पोखराः प्रतिनिधिसभा निर्वाचन २०७९ अन्तर्गत स्याङ्जाको क्षेत्र नं २ बाट नेपाली कांग्रेसका धनराज गुरुङले अग्रता कायमै राखेका छन् । गुरुङले ९ हजार ६१३ मत पाउँदा निकटतम प्रतिस्पर्धी एमालेकी पद्माकुमारी अर्याल ७ हजार ४६ मत ल्याई दोस्रो स्थानमा छिन् । उनलाई २ हजार ८८२ मतका साथ राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङले पछ्याइरहेका छन् । गुरुङ २ हजार ५६७ मतको अन्तरले पहिलो स्थानमा छन् । त्यस्तै स्याङ्जाबाट प्रदेशसभातर्फको निर्वाचन क्षेत्र नम्बर २ (१) मा १०,०२४ मतका साथ नेपाली कांग्रेसका भोजराज अर्याल अग्रस्थानमा छन् । उनका प्रतिस्पर्धी नेपाल कम्युनिस्ट पार्टी (एमाले)का मोहनप्रसाद रेग्मीले भने ७ हजार २८६ मत पाएका छन् ।
सिरहाः सिरहाको गोलबजारबाट कटुवा पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् । गोलबजार नगरपालिका–११ बलकवा मैनाबती पुलबाट कटुवा पेस्तोल एक थानसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा गोलबजार–४ बस्ने १९ वर्षीय कृष्णाकुमार यादव र सोही नगरपालिका–११ बलकवा बस्ने २१ वर्षीय मोहम्मद अरमान खान रहेको जिल्ला प्रहरीले सिरहाले जनाएको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरीले उनीहरूलाई पेस्तोलसहित पक्राउ गरेको हो । घटनाबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक प्रवक्ता सुवास बुढाथोकीले बताउनुभयो ।
नवलपरासीः नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को धौवादीमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । दलदलेबाट डेडगाउँ जाँदै गरेको गण्डकी प्रदेश ०४–००१ ज–०००६ नम्बरको जिप हुप्सेकोट गाउँपालिका–५ धौवादीको कान्छीपानी नजिकै दुर्घटना हुँदा चार जनाको मृत्यु भएको हो । दुर्घटनामा दुई महिला र दुई पुरुष गरी चार जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपरासी९बर्दघाट सुस्ता पूर्व०का प्रमुख एसपी भुवनेश्वर तिवारीले पुष्टि गर्नुभयो । दुर्घटना परी घाइते भएकाको उद्धार गर्ने क्रममा थप दुईको शव फेला परेको प्रहरीले जनाएको छ । मृतकको सनाखत भइसकेको छैन । घाइते सात जनालाई उद्धार गरी अस्पताल लगिएको छ । सडकबाट करिब तीन सय मिटर तल खसेको जिप ब्रेक फेल भएका कारण दुर्घटनामा परेको अनुमान गरिएको छ । साँझ साढे ५ बजे भएको दुर्घटनामा घाइते तथा मृतकको उद्धार साढे ८ बजेसम्म जारी रहेको थियो । घाइते तथा मृतकको उद्धार गर्न निकै कठिन भएकाले मृतकको सङ्ख्या बढेको जनाइएको छ । घटनास्थल दुर्गम पहाडी क्षेत्र भएकाले उद्धारमा कठिनाइ भएको हुप्सेकोट गाउँपालिका–५ का वडाध्यक्ष पदमबहादुर रानाले बताउनुभयो ।
दोलखाः दोलखाको १० मतदान केन्द्रमा आज प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यका लागि भएको पुनः मतदानमा ५० प्रतिशत मत खसेको छ । मुख्य निर्वाचन अधिकृत डिल्लीरत्न श्रेष्ठका अनुसार ५० प्रतिशत मत खसेको र निर्वाचन शान्तिपूर्ण तरिकाले सम्पन्न भएको छ । कति बजेदेखि मतगणना सुरु गर्ने भन्ने विषयमा अहिले सर्वदलीय बैठक बसिरहेको छ । ती मतदान केन्द्रमा चारवटा बुथमा आठ हजार पाँच सय १४ मतदाता रहेका छन् । सो जिल्लाको वैतेश्वर गाउँपालिका वडा नंं ६ स्थित वैतेश्वर माध्यमिक विद्यालय मतदान केन्द्रको क, ख र ग, वडा नं २ को जनज्योति माध्यमिक विद्यालय पुतलीकाठ मतदान केन्द्रको क र ख, वडा नं ३ कालिढुङ्गा माध्यमिक विद्यालय मतदान केन्द्र क, ख र ग रहेको थियो । तामाकोशी गाउँपालिका वडा नं ३ हेल्थपोष्ट भवन जफे मतदान केन्द्रका क, ख र ग मा मतदान भएको थियोे । ती मतदान केन्द्रमा मङ्सिर ४ मा भएको मतदानमा विवाद उत्पन्न भएपछि उक्त मतदान रद्द गरी पुनः मतदान गराउन यही मङ्सिर ११ गते निर्वाचन आयोगले सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको थियो । प्रतिनिधिसभामा एक निर्वाचन क्षेत्र रहेको दोलखामा जम्मा ९४ मतदानस्थल र एक सय ९५ मतदान केन्द्र रहेका थिए । कुल एक लाख ६१ हजार चार सय ५० मतदाता रहेको यस क्षेत्रमा १४ राजनीतिक दल र सात स्वतन्त्र गरी २१ उम्मेदवार रहेका छन् ।
पोखराः स्याङ्जा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभाका कांग्रेस उम्मेदवार धनराज गुरुङले हजार ६सय मत अग्रता कायम गरेका छन् । पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङले ७ हजार ४ सय ७६ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी एमालेकी पद्मा अर्यालले ५हजार ४ सय ७० मत प्राप्त गरेका छन् । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार टिकराज गुरुङले २१५३ मत ल्याएका छन् । प्रदेशसभामा पनि नेपाली कांग्रेसले अग्रता लिएको छ। प्रदेशसभा सदस्य कांग्रेस उम्मेदवार भोजराज अर्यालले ८२५१ मत प्राप्त गरेका छन्। उनका प्रतिस्पर्धी मोहन रेग्मीले ६१७० मत पाएका छन्। उनीहरुबीच २०८१ मतान्तर छ। अहिले मतगणना जारी छ।
काठमाडौंः प्रतिनिधिसभाको समानुपातिक निर्वाचनतर्फ एक करोड तीन लाख ४६ हजार आठ सय १७ मत गणना हुँदा नेकपा (एमाले) अघि देखिएको छ । निर्वाचन आयोगले अपराह्न ४ः०० बजे सार्वजनिक गरेको मत मरिणामअनुसार २७ लाख ६१ हजार छ सय ४८ मत प्राप्त गरी एमाले सबैभन्दा अघि देखिएको हो । प्रतिनिधिसभा सदस्यका लागि प्रत्यक्षतर्फको निर्वाचनमा सबैभन्दा धेरै स्थानमा विजयी नेपाली कांग्रेस २६ लाख ३० हजार एक सय ४१ मत प्राप्त गरी समानुपातिकातर्फ दोस्रो स्थानमा रहेको छ । यसैगरी ११ लाख ६० सात सय ८३ मत प्राप्त गरी नेकपा (माओवादी केन्द्र) तेस्रो र ११ लाख १४ हजार दुई सय ५८ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा रहन सफल भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पाँच लाख ८४ हजार नौ सय ६९, जनता समाजवादी पार्टी ९जसपा० चार लाख २० हजार सात सय ५० र जनमत पार्टी तीन लाख ९४ हजार एक सय २९ मत प्राप्त गरी थ्रेस होल्ड कटाउन सफल भएका छन् । थ्रेस होल्ड कटाउन समानुपातिक निर्वाचनमा खसेको कूल सदर मतको तीन प्रतिशत ल्याउनु पर्नेछ । प्रतिनिधिसभा सदस्यको प्रत्यक्ष निर्वाचनतर्फ १० स्थानमा विजयी नेकपा (एकीकृत समाजवादी) ले दुई लाख ९३ हजार नौ सय पाँच मत प्राप्त गरेको छ । नागरिक उन्मुक्ति पार्टीले दुई लाख ७१ हजार पाँच सय ६५, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एक लाख ६७ हजार एक सय २० र नेपाल मजदुर किसान पार्टीले ७५ हजार छब्बीस मत प्राप्त गरको छ । समानुपातिकतर्फको मतगणना करिब अन्तिम चरणमा पुगेको आयोगले जनाएको छ ।
काठमाडौंः मैतीदेवी बस्ने ३५ वर्षीय रामनारायण परियार फुर्सदका समयमा पुराना पत्रिका पढ्न काठमाडौँ उपत्यका सार्वजनिक पुस्तकालय जानुहुन्छ । इतिहासका कुरा थाहा पाउन उहाँ त्यहाँका पत्रपत्रिका अध्ययन गर्नुहुन्छ । “यहाँ निःशुल्क पढ्न पाइन्छ । समय मिलेमा म त्यहाँ पुगिहाल्छु”, उहाँ भन्नहुन्छ, फुर्सद निकालेर त्यहाँ पढ्न पाउँदा मलाई खुसी लाग्छ । वरपर खाजा खाने राम्रो ठाउँ नभएकाले आफैँ खाजा लिएर भृकुटीमण्डपस्थित पुस्तकालयमा प्रायः आइरहन्छु ।” बानेश्वरका भोजराज कार्की पनि विद्यालय बिदा भएका दिन सधैँ सो पुस्तकालयमा जाने गर्नुहुन्छ । “बानेश्वरदेखि धेरै टाढा पनि छैन, त्यसैले स्कुल भएका दिन म यहीँ जाने गर्छु । छुट्टीका दिन धेरै विद्यार्थी आउने गरेकाले ठाउँ पाउनै मुस्किल हुन्छ”, बाह्र कक्षा अध्ययनरत कार्की भन्नुहुन्छ, “घरमा पढ्न गाह्रो हुन्छ, टिभी हेर्न मन लाग्छ, मोबाइलमा गेम खेल्न मन लाग्छ, तर यहाँ टिभी पनि छैन, साथीहरूलाई देखेर पनि पढ्न मन लाग्छ ।” सबैका हातमा मोबाइल र ल्यापटप कम्प्युटर नाचिरहेका बेला सो पुस्तकालयमा भने परियार र कार्की जस्तै अध्ययनार्थीको भिड देखिन्छ । पुस्तक पढ्ने शान्त वातावरण खोज्दै पाठक उक्त पुस्तकालय पुग्ने क्रम बढ्दो छ । लोकसेवा आयोगका परीक्षा तयारी गर्नेदेखि कलेजका विद्यार्थीसहित दैनिक करिब ५० जना उक्त पुस्तकालय पुग्छन् । पुस्तकालयमा अपाङ्गता भएका, बालबालिकालगायत हरेक उमेर समूहका मानिस किताब पढिरहेका देखिन्छन् । आफूले खोजेका किताब÷पत्रपत्रिका निःशुल्क पढ्न पाउने भएपछि पुस्तकालयमा मानिसहरूको सधैँ भरिभराउ हुन्छ । मोबाइलमा फिल्म हेरेर र गेम खेलेर बिताउने पुस्ता पनि पुस्तकालयमा पुगेर ज्ञान बटुलिरहेको हुन्छ । पुस्तकालयमा इतिहास, साहित्य, राजनीतिकका साथै अनेक विषयका नेपाली र अङ्ग्रेजी भाषाका पुस्तक राखिएको छ । विभिन्न देशका राजदूतले पुस्तकालय अवलोकन गरेर सहयोग पनि दिने गरेका छन् । पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराई, माधवकुमार नेपाल, बाबुराम भट्टराई र पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेता सुवास नेम्वाङले पनि पुस्तकालय अवलोकन गर्दै सहयोग गर्नुभएको थियो । पुस्तकालयले भने अझैसम्म आफ्ना लागि स्थायी घर भेटेको छैन । चारैतिर बजार क्षेत्र भए पनि पुस्तकालयलाई असर गरेको छैन । एकातिर किनमेलका लागि आउने मानिस हुन्छन् भने अर्कातिर किताब पढ्नैका लागि खाजा बोकेर आउने पनि छन् । कोलाहलयुक्त वातावरण नभएकाले शान्तसँग बसेर पढ्नैका लागि पुस्तकालय मानिसको आकर्षणको केन्द्र बनेको छ । राम्रो सुविधा भनेको पुस्तकालयको सदस्य बनिसकेपछि घरमै लगेर पनि पुस्तक पढ्न पाउनु पनि हो । यहाँ बाहिरबाट पुस्तक बोकेरसमेत पढ्न आउनेहरू छन् । लोकसेवा आयोगको परीक्षाको तयारी गर्दै गर्नुभएका ब्रज पटेल भन्नुहुन्छ, “म घरबाट किताब लिएर आउँछु, दिनभरी यहाँ मज्जाले पढ्न पाइन्छ । कोठामा अरू साथीहरू पनि बस्छन्, घरमा पढ्ने वातावरण हुँदैन । त्यसैले बिहान खाना खाएर आउँछु, दिनभरी किताब पढेर साँझ मात्रै कोठा फर्किन्छु ।” स्थापनाको कथा विसं २०६० मा वर्तमान परराष्ट्रमन्त्री डा नारायण खड्काबाट रु १० लाख योगदान भई स्थापित पुस्तकालयले अहिले सरकारबाट वार्षिक रु ५० लाख अनुदान पाउने गरेको छ । काठमाडौँ महानगरपालिकाका तत्कालीन प्रमुख केशव स्थापितले राष्ट्रियसभा गृहमा एउटा कोठा उपलब्ध गराएर सो पुस्तकालय सुरु गराउनु भएकामा पछि भृकुटीमण्डपमा सारी विस्तार गरिएको हो । ब्रिटिस स्कुल र ब्रिटिस काउन्सिलले आठ हजारभन्दा बढी पुस्तक उपलब्ध गराएपछि यसले अझै धेरै पाठकलाई तान्न सक्यो । पुस्तक बढेसँगै पुस्तकालयले ज्ञानको विस्तार पनि गर्न पायो । त्यस्तै एसिया फाउन्डेसनले पनि सुरुआती अवस्थादेखि नै किताब उपलब्ध गराई सहयोग गरेको थियो । प्रविधिको विकाससँगै हाल पुस्तकालयलाई कम्युटराइज्ड पनि गरिएको छ । विसं २०६४ मा पुस्तकालयको सदस्यता दिने निर्णय भएको थियो । अहिले रु एक हजार धरौटी राखेर सदस्य बन्ने नियम बनाइएको छ । हाल दुई हजार दुई सय जनाले यसको सदस्यता लिएका छन् । वार्षिक रु ३०० शुल्क तिरेपछि घरमा लगेर किताब पढ्न पाइने सुविधाले धेरैलाई आकर्षित पनि गरेको छ । सो अभियान सुरु गरिएपछि सदस्यता लिनेहरू बढ्दै गएको पुस्तकालयका व्यस्थापक जुजुभाइ डङ्गोल बताउनुहुन्छ । साठी जना साधारण सदस्य रहेको उक्त पुस्तकालयमा दुई–दुई वर्षमा कार्यसमितिको चुनाव गरेर नेतृत्व छनोट गरिन्छ । हालको आठ सदस्यीय कार्यकारी समितिका अध्यक्षमा मन्त्री डा खड्का, उपाध्यक्षमा पूर्वराज्यमन्त्री याङ्किला शेर्पा, महासचिवमा मोहनकुमार इङ्नाम र कोषाध्यक्षमा महेशकुमार अग्रवाल रहनुभएको छ । चुनौती दैनिक पाठकको भिड लाग्न थालेपछि अहिले यहाँ ठाउँ अभाव भई नयाँ पाठकलाई राख्न समस्या भएको व्यवस्थापक डङ्गोल गुनासो गर्नुहुन्छ । सुरुमा भवनको भाडामा ७५ प्रतिशत छुट भएकामा अहिले १०० प्रतिशत भाडा तिर्दा आर्थिक चुनौती थपिएको छ । यहाँ शनिबार सबैभन्दा धेरै भिड हुन्छ । आइतबार भने बन्द हुन्छ । व्यवस्थापक डङ्गोल भन्नुहुन्छ, “हामी विद्यार्थीलाई चिसो मौसमा तातोपानीसमेत उपलब्ध गराउँछौँ । सकेसम्म धेरै पढ्न सहज वातावरण बनाएका छौँ । चिसो मौसममा मिलेसम्म चिया पनि दिन्छौँ, तातोपानी छुटाउँदैनौँ, “सकेसम्म धेरै पढ्ने वातावरण मिलाएका छौँ तर हामीसँग जनशक्तिको अभावले समस्या भएको छ ।” “कोरोनाको महामारीभन्दा अगाडि हरेक महिनाको १५ गते यहाँ डा सनतकुमार बस्ती सम्मिलित ‘सिर्जना संवाद’ कार्यक्रम हुने गरेको थियो तर अहिले स्थान अभावका कारण त्यसलाई निरन्तरता दिन सकेका छैनौँ”, उहाँले भन्नुभयो ।
काठमाडौंः प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल कला, संस्कृतिको दृष्टिले विश्वकै धनी र समृद्ध मुलुक भएको बताउनुभएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानको १३औँ प्राज्ञसभाको उद्घाटन गर्दै उहाँले नेपालको प्राचीन वस्तु तथा स्थापत्यकला, मूर्तिकला, चित्रकला र सङ्गीत एवं नाट्य स्वदेशमा मात्र नभएर विदेशमा पनि उत्तिकै प्रसिद्ध र लोकप्रिय रहेको बताउनुभयो । कला साधक र सर्जक देशका अमूल्यनिधि भएको उल्लेख गर्नुहुँदै प्रधानमन्त्री देउवाले कलाकारले सिर्जना गरेका कलाकृति देशका अमूल्य सम्पत्ति एवं मुलुकको पहिचानका महत्वपूर्ण प्रतीक भएकाले यसको संरक्षण गरिनुपर्नेमा जोड दिनुभयो । “कला र संस्कृतिको सिर्जनाको संरक्षण र सम्वद्र्धन गर्दै विश्व मानचित्रमा नेपालको विशिष्ट पहिचान बनाउँदै कला संस्कृतिको सम्वद्र्धनबाट आर्थिक सामाजिक विकासमा योगदान पु¥याउन हामी सबै प्रतिबद्ध हुन आवश्यक छ, ललितकला क्षेत्रको संरक्षण र सम्वद्र्धन, यस क्षेत्रमा अध्ययन अनुसन्धानलाई प्रवद्र्धन गर्ने तथा कलाकारको सिर्जना र प्रतिभालाई देश, विदेशमा प्रचारप्रसार गर्ने लगायतका उद्देश्यले प्रतिष्ठानको स्थापना भएको हो”, उहाँले भन्नुभयो । नेपाली कलाकारले बनाएका कलाकृति विश्वका विभिन्न देशका सङ्ग्रहालय तथा ग्यालरीमा रहेको जानकारी गराउनुहुँदै प्रधानमन्त्री देउवाले नेपाल विशिष्ट कलाकारको जन्मभूमिका रुपमा स्थापित भएको बताउनुभयो । छ÷सात सय वर्षअघि नेपालमा जन्मिएका प्रतिभाशाली कलाकार अरनिकोले नेपाली कलाकारको नेतृत्व गर्दै छिमेकीमुलुक चीन पुगेर थुप्रै कलाकृति सिर्जना गरी नेपाली वास्तुकलालाई व्यापक बनाएको प्रसङ्ग पनि उहाँले स्मरण गर्नुभयो । प्रधानमन्त्री देउवाले भन्नुभयो, “अरनिकोले चीनमा बनाएका कलाकृति आज पनि जीवन्त रहेर नेपाललाई चिनाइरहेको छ । कला, संस्कृतिलाई देशको मात्र नभई विश्वकै सम्पत्ति मानेर संरक्षण र सम्वद्र्धन गर्ने प्रचलन सुरु भएको छ । युनेस्कोलगायत अन्तर्राष्ट्रिय संस्थाले यसका लागि सहयोगसमेत गर्दै आइरहेका छन् ।” प्रतिष्ठानले पनि युनेस्कोलगायत यस सम्बन्धमा काम गर्ने अन्य संस्थासँग सहकार्य गर्दै अघि बढ्नुपर्ने उहाँको सुझाव छ । कला, संस्कृति र सम्पदाको संरक्षणबाट अहिलेको पुस्ताले मात्र नभई भावि पुस्ताले पनि फाइदा उठाउनसक्ने भएकाले विशेष ध्यान दिन प्रधानमन्त्री देउवाले आग्रह गर्नुभयो । यस क्षेत्रका सीप र प्रतिभालाई नयाँ पुस्तामा हस्तान्तरण गर्न प्रतिष्ठानले जोड दिनुपर्नेमा उहाँले जोड दिनुभएको थियो । कलाकार अरनिकोको १७ फिट अग्लो मूर्ति निर्माणलाई सम्पन्न गर्न आवश्यकपर्ने बजेट सरकारले व्यवस्था गर्ने उहाँको प्रतिबद्धता छ । नेपालभर छरिएर रहेका कलाकारको खोजी गरी व्यक्तिवृत्त तयार गर्ने, तिनका कलाकृतिको संरक्षण गर्ने र सिर्जित कलाकृतिलाई स्वदेश तथा विदेशमा व्यवस्थित तवरले प्रचारप्रसार गर्न आवश्यक रहेकामा प्रधानमन्त्री देउवाले जोड दिनुभयो । यसमा प्रतिष्ठानले ध्यान दिनुपर्ने बताउनुहुँदै उहाँले सरकारले पनि यस काममा सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।
काठमाडौंः नेपालमा सन् २००० को तुलनामा एचआइभीको नयाँ सङ्क्रमण ८४ प्रतिशतले घटेको पाइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्र टेकुले सार्वजनिक गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२१ मा ८४ प्रतिशतले एचआइभीको नयाँ सङ्क्रमणमा कमि आएको जनाइएको छ । सन् २००० मा चार हजार तीन सय ७० जना र सन् २०२१ मा छ सय ८० जना नयाँ सङ्क्रमित फेला परेका छन् । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा सुधा देवकोटाले सङ्क्रमतिलाई उपचार प्रक्रियामा ल्याइएकाले सर्न कम भएको बताउनुभयो । उहाँले सन् २००० को तुलनामा सन् २०२१ मा ८४ प्रतिशतले नयाँ सङ्क्रमित कम भएको जानकारी दिनुभयो । “हामीले सङ्क्रमितको पहिचान गरेर उपचार पद्दतिलाई राम्रो बनाएका छौँ”, उहाँले भन्नुभयो, “सबै सङ्क्रमित उपचारमा आउने भएका र सर्न पनि कम भइरहेकाले नयाँ सङ्क्रमित कम हुँदै गएका छन् ।” उहाँका अनुसार हरेक वर्ष नयाँ सङ्क्रमित कम हुने गरेका छन् । यस्तै सन् २०२१ सम्म नेपालमा ३० हजार व्यक्ति एचआइभी सङ्क्रमित रहेका छन् । कुल सङ्क्रमितमध्ये शुन्य दशमलव १२ प्रतिशत सङ्क्रमण वयस्क मानिसमा र ४५ जना १४ वर्षभन्दा मुनिका बालबालिकामा एचआइभी सङ्क्रमण भएको तथ्याङ्कमा देखाइएको छ । यस्तै २०२१ सम्ममा नेपालमा २१ हजार सात सय २३ सङ्क्रमितले एन्टिरेट्रो भाइरस ९एआरभी० उपचार लिइरहेका छन्, त्यो सङ्ख्या कूल एचआइभीको ७२ प्रतिशत मात्र हो । निर्देशक डा देवकोटाले अझै पनि उपचारबाट बाहिर रहेका करिब पाँच हजार सङ्क्रमितलाई उपचारमा ल्याउने हो भने सरकारले तोकेको लक्ष्य पूरा हुने बताउनुभयो । “अझै पनि करिब पाँच हजार सङक्रमित उपचारभन्दा बाहिर रहेका छन्”, उहाँले भन्नुभयो, “हामी ती सङ्क्रमितको पहिचान गरेर उपचारमा ल्याउने प्रयासमा रहेका छौँ ।” उहाँले उपचार गरी भाइरल लोड ठिक भएका सङ्क्रमितको समाजमा घुलमिल हुनका लागि वातावरण बनाउने अभियानमा आफूहरु रहेको बताउनुभयो । “उपचारपछि ठिक भइरहेका सङ्क्रमितलाई जीविकोपार्जन गर्नेसम्बन्धी कार्यक्रम हामीले ल्याउने तयारी गरेका छौँ”, उहाँले भन्नुभयो, “स्वस्थ भएका सङ्क्रमित आफै केही गर्न सकिन्छ कि भनेर स्वावलम्बन बनाउने तयारीमा हामी रहेका छौँ ।” उहाँले एचआइभी सङ्क्रमितमाथि अझै पनि समाजमा लाञ्छना र भेद्भाव रहेकाले हटाउन आवश्यक रहेको बताउनुभयो । सन् २०२१ मा पाँच सय १० जनाको एड्सबाट मृत्यु भएको छ । सन् २००७ मा एक हजार सात सय ६५ जनाको एड्सका कारणले मृत्यु भएको छ । सन् २००७ भन्दा २०२१ मा ७१ प्रतिशतले कमि हो । केन्द्रका निर्देशक डा देवकोटाले सबैलाई उपचारमा ल्याइएको हुनाले मृत्यु दरमा कमि आएको बताउनुभयो । उच्च जोखिममा को ? नेपालमा एचआइभी सङ्क्रमितमध्ये उच्च जोखिममा रहेका समूहमा सुईद्धारा लागूपदार्थ प्रयोग गर्ने, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रो लिङ्गी र रोजगारीका लागि विदेशीने रहेका छन् । तीमध्ये सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने र पुरुष समलिङ्गी यौनकर्मीमा सङ्क्रमण दर अरु जोखिम समूहभन्दा उच्च रहेको छ । सन् २०२० को राष्ट्रिय सर्वेक्षणअनुसार सुईद्वारा लागुपदार्थ प्रयोग गर्नेमा तीन प्रतिशतका दरले एचआइभी सङ्क्रमण रहेको पाइएको छ । यस्तै सन् २०१७÷१८ मा गरिएको सर्वेक्षणमा महिला यौनकर्मीमा दुई दशमलव दुई प्रतिशत र पुरुष समलिङ्गीमा छ दशमलव दुई प्रतिशतका दरले एचआइभी सङ्क्रमण रहेको पाइएको छ । प्रदेश नं १, लुम्बिनी तथा सूदूरपश्चिमका जिल्लामा गरिएको सर्वेक्षणले भारतमा काम गर्ने नेपालीमा एचआइभी सङ्क्रमण एक प्रतिशतभन्दा कम रहेको पाइएको छ । नेपालमा राष्ट्रिय एचआइभी रणनीतिक योजना २०२१–२०२६ ले निर्देश गरेअनुरुप उच्च जोखिममा रहेका समूह जस्तै सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने, यौनकर्मी र तिनका ग्राहक, पुरुष समलिङगी तथा तेस्रो लिङ्गी र रोजगारका लागि विदेशीने तथा तिनका दम्पती तथा जेलमा रहेका कैदीका लागि एचआइभी रोकथाम कार्यक्रम एवं सङ्क्रमित र प्रभावितका लागि उपचार, हेरचाह तथा सहयोग कार्यक्रम सञ्चालन भइरहेको छ । योजनाअनुसार नेपालमा सन २०३० सम्ममा एड्स तथा एचआइभीलाई अन्त्य गर्ने रणनीति रहेको छ । अहिले अनुमानित एचआइभी सङ्क्रमिमध्ये ९५ प्रतिशतको पहिचान गर्ने, ९५ प्रतिशतको उपचार गर्ने र एआरटी सेवा लिइरहेकामध्ये ९५ प्रतिशतको भाइरल लोड सप्रेसन हासिल गर्ने तथा नयाँ सङ्क्रमितलाई ९० प्रतिशतले कम गर्ने योजना सरकारको रहेको छ । अहिले ६१ जिल्लाका ८४ एआरटी सेन्टरबाट एन्टिरेट्रोभाइरल उपचार निःशुल्क उपलब्ध रहेको छ । देशका सबै जिल्लामा आमाबाट बच्चामा हुने सङ्क्रमण रोकथाम गर्न समुदायमा आधारित कार्यक्रम सञ्चालन भइरहेको छ । सङ्क्रमण रोक्ने चुनौती नयाँ एचआइभी सङ्क्रमण रोक्न तथा हालसम्म सेवा नपाएका जोखिम समूहलाई प्राथमिकतामा राखी समयमा नै गुणस्तर सेवाको पहुँच पु¥याउनुपर्ने, प्रदेश एवं स्थानीयस्तरमा प्रयोगशालासम्बन्धी सेवाको क्षमता अभिवृद्धि गर्नुपर्ने, मानव संशासन, बजेट, पूर्वाधारको विकास गर्न जरुरी रहेको बताइएको छ । यस्तै नयाँ एचआइभी सङ्क्रमितलाई उपचारका लागि रेफरको व्यवस्था गरी यथाशीध्र उपचारको व्यवस्था गर्नुपर्ने, एचआइभी सङ्क्रमितलाई प्राथमिकतामा राखी सिकिस्त सङ्क्रमित र स्वस्थ सङ्क्रमित केन्द्रीत उपचार केन्द्र सञ्चालन गर्नुपर्ने जस्ता चुनौती रहेका छन् । यस्तै एचआइभी सङ्क्रमितको भाइरल लोड परीक्षणको सेवामा पहुँच बढाउनका लागि सातवटै प्रदेशमा भाइरल लोड परीक्षण सेवा विस्तार गर्नुपर्दछ । सन् १९८१ मा पहिलो पटक एचआइभी सङ्क्रमित फेला परेका थिए । अहिले विश्वमा आठ करोड ४२ लाख मानिस एचआइभी सङ्क्रमित रहेका छन् । अहिलेसम्म विश्वमा एड्सका कारणले चार करोड १० लाख मानिसको मृत्यु भएको तथ्याङ रहेको छ । सन् २०२१ को अन्त्यसम्म संसारमा तीन करोड ८४ लाख मानिस एचआइभी सङ्क्रमित भएका छन् । सन् १९९६ को तुलनामा सन् २०२१ मा ५४ प्रतिशतले नयाँ सङ्क्रमित घटेको पाइएको छ । सन् २०२१ मा १५ लाख नयाँ सङ्क्रमित फेला परेका थिए । सन् १९९० देखि २०२१ सम्म एचआइभीको अवस्था हेर्दा सन २०२५ मा नयाँ सङ्क्रमण घटाउने लक्ष्य देखाइएको छ । सन् २०२१ मा एक लाख ५० हजार बच्चामा नयाँ सङक्रमण देखिएको जनाइएको छ । त्यो २०१० को तुलनामा ५२ प्रतिशतले घटेको हो । सन् २०१० मा तीन लाख २० हजारमा नयाँ सङ्क्रमित रहेका थिए । सन् २०२१ मा छ लाख ५० हजार व्यक्तिको एड्सका कारणले मृत्यु भएको तथ्याङ्क रहेको छ । त्यो २०१० को तुलनामा ५२ प्रतिशतले कम हो । सन् २०१० मा १४ लाख मानिसको विश्वमा एड्सका कारणले मृत्यु भएको थियो । विश्वमा कूल सङ्क्रमितमा तीन करोड ८४ लाखमध्ये दुई करोड ८७ लाखले मात्र एन्टिरेट्रोभाइरस ९एआरभी० उपचारमा रहेका छन् । विश्वमा हरेक दिन चार हजार जना र नेपालमा हरेक दिन दुई जना एचआइभी सङक्रमित हुने गरेका छन् । आज डिसेम्बर १ तारिख नेपालसहित विश्वभरि नै ३५औँ विश्व एड्स दिवस ‘एड्स अन्त्यका लागि समानताको सुनिश्चतता’ भन्ने नाराका साथ मनाइँदै छ ।

