पोखरा:     कास्कीको माछापुच्छ्रे गाउँपालिका खेलकुद विकास समितिको आयोजनामा हुने गण्डकी प्रदेश पालिकास्तरीय पुरुष तथा खुल्ला महिला भलिबल प्रतियोगिता–२०८२ को तयारी पुरा भएको छ ।  ...

पोखरा:  पोखरा महानगरपालिका-५ शान्तिननगरचोकबाट लागूऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।  लागूऔषध कारोवार गरिरहेको अवस्थामा लागूऔषध नियन्त्रण व्यूरो शाखा पोखरा र वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले २ जनालाई मंगलबार पक्राउ गरेको हो ।  पर्वतको कुश्मा नगरपालिका-१२ ठुलिपोखरी घर भई पोखरा महानगरपालिका ४ नालाकोमुख बस्ने २६ वर्षीय सिमा दर्जी र २६ वर्षीय आशिष श्रेष्ठलाई लागूऔषधसहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  प्रहरीले उनीहरुको साथबाट बुप्रिनर्फिन १ सय ६७ एम्पुल, डाईजापाम १ सय ६८ एम्पुल, फेनरागन १ सय ६६ एम्पुल गरी ५ सय १ एम्पुल लागूऔषध र ३ थान मोबाईल बरामद गरेको छ ।  प्रहरीले बरामद गरेको लागूऔषध । फोटो: कास्की प्रहरी पक्राउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा ६ दिनको म्याद गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।   

काठमाडौं:  मन्त्रिपरिषदको बैठक बस्दै छ । बैठक दिउँसो पौने २ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बस्ने छ । बैठकले सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज प्रस्तुत हुने आगामी आर्थिक वर्ष २०८२/०८३ को राजस्व र व्ययको अनुमान (बजेट) स्वीकृत गर्नेछ । सङ्घीय संसदमा दिउँसो ३ बजे उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

पोखरा: नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको आयोजना एवम् नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स(नाट्टा) गण्डकी प्रदेशको सह आयोजनामा आजदेखि पोखरामा ४५ दिने चिनिया भाषा तालिम सुरु भएको छ ।      नेपालमा आउने चिनिया पर्यटकलाई लक्षित गरी उनीहरूलाई प्रदान गरिने आतिथ्यतामा भाषाको विशेष महत्व हुने अवस्थालाई दृष्टिगत गर्दै आयोजित तालिममा ८४ जनाको सहभागिता छ ।      पोखरामा चिनिया पर्यटकको आगमन बढीरहेका सन्दर्भमा भाषिक सञ्चारको विशेष महत्व हुने भएकोले तालिम आयोजना गरिएको नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किशोर दाहालले जानकारी दिनुुभयो ।      तालिममा पर्यटन क्षेत्र सम्बन्ध विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागिता छ ।      एक कार्यक्रमका बीच तालिमको उद्घाटन गर्दै गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले नेपाल र चिनबीचको सम्बन्ध विस्तार हुँदै गइरहेका अवस्थामा गरिएको तालिमले विशेष महत्व राख्ने बताउनुुभयो ।       हामी दुुई ठूला राष्ट्रको बीचमा रहेको बताउँदै उहाँले हाम्रो पर्यटनलाई राम्रो बनाउँदै उनीहरूलाई आकिर्षत गर्न सक्नुपर्नेमा जोड दिनुभयो ।      नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशका प्रमुख मणिराज लामिछानेले चिनमा आफ्नै भाषा बोल्ने क्रम बढी रहेको बताउँदै उनीहरू नेपाल भ्रमणमा आउँदा चिनिया भाषा जान्नेले राम्रो आतिथ्यता प्रदान गर्न सक्ने बताउनुुभयो ।      पर्यटनका सबै क्षेत्रका व्यक्तिलाई समेटेर तालिम दिन लागिएको बताउँदै उहाँले यसले समग्र पोखराको पर्यटनमा योगदान पुग्ने विश्वास व्यक्त गर्नुुभयो ।      पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पोखरा अन्तराष्ट्रिय विमानस्थलबाट चिनको छेन्दुमा पहिलो व्यवासायिक चाटर्ड उडानसँगै हालसम्म चारवटा उडान भैसकेको बताउनुुभयो ।      चिनसँगको पर्यटकीय सम्बन्ध विस्तार भैरहेका अवस्थामा गर्न लागिएको चिनिया भाषा तालिम बहुउपयोगी बन्ने उहाँले विश्वास व्यक्त गर्नुुभयो ।      नाट्टा गण्डकी प्रदेशका अध्यक्ष किरोर दाहालको सभापतित्व एवम् महासचिव चेतबहादुर कार्कीले सञ्चालन गर्नुभएको कार्यक्रममा स्वागत कार्यक्रम संयोजक एवम् नाट्टा गण्डकी प्रदेशका सचिव नवराज भण्डारीले गर्नुभएको थियो ।       कार्यक्रममा पोखरा भ्रमण वर्ष कार्य सम्पादन समितिका संयोजक गोपिबहादुर भट्टराई, नाट्टा गण्डकी प्रदेशका पूर्व अध्यक्ष एवम् होटेल संघ गण्डकीका अध्यक्ष हरि शर्मा गैरे, पूर्व अध्यक्ष हरिरम अधिकारी, पूर्व अध्यक्ष एवम् नेपाल पर्यटन बोर्डका पूर्व सदस्य वासु त्रिपाठी लगायतले तालिमको महत्व सम्बन्धमा आ आफ्ना धारणा राख्नुभएको थियो ।

बागलुङ:  गर्मी बढेसँगै बागलुङ नगरपालिका–१ राखरेखास्थित बिपी भ्यू पोइन्टमा आन्तरिक पर्यटकको भीड लाग्न थालेको छ । भिरालो जग्गामा रु ५१ लाख लगानी पश्चात सुन्दर पार्क र भ्यू पोइन्ट निर्माण गरेपछि आन्तरिक पर्यटक गर्मी छल्न यहाँ आउने गरेका हुन् । मध्यपहाडी लोकमार्ग नजिकै रहेकाले पनि यो गन्तव्य पर्यटकको रोजाइमा परेको हो । बागलुङ बजारको छेउमा रहेकाले साँझको समयमा बाटिकामा रमाउने र भ्यू पोइन्ट अवलोकन गर्न आउनेको भीड लाग्ने गरेको बिपी पार्क निर्माण समितिका अध्यक्ष महेन्द्र आचार्यले जानकारी दिनुभयो । बजारको कोलाहल बिर्साउन पर्यटक आउने गरेको अधिकांशको भनाइ छ । पार्कमा फुलेका फूलले पर्यटकलाई मोहित बनाउने गरेको यहाँ घुम्न आउनुभएका आन्तरिक पर्यटक सन्तोष रानाले बताउनुभयो । पार्कमा दूबो रोपिएको छभने सजावटका लागि फूल रोप्नुका साथै बस्नका लागि बिसौनी, चौतारा, मन्दिर तथा शौचालय निर्माण गरिएको छ । भ्यू पोइन्टबाट कालीगण्डकी नदी, निरयघाट र पर्वत जिल्लाको विभिन्न स्थान अवलोकन गर्न सकिन्छ । “झाडीले भरिएको अव्यवस्थित खोँच अहिले पर्यटकीय गन्तव्य बनेको छ, गर्मीयाममा साँझपख पार्कमा मानिसको भीड नै लाग्ने रहेछ”, रानाले भन्नुभयो “पार्कमा मुस्ताङ र ढोरपाटन पुगेका पर्यटकसमेत यहाँ आएको भेटेँ ।” पार्कको पूर्वाधार निर्माणमा हालसम्म रु ५१ लाख ७६ हजार खर्च भइसकेको बिपी उद्यान समितिका अध्यक्ष आचार्यले जानकारी दिनुभयो । चालु आर्थिक वर्षमा बागलुङ नगरपालिकाद्वारा रु पाँच लाख बजेटमा भ्यू पोइन्ट थप व्यवस्थित गरिएको छ । रामरेखामा मध्यपहाडी लोकमार्गसँगै सहिदपार्क, मदन आश्रितपार्क, बिपी पार्क, मनिलाल भ्यू पोइन्ट र डिबी पार्क गरी पाँच वटा पार्क रहेका छन् ।

काठमाडौं:  हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावाको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा आज राति भारी वर्षा हुने प्रक्षेपण गरिएको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहनेछ । गण्डकी र लुम्बिनी प्रदेशलगायत पहाडी केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । महाशाखाका अनुसार गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपात हुनसक्ने छ ।

काठमाडौं:  सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक वर्ष २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)पेस गर्नुहुने कार्यसूची छ । अपराह्न ३ बजे हुने बैठकमा नेपालको संविधानको धारा ११९ बमोजिम अर्थमन्त्री आव २०८१/०८२ को राजस्व र व्ययको वार्षिक अनुमान पेस गर्ने कार्यसूची रहेको सङ्घीय संसद्का महासचिव पदमप्रसाद पाण्डेयले जानकारी दिनुभयो । संसद् सचिवालयले दुवै सदनका सदस्यलाई दिउँसो २ः४५ बजे अगाडि नै प्रतिनिधिसभा बैठककक्षमा उपस्थित हुन आग्रह गरेको छ । त्यसअघि प्रतिनिधिसभाको अपराह्न १ः३० हुने बैठकमा सभामुख देवराज घिमिरेले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको बेहोरा वाचन गर्ने तथा अर्थमन्त्री पौडेलले आर्थिक वर्ष २०८२/०८३ आर्थिक सर्वेक्षण पेस गर्ने कार्यसूची छ । त्यसैगरी राष्ट्रियसभाको अपराह्न १ः४५ मा हुने बैठकमा अर्थमन्त्री पौडेलले ‘आव २०८२/०८३ को आर्थिक सर्वेक्षण’ सभासमक्ष पेस गर्ने सम्भावित कार्यतालिका सार्वजनिक गरेको छ ।

काठमाडौं:  तत्कालीन सात राजनीतिक दलले निरङ्कुश राजतन्त्रकाविरुद्ध आह्वान गरेको शान्तिपूर्ण जनआन्दोलन र विद्रोही नेपाल कम्युनिष्ट पार्टी (माओवादी)ले गरेको सशस्त्र सङ्घर्षका उपलब्धिका रूपमा देशले गणतन्त्रको अभ्यास गरेको १८ वर्ष भएको छ । विसं २०६५ जेठ १५ गते जननिर्वाचित संविधानसभाको पहिलो बैठकद्वारा २४० वर्षदेखि नेपालमा कायम रहेको निरङ्कुश राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको सोही ऐतिहासिक दिनको सम्झनालाई चिरस्थायी बनाउन गणतन्त्र दिवस मनाउने गरिएको छ । जेठ १५ गतेकै दिन नेपाली जनतालाई स्वतन्त्रता, उदार सामाजिक न्यायसहितको समावेशी समानुपातिक लोकतान्त्रिक गणतन्त्रसहित नागरिक सर्वोच्चता प्राप्त भएको थियो । गणतन्त्र दिवस वंशीयतन्त्रलाई जनताले जितेको उत्सव पनि हो । सङ्घीय लोकतान्त्रिक गणतन्त्रले समुन्नत भविष्यका लागि एकताबद्ध भएर अगाडि जान जनतालाई सम्पूर्ण राजनीतिक अधिकारको सुनिश्चितता प्रदान गरेको छ । नागरिकका समस्या शिक्षा, स्वास्थ्य, सार्वजनिक यातायात, सामाजिक सुरक्षाको प्रत्याभूतिसहित गरिबीको अन्त्यसँगै विश्वमञ्चमा नेपाल र नेपालीको प्रतिष्ठालाई उँचो बनाउन पर्ने लोकतान्त्रिक गणतन्त्रको प्रथम कार्यभार रहेको छ । जनअपेक्षा र जनभावनाअनुरुप चल्नु नै गणतान्त्रिक संविधानको मूल भावना भएकाले आमनागरिकको अधिकारप्रति अटुट आस्था राख्दै यो दिवसलाई लोकतन्त्रको पोषकका रूपमा स्थापित गर्न पनि उत्तिकै आवश्यक छ । लोकतान्त्रिक गणतन्त्र राजनीतिक व्यवस्था मात्र नभई शासकीय पद्धति र जीवनशैली भएकाले उदारवादी आदर्शको उपजका रूपमा हेरिने गरिएको छ । विश्वमा अभ्यासमा रहेका शासन व्यवस्थामध्ये लोकतान्त्रिक गणतन्त्र सबैभन्दा उत्तम भएकाले जनताको जीवनस्तरमा सुधार र राष्ट्रको समृद्धिका लागि बलियो अस्त्रका रूपमा रहेको छ । यसैबीच, अठारौँ गणतन्त्र दिवस आज मुलुकभर विभिन्न कार्यक्रमको आयोजना गरी भव्यता र हर्षोल्लासका साथ मनाइँदैछ । गणतन्त्र दिवस मूल समारोह समितिद्वारा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा राष्ट्रपति रामचन्द्र पौडेललगायत विशिष्ट महानुभाव सहभागी हुनुहुनेछ । त्यस अवसरमा गौरवमय परिवर्तनका लागि सहादत प्राप्त गर्ने सहिदप्रति श्रद्धाञ्जलि अर्पण गर्दै लोकतन्त्रका लागि सङ्घर्ष, त्याग र बलिदान गर्ने अग्रजको योगदानको स्मरण गरिनेछ । मुलुकमा सामाजिक न्याय, स्वाधीनता र समृद्धि सुनिश्चिता गर्न तथा लोकतन्त्र स्थापनाका लागि भएका आन्दोलन र सङ्घर्षमा धेरै नेपालीजनले जेलनेल र यातना सहन परेको थियो । लोकतान्त्रिक संस्कृतिको वातावरणमा नागरिकलाई समुन्नत र अधिकारसम्पन्न तुल्याउँदै खुसी दिलाउने अभियानमा जुट्न आजको दिनले अझ धेरै प्रतिबद्ध जनाउने विभिन्न पार्टीका नेताहरूले विश्वास व्यक्त गरेका छन् । त्यसका लागि लोकतान्त्रिक वातावरणमा जनताको जीवनस्तर उकास्न उत्पादन वृद्धि, अवसरको न्यायोचित वितरण, रोजगारी प्रवर्द्धन एवं सुशासन कायम गर्नुपर्ने दायित्व रहेको अभिव्यक्ति उहाँहरूको छ । आजको पुस्तालाई बलियो अर्थतन्त्रसहितको समृद्धि सुनिश्चित गर्दै आउने पुस्तालाई सबल, एकताबद्ध, मौलिक चरित्रसहितको उदार राज्य र उच्चतम लोकतान्त्रिक संस्कृति दिने सङ्कल्प गरिनुपर्ने सन्देशमा उल्लेख छ । जनादेश, मतादेश र संविधानप्रदत्त व्यवस्थाअनुरुप एकढिक्का र एकीकृत भई अघि बढ्नसके नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था सबल, सुदृढ र बलियो हुन सक्दछ । समाजका सबै तह र तप्कामा गणतान्त्रिक जीवनशैली विकास भई नागरिक तहमा गणतन्त्र संस्थागत गर्ने जागरण पैदा गराउन भने आवश्यक देखिएको छ । लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाले विकास, सुशासन, समृद्धि र राष्ट्रिय स्वाभिमानलाई केन्द्रविन्दुमा राखेर हरेक नेपाली नागरिकलाई राष्ट्र निर्माणमा समेट्न सक्नुपर्नेछ ।

पोखरा:   यसवर्षको ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८२’ पत्रकार रोहितराज पराजुलीलाई प्रदान गरिने भएको छ ।  प्रतिभा छनौट समितिको सिफारिस बमोजिम नयाँपत्रिका दैनिकको पोखरा व्यूरोमा कार्यरत पत्रकार पराजुलीलाई सो पुरस्कारबाट सम्मान गरिन लागिएको हो ।  पुरस्कारको राशि रु. २५ हजार नगद र सम्मानपत्र रहेको छ । उनलाई यही जेठ २० गते घान्द्रुकमा हुने अन्नपूर्ण म्याराथनको पाँचौ संस्करणको समापन समारोहमा सम्मान गरिनेछ । कास्कीको अन्नपूर्ण गाउँपालिका, घान्द्रुकस्थित अन्नपूर्ण सेन्चुरी पर्यटन समितिद्वारा स्थापित एवं सञ्चालित सो पुरस्कार अन्नपूर्ण गाउँपालिकाको पर्यटन प्रवद्र्धन गर्ने एक जना पत्रकारलाई ३ जुन अर्थात अन्नपूर्ण हिमाल आरोहण दिवस दिन प्रदान गरिन्छ । प्रतिभा छनोट समितिको संयोजकमा नेपाल पत्रकार महासंघ कास्कीका पूर्व उपाध्यक्ष राजवहादुर गुरुङ रहेका थिए । सदस्यहरुमा पत्रकार समेत रहेका आयोजक समितिका कानूनी सल्लाहकार हरिप्रसाद भट्टराई, मिडिया संयोजक पत्रकार टंकराज अधिकारी सगै पदेन सदस्यहरुमा अन्नपूर्ण सेन्चुरी पर्यटन समितिका अध्यक्ष ललित गुरुङ र महासचिव दिलिप गुरुङ रहेका थिए ।  यस अघि सो पुरस्कारबाट पत्रकारद्वय बासुदेव पौडेल र दीपक परियार, दोस्रोपटक रुपनारायण ढकाल र सन्तोष पोखरेललाई संयुक्त रुपमा र तेस्रोपटक रविचन्द्र पराजुली सम्मानित भइसकेको छन् । पोखरा १, लामपाटन मार्ग घर भएका पराजुली आमा दमयन्ती पराजुली र बुबा माधबप्रसाद पराजुलीका जेठा छोरा हुन् ।  २०६१ सालदेखि पोखरामा रहेर पत्रकारिता गदै आएका पराजुलीले सुरुमा आदर्श समाज राष्ट्रिय दैनिकमा विद्यार्थी पत्रकारको रुपमा पत्रकारीताको यात्रा सुरु गरेका थिए । त्यसपछि जनमत दैनिक, रेडियो वाराही हुँदै २०६६ देखि नयाँ पत्रिका राष्ट्रिय दैनिकमा आवद्ध रहदै पत्रकारीता क्षेत्रमा कृयाशिल छन् । विशेषगरी खोज पत्रकारिता तथा विकृति विसंगतिविरुद्ध कलम चलाउने पत्रकारको रुपमा परिचित पराजुली साहसी र निडर मानिन्छन् । पराजुलीले यस अघि नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने खेलकुद पत्रकारिता प्रोत्साहन पुरस्कार २०८०, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीद्धारा उत्कृष्ट खेलकुद पत्रकारिता अवार्ड २०८० बाट पुरस्कृत एंव सम्मानीत भै सकेका छन् ।  विभिन्न संघ संस्थाहरुबाट विभिन्न तालिम समेत लिएका पराजुली नेपाल पत्रकार महासंघ कास्कीका साधारण सदस्य, संसदीय पत्रकार मञ्च गण्डकीका पूर्व सचिव समेत हुन् । यस वर्ष अन्नपूर्ण हिमाल आरोहणको ७५ औं अर्थात हिरक महोत्सव मनाइदैछ । सोही अवसरमा समितिले पदयात्राका लागि विश्वकै १० मध्येको एक अन्नपुर्ण पदमार्गमा २० जेठमा पाँचौ संस्करणको अन्नपुर्ण म्याराथन २०८२ आयोजना गदैछ ।  ‘पर्यटनका लागि सबै मौसम’ भन्ने मूल नाराका साथ अन्नपूर्ण आरोहण दिवस अर्थात् जुन थर्डको अवसर पारि समितिले विगत पाँच वर्षदेखि म्याराथन आयोजना गदै आएको हो । चार हजार १३० मिटर उचाईमा रहेको अन्नपूर्ण आधारशिविरबाट सुरु हुने ४२.१९५ किलोमिटरको म्याराथन त्यसपछि माछापुच्छ्रे आधार शिविर, वगर, देउराली, हिन्कु केभ, हिमालय, दोभान, बम्बो, सिनुवा, भनुवा, छोम्रोङ, तउलु, घुर्जुङ चुईले, मेलाँचे, कोम्रोङडाँडा, किम्रोङखोला, उरी हुदै एक हजार ९५५ मिटर उचाईमा रहेको घान्द्रुकस्थित श्री मेश्रम वराह मा।वि।को खेल मैदानमा आएर सम्पन्न हुनेछ । अन्नपूर्ण आधार शिविरको पदयात्रा मार्गको पूर्वाधार विकास, पर्यटन प्रबद्धन सगै खेल पर्यटनको विकास र विस्तार गर्ने उदेश्य सहित म्याराथन आयोजना गदै आएको आयोजक समितिका अध्यक्ष एंव म्याराथन मुल आयोजक समितिका संयोजक ललित गुरुङले जानकारी दिए । ३ जुन १९५० का दिन फ्रान्सेली नागरिक मौरिस हर्जोगको टोलीले आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरी विश्वका आठ हजार भन्दा अग्लो हिमाल आरोहण गरि विश्वकीर्तिमान राखेको दिनलाई अन्नपूर्ण आरोहण दिवसका रुपमा मनाईदै आईएको छ । महिला तथा पुरुषतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धा हुने म्याराथनको दुबैमा प्रथम हुने धावकले एक लाख ५० हजार, दोस्रोले एक लाख, तेस्रोले ७५ हजार सगै पदक र प्रमाणपत्र पुरस्कार पाउने छन् ।  यसै गरि म्याराथनका थप पुरस्कारहरुमा अन्नपूर्ण गाउँपालिका प्रथमलाई विशेष पुरस्कार (अन्नपूर्ण गा.पा. घर भई म्याराथनमा सहभागी भएको धावक), गण्डकी प्रदेश प्रथमलाई विशेष पुरस्कार (गण्डकी प्रदेशमा घर भई म्याराथनमा सहभागी भएको धावक), महिलातर्फ निरन्तर तीन पटकसम्म सहभागी हुने धावकलाई विशेष पुरस्कार, विदेशी धावक (महिला तथा पुरुष) प्रथमलाई विशेष पुरस्कार, ७५ औं स्थान प्राप्त गर्ने धावकले डायमण्ड जुब्ली अवार्ड पाउनेछन् । त्यसै गरि विदेशीका लागि प्रोत्साहन पुरस्कार स्वरुप विशेष पुरस्काको ब्यवस्था गरिएकोे छ ।  

काठमाडौं:  नेपाली कांग्रेसका नेता मोहम्मद अफताव आलमको उच्च अदालतबाट सफाइ पाउनु भएको छ ।   उच्च अदालत वीरगन्जको न्यायाधीशद्वय खुसीप्रसाद थारु र अर्जुन महर्जनको इजलासले रौतहट जिल्ला अदालतको फैसला उल्ट्याउँदै उहाँलाई सफाइ दिएको हो । आलममाथि इँट्टा भट्टामा मानिसलाई जिउँदै हालेर जलाएको आरोप थियो ।  यसअघि उनलाई जिल्ला अदालतले जन्मकैदको फैसला गरेको थियो । फैसला उल्टिएसँगै उहाँ थुनामुक्त हुनुहुने भएको छ ।