काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति नियुक्ति प्रक्रियामै रहेको स्पष्ट पार्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज गोरखा पत्रकार समाज नेपालका पदाधिकारीसँगको भेटमा सोधिएको जिज्ञाशामा उहाँले भन्नुभयो, “त्रिविको उपकुलपति नियुक्ति प्रक्रियामै छ, सामाजिक सञ्जालमा आएको विषयमा कुनै सत्यता छैन ।’’ पत्रकारिता जगत्ले सत्यतथ्य र विश्वसनीय सूचनामा विश्वास गर्नुपर्नेमा जोड दिनुहुँदै उहाँले सामाजिक सञ्जालमा आएका विषयलाई लिएर धारणा नबनाउन आम नागरिकलाई आग्रह गर्नुभयो । आफू गोरखाबाट निर्वाचित भएको स्मरण गर्दै उहाँले गोरखाको समग्र विकासमा ध्यान दिइएको बताउनुभयो । “लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योगलगायत रुग्ण उद्योग सञ्चालन गर्ने प्रक्रिया अघि बढेको छ”, उहाँले भन्नुभयो । सरकार सुशासन, सामाजिक न्याय तथा आर्थिक समृद्धिको अभियानमा केन्द्रित भएको उल्लेख गर्दै प्रधानमनत्री प्रचण्डले सरकारले थालनी गरेको अभियानमा सञ्चार जगत्बाट सहयोगको अपेक्षा गरिएको बताउनुभयो । भेटमा गोरखा घर भई राजधानीमा क्रियाशील पत्रकारले जिल्लाको विकास निर्माणमा ध्यान दिन प्रधानमन्त्रीसमक्ष आग्रह गर्नुभएको थियो ।
बाजुरा: वर्षासँगै बाजुराको माथिल्लो भेगमा हिमपात भएको छ । छ महिनापछि वर्षासँगै हिमपात भएपछि किसान खुसी भएका छन् । पूर्वी–उत्तरी भेगको हिमाली गाउँपालिकाको विच्छ्याँ, रुगिन, बुढीनन्दा नगरपालिका, गौमुल गाउँपालिकाका उच्च लेकाली भेगमा हिमपात भएको छ । यस्तै जगन्नाथ, स्वामीकार्तिक, बडीमालिका, खप्तडछेडेदह र त्रिवेणी नगरपालिकाका लेकाली क्षेत्रमा हिमपात भएको हो । बेँसीतिर पानी पर्दा अत्यधिक मात्रामा जाडो बढेको छ । सोमबार रातिदेखि उच्च हिमाली क्षेत्रका धेरै ठाउँमा परेको हिमपातले जनजीवन कष्टकर समेत बनाएको छ । बडीमालिका, बुढीनन्दा नगरपालिका, हिमाली गाउँपालिकालगायतका उच्च हिमाली क्षेत्र यस वर्ष बल्ल सेताम्मे बनेका छन् । वर्षा र हिमपातपछि वस्तुभाउलाई घाँस तथा दाउराको समेत समस्या भएको स्थानीयले बताएका छन् । चिसोसँगै हिमपात भएपछि विद्यार्थीलाई आवतजावतमा समेत समस्या हुँदा विद्यालयको पठनपाठन समेत प्रभावित भएको छ । लामो समयदेखि पानी नपर्दा समस्यामा परेका किसान भने वर्षासँगै हिमपात भएपछि खुसी भएका छन् । सिँचाइको सुविधा नहुँदा गहुँबाली लगाए पनि सुक्न थालेका समयमा वर्षा र हिमपात हुँदा किसान खुसी भएका हुन् । हिउँदे वर्षाका कारण पहाडी क्षेत्रमा लगाइएका विभिन्न बालीलाई फाइदा पुगेको बडीमालिका नगरपालिका–३ रजालीका कमल रावलले बताउनुभयो । वर्षाले विभिन्न अन्नबाली, फलफूल र तरकारीलगायत किसानलाई फाइदा पुग्ने जिल्ला कृषि ज्ञान केन्द्र बाजुराका निमित्त कार्यालय प्रमुख मीनप्रसाद जैशीले बताए । हिमपातका कारण बाजुरा जिल्लाको उत्तरी क्षेत्रका चार स्थानीय तह र हुम्ला, मुगु र कालिकोटका केही स्थानीय तह जोड्ने मार्तडी कोल्टी सडकखण्डमा चल्ने जीप सेवा प्रभावित भएको छ ।
पोखरा: पोखरा महानगरपालिका–१८ ग्यारजातीमा रहको बाल सुधार गृहमा झडप हुँदा तीन जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार बाल सुधार गृहमा हिजो (सोमबार) खाना खान लाइन बस्ने क्रममा झडप भएको हो । नाइके र भाइटोलीबीच भडप हुँदा बागलुङ, स्याङ्जा र म्याग्दीका तीन युवक घाइते भएका थिए । अहिले मणिपाल शिक्षण अस्पतालमा उपचारपछि डिस्चार्ज भएको कास्की प्रहरीले बताएको छ । खाना खान लाइन बस्ने क्रममा बाल सुधार गृहमा नाइँके र भाईटोलीबीच झडप भएको थियो । *(घाइतेको नाम गोप्य राखिएको )
पोखरा: तामाङ बौद्ध सेवा समिति संगमटोल पोखराले मञ्जुश्री सम्वत् २८६० औं डुक/मु पुख्री ल्हो सोनाम ल्होछार मनाएको छ । विविध सांस्कृतिक कार्यक्रम तथा शुभकामना आदानप्रदान गर्दै सोनाम ल्होछार मनाएको हो । कार्यक्रमको उद्घाटन महानगरपालिकाका प्रमुख धनराज आचार्यले गरे । सो अवसरमा बोल्दै मेयर आचार्यले तामाङ जाति आदिवासी जनजाति मध्ये फरक इतिहास र अस्तित्व भएको जाति रहेको धारणा राखे । उनले आधुनिकताको नाममा संस्कार र संस्कृति लोप हुने क्रम देखिएको बताउदै संरक्षणको जरुरी देखिएको मेयर आचार्यले बताए । उनले भाषा, कला र संस्कृतिको विलयसँगै अस्तित्वनै समाप्त हुने जोखिम हुने बताउदै जातिय संघसस्थाको अगुवाहरुले भूमिका खेल्नुपर्ने सुझाव दिदै महानगरको तर्फबाट सहयोग गर्न तत्पर रहेको बताएका थिए । यस्तै कार्यक्रममा नेपाल तामाङ घेदुङ संघीय कार्यकारी समितिका उपाध्यक्ष दिपक वाईबा तामाङ, नेपाल तामाङ घेदुङ केन्द्रिय पुर्व अध्यक्ष तथा लोकोत्तर लोकवादी विचार अभियानका प्रवर्तक धन प्रसाद डुम्जन तामाङ, तमु धिं नेपालका अध्यक्ष हुम गुरुङ, नेपाल तामाङ युवा घेदुङ कास्कीका पूर्व अध्यक्ष तथा नेपाल आदिवासी जनजाति महासंघ कुवेतका अध्यक्ष अमृत लोप्चन, नेपाल तामाङ घेदुङ केन्द्रीय पूर्व कार्यवहाक अध्यक्ष कुम बहादुर योञ्जन, नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति कास्कीका अध्यक्ष भक्त बहादुर डुम्जन तामाङ, नेपाल तामाङ घेदुङ कास्कीका पूर्व अध्यक्ष तथा ताम्बा ना.सु. राम प्रसाद सम्देन तामाङ, नेपाल तामाङ घेदुङ पोखरा महानगर समितिका अध्यक्ष शिवु ब्लोन तामाङ, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ जिल्ला समन्वय परिषद कास्कीका उपाध्यक्ष मिन माया तामाङ, पोखरा महानगरपालिका वडा नं.१३ का महिला सदस्य सुचिता तामाङ, तामाङ बौद्ध आमा समूहका अध्यक्ष पुष्पा तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । सो कार्यक्रममा संस्थाका १० जना लामा गुरु, ४ जनाको बोम्बो समूह, उत्कृष्ट म्हेन्दोमाया नाच प्रस्तुत गर्ने २० जना कलाकार साथै संस्थालाई आर्थिक, भौतिक र नैतिक रुपमा योगदान पु¥याउने दर्जनौं दाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रममा सन्ध्या न्हेगी, दिलासा वाईबा, प्रिया न्हेगीले स्वागत नृत्य प्रस्तुत गरेकी थिइन् भने शान्ति थिङ तामाङले स्वागत गीत प्रस्तुत गरेकी थिइन् । संस्थाका अध्यक्ष विष्णु योञ्जनको सभापतित्वमा भएको कार्यक्रममा संस्थाका उपाध्यक्ष शेरजङ वाईबाले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रम संचालन समितिका सचिव पवित्रा थोकर र आमा समुहकी सचिव शान्ति लोप्चनले गरेकी थिइन् ।
पोखरा: पोखरामा चलचित्र ‘गोर्खा वारियर’को रेडकार्पेट प्रिमियर शो गरिएको छ । सोमबार पोखरा मिडटाउन सिनेमाजमा भएको व्याण्डबाजाकासाथ प्रिमियर शो गरेको हो । गण्डकी प्रदेशकी उपसभामुख विना कुमारी थापाले उक्त प्रिमियर शो कार्यक्रमको उद्घाटन गरिन् । उनले गार्खा वारियर नेपालीको पहिचान भएको उल्लेख गरिन् । ७० वर्ष अगाडिको कथा सिनेमाको पर्दामार्फत हेर्न पाउनु आफ्ना लागि पनि नौलो भएको उनले बताइन् । सिनेमाको कथावस्तुले मन छोएको प्रतिक्रिया उनको थियो । गण्डकी प्रदेशका सांसद वेदबहादुर गुरुङ (श्याम) ले गोर्खा वारियर सबै विषयमा प्रफेक्ट बनेको प्रतिक्रिया दिए । उनले सबै नेपालीले हेर्नुपर्ने सिनेमा बनेको बताए । किराँत समन्वय समिति केन्द्रीय संयोजक अमृत बहादुर सुनवारले नेपाललाई सगरमाथा, गौतम बुद्ध र गोर्खालीको देश भनेर विश्वमा चिनिने हुँदा गोर्खा वारियरले उक्त पहिचानलाई ब्रकरार राख्ने उनले बताए । गोर्खालीको इतिहास बुझाउन पुस्ता हस्तान्तरणमा समेत टेवा पुग्ने उनले उल्लेख गरे । प्रिमियर शो हेर्न आएका रिटार्यड ब्रिटिस आर्मी रुकमान गुरुङले सिनेमा भित्र आफुलाई पाएको अभिव्यक्ति दिए । गार्खालीको बहादुरीसँगै परिवारको कथालाई समेत जोडिएको हुँदा सिनेमाले मन छोएको प्रतिक्रिया उनको छ । प्रिमियरमा नेपाल आदीवासी जनजाती महासंघका केन्द्रीय महासचिव दिवस राई, तमु धी नेपालका अध्यक्ष होमबहादुर गुरुङ, नेपाल मगर संघ गण्डकी प्रदेशका अध्यक्ष पवित्रा थापा मगर, गुरुङ फिल्म एशोसियसन (जिफान) का अध्यक्ष गुञ्जबहादुर गुरुङ, भूपू ब्रीटिस आर्मी मेजर लक्ष्मी प्रसाद गुरुङ, किराँत सेवा समाज पोखरा कास्कीका अध्यक्ष दिपेन्द्र राई, आदीवासी जनजाती पत्रकार महासंघ फोनिज गण्डकी प्रदेशका अध्यक्ष रुद्र श्रीस मगर, नेपाल आदीवासी चलचित्र महासंघ गण्डकी प्रदेशका अध्यक्ष माओत्सेतुङ गुरुङ लगायतको उपस्थिति थियो । सबैले सिनेमा हेरिसकेपछि राम्रो तारिफ गरे । फागुन ११ गते बाट रिलिज हुने सिनेमा मिलन चाम्सले निर्देशन गरेका हुन् । सिनेमामा रितेश चाम्स, रेविका गुरुङ, विजय लामा, सिद्धार्थ सिंह, रियर राई, सुमिन गुरुङ लगायतको अभिनय छ । सुदिप बरालको डिओपी रहेको सिनेमाको सम्पादन मिलन श्रेष्ठले गरेका हुन् । सिनेमामा एलिस कार्कीको ब्याकराउण्ड स्कोर छ भने द्धन्द्ध निर्देशन हिमाल केसीले गरेका हुन् । सुमन राई सिनेमाका निर्माता हुन् ।
काठमाडौं: नेकपा एमालेले केन्द्रीय कमिटीको बैठक आज सुरु हुँदैछ । बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे सुरु हुनेछ । बिहीबारसम्म चल्ने बैठकमा समग्र पार्टीको राजनीतिक तथा सांगठनिक कामको समीक्षा तथा पार्टीको शुद्धीकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुने महासचिव शंकर पोखरेलले जानकारी दिए । यसैगरी, बैठकको कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबका ‘एजेन्डा’हरू तथा समसामयिक प्रस्ताव रहेका छन् । गत बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको एजेण्डा तय गरेको थियो । बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्ने छन् ।
दोलखा: दोलखामा भूकम्प गएको छ । जिल्लाको हाटडाँडा केन्द्रविन्दु भएर भूकम्प गएको हो । आज बिहान ४ बजेर ५८ मिनेट जाँदा हाटडाँडा आसपास केन्द्रविन्दु भएर ४।१ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ । यही फागुन ४ गते बझाङ जिल्लाको परकाट्ने केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको थियो ।
पोखरा: पोखरा महानगरपालिका–१४ छिनेडाँडामा आयोजित प्रथम स्थानीय महोत्सव सम्पन्न भएको छ । पोखरा महानगरपालिका–१४ वडा कार्यालयको आयोजनामा ‘कृषि, पर्यटन, स्थानीय व्यवसायको प्रवद्र्धन’ भन्ने मुल नारासहित प्रथम स्थानीय महोत्सव सम्पन्न भएको हो । महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै केसी ग्रुपका सञ्चालक एवम् व्यवसायी किरण केसीले महोत्सवले स्थानीय उत्पादनलाई बजारीकरण र व्यवसायीकरण गर्न मद्धत पुग्ने बताए । ‘मेला महोत्सवलाई हामीले मनोरञ्जनको लागि मात्र बुझ्ने गरेका छौं, स्थानीय उत्पादनको बजारीकरण र व्यवसायीकरणको लागि महोत्सवले महत्वपूर्ण मद्धत गर्छ ।’ व्यवसायी केसीले भने । उनले पोखरा महानगरपालिकाको ३३ वटा वडा मध्ये पोखरा–१४ ले स्थानीय उत्पादनको बजारीकरण र व्यवसायीकरणको लागि काम गरेको बताए । मेला महोत्सव उत्पादित वस्तुहरुको व्यवसायीकरण गर बजारीकरणको गर्ने थलो भएको सम्मेत उल्लेख गरे । कार्यक्रममा गण्डकी प्रदेशका निवर्तमान कृषि, उर्जा तथा जलस्रोतमन्त्री एवम् सांसद बेदबहादुर गुरुङ ‘श्याम’ले मेला महोत्सवमा उत्पादित कृषि तथा वस्तुहरुको प्रवद्र्धन गर्न सहयोग पुग्ने बताए । ‘मेला महोत्सवमा किसानका उत्पादन गरेका खाद्यान्नदेखि उद्यमीहरुले उत्पादन गरेका वस्तुहरुको प्रवद्र्धन गर्ने थलो हो’, सांसद गुरुङले भने, ‘मेला महोत्सवले कला संस्कृतिसँगको संरक्षण र जर्गेना गर्न महत्वपूर्ण योगदान पु¥याउँछ ।’ पोखरा महानगरपालिका–१४ का वडाध्यक्ष बोधबहादुर कार्कीले स्थानीय व्यवसायीहरुको व्यवसाय प्रवद्र्धन, स्थानीय मौलिक कला संस्कृतिको जगेर्ना गर्ने उद्धेश्यसहित पहिलो चोटि महोत्सव आयोजना गरेकोे बताए । ‘महोत्सवमा स्थानीय उत्पादनलाई मात्र प्राथमिकता दिएका छौं, पोखरा–१४ मा उत्पादन हुने कृषि जन्य उपजको व्यवसायीकरण एवं बजारीकरण, स्थानीय व्यवसायीको उत्पादन तथा व्यवसाय प्रवद्र्धन गर्ने वडाको मूख्य उद्धेश्य रहेको छ । यसले कृषकहरुमा थप उर्जा मिल्ने विश्वास लिएका छौं’ वडाध्यक्ष कार्कीले भने । दुईदिनसम्म सञ्चालन भएको महोत्सवमा पोखरा–१४ भित्रका विभिन्न व्यवसाय प्रवद्र्धनका व्यवसायीहरुलाई १ सय वटा स्टल निशुल्क रुपमा प्रदान गरिएको थियो । महोत्सवमा वडामा उत्पादन भएका कृषि जन्य खाद्यान्न, वडाभित्र उत्पादन भएका उत्पादित वस्तुहरु, अटो इन्जिनिरिङका सामान, विद्यालयका शैक्षिक सामग्रीसँगै निशुल्क स्वास्थ्य जाँचहरुसमेत गरिएको थियो । उत्कृष्ट टोल सुधार समिति सम्मानित महोत्सवको अवसरमा वडाले विभिन्न टोल सुधार समितिलाई समेत सम्मान गरेको छ । वडाले महोत्सवको अवसरमा मसिना टोल सुधार समितिका अध्यक्ष देवेन्द्र मगर,चेतनामार्ग टोल सुधार समितिका अध्यक्ष डम्बर बहादुर मगर, दाहसंस्कार टोल सुधार समितिका अध्यक्ष ललित बहादुर बानियाँ, स्वागत नगर टोल सुधार समितिका अध्यक्ष सु.देव बहादुर केसी, मोहन मार्ग टोल सुधार समिति, युनिटी टोल सुधार समितिका अध्यक्ष लक्ष्मी लामिछाने अधिकारी, भूपु सैनिक टोलसुधार समितिका अध्यक्ष बलबहादुर गुरुङलाई सम्मान गरेको हो । यस्तै समाज सुधार तथा उत्पादनतर्फ लक्ष्मी कार्की र जेष्ठ नागरिकतर्फ नविन दास पौडेललाई सम्मान गरेको छ । यस्तै कृषितर्फ अमृता सापकोटा र पशुपालनतर्फ मोहनबहादुर कार्कीलाई सम्मान गरेको छ । महोत्सवको अवसरमा निकालिएको झाँकी तथा ¥यालीतर्फ मिरमिरे टोल विकास समिति, मसिना टोल सुधार समिति, नेपाल मगर कमदमार्ग चाउथे इकाई समिति, पद्याकुमारी इश्वरी विश्वविद्यालय, युकेश्वर टोल सुधार समिति, पोंचोकों तमु समाज घर, सस्कृति आमा समूहलाई समेत सम्मान गरेको छ । महोत्सवमा सहभागी टोल तथा संस्थाहरुलाई प्रमाणपत्रसहित सम्मान गरिएको छ । रस्साकसी प्रतियोगितामा मिर्मिरे र खाल्टे विजयी पोखरा महानगरपालिका–१४ वडा कार्यालयले आयोजना गरेको प्रथम स्थानीय महोत्सवमा आयोजित टोल स्तरीय रस्साकसी प्रतियोगितामा महिलातर्फ मिर्मिरे आमा समूह र पुरुषतर्फ खाल्टे टोल सुधार समिति विजयी भएको छ । महिलातर्फ भएको रस्साकसी प्रतियोगितामा मिर्मिरे आमा समूह विजेता र युनिटी आमा समूह उपविजेता भए । यस्तै पुरुषतर्फ खाल्टे टोल सुधार समिति र प्रगति टोल सुधार समिति उपविजेता भए । यस्तै छेलो फाल्ने प्रतियोगितामा दुजिक थापा मगर विजेता र रबिन गुरुङ उपविजेता भएको प्रचारप्रसार समितिका संयोजक रामजी जिसीले जानकारी दिए । महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरुको सांगितिक कार्यक्रमहरुसमेत रहेका थियो ।
पोखरा: टीम पोखरा मल्टिपर्पोज प्रालिले आयोजना गरेको रक्तदानबाट १ सय ५ युनिट रगत संकलन भएको छ । युवा व्यवसायीहरुद्धारा स्थापित टीम पोखरा मल्टि पर्पोेज प्रालिको दोश्रो वार्षिकोत्सवको अवसरमा आयोजित वृहत रक्तदान कार्यक्रमा १ सय ५ जनाले रक्तदान गरेका हुन् । कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका ८ का वडाध्यक्ष रुद्रनाथ बरालले रक्तदान कार्यक्रमका संयोजक प्रालिका सदस्य दिनेश कुमार जिसीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा बोल्दै वडाध्यक्ष बरालले युवाहरु विदेश पलायन भइरहेको परिप्रेक्षमा युवा व्यवसायीहरुद्धारा स्थापित टीम पोखरा मल्टिपर्पोेज प्रालिले व्यवशायसँगै सामाजिक कामलाई निरन्तरता दिनु आफैमा गौरवको विषय भएको बताए । टीम पोखरा मल्टिपर्पोज प्रालिले आगामी दिनमा आयोजना गर्ने सामाजिक तथा व्यवसायीक क्रियाकलामा सहकार्य गरेर अगाडी बढ्ने वडाध्यक्ष बरालको भनाइ थियो । त्यस्तै समाजसेवी राजु पौडेलले युवाहरु विदेश पलायन भइरहदा युवाहरुले व्यवशाय सञ्चालन गरी संस्था स्थापना गरी सामाजिक कार्य गरेकोमा सामाजिक काम प्रति आभार प्रकट गर्दै सामाजिक क्रियाकलापलाई निरन्तरता दिन आग्रह गरे । त्यस्तै नेपाल फर्निचर तथा फर्निसिङ व्यवशायी संघ कास्कीका अध्यक्ष पूर्णशोभा गुरुङले व्यवशायीहरुले आफ्नो व्यवशाय संगै सामाजिक क्रियाकलापलाई अगाडी बढाएकोमा धन्यवाद व्यक्त गरिन् । नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र गण्डकीका प्रतिनिधि यमुना केसीले हरेक तीन तीन महिनामा खेर गइरहने रगतलाई रक्तदान गरी रगतको अभावलाई पूरा गर्न सहयोग गरेकोमा रक्तदान गर्ने सम्पूर्ण रक्तदातालाई धन्यवाद व्यक्त गरिन् । टीम पोखरा मल्टिपर्पोज प्रालिका अध्यक्ष नारायण खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका उपाध्यक्ष पुष्कल ढकालले स्वागत मन्तव्य राखेका थिए भने कार्यक्रमका संयोजक दिनेश कुमार जिसीले धन्यवाद मन्तव्य राखेका थिए । सो कार्यक्रमको सञ्चालन संस्थाका सचिव रावत लामाले गरेका थिए ।

