पोखराः लेखनाथको भण्डारढिकमा सम्पन्न सूर्य तारा नेकोस खेल महोत्सवमा फुटबलतर्फको उपाधि एलसी ब्रदर्शले जितेको छ । भण्डारढिक खेलमैदानमा आज (शनिबार) भएको फाइनल खेलमा घरेलु टोली आदर्श युवा क्लबलाई १–० गोल अन्तरले पराजित गर्दै एलसी ब्रदर्श च्याम्पियन बनेको हो । एलसी ब्रदर्शको जीतमा म्यान अफ द म्याच बनेका किशोर गुरुङले निर्णायक गोल गरे । उपाधिसँगै एलसी ब्रदर्शले नगद रु ३ लाख ३ हजार ३ सय ३३, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । यस्तै उपविजेता बनेको आदर्श क्लबले १ लाख ७७ हजार ७ सय ७७ सहित शिल्ड, मेडल र प्रमाणपत्र हात पारे । विधागततर्फ उत्कृष्ट गोलरक्षकका रुपमा एलसी ब्रदर्शका सन्दीप राउत घोषित भए । यस्तै उत्कृष्ट डिफेन्डरका रुपमा आदर्श क्लब भण्डारढिकका अर्जुन गुरुङ र सर्वाधिक गोलकर्ताका रुपमा विकाश परियार पुरस्कृत बने । सो प्रतियोगिताबाट अनुशासित टिमको रुपमा आरएस बिच फुटबल क्लब पुरस्कृत भए । गत ३ गतेदेखि सञ्चालनमा रहेको सो प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको थियो ।
बझाङ: बझाङमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् । गए राति जयपृथ्वी नगरपालिका–६ नौरामा चट्याङ लागेर स्थानीय ५२ वर्षीय गजेन्द्रबहादुर सिंहको मृत्यु भएको हो । चट्याङमा घाइते हुने एक जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ भने बाँकी सामान्य घाइते भएका प्रहरीले जनाएको छ । घाइते हुनेमा मृतक सिंहकी १८ वर्षीया छोरी शान्ति सिंह, ३० वर्षीय धीरेन्द्रबहादुर सिंह, उहाँकी श्रीमती निशा सिंह, छोरी कृतिका सिंह, ४० वर्षीया पञ्चादेवी सिंह, उहाँको छोरा ९ वर्षीय नितेश सिंह र छोरी १३ वर्षीया लक्ष्मी सिंह रहेका छन् । जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी दिपेश चौधरीका अनुसार घाइतेमध्ये लक्ष्मी सिंहको अहिले जिल्ला अस्पतालमा उपचार भइरहेको छ । स्वर्गीय सिंहको शव परीक्षणका लागि जिल्ला पुर्याउने तयारी भइरहेको छ ।
पोखरा: नेपालमा दुई दशकदेखि खेल पोशाक तथा सामाग्री उत्पादक साहस स्पोर्टस्ले आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई साथ दिने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा वैशाख २१ गते पोखरा सभागृह हलमा आयोजना हुने ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई सफल पार्न साहस स्पोर्टस् प्रा.लि. काठमाण्डौंले सहयोग गर्दै साथ दिने भएको मञ्चले जनाएको छ । हालै साहस स्पोर्टस्का प्रबन्ध निर्देशक जनक न्यौपाने र मञ्चका अध्यक्ष दीननाथ बराल बिच सम्झौतापत्रमा हस्ताक्षर भएकोे हो । साहसले अवार्ड सफल पार्न करिब ५० हजार बराबरको सहयोग गर्ने भएको मञ्चका अध्यक्ष दीननाथ बरालले बताए । काठमाण्डौंको चाइना टाउनमा रहेको साहस स्पोर्टस्ले खेल सम्बन्धी जर्सी, ट्रयाकसुट, टिसर्ट, झोला लगायत १२ प्रकारका सामानहरु उत्पादन गर्दै आइरहेको स्पोर्टस्का प्रवन्ध निर्देशक जनक न्यौपानेले जानकारी दिए । मञ्चले हरेक वर्ष गर्दै आएको अवार्डमा यस पटक सहकार्य गर्ने अवसर दिएकोमा साहसका प्रबन्ध निर्देशक न्यौपानेले धन्यवाद दिदै आगामी दिनमा पुनः सहकार्य गर्ने प्रतिवद्धता जनाए । मञ्चका अध्यक्ष बराल सहित सचिव शशीकुमार पौडेल सहितको टोली उक्त अवार्ड सफल पार्न पूर्व तयारी स्वरुप काठमाण्डौं जाने क्रममा साहससहित हाम्रो हस्तकलाले समेत अवार्डलाई यस वर्ष सहयोग गर्ने प्रतिवद्धता जनाएको छ । अवार्ड कार्यक्रम मार्फत वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उदीयमान खेलाडी, लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष उत्कृष्ट खेलकुद संघसंस्था वा क्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड प्रदान गरिने महासचिव राजाराम पौडेलले जनाए । अवार्ड कार्यक्रममा गण्डकी प्रदेश सरकारको विशेष सहयोग रहनेछ भने पोखरा महानगरपालिकाले प्रवद्र्धन गर्नेछ । राष्ट्रिय खेलकुद परिषदले समेत अवार्ड कार्यक्रममा सघाउनेछ । अफिसियल रिसोर्टको रुपमा पोखरा लेकसाइडमा रहेको मझेरी रिर्सोट एण्ड स्पा रहेको छ । थप सहयोगी व्यक्ति तथा संस्था जोडिने क्रम जारी रहेको मञ्चले जनाएको छ । खेलाडी तथा खेल क्षेत्रमा क्रियाशिललाई उर्जा थप्न मञ्च गण्डकीले २०७२ सालदेखि हरेक वर्ष पोखरा स्पोर्ट्स अवार्ड गर्दै आएको छ ।
पोखरा: पूर्व फुटबल रेफ्री स्वर्गीय कृष्ण गिरीको सम्झनामा पोखराको बाराहीघाटमा सम्पन्न पहिलो संस्करणको एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिताको उपाधि लेकसाइड पहेंलोले जितेको छ । बाराहीघाटस्थित खेलमैदानमा आज भएको फाइनल खेलमा गार्डेन एफसीलाई पेनाल्टी सुटआउटमा ३–२ गोलले पराजित गर्दै लेकसाइड पहेंलोले उपाधि जितेको हो । खेलको निर्धारित समय गोलरहित भएपछि पेनाल्टी सुटआउटमा धकेलिएको थियो । पेनाल्टी सुटआउटमा लेकसाइड पहेंलोका गोलरक्षक विशाल बस्नेतले गार्डेन एफसीका विनोद गुरुङको प्रहार बिफल बनाउँदै उपाधि चुमाए । उनै बस्नेत प्रतियोगिताको उत्कृष्ट गोल रक्षक बन्दै ५ हजार पुरस्कार प्राप्त गरे । उपाधिसँगै विजेता बनेको लेकसाइड पहेंलोले नगद १ लाख १ हजार १ सय ११ शिल्ड, मेडल तथा प्रमात्रपत्र प्राप्त ग¥यो । यस्तै प्रतियोगिताको उपविजेता गार्डेन एफसीले ५१ हजार १ सय ११ रुपैयाँ, शिल्ड, मेडल तथा प्रमाणपत्र हात पार्याे । प्रतियोगितामा लेकसाइड पहेंलोका मिली गुरुङ सर्वोकृष्ट खेलाडी घोषित हुँदै १० हजार रुपैयाँ प्राप्त गरे । यस्तै प्रतियोगितामा सर्वाधिक गोलकर्ताका रुपमा एनए भेट्रानका कन्या गुरुङले (५ गाेल)५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगिताको अनुशासित टिम लेकसाइड सेतोले १० हजार रुपैयाँ पुरस्कार प्राप्त ग¥यो । यस्तै उत्कृष्ट प्रशिक्षकका रुपमा लेकसाइड पहेंलोका राम भुजेल घोषित भए । विजेता तथा उपविजेता टोलीका खेलाडीहरुलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका गण्डकी प्रदेश सभा सदस्य प्रकाश बराल तथा पुरस्कारदाताहरुले पुरस्कार वितरण गरेका थिए । फाइनल खेलपूर्व महिला टोलीको मैत्रीपूर्ण खेल आयोजना गरिएको थियो । पोखरामा सामाजिक र खेलकुदको क्षेत्रमा क्रियाशिल बिक्कु गिरी, विषम पहारी र सञ्जय बुढाथोकीको सयुक्त रुपमा प्रतियोगिता आयोजनामा गरेका थिए । सो प्रतियोगितामा कुल १४ टिमले सहभागिता जनाएका थिए ।
पोखरा: सिन्धुपाल्चोकका ३४ वर्षीय रामबहादुर तामाङ पेशाले स्काभेटरको चलाउथे । सिन्धुपाल्चोकको एक हाइड्रोपावरमा स्काभेटर चलाउँदै आएका तामाङ चैत १ गते कामका लागि मादी गाउँपालिकामा ३ जना साथीसँग आए । मादी गाउँपालिकामा अहिले हाइड्रोपावर निर्धाणाधिन छ । गएको फागुन अन्तिम हप्ता घरमा आमा बुवालाई सिन्धुपाल्चोकको मेलन्ची हाइड्रोपावरमा काम गर्न जान्छु भनेर निस्किएका रामबहादुर तामाङ ३ जना साथीसँग फागुन ३० गते सिक्लेसस्थित निर्माणाधिन हाइड्रोपावरमा काम गर्न काठमाडौंबाट रात्रीबस चढे । उनी सँगै आएका मध्ये धन लामालाई रामबहादुरकी श्रीमती कान्छी लामाले रामबहादुरको हत्या गर्न सुपारी दिएका थिए । मृतक रामबहादुरकी श्रीमती कान्छी लामा तामाङको योजना अनुसार धन लामाले सिक्लेसमा उनको हत्या गरेको पुष्टि गर्दै हत्या आरोपी ४ जनालाई आज सार्वजनिक गरेको छ । सिन्धुपाल्चोकमा योजना सिक्लेसमा हत्या चैत ३ गते कास्कीको मादी गाउँपालिका–१ तउरेली नजिक सिक्लेस हाइड्रोपावर जाने कच्ची सडक खण्डको अन्दाजी २५÷३० मिटर तल एक पुरुषको शव भेटिएको सूचना वडाध्यक्ष हुँदै कास्की प्रहरीले पायो । शव भेटिएको सूचनापछि वडा प्रहरी कार्यालय रामबजार र नेपाल प्रहरी गण्डकी प्रदेश पोखराबाट खटिएको प्रहरीको टोलीले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ गुम्बा बोल्दे बस्ने ३६ वर्षीय रामबहादुर तामाङ रहेको पुष्टि ग¥यो । शवको अवस्थामा हेर्दा कसैले हत्या गरेर फालेको हुनसक्ने अनुमान गरी घटनास्थलमा तालिम प्राप्त कुकुरसमेत लगेर अनुसन्धान गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रहरी प्रमुख एवम् प्रहरी नायव उपरीक्षक श्रवणकुमार विकले बताए । हत्या गरिएको अवस्थामा भेटिएका मृतक रामबहादुरसँग तीन जना साथीहरु रहेको सूचना पाएको कास्की प्रहरीले उनीहरुको खोजी कार्य अगाडि बढाउँदा विभिन्न जिल्लाबाट तीनजनासहित उनको श्रीमतीलाई प्रकाउ गर्न सफल भएको बिकले बताए । उनका अनुसार रामबहादुरको हत्या आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको सहयोगमा धन लामा, नविन तामाङ भन्ने फुर्वा लामा, अजित तामाङ भन्ने छे दोर्जे लामा र मृतक रामबहादुरकी श्रीमती च्याङ्मा लामा तथा पेम्बा लामा भन्ने कान्छी लामा तामाङ रहेका छन् । मृतक रामबहादुरकी श्रीमतीले श्रीमानसँग अलग भएर बस्ने योजना बनाएको र धन लामालाई त्यसको जानकारी दिएको अनुसन्धानमा खुल्न आएको कास्की प्रहरीका डिएसपी विकले बताए । ‘रामबहादुरकी श्रीमतीले श्रीमानसँग छुट्टिएर बस्ने योजना बनाएको र रामबहादुरको हत्या गर्न धन लामालाई कान्छी तामाङले केही रकम दिनसमेत तयार भएको अनुसन्धानमा खुल्न आएको छ, डिएसपी विकले भने, ‘मृतक रामबहादुरले सिन्धुपाल्चोकको हाइड्रोपावरमा काम गर्ने क्रममा धन लामालाई पछाडीबाट ढुङ्गा प्रहार गरी घाइते बनाएको रिसिबी लिएको अनुसन्धानमा खुलेको छ ।’ सिक्लेसमा निर्माणाधिन हाइड्रोपावरमा काम गर्न जाने क्रममा मदिरा सेवन हिडिरहेको अवस्थामा मृतक रामबहादुरले धन लामालाई अपशब्द बोल्दै गाली गरेपछि पछाडिबाट ढुङगा प्रहार गरेर हत्या गरेको खुल्न आएको उनले बताए । ‘सिक्लेसमा निर्माणाधिन हाइड्रोपावरमा काम गर्न जाने क्रममा मदिसा सेवन गरेर हिडिरहेको अवस्थामा मृतक रामबहादुरले धन लामालाई अपशब्द बोल्दै गाली गरेपछि पछाडिबाट रामबहादुरको टाउको ढुङ्गाले हानेर हत्या गरेको अनुसन्धानमा खुल्न आएको छ ।’ डीएसपी विकले भने । रामबहादुरको हत्या पश्चात अन्य २ जनाले घटना देखेकाले घटना लुकाउन रामबहादुरको श्रीमतीलाई केही रकम पठाउन आग्रहसमेत गरेको अनुसन्धानमा खुल्न आएको डीएसपी विकले बताए । ‘हाइड्रोपावरमा काम गर्न जाने क्रममा रामबहादुरको हत्या गरेका धन लामाले हत्या गरेको अरु २ जनाले देखेकाले घटना लुकाउन पैसा चाहिएको मृतककी श्रीमतीलाई भनेका छन, उनले भने, ‘धन लामाले घटना लुकाउन पैसा मागेपछि मृतककी श्रीमतीले लामाको इ–सेवा खातामा ९० हजार रुपैयाँ पठाएको खुल्न आएको छ ।’ मृतककी श्रीमती कान्छी लामा तामाङले धन लामाको खातामा पठाएको ९० हजार मध्ये छे–दोर्जे लामा र फुर्वा लामालाई २०÷२० हजार दिएर बाँकी ५० हजार रुपैयाँ धन लामाले राखेको प्रहरीले जनाएको छ । हत्या आरोपमा प्रकाउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट कर्तव्य ज्यान मुद्धामा म्याद थप गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । श्रीमान श्रीमतीबीच ५ वर्षदेखि मनमुटाव मृतक रामबहादुर तामाङ र उनकी श्रीमती च्याङ्मा लामा तथा पेम्बा लामा भन्ने कान्छी लामा तामाङबीच ४÷५ वर्षदेखि मनमुटाव देखिएको प्रहरीले जनाएको छ । श्रीमान श्रीमतीबीच मनमुटाब भएकाले छुट्टाछुट्टै बस्दै आएपनि श्रीमानले २ वर्ष अगाडि अर्को बिहे गरेको थाहापाएपछि श्रीमती कान्छी लामाले अदालतमा बहुबिबाहको मुद्धासमेत हालेको अनुसन्धानमा खुल्न आएको अनुसन्धानबाट खुल्न आएको बिकले बताए । मृतक रामबहादरर बहुबिबाह मुद्धामा ६/७ महिना कारागार बसेर निस्किएपछि उनीहरुबीच रिसिबी र झगडा हुने गरेको अनुसन्धानमा खुल्न आएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: नेपाली कांग्रेस निकट भातृ संस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघ गण्डकी प्रदेशको अधिवेशन शनिबार पोखरामा हुदैछ । प्रदेशको नेतृत्व चयनका लागि हुने अधिवेशन पोखरा सभागृहमा हुने शुक्रबार पोखरामा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको अधिवेशन संयोजक तथा महासंघकी केन्द्रीय सदस्य रेनुका काउचाले जानकारी दिइन् । अधिवेशनको उद्घाटन नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले गर्ने उनले बताइन् । सामाजिक, आर्थिक, राजनीतिक अधिकारको बहस पैरवी गर्दै न्याय र समानताका लागि स्थापित गर्न महासंघको प्रथम गण्डकी प्रदेश अधिवेशन हुन लागेको उनको भनाइ थियो । अधिवेशनमा गण्डकीका ११ जिल्लाबाट जनजाती अन्र्तगत विभिन्न जातजातिको प्रतिनिधितित्व हुनेगरि ३ सय ७८ जना प्रतिनिधि सहभागी हुने उनले बताइन् । अधिवेशन सम्पन्न गर्न काउचाको संयोजकत्वमा १०१ सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । जसअनुसार आर्थिक समितिमा सुनिल गुरुङ, आवास तथा खाना व्यवस्थापन समितिमा जीतबहादुर गुरुङ, अथिति सत्कारमा सिता गुरुङ, शान्ति सुरक्षा र समन्वय समितिमा नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य सिता गुरुङ र मञ्च ब्यबस्थापन समितिमा अजय गुरुङ र प्रचारप्रसार समितिमा राजबहादुर गुरुङ संयोजक रहेका छन् । अधिवेशनपूर्व पोखराको चिप्लेढुंगाबाट सांस्कृतिक ¥याली निकालिने संयोजक काउचाले जानकारी दिइन् । ¥याली चिप्लेढुंगा न्युरोड हुँदै सभागृहमा पुगी उदघाटन समारोहमा परिणत हुनेछ । ¥यालीमा महासंघ अन्तर्गतका भातृ तथा शुभेच्छुक संस्थाका प्रतिनिधि साथै पार्टीका विभिन्न जिम्मेवार तहमा रहकाहरुको सहभागिता रहने उनले बताइन् । महासंघले विभिन्न जिल्ला र नगर तथा गाउँपालिकामा तदर्थ समिति गठन गरि सम्बन्धित तहमा अधिबेशन समेत सम्पन्न गरेपछि अहिले प्रदेश अधिबेशन हुन लागेको हो । अधिवेशनले ३९ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ ।
काठमाडौं : तीन पाकिस्तानी खेलाडी सम्मिलित टिप टप हेल्प नेपालले आठौं संस्करणको आरबीबी एनभीए भलिबल च्याम्पियनसिप अन्तर्गत पुरुषतर्फ पहिलो सेमिफाइनल खेलमा गण्डकी प्रदेशलाई सोझो सेटमा हराउँदै फाइनलमा पुगेको छ । तीन पाकिस्तानी खेलाडी फखार उबैदिन, उस्मान अलि र कासिफ नदिम सम्मीलित हेल्प नेपालले शुक्रबार राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को कभर्डहलमा भएको पहिलो सेमिफाइनल खेलमा टिपटप हेल्प नेपाल २५–१९, २७–२५, २५– १९ ले विजयी भएको हो । पहिलो सेटमा हेल्प नेपालले सहज जित हात पारेको थियो । दोस्रो सेटको सुरुवातमा गण्डकीले अग्रता लिएको थियो । दुई अंकले पछि परेको अवस्थामा हिमाल सुनारी र रवि केसीले अंक जोड्दै खेलमा फर्काउदै १६–१६ बराबरी गरेका थिए । तर टाउम आउट लिएपछि हेल्प नेपालले ४ अंक जोडेपछि गण्डकीलाई कठिन देखिएको थियो । तर गण्डकीले अन्तिम समयमा लगातार चार अंक बटुलेपछि खेल २४–२४ को रोमान्चक बराबरीमा पुगेको थियो । तर हेल्प नेपालले २७–२५ ले जित्दै सेटमा २–० को अग्रता लिएको थियो । तेस्रो सेटको सुरुवात पनि प्रतिस्पर्धात्मक थियो । १२ बराबरबाट हेल्प नेपालले लगातार पाँच अंक जोडेपछि सोझो सेटमा जित तर्फ अघि बढेको थियो । दोस्रो सेमिफाइनल खेल नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच दिउँसो साढे ३ बजे हुनेछ । उक्त खेलको विजेतासँग हेल्प नेपालले शनिबार फाइनल खेल्नेछ । आज महिलातर्फ तेस्रो स्थानको लागि भएको खेलमा नेपाल एपीएफ क्लबले न्यू डायमण्डलाई ३–१ ले हराएको हराएको थियो । एपीएफले २५–२२, २३–२५, २५–१४, २५–२१ को जित हात पारेको थियो । महिला र पुरुषतर्फ दुबै फाइनल शनिबार हुनेछ । फाइनलमा महिलातर्फ एभरेष्ट भलिबल क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगिताको महिला र पुरुष दुवैतर्फको विजेताले ५ लाख, दोस्रोले २ लाख ५० हजार र तेस्रो टोलीले १ लाख २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट पुरुष तथा महिला खेलाडीले समान ४० हजार रुपैयाँ पाउनेछन् । विधागत उत्कृष्ट सेटर, ब्लकर, सर्भर, स्पाइकर, लिवेरो र प्रशिक्षकले १५–१५ हजार प्राप्त गर्नेछन् ।
पोखरा: नेपाल कम्युनिष्ट पार्टी एमाले कास्कीको ११ औं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ । नेकपा एमाले कास्कीले पोखरामा आज (शुक्रबार) पत्रकार सम्मेलन गर्दै अधिवेशनको तयारी पूरा भएको जानकारी दिएको हो । नेकपा एमाले कास्कीका अध्यक्ष एवम् प्रतिनिधि सभा सदस्य मनबहादुर गुरुङले कास्कीको जिल्ला अधिवेशनको तयारी पूरा भएको जानकारी दिदै उद्घाटन गर्न पार्टी अध्यक्ष केपी ओली आउने बताए । ‘नेकपा एमालेको कास्कीको ११ औं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ’, जिल्ला अध्यक्ष गुरुङले भने, ‘पोखरामा हुने जिल्ला अधिवेशनको उद्घाटन गर्न पार्टी अध्यक्ष केपी शर्मा ओली गर्ने कार्यक्रम तय भएको छ ।’ उनका अनुसार ११ औं जिल्ला अधिवेशनमा ७२ वडा, जनसंगठन, सल्लाहकार परिषद्, इलाका कमिटी शाखा लगायतबाट ९३५ जना प्रतिनिधि सहभागी हुनेछन् । अधिवेशनमा अध्यक्ष मनबहादुर गुरुङले राजनीतिक प्रतिवेदन, सचिव बैनबहादुर अधिकारीले संगठनात्मक प्रतिवेदन र कोष तथा वित्त व्यवस्थापन विभाग प्रमुख चिरञ्जीवी पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । बन्दशत्रको छलफलले प्रस्तुत प्रतिवेदन पारित गर्नेछ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नेछ ।

