काठमाडौं: वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै रु ३१ लाख ठगी गरेको अभियोगमा तीन जनालाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट पक्राउ गरिएको छ । बाग्लुङ ताराखोला गाउँपालिका–३ का तिलकबहादुर कार्की, प्युठान नौबहिनी गाउँपालिका–६ का हरिबहादुर बिष्ट र स्याङ्जा गल्याङ नगरपालिका–८ की जमुना परियारलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको टोलीले सोमबार अपाह्न पक्राउ गरेको हो । अभियुक्त परियारले रु २८ लाख, कार्कीले रु एक र बिष्टले रु दुई लाख ठगेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । उनीहरूलाई थप कारबाहीको लागि वैदेशिक रोजगार विभाग पठाइएको छ । यसैबीच, मोबाइल तथा व्यक्तिगत कागजातहरू चोरी गरी ठगीमा संलग्न भएको अभियोगमा उदयपुर रौतामाई गाउँपालिका–७ का स्थायी बासिन्दा ध्रुवकुमार राय र राजन डङ्गोललाई पक्राउ गरिएको छ । नक्कली शैक्षिक प्रमाणपत्रसहित पक्राउ त्रिभुवन विश्वविद्यालयबाट जारी भएको स्नातक र स्नातकोत्तर तहको नक्कली प्रमाणपत्रसहित काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका–५ श्रीखण्डपुर बस्ने ४८ वर्षीय विकास श्रेष्ठलाई पक्राउ परेका छन् । निजले ब्याचलर डिग्री इन बिजनेस स्टडिज र मास्टर डिग्री इन बिजनेस स्टडिजको नक्कली ट्रान्सक्रिप्ट लिएको सूचनाका आधारमा त्रिभुवन विश्वविद्यालयको अभिलेखमा भिडाइ हेर्दा सूचना सत्य भएको जानकारी भएपछि उनलाई धुलीखेलबाट सोमबार पक्राउ गरिएको उक्त समाचारकक्षले जनाएको छ ।
तनहुँ: पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा जिल्लाको ऋषिङ गाउँपालिका–६ चालिसे घर भई हाल व्यास–५ पाटन बस्ने १९ वर्षीय सन्दीप आले र निजकी आमा ४० वर्षीया मधुमाया आले रहेका छन् । दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको गण्डकी प्रदेश ०३–००१ प ०३१० नंको मोटरसाइकल आज बिहान अनियन्त्रित भई सडकबाट तल खस्दा सवार दुईजनाको घटनास्थलमा नै मृत्यु भएको हो । हुस्सु लागेका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको देखिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष आदिवासी जनजाति आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत भएको छ । आयोगका अध्यक्ष रामबहादुर थापामगरले राष्ट्रपति भवनमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम आयोगको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
बलेवा: बागलुङको निसीखोला गाउँपालिका–२ कान्लेचौरका आमा समूहमा ३० देखि ३५ वर्ष उमेर समूहका आमाहरु आबद्ध छन् । उनीहरु गाउँमा बालविवाह न्यूनीकरण, महिलाको स्वास्थ्यलगायत विषयमा नियमित छलफल गर्छन् । यस आमा समूहमा आबद्ध अधिकांशले १६ देखि १८ वर्षमा विवाह गरेका हुन् । बालविवाह गरेका उनीहरुले आगामी दिनमा अरूले बालविवाह नगरून् भनेर पनि मासिक रुपमा गाउँमा कसैको उमेर नपुगी विवाह भए÷नभएको विषयमा छलफल गर्ने गरेको आमा समूहकी अध्यक्ष शोभा कुँवरले बताउनुभयो । “हाम्रो गाउँमा आमाहरुको स्वास्थ्य अवस्था कमजोर छ, अधिकांश बालविवाह गरेकाहरु छन्,” कुँवरले भन्नुभयो, “अब कम्तीमा बालविवाह नहोस् भनी २० वर्षअघि गर्भवती नहुने सल्लाह दिने गरेका छौँ ।” आमा समूहले नियमित गर्भ परीक्षणलाई प्राथमिकतामा राखेको छ । पूर्ण खोपयुक्त वडा बनाउन पहल गरेको छ । तर खोप क्लिनिक निसीखोला पारि भएकाले नजिकमा पुल नहुँदा सास्ती भएको गुनासो उनीहरुको छ । समूहकी सदस्य भीमकुमारी खत्रीले भन्नुभयो, “खोप क्लिनिक टाढा भएको बहानामा कतिपयले खोप छुटाउने गरेका छन् ।” वडा नंं १ को खाडु भन्ने स्थानमा मात्रै यहाँको खोप क्लिनिक छ । क्लिनिक खोला पारि हुँदा बर्सातको समयमा खोला तर्न नसकिने हुँदा आमाहरु गर्भ जाँच गर्न नजाने, जोखिम मोलेरै घरमा बस्ने गरेका छन् । क्लिनिक कान्लेचौरमा पनि स्थापना गर्नुपर्ने उनीहरुको माग छ ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय सचिवालय बैठक आज अपराह्न ४ बजे बस्दै छ । संसद्को हिउँदे अधिवेशन, नेकपा एकता राष्ट्रिय अभियानका अध्यक्ष वामदेव गौतमलाई पार्टी प्रवेश, केन्द्रीय कमिटी बैठकका निर्णयसहित अन्तरपार्टी निर्देशन (अपानी) जारी सम्बन्धमा तथा समसामयिक राजनीतिक बिषयवस्तुबारे छलफल गर्न बैठक बोलाइएको एमाले केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अनुकूलतामा च्यासलस्थित एमाले केन्द्रीय कार्यालय वा प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने प्रचार विभाग प्रमुख गौतमले बताउनुभयो ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा यही माघ १८ गते शुक्रबार सङ्घीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको छ । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को यही माघ ७ गतेको सिफारिसमा माघ १८ गते शुक्रबार दिउँसो १ः०० बजे अन्तरराष्ट्रिय सम्मेलन केन्द्र, नयाँवानेश्वरमा दुवै सदनको अधिवेशन आह्वान गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
काठमाडौं: अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । आज बजार खुल्दा सुनको मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला रु एक हजार एक सयले बढेको छ । सोमबार प्रतितोला रु एक लाख ५७ हजारमा खरिदबिक्री भएको प्रतितोला सुन आज रु एक लाख ५८ हजार एक सयमा किनबेच हुने नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदी प्रतितोला रु १५ बढेको छ । सोमबार प्रतितोला रु एक हजार आठ सय ६० मा खरिदबिक्री भएकामा आज रु एक हजार आठ सय ७५ मा किनबेच भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज सुनको मूल्य प्रतिऔंस २४ दशमलव ५६ अमेरिकी डलर बढेर दुई हजार सात सय २७ दशमलव ७६ अमेरिकी डलर कायम भएको छ ।
काठमाडौं: डोनाल्ड ट्रम्पले ४७ औँ अमेरिकी राष्ट्रपतिको रूपमा शपथ ग्रहण गर्नुभएको छ । शपथ ग्रहण गरेपछि उहाँले भन्नुभयो,ूअमेरिकालाई एक शक्तिशाली र समृद्ध राष्ट्रको रूपमा पुनः उभ्याउने आफ्नो योजना प्रकट पार्नुभयो । उहाँले राष्ट्रको भविष्यको प्रगतिको लागि कडा प्रयास गर्ने र अमेरिकालाई नयाँ उच्चतामा पुर्याउने आफ्नो प्रतिबद्धता व्यक्त गर्नुभयो।ू ूट्रम्पले आफ्नो शपथ ग्रहण समारोहमा अमेरिकाका नागरिकलाई एकताबद्ध भएर काम गर्नको लागि आह्वान गर्नुभयो । यो नयाँ युग अमेरिकाको आर्थिक र सामाजिक सुधारसँगै राजनीतिक क्षेत्रको नयाँ दिशा तय गर्ने समय हो। यस समारोहले अमेरिकी लोकतन्त्रको महत्वलाई पुनः प्रमाणित गर्दै, देशको आगामी यात्रा र नेतृत्वको एक नयाँ अध्यायको शुरुआत गरेको छ।ू
तनहुँ: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ बेलभन्ज्याङमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । दमौलीबाट डुम्रेतर्फ जॉदै गरेको गण्डकी प्रदेश०३–००१प०३१० नम्बरको मोटरसाइकल आज बिहान अनियन्त्रित भई सडकबाट खस्दा सवार दुई जनाको घटनास्थलमा नै मृत्यु भएको हो । मृत्यु हुनेको पहिचान खुल्न बॉकी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो । “हुस्सु लागेका कारण मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको देखिएको छ”, उहॉले भन्नुभयो ।

