भक्तपुर: राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । चैत १५ गतेदेखि सुरु भई २७ गतेसम्पन्न हुने परीक्षाका लागि बोर्डले उक्त सङ्ख्यामा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार यसवर्ष देशभरबाट करिब पाँच लाख विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन् । यसवर्ष पनि जापानमा एउटा परीक्षा केन्द्र निर्धारण गरिएको उहाँले जानकारी दिनुभयो । परीक्षाका लागि बोर्डले पाँच लाख प्रश्नपत्र छापिसकेको परीक्षा नियन्त्रण कार्यालय कक्षा १० का परीक्षा नियन्त्रक नन्दलाल पौडेलले जानकारी दिनुभयो । पाँच लाख चार हजार ४१४ जनाले परीक्षाको फाराम भरे पनि परीक्षामा केही विद्यार्थीको सङ्ख्या घट्न सक्ने उहाँले बताउनुभयो । पौडेलले परीक्षाका लागि आवश्यक पर्ने प्रश्नपत्र बोर्डले देशभरका ७६ जिल्लाका प्रहरी कार्यालयमा पठाइसकेको बताउँदै काठमाडौँ जिल्लामा परीक्षाको अघिल्लो दिन मात्रै पठाइने जानकारी दिनुभयो । “प्रत्येक विषयको परीक्षाका दिन परीक्षा सुरु हुनु केही समय अगाडि मात्रै प्रहरी सुरक्षाका साथ सम्बन्धित परीक्षा केन्द्रमा प्रश्न पत्र पठाइनेछ”, उहाँले भन्नुभयो । परीक्षाका लागि आवश्यक पर्ने उत्तरपुस्तिका एवं अन्य सामग्री कार्यालयले सातै प्रदेशमा पठाएको जानकारी दिँदै परीक्षा नियन्त्रक पौडेलले प्रदेश र जिल्लाले गर्ने तयारी पनि भइरहेको बताउनुभयो । उहाँका अनुसार आवश्यक बजेट सातवटै प्रदेश सरकारअन्तर्गत सामाजिक सुरक्षा मन्त्रालयले व्यवस्थापन गर्नेछ । नेपाल बाहिर जापानमा बसेका नेपाली विद्यार्थीले यसवर्ष पनि जापानबाटै परीक्षा दिन पाउने भएका छन् । बोर्डले यसवर्षको परीक्षाका लागि एक परीक्षा केन्द्र निर्धारण गरेको छ । जापानबाट २३ जना विद्यार्थीले एसईई दिने परीक्षा नियन्त्रक पौडेलले जानकारी दिनुभयो । प्रत्येक परीक्षा केन्द्रमा केन्द्राध्यक्ष र सहायक केन्द्राध्यक्ष एक÷एक, तीन सय विद्यार्थी रहेको केन्द्रमा दुई सहायक केन्द्राध्यक्ष, दुई विद्यार्थी बराबर एक निरीक्षक, एक सय ५० देखि दुई सयसम्म परीक्षार्थी भएकोमा एक सहयोगी र त्योभन्दा बढी परीक्षार्थी रहेको केन्द्रमा दुई सहयोगी खटाइने उहाँको भनाइ छ । परीक्षा केन्द्रको आवश्यकताअनुसार सुरक्षाकर्मी परिचालन गरिने र सुरक्षाकर्मीदेखि कर्मचारी परिचालनका लागि प्रत्येक जिल्लाको प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्ला परीक्षा समन्वय समितिले गर्ने व्यवस्था गरिएको परीक्षा बोर्डले जनाएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट विसं २०७८ पुस ७ गते ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ जारी गरेको थियो । यसवर्षको परीक्षामा बोर्डले ‘लेटर ग्रेडिङ निर्देशिका, २०७८’ लागू गरेको जनाएको छ । विगतमा सैद्धान्तिक र प्रयोगात्मक दुवै जोडेर ३५ प्रतिशत ल्याउनुपर्ने व्यवस्था रहेकामा यसवर्ष निर्देशिका कार्यान्वयनमा आएपछि पहिलो पटक बोर्डले एसईई परीक्षाको नतिजामा विद्यार्थीले सैद्धान्तिकमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनुपर्ने व्यवस्था गरेको परीक्षा नियन्त्रक पौडेलले जानकारी दिनुभयो । परीक्षार्थी कम्तीमा सैद्धान्तिक विषयमा ३५ र प्रयोगात्मकमा ४० अङ्क ल्याउनुपर्ने भन्दै एक सय पूर्णाङ्क रहेको विषयमा ३५ अङ्क र ७५ पूर्णाङ्क रहेको विषयमा २७ अङ्क ल्याउनुपर्ने उहाँले बताउनुभयो । परीक्षा नियन्त्रक पौडेलका अनुसार ३५ प्रतिशतभन्दा कम अङ्क ल्याएमा कक्षा ११ मा भर्ना हुन नपाउने र पुनःमौका परीक्षामा सहभागी हुनु पर्नेछ । ३५ अङ्क ल्याउन नसक्ने विद्यार्थीले पहिलो वर्ष दुई विषयको मौका परीक्षा दिन पाउने व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार विद्यार्थीले तीन पटकसम्म दुई विषयमा ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउने छन् ।
डडेल्धुरा: नेकपा एमाले डडेल्धुराको अध्यक्षमा गजेन्द्रबहादुर शाही सर्वसम्मत चयन हुनुभएको छ । भित्रि मधेश जोगबुडाको परशुराम नगरपालिका १२ मा रहेको परशुराम रंगशालाम भएको पार्टीको नवौं अधिवेशनबाट शाहीलाई अध्यक्षमा चयन गर्दै नयाँ कमिटिसमेत सर्वसम्मत रुपमा चयन गरिएको हो । जिल्ला कमिटीको उपाध्यक्षमा दुर्गा गिरी, सचिवमा सिद्धराज भट्ट, उपसचिव (महिला) मा इन्द्रिरा ताम्राकार, उपसचिव (खुल्ला) मा प्रकाशसिंह बोहरा निर्विरोध निर्वाचित भएको निर्वाचन कमिटीका प्रमुख निर्वाचन अधिकृत पदम पालले जानकारी दिनुभयो । उहाँका अनुसार लेखा समिति अध्यक्षमा तुलाराम पनेरु र सचिवमा लोकेन्द्र ओझा चयन भएका छन् । उनले कमिटी उपसचिव हुँदै राजनीति सुरु गरेका थिए । त्यसपछि उहाँ जिल्ला सचिव हुँदै २०५९ मा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा संघको सहसंयोजक र २०६३ मा जिल्ला अध्यक्ष बनेका थिए । युवा संघ नेपालको केन्द्रीय सचिवालय सदस्य हुँदै केन्द्रीय उपाध्यक्ष समेत बनेका उहाँले सोही समयमा सुदूरपश्चिम प्रदेश र लुम्बेनी प्रदेश इन्चार्जको जिम्मेवारी समेत सम्हलेका थिए । उहाँ २०६५ मा एमाले डडेल्धुराको जिल्ला कमिटी सदस्य भएका थिए । संक्रमण कालिन अवस्थामा जिल्ला कमिटी सचिवको जिम्मेवारी सम्मालेका शाही यसअघि भने जिल्ला संयोजकको रूपमा थिए ।
सुनसरी: सशस्त्र प्रहरीले सुनसरीमा १६३ केजी ८४५ ग्राम गाँजा बरामद गरेको छ । मङ्गलबार राति १:३० बजे सुनसरी बराहक्षेत्र नगरपालिका–१ स्थित सप्तोकोशी नदिको किनारमा पाँच–छ जनाले डुङ्गाबाट निकाल्दै गरेको अवस्थामा सशस्त्र प्रहरीले उक्त परिमाणको गाँजा बरामद गरेको हो । सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश चतराबाट सहप्रहरी निरीक्षक बिग बहादुर गोलेको कमाण्डमा खटि गएको ६ जनाको गस्ती टोलीलाई देखेपछि गाँजा छाडी डुङ्गा लिई फरार भएका प्रहरीले जनाइको छ । उक्त गाँजा नियन्त्रणमा लिई थप अनुसन्धान तथा कारबाहीका लागि इलाका प्रहरी कार्यालय महेन्द्रनगर चक्रघट्टीमा बुझाइएको छ । सशस्त्र प्रहरीले फागुन १ गतेदेखि हालसम्म एक एम्बुलेन्ससहित ५६४.४७५ केजि गाँजा बरामद गरेको शस्त्र प्रहरी बलका सह–प्रवक्ता शैलेन्द्र थापाले बताए ।
पोखरा: लेखनाथको बेगनासतालमा राष्ट्रियस्तरको ड्रागन बोट रेस हुने भएको छ । ड्रागन बोट एसोसियसन गण्डकी प्रदेश, पोखरा महानगरपालिका र होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथको संयुक्त आयोजनामा पहिलो संस्करणको ड्रागन बोट रेस आयोजना गर्न लागिएको हो । बेगनासतालको पिप्ले टुडादेखि मन्दरेपार्क सम्मको दुरीमा प्रतिस्पर्धा हुने प्रतियोगिता संयोजक होटल तथा रेष्टुरेण्ट एसोसियसन लेखनाथका अध्यक्ष तथा प्रतियोगिता संयोजक विरभद्र कंडेलले जानकारी दिए । उनका अनुसार सो प्रतियोगितामा १२ समूहको सहभागिता रहनेछ । प्रतियोगिता ५ सय र २ सय मिटर गरी दुई विधामा प्रतियोगिता सञ्चालन गरिने कंडेलले बताए । उनका अनुसार प्रतियोगितामा ५ सय मिटरतर्फ प्रथम हुनेले २ लाख, द्वितिय हुनेले १ लाख ५० हजार र तृतिय हुने टिमले ७५ हजार प्राप्त गर्नेछ । यस्तै २ सय मिटरतर्फ प्रथम हुनेलाई १ लाख द्वितियलाई ५० हजार र तृतियलार्ई नगद रु २५ हजार पुरस्कार प्रदान गरिने छ । यसअघि फेवातालमा अन्तरराष्ट्रिय स्तरको नेपालमै पहिलोपटक ड्रागन बोट रेस भएको थियो ।
पोखरा: लेखनाथको भण्डारढिकमा जारी सूर्य तारा नेकोस खेल महोत्सवमा फुटबलतर्फ आज सेमिफाइनलको समिकरण पुरा हुने भएको छ । सूर्य तारा क्लब र नेपाल खेलकुद महासंघ गण्डकीको संयुक्त आयोजनामा गत ३ गते देखि जारी खेल महोत्सव अन्तरगत आज फुटबलतर्फ अन्तिम क्वाटरफाइनल खेल सहारा क्लब र विष्णुपादुका क्लबबीच हुनेछ । यस खेलसकिएसँगै सेमिफाइनलको समिकरण पुरा हुनेछ । उक्त खेलको विजेता टोलीले दोस्रो सेमिफाइनल खेलका रुपमा भोलि (बिहीबार) आदर्श क्लब भण्डारढिकसँग भिड्नेछ । आदर्श क्लब भण्डारढिकले क्वाटरफाइनलमा अन्नपूर्ण गाउँपालिकालाई पराजित गर्दै सेमिफइनलमा प्रवेश गरिसकेको खेल संयोजक विष्णु पुनले जानकारी दिए । उनका अनुसार पहिलो सेमिफाइनल खेल आज एलसी ब्रदर्श लामाचौर र आरएस बिच फुटबल क्लबबीच दिउँसो २ बजे हुनेछ । एलसी ब्रदर्शले आयोजक टिम नेकोसलाई क्वाटरफाइनलमा हराउँदै अन्तिम चारमा उक्लिएको थियो भने आरएस क्लबले संगम क्लबलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । प्रतियोगिताको विजेता टिमले नगद रु ३ लाख ३ हजार ३ सय ३३ र उप विजेता टिमले १ लाख ७७ हजार ७ सय ७७ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
मोरङ: मोरङको बेलबारी १ भेडाटोल बस्ने ६० वर्षीय बमबहादुर लिम्बूले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहालका अनुसार मङ्गबार राति १ः४५ बजे बमबहादुरले ४५ वर्षीया श्रीमती गीता लिम्बूलाई धारिलो हतियार (दाउ)प्रयोग गरी हत्या गरेका हुन् । बेलबारी–१ कि शर्मिला राईको घरमा विगत चार वर्षदेखि भाडामा बस्दै आएका लिम्बूले श्रीमतीमाथि दाउ प्रहार गरेपछि स्थानीयले प्रहरीलाई सूचना गरेका थिए । नजिकै रहेको प्रहरी पुग्दा गीताको मृत्यु भइसकेको थियो । प्रहरीका अनुसार श्रीमतीको हत्यापछि सोही खुकुरीले आफ्नो घाँटीमा रेटेका बमबहादुर लिम्बु गम्भीर अवस्थामा घटनास्थलमा भेटिएका थिए । प्रहरीले तत्काल उद्धार गरी बमबहादुरलाई उपाचारका लागि नोबेल अस्पताल मेडिकल कलेज विराटनगर पठाइएको थियो । घाँटीमा गहिरो चोट लागेका लिम्बू घटनास्थलमा नै बोल्न नसक्ने अवस्थामा थिए । लिम्बूको उपचारका क्रममा बुधबार बिहान ३ः२० बजे मृत्यु भएको प्रहरीको भनाइ छ । स्थानीयका अनुसार श्रीमान श्रीमती बिच मनमुटाव भइरहने गरेको थियो । श्रीमतीलाई दाउ प्रहार गरेपछि बमबहादुरले छोरा योन्जन लिम्बूलाई दाउ प्रहार गरेका थिए । तर उनी भागेर बाँचेका थिए । दुबै शव पोष्टमार्टमका लागि कोशी अस्पताल विराटनगरमा राखिएको छ ।
पोखरा: पाेखरामा तेस्रो संस्करणको ‘स्टार्स समर क्याम्प २०८०’ हुने भएको छ । वार्षिक परीक्षापश्चात फूर्सदमा रहेका बालबालिकालाई लक्षित गरेर स्टार्स स्टुडियो नेपाल र स्टार्स फाउन्डेसन नेपालको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो । यही चैत्र १९ गतेदेखि चैत्र २८ गतेसम्म पोखरामा सञ्चालन हुने क्याम्पले बालबालिकाको व्यक्तित्व तथा नेतृत्व विकास गर्ने अवसरका साथै नयाँ साथीहरुसँग घुलमिल हुने र रमाउने अवसर प्राप्त गर्ने कार्यक्रम संयोजक जसमाया गुरुङ जसुले बताइन् । ‘समर क्याम्पमा बालबालिकाले व्यक्तिगत एवं सिर्जनात्मक सिकाईको बारेमा बुझन् पाउनेछन्, यसका अलावा शिक्षामुलक ज्ञान लिदैँ साथीहरुबीच आत्मियता तथा आत्मविश्वास बढाउदै आत्मनिर्भर बन्न सिक्नेछन्’ उनले भनिन् । बालबालिकामा सामाजिक सीप हस्तान्तरण गरि उनीहरुमा व्यक्तित्व एवं नेतृत्व विकास गराउने उद्धेश्यले आयोजना गरिएको कार्यक्रममा सिट सिमित हुने भएकोले सहभागी बन्न इच्छुकले नाम टिपाउन सक्ने आयोजक संस्थाकी अध्यक्ष समेत रहेकी गुरुङले जनाइन् । क्याम्पमा हुने नयाँ प्रतिभा पहिचान, सामुहिक कार्य, रमाइलो वातावरण तथा बाहिरी अनुभव लगायतले उनीहरुलाई आगामी दिनमा सफलता प्राप्त गर्न मद्दत गर्ने उनको विश्वास छ । क्याम्पमा सहभागी बालबालिकाले फेस पेन्टिङ, योगा, नाटक, गायन, नृत्य, संगीत, सेल्फ डिफेन्सको लागि तेक्वान्दो, कँराते, स्विमिङ सहित अन्य रमाइला इन्डोर तथा आउट डोर गेम खेल्न पाउनेछन् । स्टोरी टेलिङ, पब्लिक स्पिकिङ, कल्चरल फोटोसुट, बिबिक्यु नाइट, आर्ट काफ्ट ड्रइङ, मोमो बनाउने सिप मात्र नभएर विभिन्न पर्यटकिय ठाउँ घुम्न अवसर समेत उनीहरुलाई मिल्नेछ । १० दिने कार्यक्रममा आयोजकले यातायात, होस्टेल, खानाखाजा, स्वास्थ्यकर्मी एम्बुलेन्स तथा अवधिभर चाहिने सम्पूर्ण सामाग्रीको व्यवस्था मिलाएको आयोजकले जनाए । नेपाली तथा विदेशी प्रशिक्षकले बाबुनानीलाई रमाइलो माहोलमा ज्ञान हस्तान्तरण गर्ने उनीहरुको भनाई छ । यो कार्यक्रम यसअगाडि पोखरामा दुईपटक आयोजना भैसकेको छ । स्टार्स स्टुडियो नेपाल नेपाली मौलिक लोकसंस्कृति र सांस्कृतिक नृत्यहरुको संरक्षण र प्रर्वद्धनका लागि क्रियाशिल संस्था हो । यसको कार्यालय न्युरोड पोखरामा रहेको छ । लोक नृत्यको प्रशिक्षणका साथै विभिन्न जातजातीको मौलिक भेषभुषाको संरक्षण, फिल्म निर्माण, इभेन्ट मेनेजमेन्ट लगायतको क्षेत्रमा यसले काम गरिरहेको छ । यस्तै स्टार्स फाउन्डेसन नेपालले विभिन्न सामाजिक कार्य गर्दै आएको छ । क्याम्प पोखरा लेकसाइड खहरेको स्ट्रिट नम्बर ‘२१ ए’ मा रहेको प्यासन नेपालमा सञ्चालन हुनेछ ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ समीकरण प्रधानमन्त्रीका रूपमा आफ्नो पदका कारणले नबनेको स्पष्ट पारेका छन्। सरकारमा सहभागी पाँच राजनीतिक दलको ‘न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प’ सार्वजनिक गर्न आयोजित कार्यक्रममा प्रधानमन्त्री दाहालले समृद्धिको यात्रामा जानुपर्छ भन्ने उद्देश्यका साथ नयाँ समीकरण बनेको स्पष्ट पारे । ‘जनतामा सुशासन र समृद्धिको आकाङ्क्षालाई तीव्रताका साथ गुणात्मक तवरले सम्बोधन गर्ने ऐतिहासिक आवश्यकतासँग यो समीकरण बनेको छ’, उनले भने, ‘नयाँ काम सुरु भएका छन्, जनताको आवाजलाई सम्बोधन गर्नेगरी काम गर्नुपर्छ ।’ उनले जनतामा नयाँ आशा जगाउने र राष्ट्रको बृहत्तर हितलाई केन्द्रमा राखेर नयाँ समीकरण बनेको स्पष्ट पारे । प्रधानमन्त्री दाहालले सबै मन्त्री, सचिव एवं कर्मचारीलाई पछिल्लो परिस्थितिअनुसार काम गर्न निर्देशन दिए ।
काठमाडौं : पाँच दलीय सत्ता गठबन्धनले सरकारको न्यूनतम नीतिगत प्राथमिकता तथा साझा संकल्प सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट मंगलबार अपरान्ह सरकारको न्यूनतम साझा संकल्प सार्वजनिक गरिएको हो। न्यूनतम नीतिगत प्राथमिकता तथा साझा संकल्पमा आर्थिक शिथिलता अन्त्य गर्ने, संघीयता पूर्ण कार्यान्वयनका लागि कानुन तथा सुशासनमा सुधार गर्नेगायतका विषयलाई प्राथमिकतामा राखिएको छ। यस्तै, यस्तै शिक्षा, स्वास्थ्य र रोजगारीको विषय पनि मुख्य रुपमा समेटिएको छ। शान्ति प्रक्रियाका बाँकी काम सहमतिका आधारमा टुंग्याउने भनिएको छ। न्यूनतम नीतिगत प्राथमिकता तथा साझा संकल्प तयार गर्न सत्ता गठबन्धनले १० सदस्यीय कार्यदल बनाएको थियो। उक्त कार्यदलले गत शनिबार नै मस्यौदा शीर्ष नेताहरूलाई बुझाएको थियो। यो पनि पढ्नुहोस निराशालाई चिर्दै जनतामा आशा र भरोसा पैदा गर्ने प्रतिबद्धता(पूर्ण पाठसहित)

