कास्की: सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरूङले सरकारले सदनमा प्रस्तुत गरेका अध्यादेश पारित हुने बताउनुभएको छ । पोखरामा रहेको हिमालय आँखा अस्पतालको ३२औँ वार्षिकोत्सवको आज उद्घाटन गर्दै उहाँले सुशासन प्रवर्द्धन र सार्वजनिक सेवालाई प्रभावकारी बनाउने गरी सरकारले अध्यादेश ल्याएकाले पारित गर्नुपर्ने बताउनुभयो । सञ्चारमन्त्री गुरूङले केभन्दा जनता खुसी हुन्छन् भनेर होइन जनता के काम गर्दा खुसी हुन्छन् भनेर सोच्नुपर्ने बताउनुभयो । “स्वास्थ्य क्षेत्र अस्तव्यस्त छ, शिक्षा क्षेत्र त्यस्तै छ । अस्तव्यस्तताभित्र सुधार कसरी गर्न सकिन्छ भनेर अध्यादेश ल्याएको हो”, उहाँले भन्नुभयो । सुशासनबिना देशको विकास नहुने भएकाले सुशासन प्रवर्द्धनका लागि समेत अध्यादेशले सहयोग पुग्ने उहाँको विश्वास थियो । मन्त्री गुरूङले भन्नुभयो, “नेपालको ऐन, कानुनमा एकैपटक धेरै सुधार गर्नुपर्ने देखिएकाले संवैधानिक प्रावधानअनुसार नै अध्यादेश ल्याइएको हो । हामीलाई के अनुभव छ भने संसद्बाट एउटा विधेयक पास गर्न पाँच वर्ष लाग्यो । सुशासन कायम र सार्वजनिक सेवालाई प्रभावकारी बनाउन १२ कानुन संशोधन गर्न आवश्यक छ । संशोधन नगरिकन सुशासन हुँदैन, सार्वजनिक सेवा प्रवाह प्रभावकारी तत्कालै गर्नुपर्दछ । अध्यादेश पास हुन्छ, पास गराउनु पर्दछ ।” संसद् चलिरहेका बेलामा अध्यादेश ल्याउन नपाइने भएकाले नै सरकारले संसद् सुरू हुनुभन्दा अघि ल्याएकाले संसद् छलेर अध्यादेश ल्याइएको भनेर चर्चा गर्नु आवश्यक नरहेको उहाँले बताउनुभयो । सञ्चारमन्त्री गुरूङले निजी क्षेत्रबाट सञ्चालन भएर देशकै नमूना आँखा अस्पतालका रूपमा रहेको हिमालय आँखा अस्पताललाई आवश्यक सहयोग गर्ने प्रतिबद्धतासमेत जनाउनुभयो । “पोलिसीमा परिर्वतन गर्नुपर्ने छ भने पनि गरौँला, हिमालय आँखा अस्पतालप्रति मेरो माया र ममता छ । स्वास्थ्य क्षेत्रमा गरेको योगदान र राम्रो अस्पताल सञ्चालन गरेकामा बधाई छ । मेरो तर्फबाट भौतिक पूर्वाधारलगायत आवश्यक पर्ने सहयोग रहने छ”, उहाँले भन्नुभयो । राष्ट्र, जनता, व्यवस्था, शान्ति सुव्यवस्था र राष्ट्रिय एकता कमजोर बनाउने गतिविधि रोक्न सामाजिक सञ्चालन नियमन विधेयक ल्याइएको मन्त्री गुरूङले बताउनुभयो । उहाँले सरकारले अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रतालाई हनन गर्न नखोजेको भन्दै विधेयकामा उल्लेख गरिएको दण्ड सजायका बारेमा छलफल तथा परिमार्जन हुनसक्ने उल्लेख गर्नुभयो । कार्यक्रममा अस्पतालका पूर्वअध्यक्ष डा दिलबहादुर क्षेत्री, गण्डकी प्रदेशसभा सदस्य भीम कार्की, अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नेपाल नेत्रज्योति सङ्घका अध्यक्ष सुरेन्द्र थापामगर, अस्पतालका मेडिकल डाइरेक्टर डा बबिता गुरूङ, पत्रकार महासङ्घका अध्यक्ष माधव बराललगायतले अस्पतालको स्थायित्वका लागि गण्डकी प्रदेश सरकारले स्वामित्व लिनुपर्नेमा जोड दिनुभयो । सो अवसरमा सापु रोगसम्बन्धी सचेतना भिडियो प्रतियोगितामा विजयी विद्यार्थी तथा उत्कृष्ट कर्मचारीलाई सम्मान गरिएको थियो ।
गण्डकी: राष्ट्रपति रामचन्द्र पौडेल पोखरा महानगपालिका–१८ सराङकोटमा जारी श्रीमद्भागवत ज्ञान महायज्ञ तथा धार्मिक उत्सवमा सहभागी हुनसराङकोट आइपुग्नुभएको छ । नेपाली सेनाको हेलीकप्टरमा आउनुभएका उहाँले सराङकोटमा स्थापित पञ्चमुखी गणेश र कैलाशेश्वर शिवालयको उद्घाटन गर्ने कार्यक्रम छ । सराङकोटमा यही फागुन १४ गतेदेखि श्रीमद्भागवत ज्ञानमहायज्ञ भइरहेको छ ।
काठमाडौं: राष्ट्रियसभाको सदस्य भएको पाँच वर्ष भयो । यो पाँच वर्ष राष्ट्रियसभामा रहेर काम गर्दैगर्दा धेरै कुराको अनुभव लिने अवसर मिल्यो । संसद्् भनेको कानुन निर्माणसँगै जनताका सवाललाई उठाउने थलो हो । तर सांसदहरु संविधानअनुरुप कानुन निर्माण गर्नेभन्दा पनि आपसी आरोप–प्रत्यारोपमा केन्द्रित भएको देखिन्छ । संसद्मा जनताका सवाल जति उठ्नुपर्ने हो, त्यति स्थान पाएको देखिँदैन । संसद् मुख्यत सरकार बनाउने र ढाल्ने खेलमै केन्द्रित भएको जस्तो देखिन्छ । हामी सांसद भनेको जनप्रतिनिधि हो । जनताको आवाजलाई संसद्मार्फत सरकारसम्म पु¥याउनुपर्ने हो । तर सांसदहरुले राजनीतिक खिचातानीमै व्यस्त भएको देखिन्छ । अर्को कुरा, संविधान जारी भएको करिब एक दशक भएको छ । जुन गतिमा संविधानको मर्मअनुरुप कानुन निर्माण हुनुपर्ने हो, त्यो भएको छैन । संविधानको मौलिक हकमा रहेको व्यवस्थाको कानुन बनाउने कुरा अझै पनि पूरा भएको छैन । नीति तथा कार्यक्रम र बजेटबाहेक अन्य नीति संसद्मा पेस हुँदैन । सांसदहरु पनि विकासे कार्यकर्ताको रुपमा मात्रै देखा परेका छन् । संविधानमा रहेका केही प्रावधान कार्यान्वयन भएका छन् । तर जति हुनुपर्ने हो त्यति हुन सकेको छैन । संविधानअनुसार अझै ४० वटा कानुन बन्न सकेको छैन । जति राष्ट्रियसभाले छिटोछिटो कानुन पारित गरेको हुन्छ, त्यहीअनुरुप प्रतिनिधिसभाले गर्न सकेको छैन । राष्ट्रियसभाबाट पारित भएका धेरै विधेयक प्रतिनिधिसभामा गएर अड्किएका छन् । अहिले संविधान संशोधनको बहस चलेको छ । संविधान संशोधन गर्नै नहुने भन्ने होइन । समयअनुरुप संशोधन हुनुपर्छ । संविधान संशोधन हचुवाको भरमा गर्न हुँदैन । सबैभन्दा पहिला संविधान कुन–कुन विषयमा संशोधन गर्ने हो त्यसबारेमा सरकार प्रष्ट हुनुपर्छ । राजनीतिक दल र सांसदहरु प्रष्ट हुनुपर्छ । संविधान संशोधनको विषयमा पर्याप्त छलफल गर्नुपर्छ । संशोधन जनताको पक्षमा हुनुपर्छ । संशोधन कुनै राजनीतिक पार्टीको स्वार्थको लागिभन्दा पनि आवश्यकताको आधारमा हुनुपर्छ । संविधान संशोधनको नाममा दलित, महिला, आदिवासी जनजाति, मधेसीलगायत उत्पीडित समुदायको अधिकार कटौती हुनुहुँदैन । बरु उनीहरुको अधिकार थप गर्दै व्यवहारिक रुपमा कार्यान्वयन गर्नुपर्छ । संशोधनमा आमजनताको भावना बुझ्नुपर्छ । सङ्घीयतालाई थप मजबुत बनाउन र निर्वाचन प्रणालीमा सुधार गर्नका लागि संशोधन गर्नुपर्छ । मुलुकको कार्यकारी प्रमुख प्रत्यक्ष निर्वाचनबाट चुनिने व्यवस्थाको निम्ति संविधान संशोधन गर्न सकिन्छ । मुलुकमा सुशासन कायम गर्नका निम्ति सबैभन्दा पहिला सरकारले भ्रष्टाचारको अन्त्य गर्र्नुपर्छ । राजनीतिक दल र दलका नेता सुध्रिनुपर्छ । उनीहरु पारदर्शी हुनुपर्छ । जुनसुकै पार्टीको सरकार भए पनि भ्रष्टाचारीलाई उन्मुक्ति दिनेभन्दा पनि कडाभन्दा कडा कारबाही गर्नुपर्छ । सरकार र राजनीतिक पार्टी वा नेताहरुले भ्रष्टाचारीलाई संरक्षण गर्नुहुँदैन । आफ्नै नेता÷कार्यकर्ता भए पनि भ्रष्टाचारमा संलग्न छन् भने पार्टीले कारबाही गर्न सक्नुपर्छ । अहिलेको निर्वाचन प्रणाली अत्यन्त महङ्गो भएको छ । एउटा निर्वाचनमा चारपाँच करोडसम्म खर्च गर्ने प्रचलन बढेको छ । निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्छ । त्यो निर्वाचनमा लागेको खर्च निकाल्नका लागि नेताहरु भ्रष्टाचारमा तल्लीन हुने गरेको आरोप छ । नेताहरु जनताप्रति उत्तरदायी नदेखिनु विडम्बना हो । हाम्रो देशमा सङ्घीय, प्रदेश र स्थानीय गरी तीन तहको सरकार छ । सङ्घीय सरकारले संविधानअनुरुप प्रदेश सरकारलाई अधिकार दिनुपर्ने हो । तर अधिकार दिएको छैन । अधिकार नदिएका कारणले प्रदेश र स्थानीय सरकारले सोचेअनुरुप काम गर्न सकेको छैन । जस्तै, प्रहरी ऐन, निजामती सेवा ऐन अहिलेसम्म पनि बन्न सकेका छैनन् । यी ऐनलाई जतिसक्दो चाँडो ल्याउन कुनै पनि सरकारको तत्परता देखिँदैन । सङ्घीय सरकारले प्रदेश सरकारलाई दिनुपर्ने अधिकार नदिएपछि प्रदेश सरकार घाँडोजस्तै बनाइएको छ । हाम्रो सङ्घीयता भनेको सहकार्यको सङ्घीयता हो । समावेशी सङ्घीयता हो । तर तीन सरकारबीच सहकार्य, समन्वय देखा परेको छैन । सङ्घीय सरकारले प्रदेश सरकारबाट रायसल्लाह लिने वा दिने काम भएको छैन । सङ्घीयता सबलीकरणको निम्ति सङ्घीयतालाई ठीक ढङ्गले बुझ्न जरुरी छ । सङ्घीयता मात्रै भन्ने तर सबै अधिकार सङ्घमा राख्ने गर्नुहुँदैन । बजेटमा पनि प्रदेश सरकारलाई प्राथमिकता दिएको देखिँदैन । एकदुई लाखसम्मका योजना पनि सङ्घले नै बजेटमार्फत दिने गरेको देखिन्छ । यसको अन्त्य हुन जरुरी छ । अबको बजेट युवाकेन्द्रित हुनुपर्छ । रोजगारी सिर्जना गर्ने गरी सरकारले बजेट ल्याउनुपर्छ । देशभित्र पर्याप्त रोजगारी नभएका कारण धेरै युवा विदेशिने क्रम बढ्दै गएको छ । ती युवालाई वैदेशिक रोजगारीमा जानबाट रोक्न सरकारले युवा लक्षित कार्यक्रम ल्याउनुपर्छ । संविधानअनुरुपको अर्थ प्रणालीलाई अगाडि बढाउन समाजवादोन्मुख अर्थनीति बनाउनुपर्छ । समाजवादोन्मुख भन्ने तर सबै निजीकरण गर्ने भन्ने हुँदैन । युवाको विदेश पलायन रोक्नका लागि शिक्षा क्षेत्रमा आमूल सुधार गर्नुपर्छ । बन्द भएका कारखाना, उद्योग सरकारले सञ्चालनमा ल्याउनुपर्छ । मुलुकको समृद्धि र परिवर्तनका लागि सङ्घर्ष गरेका मुख्य ठूला तीन दल नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) एकापसमा मिल्नुको विकल्प छैन । यी दलहरुबीच आरोप–प्रत्यारोपले राज्यप्रणालीलाई नै कमजोर बनाउँछ । लोकतन्त्रमा यस्तो हुनु भनेको विडम्बना नै हो । जनताको अवस्था सुधारको निम्ति पनि यी तीन शक्ति एकआपसमा मिलेर अगाडि बढ्नुको विकल्प छैन । सदस्य तारामान स्वारको परिचय नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तारामान स्वार राष्ट्रियसभा सदस्य हुनुहुन्छ । सांसद स्वार २०७६ सालमा राष्ट्रियसभामा प्रवेश गर्नुभएको हो ।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरस्थित रिङ्कुकुमारी सदाको घरमा पुगेर उहाँलाई न्याय दिलाउन सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । सामूहिक बलात्कारपीडित १७ वर्षीया किशोरी रिङ्कुलाई न्याय दिनुको साटो स्थानीय पञ्चायत बसेर मिलापत्र गराउन खोजेपछि उहाँ मृत फेला पर्नुभएको थियो । जनतासँग माओवादी तराई– मधेस जागरण अभियानका क्रममा सिरहा पुग्नुभएका अध्यक्ष दाहालसहित माओवादी केन्द्रका नेताहरु आज दिवङ्गत रिङ्कुको घरमा पुग्नुभएको हो । आफ्नो पार्टीले रिङ्कुलाई न्याय दिलाउन संसद्मा आवाज उठाएको जानकारी दिँदै उहाँले जति सक्यो चाँडो न्यायका लागि पहलकदमी लिने बताउनुभएको अध्यक्ष दाहालको निजी सचिवालयले जनाएको छ । गत माघ २७ गते राति शौच गर्न घरबाहिर निस्केकी रिङ्कुले आफू स्थानीय तीन जना युवाबाट सामूहिक बलात्कारमा परेको बताउनुभएको थियो ।
रौतहट: माधवनारायण नगरपालिका–४ का वडाध्यक्ष रामदेनी मुखियाको निधन भएको छ । फोक्सोको क्यान्सरबाट पीडित ६० वर्षीय उहाँको आज बिहान आफ्नै निवासमा निधन भएको माधवनारायण नगरपालिकाका प्रमुख बैजनाथ यादवले जानकारी दिनुभयो । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)बाट उहाँ निर्वाचित हुनुभएको थियो ।
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा आज सम्पन्न प्रथम तरूण कप भलिबल प्रतियोगिताको उपाधि पुरूषतर्फ बेनी नगरपालिका–९ घतान र महिलातर्फ अन्नपूर्ण गाउँपालिकाले जितेका छन् । म्याग्दी प्रदेशसभा क्षेत्र १(१) अन्तर्गतका बेनी नगरपालिका, रघुगङ्गा र अन्नपूर्ण गाउँपालिकाका वडास्तरीय पुरूष भलिबल प्रतियोगितामा रघुगङ्गा गाउँपालिका–२ भगवतीलाई दुईका विरूद्ध तीन सेटले पराजित गर्दै घतान विजयी भएको हो । नेपाल तरूण दल म्याग्दीको आयोजनामा तीन दिनसम्म सञ्चालन भएको प्रतियोगितामा १६ वटा वडाले सहभागिता जनाएका थिए । प्रतिस्पर्धात्मक खेलमा घतानले भगवतिलाई पहिलो, चौथो र पाँचौ सेट ३१–२९, २५–१९ र १५–११ को अन्तरमा जितेको थियो । दोस्रो र तेस्रो सेट भगवतीले घतानलाई २५–२१ र २५–२२ को अन्तरमा जितेको थियो । ट्रफी, कप, मेडल र प्रमाणपत्रसहित विजेताले रू एक लाख ११ हजार एक सय ११ र उपविजेताले रू ६६ हजार छ सय ६६ नगद पुरस्कार प्राप्त गरेका तरूण दल म्याग्दीका कार्यवाहक अध्यक्ष श्रीप्रसाद रोकाले जानकारी दिनुभयो । पाँच वटा स्थानीय तह सहभागी स्थानीय तह स्तरीय महिला भलिबल प्रतियोगितामा मङ्गला गाउँपालिकालाई पराजित गर्दै अन्नपूर्णले उपाधि चुमेको हो । अन्नपूर्णले मङ्गलालाई पहिलो, दोस्रो र चौथो सेट २५–२३, २५–१५ २५–१९मा पराजित गरेको थियो । मङ्गलाले तेस्रो सेट २५–२१ को अन्तरमा जितेको थियो । महिला भलिबलमा ट्रफी, कप, मेडल र प्रमाणपत्रसहित विजेतालाई रू ७७ हजार सात सय ७७ र उपविजेतालाई रू ४४ हजार चार सय ४४ पुरस्कार प्रदान गरिएको तरूण दल म्याग्दीका सचिव नगेन्द्र मल्लले बताउनुभयो । विजेता र उपबिजेता खेलाडीहरूलाई प्रतिनिधीसभा सदस्य तथा नेपाली काँग्रेस म्याग्दीका सभापति खमबहादुर गर्बुजा (खम्बिर), उपसभापति हरिकुमार श्रेष्ठ, कर्णबहादुर भण्डारी ९केबी०, तरूण दलका कार्यवाहक अध्यक्ष रोकालगायतले पुरस्कार वितरण गर्नुभएको थियो । यसअघि मालिका गाउँपालिकाको केन्द्र दरवाङमा फागुन ७ देखि ९ गतेसम्म सञ्चालन भएको प्रदेशसभा क्षेत्र (ख) को वडा स्तरीय तरूण कप पुरूष भलिबल प्रतियोगितामा मङ्गला गाउँपालिका–२ बाबियाचौरलाई एकका विरूद्ध तीन सेटले पराजित गर्दै मङ्गला गाउँपालिका–५ अर्मनले जितेको थियो । भलिबल प्रतियोगिताको साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको गित तथा नृत्य प्रस्तुतीकासहितको तरूण साँझ पनि भएको थियो । म्याग्दीमा लोकप्रिय भलिबल खेलको प्रवर्द्धन, खेल प्रतिभाको पहिचान, प्रोत्साहन गर्ने उद्देश्यले भलिबल प्रतियोगिता आयोजना गरेको तरूण दल म्याग्दीका उपाध्यक्ष सोहन श्रेष्ठ (विश्वास) ले बताउनुभयो ।
स्याङ्जा: बिरुवा गाउँपालिका–४ स्थित जनप्रिय पिपलभञ्ज्याङ आधारभूत विद्यालयमा मगर भाषा पठनपाठन हुन थालेको छ । मगर भाषा, कला, संस्कार, संस्कृतिको संरक्षण गर्ने उद्देश्यले विद्यालयमा नै मगर भाषा पठनपाठन थालिएको हो । हाल कक्षा १–३ सम्मका बालबालिकालाई मगर भाषा अध्यापनको व्यवस्था मिलाइएको विद्यालयका प्रधानाध्यापक वीरेन्द्र कुमालले राससलाई बताउनुभयो । बाल सिकाइ कक्षादेखि ५ कक्षासम्म सञ्चालनमा रहेको विद्यालयमा कक्षा एकदेखि तीनसम्मका बालबालिकालाई मगर भाषा अध्यापयन थालिएको हो । मगर समुदायको बाहुल्य भएकाले नयाँ पुस्तालाई यो भाषा लेख्न र बोल्न सिकाउने अभियान आफूहरुले थालेको मगर भाषा शिक्षक लेखबहादुर आलेले बताउनुभयो ।सरकारले प्रकाशन गरेको मातृभाषाको पाठ्यपुस्तकका आधारमा पठनपाठन हुने गरेको छ । मगर भाषा अध्यापनका लागि बिरुवा गाउँपालिकाले शिक्षकको व्यवस्था गरेको हो । पालिकाले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा आदिवासी जनजातिको बाहुल्य भएका गाउँपालिकामा उनीहरुका भाषा तथा संस्कृति संरक्षणमा सघाउने विषय समावेश गरेको छ ।
हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको तथा सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया देखि अधिकांश बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै सुदूरपश्चिम, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा पनि भइहेको छ । विभागका अनुसार आज दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसमसफा रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना र छ । साथै उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा हल्का हिमपातको सम्भावना पनि छ । महाशाखाका अनुसार आज राति देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । सबै प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुन सक्नेछ । आगामी २४ घण्टामा सुदूरपश्चिम र कर्णाली प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी मौसमसफा रहनेछ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशलगायत देशका बाँकी पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ । महाशाखाले देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको जनाउँदै त्यसबाट दैनिक जनजीवन, स्वास्थ्य, कृषि, सडक तथा हवाईउड्डयनमा प्रभाव पर्न सक्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको छ ।
ढोरपाटन: भारी हिमपातका कारण माथिल्लो बागलुङका स्थानीयको जनजीवन कष्टकर बनेको छ । शुक्रबार दिउसोदेखि वर्षासँगै परेको हिमपातले स्थानीयको जनजीवन कष्टकर बनेको हो । जिल्लोको ढोरपाटन नगरपालिका–९ स्थित ढोरपाटन उपत्यका, निसेलढोर, स्यालपाखे, पाखाथर, छ्यान्तुङ, भूजीलगायतका ठाउँका स्थानीय प्रभावित बनेका छन् । निसीखोला गाउँपालिका–६ को जाउलेपानीसहित पातीहाल्ने क्षेत्रमा भारी हिमपात भएको छ । हिमपातले चिसो बढ्दा नागरिकको दैनिकी प्रभावित बनेको हो । हिमपातका कारण सबैभन्दा बढी निसेलढोर र ढोरपाटन उपत्यका क्षेत्रका नागरिकको जनजीवन कष्टकर बनेको ढोरपाटन नगरपालिका–९का होटल व्यवसायी गंगाबहादुर भण्डारीले जानकारी दिनुभयो । शुक्रबार दिउसो २ वर्षदेखिनै हिमपात हुन सुरु भएको उहाँको भनाइ छ । अहिले ढोरपाटन उपत्यकासहित माथिल्लो क्षेत्र हिउँले सेताम्य भएको भण्डारीले बताउनुभयो । बस्ती वरपर बाक्लो हिउँ पर्दा दैनिकीनै प्रभावित बनेको उहाँ बताउनुहुन्छ । उहाँले भन्नुभयो, “एक÷दुई दिन भयो, चिसो अत्याधिक बढेको थियो, आज हिमपातनै भयो, अहिले बाक्लो हिउँ परेको छ, ढोरपाटनमा धेरैजसो वस्तुभाउ पाल्ने किसान छन्, उनीहरुले गाईभैँसीलाई दाना र घाँस खुवाउन पनि समस्या भएको छ, पुस माघ महिनामा हिउँ परेन फागुन लागेर गर्मी बढ्न थालेपछि पो बल्ल हिमपात भयो ।” लामो समयको खडेरीपछि हिमपात हुँदा किसान भने हर्षित भएका छन् । बारीमा लगाएको गहुँ, जौँ र ज्वाँतो सक्न थालेपछि निराश भएका किसानलाई वर्षासहितको हिमपातले रात दिएको छ । अहिले पनि निरन्तर हिमपात भइरहेको हुँदा ढोरपाटन पुग्ने पर्यटक बुर्तिबाङ रोकिने स्थिति आएको छ । उता बागलुङ, रोल्पा र रुकुमको सिमाना पातीहाल्नेमा भारी हिमपात हुँदा मध्यपहाडी लोकमार्गनै अवरुद्ध भएको छ । दिउसो एक बजेदेखि नै हिमपात भएपछि यातायात ठप्प भएको निसीखोला गाउँपालिका–६ का अध्यक्ष सूर्यमान बुढा मगरले जानकारी दिनुभयो । हिमपातका कारण पश्चिम नेपालदेखि राजधानीसहितका ठूला सहरमा चल्ने सवारी साधान ठप्प भएको उहाँको भनाइ छ ।

