कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

काठमाडौं:  एसिसी पुरुष यु–१६ पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले सिङ्गापुरलाई पराजित गर्दै प्रतियोगितामा सुखद सुरुआत गरेको छ ।  मलेसियाको युकेएम ओभल क्रिकेट मैदानमा सम्पन्न खेलमा नेपालले सिङ्गापुरमाथि छ विकेटले जित निकालेको हो । जितका लागि एक सय ३९ रनको लक्ष्य पछ्याएको नेपालले ३३ दशमलव तीन ओभरमा चार विकेट गुमाएर पूरा गर्‍यो । नेपालका लागि ओपनर प्रसिद्ध जैसीले सर्वाधिक ५५ रनको योगदान गरे । उनले ९७ बलमा पाँच चौकाको सहयोगमा ५५ रन जोडेका हुन् । रौनक श्रीवास्तवले ४० रन बनाए ।  सिङ्गापुरका लागि आकाश तेजाले तीन विकेट लिए भने युभान पाण्डेले एक विकेट झारेका हुन् ।  त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको सिङ्गापुले ३६ दशमलव एक ओभरमा सबै विकेट गुमाउँदै एक सय ३८ रनको योगफल बनाएको थियो । सिङ्गापुरका लागि कप्तान रियन नायकले सर्वाधिक ५३ रनको योगदान गरे । ओपनर आहान भुधानभामले ३८ रन बनाउँदा अर्का ओपनर रोशन अरुनले ११ रन जोडे ।  नेपालका लागि कप्तान विपिन शर्माले चार विकेट लिए भने सचिन भट्टले तीन विकेट झारे । त्यसैगरी शुभम खनाल र अभय यादवले समान एक, एक विकेट लिए । यो जितसँगै नेपालले दुई अङ्क बटुलेको छ । अब नेपालले आफ्नो दोस्रो खेल यही असार १० गते जापानसँग खेल्ने छ ।  एसियाली क्रिकेट परिषद् ९एसिसी० को वार्षिक कार्यतालिका अनुसार सञ्चालन भएको उक्त प्रतियोगितामा विभिन्न १० टोलीको सहभागिता छ ।  प्रतियोगितामा नेपाल समूह ‘ए’ मा छ । नेपालको समूहमा सिङ्गापुर, इण्डोनेसिया, भुटान र जापान छन् । त्यस्तै  समूह ‘बी’ मा आयोजक मलेसियासहित हङकङ, माल्दिभ्स, थाइल्याण्ड र म्यानमार छन् ।

पोखरा:  ब्रिटिसका नेपाली नागरिक लेफ्टनेन्ट कर्णल जे.पी. क्रसले शनिबारदेखि १ सय वर्ष पार गरेका छन् । उनले शताब्दी पार गरेका क्रसको जन्मोत्सव पोखरामा भव्य रुपमा मनाइएको छ ।  ब्रिगेड अफ गोर्खाको इतिहासमा सबैभन्दा प्रसिद्ध ब्रिटिश अधिकारीहरूमध्ये एक जेपी क्रसको जन्मोत्सव पोखरास्थित ब्रिटिश गोर्खाज नेपाल क्याम्पमा भव्य समारोह गरी मनाइएको हो ।  कार्यक्रमा बेलायती राजदूत रब फेन, भुतपूर्व ब्रिटिश गोर्खाहरू र सेवारत अधिकारी तथा कर्मचारीहरू उपस्थित रहेको थियो ।  ब्रिटिश गोर्खाज नेपालका कमाण्डर कर्णल ड्यान रेक्स एम भी ओले यस महत्वपूर्ण कार्यक्रम पोखरास्थित क्याम्पमा मात्र सिमित नभएर बाहिर सम्पूर्ण ब्रिगेड अफ गोर्खाज र ब्रिटिश सेनामा पनि प्रतिध्वनित भएको स्मरण गराए ।  ‘जे.पी. साहेबसँगको सम्बन्धमा गर्व गर्ने धेरै नेपालीहरूले पनि यो क्षण नजिकबाट हेरिरहेको र आफुलाई यस अवसरसँग सम्बन्धित गराइरहेका छन्,’ उनले भने । उनी अहिले आफ्नो धर्मपुत्र र परिवारसँग पोखरामा जीवन बिताइरहेका छन् । उनको वास्तविक नाम जन फिलिप क्रस ओ बी ई हो । उनी नेपालमा बस्न थालेदेखि सबैले जे.पी. क्रस भनेर चिन्छन् ।  करिब ४० वर्षसम्म ब्रिटिश गोर्खामा सेवा गरेका उनी सेवाबाट अवकाशपछि विगत ४९ वर्षदेखि नेपालमा बस्दै आएका छन् ।  केही वर्ष अघिदेखि क्रस नेपाली नागरिकको रूपमा छन् । अहिले आफूलाई ‘बेलायतमा जन्मेका नेपाली’ भन्न रुचाउने क्रस ८० वर्षअघि २१ वर्षको उमेरमा ब्रिटिश सेनाका साथ पहिलो पटक नेपाल आएको स्मरण गर्छन् ।  उनले आफ्नो जीवनभरको सैन्य सेवा र ज्ञानबारे १९ वटा पुस्तक लेखेका छन् । साथै, उनले आफ्ना टिप्पणी तथा संस्मरणहरूमा सधैं गोर्खाहरूलाई उच्च सम्मानमा राख्छन् ।  नेपाल, यहाँका मानिस र गोर्खालीहरूप्रति उनको लगावले नेपाल र गोर्खा समुदायमा उनको नामलाई स्थायी बनाएको छ । उनको कृतिहरूमा व्यक्त गरिएको ज्ञानले सैन्य संसारमा राम्रो पहिचान कमाएको छ । गोर्खा सैनिक र लेखकको रूपमा आफ्नो विशिष्ट उपलब्धी बाहेक उनी जंगलयुद्ध र प्रति–विद्रोहका विशेषज्ञका रूपमा चिनिन्छन् ।  जसले प्रहरी अधिकारी, रक्षा सहचारी र गोर्खा भर्ती अधिकारीको रूपमा अनुभव प्राप्त गरेका छन् । उनी एक उच्च दक्ष भाषाविद् पनि हुन्, जो नेपाली र यसका विभिन्न भाषामा धाराप्रवाह छन् ।  उनले सैन्यकालमा बर्मा, इन्डो–चाइना, मलाया, बोर्नियो, पाकिस्तान, भारत, हङकङ, र नेपाल लगायत अन्य क्षेत्रहरूमा सेवा गरेका छन् । सोही कारण पनि उनको १०० औं जन्मोत्सव खास रहेको थियो ।   

बागलुङ:   नेपाल पत्रकार महासङ्घ, बागलुङ शाखा स्थापनाको २५ वर्ष पूरा भएको अवसरमा वर्ष २०८२ लाई रजत वर्षका रुपमा मनाइने भएको छ ।  महासङ्घ कार्यसमितिको शनिबार बसेको बैठकले बर्षेभरि विविध रचनात्मक क्रियाकलाप गर्ने निर्णय गरेको हो । यही असार २५ गते २५ औँ स्थापना दिवस अर्थात रजत जयन्तीका अवसरमा दुईदिवसीय कार्यक्रम गरिने शाखाका सचिव नारायण रिजालले जानकारी दिनुभयो ।  उहाँका अनुसार असार २४ गते बिहान ध्यान शिविर र दिउँसो पत्रकार महासङ्घका अन्तरशाखा मैत्रीपूर्ण फुटसल खेल आयोजना गरिएको छ ।  खेलमा पत्रकार महासङ्घ, बागलुङसहित कास्की, पर्वत र म्याग्दीको टिमको सहभागिता रहने जनाइएको छ ।  बैठकले ध्यान शिविरको संयोजनका लागि उपाध्यक्ष सिर्जना पन्त र फुटसल खेलका लागि कार्यसमिति सदस्य अर्जुन कार्की, सङ्गम घर्ती मगर र पत्रकार रोहन जिसीलाई जिम्मेवारी दिएको छ ।  असार २५ गते बिहान प्रभातफेरीसहित रजत जयन्ती मूल समारोह आयोजना गरिने सचिव रिजालले बताउनुभयो । मूल समारोहमा महासङ्घमा स्थापित विभिन्न पत्रकारिता पुरस्कार वितरण, सम्मानलगायतका कार्यक्रम हुने उहाँको भनाइ छ ।  रजत जयन्ती मूल समारोहमा प्रमुख अतिथिका रुपमा महासङ्घका केन्द्रीय अध्यक्ष निर्मला शर्मालाई आमन्त्रण गर्ने निर्णय भएको शाखाले जनाएको छ ।  रजत वर्षका अवसरमा महासङ्घको कार्यालय परिसरमा रजत वर्ष स्तम्भ स्थापना, रजत स्मारिका प्रकाशन, बागलुङ मिडिया सम्मेलनलगयतका कार्यक्रम आयोजना गरिने भएको छ ।  वर्ष २०८२ लाई तालिम वर्षका रुपमा समेत घोषणा गरी पत्रकार क्षमता विकास कार्यक्रममा केन्द्रित हुन लागिएको शाखाका उपाध्यक्ष सिर्जना पन्तले बताउनुभयो ।  आधारभूत, विषयगतदेखि मल्टिमिडिया पत्रकारितासम्मका तालिमलाई वार्षिक कार्ययोजनामा समेटेर सञ्चालन गर्न लागिएको उहाँको भनाइ छ । पत्रकारको पेसागत सुरक्षा र दक्षता अभिवृद्धिका कामलाई महासङ्घले प्राथमिकतामा राख्ने उपाध्यक्ष पन्तले बताउनुभयो ।  बैठकमा तालिम उपसमितिका संयोजक सिर्जना पन्त, आर्थिक उपसमितिका संयोजक सुवास गौतम, अनुशासन समितिका संयोजक सुवास आचार्य, सूचना÷प्रविधि उपसमितिका संयोजक डम्मर बुढा मगर र अन्तरसंस्था समन्वय उपसमितिका संयोजक नवराज परियारले सम्बन्धित उपसमितिका कार्ययोजनामा पेस गर्नुभएको थियो ।  बैठकले आगामी साउन पहिलो साता जिल्ला सम्पूर्ण सरकारी कार्यालयका प्रमुख, सूचना अधिकारीलगायतसँग सूचनाको हकको प्रचलन आदिका विषयमा अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने निर्णय गरेको  छ ।  शाखाले स्थापना गरेको ‘पत्रकार लेखनवृत्ति कोष’को लक्ष्यलाई छिट्टै पूरा गरी यही वर्षदेखि खोजमूलक पत्रकारिता गरिरहेका पत्रकारलाई लेखनवृत्ति प्रदान गर्ने जनाइएको छ ।  

पोखरामा सम्पन्न पहिलो संस्करणको ‘एसइई कप फुटसल’ प्रतियोगिताको उपाधि मुखिया बारबरले जितेको छ ।   पोखरा महानगरपालिका ४ गणेशटोलस्थित बि–फिट फुटसल जोनमा भएको फाइनल खेलमा वेलनन एकेडेमीलाई २–० गोल अन्तरले पराजित गर्दै मुखिया बारबरले उपाधि जितेको हो ।   उपाधिसँगै मुखिया बारबरले नगद रु १५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे ।    यस्तै उपविजेता बनेको वेलननले नगद रु ७ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे ।   विधागततर्फ सर्वाेत्कृष्ट खेलाडीका रुपमा संगम गुरुङ, उदीयमान खेलाडीका रुपमा समिर किसान र उत्कृष्ट गोलरक्षकका रुपमा सुशान्त गुरुङ पुरस्कृत भए ।    उनीहरुलाई विधागत पुरस्कारसँगै स्पोर्टस् क्यासलमा र रत्नश्रीमा निशुल्क जिमको व्यवस्था गरिएको प्रतियोगिताका व्यवस्थापक सुदिप सुनारले जानकारी दिए ।   उनका अनुसार सो प्रतियोगितामा (कक्षा ८, ९ र १० मा अध्ययरत विद्यार्थीहरु) ४३ टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई राष्ट्रिय फुटसल तथा फुटबल खेलाडी सुमित श्रेष्ठ र पूर्व राष्ट्रिय फुटबल खेलाडी इश्वर गुरुङ, समाजसेवी विजया गुरुङ, तथा पुरस्कारदाताहरुले पुरस्कार वितरण गरेका थिए ।    सो प्रतियोगितालाई सम्पन्न गर्न न्यू ग्यालेक्सी मावि, युनाइटेड बगर, स्पोर्टस् क्यासल प्रालि, बगर भाइखलक, सविन मेमोरियल र रत्नश्री जिमले सहयोग गरेको थियो ।

पोखरा:  जिल्ला प्रहरी कार्यालय कास्कीले अवैध रुपमा विक्री वितरणका लागि ल्याएको ८२ तोला सुनसहित दुईजनालाई पक्राउ गरेको छ ।  पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीबाट भारतीय नागरिकसहित २ जनालाई अवैध सुनका गरगहनासहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।  पक्राउ पर्नेमा भारतको पंजाव घर भएका ४९ वर्षीय कुलदिप सिंह र रुपन्देही तिलोत्तमा नगरपालिका–१६ बस्ने ४७ वर्षीय रामबहादुर विक छन् ।  प्रहरीले उनीहरुको साथबाट हिजो (शुक्रबार)  सुनको मूल्य १ करोड ३० लाख ४१ हजार आठ रुपैयाँ बराबरको ८२ तोला १६लाल ९ सय ५७  ग्राम पथ्थर बरामद गरेको छ ।  अवैध रुपमा ल्याइएको सुन पोखरामा विक्री नभएपछि बुटवल लैजादा गर्दा उनीहरुलाई पुम्दीभुम्दीबाट पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ ।  पक्राउ परेका उनीहरुलाई सुनसहित आवश्यक कारवाही तथा थप अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय बुटवल पठाइएको कास्की प्रहरीले जनाएको छ ।         बरामद सामानहरुको विवरण      सुनको ढिक्का सानो ठुलो  – २ तोला २३ लाल सिक्री– २९ थान     (तौल १० तोला ३१ लाल) दानावाला माला - १ थान ( तौल २ तोला ९४ लाल) पथ्थर जडित र हिरा जडित औंठी – ५७ थान ( तौल गर्दा १० तोला ५४ लाल) कानमा लगाउने जुली– ३२४ थान (१६२ जोर) ( तौल गर्दा २७ तोला ६३ लाल) मंगलसुत्र – १७ थान  ( तौल गर्दा ५ तोला) लकेट- ९९ थान  (तौल गर्दा १३ तोला १२ लाल) कालो र रातो माला सहितका पोते– १९ थान (तौल गर्दा ९ तोला ३९ लाल) झुम्का स-साना टुक्राहरु - १ तोला ।    

चितवन:   चितवन– पूर्वपश्चिम राजमार्गअन्तर्गत पूर्वी चितवनको राप्ती नगरपालिकाको खहरे पुलमा सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ । घटनामा १८ जना घाइते भएका छन् । चितवनका प्रहरी प्रमुख गोविन्द पुरीका अनुसार धनगढीबाट काँकडभिट्टातर्फ गइरहेको यात्रुवाहक बस र मकवानपुरबाट नारायणगढ आइरहेको विद्युतीय सवारी साधन शनिबार बिहान एकआपसमा टोक्किँदा भएको दुर्घटनामा उनीहरुको मृत्यु भएको हो । मृत्यु भएकामध्हुये दुई जनाको मात्रै पहिचान भएको छ । जसमा मकवानपुर हटिया–३ का ५५ वर्षीय सोमप्रसाद रुपाखेती र हेटौंडा उपमहानगरपालिका( ५ की ५३ वर्षीया मैयाकुमारी न्यौपाने रहेका छन् । बाँकी छ जनाको सनाखत हुन सकेको छैन । घाइतेको चितवन मेडिकल कलेज, पुरानो मेडकल कलेज र भरतपुर अस्पतालमा उपचार भइरहेको छ ।

काठमाडौं: आज अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन मनाउने गरिन्छ । संयुक्त राष्ट्र सङ्घको महासभाले सन् २०१४ मा गरेको निर्णय अनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त राष्ट्र सङ्घको ६९औँ महासभामा योग सबैका लागि सधैँका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियन लगायत संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए । सङ्घले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ । सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो । नेपालमा २०३६ साल माघ १ गतेदेखि सूर्य उत्तरायण लाग्ने दिनको अवसर पारेर योग दिवस मनाउन थालिएको थियो । नेपाल संस्कृत विश्वविद्यालयमा ६ महिनाको योग तथा प्राकृतिक चिकित्साको अध्यापन हुँदै आएको छ । वैदिक कालमा हिमालयको काखमा ऋषिमुनिले अध्ययन, अनुसन्धान गरी प्रतिपादन गरेको योग नेपालमै लुप्तप्रायः बनेको थियो । यही क्षेत्रबाट पुनर्जागरण गर्न दिवस घोषणा गरी जनचेतना जगाउने काम शुरु भएको हो । माघ १ गते मनाउने गरिएको विश्व योग दिवस २१ जुनमा मनाइएपछि नेपालका अभियानकर्मीहरुले माघ १ लाई राष्ट्रिय योग दिवस घोषणा गर्न शान्ति तथा पुनर्निर्माण मन्त्रालय मार्फत् मन्त्रिपरिषदमा प्रस्ताव गरेका थिए । नेपाल सरकारले २०७२ साल साउन २८ गते तत्कालीन शान्ति मन्त्री नरहरि आचार्यको प्रस्तावमा माघ १ गतेलाई राष्ट्रिय योग दिवस घोषणा गरेको थियो । योग र ध्यान साधनाका लागि उत्तरायण महत्वपूर्ण मानिने भएकाले उत्तरायण शुरु हुने पहिलो दिन मकर सङ्क्रान्ति अर्थात् माघ १ गतेलाई सरकारले राष्ट्रिय योग दिवस घोषणा गरेको हो । हाल नेपालमा माघ १ गते राष्ट्रिय र जुन २१ का दिन अन्तर्राष्टिय योग दिवस मनाउने गरिन्छ ।

नवलपरासी:  पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को दुम्कीवास–दाउन्ने सडक खण्डबाट आवतजावत गर्न समस्या भएको छ । वर्षासँगै बढेको विनयी खोलाको बाढी र दाउन्ने क्षेत्रमा सडक हिलाम्मे हुँदा नारायणगढ–बुटवल खण्ड चार दिनदेखि ठप्प छ । यात्रु, सवारी चालक र सर्वसाधारणले अत्यन्त कठिन परिस्थितिको सामना गरिरहेका छन् । बिहीबार राति काठमाडौंबाट नेपालगन्ज जाँदै गरेको भे १ ख ४०८५ नम्बरको यात्रुवाहक बस विनयी खोलाको डाइभर्सनमा फसेको थियो । बाढीको भेलले बस बगाउने अवस्था सिर्जना भएपछि २४ जना यात्रुलाई जेसिभीको सहायताले सकुशल उद्धार गरिएको थियो । उद्धार गरिएकामध्ये बर्दियाका किरण चौधरीले घटनाको सम्झना गर्दै भने, ‘मध्यरातमा खोलाबीचमा अलपत्र पर्दा भगवान् सम्झनु बाहेक केही गर्न सकिँदैनथ्यो।’ ३१ वर्षीय शिवनारायण थारु काठमाडौंबाट बर्दिया जाँदै गर्दा डाइभर्सनमा फसेका थिए । उनले बाढी देखेर आत्तिएर खोलामै हाम फालेर पौडिँदै ज्यान जोगाएका थिए । ‘त्यो क्षण म मर्छु जस्तो लागिरहेको थियो, भाग्यले बाँचेछु,’ शिवनारायणले भने । सडक अवरुद्ध भएपछि यात्रुले घण्टौँ पैदल यात्रा गर्न थालेका छन् । लामो दूरीका सवारी चालक गाडीमै रात बिताउन बाध्य छन् । जङ्गलबीचमा खाना र पानी नपाउने अवस्था सिर्जना भएको छ । मालवाहक गाडी सडकमा अलपत्र परेका छन् । यात्रुहरूको पीडा देखेर विनयी त्रिवेणी गाउँपालिका– १ का स्थानीय युवा, व्यवसायी र सामाजिक सङ्घसंस्थाले शुक्रबार दिनभर निःशुल्क खानाको व्यवस्था गरेका छन् । दुम्कीवासमा स्थानीयले भात, दाल तरकारी र शुद्ध पानी निःशुल्क वितरण गर्दै यात्रुलाई राहत दिइरहेका छन् । शुक्रबार मात्र एक हजार ५०० यात्रुले खाना खाएको समाजसेवी गोमा बस्यालले जानकारी दिइन् । प्रमुख राजमार्गको रूपमा रहेको पूर्व–पश्चिम राजमार्ग क्षेत्र नै अहिले अस्तव्यस्त बन्दा धेरै समस्या सृजना भएका छन् । नवलपरासी ९बर्दघाट सुस्तापूर्व०का प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डेले निर्माणको लागि भत्काइएको सडक वर्षा परेपछि हिलाम्य हुने स्वाभाविक भए पनि ठेकेदारको लापरबाहीले समस्या चर्किएको बताए । २०७५ सालदेखि विस्तारको नाममा भत्काइएको नारायणगढ–बुटवल सडक खण्डको दाउन्ने दुम्कीवासमा अहिले धेरै चुनौती बढ्दै गएको छ । विनयी खोलामा अस्थायी डाइभर्सनमार्फत सवारी सञ्चालन हुँदै आएको छ, तर खोलामा बाढी आउँदा बारम्बार डाइभर्सन बग्ने क्रम रोकिएको छैन । जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व)का प्रहरी उपरीक्षक यादव ढकालका अनुसार हालसम्म आठ पटकसम्म डाइभर्सन बगाइसकेको छ । सडक निर्माणको क्रममा भत्काइएको दाउन्ने क्षेत्रको १४ किलोमिटरको बाटो वर्षाको समयमा हिलाम्मे हुँदै कष्टकर बन्दै आएको छ । स्थानीय प्रशासनले सडक सुधारको दबाब दिँदै आए पनि ठेकेदार कम्पनीले गिट्टी–बालुवा हालेर सामान्य मर्मतसमेत नगरेको यात्रुको गुनासो छ । 

ललितपुर:  प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ चक्रपथको कलङ्की–कोटेश्वर खण्डको ग्वार्को फ्लाइओभरको आज उद्घाटन गर्नुभएको छ । नवनिर्मित फ्लाइओभरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले उद्घाटन गर्नुभएको छ ।  इञ्जिनीयरिङ प्रोक्युरमेन्ट कन्स्ट्रक्सन (इपिसी) ढाँचामा रु १७ करोड छ लाख ८८ हजारमा आशिष समानान्तर रेलिगेर जेभीद्वारा निर्माण भएको यो फ्लाइओभर नेपालकै पहिलो हो ।  कुल पाँच सय मिटर अप्रोच सडक रहेको यसमा ३५ मिटर स्पानको ४ लेन पुल निर्माण भएको छ । ग्वार्को चोकको ट्राफिक जामलाई हटाउन २०७८ सालमा यसको निर्माण आरम्भ भएको थियो । कार्यक्रममा प्रधानमन्त्री ओलीले यस प्रकारको पहिलो फ्लाइओभर निर्माण भई उद्घाटन हुन खुसीको कुरा हो भन्दै अब ग्वार्कोमा सवारी जामको समस्या समाधान भएको बताउनुभयो । उहाँले सरकारले बहुआयामिक र चौतर्फी ढंगले विकास अगाडि बढाएकाले यसमा सबैको साथ रहने विश्वास व्यक्त गर्नुभयो । “हामी विकासको बाटोमा लगातार अगाडि बढिरहेका छौँ । हिजो दैलेखमा नेपाललाई ५० वर्ष पुग्ने मिथेन ग्यास रहेको प्रमाणित भयो । तीन वटा कुवामध्ये एउटा कुवाबाट त्यति ग्यास पैदा हुन्छ । त्यसको उत्खनन्को सुरुवात पनि मैले नै गरेको थिएँ । धौवादी फलाम कारखाना सुरु भएपछि नेपालमै फलाम उत्पादन भई देशको अर्थतन्त्रलाई धेरै अगाडि बढाउनेछ । ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “यसरी विकास हुँदा विदेश जाने मुद्रा नेपालमै रहन्छ । ठुलो आर्थिक लाभ र स्वदेशमै रोजगारी मिल्नेछ । अरु खनिजको उत्खनन् गर्नेछौँ । कृषिको आधुनिकीकरण गर्नेछौँ । नयाँ उद्योग स्थापना, सामाजिक र प्रशासनिक सुधार गरेर देशलाई अगाडि बढाउनेछौँ । हामीले कुनै पनि हालतमा निराशा र असन्तुष्टि व्यक्त गर्नु हुँदैन । आशा र सम्भावनालाई पहिल्याउँदै जानुपर्छ ।”सुनकोशी मरिन डाइभर्सन आयोजना र हुलाकी राजमार्गले तराईको मुहार फेर्ने र मेची महाकालीको कायाकल्प गर्ने बताउँदै उहाँले देशले गति लिन चाहेको अवस्थाका रुपमा अगाडि बताउनुभयो ।  उहाँले मदन भण्डारी राजमार्ग, पुष्पलाल मध्यपहाडी राजमार्ग र अन्य धेरै आयोजनाले गति लिने बताउनुभयो ।