासँग यौन सम्बन्ध कायम गर्ने अधिक धूमपान तथा मद्यपान गर्ने र यौनाङ्गको सरसफाइमा ध्यान नदिनेलाई हुने उहाँले बताउनुभयो । सन् २०२२ मुलुकमा क्यान्सरका २२ हजार नयाँ बिरामी देखिएकामा १४ हजारभन्दा बढीले ज्यान गुमाएका थिए । हरेक वर्ष एक हजार ५०० बालबालिकामा क्यान्सर देखिने गरेको छ । ती बालबालिकालाई आर्थिक अभावमा मृत्युको मुखमा पर्न नदिनु राज्यको दायित्व भएको बताउँदै मन्त्री पौडेलले आफ्नातर्फबाट हरसम्भव प्रयत्न गरिने बताउनुभएको थियो ।
काठमाडौं: स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु दुई हजार दुई सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार प्रतितोला रु १ लाख ६२ हजार २ सयमा कारोबार भएको छापावाला सुन आजका लागि रु १ लाख ६० हजार निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ । बुधबार प्रतितोला रु १ हजार ९ सय ४० मा कारोबार भएको चाँदी आजका लागि भने रु १ हजार ९ सय ५ निर्धारण भएको महासङ्घले जनाएको छ ।
चितवन: जाडो मौसम सुरु भएसँगै विभिन्न देशबाट जाडो छल्नका लागि चरा आउने क्रम सुरु भएको छ । चितवनका ३ खोलामा कम्बोडिया, चीन, साइवेरिया, रुस लगायतका देशबाट चराहरु यहाँ आएका हुन् । नेपाल पक्षीविद् सङ्घ बागमती प्रदेशका संयोजक वासु विडारीका अनुसार अहिले राप्ती, नारायणी र रिउ खोलामा ४० भन्दा बढी प्रजातीका चरा आएका छन् । उहाँले भन्नुभयो,“अहिले नदी किनारमा आगन्तुक चार देख्न थालिएको छ । योसँगै चराहरु हेर्नका लागि आउने पर्यटकसमेत आइरहेका छन् ।” चखेवा, जलेवा, कालोगरुड, सुरसुरे हाँस, कमन क्रेन, खोया हाँस लगायतका चराहरु आएको उहाँले बताउनुभयो । नेपालमा आउने पर्यटकमध्ये चार प्रतिशत पर्यटक चरा हेर्न आउने गरेको उहाँको भनाइ छ । विभिन्न देशमा जाडो बढेसँगै हिउँ पर्ने र नदीहरु हिउँले ढाकिने हुँदा आहाराको खोजीमा चरा आउने गरेको उहाँले जानकारी दिनुभयो । यो समयमा एक सय ५० देखि एक सय ६० प्रजातीका चार यहाँ आउने गरेको उहाँको भनाइ छ । संयोजक विडारीले भन्नुभयो,“अहिले आएका चराहरुले बच्चा कोरल्ने काम गर्दैनन् । गर्मी मौसम सुरु भएसँगै यी चराहरु फर्कने गर्दन् ।” तराईको कोशी टापुदेखि कर्णालीसम्म पानीमा आश्रित चरा नेपाल आउने गरेको उहाँले जानकारी दिनुभयो । अहिले हाँस प्रजातिका चराहरु आइसकेको जनाउँदै उहाँले अन्य चराहरु पनि आउने क्रम जारी रहेको बताउनुभयो ।
नुवाकोट: विसंं २०२० मा त्रिशुली तर्न निर्माण भएको ‘ट्रस ब्रिज’ जीर्ण भएपछि सोही स्थानमा रु ८ करोडको लागतमा नयाँ पक्की पुल निर्माण गरिएको हो । विदुर नगरपालिका प्रमुख राजन श्रेष्ठका अनुसार भारी सवारी साधन पनि सञ्चालन गर्न मिल्ने उक्त पुल बनेपछि नुवाकोट र धादिङका सर्वसाधारणको आवागमन सहज भएको छ । ११ मिटर चौडा भएको २ ‘लेन’को पुल निर्माणको लागि सरकारको रु ८ करोड लगानी भएको छ । ‘डिजाइन एण्ड बिल्ड मोडल’ अन्तर्गत ‘बक्स कडर प्रिस्टेस’ प्रविधिमा नयाँ निर्माण भएको पुल सुरक्षित, बलियो र तोकिएभन्दा अधिक भारवहन क्षमता भएको पुल निर्माणकर्ता भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयले जनाएको छ । नवनिर्मित पुलबाट यातायातका साधन सञ्चालन भएका छन् ।यसअघिको ट्रस ब्रिज ८ मेट्रिक टन क्षमताको १ लेनको थियो । यो पुलको भारवहन क्षमता ३५ मेट्रिक टन छ ।
तनहुँ: निर्माणाधीन मुग्लिन पोखरा सडकअन्तर्गत छिर्कने देउराली सडकखण्ड दैनिक साढे चार घण्टा अवरुद्ध हुने भएको छ । पृथ्वीराजमार्गअन्तर्गत व्यास नगरपालिका–१२ छिर्कनेदेखि देउराली सडकखण्ड दुई चरणमा बन्द गरी निर्माणको काम गर्न लागिएको हो । मुग्लिन पोखरा सडक योजना (पूर्वीखण्ड) अन्तर्गत छिर्कने खण्डको निर्माण कार्यलाई तीव्रता दिन आगामी मङ्सिर ३ गतेदेखि २३ गतेसम्म दुई चरणमा सडकखण्ड पूर्ण रूपमा बन्द गर्न लागिएको योजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार उक्त अवधिमा राति ११ बजेदेखि बिहान १ बजेसम्म सडक पूर्ण रूपमा बन्द गरी सडक निर्माण गरिनेछ । बिहान १ बजेदेखि १ः३० बजेसम्म सडक आवागमन खुल्ला गरिने र पुनःदोस्रो चरणमा बिहान १ः३० बजेबाट ४ बजेसम्म सडक बन्द गरी निर्माणकार्य गरिने पाण्डेले जानकारी दिनुभयो । आकस्मिक अवस्थामा विशेष व्यवस्था गरी सवारी पास गराइने पाण्डेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “मुग्लिन पोखरा सडक योजनाको पूर्वीखण्डमा सडक निर्माणको कामलाई तीव्रता दिनका लागि छिर्कनेदेखि देउराली खण्डमा अत्यावश्यक सवारीबाहेक अन्य सवारी साधनका लागि उक्त अवधिमा पूर्ण रूपमा बन्द रहनेछ ।” उक्त अवधिमा रोकिने सवारीसाधनले सवारी रोक्दा र सवारी चलाउँदा कडाइका साथ ‘लेन’ अनुशासन कायम राख्न तथा सवारी लामबद्ध भएको अवस्थामा जथाभाबी ‘ओभरटेक’ नगर्न आग्रह गरिएको छ । मुग्लिन पोखरा सडकखण्डअन्तर्गत पूर्वीखण्डमा हालसम्म ६८ प्रतिशत प्रगति भएको छ । पाण्डेका अनुसार पूर्वीखण्डअन्तर्गत १४ वटा साना पुल निर्माण सकिएका छन् । यस्तै दुई ठूला पुल र एक सय तीन कल्भर्ट निर्माणको काम सकिएको पाण्डेले जानकारी दिनुभयो । व्यास नगरपालिका–४ र ५ जोड्ने मादी नदीमा निर्माण भइरहेको पुलअन्तर्गत दुई सय पाइल निर्माण सकिएको र अब स्ल्याब तथा बिम बनाउने चरणमा पुगेको उहाँको भनाइ छ । पूर्वीखण्डमा विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरु भएको थियो । पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेशन कन्स्ट्रक्सनले पाएको छ ।

