गण्डकी: उच्च पहाडी र हिमाली भेगमा घुम्न निस्केका पर्यटकको लेक लागेर मृत्यु भएका घटना बर्सेनि सुनिन्छन् । मुख्य पर्यटकीय याम (असोज–मङ्सिर)र (चैत–जेठमा)यस्ता घटना बढी हुने गर्छन् । पदयात्रा र तीर्थयात्राका लागि प्रख्यात अन्नपूर्ण क्षेत्रमा मात्र गत आवमा लेक लागेर २१ जना पर्यटकले ज्यान गुमाएका थिए । जसमध्ये ६ जना नेपाली, ११ जना भारतीय, मलेसियाका २, युक्रेनका १ र १ बेलायती नागरिक थिए । यसरी लेक लागेर मृत्यु हुनेको सङ्ख्या सालिन्दा बढ्दो छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार अधिकांश लेक लाग्ने घटना मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुने गरेका छन् । मुक्तिनाथ दर्शनका लागि आउने भारतीय धार्मिक पर्यटक उक्त समस्याबाट बढी प्रभावित हुने गरेका छन् । न्यून चापीय क्षेत्रबाट उच्च स्थानमा पुग्दा हुने उक्त स्वास्थ्य समस्याबाट कसरी जोगिने /स्वास्थ्य सतर्कताका उपाय के छन् /चिकित्सक रविरञ्जन प्रधान र पर्यटक पथप्रदर्शक दिवस गुरुङसँगको कुराकानीमा आधारित रहेर हामीले यो सामग्री प्रस्तुत गरेका छौँ । सतर्कता र सावधानी उच्च पहाडी या हिमाली भेगको यात्रामा जाँदा विश्राम लिँदै जानुपर्छ । कम उचाइ भएको ठाउँबाट उचाइ भएको ठाउँमा एक्कासी पुग्दा लेक लाग्न सक्छ । यो समस्या विशेष गरी मुस्ताङको मुक्तिनाथ र मनाङको तिलिचो ताल जाने पर्यटकका बढी देखिने गरेको छ । काठमाडौँ उपत्यकालगायत तराई भेगबाट एकैदिनमा ३७ सय १० मिटरमा पर्ने मुक्तिनाथ र चार हजार नौ सय १९ मिटरको उचाइमा अवस्थित तिलिचो ताल पुग्दा लेक लाग्ने गरेका उदाहरण धेरै छन् । मुक्तिनाथ पुग्ने भारतीय पर्यटक पनि मोटर लिएर एकैपटकमा मुक्तिनाथ पुग्दा लेक लाग्ने समस्या बढी देखिने गरेको हो । लेक लागेर पर्यटकको मृत्यु हुने क्रम बढ्दै जान थालेपछि पछिल्लो समय मुक्तिनाथमा प्राररम्भिक उपचार र उद्धारका लागि आकस्मिक कक्षसमेत सञ्चालनमा ल्याइएको छ । पदयात्रा गर्नेहरु ठाउँठाउँमा विश्राम लिँदै जाने हुँदा लेक लाग्ने सम्भावना न्यून हुन्छ, गाडी र मोटरसाइकलमा एकैचोटिमा उचाइमा जानेहरुलाई बढी समस्या देखिने गरेको छ । स्थानीय हावापानीसँग अनुकूलन हुँदै विश्राम लिँदै यात्रा गर्दा लेक लाग्ने समस्याबाट बच्न सकिन्छ । पदयात्रा गर्ने पर्यटकले एक दिनमा पाँच सयभन्दा बढीको उचाइ पार नगर्नु राम्रो मानिन्छ । शारीरिक, मानसिक स्वास्थ्य र तन्दुरुस्तीसहित पदयात्रामा निस्कुनपर्छ । नयाँ र टाढाको गन्तव्यस्थल छ भने एक्लै पदयात्रा गर्नुहुँदैन । पदयात्रा गर्दा पथप्रदर्शक साथ लिएर जाँदा धेरै सहज हुन्छ । हिमाली क्षेत्रमा झण्डै छ हजार मिटरसम्म उचाइ छिचोलेर पदयात्रा गर्नुपर्ने गन्तव्य रहेकाले एक्लै जानु जोखिमपूर्ण हुन्छ । सामान्यतया समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा पुग्दा ‘अल्टिच्युड सिकनेस’को लक्षण देखिन सक्छ । स्थानीय वातावरणमा अनुकूलन हुँदै अगाडिको यात्रा तय गर्नुपर्छ । जस्तो कि मुक्तिनाथ जानु छ भने एकदिन जोमसोममा विश्राम लिएर जानु उपयुक्त हुन्छ । तिलिचो ताल पुग्नु छ भने आधार शिविरमा एकदिन विश्राम लिनुपर्छ । हिमाली भेगको यात्रामा जाँदा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । लामो दुरीको पदयात्रामा जानु छ भने समूहमा या पथप्रदर्शक लिएर मात्र जानुपर्छ । हिमाली क्षेत्रको मौसमको अनुकूलतालाई ध्यान नदिँदा पनि कतिपय पर्यटकहरु समस्यामा पर्ने गरेका छन् । लक्षण र उपचार लेक लाग्नुलाई मेडिकल भाषामा ‘हाइपोब्यारिक हाइपोक्जिया’ भनिन्छ । यो समस्या अक्सिजनको कमीले हुने गर्छ । जुनसुकै उमेरको व्यक्तिमा लेक लाग्ने समस्या निम्तन सक्छ । लेक लाग्दा टाउको भारी हुने, वाकवाकी लाग्ने, बान्ता हुने आदि लक्षण देखिन सक्छ । पदयात्रामा जाँदा प्राथमिक उपचारका औषधि र सामग्री साथमा बोक्नुहोस् । लेक लाग्दा अक्सिजनको मात्रा घट्न गई मानिसको ज्यानसमेत जान सक्छ । लेक लागेर सिकिस्त हुनुपर्व यति कुनै लक्षण देखिएको छ भने तत्काल यात्रा अगाडिको यात्रा रोकेर कम उचाइ भएको ठाउँमा फर्कनुहोस् । लेक लाग्न नदिन चिकित्सकले सुझाएको औषधि पनि खान सकिन्छ । तर सामान्य लक्षण देखिएपनि तल फर्किनुपर्छ । लेक लागेर जटिल अवस्थामा पुगेका बिरामीको समयमा उद्धार र उपचार हुन सकेन भने ज्यान जोखिममा पर्छ । हिँड्दा प्रशस्त पानी पिउनपर्छ । लेक लागेको बेला आराम गर्ने पानी वा झोलिले खानेकुरा उत्तम मानिन्छ । पहिलोपटक धेरै उचाइमा पुग्नेलाई लेक लाग्ने सम्भावना बढी हुन्छ । लेक लाग्ने समस्याका तीन अवस्था हुन्छन् । पहिलो अवस्थामा टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता आउने, कमजोर महसुस हुने जस्ता लक्षण देखिन्छन् । दोस्रो अवस्थामा फोक्सो सुनिने, फोक्सोमा पानी जम्ने, श्वासप्रश्वास सम्बन्धि समस्या निम्त्याउँछ । तेस्रो र अन्तिम अवस्था भनेको मस्तिष्क सुनिनु हो । फोक्सो र मस्तिष्क सुनिएका बिरामीले समयमा उपचार नपाउँदा अवस्था गम्भीर भएर मृत्यु हुनसक्छ । जटिल अवस्थाका बिरामीलाई हेलिकप्टरबाट उद्धार गरेर अस्पताल प¥याइएका उदाहरण पनि छन् ।
काठमाडौँ: युनाइटेड अरब इमिरेट्स (युएई(मा जारी आइसिसी यु–१९ महिला टि–२० विश्वकपको एसिया छनोटमा नेपालले आज अन्तिम खेल खेल्दैछ । युएईको अजमानस्थित द सेभेन रङ्गशालामा नेपाली समयानुसार आज दिउँसो ३:१५ बजे नेपालले घरेलु टोली युएईको सामना गर्दैछ । यही कात्तिक २१ गतेदेखि सुरु भएको एसिया छनोटमा नेपालको यो छैठौँ अर्थात् अन्तिम खेल हो । एसिया छनोटअन्तर्गत नेपालले ५ खेल खेलिसकेको छ । ४ मध्ये ४ खेलमा जित हासिल गरेको छ भने १ खेलमा पराजित भएको थियो । प्रतियोगिताको पहिलो खेलमा नेपालले थाइल्याण्डलाई ६७ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । दोस्रोमा नेपालले कुवेतलाई १ सय ८ रनले हराएको थियो । तेस्रो खेलमा नेपाल घरेलु टोली युएईसँग खेलेको थियो । उक्त खेलमा नेपाल युएईसँग १३ रनले पराजित भएको थियो । आइतबार भएको चौँथो खेलमा नेपालले थाइल्याण्डलाई १ सय ६ रन र मङ्गलबार भएको पाँचौँ खेलमा कुवेतलाई १ सय ६५ रनको फराकिलो अन्तरले पराजित गरेको थियो । छनोट खेलमा आयोजक युएईसहित नेपाल, कुवेत र थाइल्याण्ड सहभागी छन् । हालसम्म पाँच खेल खेलेको युएईले पाँचै खेल जितेको छ । युएई १० अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । यस्तै, नेपाल ८ अङ्कसहित तालिकाको दोस्रो स्थानमा, थाइल्याण्ड २ अङ्कसहित तेस्रो र कुवेत शून्य अङ्कसहित तालिकाको अन्तिममा छ ।सहभागी ४ टोलीमध्ये शीर्ष स्थान हासिल गर्ने टोली सन् २०२५ मा मलेसियामा हुने विश्वकपमा छनोट हुनेछ । नेपाल विश्वकपमा छनोट हुन आजको खेलमा युएईलाई जित्नसका साथै रनरेटमा पनि पछाडि पार्नुपर्ने हुन्छ ।
तेह्रथुम: तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको सङ्गमस्थल तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रलाई गुराँसको राजधानी घोषणा गरिएको छ । २८ प्रजातिका गुराँस पाइने टिएमजेअन्तर्गतको तीनजुरे क्षेत्र तेह्रथुम जिल्लामा पर्छ । तीनजुरे क्षेत्रमा गुराँस फुल्ने याममा हजारौँ पर्यटक आउने गरेका छन् । यही तीनजुरे क्षेत्रमा पर्ने लालीगुराँस नगरपालिका–७ स्थित तीनजुरे रातपोखरी सामुदायिक वनमा आबद्ध समूहले २८ हजार पाँच सय गुराँसको नर्सरी हुर्काइरहेको छ । गुराँसको फूल हेर्न आउने पर्यटकलाई गुराँसको बिरुवा पनि उपलब्ध गराउने उद्देश्यले बिरुवा उत्पादन गरिएको हो । तीनजुरे रातपोखरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बेगबहादुर खड्काका अनुसार बिरुवा बेचेर आम्दानीसँगै गुराँस संरक्षणको सन्देश प्रवाह गर्न नर्सरी राखिएको हो । हाल सात प्रजातिका गुराँसका बिरुवा नर्सरीमा हुर्किरहेका छन् । उपभोक्ता समूहले नर्सरीबाट यस वर्ष इलामको सूर्योदय नगरपालिकामा चार सय ४० र दार्चुलामा एक सय ८६ गुराँसका बिरुवा बेचेको गरेको छ । डिभिजन वन कार्यालयसँगको साझेदारीमा यस वर्ष १७ हजार ५ सय गुराँसका बिरुवा रातपोखरी सामुदायिक वनले हुर्काएको छ । गत वर्ष लालीगुराँस नगरपालिकाको सहयोगमा ११ हजार बिरुवा उत्पादन गरिएको छ । जङ्गलबाट सानासाना बिरुवा उखेलेर नर्सरीमा राख्ने गरिएको छ । २, ३ वर्षयताका बिरुवा नर्सरीमा छन् । वन उपभोक्ता समूहले बिरुवा खरिद गर्ने ग्राहकको खोजी पनि गरिरहेको छ । गुराँसका बिरुवा वैशाख अन्तिमदेखि असार मसान्तसम्ममा रोपिसक्नुपर्ने उपभोक्ता समूहका सचिव देवी पौडेललेले बताउनुभयो । जिल्ला समन्वय समितिले गरेको अनुगमनका क्रममा ९० प्रतिशत बिरुवा सरेको समन्वय उपप्रमुख श्री कार्कीले बताउनुभयो । सो क्षेत्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रु एक करोडको लागतमा राष्ट्रिय लालीगुराँस उद्यान निर्माण भएको छ ।लालीगुराँस उद्यानमा नयाँ सहर आयोजनाले बाटो र शौचालय निर्माण गरेपछि त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ ।
विराटनगर: प्रभावकारी ढङ्गले सरकार सञ्चालन गर्न कोशी प्रदेशमा पनि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी ९एमाले० ले द्विदलीय संयन्त्र गठन गरेका छन् । संयन्त्रको मङ्गलबारको बैठकका निर्णय आज यहाँ सार्वजनिक गर्दै नेपाल कम्युनिष्ट पार्टी ९एमाले० कोशी प्रदेश कमिटिका इन्चार्ज शेरधन राईले राजनीतिक स्थायित्व र सुशासन कायम गर्न २ दलीय संयन्त्र गठन भएको बताउनुभएको छ । उहाँले सबै प्रकारका अनियमितता रोक्न तथा विकास–निर्माणका कामलाई तीव्र गतिमा कार्यान्वयन गर्न संयन्त्रले खबरदारी गर्नका साथै जनताका निराशालाई आशामा बदल्ने बताउनुभयो । संयन्त्रले सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने, जनमुखी, सुशासन प्रवद्र्धन तथा प्रदेश सरकारको कामलाई प्रभावकारी बनाउने सम्बन्धमा कोशी प्रदेश सरकारका मन्त्रीहरुसँग आगामी मङ्सिर १४ गते बृहद् छलफल गर्ने निर्णय भएको जनकारी संयन्त्रका सदस्य राईले दिनुभयो । त्यसैगरी, २ दलीय संयन्त्रको मर्मअनुसार प्रदेशका १४ वटै जिल्लाका संयन्त्रका सदस्यहरुको संयुक्त बैठक मङ्सिर २९ गतेसंयन्त्रका अर्का सदस्य एवं कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले संयन्त्रबाट सरकारलाई काम गर्न थप ऊर्जा मिल्ने बताउनुभयो । त्यसैगरी, संयन्त्रका अर्का सदस्य नेपाली कांग्रेस कोशी प्रदेशका सहयोगी हुने विश्वास व्यक्त गर्नुभयो । २ दलीय संयन्त्रमा नेकपा ९एमाले०बाट पूर्वमुख्यमन्त्री राई, मुख्यमन्त्री हिक्मतकुमार कार्की र सो पार्टीका अध्यक्ष घनश्याम खतिवडा तथा नेपाली कांग्रेसबाट सो पार्टीका कोशी प्रदेश सभापति उद्धव थापा, महामन्त्रीद्वय भूपेन्द्र राई र उमेश थापा हुनुहुन्छ ।
बागलुङ: बागलुङ नगरपालिका–९ तित्याङका वडाध्यक्ष राजु थापा व्यावसायिक रूपमा फलफूलखेती थानुभएको छ । जिल्ला सदरमुकाम बागलुङ बजारसँग जोडिएको तित्याङमा सागसब्जी र सुन्तलाखेती गरेर सफल किसानको परिचय बनाउनुभएका उहाँले किबीखेती थाल्नुभएको हो । तीन वर्षअघि किबीखेती थाल्नुभएको उहाँलाई उत्पादन बेच्न भ्याइनभ्याइ छ । गाउँका अन्य किसानका लागि प्रेरणा बन्नुभएका उहाँले यो वर्ष सय बोटबाट छ सय क्विन्टल किबी उत्पादन भएको बताउनुभयो । उहाँले किबीसँगै कागती पनि फलाउनुभएको छ । जनप्रतिनिधि भइसकेपछि कोदो र धानखेतीमा लाग्न आफूले समय व्यवस्थापन गर्न नसकेको बताउनुभयो ।वडाध्यक्ष थापाका बारीमा एक सय ५० कागती र ५० सुन्तलाका बोट छन् । दैलेखबाट रु तीन सय ३० मा एउटा बिरुवा खरिद गरेर ल्याएको जानकारी दिँदै वडाध्यक्ष थापाले बृहत् रूपमा किबीखेती गर्ने चाहना सुनाउनुभयो । किबीका लागि अस्थायी थाक्रो व्यवस्थापन गर्नुभएका थापाले किबी बजार पठाएपछि फलामबाट बनाइएको थाक्रो राख्ने योजना बनाएको बताउनुभयो । हाल स्थानीय बजारमा प्रतिकेजी रु २ सय ५० देखि रु ३ सयमा किबी बिक्री हुँदै आएको छ । किबी बेचेर आफूले हालसम्म रु २ लाख आर्जन गरेको बताउनुभयो । गत वर्ष प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन गर्ने सिलसिलामा तित्याङको खानीगाउँमा दुई हजार छ सय ओखर एक सय ४० रोपनी जग्गामा लगाइएको थियोभने यो वर्ष नगरपालिकाले किम्बोट क्षेत्रमा ओखर लगाउन रु १२ लाख बजेट विनियोजन गरेको वडाध्यक्ष थापाले जानकारी दिनुभयो। अलैँची पकेट क्षेत्र विस्तारका लागि रु १५ लाख बजेट विनियोजन भएको छ । साथै वडा नम्बर ९ तित्याङको साबिक १, २, ३, ४ र ५ वडामा अलैँचीखेती प्रारम्भ भएको छ ।
कञ्चनपुर: उत्तरी धु्रवमा चिसो बढेसँगै कञ्चनपुर–कैलालीका सिमसार क्षेत्रमा आगन्तुक चराको सङ्ख्या बढेको छ । साइबेरियालगायत क्षेत्रमा हिमपातसँगै चिसो बढेपछि सुरक्षित बासस्थान र आहारको खोजीमा चरा यहाँ आइपुगेका नेपाल पक्षी संरक्षण सङ्घ (बिसिएन)का सदस्य हिरुलाल डगौराले बताउनुभयो । कञ्चनपुर–कैलालीका सीमसार क्षेत्रमा मालक हाँस, हरियोटाउके हाँस, कालीजुरे हाँस, सुइरेपुच्छ«े हाँस, खरखरे हाँस, कल हाँस, सुनजुरे हाँस, ठूलो जलेवा, चखेवालगायत चरा सिमसारमा आएका उहाँले बताउनुभयो । विशेषगरी रूस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजानलगायत क्षेत्रबाट आगन्तुक चरा चिसो छल्नका पुग्ने गरेको चराबारे जानकारी भएका डगौराले बताउनुभयो । आगन्तुक चरा कैलालीको घोडाघोडी ताल, कर्णाली नदी क्षेत्र, कञ्चनपुरको पुरैनी ताल, कालिकिच सिमसार क्षेत्र, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका सलगौडी ताल, रानीताल, सिकारीताल, महाकाली, चौधर नदी क्षेत्रमा पुगेका उहाँले बताउनुभयो ।
ढोरपाटन: चिसोका कारण गोठाला बेँसी झरेपछि ढोरपाटन बुकीपाटन सुनसान बनेका छन् । असारदेखि कात्तिक पहिलो सातासम्म गोठाला र आन्तरिक तथा बाह्य पर्यटकका कारण चहलपहल बढे पनि यतिबेला भने बुकीपाटनमा सुनसान छ । नेपालको एक मात्र सिकार आरक्ष क्षेत्रमा पर्ने बुकीपाटन पछिल्लो समय आन्तरिक र विदेशी पर्यटकको रोजाईमा पर्दै गएको छ । गत असारदेखि असोजसम्म करिब तीन हजार पर्यटक बुकीपाटन पुगेको ढोरपाटन नगरपालिका–९ का गङ्गा पुनले बताउनुभयो । बर्खामा चारै तिर हरियाली छाउने, उत्तरतिर हिमाल र पाटनभरी छरिएर रहेका भेडाका बथान हेर्नका लागि पर्यटक पुग्ने गरेका छन् । अघिल्लो वर्षको तुलनामा यस वर्ष तीन गुणाभन्दा बढी पर्यटक बुकीपाटन पुगेको उहाँको भनाई छ । उहाँले भन्नुभयो, “लामो समय ओझेलमा रहेको बुकीपाटन सञ्चारमाध्यममा प्रचारप्रसार हुन थालेपछि त्यहाँ पुग्ने पर्यटक बढेका छन् । बुकीपाटनमा विदेशी पर्यटक ल्याउन सके यस क्षेत्रका नागरिकको जीवनस्तर परिवर्तन हुने थियो, ढोरपाटन उपत्यकादेखि बुकीपाटन पुग्ने पदमार्गलगायतका पूर्वाधार निर्माण गर्न सके धेरै बुकीमा पर्यटकको सङ्ख्या बढाउन सकिन्थ्यो ।” समुन्द्री सतहदेखि दुई हजार नौ सयदेखि चार हजार पाँच सय मिटरको उचाइमा रहेको बुकी क्षेत्र गोठालाको बास स्थान हो । बर्खामा यहाँ सयौँको सङ्ख्यामा गोठालाहरु हजारौँको सङ्ख्यामा भेडाबाख्रा र गाईभैँसीका साथ अस्थायी गोठ बनाएर बस्छन् । ढोरपाटन उपत्यकाका होटल व्यवसायी धीरेन्द्र घर्तीमगरले बुकीपाटन जाने अधिकांश पर्यटकले नजिकबाट गोठालाको जनजीवन देख्न र अनुभूति गर्न पाउने बताउनुभयो । “बुकीपाटन घुम्नका लागि उपयुक्त समय बर्खा यामनै हो, उक्त समयमा बुकी पुग्ने पर्यटकहरु धेरै दिन उतै बिताउने गर्छन्, त्यो ठाउँ जति हे¥यो, उति हेरौँ, हेरौँ लाग्ने खालको छ”, उहाँले भन्नुभयो । बुकीमा गर्पाछेडा, दहखर्क, टीकाधारा, राजवन, स्याचुन, फुर्से देउराली, फागुने देउरालीलगायत रमणीय ठाउँ छन् ।
पोखरा: गण्डकी प्रज्ञा–प्रतिष्ठानले पोखरामा आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर लोपोन्मुख नाँचहरूको प्रदर्शन गर्ने भएको छ । आगामी मंसिर अन्तिम साता गरिने यो प्रदर्शन १० दिनसम्म चल्ने गण्डकी प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव मनकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार पोखरा पर्यटनको राजधानी समेत भएकोले संस्कृतिसँग पर्यटन मिसाउने कार्यक्रम गर्दै पर्यटकको आकर्षण बढाउन खोजिएको हो । यो कार्यक्रम हरेक दिन बेलुका दुई घण्टा प्रतिष्ठानको भानु हलमा चल्नेछ । कार्यक्रम मार्फत ७०–८० कलाकारले प्रस्तुती राख्दै गण्डकी प्रदेशको संस्कृति प्रस्तुत गर्नेछन् । प्रतिष्ठानले पुषको पहिलो हप्ता गण्डकी प्रदेशका मौलिक लोकबाजाहरूको प्रस्तुती ‘अर्केष्ट्रा’ प्रस्तुत गर्ने सदस्य सचिव श्रेष्ठले जानकारी दिए । ४० जना वाद्यवादक विभिन्न जातजातिको मौलिक धुन र गण्डकी प्रदेशका कीर्तिशेष स्रष्टाहरूको चर्चित लोक गीतका धुनहरू एउटै स्टेजमा प्रस्तुत गर्नेछन् । बाजाले दिने धुन कति महत्वपूर्ण छ भन्ने बारेमा नयाँ पुस्तालाई जानकारी गराउनका लागि यो कार्यक्रम गर्न लागिएको हो । प्रतिष्ठानले अहिलेको आर्थिक वर्ष ८१/८२ को पहिलो चौमासिकसम्म आइपुग्दा वार्षिक कार्यक्रम अन्तरगत रहेका ५७ कार्यक्रम मध्येमा मौलिक बाजा र भाषाका कार्यक्रम लगभग सकेको जनाएको छ । बाजातर्फ गुरुङ समुदायको एक महिने छ्याडु बाजा प्रशिक्षण, नेवार समुदायको धिमे बाजा, साराङ नाच, नेपाल भाषा, श्रीकृष्ण नृत्य, गायन र बाजा, सोरठी प्रशिक्षण लगायतका कार्यक्रम भएको सदस्य सचिव श्रेष्ठले बताए । प्रतिष्ठानले गण्डकी प्रदेशमा आयोजना हुने संस्कृतिसँग सम्बन्धित कार्यक्रममा सहकार्य गर्ने गरेको छ । आजसम्म ४२ वटा वाङमयिक संस्थासँग सहकार्य गरेको उनले खुलाए । यस्तै गत वर्ष जस्तै यो वर्ष पनि प्रादेशिक चित्रकला प्रदर्शनी हुने भएको प्रतिष्ठानले जनाएको छ । कुल ५ दिनको प्रदर्शनी मार्फत छनोट भएका चित्रले केन्द्रमा गएर प्रतिष्पर्धा गर्नेछन् । प्रतिष्ठानले स्रष्टाको क्याटगोरीको आधारमा परिचयपत्र वितरण गर्ने भएको छ । त्यो परिचयपत्र देखाएर स्रष्टाले विभिन्न ठाउँमा छुट पाउने अवस्था बनाउन खोजिएको छ । अनुसन्धानको काम र निर्माणका काम भइरहेको छ । भानुहलमा कुर्ची थपेर र साउण्ड सम्बन्धी काम गरेर पूर्ण क्षमतामा सञ्चालनमा ल्याइएको छ । अक्षयकोष निर्माण गर्ने तयारीमा समेत भएको जनाइएको छ । यो वर्ष १५ जना स्रष्टाको बायोग्राफी समेत तयार पारिएको जनाइएको छ । यसरी बायोग्राफी तयार पारिएका स्रष्टामा साहित्यकार सूर्य खड्का बिखर्ची, सुमन कुमार गुरुङ र देवी वनवासी, संस्कृतिकर्मी पदमराज ढकाल, सङ्गीतकार नवराज बराल र श्यामलाल श्रेष्ठ, नृत्यकार धन बहादुर गुरुङ र टक बहादुर गुरुङ, नाटककार कृष्ण उदासी, समालोचक प्रा.डा. जगन्नाथ रेग्मी, प्रा.डा. यदुनन्दन उपाध्याय र झलक सुवेदी, कलाकार प्रमिला तुलाचन, लोक प्रसाद गुरुङ र क्षेत्रलाल कायस्थ रहेका छन् । यो वर्षका लागि तय भएका सबै कार्यक्रम चैत्रको मसान्तमा सक्ने तयारी गरिएको सदस्य सचिव श्रेष्ठले बताए । अहिलेको टिमको कार्यकाल आगामी बैशाख १४ गतेसम्म भएकोले त्यो दिनमा कार्यकालमा भएका सबै कामको फेहरिस्त प्रस्तूत गरेर विदा हुने तयारी भएको समेत उनले खुलाए ।
स्याङ्जा: आँधीखोला गाउँपालिकाले पालिकाका गर्भवती र सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको छ । घरमा नै सुत्केरी हुने दरलाई शून्यमा झार्न र गर्भवती, सुत्केरी तथा नवजात शिशुको स्वास्थ्यलाई दृष्टिगत गरी पालिकाले स्वास्थ्य संस्थासम्म पुग्न निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको हो । गाउँपालिकाका अध्यक्ष विश्वनाथ पौडेलका अनुसार पालिकाभित्रका जुनसुकै टोल तथा घरका गर्भवतीलाई ‘बर्थिङ सेन्टर’ वा अस्पतालसम्म सुत्केरी गराउन तथा सुत्केरी भइसकेपछि घरसम्म फर्कने व्यवस्थाका लागि पालिकाले निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको हो । “पालिकाभित्रका बर्थिङ सेन्टर तथा अस्पतालमा सुत्केरी हुन नसक्ने जटिल अवस्था देखिएको खण्डमा सिफारिस गरेको पालिका बाहिरका अस्पतालसम्म पनि एम्बुलेन्स सेवा उपलब्ध गराउँछौँ ।” आँधीखोला गाउँपालिकामा तीनवटा स्वास्थ्य संस्था छन् । आँधीखोला–५ सेतीदोभानमा आँधीखोला आधारभूत अस्पताल, वडा नम्बर १ को पञ्चमुलमा पञ्चमुल प्राथमिक स्वास्थ्य केन्द्र र वडा नम्बर २ को चिलाउनेबासमा चिलाउनेबास स्वास्थ्यचौकी पनि छ । गाउँगाउँबाट चाहेको समयमा स्वास्थ्य संस्थामा पुग्न सार्वजनिक यातायातका साधन पाउन कठिन हुने भएकाले पालिकाले उपलब्ध गराउने निःशुल्क एम्बुलेन्स सेवाबाट गर्भवती, सुत्केरीले राहत महसुस गरेका छन् । पालिकाले गर्भवती र सुत्केरीका अलावा अन्य अतिविपन्न वर्गका बिरामीलाई पनि निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराएको अध्यक्ष पौडेलले बताउनुभयो । अतिविपन्न वर्गका परिवारले सम्बन्धित वडा कार्यालयबाट ल्याएको विपन्नताको सिफारिसका आधारमा सेवा दिइने उहाँले बताउनुभयो । पालिकाले आमा सुरक्षा र प्रजनन स्वास्थ्य सेवालाई प्रवर्द्धन गरिरहेको बताउनुभयो । स्थानीय स्वास्थ्य केन्द्रले भिडियो एक्सरे सेवा, गर्भवतीको प्रत्येक महिना स्वास्थ्य परीक्षण, उनीहरूलाई स्वस्थ राख्न अण्डा र क्याल्सियम चक्की वितरण गर्दै आएको छ ।

