पोखरा: पोखरेली व्यवसायीहरुले बैंक तथा वित्तीय संस्थाहरुले बढाएको ब्याजदर नघटाए अर्थमन्त्रालय र राष्ट्र बैंक घेर्ने चेतावनी दिएका छन् । पोखरा र लेखनाथ क्षेत्रका व्यवसायीहरुले बैंक तथा बित्तीय संस्थाहरुको चर्को ब्याजबाट आहत भएपछि आज पोखरामा सडक आन्दोलन गर्दै यस्तो चेतावनी दिएका हुन् । कार्यक्रममा बोल्दै नेपाल उद्योग वाणिज्य संघ गण्डकी प्रदेशका अध्यक्ष सञ्जीव बहादुर कोइरालाले बैंक तथा बित्तीय संस्थाहरुले एकोहोरो रुपमा ब्याजदर वृद्धि गरेको बताए । ‘व्यवसायीहरुले बैंक तथा बित्तीय संस्थाबाट ऋण लिने क्रममा गरिरहेको सम्झौता विपरित ब्याजदर वृद्धि गरिएको छ, कोइरालाले भने, ‘बैंक तथा बित्तीय संस्थाहरुले एकोहोरो रुपमा ब्याजदर वृद्धि गरेर व्यापारीहरुलाई मारमा पारेका छन्, ऋण तिदैनौं भनेका छैनौं तर एकोहोरो रुपमा वृद्धि गरिएको ब्याजदर घटाउनुपर्छ ।’ राजनीतिक दलहरुले हरेक कुरामा राष्ट्रिय सहमति खोज्दै आएपनि व्यवसायीहरुको गुनासोमा चासो नदेखाएको उनले बताए ।‘व्यापारीहरुलाई चर्को ब्याजदरले मारमा पार्नु भनेको अर्थतन्त्र धरायसी बनाउनु हो, राज्यले कुनै किसिमको सहयोग गर्न सकेको छैन, उनले भने, ‘राजनीतिक दलहरुले राष्ट्रिय सहमतिको नारा लगाएपनि व्यापारीको पक्षमा कुनै चासो नदेखाउन दुखद पक्ष हो ।’ उनले व्यवसायीहरुले तिर्न सक्ने कर्जाको कार्ययोजना तयार गरेर नै बैंक तथा बित्तीय संस्थाहरुबाट कर्जा लिए पनि सम्झौता विपरित एकोहोरो ब्याजदर वृद्धि गर्दा व्यवसायी धरायसी भएको बताए । विरोध कार्यक्रममा पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष पवन प्रजापतिले बैंक तथा बित्तीय संस्थाहरुले दैनिक फोन गरेर कर्जा चुक्ता गर्न दवाव दिदा व्यवसायीहरुमा नकारात्मक असर परेको बताए । ‘बैंक तथा बित्तीय संस्थाहरुले दिनहुँ व्यवसायीहरुलाई ऋण तिर्न दवाव दिदैं आएका छन्, व्यवसायीहरुको घर लिलामी गर्छु भन्छन्, प्रजापतिले भने, ‘बैंक तथा वित्तिय संस्थाबाट सम्झौता भएर ऋण लिएको छ त्यसको विपरित एकोहोरो रुपमा ब्याजदर वृद्धि भएको छ, कसरी तिर्ने ?’ आजबाट सांकेतिक रुपमा विरोधको कार्यक्रम सुरु गरेका छौं, बैंक तथा बित्तीय संस्थाहरु हेरेका बसेका छन्, यसरी नै हेरेर बसे अर्थमन्त्रालय र राष्ट्रबैंक घेर्न व्यवसायी पछि हट्ने छैनन्, त्यसबाट हुने क्षतिको जिम्मा सरकारले लिनुपर्ने व्यवसायीले बताएका छन् । पोखरा र लेखनाथ उद्योग वाणिज्य संघका पदाधिकारी तथा व्यवसायीहरुले आज (बुधबार) पोखराको विपीचोकमा चर्को ब्याजदर घटाउने मागसहितकोे ‘उच्च सेवा शुल्क खारेज गर, गरिखाने मर्दै छ सरकारको अर्थतन्त्र घट्दै छ,उद्योग व्यापार नबाचे अर्थतन्त्र बाच्दैन, व्याजदर चर्को भो गरिखान गाह्रो’ भो लगायतका नारासहित विपीचोकमा शान्तिपूर्ण आन्दोलन गरेका हुन् ।
काठमाडौँ : वरिष्ठ आँखा रोग विशेषज्ञ डा. सन्दुक रुइत ‘इसा अवार्ड’बाट सम्मानित भएका छन् । बहराइनमा मंगलबार आयोजित कार्यक्रममा बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले उनलाई अवार्ड प्रदान गरेको प्रतिष्ठानका जनसम्पर्क अधिकृत सुनिता केसीले जानकारी दिइन् । बहराइनका राजा अल खालिफाले डा. रुइतलाई १० लाख डलरबराबरको अवार्डसहित सम्मानपत्र प्रदान गरेका छन् । ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले तिलगंगा आँखा प्रतिष्ठानका कार्यकारी निर्देशकसमेत रहेका रुइतलाई आँखा उपचार गरेर अन्धोपन हटाउन खेलेको भूमिकाको योगदान गर्दै अवार्ड प्रदान गरेको हो । अवार्डका लागि एक सय ४५ व्यक्ति तथा संस्थाले मनोनयन दर्ता गराएका थिए । अन्तिम ६ व्यक्ति तथा संस्थाको सूचीमा परेर रुइत छनोट भएका थिए । बहराइनका राजा सेख हमद विन इसा अल खालिफाले सन् २००९ मा पूर्वराजा सेख इसा बिन सलमान अल खालिफाको नाममा स्थापना गरेको ‘इसा अवार्ड फर सर्भिस टु ह्युमानिटी’ संस्थाले अवार्ड प्रदान गर्दै आएको छ । डा. रुइतले मोतियाबिन्दु उपचार गर्ने सरल विधि विकास गरेका छन् । उनले प्रतिष्ठानमा अन्धोपन हटाउन आँखामा हाल्ने अन्तर्राष्ट्रियस्तरको लेन्स ‘इन्ट्राअकुलर लेन्स’ उत्पादन गर्दै आएका छन् ।
काठमाडौं: नेपाली कांग्रेसका नेता एवम् प्रतिनिधि सभा सदस्य डा.चन्द्र भण्डारीलाई भोलि (शुक्रबार)बाट ठोस खाना खुवाइने भएको छ । कांग्रेस नेता योगराज कँडेलले सांसद भण्डारीलाई भोलीबाट मुखबाट तरल पदार्थ खुवाइँदै आइएकोमा भोलिबाट ठोस खाना दिइने जानकारी दिनुभयो । कँडेलले सांसद भण्डारीको स्वास्थ्यमा सुधार हुँदै गइरहेको र सबै पारामिटर (मानक)हरु सामान्य रहेको बताउनुभयो । भण्डारीलाई कम्तीमा २१ दिनसम्म ब्याण्डेजमा रहनुपर्ने हुँदा इन्फेक्सन हुने सम्भावना भएकाले शुभचिन्तकलाई तत्काल भेटघाट नगर्न उपचारमा संलग्न चिकित्सकको सुझाव रहेकने भनाइ छ । नेता भण्डारीको थप उपचार यही फागुन ४ गतेदेखि भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भइरहेको छ । फागुन ३ गते राति आफ्नो निवासमा ग्यास सिलिण्डरबाट ग्यास चुहिएर कोठामा आगो लाग्दा सांसद भण्डारीसहित उहाँकी आमा हरिकला भण्डारी गम्भीर घाइते हुनुभएको थियो । घटनालगत्तै उहाँहरू दुवै जनाको कीर्तिपुरस्थित कीर्तिपुर बर्न अस्पतालमा उपचार गरिएको थियो । आमा हरिकलाको भने उपचारका क्रममा कीर्तिपुर बर्न अस्पतालमै निधन भएको थियो । नेता डा.भण्डारीलाई नेपालमा यथोचित उपचार सम्भव नभएपछि फागुन ४ गते श्री एयरलाइन्सको विमानमार्फत भारतको मुम्बईस्थित नेशनल बर्न सेन्टरमा थप उपचारका लागि लगिएको थियो । नेता भण्डारीको दुवै हात र दुवै गोडा गरी २५–३० प्रतिशत जलेको थियो ।
पोखरा: पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि रात्रिकालीन उडानका लागि तयार भएको छ । विमानस्थलमा आजदेखि रात्रिकालीन उडानका लागि इन्स्ट्रमेन्ट फ्लाइट रुल्स (आइएफआर) प्रणाली आजदेखि लागू भएको विमानस्थलले जनाएको छ । ‘यो प्रणाली लागू भएसँगै पोखरा विमानस्थलबाट रातिको समयमा पनि सहज रुपमा उडान र अवतरण गर्न सकिनेछ,’ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख विक्रम गौतमले भने । बुद्ध एयरको जहाज आइएफआर प्रणालीबाट बिहानको पहिलो फ्लाइट विमानस्थलमा अवतरण गरिसकेको विमानस्थलले जानकारी दिएको छ । यती एअरलाइन्स स्रोतका अनुसार उक्त प्रणालीबाट यतीले शुक्रबार जहाज उडान र अवतरण गर्ने तयारीमा छ । विमानस्थल प्रमुख गौतमका अनुसार मंगलबार र बुधबार आइएफआर प्रणालीको परीक्षण गरिएको थियो । ‘अब विमानस्थल बिहान ६ बजेदेखि राति १२ बजेसम्म गरी १८ घन्टा सेवा दिन तयार छ,’ उनले भने । अहिले दिउँसो ४ बजेसम्ममात्रै उडान हुँदै आएको थियो । विमानस्थल सबै उडानका लागि योग्य रहेको भन्दै नेपाल नागरिक उडड्यन प्राधिकरणले ‘एरोनोटिकल इन्फरमेसन पब्लिकेसन (एआइपी) प्रकाशित गरेको थियो । सो एआइपी प्रकाशन भएको ४२ दिनपछि विमानस्थलमा सबै उडान गर्न योग्य भएको मानिने उनले बताए । सूचना प्रकाशन भएको आज ४२ दिन पुगेको छ । आइएफआर पूर्ण यान्त्रिक प्रणाली भएकाले भिजुअल फ्लाइट रुल्स (भिएफआर) को तुलनामा निकै सुरक्षित र सहज भएको दाबी नागरिक उड्डयन प्राधिकरणको छ । गत पुस १७ गतेदेखि सञ्चालनमा आएको विमानस्थलबाट अहिले आन्तरिक उडान मात्रै हुँदै आएको छ । आजदेखि रात्रिकालीन उडानका लागि तयार भए पनि अन्तर्राष्ट्रिय उडान भने अझै अन्योल छ । केही दिनअघि विमानस्थल अनुगमनमा आएका पर्यटनमन्त्री सुदन किरातीले अन्तर्राष्ट्रियस्तरमा हवाइ सेवा सुरु गर्न कुटनीतिक पहल भइरहेको जानकारी दिएका थिए । बुद्धले फागुन २५ गतेदेखि रात्रिकालीन उडान गर्ने बुद्ध एअर फागुन २५ गतेदेखि व्यवसायिक रात्रिकालीन उडान भर्ने भएको छ । एअरका सूचना अधिकारी दीपेन्द्र कर्णले रात्रिकालीन उडानका लागि ४ वटा जहाज पोखरामा रहने जानकारी दिए । ‘बुद्धले पोखराबाट जुन/जुन सहरमा उडान गरिरहेको छ ती सहरमा सम्भव भएसम्म रातिको समयमा उडान गर्ने तयारी छ,’ उनले भने । बुद्धले काठमाडौंसहित नेपालगञ्ज, भैरहवा र भरतपुरमा पोखराबाट उडान गरिरहेको छ ।
बागलुङ : गाई काटेको आरोपमा जिल्ला प्रहरी कार्यालय बागलुङले ४ जनालाई पक्राउ गरेको छ। जैमिनी नगरपालिका वडा नम्बर ५ बिनामारेमा गाई काटेका ४ जनालाई प्रहरीले सोमबार रंगेहात पक्राउ गरेको हो। पक्राउ पर्नेमा सोही स्थानका २७ वर्षीय डिलबहादुर परियार, ३५ वर्षीय हरिबहादुर सार्की, २४ वर्षीय बिसन दर्जी र ३८ वर्षीय टंकबहादुर सार्की छन्। डिल बहादुर परियारको गोठमा चार जना मिलेर गाई काटिरहेको सूचनाको आधारमा पुगेको प्रहरीले उनीहरुलाई रंगेहात पक्राउ गरिएको प्रहरी निरीक्षक राजाराम खड्काले जानकारी दिए। पक्राउ परेकाहरुलाई पशुपंक्षी सम्बन्धी कसूरमा बुधबार मुद्धा दर्ता गरी जिल्ला अदालत बागलुङबाट थप अनुसन्धानको लागि ५ दिनको म्याद थप गरिएको प्रनि खड्काले बताए।
सुर्खेत: कर्णाली प्रदेश प्रहरी गण सुर्खेतमा कार्यरत एक जवान मृत भेटिएका छन् । बिहीबार बिहान करिब तीन बजेतिर प्रहरी जवान कवीन्द्र राम कामी गोली लागेको अवस्थामा मृत भेटिएका हुन् । प्रहरीका अनुसार को दायाँ कन्चटमा गोली लागेको छ । गणको ४ नम्बर प्रहरी पोस्टमा कामीको बिहीबार बिहान एक बजेदेखि तीन बजेसम्मको ड्युटी थियो । आफूले प्रयोग गरिरहेको एसएलआर बन्दुकले कन्चटमा गोली हानेर आत्महत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक माधवप्रसाद श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दार्चुलाको अपि नगरपालिका–६ घर भई कालिकोटको सुकाटिया प्रहरी चौकीमा दरबन्दी भएका कामी केही महिनादेखि गणमा कार्यरत थिए । जिल्ला प्रहरी कार्यालय सुर्खेतले घटनाको अनुसन्धान गरिरहेको छ । प्रहरी निरीक्षक मिलन पाण्डेको नेतृत्वमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।
काठमाडौं: एनआरएन सचिव खगेन्द्र न्यौपाने नेपालमा ट्राभल एण्ड टुर्समा अग्रणी भुमिकामा रही व्यवसाय गर्दै आइरहेको स्मार्ट होलिडेज प्रा.लि. र ग्रिनल्याण्ड होलिडेज प्रा.लि.मा आवद्ध भएका छन् । दुवै कम्पनीको ३३ प्रतिशत शेयर खरिद गरेका न्यौपाने विकास हाइड्रो पावर लिमिटेडका अध्यक्ष समेत रहेका छन् । लामो समयदेखि विभिन्न व्यवसायमा आवद्ध न्यौपाने मलेशियामा एनचाएनका पुर्व अध्यक्ष। एटी ग्रुप अफ मलेशियाका संस्थापक सञ्चालक तथा भिनोलिभा हस्पिटालिटिको अध्यक्ष समेत रहेका छन् । न्यौपानेले ट्राभल क्षेत्रमा भएको अन्योलता तथा कोभिड महामारीबाट थलिएको क्षेत्रलाई उकास्न आफ्नो लगानी यस क्षेत्रमा रहेको जानकारी गराउनु भयो । काठमाडौं हात्तिसारमा राजिटर्ड कार्यालय रहेको स्मार्ट होलिडेज प्रा.लि. र ग्रिनल्याण्ड होलिडेज प्रा.लि. लामो समयदेखि सञ्चालकद्वय बालकृष्ण खड्का र इश्वर सापकोटाले सञ्चालन गर्दै आउनु भएको थियो । नेपाल बाहिर समेत व्यापार व्यवसायमा सफल रहेका खगेन्द्र न्यौपानेको साथ र सहयोगले ट्राभल तथा टुर्सको क्षेत्रमा थप प्रगती गर्न सकिने संस्थाका सञ्चालक इश्वर सापकोटाले जानकारी दिनु भयो । कम्पनीको सामुहिक कारोबार यहि फ्रेबरी १५, २०२३ देखि सञ्चालन हुने साथै खगेन्द्र न्यौपानेले सञ्चालन गर्दै आइरहेको मलेशिया स्थित एटी ट्राभल्ससमेत सोही मितिदेखि स्मार्ट होलिडेज मार्फत सञ्चालनमा आउने कम्पनीका सञ्चालक बालकृष्ण खड्काले जानकारी गराउनु भयो ।
पोखरा: जिल्ला प्रहरी कार्यालय कास्कीले पोखरामा विभिन्न बैंकका एटिएम मेसिन फोर्न प्रयास गर्ने २ व्यक्तिलाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका १० रामबजार स्थित एनआईसी एसिया बैंकको एटिएम मेसिन, वडा नं १५ बन क्याम्पस गेट नजिकै रहेको नेपाल बैंक लिमिटेडको एटिएम मेसिन र पोखरा वडा नं १५ रामबजार पेन्सनक्याम्प नजिक रहेको सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको एटिएम मेसिन फोर्नको लागि तोडफोड गर्ने, ढुङ्गाले हान्ने तथा सिसिटिभि क्यामेरा कागजले छोप्ने गरेको सूचनाको आधारमा तत्कालै प्रहरीले प्रकाउ गरेको कास्की प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा उदयपुर गाईघाट नगरपालिका वडा नं ७ स्थायी घर भई हाल पोखरा वडा नं १७ छोरेपाटन बस्ने वर्ष २१ को शुसिल चाम्लिङ राई र लम्जुङ मस्र्याङ्दी गाउँपालिका वडा नं ४ स्थायी घर भई हाल पोखरा वडा नं १७ छोरेपाटन बस्ने वर्ष २१ को अर्जुन भन्ने लु बहादुर गुरुङ प्रकाउ परको हुन् । उनीहरुलाई चोरी तथा डाँका सम्बन्धी कसूर अन्तर्गत चोरी उद्योग मुद्दामा जिल्ला अदालतबाट दश दिनको म्याद थप गरी थप अनुसन्धान प्रकृया अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
बिर्तामोड: झापाको कनकाई नगरपालिका –७ दुर्गापुरमा बुधबार बिहान स्कुल बसको ठक्करबाट एक जनाको मृत्युभएको छ । साढे ५ बजेको समयमा पूर्वबाट पश्चिमतर्फ जाँदैगरेको ना ४ ख ९३१९ नम्बरको निधि मावि तथा इन्द्रेणी क्याम्पसको स्कुलबसले मोटरसाइकललाई ठक्कर दिएको हो । विपरित दिशातर्फ जाँदैगरेको ०१—०१६ प ३१५९ नम्बरको मोटरसाइकल लाई ठक्कर दिएर गम्भीर घाइते बनाएको थियो । दुर्घटनामा परी घाइते ताप्लेजुङ निवासी मोटरसाइकल चालक बर्ष ३० का समिर लिम्बुको उपचारका क्रममा विएण्डसी अस्पताल विर्तामोडमा मृत्युभएको प्रहरीले जनाएको छ । ठक्कर दिने स्कुलबस इलाका प्रहरी कार्यालय सुरुङ्गामा राखिएको तथा ठक्कर दिने चालक इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

