काभ्रेपलाञ्चोक: सुक्खा पहिरो जाँदा यहाँको नमोबुद्ध नगरपालिका–१ कानाकोटमा आज एक मजदुरको घटनास्थलमै मृत्यु भएको छ । वृद्धाश्रमको भवन बनाउने क्रममा माथिबाट सुक्खा पहिरो आई भवनको दोस्रो तलाको पिल्लर ढलेर किच्दा पर्साको सखुवापर्सेनी गाउँपालिका–३ स्थायी ठेगाना भएका ३८ वर्षीय दुर्जन माझीको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार सुक्खा पहिराले पिलर ढल्दा रडले टाउकोमा लागी घटनास्थलमै माझीको मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । हराएको पाँच महिनामा कङ्काल फेला यसैबीच हराएको करिब पाँच महिनापछि मण्डनदेउपुर नपा–११ को ३८ वर्षीया निशा लामाको कङ्काल पाँचखाल नपा–३ स्थित जङ्गलमा भेटिएको छ । लामाको हत्या अभियोगमा प्रहरीले आज धुलिखेल नपा–६ का ३६ वर्षीय सुनिल रञ्जितकारलाई पक्राउ गरेर अनुसन्धान थालेको छ । लामा गत असोज १५ गतेदेखि हराउनुभएको थियो । सोही दिन लामा औषधि खरिदका लागि घरबाट तामाघाट जान्छु भनेर हिँडेको र घर नफर्केपछि उनका श्रीमान राइफल लामाले प्रहरीमा खोजविनका लागि निवेदन दिनुभएको थियो । निशाको कङ्काल बुधबार दिउँसो २ बजे पाँचखालको काफ्लेडिही नजिकको जङ्गलमा फेलापरेको थियो । निशाको कङ्कालसँगै ब्याग, चप्पल र व्यागभित्र निशा लामा लेखिएको बिल फेला परेका कारण उक्त कङ्काल श्रीमती निशाकै भएको भनी लामाले सनाखत गर्नुभएको जिल्ला प्रहरीका प्रहरी निरीक्षक दिनेशबहादुर कुँवरले जानकारी दिनुभयो । उहाँका अनुसार निशाका श्रीमान् लामाले रन्जितकार विरुद्ध आज जाहेरीसमेत दर्ता गर्नुभएको छ । प्रहरीका अनुसार जाहेरीमा पक्राउ परेका सुनिल रञ्जितकारले निशालाई काभ्रेपलाञ्चोककै बनेपामा भेटी ललाइफकाइ गरी झुक्याएर काफ्लेडिहीको जङ्गलमा लगेको र हत्या गरेको आरोप छ । रञ्जितकारले भने निशाले आफूलाई ‘जबरजस्तीकरणीको अभियोग’ मा फसाइदिन्छु भनेकाले आवेशमा आएर धारिलो हतियार र ढुङ्गाले टाउको तथा संवेदनशिल अङ्गमा प्रहार गरेर हत्या गरेको स्वीकारेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाइएको छ । निशाका दुई छोरा र एक छोरी छन् ।
सुनसरी: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनताका समस्यालाई राष्ट्रिय मुद्दाको रुपमा स्थापित गर्ने बताउनुभएको छ । जनतासँग माओवादी तराई मधेस जागरण अभियानका क्रममा आज सुनसरीको गढी गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तराईका जनताको समस्या समाधान र एकता कायम गर्न हुलाकी मार्ग केन्द्रित अभियान सुरु गरिएको बताउनुभयो । पूर्वप्रधानमन्त्री समेत रहनुभएका दाहालले जनताले कृषि क्षेत्रमा भोग्दै आएका समस्या समाधान र बजारीकरणलाई सम्बोधन गर्ने सङ्कल्पसहित यो अभियान सञ्चालन गरिएको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “कृषि पेन्सन, कृषि बिमा, शीत भण्डार र बजार उपज बिक्री केन्द्र स्थापना गर्नुपर्ने छ । यसका लागि हामो पार्टीले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दछु ।” राज्यले दक्षिण भेगमा बस्दै आएका नागरिकमाथि वर्षौंदेखि विभेद गरिरहेकाले यसको विरुद्ध सङ्घर्षको झण्डा उठाउन अभियान थालिएको उहाँको भनाइ थियो । उत्पीडित क्षेत्र र समुदायको योगदानको स्मरण गर्दै यी क्षेत्र र समुदायको आर्थिक अवस्था रूपान्तरण कसरी गर्न सकिन्छ भन्ने विषयमा गम्भीर रहेको अध्यक्ष दाहालले बताउनुभयो ।
सराङकोटमा बुधबारदेखि श्रीमद्भागवत् ज्ञानमहायज्ञ एवम् धार्मिक पर्यटन महाउत्सव सुरु भएको छ । २१ फागुनसम्म जारी रहने उक्त उत्सव अन्र्तगत आज पूर्वाङ सहित महायज्ञ शुभारम्भ गरिएको हो। यज्ञ शुभारम्भ पूर्व बाजागाजा, भजन, युद्ध कलासँग सम्बन्धीत सरुन खेल सहित पोखरा गाईघाटबाट सेती नदी स्नान गरी पञ्चकन्या सहित कलश यात्रा सुरु भएको थियो ।उक्त यात्रा विन्ध्यवासीनी मन्दिर, सेदी हुँदै अन्नपूर्ण केवलकार मार्फत यज्ञ स्थल सराङकोट टप पुगी मुल समारोहमा परिणत भयो । बुधबार उद्घाटनको दिन अन्नपूर्ण केवलकारमा अध्यक्ष कालु गुरुङबाट रु.२५ लाख, सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसी परिवारबाट रु.१५ लाख, त्यस्तै खिमबहादुर जिसीको परिवारबाट रु.२ लाख ३३ हजार एवम् अन्य दाताको गरी कुल ४५ लाख ७५ हजार सहयोग संकलन भएको प्रसारप्रसार संयोजक कृष्ण थापाले जानकारी दिनुभयो। समारोहलाई सम्बोधन गर्नुहुँदै सहयोगदाता अन्नपूर्ण केबलकार अध्यक्ष कालु गुरुङले सराङकोट धार्मिक पर्यटकीय स्थलका अलवा शक्ति पीठका रुपमा क्रमश स्थापित हुँदै गएको जनाउनु हुँदै सद्कर्ममा सहयोग गर्न पाउदाँ खुशी लागेको सुनाउनुभयो ।उहाँले आफुले धार्मिक संघसंस्थामा सक्दो सहयोग गर्दै आइरहेको स्मरण गर्नुहुँदै सराङकोट वास्तवमै स्वर्गको टुक्रा भएको अनुभव राख्नुभयो। भागवत् भाष्कर पण्डित कमलनयन गौतमले सराङकोटलाई पुण्यभूमिको संज्ञा दिनुहुँदै सराङकोट पहिचान स्थापित भूमि भएको स्पष्ट पार्नुभयो ।उहाँले सराङकोट धामको बृद्धि विकासमा लागि हाल सहित ६ यज्ञ गरिएको स्मरण गर्नुहुँदै सराङकोट टप पुगेपछि स्वर्ग पुगेको महशुस हुने गरेको औँल्याउनुभयो। पोखरा महानगरपालिका प्रवक्ता समेत रहनुभएका वडा नं. २५ का अध्यक्ष मोतिराज तिमिल्सीनाले सराङकोट महाउत्सवले पोखरा भ्रमण वर्षलाई महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गर्नुहुँदै महाउत्सव समग्र पोखरेलीकै चाड भएको उल्लेख गर्नुभयो ।प्रवक्ता तिमिल्सीनाले पोखरा कोटैकोटको शहरका रुपमा स्थापीत हुँदै गएकोमा खुशी व्यक्त गर्नुहुँदै सराङकोटको स्तरउन्नतीमा महानगरले विशेष भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाउनुभयो। वडाध्यक्ष शिवप्रसाद तिमिल्सीनाले उत्सव समग्र पोखरेलीको चाड भएको भनाई राख्नुहुँदै सराङकोटमा निर्माण भएका संरचना संरक्षणमा सबैले ध्यान दिनुपर्ने जनाउनुभयो ।२०६१ सालदेखि सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समिति गठन पश्चात गुरुयोजना निर्माण गरी हालसम्म अनवरत रुपमा सहयोग जुटाउर्दै त्यहाँ निर्माण कार्य गरिएको स्पष्ट पार्नुहुँदै अध्यक्ष तिमिल्सीनाले पोखरालाई नियाल्न सराङकोट टप पुग्नैपर्ने स्पष्ट पार्नुभयो । त्यस अवसरमा सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसी, वडा सदस्य कल्पना ढकाल क्षत्री लगायतले पनि महाउत्सवको महत्वमाथि प्रकाश पार्नुहुँदै सबैको साथ सहयोगबाट उत्सव सफल हुने विश्वास व्यक्त गर्नुभयो। उद्घाटनको दिन आज यज्ञ स्थल पुग्ने सम्पूर्ण भक्तजनका लागि केबलकार तथा वसमा आवातजावत निःशुल्क व्यवस्था मिलाइएको थियो।त्यस्तै यज्ञमा मातृ शक्तिको वाक्लो उपस्थिती देखिन्थ्यो । महाउत्सव अन्र्तगत यहि १७ फागुनमा राष्ट्रपति रामचन्द्र पौडेलको बाहुलीबाट सराङकोट धाममा निर्माण गरिएको विशाल पञ्चमुखी गणेश मुर्ति एवम् देवालयहरुको उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।यज्ञ अवधिभर स्थानीय चक्रबहादुर जिसी तथा उद्योगकुमारी जिसीले मूल कर्ताको भूमिका निर्वाह गर्नुहुनेछ। सराङकोटमा २०६१ सालदेखि गुरुयोजना बनाई विभिन्न संरचना निर्माण गरिएको छ । हालसम्म विशाल शिव मन्दिर, नेपालकै पहिलो विशाल पञ्चमुखी गणेश मूर्ति, १०८ शिवलिङ, १०८ धारा, भ्यू टावर, बहुउद्देश्यीय भवन, भूमे कालिका, स्वागतद्वार निर्माण भएका छन् । ती संरचना निर्माणमा हालसम्म ३५ करोड बढी खर्च भइसकेको छ । महाउत्सवका अवसरमा सामुहिक ब्रतबन्ध, लाख बत्ती बाल्ने, ग्रह शान्ति, रुद्री, चौरासी पुजा तथा संगीतमय भजन कृर्तन गरिनेछ ।सराङकोटमा अझै १५ करोडका संरचना निर्माण गर्ने समितिले लक्ष्य राखेको छ । सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिका अध्यक्ष प्रेमबहादुर जिसीको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा वडा सदस्य कल्पना ढकाल क्षत्रीले स्वागत तथा महाउत्सवका सचिव डिलबहादुर जिसीले कार्यक्रम संचालन गर्नुभयो ।
पोखरा: अन्तर्राष्ट्रिय स्तरको दुईवटा रियालिटी शो ‘मेरो भ्वाइस युनिभर्स’ र ‘मेरो डान्स युनिभर्स’ सिजन २ को पोखरा अडिसन फागुन १६ र १७ गते हुँदैछ । गण्डकी प्रदेशका सहभागिलाई समेट्ने गरि पोखराको पोखरा बहुमुखि क्याम्पसमा हुने अडिसनको तयारी पुरा भएको आयोजक इन्ट्रा–नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेसन अफ अमेरिकाले जनाएको छ । विश्वभर रहेका नेपालीहरुको गायन र नृत्य क्षेत्रका उत्कृष्ट प्रतिभाहरु पहिचान गर्नका लागि यी दुवै रियालिटी शो सञ्चालन हुँदैछ । साउनको अन्तिम साता काठमाडौंमा हुने फिनालेमा दुबै शोका विजेताहरुलाई १/१ करोड नेपाली रुपैंया पुरस्कार स्वरुप प्रदान गरिने छभने दोस्रो हुनेलाई २५/२५ लाख रुपैया र तेस्रो हुनेलाई १०/१० लाख पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । पोखरा अडिसनका लागि सम्पूर्ण तयारी पुरा भएको फाण्डेसनका गण्डकी प्रदेश प्रमुख तथा गाएक राजेश बर्देवाले जानकारी दिए । १६ गते हुने भ्वाइस अडिसन र १७ गते हुने डान्स अडिसनका लागि गण्डकी प्रदेशका सम्वन्धित संस्था, विद्यालय, क्याम्पस तथा आम जनमानसमा जानकारी तथा सूचना पुराईसकिएको बर्देवाले बताए । नेपाली संस्कृति र साँस्कृतिक पहिचानलाई संरक्षण, सम्वद्र्धन र उत्थान गर्नु फाउण्डेशनको मूलभूत उद्देश्य रहेको फाउण्डेसनका कास्की जिल्ला प्रमुख तथा कलाकार किसान सेवाले बताए । साथै फागुन १६ र १७ गते हुने पोखरा अडिसनमा भाग लिन समेत उनले आग्रह गरे । सहभागी हुन चाहने प्रतिष्पर्धीहरुले फाउण्डेसनको वेभसाइट इन्ट्रा फाउण्डेसन डट ओआरजी (www.intrafoundations.org) बाट आवेदन दिन सक्ने किसान सेवाले जानकारी दिए । फाउण्डेसनका कार्यकारी निर्देशक सिएम भट्टराईल नेपाली कला संस्कृतिका माध्यमबाट सबैलाई एउटै सूत्रमा जोड्नका लागि र नेपालीभाषी प्रतिभाहरुलाई चिनाउन यस्तो खालको रियालिटी शो आयोजना गरिएको बताए । नेपाली कला, संस्कृति, संस्कारजस्ता कुरालाई नयाँ पुस्तालाई पुस्तान्तरण गर्न पनि यो रियालिटी शोले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाई छ । फाउण्डेसनका अनुसार दोस्रो संस्करणका लागि युरोप महादेशमा बेलायत र पोर्चुगलमा, पूर्वी एशियाका लागि थाइल्याण्ड, हङकङ र जापानमा, मध्यपूर्वका लागि दुबई र कतारमा, अष्ट्रेलियाका लागि सिड्नीमा, भारतको लागि सिलिगुरी र मुम्बईमा, र नेपालका विर्तामोड, नेपालगञ्ज, पोखरा र काठमाडौंमा अडिसनहरु हुनेछन् । उक्त अडिसनमा छनौट भएका भ्वाइस र डान्सका प्रतियोगिलाई प्रतिस्पर्धाका लागि काठमाडौं लगिने आयोजकले जनाएको छ । सन् २०२३ मा यी दुवै रियालिटी शोको पहिलो सिजन सफलतापूर्वक सम्पन्न भइसकेको छ ।
काभ्रेपलाञ्चोक: सडक डिभिजन कार्यालय भक्तपुरले अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकस्थित निर्माणाधीन धुलिखेल–खावा सडकखण्डको ठेक्का रद्द गरेको छ । आज कार्यालयले सार्वजनिक सूचनामार्फत विस्तारको क्रममा रहेको उक्त चार किलोमिटर दूरीको सडकको ठेक्का रद्द भएको जानकारी गराएको हो । कार्यालयको मङ्गलबार बसेको बैठकले उक्त सडकको ठेक्का रद्द गर्ने निर्यय गरेको थियो । जिल्ला सदरमुकाम धुलिखेलदेखि–खावासम्मको सडक विस्तारको गौरी पार्वती निर्माण सेवा प्रालि नामक कम्पनीले विसं २०७९ जेठ २० मा २०८० चैत १९ गतेभित्र बनाइसक्नुपर्ने गरी रु २० करोड १९ लाख ४६ हजार पाँच सय एकमा ठेक्का लिएको थियो । ठेकेदार कम्पनीले निर्माणमा आलटाल गर्दै आएका कारण समयसीमा सकिएको ११ महिना बितिसक्दा पनि निर्माण सकेको थिएन । पछिल्लो वर्षदेखि उक्त सडकखण्डको निर्माणको काम ठप्पप्राय नै थियो । सडक उपभोक्ताले पटकपटक गुनासो गरेपछि तथा यात्रुले सास्ती बेहोरेपछि संसद्को पूर्वाधार समितिले समेत अनुगमन गरेको थियो । सडक डिभिजनको ताकेतापछि पनि ठेकेदार कम्पनीले निर्माणमा आलटाल गरेपछि पछिल्लेपटक गत माघ १९ गते पुनः स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार कम्पनीले लिखित स्पष्टीकरण दिए पनि सन्तोषजक, भरपर्दो विश्वसनीय नदेखिएपछि ठेक्का रद्द गर्ने निष्कर्षमा पुगिएको हो । “अब प्रक्रिया पु¥याएर पुनः एक दुई हप्तामै पुनःठेक्का खोल्नेछौँ, भौतिक एवं वित्तीय प्रतिशतका आधारमा हेरफेरसमेत हुनेछ”, कार्यालयका प्रमुख सुमन योगेशले भन्नुभयो । उहाँका अनुसार हालसम्म २५ प्रतिशत वित्तिय प्रगति भएको छ । हालसम्म धुलिखेल बसपार्कदेखि जिपलाइनसम्म डाँडा कटिङको काम मात्रै भएको छ भने केही स्थानमा नाली तथा ड्रेन–वाल लगाउने काम गरिएको छ भने जिपलाइनदेखि तल खावासम्मको करिव सडकमात्रै भत्काइएको तर एक किलोमिटर भागमा कटिङ नै बाँकी रहेको छ । गत जेठमा धुलिखेलतर्फबाट बेस, सब–बेस हाल्ने काम सुरु गरिए पनि बर्षामा सबै बगाएर खण्डहरझैँ बनाएको थियो । समयमै निर्माण सम्पन्न नहुँदा यस राजमार्ग भएर गुड्ने सवारीका यात्रुले दुई वर्षदेखि निकै सास्ती खेप्दै आउनुपरेको छ । सडक निर्माणको काम समयमा नसकिँदा पुनःनिर्माणका लागि भत्काइएको सडकमा सयौँ दुर्घटना हुँदा यात्री घाइते भएका छन् । केही वर्षदेखि जीर्ण बन्दै आएको धुलिखेल–खावा सडकखण्डलाई १२ मिटरको फराकिलो बनाई कालोपत्रे गर्न लागिएको थियो । उक्त सडकमा गुड्ने मालवाहक सवारीको भारवहन क्षमतालाई मध्यनजर गर्दै बलियो बनाउन कार्यालयले नेपालमा नै पहिलोपटक ग्राभेलमाथि २० सेन्टिमिटर बाक्लो सिमेन्ट मिसाइएको बेस हाल्ने तथा दुई चरणको कालोपत्रे डिबिएम र आस्फाल कालोपत्रे गर्ने योजना बनाएको थियो । अरनिको राजमार्ग हुँदै नेपालको चिनसँगको उत्तरी नाकाअर्थात् सिन्धुपाल्चोकको तातोपानी तथा दोलखा, रामेछाप पुग्ने यही सडक हो ।
हेटौँडा उपमहानगरपालिका–६ सल्लाघारी नजिक मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री ६१ वर्षीय कमलबहादुर बोहराको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका वृद्धको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । रामनगरबाट हात्तीलेटतर्फ जाँदै गरेको ना५४प १८७६ नंको मोटरसाइकलले बुधबार साँझ पैदलयात्री बोहरालाई ठक्कर दिएको थियो । दुर्घटनामा गम्भीर घाइते भएका बोहराको हेटौँडा अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि चितवनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा लगिएको थियो । उहाँको उपचारका क्रममा आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । दुर्घटनापछि मोटरसाइकल चालक विदुर सापकोटा फरार रहेकाले खोजी भइरहेको इलाका प्रहरी कार्यालय चौघडाले जनाएको छ ।
मुगु: यहाँस्थित रारा तालको किनारमा अवस्थित एक होटेलमा गए राति आगलागी हुँदा चारवटा भवन जलेर नष्ट भएका छन् । आगोबाट काठै काठको संरचनाले बनेको ती भवनमा क्षति पु¥याएको जनाइएको छ । नेपाली सेना, कर्मचारी, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले आज बिहान आगो नियन्त्रणमा लिएका थिए । आगलागीको जानकारी प्राप्त हुनासाथ जिल्ला सदरमुकाम गमगढीबाट प्रहरी नायब निरीक्षक दीपक केसीको नेतृत्वका १५ जना प्रहरी टोली रारा पुगेको थियो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारीअनुसार होटेलको भान्साबाट सुरु भएको आगोले त्यहाँ रहेका ग्याँसको सिलिण्डर पड्कदा अन्य तीन भवनमा क्षति पु¥याएको थियो । प्रहरी, सेना र सशस्त्र प्रहरीले होटलमा रहेका पाहुनालाई तत्काल उद्धार गरी नजिकै रहेका होटल,सेनाको ब्यारेक, निकुञ्ज कार्यालयमा सारिएको थियो । घटनाको पूर्ण विवरण आउन बाँकि रहेको छ ।
काठमाडौं: कैलालीको स्वास्थ्य क्षेत्रमा रहेका विभिन्न समस्याका बारेमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता एवं सहसचिव डा प्रकाश बुढाथोकीलाई ध्यानाकर्षण गराइएको छ । जिल्लाका १३ वटै स्थानीय तहका स्वास्थ्य शाखाका प्रमुख÷प्रतिनिधिले सुदूरपश्चिम प्रदेशका स्वास्थ्य निर्देशक डा खगेन्द्र बममार्फत सहसचिव डा बुढाथोकीलाई सङ्घीय सरकारले तत्काल समन्वय एवं समाधान गरिनुपर्ने कामका बारेमा जानकारी गराएको हो । जिल्लाको स्वास्थ्य अवस्थाका बारेमा स्थलगत अनुगमन गर्न त्यहाँ पुग्नुभएका स्वास्थ्य आपत्कालीन तथा विपद् व्यवस्थापन कार्यसञ्चालन केन्द्रका प्रमुख डा बुढाथोकीले धनगढी उपमहानगरपालिकाद्वारा हरेक वडामा सञ्चालित ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’ तथा नसर्ने रोगको ‘स्क्रिनिङ’का अनुगमन समेत गर्नुभएको थियो । सो अवसरमा धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमालले उपमहानगरपालिकाद्वारा सम्पादित स्वास्थ्य सेवा प्रवाहका बारेमा जानकारी गराउँदै हरेक वडामा सञ्चालित ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’ थालनी गरिएको र सङ्घीय सरकारले उपमहानगरपालिकालाई थप स्वास्थ्य क्षेत्रमा थप लगानी बढाउन आग्रह गर्नुभएको थियो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा बुढाथोकीले ‘विशेषज्ञ चिकित्सा वडा क्लिनिक सेवा’ नवीनतम एव अनुकरणीय कार्य रहेको चर्चा गर्दै स्वास्थ्य मन्त्रालयबाट थप समन्वय र सहयोग हुने जानकारी दिनुभएको थियो । सोही अवसरमा प्रवक्ता डा बुढाथोकीले करागार कार्यालय कैलालीमा रहेका कैदीबन्दीलाई प्रदान भइराखेको स्वास्थ्य सेवाका बारेमा समेत जानकारी लिनुभएको थियो ।
काठमाडौं: महाशिवरात्रिको रात्रिमा पशुपतिनाथ मन्दिरमा चार प्रहरको पूजा चलिरहेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बुधबार बेलुकी करिब ६ बजे सुरु भएको पूजा आज बिहान ६ बजेसम्म जारी रहने कोषका सदस्यसचिव डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो । सांस्कृतिक पर्वका रूपमा रहेको यस रात्रिमा बुधबार पशुपतिनाथमा चार प्रहरमा चार प्रकारका पूजाका अतिरिक्त महादीप, अखण्डदीप, लक्ष्यबत्ती तथा दीपोत्सवका साथै लाख बेलपत्र अर्पण गरिन्छ । कैलाशकुट र किराँतेश्वरका सङ्गीत आश्रममा शास्त्रीय नाचगान गरिन्छ । भगवान् श्री महादेवको दर्शन गर्न तथा महाशिवरात्रि पर्वको मेला भर्न देशभरका विभिन्न भागलगायत छिमेकी राष्ट्र भारतका तीर्थयात्रीको पशुपतिनाथ मन्दिरमा घुइँचो लागेको थियो । महाशिवरात्रिमा प्रहर पूजाको विशेष महत्व रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउनुहुन्छ । बुधबार बेलुकी करिब छ बजेदेखि सुरु भएको पहिलो प्रहर पूजा करिब पौने ९ बजे सकिएको र लगत्तै दोस्रो प्रहर पूजा सुरु भई करिब पौने १२ बजेसम्म चल्ने गरेको छ । लगत्तै तेस्रो प्रहरको पूजा सुरु भई पौने ३ बजे हाराहारीमासकिन्छ । त्यसपछि चौथो प्रहर पूजा सुरु भई बिहान ६ बजे सकिने प्रा डा भट्टराईले बताउनुभयो । जप, ध्यान, पूजा, अघ्र्यदान, पाठ, रुद्राभिषेक आदि गरी प्रहर पूजा गरिन्छ । महाशिवरात्रिमा प्रहर पूजाकै विशेष महत्व हुने भएकाले यो पूजालाई विधिपूर्वक गर्नुपर्छ । प्राणप्रतिष्ठासहित स्थापना भएका देशभरका धेरै शिवालयमा बुधबार बेलुकीदेखि विधिपूर्वक चार प्रहर पूजा भइरहेको छ । प्रहर पूजाबाट आशुतोष भगवान् शिव खुसी हुनुहुने धार्मिक विश्वास छ । यो प्रहर पूजा रुद्रमती किनारस्थित चावहिल गङ्गाहिटीमा रहेको रुद्रेश्वर महादेव मन्दिर, गौरीघाटस्थित त्रिगजुर शिवालय, गोकर्णेश्वर महादेव मन्दिर, नागेश्वर, डोलेश्वरलगायत मन्दिरमा पनि हुने परम्परा रहिआएको छ । महाशिवरात्रिका अवसरमा बुधबार दिनभर पशुपतिनाथ मन्दिरसँगै गोकर्णेश्वर, डोलेश्वर, नागेश्वर महादेव, वसन्तपुरस्थित सानो पशुपतिनाथ भनेर चिनिने मक्खन महादेवलगायत स्थानमा पनि लाखौँ भक्तजनको उपस्थिति रहेको थियो ।

