कास्की ।    पोखराको चिप्लेढुङ्गामा सञ्चालित सफल निरमाया दोहोरी साँझ एण्ड रेष्टुरेन्टले २२ औं वार्षिकोत्सवको अवसरमा विशेष सांगीतिक कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ ।   भोलिदेखि (अस...

पोखरा:    गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले आज मन्त्रीमण्डल विस्तार गर्ने भएका छन् । उनले आफ्नो दल नेकपा (एमाले)का प्रदेशसभा सदस्यलाई मन्त्री बनाउन लागेका हुन् । यसअगाडि नै मन्त्री भइसकेका सीता सुन्दास र बेदबहादुर गुरुङलाई उनले मन्त्री बनाउन लागेका हुन् ।    अहिले एमालेका २ जनालाई मन्त्री बनाउने निर्णय अधिकारीले गरे पनि मन्त्रालयका बारेमा केही भनिएको छैन । आजै साढे ४ बजे प्रदेश प्रमुखले उनीहरुलाई शपथ खुवाउने तय भएको छ ।  आज दुईमन्त्रीले शपथलिएपछि वर्तमान गण्डकी मन्त्रिपरिषद् पाँच सदस्यीय हुनेछ । नेकपा (माओवादी केन्द्र)का हरिबहादुर चुमान र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे) यसअघि क्रमशः आर्थिक मामिला र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री भइसकेका छन् ।    

काठमाडौं:   अनुसन्धानको क्रममा पक्राउ परेका पहुँचवालाहरूले हिरासत छल्ने गरेको भन्दै प्रश्न उठ्न थालेपछि त्यसलाई रोक्न उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले ३ बुँदै निर्देशन दिनुभएको छ ।   अनुसन्धानका लागि पक्राउ गरिएकाहरू प्रायजसो पहुँचवालाहरू अस्पतालमा बसेर हिरासत छल्ने गरेकोमा जनस्तरबाट नै प्रश्न उठ्ने गरेको थियो।   सोमबार लामिछानेले निर्देशन जारी गर्दै दीर्घरोगीलाई मात्रै अस्पतालमा राख्न निर्देशन गर्नुभएको छ। अस्पताल लैजानुपर्ने विकल्पको रूपमा हिरासतमा नै सरकारी अस्पताल वा मेडिकल काउन्सिलमा दर्ता भएका चिकित्सकले परीक्षण गरेर अस्पताल राख्नु पर्ने वा नपर्नेबारे निर्णय लिन निर्देशन दिइएको छ ।   त्यस्तै अस्पतालमा अब्जरभेसनका लागि ४८ घण्टाभन्दा धेरै राख्नुपरेमा कारण खुलाउन भनिएको छ । मन्त्रालयले चैत १३ मा मेडिकल काउन्सिललाई त्यसबारे अध्ययन गरेर प्रतिवेदन बुझाउन भनेको थियो ।    सो प्रतिवेदनको आधारमा ३ बुँदे निर्देशन जारी गरिएको उपप्रधान एवं गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ । 

काठमाडौं:      वैदेशिक रोजगारका लागि कुवेत पठाइदिन्छु भनी त्यहाँ पु¥याएर मानव बेचबिखन गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बस्ने ४७ वर्षीय श्यामबाबु बराकोटी रहेका केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकालले जानकारी दिनुभयो । उहाँका अनुसार निजलाई जिल्ला प्रहरी कार्यालय धादिङको समन्वयमा मानव बेचबिखन अनुसन्धान ब्युरो बबरमहलबाट खटिएको टोलीले धादिङ बेनिघाट रोराङ गाउँपालिका–३ बाट पक्राउ गरेको हो । पक्राउ परेका बराकोटीले पीडितलाई सरकारबाट श्रम स्वीकृति लिन लगाएपछि वैदेशिक रोजगारीका लागि कुवेत पठाइदिने भनी झुक्याएर विसं २०७९ माघ २५ गते भिजिट भिसामा कुवेत पु¥याएको, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र कुवेतको विमानस्थलमा देखाउने कागजात फरक बनाइ पठाएको, कुवेतको विमानस्थलमा पुगेपश्चात् जाहेरवालाको सक्कल नेपाली राहदानीलगायत कागजात नियन्त्रणमा लिई श्रीलङ्कन मूलको एजेन्टलाई जिम्मा लगाएको र कुवेती नागरिकको घरमा पु¥याइ बेचविखन गरेको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको प्रवक्ता ढकालले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पीडितले कुवेतमा काम नगर्ने नेपाल फिर्ता गरिदिन भनी आग्रह गर्दा रु पाँच लाख रकम माग गरेको र नेपालमा रहेका आफन्तलाई सम्पर्क गरी बराकोटीले उपलब्ध गराएको खातामा रु तीन लाख रकम जम्मा गरेपश्चात् पीडित कुवेतबाट विसं २०७९ फागुन २१ गते स्वदेश फर्कन सफल भएको बुझिएको छ । अन्य अनुसन्धान भइरहेको छ ।” पक्राउ परेका बराकोटी उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौँबाट पाँच दिन म्याद थप भई आवश्यक अनुसन्धान गर्नुका साथै घटनामा संलग्न अन्य प्रतिवादीहरुकोसमेत प्रहरीले खोजी गरिरहेको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।

मकवानपुर:     आजदेखि औपचारिकरूपमा बागमती प्रदेश सरकारले सरकारी कामकाजी भाषा ऐन, २०८० कार्यान्वयन गर्ने भएको छ । गत असोज २२ मा बागमती प्रदेशसभाबाट ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ पारित गरिएको थियो भने कात्तिक २३ गतेका दिन प्रदेश राजपत्रमा प्रकाशित भएको थियो । राजपत्रमा प्रकाशित भएको एक सय ८०औँ दिनमा ऐन कार्यान्वयनमा जाने कानुनी व्यवस्था रहेकाले सोहीअनुसार वैशाख २४ अर्थात् आजदेखि ऐन कार्यान्वयन गरिन लागिएको हो । उक्त ऐनले नेपाल र तामाङ भाषालाई सरकारी कामकाजी भाषाकारूपमा प्रयोग गर्ने व्यवस्था गरेको छ । प्रदेश सरकारका संस्कृति, पर्यटन तथा सहकारी मन्त्रालयले आज बिहान काठमाडौँको वसन्तपुरमा एक औपचारिक कार्यक्रम गरी ऐन कार्यान्वयनको घोषणा गरेको छ । नेपाल एक बहुभाषिक, बहुसांस्कृतिक, बहुधार्मिक मुलुक रहेको र सांस्कृतिक बहुलतालाई संविधानले अङ्गीकार गरेकाले भाषिक–सांस्कृतिक विविधतालाई व्यवस्थापन गर्न व्यवस्था परिवर्तन भएकाले सो ऐन कार्यान्वयन जरुरी रहेको प्रदेशका संस्कृति पर्यटन तथा सहकारीमन्त्री शैलेन्द्रमान बज्राचार्यले जानकारी दिनुभयो । भाषा ऐन कार्यान्वयन घोषणापश्चात् बागमती प्रदेश सरकार मातहत र प्रदेशका एक सय १९ स्थानीय तहको नाम चार भाषामा लेखिने उहाँले बताउनुभयो । उहाँका अनुसार कार्यालयको बोर्ड र ‘लेटर हेड’मा नेपाली, अङ्ग्रेजी, तामाङ र नेपाल भाषामा नाम रहनेछ । संविधानको व्यवस्थालाई व्यवहारमा कार्यान्वयन गर्न भाषा आयोगको सिफारिसमा प्रदेश सरकारले पारित गरेको ‘प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन, २०८०’ जारी गरेको र सो ऐन आजदेखि लागू हुने उहाँले बताउनुभयो ।

जनकपुरधाम:      जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ बाट एक जनाको ८० लाख रुपैयाँ लुटिएको छ । जनकपुरधामबाट पैसा लिएर  धनुषाको मिथिला बिहारी नगरपालिका ठेरा तर्फ जाँदै गरेका एक जनाको ८० लाख रुपैयाँ लुटिएको हो ।    जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ स्थित थुमौना गाउँमा यो घटना भएको प्रहरीले जनाएको छ् ।  शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ८० लाख लुटिएको प्रहरीले जनाएको छ ।

काठमाडौं:   राष्ट्रपति रामचन्द्र पौडेलले प्रेस जति तटस्थ, स्वतन्त्र र सबल हुन्छ लोकतान्त्रिक व्यवस्था त्यति नै सुदृढ हुँदै जाने बताउनुभएको छ ।   सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नवौँ राष्ट्रिय पत्रकारिता दिवस् २०८१ का अवसरमा शीतल निवासमा सोमबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले प्रेस स्वतन्त्रता समग्र समाजको लोकतान्त्रिकरणको अभियानको एउटा महत्वपूर्ण पक्ष भएको बताउनुभयो ।    पत्रकारिताको धर्म र व्यवसायिकताको माध्यमबाट राष्ट्रहितको प्रवद्र्धन गर्न यस क्षेत्रको उल्लेखनीय भूमिका रहेको बताउँदै उहाँले भन्नुभयो,“पत्रकारिता क्षेत्रमा खोज र नवीनता प्रवर्द्धनमार्फत अझ बढी व्यावसायिक, जिम्मेवार र समाजप्रतिको उत्तरदायित्व बहन गर्ने गरी प्रेसप्रतिको जनविश्वास बढाउने कार्यमा तपाईँहरू लाग्नुनै हुनेछ भन्ने मैले विश्वास लिएको छु ।”    निरङ्कुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगतले खेलेको भूमिका महत्वपूर्ण रहेको उहाँले स्मरण गर्नुभयो । “लोकतान्त्रिक शासन प्रणालीमा मात्र निष्पक्ष र स्वतन्त्र पत्रकारिता सम्भव छ, त्यसैले अब यसको सुदृढीकरण र यो व्यवस्थाप्रति जनताको भरोसा अभिवृद्धिमा तपाईँहरू अझ क्रियाशील हुनुहुनेछ”, उहाँले भन्नुभयो ।     सूचना प्रविधि र इन्टरनेटको विकाससँगै बढ्दो सामाजिक सञ्जालको प्रयोग र यसका माध्यमबाट प्रवाहित हुन सक्ने मिथ्या र भ्रामक सूचनाले नागरिकलाई दिग्भ्रमित पार्न सक्ने तथा व्यवस्थालाई कमजोर बनाउने चुनौती सामना गर्दै जनतालाई सत्य, तथ्य सूचना प्रवाह गर्न नेपाली प्रेस आगामी दिनमा अझैँ प्रभावकारी ढंगले अघि बढ्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।    सो अवसरमा वरिष्ठ पत्रकार सम्मान २०८० बाट प्रतीक प्रधान र त्रिभुवन पौडेल (मरणोपरान्त) तथा राष्ट्रिय पत्रकारिता पुरस्कार  २०८० बाट मेनका चौधरी, सूर्यमणि गौतम, भवानी सिंह ऐर, दीपक ज्ञवाली, त्रिप्ती शाही र प्रेमबहादुर कार्की ढोली (राजन केडी) पुरस्कृत हुनुभयो ।  

काठमाडौं:      सभामुख देवराज घिमिरेले प्रधानमन्त्रीसहित प्रमुख दलका शीर्ष नेताहरुसँग छलफल गर्न बैठक बोलाएका छन् । सभामुख घिमिरेले मङ्गलबार बिहान साढे ११ बजे सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा बैठक बोलाएका हुन् । संसद्को वर्षे अधिवेशन सुरु हुनुअघि सहकारी प्रकरणमा सहमतिको प्रयासका लागि सभामुखले शीर्ष नेताहरुलाई बैठकमा बोलाएका हुन् । सभामुखले प्रधानमन्त्री पुष्पकमल दाहाल, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बोलाएका छन् । सहकारी प्रकरणमा रास्वपा सभापति समेत रहेका उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको संलग्नता सम्बन्धमा छानबिन गर्न संसदीय छानबिन समितिको माग गर्दै प्रमुख विपक्षी कांग्रेसले अघिल्लो अधिवेशनको अन्त्यतिर निरन्तर बैठक अवरोध गरेको थियो । कांग्रेसको अवरोधले सदनको कारवाही प्रभावित भएपछि सभामुखले शीर्ष बैठक बोलाएका हुन् । सभामुखले सदनको अवरोध खुलाउन गएको अधिवेशनमा पनि दुई पटक शीर्ष नेताहरुसँग बैठक गरेका थिए । तर, सहमति प्रयास सार्थक हुन सकेको थिएन । सहकारी प्रकरणबारे सदनमा उठेका विषयलाई सहमतिमा टुंग्याउन मुख्य सचेतक, प्रमुख सचेतक र सचेतकसँग र कार्यव्यवस्थामा अलग अलग छलफल भएको थियो । संसदको वर्षे अधिवेशन वैशाख २८ गतेदेखि सुरु हुँदैछ ।

पाँचथर:      पाँचथरमा चोरी गर्न गएका एक व्यक्तिले एक तोला सुन निलेको पाइएको छ। चोरी गर्न गएका फिदिम नगरपालिका–१ का २८ वर्षीय सुरेन्द्र योङ्याले एक तोला सुन निलेका हुन्।  उक्त सुन निलेको ३६ घण्टापछि दिसाबाट बाहिर निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ।  जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुमित कुशवाहका अनुसार योङ्या गत चैत २८ गते योङ्या फिदिम–२ की विष्णुकुमारी तामाङको घरमा चोरी गर्न पसेका थिए।  परिवारका सदस्यले योङ्याले सुनका गरगहना भएको स्टिलको दराजबाट सामग्री निकाल्दै गरेको देखेपछि प्रहरीलाई खबर गरेका थिए। तत्कालै पुगेको प्रहरी टोलीले उनलाई नियन्त्रणमा लिएको थियो। यस क्रममा योङ्याको साथबाट रु। १५ हजार नगद बरामद गरिएको थियो।  तामाङका गरगहनामध्ये एक तोलाको सुन फेला परेन। चोरी गर्न गएका योङ्याले उक्त सुन निलेको आशंकापछि जिल्ला अस्पताल फिदिममा एक्स–रे गरिएको थियो । एक्स–रे गर्दा योङ्याको पेटमा धातु देखिएको थियो। ‘निलेको करिब ३६ घण्टापछि दिसाबाट उक्त सुन निकालिएको थियो,’ सूचना अधिकारी कुशवाहले भने। उक्त सुन प्रहरीले फिदिमकै सुनचाँदी पसलमा परीक्षण गराएको थियो।  गत चैत २८ गते भएको उक्त घटनापछि चोरीसम्बन्धी सबै अनुसन्धान पूरा गरी जिल्ला प्रहरी कार्यालय पाँचथरले योङ्याविरुद्ध जिल्ला अदालत पाँचथरमा मुद्दा दायर गरेको थियो।  जिल्ला अदालतले गत वैशाख २३ गते प्रतिवादी योङ्यालाई रु। एक लाख ५० हजार धरौटीमा रिहा गर्ने आदेश दिएको थियो। तर, धरौटी रकम जम्मा गर्न नसकेपछि उनलाई पुर्पक्षका लागि जिल्ला कारागार पाँचथरमा थुनामा पठाइएको सूचना अधिकारी कुशवाहले बताए। 

पोखरा:     पोखरा महानगरपालिकाले पोखराका विभिन्न विश्वविद्यालय तथा क्याम्पसहरूसँग प्रशिक्षार्थी विद्यार्थी परिचालन सम्बन्धमा समझदारी गरेको छ ।  महानगरपालिकाले पोखरा विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पस, जनप्रिय बहुमुखी क्याम्पस र कालिका क्याम्पससँग प्रशिक्षार्थी विद्यार्थी परिचालन सम्बन्धमा समझदारी गरेको हो । समझदारीमा महानगरपालिका र पोखरा विश्वविद्यालय सहित उल्लेखित क्याम्पसहरू बिचमा व्यवसाय दर्ता, कर सचेतना तथा राजश्व सङ्कलन कार्यमा जानकारी प्रदान गर्न स्नातक वा स्नातकोत्तर तहमा अध्ययन गरिरहेका विद्यार्थीहरूलाई प्रशिक्षार्थीको रूपमा परिचालन गर्ने उल्लेख छ । समझदारी अनुसार पोखरा विश्वविद्यालय वा अन्य क्याम्पसहरूबाट सिफारिस गरिएका मध्ये स्वयंसेवी खटाउने र नखटाउने वा तोकिएको सङ्ख्यामा खटाउने अधिकार महानगरपालिकामा रहनेछ ।  महानगरपालिकाले आफ्नो आवश्यकता अनुसारको प्रशिक्षार्थी माग गरी पोखरा विश्वविद्यालय, पृथ्वीनारायण क्याम्पस, जनप्रिय क्याम्पस र कालिका क्याम्पसमा पत्राचार गर्नुपर्नेछ । माग भएका विद्यार्थीहरूलाई आवश्यक प्रशिक्षण प्रदान गरी फिल्ड कार्यमा पठाइने छ । यसरी परिचालन गरिने प्रशिक्षार्थिहरुलाई महानगरपालिकाले आफ्नो कार्यविधिको अधीनमा रही दैनिक खाजा खर्च बापतको रकम उपलब्ध गराउनेछ भने, प्रशिक्षार्थीले गरेको कार्य विवरण प्रत्येक हप्ता सम्बन्धित वडाले  प्रमाणित गरी अभिलेख राखिने छ ।  समझदारी पत्र अनुसार तोकिएका प्रशिक्षार्थी विश्वविद्यालय वा क्याम्पसहरूले उपलब्ध गराउनु पर्नेछ । यसो गर्दा प्रशिक्षार्थीहरूको पठनपाठनमा कुनै अवरोध सृजना हुन नहुने व्यवस्था गरिनु पर्ने छ भने, प्रशिक्षार्थीले प्रचलित कानुन विपरीत कार्य गरेमा विश्वविद्यालयले उपयुक्त सजाय गर्न सक्नेछ । यसरी खटिएका प्रशिक्षार्थीले पोखरा महानगरपालिकाले तोकेको स्थानमा गई वडा कार्यालयको प्रत्यक्ष निगरानीमा तोकिए बमोजिमको कार्य गर्नु पर्नेछ । आवश्यक प्रशिक्षण लिनु पर्ने, पोखरा महानगरपालिका र सम्बन्धित वडा कार्यालयको प्रत्यक्ष निर्देशन र समन्वयमा कार्य गर्ने, आफूले गरेको दैनिक कार्यको विवरण प्रत्येक दिन उल्लेख गरी प्रत्येक हप्ता कार्यालयमा पेस गर्नु पर्नेछ । सम्झौता सुरुवात भएको मितिले १८० दिन सम्म कायम हुनेछ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको रोहबरमा भएको समझदारी पत्रमा पोखरा विश्वविद्यालयका कार्यक्रम निर्देशक श्रीजन ज्ञवाली, पृथ्वी नारायण क्याम्पसको तर्फबाट क्याम्पस प्रमुख प्रा।डा सरोज कोइराला, कालिका बहुमुखी क्याम्पसका प्रमुख विरेन्जी गौतम, जनप्रिय क्याम्पसका सहायक क्याम्पस प्रमुख रमेश खड्का र पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा र वित्त व्यवस्थापन महाशाखाका प्रमुख जयराज पौडेलले हस्ताक्षर गर्नुभएको छ ।  नगर प्रमुख आचार्यले समझदारी अनुसार पोखरा महानगरपालिका र विश्वविद्यालय तथा क्याम्पसहरूका बिचमा समन्वयको वातावरण तयार गर्नुका साथै सामुदायिक क्याम्पसहरू प्रति विद्यार्थीको आकर्षण समेत बढ्ने विश्वास व्यक्त गर्नुभयो । नागरिकहरूमा कर शिक्षाको सचेतना सहित विद्यार्थीको सैद्धान्तिक ज्ञानको व्यवहारिक प्रयोगमा टेवा पुग्ने उहाँले बताउनुभयो । महानगरको राजश्व सङ्कलनमा समेत बढोत्तरी आउने उहाँको विश्वास छ । समझदारीको हस्ताक्षर कर्ताहरूले महानगरपालिकासँग समन्वय गरी विद्यार्थीहरूलाई व्यवसाय दर्ता, कर सचेतना तथा राजश्व सङ्कलन कार्यमा परिचालन गर्न पाउँदा खुसी व्यक्त गरेका छन् । विद्यार्थीहरूको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उपयोग गर्न यसले महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ ।   समझदारी अनुसार पोखरा विश्वविद्यालयका २४ जना, पृथ्वीनारायण क्याम्पसका ५४ जना, जनप्रिय बहुमुखी क्याम्पसका २९ जना र कालिका क्याम्पसका ३१ जना गरी १४८ जना विद्यार्थीहरू परिचालन हुनेछन् ।