संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसको नेपाल भ्रमण स्थगित भएको छ । इजरायलमा हमास विद्रोहीले आक्रमण गरेपछि इजरायल र प्यालेस्टाइनबीच शुरु भएको तनावका कारण गुटरेसको नेपाल भ्रमण स्थगित भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । यसअघि संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसको नेपाल भ्रमण यही असोज २६ गतेदेखि २९ गतेसम्म तय भएको थियो।गुटरेसले असोज २७ गते संघीय संसदको संयुक्त बैठकलाई समेत सम्बोधन गर्ने कार्यक्रमसमेत तय भएको थियो । तर इजरायल घटनापछि संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसले नेपाल भ्रमण स्थगित गरेका हुन् । केही समयमै गुटरेसले नेपाल भ्रमण गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।
काठमाडौं: सरकारले द्वन्द्वग्रस्त इजरायलमा रहेका नेपालीको उद्धारका लागि नेपाल वायु सेवा निगमको जहाज पठाउने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदको सचिवालयका अनुसार नेपाल वायु सेवा निगमको जहाज आज राति ११ बजे त्रिभुवन विमानस्थलबाट दुबई ट्रान्जिट बनाएर इजरायल जाने भएको हो । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बुधबार बिहानै पर्यटनमन्त्री सुदन किरातीसहित नागरिक उड्यन प्राधिकरण र नेपाल वायुसेवा निगमका प्रमुखलाई बोलाएर इजरायलमा रहेका नेपालीको उद्धारका लागि तत्काल विमान पठाउने व्यवस्था मिलाउन निर्देशन दिएका थिए ।
लमजुङ: लमजुङमा आफ्नै बुवाको हत्या आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लमजुङको क्व्होलासोथर गाउँपालिका–९ टक्सारका २८ वर्षीय सुजन बिक रहेका छन् । उनले आफ्नो ६० वर्षीय बुवा दिल बहादुर बिकलाई खुकुरी प्रहार गरेका थिए । गत असोज १० गते साँझ खुकुरी प्रहार गर्दा गम्भीर घाइते भएपछि दिलबहादुरलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । त्यसपछि सोही दिन दिउँसो चिकित्सकले मृत घोषणा गरेको थियो । प्रहरीको प्रारम्भिक अनुसन्धानका अनुसार सुजन र आफ्नो बुवाबीच दाह्री काट्ने जिलेटबारे विवाद भएको थियो । सोही विषयलाई लिएर सुजनले आफ्नो बुवालाई खुकुरी प्रहार गरेका थिए । प्रहरी चौकी गिलुङबाट खटिएको प्रहरीले सुजनलाई असोज १६ गते पक्राउ गरेको थियो । हाल सो घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
दैलेख: दैलेखमा आज बिहान दाउरा काट्न गएका महाबु गाउँपालिका–१ खरिगैराका तीन जना महिलालाई अरिङ्गालले चिलेको छ । लोसे सामुदायिक वनमा दाउरा काट्न गएका २५ वर्षीया मञ्जु सुनार, २४ वर्षीया सुनिता सुनार र २९ वर्षीया गङ्गा सुनारलाई अरिङ्गालले चिलेको हो । बिरामी उनीहरुको दैलेख अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।
गोरखा: संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री सुदन किरातीको अगुवाइमा आज बिहान गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिर परिसरमा सफाइ गरिएको छ । त्यस कार्यका लागि उहाँ मङ्गलबार साँझ यहाँ आइपुग्नु भएको थियो । मन्त्री किरातीको अगुवाइमा मनकामना मन्दिर र आसपासका क्षेत्रमा रहेका फोहर सङ्कलन गरी व्यवस्थापन कार्यक्रममा स्थानीय बासिन्दा तथा विभिन्न सङ्घ संस्थाका प्रतिनिधिको समेत सहभागिता रहेको नेकपा ९माओवादी० केन्द्रका जिल्ला संयोजक दीपक तिमल्सिनाले जानकारी दिनुभयो । मनकामनाको दर्शनले मनोकांक्षा पूरा हुने धार्मिक विश्वासले यहाँ भक्तजनको वर्षभरी नै भीड लाग्ने गर्दछ । बर्सेनी मन्दिरमा हजारौँ भक्तजन भाकल पूरा गर्न पूजासहित बलि चढाउन र परेवा उडाउन आउने गर्दछन् ।गोरखाको शहीद लखन गाउँपालिका–२ र ३ मा पर्ने मनकामना मन्दिर नेपालकै एक महत्वपूर्ण धार्मिक तथा पर्यटकीय तीर्थस्थलका रुपमा प्रख्यात छ । यस मन्दिरमा दर्शन गरेमा मनले चिताएको पुग्ने जनविश्वास रहेकै कारण परापूर्वकालदेखि मन्दिरको नाम नै मनकामना रहन गएको हो भन्ने भनाइ छ । पर्यटकसमेत केबलकार चढेर दर्शन गर्नाका साथै यहाँबाट दृष्यावलोकनका लागि मन्दिरमा पुग्ने गर्दछन् । समुद्री सतहदेखि एक हजार ३०३ मिटरको उचाइमा अवस्थित यो मन्दिर परिसरबाट दक्षिणतर्फ महाभारत लेक र छिम्केश्वरी डाँडाका साथै उत्तरी भागमा अन्नपूर्ण हिमाल र मनास्लु हिमालका चुचुरा देख्न सकिन्छ । रासस
पोखरा: पोखरामा सम्पन्न प्रथम खुल्ला सेभेन साइड फुटबल प्रतियोगितामा लामागाउँ गुम्बा च्याम्पियन बनेको छ । एट टु नाइन गाइजद्वारा आयोजित पहिलो संस्करणको सेभेन एसाइड फुटबल प्रतियोगिताको फाइनलमा रामघाट एफसीलाई हराउँदै लामागाउँले उपाधि जितेको हो । १/१ गोलको बराबारीमा निर्धारित समय सकिएपछि टाइब्रेकरमा रामघाटलाई लामागाँउले ३/२ गोल अन्तरले पराजित गर्याे । लामागाउँका गोलरक्षक अन्जन क्षेत्रीले बललाई रोक्दै टिमलाई च्याम्पियन बनाए । साथै सो खेलबाट क्षेत्री नै म्यान अफ द म्याच घोषित भए । प्रतियोगिता च्याम्पियन बनेको लामागाउँले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु १ लाख हात पार्याे । यस्तै उपविजेता बनेको रामघाटले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित ६० हजार रुपैयाँ प्राप्त गर्याे । प्रतियोगिताबाट विशन गुरुङ सर्वाेत्कृष्ट खेलाडीबाट पुरस्कृत भए । यस्तै उत्कृष्ट गोलरक्षकका रुपमा लामागाउँका अन्जन क्षेत्री, सर्वाधिक गोलकर्ताका रुपमा सोही टिमका अनजुज भण्डारी पुरस्कृत बने भने अनुशासित टिमको रुपमा माछापुच्छ्रे त्रिशक्ति युनाइटेड घोषित भयो । कुल ३९ टिमको सहभागिता रहेको सो प्रतियोगिताको विजेता तथा उपविजेता समूहका खेलाडीलाई सेभेन ए साइड महासंघ अध्यक्ष नवीन पुन, गण्डकी प्रदेश खेलकुद परिषद सदस्य विनय थापा, टेकबहादुर गुरुङ लगायतले पुरस्कार वितरण गरेका थिए ।
काठमाण्डौ: काठमाण्डौ महानगरपालिका–३१ बानेश्वरमा रहेको तरकारी बजार अगाडिको बाग्मती खोला किनारामा आज एक युवकको शव भेटिएको छ । महानगरपालिकाको वडानम्बर १० शङ्खमूलका २० वर्षीय विकास महरा मृत अवस्थामा भेटिएका काठमाण्डौ जिल्ला प्रहरी परिसरका प्रवक्ता तथा प्रहरी उपरीक्षक कुमोध ढुङ्गेलले जानकारी दिनुभयो । उहाँका अनुसार उहाँको साथबाट प्रयोग गरिएको खाली सिरिञ्जको कभर थान एक, टिकटिके मोबाइल थान एक फेला परेको र निज लागुऔषध प्रयोगकर्ता भएको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।
म्याग्दी: दसैँ पर्वलाई लक्षित गरेर मुस्ताङबाट च्याङ्ग्रा बजार निकासी हुुन थालेको छ । म्याग्दी, कास्की, पर्वत, बागलुङ, काठमाडौँलगायत जिल्लाबाट च्याङग्रा खरिद गर्नका लागि व्यापारी मुस्ताङका कृषकको गोठमै पुगेका छन् । भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मुस्ताङका निमित्त प्रमुख ऋषिराम पोखरेलले मङ्गलबारसम्म एक हजार दुई सय भेडा च्याङ्ग्रा निकासी भएको जानकारी दिनुभयो । “जोमसोमको नाकाबाट मङ्गलबार मात्रै चार सयवटा च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेर निरोगिताको प्रमाणपत्र जारी भएको छ”, उहाँले भन्नुभयो, “पछिल्लो तीन दिनको अवधिमा एक हजार दुई सय च्याङ्ग्रा निकासी भएको छ ।” प्रतिगोटा च्याङ्ग्राको स्वास्थ्य परीक्षण गरेबापत पशु चिकित्सकलाई रु १५ शुल्क तिर्नुपर्छ । स्वास्थ्य परीक्षण गरेर निरोगी पशु मात्र एक जिल्लाबाट अर्को जिल्लामा लैजान पाइन्छ । यस वर्ष दसैँका लागि मुस्ताङका कृषकले पालेका चार हजार र डोल्पाबाट आउने चार हजार गरी आठ हजार भेडाच्याङ्ग्रा निकासी हुने अनुमान गरेको पोखरेलले बताउनुभयो । कृषकले प्रतिगोटा रु ३५ देखि ४० हजारको हाराहारीमा च्याङ्ग्रा बिक्री गरेका उहाँले बताउनुभयो । गत वर्ष छ हजार छ सय, २०७८ सालमा १२ हजार र २०७६ अघि वार्षिक २० देखि २५ हजारको सङ्ख्यामा मुस्ताङबाट भेडाच्याङग्रा निकासी भएको भेटेरेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको तथ्याङ्क छ । पछिल्लो चार वर्षयता चिनियाँ च्याङ्ग्रा नआएको र मुस्ताङमा च्याङ्ग्रा कम भएकाले माग धान्न नसकेर मूल्य बढेको कृषक करन गुरुङले बताउनुभयो । तीनदेखि चार वर्ष उमेरका च्याङ्ग्रा मासुका लागि बजार पठाउने गरिएको छ । हिमाली भेगमा पालन गरिएका भेडाच्याङ्ग्राले लेकाली जडीबुटी खाने भएकाले मासु पोषिलो र स्वादिष्ट हुने उपभोक्ताको अनुभव छ । दसैँ–तिहारमा च्याङ्ग्राको मासुको खपत बढी हुने गर्छ । मुस्ताङको वारागुुङ मुक्तिक्षेत्र, घरपझोङ, लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकामा ४८ हजार च्याङ्ग्रा पालिएका छन् । पैसठ्ठीवटा ठूला च्याङ्ग्रा फार्म छन् । लोमान्थाङ र लोघेकर दामोदरकुण्डका कृषकले ३० देखि ५० वटासम्म घर–घरमा च्याङ्ग्रा पालेका छन् । हिमचितुवा, ब्वाँसो र जङ्गली कुकुरले च्याङ्ग्रालाई आक्रमण गरेर क्षति गर्ने गरेको छ । तीन वर्षअघिसम्म प्रतिगोटा च्याङग्राको रु २५ हजार थियो । कोरोना महामारीका कारण चिनियाँ कोरला नाकाबाट च्याङ्ग्रा आयत नभएकाले मुस्ताङको च्याङग्राको मूल्य बढेको व्यापारी यामबहादुुर कार्कीले बताउनुुभयो । वैशाख र भदौ महिनामा लाग्ने मेलामा तिब्बतबाट उपल्लो मुस्ताङमा च्याङ्ग्रा आयात हुने गर्दथ्यो । मुस्ताङी च्याङ्ग्राको हुल भित्रिएसँगै दशैँ आगमनको महसुस गराउँछ ।
काठमाण्डौ: सभामुख देवराज घिमिरेले इजरायलमा हमासको आक्रमणमा परि ज्यान गुमाएका नेपालीको शव र स्वदेश आउन चाहनेलाई तत्काल ल्याउने व्यवस्था मिलाउन सरकारसँग आग्रह गर्नुभएको छ । सभामुख घिमिरे आज शोक वक्तव्यमार्फत् १० जना नेपालीको निधनमा दुःख व्यक्त गरी शव ल्याउन ढिलाइ नगर्न आग्रह गर्नुभयो । उहाँले आक्रमणमा परि घाइते भइ स्थानीय अस्पतालमा उपचाररत नेपालीको शीघ्र स्वास्थ्यलाभको कामना गर्नुभएको छ । साथै सम्पर्कविहीन रहेकाको खोजबिनका लागि पनि सबै संयन्त्र परिचालन गर्न सरकारको ध्यानाकर्षण गराउनुभएको छ । यसअघि इजरायलमा रहेको नेपाली दूतावासले जोखिमयुक्त क्षेत्रका १ सय २७ जना विद्यार्थीको उद्धार भइसकेको जनाएको छ । गाजाको सीमावर्ती क्षेत्रका कृषि फर्ममा रहेका सबै ५५ जना र इजरायलको उत्तरी सिमाना आसपासमा रहेका ७२ जना विद्यार्थीलाई उद्धार गरी सुरक्षित ठाउँमा राखिएको दूतावासले जनाएको हो । यस्तै, हमास समूहको आक्रमणमा परेर घाइते भएका चार जनाको उपचार भइरहेको र उनीहरुको स्वास्थ्यमा सुधार आइरहेको पनि विज्ञप्तिमा भनिएको छ । हराइरहेका एक जनाको खोजीका लागि प्रहरी, अस्पताललगायत उपलब्ध सम्पूर्ण स्थानीय तथा कुटनीतिक संयन्त्रको सहयोग लिइएको छ । यसैगरी नेपाल फर्किन इच्छुक नेपाली नागरिकहरुका लागि दूतावासबाट शुरु गरिएको अनलाइन रजिष्ट्रेशनमा अहिलेसम्म ३ सय ५० भन्दा धेरै जनाले विवरण भरेका छन् । उनीहरुमध्ये धेरैले स्वदेश फर्काउन र केहीले सुरक्षित ठाउँमा स्थानान्तरण गराउन आग्रह गरेका छन् ।

