जोमसोम, कात्तिक १ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हिमालको संरक्षण गर्नु नेपालको मात्र जिम्मेवारी नभएर सिङ्गो विश्वको साझा दायित्व भएको बताउनुभएको छ । बुधबार मुस्ताङ जिल्लाको जोमसोममा राष्ट्रिय प्रकृति र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाद्वारा आयोजित जलवायु संवाद कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्रीले आफू अन्तर्राष्ट्रिय मञ्चहरूमा यसबारे गम्भीर रूपमा विषय राखेको बताउनुभयो । प्रधानमन्त्रीले भन्नुभयो, ‘‘पछिल्लो समय नेपालले जलवायु परिवर्तनका गम्भीर समस्या भोगिरहेको छ । हिमालय क्षेत्रमा यसको गम्भीर देखिएको छ । मुस्ताङ जिल्लामा पनि गम्भीर असर देखिएको कुरा मैले प्रत्यक्ष सुन्ने अवसर प्राप्त गरें । मैले संयुक्त राष्ट्रसङ्घको महासभा, रोममा आयोजित विश्व खाद्य सम्मेलनमा यसबारे गम्भीर रूपमा कुरा राखेको छु ।’’ ‘‘हिमालको संरक्षण भएन भने विकसित भनिएका मुलुकहरूसमेत सुरक्षित रहँदैनन् । जलवायु परिवर्तनको मुद्दा नेपालको मात्र नभएर विश्वको साझा मुद्दा हो,’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘कोप सम्मेलनमा पनि यस विषयमा नेपालको गम्भीरपूर्वक विषय राख्नेछ । विकसित मुलुकहरूको कारण नेपाल जस्ता देशहरूले बेहोरेको क्षतिवापत हामीले अनुदान पाउनुपर्छ ।’’ प्रधानमन्त्रीले भन्नुभयो, ‘‘मुस्ताङ जिल्ला बहुआयमिक विशेषता बोकेको जिल्ला हो । स्याउ उत्पादन र अन्य उत्पादनका दृष्टिले पनि यो महत्त्वपूर्ण छ, मुक्तिनाथ लगायत धार्मिक एवम् सांस्कृतिक पर्यटनका केन्द्रहरू पनि यहाँ छन् । कोरला नाकाको विशेष रणनीतिक महत्त्व छ । तसर्थ यहाँको जलवायु संरक्षण सरकारको प्राथमिकतामा छ ।’’
बिपी राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ सुन्दरबस्तीमा आज बिहान गाडी दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । काठमाण्डौबाट इलामतर्फ जाँदै गरेको बाप ०३–००१ज०२९८ नम्बरको गाडीले मोटरसाइकललाई ठक्कर दिइ भाग्ने क्रममा सडक कुनाको नालीमा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा रामेछापको मन्थली नगरपालिका–१२ बस्ने अन्दाजी २० वर्षकी रमिला बुढाथोकीको ज्यान गएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार गम्भीर घाइते भएकी बुढाथोकीको उपचारको क्रममा धुलिखेल अस्पतालमा मुत्यु भएको हो । दुर्घटनामा गाडीमा सवार आठ जना घाइते भएका छन् । ‘घाइते भएका सबैको अवस्था सामान्य छ । अहिले उहाँहरुको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ,’ श्रेष्ठले भन्नुभयो ।
पोखरामै सबैभन्दा ठूलो फर्निचर शो रुम ‘सिटिजन फर्निचर ट्रेड लिन्क प्रालि’ सामाजिक क्षेत्रमा पनि उत्तिकै ठूलो मनले उत्तरदायित्व वहन गर्दै आएको छ। यहाँ हुने हरेक सामाजिक तथा धार्मिक कार्यक्रममा सिटिजन फर्निचरको सहयोग रहने गर्दछ । आर्थिक व्यवसाय मात्र होइन, सामाजिक सेवामा पनि उत्तिकै अगाडि रहेको सिटिजन फर्निचरले फर्निसिङ सप्लायर्स पनि विस्तार गरेको छ । पोखरा न्यूरोड स्थित सिटिजन फर्निचर ट्रेड लिन्क प्रालिसँगै आडमै अर्को भवन निर्माण गरी सिटिजन फर्निचर एण्ड फर्निसिङ सप्लायर्स सञ्चालनमा ल्याएको हो । अब सिटिजनमा छिरेपछि सम्पूर्ण फर्निचरका सामानका साथै फर्निसिङका सामान एकै ठाउँबाट लिन सकिने प्रोप्राइटर दीपक कार्कीले बताए । सप्लायर्समा आधुनिक डिजाइनका पर्दा, कार्पेट, तन्ना, सिरानी, ब्लांकेट, गलैंचा लगायतका सामानहरु उपलब्ध छन् । सुपथ मूल्यमा किफायति सामानका लागि सिटिजन फर्निचरमा ग्राहक पुग्ने गरेको र यसै विश्वासलाई सदैव कायम राख्ने सञ्चालक कार्की बताउँछन् । ‘सिटिजन फर्निचर पोखरेलीका लागि नौलो नाम होइन । ग्राहकको विश्वासले नै हामी फैलिरहेका छौँ । बिजनेश राम्रो छ ।’ कार्कीले भने– ‘व्यवसायिक हिसाबमा मात्रै होइन, हामी सामाजिक सहयोगमा पनि उत्तिकै अग्रसर छौँ । समाजमा जस्तोसुकै राम्रो काममा हाम्रो सहभागिता रहनेछ ।’ सिजिटनको आफ्नै फ्याक्ट्रीमार्फत समेत सामान उत्पादन गर्ने भएकाले पनि टिकाउ र राम्रो छ । करिब ११ बर्षदेखि पोखरामा सञ्चालनमा आएको सिटिजन फर्निचरले गुणस्तरीय सामान सुलभ मूल्यमा बिक्री गर्दै आएको कार्कीको भनाई छ । ‘खान पुगेकै छ, दिएरै बाँच्न सकूँ’ भन्ने भावका साथ सेवाग्राहीसँग हंसचेहराका साथ प्रत्यक्ष भेटिने कार्की ग्राहकको रोजाई अनुसारको सामान सस्तो मूल्यमा उपलब्ध गराउनु नै सिटिजनको विशेषता रहेको बताउँछन् । विभिन्न ब्राण्डका घरायसी सामान तथा अफिसियल सामान सिटिजन फर्निचरमा छन् । अन्तर्राष्ट्रिय ब्राण्डका अफिस कुर्ची, टेबुल, दराज, सोफा सेट, डाइनिङ टेबुल, पलङ, टि टेबल, लगायतका सामान पाइन्छन् ।
पोखरा महानगरपालिकाले पकेट क्षेत्र घोषणा गरेको वडामा खसिबोका प्रर्दशनी गरिएको छ । पोखरा महानगरपालिका वडा नं २८ सौर्यमा पोखरा महानगरले बाख्राको पकेट क्षेत्र घोषणा गरेको थियो । सो क्षेत्रका किसानले अहिले बाख्रा पालनलाई तिब्रता दिएपछि प्रदर्शनीमा मात्र १७५ वटा खसिबोका प्रर्दशन गरिएको थियो । पोखरा महानगरपालिका कार्यालय, पोखरा महानगर वडा नं २८, को आयोजना तथा जिल्ला पशुपंक्षी तथा मत्य बिकास र्निदेशनालय, जिल्ला भेटनरी अस्पताल तथा पशुसेवा बिज्ञ केन्द्र, पोखरा टेलिभिजन, ब्यबशायिक बाख्रापालन समिती पोखरा २८ को सहकार्यमा आयोजना गरीएको प्रदर्शनीमा किसानलाई पुरस्कार प्रदान गरिएको थियो । प्रर्दशनीमा सबैभन्दा ठुलो खसि ल्याउने किसान डिलु खनाल प्रथम, प्रकाश रमण अधिकारी द्धितिय, बुद्धि बहादुर तिम्सना तृतिय र नारायण लामिछाने शान्वता भएका थिए । उनिहरुलाई क्रमश १० हजार, ८ हजार ६ हजार र ४ हजार रकम सहित सम्मान गरिएको थियो । प्रर्दशनीमा एकै घरबाट ५ वटा भन्दी बढी खशिबोका ल्याउने किसानलाई पनि पुरस्कार प्रदान गरिएको थियो । १२ जना किसानलाई जनही २ हजार प्रोत्साहन रकम प्रदान गरिएको हो । यसैगरि प्रदर्शनीमा खशिबोका सहित सहभागि हुने किसानलाई १ सय रुपैया दिइएको थियो । प्रदर्शनीमा प्रथम हुने महिला पशुपालक डिलु खनालले ४३ वटा बाख्रा पालेको र उनको खशि ७५ किलोको रहेको थियो।प्रर्दशनीको उदघाटन गर्दे पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले किसानलाई उत्साही बनाउन नसकेसम्म कृषि क्रान्ति असंभव हुने बताए । सो अबसरमा उनले अर्को बर्ष पोखरा प्रर्दशनी केन्द्रमा ब्यबस्थित तरिकाले किसानका स्थानिय उत्पादनका खशि बोका बिक्रि गर्ने ब्यबस्था मिलाउने जानकारी दिए । सो अबसरमा पोखरा महानगरपालिका वडा नं २८ का अध्यक्ष श्रीकृष्ण लामिछानेले महानगरले पशुपालनमा गरेको लगानी खेर नगएको बताए । कृषिमा लगानी गरेर प्रतिफल आउदैन भन्नेहरुका लागि यो एउटा उदाहरण भएको उनको भनाई थियो । पोखरा महानगरपालिका आर्थिक बिकास महशाखा प्रमुख मनोहर कडरीयाले पकेट क्षेत्रले आफुलाई सफल बनाएकोमा धन्यबाद दिए । कृषि अब आत्मर्निभरतामा जान आबस्यक रहेको उनको भनाई थियो ।
म्याग्दीको धवलागिरि गाउँपालिका–२ मा तीन महिनापछि बिजुुली बलेको छ । मरेनीको फेदीमा रहेको ३५ किलोवाट क्षमताको दरखोला दोस्रो लघुजलविद्युत् परियोजनको विद्युत्गृह असार अन्तिम हप्ता बगाएको थियो । विद्युत्गृह बगाएपछि लुलाङ, खोरिया, लमसुङ र मेरेनीका करिब चार सय परिवार अन्धकारमा थिए । परियोजनाको मर्मत गरेर तीन महिनापछि मङ्गलवारदेखि विद्युत् आपूर्ति भएको लमसुुङका भक्त सिंकिजा पुनले जानकारी दिनुुभयो । ‘दशैँतिहारजस्ता चाडपर्वको समयमा गाउँ उज्यालो हुँदा स्थानीयवासीमा खुसीयाली छाएको छ,’ उहाँले भन्नुुभयो, ‘परियोजना मर्मत गरेर विद्युत् आपूर्ति सञ्चालन भएपछि जनजीवन सहज भएको छ ।’ दरखोला दोस्रो लघुुजलविद्युत् परियोजना मर्मतका लागि धवलागिरि गाउँपालिका तथा जिल्ला समन्वय समिति दुवैले पाँच लाख ५० हजार रुपैयाँ विनियोजन गरेका थिए । उपभोक्ता समितिका अध्यक्ष कृष्णबहादुुर गौचनले पहिरोले पुुरिएर भत्किएको विद्युत्गृह र उपकरण मर्मत गरेर परियोजना सञ्चालन गरिएको बताउनुभयो । परियोजना सञ्चालन भएपछि चारवटा बस्तीका तीन सय ७० परिवार लाभान्वित भएका छन् । ‘नहरबाट आएको पानी सङ्कलन हुने ट्याङ्की भरिएर बग्दा खसेको पहिरोले विद्युत्गृह र पेनस्टक पाइप बगाएको थियो,’ गौचनले भन्नुभयो, ‘पेनस्टक पाइप, विद्युत्गृह र उपकरण परिवर्तन तथा मर्मत गरेर परियोजना पुनः सञ्चालन गरेर गाउँलाई उज्यालो बनाएका छौँ ।’ विसं २०७८ भदौमा बाढीले बगाएको परियोजना मर्मत गरेर छ महिनापछि पुनःसञ्चालन गरिएको थियो । लमसुङमा रहेको परियोजना २०७२ सालमा जुगेपानी पहिरोले बगाएपछि मरेनीको फेदीमा स्थानान्तरण गरिएको थियो । दरखोला दोस्रो लघुजलविद्युत् परियोजना तेस्रोपटक पहिरोको चपेटामा परेको छ । केन्द्रीय प्रसारण लाइन नपुगेको लुलाङका बासिन्दा विद्युत् सुविधाका लागि लघुजलविद्युत् परियोजनामा निर्भर छन् । उज्यालोका लागि टुकीको भर पर्नुपर्ने, वडा कार्यालय, स्वास्थ्य संस्थाको सेवा प्रभावित, मोबाइल चार्ज गर्न, ल्यापटप, कम्प्युटर चलाउन समस्या भएको थियो । परियोजना पुुनः सञ्चालन भएपछि विद्यार्थीलाई पढ्न र स्थानीयवासीलाई घरायसी काम गर्न सहज भएको छ । धवलागिरि गाउँपालिकाका उपाध्यक्ष रेशम पुनले पटक–पटक पहिरोले लद्युजलविद्युत् परियोजनामा क्षति गरेकाले लुलाङ, खोरिया, लमसुङ र मरेनीमा जतिसक्दो छिटो केन्द्रीय प्रसारण लाइनको विद्युतीकरण गर्न पहल गरेको बताउनुभयो ।
काठमाण्डौ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को स्वास्थ्य अवस्था सामान्य रहेको छ । थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलले हिजो साँझ विज्ञप्ति जारी गरी प्रधानमन्त्री दाहालको अवस्था सामान्य रहेको जनाएको छ । स्वास्थ्य अवस्था सामान्य देखिएपछि उहाँ अस्पतालबाट डिस्चार्ज हुनुभएको हो । प्रधानमन्त्री दाहाल हिजो दिउँसो छातीमा केही असहजता महसुस भएकाले स्वास्थ्य जाँचका लागि अस्पताल जानुभएको थियो । अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘स्वास्थ्य जाँचका क्रममा प्रधानमन्त्री दाहालको रगत परीक्षण गर्दा ‘कार्डियाक इन्जाइम पोजेटिभ’ देखिएकाले उहाँको उपचारमा संलग्न चिकित्सकहरूद्वारा ‘एन्जियोग्राफी’ परीक्षण गरिएको र रिपोर्ट सामान्य रहेको छ ।’ प्रधानमन्त्री दाहालको उपाचारमा डा युवराज शर्मा, डा.यादव भट्ट र डा जेपी जयसवाल संलग्न रहेको अस्पतालले जनाएको छ ।
काठमाण्डौ:नवरात्रको चौँथो दिन दशैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी चौँथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । हरेक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको चौँथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । नौ दिनसम्म पूजा आराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । नवरात्रमा देशभरका शक्तिपीठमा पूजा आराधना एवम् दर्शन गर्ने भक्तजनको भिड लाग्छ । यस वर्ष काठमाण्डौ उपत्यकाका शक्तिपीठमा विशेषरुपमा सजाइएको छ । नक्साल भगवती, मैतीदेवी, कालिकास्थान, भद्रकालीलगायत शक्तिपीठमा दीपावली गरी झिलीमिली बनाइएको छ ।
विराटनगर: कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बुधबार (आज) विश्वासको मत लिँदै छन् । आज दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकबाट मुख्यमन्त्री कार्कीले विश्वासको मत लिन लागेका हुन् । मंगलबार (हिजो) बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले बुधबारको कार्यसूचीमा मुख्यमन्त्री कार्कीले विश्वासको मत लिने कार्यसूची तय गरेको छ । संविधानको धारा १६८ को उपधारा ५ बमोजिम नेपाली कांग्रेसको शेखर कोइराला समूहका कार्की नेकपा एमालेका प्रदेश सभा सदस्यहरुको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका थिए । उनलाई एमालेसँगै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले पनि विश्वासको मत दिने निर्णय गरिसकेका छन् । राप्रपा र जसपाले भने विश्वासको मत दिने कि नदिने भनेर निर्णय गर्न बाँकी छ । विश्वासको मत प्राप्त गरेपछि सरकार विस्तार गर्ने कार्कीको तयारी छ । उनले कति सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने र कुन(कुन दललाई सहभागी गराउने भन्ने टुंगो भने लागिसकेको छैन । कार्कीलाई मुख्यमन्त्री बनाउन सघाएको एमालेले पाँच मन्त्रालयमा दाबी गरेको छ । यसैगरी मन्त्रिपरिषदमा केन्द्रको सत्ता गठबन्धन सहभागी भए आफू बाहिरिने एमालेले जनाएको छ ।
काठमाडौं: नेपालले त्रिकोणात्मक टि-२० आई सिरिज अन्तर्गत आज युएईसँग खेल्दैछ । खेल दिउँसो १ बजे माथिल्लो मुलपानी क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालको कप्तान रोहित पौडेल र युएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन् । नेपाल युएईलाई हराउँदै त्रिकोणात्मक सिरिजमा सानदार सुरुवात गर्न चाहन्छ । मुलपानीमा नेपालले पहिलो अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो । योसँगै मुलपानी मैदान टि-२० आई मान्यता पाउने विश्वको १ सय ९० औं क्रिकेट मैदान बन्नेछ । नेपालले पछिल्लो समय सानदार प्रदर्शन गर्दै आएको छ । पछिल्लो समयको उच्च लय, एसिया कप र १९ औं एसियाली खेलकुदमा भारतविरुद्धको प्रदर्शनले नेपाली टोलीको मनोबल झनै उच्च छ । नेपाल त्यहिँ लय र प्रदर्शनलाई निरन्तरता दिन चाहन्छ । नेपाल घरेलु मैदान र दर्शकको पनि फाइदा उठाउनेछ । उता युएईले दुई महिना अघि टि-२० आई सिरिजमा न्युजिल्यान्डलाई हराएको थियो । टि-२० क्रिकेटमा युएईले पनि सानदार प्रदर्शन गर्दै आएको छ । मोहम्मद वासिम र आसिफ खानको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । यी दुई युएईका ब्याटर टि-२० विशेष खेलाडी हुन् । नेपालले एसियाडमा भारतविरुद्ध खेलबाट टोलीमा एक परिवर्तन गर्ने सम्भावना छ । स्पिनर सन्दीप लामिछाने टोलीमा छैनन् । उनी नहुँदा एक स्पिनरलाई मौका दिने देखिन्छ । स्पिनरमा ललितनारायण राजवंशी, सूर्य तामाङ, सागर ढकाल र मौसम ढकाल छन् । सागर र मौसम मध्य एकले मौका पाउनेछन् । मौसमले खेलेको खण्डमा नेपाली टोलीमा डेब्यू गर्नेछन् । नेपालको ब्याटिङ मुख्य हतियार हो । कुशल भुर्तेल, कुशल मल्ल, सन्दीप जोरा र करण केसी विष्फोटक ब्याटिङ गर्न सक्छन् । दुई कुशल मल्लको प्रदर्शन निकै महत्वपूर्ण हुनेछ । डेथ ओभर बलिङ नेपालको कमजोरीको रुपमा छ । अभिनाश बोहराको आगमनले उक्त समस्या अन्त्य हुने अनुमान गरिएको छ । सोमपाल कामी र करण केसी नयाँ बलका साथ बलिङ गर्नेछन् । दीपेन्द्र नेपालका प्रमुख हतियार हुन् । उनले मंगोलियाविरुद्ध ९ बलमै अर्धशतक पूरा गरेका थिए । ब्याटिङसँगै स्पिन आक्रामण उनीबाट निकै महत्वपूर्ण हुनेछ । उता मोहम्मद वासिम, वृत्य अरविन्द र आसिफ खान युएईका प्रमुख ब्याटर हुन् । यी तीनलाई सस्तैमा आउट गर्न सके नेपाल खेलमा हाबी बन्न सक्छन् । स्पिनर आयन खान यस सिरिजमा छैनन् । उनी यू१९ टोलीको कप्तान हुन् । युएईको तीव्र गतिको बलिङ आक्रामण मजबुतछ । जहुर खान, मोहम्मद जवादुल्लाह र जुनैद सिद्दिकछन् । पछिल्लो समय नेपालले टि-२० आईमा युएईसँग गतवर्ष फेब्रुअरीमा आइसिसी टि-२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनलमा खेलेको थियो । त्यहिँ खेलमा हारको कारण नेपालले विश्वकप खेल्न सकेको थिएन । पछिल्ला पाँच टि-२० आई खेलमा युएई तीन खेलमा विजयी भएको छ । हेड टु हेड: नेपाल र युएईबीच पाँच टि-२० आई खेल भएको छ । जसमा नेपाल २ खेलमा विजयी हँदा तीन खेलमा पराजित भएको छ ।

