पोखरा: लेकसाइड डिहिगोपाटन स्थित जिना मेडिकल हलबाट लागूऔषध बेचबिखन गरेको आरोपमा प्रहरीले सबिन चौधरीलाई प्रकाउ गरेको छ । पोखरा महानगरपालिका ६ लेकसाइड डिहिगोपाटन स्थित जिना मेडिकल हल सञ्चालन गरी बस्ने २८ वर्षीय चौधरीलाई प्रहरीले लागूऔषधसहित प्रकाउ गरेको हो । मेडिकल हलबाट लागूऔषध कारोवार भइरहेको गोप्य सूचनापछि वडा प्रहरी प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीको टोलीले ८८ एम्पल लागूऔषध बरामद गरेको थियो । लागूऔषधको कारोवार भइरहेको गोप्य सूचनापछि प्रहरीले मेडिकल हल खानतलासी गर्दा डाईजापाम २८ एम्पुल, फेनारागन ३१ एम्पुल, नुर्फिन २९ एम्पुल गरी ८८ एम्पुल लागूऔषध बरामद गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रकाउ परेका सबिनलाई जिल्ला अदालत कास्कीबाट लागूऔषधसम्बन्धी मुद्धामा अनुसन्धान भईरहेको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले विजयी शुरुवात गरेको छ । आज बुधवार मूलपानी क्रिकेट मैदानमा भएको खेलमा नेपालमा यूएईलाई ७ विकेटले पराजित गरेको हो । यूएईले दिएको १ सय ४१ रनको लक्ष्य नेपालले १८ ओभर ५ मा ३ विकेट गुमाएर भेटाएको थियो । नेपालका कप्तान रोहित पौडेलले अर्धशतक बनाए । यस्तै दीपेन्द्रसिंह ऐरीले ३४ रन बनाए । दुवै जना नटआउट रहे । बलिङतर्फ यूएईका निलन्श केसवानी र अली नसीरले १/१ विकेट लिए । यसअघि मूलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ४० रन बनायो । यूएईका बसिल हमीदले अर्धशतक बनाए । उनी ३८ बलमा ५१ रन बनाएर आउट भए । यस्तै अली नसीरले ३२ रन जोडे । बलिङतर्फ नेपालका करण केसीले ३, गुलसन झाले २ तथा सोमपाल कामी र अविनाश बोहराले १÷१ विकेट लिए । नेपाल क्रिकेट सङ्घ ९क्यान० को आयोजनामा त्रिदेशीय टी–२० शृङ्खला आज बुधवारदेखि शुरु भएको हो । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट विश्वकप छनोटको तयारीस्वरूप नेपालले प्रतियोगिता आयोजना गरेको हो । नेपालले दोस्रो खेल भोलि बिहीवार हङकङसँग खेल्नेछ । यस्तै कात्तिक ४ गते फेरि हङकङसँग र कात्तिक ६ गते फेरि यूएईसँग खेल्नेछ ।
दाङमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । दुर्घटनामा अर्का एक जना घाइते भएका छन् । शान्तिनगर गाउँपालिका–५ रतभटुवामा रा ३ प ४३२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भएर पल्टिँदा चालक स्थानीय १४ वर्षका सुनिल विकको ज्यान गएको हो । मोटरसाइकलमा पछाडि बसेका शान्तिनगर–५ काशीपुरका अजय चौधरीको बाँकेको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
मनसुन बाहिरिने बेला परेको वर्षासँगैको असिना र हावाहुरीका कारण पर्वतमा धानबालीमा क्षति पुगेको छ । सोमबार र मङ्गलबारको वर्षा तथा हावाहुरीले जिल्लाका विभिन्न स्थानमा लगाइएको धानबालीमा क्षति पुगेको हो । केही स्थानमा धान ढलेर सोत्तर बनेको कृषकले गुनासो गरेका छन् । पर्वतको कुश्मा, फलेवास, विहादी, जलजला, पैयुँ र मोदीका विभिन्न वडामा लगाइएको धानबालीमा हावाहुरी र असिनाले क्षति पुर्याएको छ । कतिपय ठाउँमा सामान्य असिनासमेत परेर धान झारेको कुश्मा नगरपालिका(८ चुवाका कृषक रुद्रप्रसाद शर्माले जानकारी दिनुभयो । पाक्न थालेको धान हावा र पानीले पूरै सोत्तर बनाएको उहाँको गुनासो छ । त्यसैगरी, कुश्मा वडा(१ पाङको फाँट, वडा(९ ज्ञादीको फाँट, कुर्घा र बर्राचौरको फाँटमा समेत धान पूरै ढलाएको छ । यस्तो बेलामा धान ढल्दा फल राम्रोसँग नलाग्ने कृषि प्राविधिकहरूले बताएका छन् । फल लाग्ने बेलामा धान ढल्दा राम्रोसँग नपाक्ने, गेडा पुष्ट नहुने र उत्पादनमा समेत ह्रास आउने कुश्मा नगरपालिकाका कृषि शाखाप्रमुख बलबहादुर जिटीले जानकारी दिनुभयो । कृषि ज्ञान केन्द्रका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत परशुराम अधिकारीले वर्षा, असिना र हावाहुरीले धानबालीमा पुर्याएको क्षतिबारे विवरण सङ्कलन भइरहेको जानकारी दिनुभयो । उहाँले सातवटै पालिकाबाट धानबालीमा पुगेको असरका बारेमा विवरण सङ्कलनको काम भइरहेको बताउनुभयो । “हामी पनि अनुगमनमा पुगेका थियौ”, अधिकारीले भन्नुभयो, “धान धेरैजसो ढलेको छ, तर बाक्लो असिना नपरेका कारण ठुलो क्षति हुन भने पाएन ।” क्षतिको विवरण हेरेर क्षतिपूर्तिका लागि पहल गरिने अधिकारीले बताउनुभयो । जिल्लाका उच्च पहाडी भेगमा भने धान पाकेर पहेँलपुर भइसकेको छ । कृषक दसैँको छेको पारेर धान थन्क्याउने तयारीमा रहेका छन् । पर्वतको मुख्य बालीका रूपमा धानबाली हो । जिल्लाको झन्डै नौ हजार हेक्टर क्षेत्रफलमा धानखेती हुँदै आएको छ । रासस
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा (माओवादी केन्द्र) नेतृत्वको सरकारले सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर काम गरिरहेको बताउँदै भ्रष्टाचार विरोधी अभियानले नयाँ उत्साह जागेको बताउनुभएको छ । बुधबार मुस्ताङमा जनतासँग माओवादी विशेष रूपान्तरण अभियानका क्रममा आयोजित कार्यक्रममा बोल्नुहुँदै प्रधानमन्त्री प्रचण्डले सो कुरा बताउनुभएको हो । यसैगरी, प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेकपा ९माओवादी केन्द्र० मुस्ताङ जिल्लाको भेलालाई सम्बोधन र विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गर्ने नेता–कार्यकर्तालाई पार्टीमा स्वागत गर्नुभएको छ । मुस्ताङमा १३५ नेता–कार्यकर्ता माओवादीमा प्रवेश गरेका छन् । भेलामा प्रधानमन्त्रीले भन्नुभयो, “हाम्रो पार्टी नेतृत्वको वर्तमान सरकारले भ्रष्टाचार नियन्त्रण, सामाजिक न्याय र समृद्धिका पक्षमा काम गरिरहेको छ । यो देशमा सुशासन कायम गर्न, जनताको जीवनमा परिवर्तन ल्याउन, अर्थतन्त्रलाई गति दिन हामीले मात्रै सक्छौँ । त्यो इच्छाशक्ति, दृढता र योजना हामीसँग मात्रै छ । सरकार र पार्टीलाई जोडेर परिवर्तनको पक्षमा नयाँ वातावरण सिर्जना गर्न पार्टीले विशेष अभियान सञ्चालन गरिरहेको छ । यसपछि पनि अभियानले निरन्तरता पाउनेछ । हामीले शक्तिशाली पार्टी निर्माण गर्नेछौँ ।’’ उहाँले थप्नुभयो, “मेरो तेस्रो कार्यकाल सम्पूर्ण रूपले देश र जनताको हितमा अधिकतम सदुपयोग गर्न कोसिस गरिरहेको छु । मैले नेतृत्व सम्हाल्दै गर्दा अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा थियो, अहिले राम्रो सुधार आएको छ । सबै सूचकहरू सकारात्मक छन् । जनतामा अब केही हुन्छ भन्ने विश्वास जागेको छ । तसर्थ, सरकारले गरेका राम्रा काम जनतामा लैजान र सम्पूर्ण पार्टी जनसेवामा केन्द्रित हुन जरुरी छ । यसले हामी फेरि शक्तिशाली तुल्याउनेछ, जनताको भरोसाको मुख्य केन्द्रका रूपमा स्थापित गर्नेछ ।’’ प्रधानमन्त्रीले मुस्ताङको विकास र जलवायु परिवर्तनले ल्याएका नयाँ सङ्कट र जोखिमहरू न्यूनीकरण गर्न सरकार गम्भीर रूपमा लाग्नेसमेत बताउनुभयो । भेलामा विभिन्न पार्टी परित्याग र विभिन्न सामाजिक व्यक्तित्व गरी १३५ जना नेता–कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका छन् । उनीहरूलाई अध्यक्ष प्रचण्डले पार्टीमा स्वागत गर्नुभएको थियो । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का सचिव देवेन्द्र पौडेल, केन्द्रीय सदस्य हरिराज अधिकारी, गण्डकी प्रदेश अध्यक्ष गायत्री गुरुङ लगायतको उपस्थिति रहेको थियो ।
दार्चुलामा प्रहरीले एक किलो छ सय ग्राम चरेससहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बझाङको बुङ्गल नगरपालिका–७ का ३६ वर्षीय उज्ज्वल बोहरा र २८ वर्षीय रामबहादुर बोहरा रहेका जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी नायब उपरीक्षक ९डीएसपी० शिवबहादुर सिंहले जानकारी दिनुभयो । आज बुधवार बिहान दार्चुलाको मालिकार्जुन गाउँपालिका–८ पस्तीबाट उनीहरूलाई पक्राउ गरिएको डीएसपी सिंहले बताउनुभयो । पक्राउ परेका दुवै जनालाई प्रहरी कार्यालय दार्चुलामा ल्याएर अनुसन्धान भइरहेको बताइएको छ । दार्चुलामा प्रहरीले अहिले लागुऔषधविरुद्धको महाअभियानसमेत चलाइरहेको छ ।
उदयपुर: आफ्नै श्रीमती ३० वर्षीया छविमाया राईको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् । पक्राउ पर्नेमा त्रियुगा नगरपालिका–५ श्रीपुर बस्ने ३२ वर्षीय पिटर राई रहेका छन् । उनलाई जिल्ला प्रहरी कार्यालय उदयपुर र ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरीले उनलाई मंगलबार राति पक्राउ गरेको छ । पिटरले घरायसी विवादको कारण खाना पकाउने कुकर प्रहार गर्दा गम्भीर घाइते भएकी छविमायाको जिल्ला अस्पताल उदयपुरमा उपचारको क्रममा मृत्यु भएको थियो । सो विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले दसँै तिहार, नेपाल संम्वत्, छठजस्ता चाडपर्वमा कुनै पनि समस्या नआउने गरी विद्युत् आपूर्ति गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिनुभएको छ । सिंहदरबारस्थित मन्त्रालयमा आज प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक मनोज सिलवाल, भारप्रेषण केन्द्रका प्रमुख शुरेशबहादुर भट्टराईलगायत उपत्यकाभित्रका वितरण केन्द्र प्रमुखलाई उहाँले कुनै एउटा घरबाट पनि गुनासो नआउने गरी सहजरूपमा नागरिकले विद्युत् पाउने प्रबन्ध गर्न निर्देशन दिनुभएको हो । “ कुनै पनि नागरिकले गुनासो गर्ने अवस्था नआओस् । वर्षदिनभर राम्रो काम गरेपनि चाडपर्वको समयमा एकाध मिनेट समस्या आउँदा त्यसले राम्रो गर्दैन । काम नगरे सरह नै हुन्छ । त्यसकारण जिम्मेवार भएर २४ सै घण्टा सेवामा क्रियाशील हुनुस् ” मन्त्री बस्नेतले भन्नुभयो “पूर्णरूपमा जिम्मेवार भएर काम गर्नुस् ।”चाडपर्वको समयमा उद्योग प्रतिष्ठानलाई पनि बढी भन्दाबढी बिजुली उपलब्ध गराउन निर्देशन दिँदै उहाँले बढी भएको बिजुली खेर नजाने वातावरण बनाउनसमेत सुझाव दिनुभयो । चाडपर्वमा उद्योग प्रतिष्ठान, होटल, व्यवसाय तथा व्यापारिक प्रतिष्ठानमा बिजुलीको माग कम हुने भएकाले बिजुली खेर जाने अवस्था आउने प्राधिकरणका कर्मचारीले जानकारी दिएपछि मन्त्री बस्नेतले भन्नुभयो “सकेसम्म बिजुली खेर जान नदिनुस् ।” उहाँले प्राधिकरणका नो लाइट सेन्टरलाई थप जिम्मेवार बनाउन, ग्राहकले गुनासो गर्ने वित्तिकै फोन उठ्ने प्रबन्ध गर्न तथा कुनै समस्या आइहाले एकाध मिनेटमै उपभोक्ताको घरसम्म पुग्ने गरी द्रुर्त टोली व्यवस्थापन गर्न आग्रह गर्नुभयो । मन्त्री बस्नेत प्राधिकरण सञ्चालक समितिको अध्यक्षसमेत हुनुहुन्छ । सो अवसरमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देलले उपभोक्तालाई केन्द्रमा राखेर सेवा उपलब्ध गराउन प्राधिकरणका कार्यकारी निर्देशकलगायतका कर्मचारीलाई निर्देशन दिनुभयो । उहाँले जिम्मेवार र चनाखो भएर सामान्य समयभन्दा चाडपर्वको समयमा कर्तव्य निर्वाह गर्नुपर्नेमा जोड दिनुभयो । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले २४ सै घण्टा परिचालन हुने गरी काठमाडौँ उपत्यका र सहरी क्षेत्रमा जनशक्तिको व्यवस्थापन र परिचालन गरिएको बताउनुभयो । उहाँले चाडपर्वको समयमा आफै नियमित वितरण केन्द्रको अनुगमन रनिरीक्षणका लागि निस्कने जानकारी गराउँदै कुनै पनि उपभोक्ताले गुनासो नआउने गरी काम गरिने बताउनुभयो । चडपर्वको समयमा उद्योग प्रतिष्ठानमा पनि कम क्षमतामा विद्युत उपभोग हुने भएकाले बिजुलीको माग कम हुँदा केही बिजुली खेर जाने अवस्था रहेको कार्यकारी निर्देशक घिसिङको भनाइ थियो । “सकेसम्म बिजुली खेर जान नदिन हामीले प्रयास गरेका छौँ । खेर जानसक्ने बिजुली भारतीय बजारमा पठाउने तयारी पनि छ तर अन्तिम सहमति आइसकेको छैन” उहाँले भन्नुभयो । प्राधिकरणले थप एक सय मेगावाट बिजुली भारतीय बजारमा निर्यात गर्ने तयारी गरेको छ । त्यसका लागि अनुमति आउन बाँकी छ । कार्यकारी निर्देशक घिसिङले सकेसम्म कुनै पनि स्थानमा समस्या आउन नदिने गरी प्राविधिक तयारी गरिएको जानकारी दिँदै देशैभरका कर्मचारीलाई चाडपर्व भनेर छुट नदिइएको बताउनुभयो । सो अवसरमा उपकार्यकारी निर्देशक सिलवाल, भार प्रेषण केन्द्रका प्रमुख भट्टराईले प्राधिकरणले गरेको तयारीका बारेमा जानकारी गराउनुभएको थियो । रासस
नेपाली सेना र सशस्त्र प्रहरी बलले दशैँका बेला घर जाने आफ्ना सुरक्षाकर्मीका लागि गाडीको सेवा उपलब्ध गराएको छ । आ–आफ्ना कर्मचारीलाई आवतजावतमा सहजताका लागि सेवा उपलब्ध गराइएको नेपाली सेना र सशस्त्र प्रहरीले जानकारी दिएको छ । नेपाली सेनाले सहुलियतमा हवाई तथा स्थल यातायात सेवा उपलब्ध गराएको जनाएको छ भने सशस्त्र प्रहरीले निःशुल्क यातायात सेवा उपलब्ध गराएको जानकारी गराएको छ । नेपाली सेनाको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार यस वर्षको बडादशैँमा घर जाने नेपाली सेनाका बहालवाला सकलदर्जा तथा तिनका आश्रित परिवारलाई सहुलियतको यातायात सुविधा उपलब्ध गराएको जानकारी दिएको छ । निर्देशनालयका अनुसार सडक सञ्जालको पहुँच पुगेका स्थानमा बसमार्फत चार सय २१ जनाले हालसम्म सेवा पाएका छन् । यस्तै सडक सञ्जालको सहज पहुँच नपुगेका तथा दुर्गम पहाडी–हिमाली क्षेत्रलगायत लामो दूरीका गन्तव्यमा हवाई उडानमार्फत छ सय पाँच जना गरी हालसम्म एक हजार २६ जना सकलदर्जा एवम् आश्रित परिवारले सेवा पाएका जानकारी दिइएको छ । यो सुविधा सेनाले यही कात्तिक २ गतेसम्म उपलब्ध गराउने छ । सशस्त्र प्रहरीले भने निःशुल्करूपमा शुरु गरेको सेवा आगामी कात्तिक २ गतेसम्म सञ्चालन हुने जनाएको छ । सशस्त्र प्रहरीका प्रवक्ता वरिष्ठ उपरीक्षक राजेन्द्र खड्काका अनुसार सशस्त्र प्रहरी बल नेपालले बडादशैँ, तिहार र छठको अवसरमा बहालवाला तथा अवकाशप्राप्त सशस्त्र प्रहरी कर्मचारी र उनीहरूका परिवारजनलाई लक्षित गरी निःशुल्क दुई बस सञ्चालन गरेको छ । चाडपर्वका बेला घरबिदा जाने सशस्त्र प्रहरी बलको प्रधान कार्यालयबाट छुट्ने एउटा बसले काठमाण्डौ, नारायणगढ, बुटवल, भालुवाङ हुँदै कञ्चनपुरको गड्डाचौकीसम्म सेवा प्रदान गर्ने छ भने अर्को बसले नारायणगढ, बर्दिबास, सप्तरी, पकली हुँदै झापाको काँकडभिट्टासम्म सेवा प्रदान गर्ने सशस्त्र प्रहरी बलका प्रवक्ता सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक खड्काले बताउनुभयो । यसअघि सशस्त्र प्रहरीले बडादशैँका अवसरमा सर्वसाधारणको सुविधालाई ध्यानमा राखी काठमाण्डौ उपत्यकाभित्र निःशुल्क बस सेवा सञ्चालन गरेको थियो ।

