पोखरा: पोखरा महानगरपालिका–२३ पन्चासेकी एक महिला खाना पकाउने क्रममा आफैले लगाएको कपडामा एक्कासी आगो लाग्दा जलेर घाइते भएकी छिन् । बिहीबार बेलुका आफ्नै घरमा खाना पकाउने क्रममा आफैले लगाएको कपडामा एक्कासी आगो लाग्दा ८२ वर्षीय भैखु नेपाली जलेर घाइते भएकी हुन् । खाना पकाउने क्रममा आफैले लगाएको कपडामा आगो लागेर जलेर घाइते भएकी नेपालीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको वडा प्रहरी कार्यालय बैदामले जनाएको छ । नेपालीको दुवै खुट्टा र कम्मरको ३६ प्रतिशत भाग जलेको प्रहरीले जनाएको छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकको सुसूचित हुन पाउने संवैधानिक हक कार्यान्वयन गर्न प्रेस स्वतन्त्रता अनिवार्य रहेको बताउनुभएको छ । उहाँले प्रेस स्वतन्त्रताले शासन प्रणालीलाई पारदर्शी र उत्तरदायी बनाउन मद्दत पुग्ने विश्वाससमेत व्यक्त गर्नुभएको छ । विश्व प्रेस स्वतन्त्रता दिवस, २०२४ को शुभकामना दिँदै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो । उहाँले सन्देशमा भन्नुभएको छ, “स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो ।” बहुलवादमा आधारित पत्रकारिताको अभ्यासले समाचारमाथि नागरिकको सहज पहुँच स्थापित हुने बताउँदै उहाँले यस प्रकारको पत्रकारिताले सञ्चार माध्यमबाट सबै वर्ग समुदायको आवाज मुखरित हुने विश्वास व्यक्त गर्नुभएको छ । प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ, लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने बताउँदै उहाँले सूचना सङ्कलनदेखि त्यसलाई प्रवाह गर्ने प्रक्रियासम्म निर्बाध रूपमा संलग्न हुन पाउनु नै सही अर्थमा प्रेस स्वतन्त्रता हो भन्नुभएको छ । युनेस्कोले तय गरेको ‘पृथ्वीका लागि प्रेसः वातावरणीय सङ्कटको युगमा पत्रकारिता’ भन्ने नाराले समेत वातावरणीय सङ्कट निवारणमा प्रेसको भूमिका अपेक्षा गरेको उहाँको भनाइ छ । सन्देशमा उल्लेख छ, “नेपाली सञ्चार जगत् संविधानप्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ निर्भयपूर्वक लागिरहने छ भन्ने पूर्ण विश्वासका साथ राज्यका तीन वटै अङ्गलाई सजग र सतर्कतापूर्वक कार्यसम्पादन गर्न र आमनागरिकलाई सत्य सूचना सम्प्रेषित गर्न प्रेस जगत्लाई सफलता प्राप्त होस् भन्ने शुभकामना दिन चाहन्छु ।”
काठमाडौं: आज ३१ औँ विश्व प्रेस स्वतन्त्रता दिवस, ‘विश्वका लागि प्रेस: वातावरणीय सङ्कटको सामनामा पत्रकारिता’ नाराका साथ प्रेस स्वतन्त्रताको वातावरण सुनिश्चित हुनुपर्नेमा जोड दिँदै नेपालसहित विश्वभर मनाइदै छ । स्वतन्त्र एवं बहुलवादी प्रेसका लागि विन्डहक घोषणापत्र’ जारी गरेको दिनको सम्झनामा मे ३ तारिखलाई प्रेस स्वतन्त्रता दिवसको रुपमा मनाइने गरेको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को)को आयोजनामा अफ्रिकी राष्ट्र नामिबियाको विन्डहक शहरमा भएको पत्रकारहरुको सम्मेलनले ‘बहुलवादी र स्वतन्त्र प्रेसको लागि विण्डहक घोषणापत्र’ जारी गरेको सम्झनामा सन् १९९३ देखि संयुक्त राष्ट्रसङ्घले यो दिवस मनाउने निर्णय गरेको हो । जनताको सधैँ सबै प्रकारका सूचनामा पहुँच हुनुपर्छ र पत्रकारहरूलाई आफ्नो काम गर्न सुरक्षित वातावरण सुजनामा सरकारले सहयोग गर्नुपर्छ भन्ने बुझाउन पनि यो दिवस मनाउन थालिएको हो । यो दिवसले सत्य सम्प्रेषण गर्ने र प्रेस स्वतन्त्रताको सदैव सम्मानको सुनिश्चिततालाई केन्द्रमा राखेको छ । यसै अवसरमा युनेस्कोको आयोजनामा चिलीको राजधानी सान्टियागोमा सम्मेलन भइरहेको छ ।
पोखरा: पोखरा महानगरपालिका–१७ छोरेपाटनबाट २ जना लागूऔषधसहित प्रकाउ परेका छन् । लागूऔषध नियन्त्रण व्यूरो शाखा पोखरा र जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीको टोलिले ७५ एम्पुल लागूऔषधसहित २ जनालाई प्रकाउ गरेको हो । प्रहरीले बरामद गरेको लागूऔषध । फोटो: कास्की प्रहरी स्याङ्जाको पुतलीबजार नगरपालिका–८ बाहाकोट बस्ने ३५ वर्षीय भिमबहादुर शाही र छोरेपाटनका ३८ वर्षीय राजेन्द्र विकलाई नुर्फिन २५ एम्पुल, डाईजापाम २५ एम्पुल र फेनरागन २५ सहित प्रकाउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । प्रकाउ परेका उनीहरुलाई जिल्ला अदालत कास्कीबाट लागूऔषध सम्बन्धी मुद्धामा १० दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
पोखरा: जिल्ला ट्राफिक कार्यालय कास्कीले समयमा नै सवारी साधनहरुको सर्भिसिङ नगर्ने, सवारी साधनको जाँचपास नगरेको ११ वटा बसलाई नियन्त्रणमा लिएको छ । सवारी साधनहरुको समयमा नै सर्भिसिङ नगर्ने, सवारी साधनेको जाँचपास नगरेको कारण सवारी साधनबाट कालो धुवा फाल्ने सवारी साधनबाट उत्सर्जन प्रदुषणले वायु प्रदुषण गराउने जनगुनासोपछि ट्राफिक प्रहरीले अनुगमनपछि सर्भिसिङ समयमा नगर्ने र जाँचपास फेल भएका बस नियन्त्रणमा लिएको हो । ट्राफिक प्रहरीले पोखरा महानगर क्षेत्रभित्र चल्ने जाँचपास फेल भएका ९ वटा र जाँचपास नभएका २ वटा सार्वजनिक बसलाई नियन्त्रणमा लिएको हो । यातायात व्यवस्था कार्यालय कास्की र जिल्ला ट्राफिक कार्यालय कास्कीको सयुक्त रुपमा खटिएको टोलिले पोखरा महानगर–४ बिपीचोकमा घुम्ति प्रदुषण अनुगमन गर्दा ३५ मध्ये ३० वटा सवारी साधन मापदण्ड विपरित फेला भएको पाइएपछि कानूनी कारवाहीका लागि यातायात व्यवस्था कार्यालय पठाएको छ ।
पोखरा: आगिलागीबाट पुर्ण रुपमा क्षति भएको पोखरा ८ सिर्जनाचोकमा रहेको नैना दोहोरी सांझलाई पोखरा लोकदोहोरी रेष्टुरेन्ट ब्यवसायी संघको पहलमा संकलित सहयोग रकम प्रदान गरिएको छ । संघको पहलमा संकलित २ लाख ११ हजार ६ सय १० रुपैयाँ राष्ट्रिय लोकदोहोरी ब्यवसायी संघका अध्यक्ष बनोद श्रेष्ठको नेतृत्वको टोलिले नैना दोहोरी सांझका सञ्चालक विष्णु आचार्य कमल र आचार्यका श्रीमती सुनिता आचार्यलाई प्रदान गरिएको हो । सो अवसरमा बोल्दै नेपाल राष्ट्रिय लोकदोहोरी व्यवसायी संघका अध्यक्ष बिनोद श्रेष्ठले व्यवसायीहरु एक अर्कालाई परेको दुःखमा साथ दिन तयार रहेको बताउदै विभिन्न ठाँउमा छरिएर रहेको व्यवसायीहरु बीच सहकार्य गरेर सहयोग गर्न पाउदा खुसी लागेको बताए । अर्कालाई परेको दुख पिडा लाई पनि आफ्नै ठानेर सहयोग गर्ने सम्पूर्ण संघ संस्था र ब्यवशायीहरुलाई समेत उनले धन्यवाद ब्यक्त गरे । नैना दोहोरी सांझका सञ्चालक सुनिता आचार्यले आफुहरुको पिडामा मलम लगाउने काम गरेकोमा सहयोगी प्रति धन्यवाद ब्यक्त गरिन । संघको पहलमा संकलित रकम राष्ट्रिय लोकदोहोरी ब्यवशायी संघ बाट ५५ हजार ५ सय ५५, नेपाल राष्ट्रिय लोकदोहोरी व्यवसायी संघबाट ५० हजार, नेपाल रात्रिकालीन मनोरन्जन ब्यवसायी संघ कोटेश्वर बाट ५१ हजार, रात्रिकालिन मनोरन्जन ब्यवसायी संघ चाबहिलबाट २० हजार, पोखरा लोकदोहोरी रेष्टुरेन्ट ब्यवसायी संघबाट २५ हजार, गोधुली दोहोरी सांझ बुटवलका सञ्चालक राम न्यौपानेबाट ५ हजार, मादी सेती दोहोरी सांझ दमौलीका सञ्चालक सुभद्रा श्रेष्ठबाट ५ हजार ५५ गरि जम्मा २ लाख ११ हजार ६ सय १० रुपैया प्रदान गरिएको पोखरा लोकदोहोरी ब्यवसायी संघको अध्यक्ष जीवन गुरुङले जानकारी दिए । गुरुङका अनुसार संघले अफ्ठेरोमा परेका ब्यवसायी तथा कलाकारहरुलाई कोरोनाको समयमा पनि सहयोग गरेको बताउदै आगामी दिनमा पनि ब्यवसायी र कलाकारहरुको संरक्षणमा संघ कटिवद्ध भएर लाग्ने बताए । सहयोग कार्यक्रममा पोखरा लोकदोहोरी रेष्टुरेन्ट ब्यवसायी संघका सल्लाहकार चन्द्र गुरुङ, उपाध्यक्ष बिरेन्द्र के.सी., कोषाध्यक्ष विष्णु गुरुङ लगायतको उपस्थिती रहेको थियो ।
पोखरा: पोखरामा आफ्नो छोरीसँग झगडा गरेको भन्दै एक युवतीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाउने ४७ वर्षीय सोमबहादुर परियारलाई प्रहरीले प्रकाउ गरेको छ । आफ्नो छोरीसँग झगडा गरेको भन्दै एक युवतीलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएको सूचनापछि अनुसन्धानका लागि खटिएको वडा प्रहरी कार्यालय बैदामको टोलिले परियारलाई बैशाख १७ गते (सोमबार) पोखरा महानगरपालिका–६ डिहिगोपाटनबाट प्रकाउ गरेको हो । स्याङ्जाको पुतलीबजार नगरपालिका–२ स्थायी घर भई पोखरा–२ बस्दै आएका परियारले छोरीसँग झगडा गरेको विषयलाई लिएर युवतीलाई धारिलो छुरा टाउकोमा प्रहार गरि घाइते बनाएका थिए । प्रकाउ परेका उनलाई जिल्ला अदालत कास्कीबाट ज्यान मार्ने उद्योग कसूरमा ७ दिनको म्याद थप गरेर अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ । सच्चाइएको: पोखरामा छोरीसँग झगडा गरेको भन्दै युवतीलाई धारिलो हतियार प्रहार गर्ने सोम प्रकाउ हुनुपर्नेमा अन्यथा भएकोमा सच्चाइएको छ । त्यसबाट पाठक वर्गमा पर्न गएको असुविधा प्रति क्षमा प्रार्थी छौं ।
काठमाडौं: वेस्ट इन्डिज ‘ए’ ले एक खेल बाँकी छँदै नेपाल विरुद्धको टी–२० सिरिज उपाधि जितेको छ । बिहिवार भएको चौथो खेलमा पनि जित दर्ता गर्दै पाहुना टोलीले एक खेल अगावै ३–१ ले सिरिज जितेको हो । पहिलो खेलमा हार बेहोरेको वेस्ट इन्डिज ‘ए’ ले लगातार तेस्रो जित दर्ता गर्ने क्रममा नेपाललाई २८ रनले पराजित गर्यो । वेस्ट इन्डिजले दिएको २१० रनको विशाल लक्ष्य पछ्याएको नेपाल इनिङको अन्तिम बलमा १८१ रनमा समेटियो । नेपालका लागि कप्तान रोहित पौडेलले लगातार तेस्रो अर्धशतक जडे । रोहितले ४७ बलमा ७ चौका र ५ छक्का प्रहार गर्दै सर्वाधिक ८२ रन बनाए । रोहितले अन्य ब्याटरको साथ नपाउँदा नेपालले हार टार्न सकेन । नेपालको सुरुवात आज पनि राम्रो रहन सकेन । ओपनर आरिफ शेख इनिङको दोस्रो बलमै म्याथ्यु फोर्डद्वारा शुन्यमा नै बोल्ड आउट भए । यस्तौ अर्का ओपनर कुशल भुर्तेल भने पाचौ ओभरको पाचौ बलमा १ रन बनाएर फेबियन एलेनद्वारा बोल्ड भए । चौथो नम्बरमा आएका कुशल मल्ल पनि एक चौका प्रहार गर्दै एलेनकै बलमा रोस्टन चेजद्वारा क्याच आउट भए । पाचौँ नम्बरमा आएका सन्दिप जोराले सुरुवात राम्रो गरेपनि ठुलो स्कोर बनाउन सकेनन् । उनी १४ बलमा १९ रन बनाएर १०औ ओभरमा हेडन वाल्शको शिकार बने । चौथो विकेटको पतन पछि रोहित र दीपेन्द्र मिलेर साझेदारी अगाडी बढाइरहेका थिए । तर १४औ ओभरमा रोहित वाल्शको बलमा लङ(अफमा क्याच आउट भएपछि ५३ रनको सो साझेदारी तोडियो । दीपेन्द्र पनि धेरै बेर क्रिजमा रहेनन् । १७औ ओभरमा १४ बलमा १९ रन बनाएर उनीफोर्डको बलमा चार्ल्सद्वारा क्याच आउट हुन पुगे । सोहि ओभरमा गुलशन झा पनि १९ रन नै बनाएर अथान्जेद्वारा समातिए । अर्को ओभरमा प्रतिश जिसी वाल्शको बलमा शुन्यमै पेभेलियन फर्किए । सोमपाल कामीलाई अन्तिम ओभरमा गुडकेश मोतीद्वारा १० रनमा आउट भए । अन्तिम ओभरको अन्तिम बलमा ललित राजबंशी पनि शुन्यमा स्टम्प आउट भए । वेस्ट इन्डिज ‘ए’ का लागि म्याथ्यु फोर्ड र हेडन वाल्शले समान ३÷३ विकेट लिए । फेबियन अलें र गुडकेश मोतीले २(२ विकेट लिए । त्यसअघि टियु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको वेस्ट इन्डिज ‘ए’ ले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २ सय ९ रन बनायो । वेस्ट इन्डिज ‘ए’ का लागि आन्द्रे फ्लेचरले ५४ बलमा ९ चौका र ४ छक्कासहित अविजित ८४ रनको इनिङ खेले । यस्तै ओपनर जोनसन चार्ल्सले ३० बलमा ३ चौका र ६ छक्कासहित ५८ रन जोडे । फेबियन एलेन १९ बलमा २ चौका र ३ छक्का प्रहार गर्दै ३३ रन बनाएर नटआउट रहे । दोस्रो ओभरमा नै पहिलो विकेट लिएको नेपालले त्यसपछि भने दुई विकेट मात्र निकाल्न सक्यो । आज सिरिजमा पहिलो पटक खेलिरहेका प्रतिश जिसीले नेपाललाई आफ्नो पहिलो बलमा नै पहिलो सफलता दिलाए । दोस्रो ओभरको पहिलो बलमा नै एलिक अथान्जे ५ रन बनाएर सन्दिप जोराद्वारा क्याच आउट भए । दोस्रो विकेटका लागि भने ओपनर जोनसन चार्ल्स फ्लेचर मिलेर ९२ रनको साझेदारी गरे । सो साझेदारी कुशल भुर्तेलले तोडे । चार्ल्स अर्धशतक बनाएर १०औ ओभरको अन्तिम बलमा दीपेन्द्र सिंह ऐरीको हातबाट मिड(विकेटमा क्याच आउट भए । १४औ ओभरमा कुशलले नै नेपाललाई तेस्रो सफलता दिलाए । कुशलले केसी कार्टीलाई ४ रन बनाएको अवस्थामा कप्तान रोहित पौडेलद्वारा क्याच आउट गराए । नेपालका लागि कुशल भुर्तेलले ४ ओभरमा २३ रन दिएर २ विकेट लिए । प्रतिश जिसीले ४ ओभरमा नै ४३ रन दिएर १ विकेट लिए । अन्य बलरले भने विकेट लिन सकेनन् । ललित राजबंशीले ४ ओभर बलिङ गरेर महँगो सावित हुँदै ५३ रन दिए । अविनाश बोहोराले पनि ४ ओभरमा ४२ रन खर्चिए । सोमपाल कामी र गुलशन झाले समान दुई÷दुई ओभरमा क्रमशः १५ र २५ रन दिए । नेपालले शनिबार भएको पहिलो खेलमा ४ विकेटको जित निकालेको थियो । कप्तान रोहित पौडेलको शानदार शतकमा नेपालले पहिलो खेल जितेको थियो ।दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ ले १० रनको जित निकाल्यो । उक्त खेलमा पनि कप्तान रोहित बाहेक अन्य ब्याटर खास चल्न सकेनन् । हिजो भएको तेस्रो खेलमा पाहुना टोली ७६ रनले विजयी भएको थियो । सो खेलमा नेपालका कप्तान रोहित पौडेलले विश्राम लिएका थिए । सिरिजको अन्तिम खेल आउँदो शनिवार हुनेछ ।
सोलुखुम्बु : हिमाली जिल्ला सोलुखुम्बुमा जङ्गलको डढेलो गाउँमा सल्किँदा १० घर जलेर नष्ट भएका छन् । आगोले एक दर्जन बढी गाई, भैँसीको गोठ जल्नुका साथै पशुचौपायासमेत हताहत भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । जिल्लाको थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनमा बुधबार भएको आगलागीबाट स्थानीय बुद्धिमाया चर्मकार, पूर्णबहादुर अधिकारी, कालीबहादुर अधिकारी, हस्तिमाया राई र पारसमणि राईको घर र गोठ जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक रामचन्द्र साहले जानकारी दिनुभयो । यस्तै बडीसुवा राई, उत्तरकुमार राई, दिलबहादुर राई, निशान राई र टीकाध्वज राईको घर पनि आगोले जलेको प्रहरी निरीक्षक साहले बताउनुभयो । उहाँका अनुसार घटनामा दर्जनौँ गोठ तथा घरपालुवा पशुचौपाया जलेर हताहत भएका छन् । थुलुङ दूधकोशी गाउँपालिका–३ पञ्चनस्थित राष्ट्रिय वन क्षेत्रमा लागेको डढेलो हावाको बेगका कारण घरमा सल्किँदा बस्ती नै खरानी भएको प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बताउनुभयो । उहाँले भन्नुभयो, “वनमा फैलिएको डढेलो निभाउन प्रहरीसहित स्थानीय जनशक्ति सक्रिय थिए, एक्कासी आगो गाउँमा सल्कियो र गाउँ नै सखाप बनायो, त्यो आगो हावाले उडाएर ल्याएको झिल्कोबाट सल्किएको हुनुपर्छ, त्यहाँका अधिकांश घरमा खरको छानो भएकाले नियन्त्रणमा लिन समय लाग्यो ।” गाउँमा सल्किएको आगो नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयवासी, गाउँपालिकालगायतको सक्रियतामा नियन्त्रणमा लिन सफल भएको छ भने जङ्गलको डढेलो नियन्त्रण बाहिर रहेको छ । घटनाको क्षतिको विवरण सङ्कलन भइरहेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । आगोले सबै धनसम्पत्ति जलेर खरानी भएपछि पीडितहरू अर्धचेत अवस्थामा पुगेको जिल्ला समन्वय समिति सोलुखुम्बुका प्रमुख कृष्णप्रसाद निरौलाले बताउनुभयो । “आगोले सबै नष्ट गरायो, भएभरका सबै गुमाएपछि अहिले यहाँका स्थानीयमा चेत छैन, पूरै गाउँ नै रुवाबासीमा परिणत भएको छ, बस्ती नै खरानी भयो, जङ्गलमा लागेको आगो नियन्त्रणमा आउन सकेको छैन, धुवाँ र धुलोले अझै आँखा हेर्न सक्ने अवस्था छैन”, समन्वय प्रमुख निरौलाले भन्नुभयो । एकाबिहानै दुई घर र एक खोर जले, ६५ लाखको क्षति जिल्लाको नेचासल्यान गाउँपालिका–२ डिटीमा आज बिहान दुईवटा घर र बाख्राको एउटा खोर जलेर नष्ट भएको छ । बिहान ४ः३० बजे डिटीका ज्ञानबहादुर खत्रीको दुईवटा घर र एउटा खोर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ । प्रहरी निरीक्षक रामचन्द्र साहका अनुसार आगलागीबाट रु ६५ लाख बराबरको क्षति भएको छ । ज्ञानबहादुरको दुईवटा घरमा भएको रु ५० हजार नगद, नौ तोला सुन, २० तोला चाँदी, २० मुरी अन्न, एक थान मोबाइल, लत्ताकपडा, भाँडावर्तनलगायत सबै सामग्री जलेर नष्ट हुँदा सो बराबरको क्षति भएको प्रहरी निरीक्षक साहले बताउनुभयो । आगोले नजिकै रहेको बाख्राको खोरसमेत जल्दा एउटा बोका र एउटा बाख्रा जलेर मरेको छ । आगलागीको कारण खुल्न सकेको छैन ।

