काठमाडौं: फिफा विश्वकप २०२६ तथा एएफसी एसियन कप छनोट अन्तर्गत दोस्रो चरणको खेलमा आज नेपाल र बहराइनबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयअनुसार राति पौने १ बजे बहराइनको राष्ट्रिय रङ्गशालामा हुनेछ । यो खेल नेपालमै हुने तय भएकोमा दशरथ रङ्गशाला मैदान खेल्नका लागि उपयुक्त नभएपछि बहराइनमा हुन लागेको हो । पहिलो चरणको खेलमा नेपाल लाओसलाई समग्रमा १–० ले हराउँदै दोस्रो चरणमा पुगेको थियो। नेपालले अर्को खेल मंगलबार बहराइनमै खेल्ने छ । समूह ‘एच’ मा रहेको नेपालले सुरुवाती दुई खेल गुमाइसकेको छ। नेपाल युएई र यमनसँग पराजित भइसकेको छ । यो समूहमा नेपाल, बहराइन, यमन र संयुक्त अरब इमिरेट्स (युएई) छन् । चार टोलीमध्ये शीर्ष दुई टोली एसिया कपमा छनोट हुनेछन् भने दुई टोली विश्वकपको तेस्रो चरणका लागि छनोट हुनेछन् । यस्तै, अन्तिमका दुई टोलीको विश्वकप छनोट यात्रा सकिने छ भने एसिया कपको तेस्रो चरणमा प्रवेश गर्नेछन् ।
नवलपरासी: नवलपरासीको मध्यविन्दु नगरपालिका–११ स्थित सडकमा गएराति भएको मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । मध्यविन्दु–११ दमारचोकस्थित भित्री सडकमा दमारबाट तमासपुरतर्फ आउँदै गरेको लु७६प १६२१ नंको मोटरसाइकल दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपरासीका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार दुर्घटनामा परी मोटरसाइकलमा सवार मध्यविन्दु नगरपालिका–११ का ३० वर्षीय अनिल विकको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । त्यसैगरी, दुर्घटनामा परी गम्भीर घाइते भएका मध्यविन्दु–११ निवासी २५ वर्षीय अजय ठकुरीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छभने मोटरसाइकल चालक २८ वर्षीय कृष्णबहादुर विक प्रहरी नियन्त्रणमा रहेको प्रहरी उपरीक्षक पौडेलले जानकारी दिए । मध्यविन्दु नगरपालिका–११ दमारमा नै बुधबार अटो दुर्घटना हुँदा एकजनाको मृत्यु भएको थियो, भने दुईजना घाइते भएका थिए ।
पोखरा: लेखनाथको भण्डारढिकमा जारी सूर्य तारा नेकोस खेल महोत्सवमा फुटबलतर्फ एलसी ब्रदर्श फाइनल प्रवेश गरेको छ । भण्डारढिक खेलमैदानमा आज भएको पहिलो सेमिफाइनल खेलमा आरएस बिच फुटबल क्लबलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँदै एलसी ब्रदर्श उपाधि नजिक पुगेको हो । निर्धारित समय गोलरहित भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो । फाइनल प्रवेश गरेको एलसी ब्रदर्श बिहीबार हुने अर्काे सेमिफाइनल खेल (आदर्श क्लब भण्डारढिक र सहारा क्लब पोखराबीच) को विजेता टोलीको स्वागतमा छ । आदर्श क्लब भण्डारढिक र सहारा क्लबबीच बिहीबार बिहान ११ बजेअर्काे सेमिफाइनल खेल हुने खेल संयोजक विष्णु पुनले जानकारी दिए । उनका अनुसार आदर्श क्लब भण्डारढिक अन्नपूर्ण गाउँपालिकालाई हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो भने सहारा क्लबले बुधबार विष्णुपादुका क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो । सो खेलको विजेता टिमले एलसी ब्रदर्शसँग फाइनलमा उपाधिका लागि भिड्नेछ । गत शनिबारदेखि जारी सो प्रतियोगिताको विजेता टिमले नगद रु ३ लाख ३ हजार ३ सय ३३ र उप विजेता टिमले १ लाख ७७ हजार ७ सय ७७ सहित शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
पोखरा: गण्डकी प्रदेश बास्केटबल संघकोे अध्यक्षमा ध्वजकुमार गुरुङ सर्वसम्मत निर्वाचित भएका छन् । पोखरामा बुधबार सम्पन्न आयोजक समितिको भेलाले अध्यक्षमा गुरुङसहित १५ सदस्सीय कार्यसमिति निर्विरोध चयन गरेको हो । अध्यक्षमा निर्वाचित गुरुङ प्रदेश खेलकुद परिषद गण्डकीका उपाध्यक्ष हुन भने यसअघि कास्की जिल्ला बास्केटबल संघको अध्यक्षसमेत हुन् । यसैगरी संघको उपाध्यक्षद्वयमा किरण सापकोटा र कौशल्या गुरुङ निर्वाचित हुँदा महासचिवमा विष्णुकुमार गुरुङ र नवलपुरका सतिश राई सचिवमा तथा कोषाध्यक्षमा दिलिप गुरुङ्ग सर्वसम्मत निर्वाचित भए । कार्यसमिति सदस्यमा जगत राना, सोनाम गुरुङ, शौरभ केसी, विशाल राना, मिलन पाइजा पुन, प्रदिप रसाइली, कृपाश्वर गुरुङ र कृष्णकुमार श्रेष्ठ सर्वसम्मत भए । नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँँदै गण्डकी प्रदेशका सांसद प्रकाश बरालले गण्डकीको बास्केटबल खेलको विकासका लागि एक बलियो टिम गठन भएको धारणा राखेका थिए ।
पाल्पा: पाल्पा र रुपन्देहीको सिमाना गेट छेउमा भटिएको शवको पहिचान हुन नसकेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । पाल्पाको तिनाउ गाउँपालिका–३ तल्लो सिद्धबाबा स्थित सिद्धार्थ राजमार्गको पाल्पा र रुपन्देहीको सिमाना गेट छेउमा हिजो (मंगलबार) एक पुरुषको शव फेला परेको थियो । अन्दाजी ५०/५५ वर्ष उमेरको देखिने एक पुरुषको शवको पहिचान हुन नसकेको पाल्पा प्रहरीले जनाएको छ ।
पोखरा: पोखराको बाराहीघाटमा पूर्व फुटबल रेफ्री स्वर्गीय कृष्ण गिरीको सम्झनामा पहिलो संस्करणको एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरामा सामाजिक र खेलकुदको क्षेत्रमा क्रियाशिल बिक्कु गिरी, विषम पहारी र सञ्जय बुढाथोकीको सयुक्त आयोजनामा आजदेखि पहिलो संस्करणको कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिता सुरु भएको हो । आजदेखि सुरु भएको पहिलो संस्करणको कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगितामा मालेपाटन एफसीले विजयी सुरुवात गरेको छ । मालेपाटन एफसीले लेकसाइड सेतोलाई १–० गोल अन्तरले पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गर्याे । मालेपाटनको जीतमा राजकुमार भुजेलले निर्णायक गोल गरे । सो खेलबाट अमृत गुरुङ म्यान अफ द म्याच बने । यस्तै दोस्रो खेलमा एनए भेट्रान्स लेकसाइडले टेन इलभेन एफसीलाई पेनाल्टी सुटआउटमा ३–१ गोलले पराजित ग¥यो । निर्धारित समय २–२ को बराबरीमा सकिएपछि खेल पेनाल्टीमा पुगेको थियो । ट्राइबेकरमा एनए भेट्रानका गोलरक्षक विकास गुरुङले टेन इलभेन एफसीको प्रहारलाई रोक्दै जीत सुनिश्चित गर्दै म्यान अफ द म्याच बने । तेस्रो खेलमा सविन मेमोरियलले बागलुङ सुधार केन्द्रलाई २–१ गोल अन्तरले पराजित गर्याे । सविनको जीतमा सुवास केसी र विशाल गुरुङले समान १ गोल गरे भने बागलुङका लागि कुशल खड्काले सान्त्वना १ गोल फर्काए । उक्त खेलबाट अनुप राना म्यान अफ द म्याच बने । चौथो खेलमा एट टु नाइन एफसीले गार्डेन एफसीलाई २–१ गोल अन्तरले हरायो । एट टु नाइनको जीतमा दुवै गोल नरेश केसीले गरे भने गार्डेनका सन्तोष केसीले सान्त्वना १ गोल फर्काए । सो खेलबाट एट टु नाइनका नरेश केसी म्यान अफ द म्याच घोषित भए । यसैगरी आज भएको अन्तिम खेलमा लेकसाइड पहेंलोले न्यू एयरपोर्टलाई २–० गोल अन्तरले हरायो । लेकसाइडको जीतमा सुमन पुन र इश्वर गुरुङले समान १ गोलको योगदान दिए । सो खेलबाट सुमन पुन म्यान अफ द म्याचबाट पुरस्कृत भए । खेल संयोजक विषम पहारीका अनुसार बिहीबार क्वाटरफाइनका ४ खेल सञ्चालन हुनेछन् । नेपाल ट्रस्टको खेलमैदानलाई महानगरको स्वामित्वमा ल्याउन पहल भइरहेको छ: वडाध्यक्ष भट्टराई बाराहीघाटमा आजदेखि सुरु भएको पहिलो संस्करणको कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिका ६ का वडाध्यक्ष विष्णुबहादुर भट्टराईले नेपाल ट्रस्टको मैदानलाई महानगरको स्वामित्वमा ल्याउन पहल भइरहेको बताए । विभिन्न खेलकुद प्रतियोगिताका लागि उपयुक्त मैदान भएकाले महानगरको स्वामित्वमा ल्याउने र वडाले निगरानी राख्ने गरी पहलकदमी भइरहेको दोहोर्याए । ‘बाराहीघाट अहिले नेपाल ट्रष्टको स्वामित्व रहेको छ । यस क्षेत्रमा कुनै कार्यक्रम गर्दा ट्रष्टको स्विकृति र शुल्क तिनुपर्ने झन्झट रहेको छ, वडाध्यक्ष भट्राईले भने, ‘बाराहीघाटलाई खेलकुद क्षेत्रको रुपमा विकास गर्न यस ठाउँलाई महानगरको स्वामित्वमा ल्याउन हामीले पहल गरिराखेका छौं ।’ उनले पोखरा पर्यटकीय राजधानी घोषणा भएको उल्लेख गर्दै खेल क्षेत्रको प्रर्वद्धन र विकासतर्फ लाग्नुपर्नेमा जोड दिए । ‘महानगर र गण्डकी प्रदेश सरकारसँगै सबैको समन्वयमा पोखरालाई पर्यटकीय राजधानी घोषणा गरेका छौं, वडाध्यक्ष भट्टराईले भने, ‘बाराहीघाटमा साफ च्याम्पियनसिप प्रतियोगिताको केही खेल सम्पन्न पनि गर्याै । त्यसैले यस ठाउँलाई खेलकुद क्षेत्रको रुपमासमेत अगाडि लैजानुपर्छ भन्ने हाम्रो धारणा छ ।’ यसैगरी जनप्रिय बहुमुखी क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुच्छेले स्वर्गीय कृष्ण गिरीको खेलकुद क्षेत्रमा योगदान गरेको स्मरण गरे । ‘स्वर्गीय कृष्ण गिरी सानैदेखि खेलकुद र सामाजिक क्षेत्रमा क्रियाशिल हुनुहुन्थ्यो, विजुच्छेले भने, ‘४० वर्ष अगाडि लेकसाइडको विकासमात्रै नभएर खेलकुदको विकासका निम्ति पनि उहाँको भूमिका महत्वपूर्ण छ ।’ आगामी ९ गते सम्पन्न हुने सो प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार १ सय ११ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै उपविजेताले नगद ५१ हजार १ सय ११ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । विधागतर्फ सर्वोत्कृष्ट खेलाडीले नगद १० हजार, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलकिपरले जनही नगद रु ५÷५ हजार पुरस्कारसहित ट्रफी प्राप्त गर्नेछन् भने अनुशासित टिमले ७ हजार ५ सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगितामा कुल १४ टिमको सहभागिता रहेको आयोजकले जनाएको छ ।
पोखरा: सशस्त्र प्रहरी बल नेपाल नं ४ मुक्तिनाथ बाहिनी मुख्यालयको आयोजनामा पोखरामा ‘बाहिनीपति कप २०८०’ सुरु भएको छ । नेपाल सशस्त्र प्रहरी बलले फागुन र चैत्र महिनालाई खेलकुद महिना घोषणा गरी देशै भरका सशस्त्र प्रहरी कर्मचारिहरुको शारीरिक, मानसिक विकास तथा आपसी भाइचारा अभिवृद्वि गर्ने उदेश्यसहित पोखरामा पनि बाहिनीपति कप सुरु भएको हो । उक्त कप आगामी ११ गतेसम्म सञ्चालन हुनेछ । बाहिनीपति कपको उद्घाटन बाहिनीका सहायक बाहिनिपति सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक कृष्णराज पाठकले गरे । सो अवसरमा बोल्दै सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक पाठकले सशस्त्र प्रहरी कर्मचारिहरुको शारीरिक, मानसिक विकास तथा आपसी भाइचारा अभिवृद्वि गर्न उक्त प्रतियोगिताले सघाउ पुर्याउने धारणा राखे । उक्त प्रतियोगितामा गण्डकी प्रदेश भित्रका सबै इकाईहरुको सहभागिता रहेको छ । उक्त कपमा भलिबल तथा एथ्लेटिक्सका विभिन्न खेलहरु समावेश गरिएको छ । सो कपमा गण्डकी प्रदेश अन्तरगतका ३० जना महिला सशत्र प्रहरी कर्मचारीसहित कुल २१७ जना सशस्त्र प्रहरी कर्मचारीको सहभागिता रहेको छ । सोही कपबाट छनोट भइ आइजिपी कपमा भाग लिने सशस्त्र प्रहरी बल नेपाल नं ४ मुक्तिनाथ बाहिनी मुख्यालयले जनाएको छ ।
प्युठान: सञ्चार तथा सूचना प्रविधि मन्त्री एवम् नेपाल सरकारका प्रवक्ता रेखा शर्माले सरकार दुरदराजमा इन्टरनेट सेवा पुर्याउने अभियानमा रहेको बताउनुभएको छ । झिमरुक गाउँपालिकामा सञ्चालनमा आएको नेपाल टेलिकमको फाइबर नेट सेवा शुभारम्भ गर्दै उहाँले सबै जिल्ला र पालिकामा उच्च प्रविधिको इन्टरनेट सेवा पुर्याउने नीतिअनुसार काम भइरहेको बताउनुभयो । उहाँले गुणस्तरीय सेवा प्रवाहको सुनिश्चितताका लागि नेपाल टेलिकमका प्रतिनिधिलाई निर्देशनसमेत दिनुभयो । मन्त्री शर्माले चालु आर्थिक वर्षमा हुम्लाबाहेक सबै जिल्लामा नेपाल टेलिकमको एफटीएचएच सेवा पुग्ने बताउनुभयो । शर्माले भन्नुभयो, “इन्टरनेट सेवा पालिका हुँदै वडासम्म पुर्याउन सके जनताले सहज इन्टरनेट सेवा पाउने र टेलिकमको आम्दानी वृद्धि हुनेछ, यसलाई सबै स्थानीय तहसँग समन्वय गरेर योजना निर्माण गरी काम भइरहेको छ ।” मन्त्री शर्माले नेपाल टेलिकम सकारात्मक प्रतिस्पर्धा गरेर अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । नेपाल सरकारले डिजिटल नेपालको कार्यक्रम अघि बढाएकोमा टेलिकम सहयोगी भूमिकामा रहनु पर्ने उहाँको तर्क छ । सात गाउँपालिका र दुई नगरपालिका गरी नौ स्थानीय तह रहेको प्युठानका चार स्थानीय तहमा प्युठान र स्वर्गद्वारी नगरपालिका, मल्लरानी र माण्डवि गाउँपालिकामा नेपाल टेलिकमको एफटीएचएच सेवा पुगेकोमा आजदेखि झिमरुक गाउँपालिका समेत सेवा पुगेको नेपाल टेलिकम तुल्सीपुरका प्रमुख सन्तोष शर्माले बताउनुभयो । उहाँका अनुसार ऐरावती, सरुमारानी र नौबहिनी गाउँपालिकामा सेवा प्रवाहका लागि सर्वे भइसकेको र गौमुखीमा सर्वेको तयारी गरिएको छ । हाल नेपाल टेलिकमले यहाँ चार हजार छ सय आठ जनालाई सेवा दिन पुग्ने फाइबर नेट उपलब्ध गराएको छ । त्यसमध्ये एक हजार छ सय १८ जनालाई सेवा प्रवाह गरिएको छ । प्युठानमा ३७ वटा फोरजी टावर सञ्चालनमा रहेको नेपाल टेलिकमले जनाएको छ । त्यस अवसरमा नेपाल टेलिकम लुम्बिनी प्रदेशका प्रादेशिक निर्देशक अनन्तप्रसाद मल्लिक, भैरहवाका उप(प्रबन्धक कुश्माकर न्यौपाने, नेपाल टेलिकम बिजुवारका कार्यालय प्रमुख निरञ्जन श्रेष्ठलगायतको उपस्थिति थियो ।

