पाेखरा :  नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेकाे विरुद्धमा पोखरामा एमालेको विरोध प्रदर्शन गरेको छ ।   तस्बिरहरू:-     ...

काठमाडौं:   प्रधानमन्त्री केपी शर्मा ओलीले तेस्रो नेपाल–जापान फ्रेन्डसिप समिट–२०२५ का माध्यमबाट दुई देशबीचको सम्बन्ध अझ विस्तार गर्न टेवा पुुग्ने बताउनुुभएको छ ।      सो समिटमा सहभागी हुन नेपाल आएका जापानी टोली र नेपाली समन्वयकर्ताहरुसँग आज प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा प्रधानमन्त्री ओलीले नेपाल र जापानबीच सरकार–सरकार र जनता–जनताबीचको लामो सम्बन्ध अब आयात–निर्यातमा पनि विकसित हुन थालेको बताउनुुभयो ।       “नेपालीहरु राम्रो रोजगारीका लागि जापान पनि गएका छन् । नेपालको फापर जापान पुुगेको छ । जापानबाट गोल्डेन ट्राउड नेपाल भित्रिएको छ । जनस्तरका यस्ता असल सम्बन्धका अनेक आयामहरु छन्”, प्रधानमन्त्री ओलीले भन्नुुभयो, “हामीबीच अब्बल मित्रता छ । खाली मित्रताबाहेक अरु केही छैन । हाम्रो सम्बन्ध साकुराजस्तै लटरम्म भएर फुलेको छ । समस्यारहित यो सम्बन्ध तथा विकासको साझेदारीलाई सूूचना प्रविधिको सहयोगमा उचाइका साथ अगाडि बढाउनुपरेको छ ।”      प्रधानमन्त्री ओलीले युद्धले विनाश र शान्तिले विकास दिन्छ भन्ने उदाहरण जापानले प्रस्तुत गरेको उल्लेख गर्दै विश्वमा शान्ति छाओस् भन्ने आफूहरुको प्रबल इच्छा र सक्रिय प्रयास रहेको बताउनुुभयो ।      एक दशकभन्दा बढी समयदेखि उद्यमशीलता प्रवद्र्धन र व्यावसायिक मार्गदर्शनमा सक्रिय रहेको आइडिया स्टुडियो नेपालअन्तर्गतको समूूहद्वारा सञ्चालित लिडएक्स नेपाल र फोर्थ लिभायेको आयोजनामा यही फागुुन १४ देखि १६ गतेसम्म नेपालमा समिट आयोजना गरिएको हो ।

ढोरपाटन:  आज बिहानदेखि परेको वर्षा र हिमपातका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध भएको छ ।       सडकमा जमेको बाक्लो हिउँका कारण लोकमार्गअन्तर्गत बागलुङको निसीखोला–पूर्वी रुकुम खण्ड अवरुद्ध भएको हो ।  निसीखोला गाउँपालिका–६ पातीहाल्नेमा डेढ फिट हिउँ परेको छ । सडक अवरुद्ध हुँदा पूर्वी रुकुम, पश्चिम रुकुम, जाजरकोट, डोल्पालगायत स्थानबाट सञ्चालन हुने सवारीसाधन ठप्प भएको निसीखोला गाउँपालिका अध्यक्ष सूर्यबहादुर घर्तीमगरले जानकारी दिनुभयो । अहिले पनि निरन्तर हिमपात भइरहेको उहाँले बताउनुभयो ।        “बिहानैदेखि वर्षा भएको थियो, अहिले हिमपात भइरहेकाले तत्कालै सडक खुलाउन सकिने अवस्था छैन ।  हिमपात रोकिएर घाम लाग्यो भने मेसिन प्रयोग गरेर सडक खुलाउनु पर्छ । बिहान काठमाडौँदेखि आएका रात्रि बस सञ्चालन भए पनि अहिले लामो तथा छोटो दूरीका सवारीसाधन सञ्चालन हुनसकेका छैनन्”, अध्यक्ष घर्तीमगरले भन्नुभयो । नेपालको एकमात्र ढोरपाटन सिकार आरक्षको माथिल्लो भेगमा पनि बाक्लो हिमपात भएको छ । बिहानैदेखि परेको हिमपातका कारण जनजीवन प्रभावित भएको ढोरपाटन नगरपालिका–९ का स्थानीय चकबहादुर अदैले जानकारी दिनुभयो । 

गोरखा:  बारपाक सुलिकोट गाउँपालिकाले आफ्नो कार्यक्षेत्रका अनाथ बालबालिकालाई आवासीय सुविधासहित निःशुल्क पठनपाठनको व्यवस्था मिलाएको छ ।  गाउँपालिका–६ स्थित बाह्रकोटमा मनास्लु छात्रावास सञ्चालनमा गरेर अभिभावकविहीन बालबालिकालाई खानेबस्ने व्यवस्थासहित निःशुल्क पठनपाठनको प्रबन्ध गरिएकोे गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भट्टले बताउनुभयो । “चालु शैक्षिकसत्रदेखि पालिकाभित्र विद्यालय जान नपाएका अभिभावकविहीन बालबालिकालाई निःशुल्क खान, बस्न र पठनपाठनको व्यवस्था गरेका छौँ”, उहाँले भन्नुभयो, “अहिले १९ जना अनाथ बालबालिका गाउँपालिकाले सञ्चालन गरेको छात्रावासमा अध्ययनरत छन् ।”  छात्रवासमा नौ जना छात्रा र १० जना छात्र छन् । उनीलाई कक्षा १२ सम्म निःशुल्क शिक्षा दिइने जानकारी दिँदै पालिका अध्यक्ष भट्टले भन्नुभयो ‘‘बालबालिकाका लागि आवश्यक पर्ने केही लत्ताकपडा, किताबकापी, कलमलगायतका सामग्री इच्छुक दाताहरुबाट सहयोग लिने गरेका छौं ।”  अनाथ बालबालिकालाई निःशुल्क पठनपाठन तथा खानबस्नको व्यवस्थाका लागि गाउँपालिकाले चालु आर्थिक वर्षमा रु १२ लाख विनियोजन गरेको थियो । छात्रवासमा दुई जना महिला कार्यालय सहयोगी, छात्रवास सुरक्षाका लागि सुरक्षाकर्मी र एक जना निरीक्षकको पनि व्यवस्था गरिएको छ ।

गलकोट:   सङ्घीयता लागूपछि बागलुङ १० पालिका भए । त्यसअघि बागलुङ नगरपालिका मात्र अस्तित्वमा थियो ।  २०७३ सालमा स्थापना भएका बागलुङका नौ पालिका भाडाको घरमा सञ्चालन भएका थिए । ती मध्ये छ स्थानीय तह आफ्नै भवनबाट सेवा दिन सफल भएका छन्भने गलकोट र जैमिनी नगरपालिकाका भवन निर्माणाधीन छन् ।  फागुनदेखि ढोरपाटन नगरपालिकाले पनि आफ्नै भवनबाट प्रवाह गर्न थालेको छ । भवन सम्पन्नपश्चात् फागुनदेखि सेवा दिन थालिएको छ ।  चार करोड ५९ लाख ३४ हजारको लागतमा छ तलाको पक्की भवनबाट सेवा प्रवाह थालिएपछि कार्यालय सञ्चालन खर्च घटेको छ ।  काठेखोला गाउँपालिकाले जग्गा टुङ्गो लगाउन सकेको छैन । ताराखोला गाउँपालिकाले सुविधासम्पन्न भवन निर्माण गरेको एक वर्ष पछि बडिगाड गाउँपालिकाले भवन बनाएको हो ।  काठमाडौँको सिंहदरबार सङ्घीयतापछि जनताको सेवाका लागि गाउँमै ठडिन थालेका हुन् । बडिगाड र ताराखोला मात्र होइन तमानखोला, निसीखोला गाउँपालिका र बरेङ गाउँपालिकाले पनि आफ्नै भवनबाट सेवा  प्रवाह गरिरहेका छन् । 

काठमाडौं: हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको तथा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी प्रदेश बदली रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ ।  साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ ।  महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा अधिकांश बदली रही बाँकी भू–भागमा आंशिकदेखि साधारणतया बदली रहनेछ ।  कर्णालीका साथै सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा लुम्बिनी, गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । गण्डकी,सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ ।  यसैगरी, आज राति सुदूरपश्चिम  र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा साधारणतयादेखि अधिकांश बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ ।  सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै देशका बाँकी पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।  महाशाखाले आज बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार गण्डकी, सुदूरपश्चिम  र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको जनाइएको छ ।  आगामी २४ घण्टामा कर्णाली साथै सुदूरपश्चिम प्रदेशका पहाडी भागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । साथै लुम्बिनी,गण्डकी र सुदूरपश्चिम प्रदेशका तराई भेगका केही स्थान तथा देशका बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । महाशाखाले सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भागका धेरै स्थान, गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थान र बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकोले त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाईउड्डयनमा प्रभाव पर्न सक्ने जनाउँदै ती सम्बद्ध सबैलाई सतर्कता अपनाउन अनुरोध गरेको छ ।

काठमाडौं:  प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार विविध कार्यक्रम आयोजना गरी आज मनाइँदै छ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१५२औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन (मेघ), सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्य रूपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त पर्वका नामले मनाउन सुरू गरिएको हो ।  समय क्रममा ग्याल्पो ल्होसार नामकरण भएको अनुसन्धाता टीका शेर्पाले सुनाउनुभयो । यो ल्होसारलाई कसैले ग्याल्पो र कसैले ग्याल्बो उच्चारण गर्ने गरेको जानकारी पनि उहाँले दिनुभयो ।  विगतमा हिमाली क्षेत्रका १२ जिल्लामा मनाइने ग्याल्पो ल्होसार हाल २२ जिल्लामा मनाइन्छ । शेर्पा जातिको बसाइँसराइसँगै यो पर्व मनाउने जिल्ला बढेको हो । पुस १५ मा गुरूङ समुदायले तमु र माघ शुक्ल प्रतिपदाका दिन तामाङ समुदायले पनि सोनाम ल्होसारका नाममा यो पर्व मनाइसकेका छन् ।  

पोखरा: पोखरामा आज ४३ औं मगर स्थापना ४३औँ मगर सङ्घ स्थापना दिवस मनाइएको छ । नेपाल मगर संघ कास्कीको आयोजनामा आज पोखरामा विभिन्न कार्यक्रम गरेर ४३ औं मगर स्थापना दिवस मनाइएको हो ।  मगर दिवसको अवसमा पोखराको मानवअधिकारबाट मगर भेषभुषामा झाँकी ¥याली चिप्लेढुङ्गा, महेन्द्रपुल, नयाँबजार, लखनचोक हुँदै पोखरा रंगशालामा गएर औपचारिक कार्यक्रममा सुरु भएको थियो ।  विसं २०३९ फागुन १५ गते तनहुँको दमौलीमा नेपाल लाङ्घाली परिवार सङ्घको स्थापना भएको थियो । सोही दिनलाई मगर सङ्घले स्थापना दिवसको रुपमा मनाउँदै आएको छ ।    विसं २०३९ मा मगर सङ्घको पहिलो महाधिवेशन भए तापनि त्यस अघिदेखि नै मगरहरु विभिन्न ढङ्गले सङ्गठित हुँदै आएका थिए ।   विसं २०३९ फागुन १४, १५ देखि १६ गते तनहुँको दमौलीमा पञ्चायती व्यवस्थामा प्रहरी घेराबन्दीको बीचमा हजारौँ मगर समुदायको उपस्थितिमा ‘नेपाल लाङ्घाली परिवार सङ्घ’ को ऐतिहासिक प्रथम महाधिवेशन भव्यताका साथ सम्पन्न भएको थियो ।   विसं २०४८ को चौथो महाधिवेशनले ‘नेपाल लाङ्घाली परिवार सङ्घ’ लाई नाम परिवर्तन गरी ‘नेपाल मगर सङ्घ’ मा रूपान्तरण गरेको थियो ।                

गण्डकी: उत्पादनसँग जोडिने ठूला राजनीतिक दलका योजना निरर्थक बनिरहेका बेला नेपाल कम्युनिष्ट पार्टीका नेता–कार्यकर्ताले भने त्यसलाई चरितार्थ तुल्याएका छन् ।  देशका विभिन्न ठाउँमा व्यावसायिक कृषि उत्पादनसँग जोडिएको नेकपाले हालै काठमाडौँमा ‘सी व्यापार केन्द्र’समेत सञ्चालनमा ल्याएको छ । उक्त व्यापार केन्द्रबाट कृषिजन्य वस्तुको उत्पादन तथा वितरण हुँदै आएको छ ।  नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ आफै कृषिकर्ममा जोडिएर आफ्ना नेता–कार्यकर्ता र सर्वसाधारण किसानलाई व्यावसायिक उत्पादनतिर प्रेरित गरिरहनुभएको छ ।  उत्पादनसँग जोडिने पार्टी नीतिलाई लागू गरेका कास्कीका नेकपा नेता–कार्यकर्ता पनि व्यावसायिक कृषि खेती गरेर उदाहरणीय बनेका छन् ।  गत असारदेखि पोखरा महानगरपालिका–१४ छिनेडाँडामा १४ रोपनी जग्गा भाडामा लिएर कृषि उत्पादन सुरु गरिएको नेकपाका केन्द्रीय सदस्य एवं गण्डकी प्रदेशका कार्यालय सचिव विकिरण क्षेत्रीले जानकारी दिनुभयो ।  छिनेडाँडामा रहेको परम्परागत घरसमेत भाडामा लिई त्यसैमा कार्यालय पार्टी कार्यालय सञ्चालन हुँदै आएको उहाँको भनाइ छ । कार्यालय सचिव क्षेत्रीका अनुसार यो हिउँदमा ६५ क्विन्टल आलु उत्पादन भएको छ ।  “झण्डै रु तीन लाख बराबरको आलु फल्यो, ३० क्विन्टल आलु चिप्स उत्पादनका लागि बाहिर पठाइएको छ, बाँकी पोखरामै बिक्री गर्छौँ”, उहाँले भन्नुभयो, “अब चैतेधान र मकै रोप्ने तयारी भइरहेको छ, काँक्रालगायत तरकारीका लागि टनेलखेती गरिरहेका छौँ ।” पार्टी केन्द्रले काठमाडौँमा सञ्चालन गरेको ‘सी व्यापार केन्द्र’मा पोखरामा उत्पादन भएको तीन क्विन्टल जेठोबुढोको धान पठाइएको उहाँले बताउनुभयो । नेकपा गण्डकी प्रदेश इञ्चार्ज उमा भुजेलले कृषि उत्पादनमा प्रत्यक्ष रुपमा नेता–कार्यकर्ता खट्ने गरेको सुनाउनुभयो ।  “कृषि उत्पादनमा दैनिक रुपमा जोडिने साथीहरु सात÷आठ जना हुनुहुन्छ”, उहाँले भन्नुभयो, “आवश्यक पर्दा काममा सघाउन बाहिरबाट पनि आउनुहुन्छ ।” इञ्जार्च भुजेलका अनुसार तनहुँको बन्दीपुर, नवलपुर, म्याग्दी, बागलुङ, लमजुङलगायतका जिल्लामा पनि नेकपाका नेता–कार्यकर्ता कृषि उत्पादन जोडिएका छन् । व्यावसायिक कृषिमा नेपालको भविष्य जोडिएकाले त्यसतर्फ समाजलाई अभिप्रेरित गर्न पार्टीलाई उत्पादन कार्यमा संलग्न गराइएको केन्द्रीय सदस्य क्षेत्रीले बताउनुभयो ।  “कृषि उत्पादन क्षेत्र विस्तार गर्दै जाने र किसानलाई जोड्ने पार्टीको योजना छ, पार्टी नेतृत्वले गरेको कृषि क्रान्तिको उद्घोषलाई व्यवहारिक रुपमा कार्यान्वयन गर्नु हामी नेता–कार्यकर्ताहरुको दायित्व हो”, उहाँले भन्नुभयो, “यसले जनस्तरमा पनि कृषिप्रतिको आकर्षण बढाउँछ भन्ने हाम्रो विश्वास छ, राजनीतिक दलहरुप्रतिको दृष्टिकोण पनि बदलिन्छ ।”

गण्डकी:  सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरूङले साहित्य परिवर्तनको सम्वाहक रहेको बताउनुभएको छ । ‘बुकवर्म फाउण्डेशन’को आयोजनामा आजदेखि पोखरामा सुरू भएको १२औँ नेपाल साहित्य महोत्सवको उद्घाटन गर्दै उहाँले साहित्य अभिव्यक्तिको सशक्त माध्यम भएको बताउनुभयो ।  भूपि शेरचनको कृति ‘घुम्ने मेचमाथि अन्धो मान्छे’ पढेर आफू क्रान्ति र परिवर्तनप्रति आकर्षित भएको सञ्चारमन्त्री गुरूङले बताउनुभयो । उहाँले बुकवर्मले आयोजना गर्दै आएको साहित्य महोत्सव बहुआयमिक कार्यक्रम रहेको बताउनुभयो । “यहाँ समाज, संस्कृति, अर्थतन्त्र, राजनीतिलगायतका विषयमा विचार–विमर्श हुन्छ, यसबाट सामाजिक रूपान्तरणमा योगदान पुग्छ”, सञ्चारमन्त्री गुरूङले भन्नुभयो, “यो अन्यभन्दा नितान्त नौलो र सिर्जनशील कार्यक्रम हो ।” उहाँले नयाँ पुस्तालाई अनुसन्धान र सिर्जनशीलतातर्फ आकर्षित गर्नुपर्ने बताउनुभयो ।  सञ्चारमन्त्री गुरूङले पुस्तक पढ्ने संस्कृतिलाई बढाउनुपर्ने बताउनुभयो । पोखरामा पर्यटकीय गतिविधि बढाउन यस्ता मेला–महोत्सवबाट सघाउ पुग्ने उहाँको भनाइ थियो ।  फेवाताल किनारको बाराहीघाट मैदानमा चार दिनसम्म चल्ने उक्त साहित्य महोत्सवको उद्घाटनसत्रमा प्राध्यापक तथा अर्थशास्त्री महेन्द्र पी लामाले प्रवचन दिनुभएको थियो ।  महोत्सवमा नेपाल तथा अन्य मुलुकका गरी दुई सयभन्दा बढी साहित्यकार, राजनीतिज्ञ, लेखक, कलाकार, पत्रकारलगायतको उपस्थिति रहनेछ ।  पचासभन्दा बढी छलफल सत्र, अन्तरक्रियात्मक कार्यक्रम, साङ्गीतिक प्रस्तुति र अन्य रचनात्मक कार्यक्रम पनि यसमा समावेश छन् । महोत्सवमा साहित्यसँग जोडिएका सामाजिक, राजनीतिक, आर्थिक, नवीन प्रविधि, चलचित्रलगायत क्षेत्रका विषयमाथि गम्भीर मन्थन हुने बताइएको छ ।