पोखरा:   पोखरा महानगरपालिका वडा नं १५ द्वारा आयोजित आर्थिक वर्ष २०८१÷२०८२ को सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।  स्थानीय सरकार र नागरिकहरूका बिचमा दोहोरो संवाद स्थापित गर्दै वि...

पोखरा:    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा नेकपा (एमाले)कास्कीले विभिन्न क्षेत्रका ६ जना युवालाई सम्मान गरेको छ ।   पोखरामा सोमबार आयोजित कार्यक्रममा गायन, स्वास्थ्य, शिक्षा, खेलकुद र कानुन क्षेत्रका गरेर ६ जनालाई सम्मान अवार्ड दिएर सम्मान गरिएको हो ।   सम्मानित हुनेमा नेपाल आइडलका विजेता करण परियार,फर्स्ट रनरअप सलोमी गुरूङ, राष्ट्रिय भलिबल टोलीकी कप्तान अरूणा शाही, डाक्टर विकास गौचन, प्राध्यापक शुष्मा रञ्जित र अधिवक्ता कुञ्जनी परियार प्यासी छन् ।   सम्मानित भएका करण बर्दियाका हुन् भने बाँकी पाँच जना कास्कीसहित गण्डकी प्रदेशको भूगोलमै जन्मे–हुर्केका यहीँ कर्म गरिरहेकाहरु हुन् ।   युवालाई उत्प्रेरित गर्नुपर्छ भन्ने उद्देश्यले विभिन्न क्षेत्रका ६ जनालाई सम्मान गरिएको कार्यक्रम संयोजल एवं एमाले जिल्ला सचिव दर्शन लामाले बताए ।     गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी, पार्टी स्थायी कमिटी सदस्य एवं गण्डकी इन्चार्ज किरण गुरुङ, पार्टी जिल्ला इन्चार्ज कृष्णबहादुर थापा, अध्यक्ष बैनबहादुर अधिकारी, कास्की कांग्रेस सचिव भानु ढकाल, नेकपा एकीकृत समाजवादीका जिल्ला उपाध्यक्ष पूर्ण लामालगायतले सम्मानितलाई ट्रफी हस्तान्तरण गरे ।   १) डा. विकास गौचन   सम्मानितमध्ये मुस्ताङमा जन्मिएका डा. विकास गौचन २०७७ साल पुसदेखि गण्डकी प्रदेश सरकार मातहतको संक्रामक तथा सरुवा रोग अस्पतालको कार्यकारी निर्देशक छन् ।   कोभिड–१९ महामारीको समयमा पाँच वर्षका लागि उनी उक्त अस्पतालको जिम्मेवारीमा आएका थिए ।    सन् २००९ मा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट एमबीबीएस उत्तीर्ण गरेका गौचनले अछामको बयलपाटा अस्पतालमा मेडिकल डाइरेक्टर भएर करिब ९ वर्ष काम गरेका छन् ।   डाक्टर गौचन प्राइभेट प्राक्टिस नगर्ने डाक्टरहरूमध्ये एक हुन् ।    २) सलाेमी गुरूङ   नेपाल आइडलको फस्ट रनरअप सलोमी गुरूङको जन्म घर लमजुङको क्व्होलासोथार गाउँपालिका ७, कुमलुङ भएपनि उनको बाल्यकाल पोखरामै बित्यो ।   पोखरा चाउथे बस्ने सलोमी संगीतको कुनै औपचारिक कक्षाबिनै नेपाल आइडलको स्टेजसम्म पुगेकी थिइन् ।   नेपाल आइडलमा सहभागी हुनुअघि उनी पोखराकै एउटा मन्टेश्वरीमा पढाउँथिन् ।   संगीत क्षेत्रमा लागिरहन ऊर्जा मिलोस् भन्ने उद्देश्यले उनलाई सम्मान गरेर हौसला थपेको सचिव लामाले जानकारी दिए ।   ३) अरुणा शाही   म्याग्दी घर भएकी अरुणा शाही २०७६ सालबाट राष्ट्रिय महिला भलिबल टोलीको कप्तान छिन् ।   उनको भलिबल यात्राको टर्निङ पोइन्ट भने पोखरा हो । पोखराकै ज्ञानुबाबा स्कुलले उनमा भलिबलको सम्भावना देखेर पोखरा ल्याएको थियो ।   गण्डकी प्रदेश भलिबलको उर्बर भूमि भएको र खेलाडीलाई सम्मान गरेर हौसला थप्ने उद्देश्यले अरूणालाई सम्मान गरिएको हो ।   ४) अधिवक्ता कुञ्जनी परियार   अधिवक्ता कुञ्जनी परियार ‘प्यासी’ महिला र दलित समुदायको अधिकार स्थापित गर्न संघर्षरत छिन् ।   नागरिकता नहुँदा बाल्यकालमा पढ्न नै संघर्ष व्यहोरेकी कुञ्जनीलाई उनको संघर्ष र हिम्मतको कदर गरेर सम्मान गरिएको हो ।   जाजरकोटका नवराज विकसहित ६ जनालाई लखेटी–लखेटी हत्या गरिएको घटनाका बारेमा उहाँले वाकलतमार्फत पीडितलाई न्याय दिलाउन सफल भएकी थिइन् ।   त्यसबाहेक पोखराकै एक वडाअध्यक्षले एउटी महिला वडा सदस्यमाथि गरेको विभेदविरुद्ध न्याय दिलाउन उनी सक्रिय थिइन् ।   शुष्मा रञ्जित   शुष्मा रञ्जित इन्टरनेसनल स्कुल अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजी (आइ.एस.एम.टी)को क्याम्पस कोओर्डिनेटर हुन् ।   पोखरा विश्वविद्यालयबाट सन् २०१६ मा एम.बी.ए उत्तीर्ण गरेकी रञ्जितले प्रारम्भिकदेखि उच्च शिक्षसम्म पोखरामै अध्ययन गरिन् ।   पोखरा रानीपौवा निवासी रञ्जितलाई पोखरामै हुर्किएर, पोखरामै आफ्नो सीप शैक्षिक क्षेत्रमा खर्च गरिरहेकोमा त्यसको कदर गर्दै सम्मान गरिएको हो ।   ६) करण परियार   रियालिटी शो नेपाल आइडलको सिजन ५ का विजेता करण परियार बर्दियामा जन्मिएका हुन् ।   संघर्षशील जीवनबाट आएका करणले असाधारण गायन क्षमताले धेरैको मन जितेका छन् । नेपाल आइडलको विजेता बनेसँगै गायन क्षेत्रमा सक्रिय भइरहनुपर्ने दबाबपूर्ण चुनौती करणलाई थपिएको छ ।   जादुमय स्वरका धनी करणलाई नेपाल आइडल बनेपछि २५ लाख रुपैयाँ नगदसहितको पुरस्कार पाएका थिए ।   कार्यक्रममा निवर्तमान मुख्यमन्त्री अधिकारीले आफ्नो युवावस्थाको राजनीतिक गतिविधि सम्झिए ।   गण्डकी विश्वविद्यालयका डिन कपिल अधिकारीले युवा र विज्ञान विषयमा, सीए दीपक भुर्तेलले पोखराको विकासको सम्भावना, अधिवक्ता कुञ्जनी परियारले आफ्नो न्यायिक यात्रामा केन्द्रीत भएर धारणा राखेका थिए ।   कार्यक्रममा पोखरेली युवाहरुको ब्याण्ड दि रिफ रिभाइबलले सांगीतिक प्रस्तुति राखेको र मोटिभेस्नल स्पिकर रोहित मल्लले मोटिभेसन गराएका थिए ।   

कास्की:   पच्चीस २५ मेगावाट क्षमताको सेती नदी जलविद्युत् आयोजना निर्माण सम्पन्न भएको छ ।   कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ सार्दिखोलामा आयोजनाको निर्माण सकिएर परीक्षण सुरु भएको हो ।   आयोजनाको सिभिल, हाइड्रोमेकानिकल तथा ट्रान्समिसन लाइन निर्माणको सम्पूर्ण निर्माण सकिएर अहिले यान्त्रिक परीक्षणको काम भइरहेको प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडले जनाएको छ ।   “आयोजनाको निर्माणतर्फका सबै काम सकिएको छ । यही साउन ३० गते पेनस्टक पाइपमा पानी हाल्छौँ । त्यसपछि वेटटेष्ट (पानी भरेर परीक्षण तथा टर्वाइन घुमाउने)को काम सुरु हुन्छ”, प्रवर्द्धक भिजन लुम्बिनी ऊर्जा कम्पनीका कार्यकारी अध्यक्ष जगतबहादुर पोखरेलले भन्नुभयो ।   ‘वेट टेष्ट’को काम सकिएको दुई साताभित्रमा परीक्षण उत्पादन सुरु हुने कम्पनीले जनाएको छ । त्यसपछि आयोजनाको व्यावसायिक उत्पादन हुनेछ ।   सार्दिखोलाको भराभरीस्थित सेती नदीमा बाँध निर्माण गरी सेतीको पानी छ हजार चार सय मिटर लामो भूमिगत पाइपमार्फत ल्याएर एक सय ८७ मिटर उचाइबाट चिन्तेबगरमा रहेको पावरहाउसमा खसालेर विद्युत् उत्पादन गरिने छ ।   पाइपमार्फत लगिएको पानी पावरहाउसमा रहने १२ दशमलव पाँच मेगावाट क्षमताका दुईवटा टर्वाइनमा खसालिने छ ।   सो आयोजना नदी जलप्रवाहमा आधारित छ । कम्पनीका अध्यक्ष पोखरेलले आयोजना सम्पन्न गर्नका लागि स्थानीयवासी तथा स्थानीय सरकारलगायतबाट सहयोग मिलेको बताउनुभयो । उहाँले स्थानीयवासीको सानासाना लगानीले आयोजना निर्माण भएको बताउनुभयो ।   उहाँले भन्नुभयो, “जलविद्युतमा २५ मेगावाट सानो परियोजना होइन । धेरै मानिस जोडिनुभएको छ । एक हजार पाँच सय जना प्रवर्द्धकको लगानी छ । पारदर्शी रूपमा समयमै आयोजना पूरा गर्न अहोरात्र खटिएका थियौँ, उत्पादन सुरु भएसँगै अब छिट्टै सफलता मिल्दैछ ।”   सेती नदी जलविद्युत् आयोजनामा रु पाँच अर्ब बढी लगानी भएको छ ।   यसमा तीन अर्ब ५० करोड विभिन्न बैंक तथा वित्तीय संस्थाले लगानी गरेका छन् । अन्य लगानी प्रवर्द्धक, स्थानीयवासी तथा आइपिओ जारी गरेर पूरा गरिएको आयोजनाका निर्देशक बमबहादुर गुरुङले बताउनुभयो ।   सेती नदी जलविद्युत आयोजना विसं २०७७ को अन्तिमदेखि काम सुरु भएको हो ।   कोरोना महामारीका कारण आयोजनाको काममा केही बाधा पुगे पनि सबैको सहयोगले सफलता मिलेको निर्देशक गुरुङले बताउनुभयो ।

पोखरा:     युवा दिवसको अवसरमा दारी ग्याङ पोखराले आयोजना गरेको रक्तदान कार्यक्रममा ८२ युनिट रगत संकलन भएको छ ।   ‘आज अरुका लागि, भोलि आफ्नै लागि’ भन्ने नाराका साथ दाह्री ग्याङ, नेपाल रेडक्रस सोसाइटी, श्रेत्रीय रक्तसञ्चार सेवा केन्द्र कास्कीको सहयोगमा पोखराले यस वर्ष पनि सोमबार रक्तदान कार्यक्रम आयोजना गरेको हो ।   पोखराको केदारेश्वर मन्दिर परिसरमा आयोजित कार्यक्रममा प्रमुख आमन्त्रित व्यक्तित्व एवं संस्थापक अध्यक्ष शेखर गौतमलाई ब्लड ब्याग हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको शुभारम्भ भएको संयोजक उज्ज्वल भुजेलले बताए ।   गौतमको रक्तदान यो ५५ औं पटक हो ।   गौतमले पोखरामा धेरै युनिट रगत संकलनमा दाह्री ग्याङ अग्रपंक्तिमा रहेको बताए ।   निरन्तर सामाजिक कार्यमा सक्रिय भएकोमा समूहलाई उनले धन्यवाद समेत व्यक्त गरे ।   दाह्री ग्याङ पोखराका पुर्व संयोजक अभिमन्यु पाण्डे (बिक्रम)ले वार्षिक क्यालेण्डर अन्तरगतकै श्रावनको अन्तिम सोमबार रक्तदान कार्यक्रम आयोजना गरिएको बताए ।   यस्तै, बिरामीहरुलाई तत्काल चाहिएको अवस्थामा पनि दाह्री ग्याङका सदस्यहरु तत्काल अस्पताल वा रक्तसञ्चार केन्द्र पुगी रक्तदान गर्दै आएका छन् ।   कार्यक्रमको सञ्चालन पुर्व संयोजक पाण्डेले गरेका थिए । क्षेत्रीय रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोग रहेको कार्यक्रममा महिलाहरु, सुरक्षाकर्मीहरुले पनि रगत दान गरेका थिए ।

पोखरा:   पोखरामा क्रियाशिल बुद्ध टोल युवा क्लब (बिटी) ले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजना गरेको रत्तदानमा १ सय ४ युनिट संकलन भएको छ ।    अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा बुद्ध टोल युवा क्लबले आयोजना गरेको खुल्ला रक्तदानमा १ सय ४ जनाले रक्तदान गरेको क्लबका अध्यक्ष अशिम थापाले जानकारी दिए ।    बिटी क्लबले अब हरेक वर्ष खुला रक्तदानको आयोजना गर्ने उनले बताए ।   पोखरा महानगरपालिका–१ टुडिखेलमा आयोजना गरिएको खुल्ला रक्तदान कार्यक्रमलाई निरन्तरता दिँदै जाने क्लबका सचिव रेशम सापकोटाले बताए ।   उनका अनुसार क्लबका सदस्यहरु, पोखरा महानगरपालिका १ बगरका स्थानीय तथा भर्ती प्रशिक्षण केन्द्रका प्रशिक्षार्थी लगायतले रक्तदान गरेका थिए ।   कार्यक्रमका प्रमुख अतिथि पोखरा १ का वडाध्यक्ष शाहरा प्रधानले सामाजिक कार्यलाई निरन्तरता दिन आग्रह गरे ।   उनले क्लबको सकारात्मक र रचनात्मक कार्यमा वडा कार्यालय सधै सहयोेग गर्न तत्पर रहेको धारणा राखेका थिए ।   क्लबले पहिलो पटक आयोजना गरेको रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्की शाखाद्धारा सञ्चालित प्रादेशिक रक्तसञ्चार सेवा, पोखराले प्राविधिक सहयोग गरेको थियो ।     खेलकुदको क्षेत्रमा सेभेन ए साइड फुटबल प्रतियोगिता गर्दै आएको क्लबले सामाजिक क्षेत्रमासमेत काम गर्दै आएको छ ।   

पोखरा:   २५ औं अन्तर्राष्ट्रिय युवा दिवस आज नेपालमा पनि मनाइँदै छ ।   ‘दिगो विकास लक्ष्यमा प्रगति र समृद्धि, डिजिटल प्रविधिमा युवा पहुँच अभिवृद्धि’ भन्ने नारासहित नेपालमा अन्तर्राष्ट्रिय युवा दिवस मनाउन लागिएको हो ।   दिवसको अवसरमा नेकपा एमाले कास्कीले आज पोखरामा एउटा भव्य कार्यक्रमको आयोजना गरेको छ ।   ‘अघि बढ्छ युवा’ नाम दिएर पार्टीले पोखराको न्यूरोडस्थित सिटी स्क्वायरमा सम्मान, बहस, सांगीति प्रस्तुति र मोटिभेस्नल स्पिचसहितको कार्यक्रम राखेको छ । कार्यक्रम दिउँसो ४ बजे सुरू हुनेछ ।   गायन, स्वास्थ्य, शिक्षा, खेलकुद र कानुन क्षेत्रका गरेर ६ जनालाई सम्मान गर्न लागिएको कार्यक्रम संयोजक एवं एमाले कास्की सचिव दर्शन लामाले जानकारी दिए ।   सम्मानित हुनेमा नेपाल आइडलका विजेता करण परियार, प्रथम रनरअप सलोमी गुरूङ, राष्ट्रिय भलिबल टोलीकी कप्तान अरूणा शाही, डाक्टर विकास गौचन, प्राध्यापक शुष्मा रञ्जित र अधिवक्ता कुञ्जनी परियार प्यासी छन् ।   गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारीले ‘परिवर्तनमा युवा’ शीर्षकमा राजनीतिक वक्तव्य दिने र अधिवक्ता कुञ्जनी परियार प्यासीले आफ्नो न्यायीक यात्राका बारेमा बताउनेछिन् ।   उनले आफू कसरी अधिवक्ता बनिन्, न्यायीक क्षेत्रको सम्भावना के छ ? युवा कानुन व्यवसायीलाई हेर्ने नजर कस्तो छ ? र कहाँ सुध्रने, को सुध्रने ? बारेमा आफ्नो भनाइ राख्नेछिन् । चार्टर एकाउन्टेन्ट दीपक भुर्तेलले पोखराको आर्थिक सम्भावनाबारे बोल्ने छन् ।   कार्यक्रममा निकेश गिरी र कुशल गौतमले गजल प्रस्तुत गर्ने कार्यतालिका छ ।   यस्तै, रोहित मल्लले युवाहरुलाई सकारात्मक ऊर्जा प्रदान गर्ने गरेर मोटिभेस्नल स्पिच दिने कार्यक्रम रहेको संयोजक लामाले जानकारी दिए ।

पोखरा:    गोरखा तमु समाज कास्की पोखराको  अध्यक्षमा सन्दिप कुमार गुरुङ सर्वसम्मत चयन भएका छन् ।   समाजकोे तेह्रौं साधारणसभा एवम् सातौ अधिबेशनले गुरुङलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।                        समाजको उपाध्यक्षमा कमला गुरुङ सचिवमा धर्मेन्द्र गुरुङ सहसचिवमा कृष्ण बहादुर गुरुङ कोषाध्यक्षमा गङगा गुरुङ चयन भयका छन।                        यस्तै सदस्यहरुमा कुमार गुरुङ,  सोनि गुरुङ, अमृत गुरुङ, डिल माया गुरुङ, राकेश गुरुङ, पुजा गुरुङ ,माया गुरुङ ,रेखा गुरुङ,सरस्वती गुरुङ र काईला गुरुङ रहेका छन।                                                     नबनिर्बाचित कार्यसमितिलाई निर्वाचन समितिको संयोजक ज्ञान बहादुर गुरुङले पद तथा गोपनियताको सपत ग्रहण गरायका थिए ।                         

पोखरा:   पोखरा महानगरपालिका–९ कृष्णटोलमा क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम सम्पन्न भएको छ ।   सामाजिक सेवामा क्रियाशिल कृष्ण युवा क्लबको आयोजनामा पोखरा–९ कृष्ण टोलमा एक दिने क्षमता अभिवृद्धि तथा उद्घोषण तालिम सञ्चालन भएको हो ।  तालिममा ४७ जना प्रशिक्षार्थीहरुले सहभागिता जनाएको थिए भने, सञ्चारकर्मी अनुराग अधिकारीले प्रशिक्षण दिएका थिए ।   पोखरा महानगरपालिका–९ का वडा सदस्य नन्दराम गिरीले क्षमता अभिवृद्धि तथा उद्घोषण तालिमले आत्मविश्वासलाई मजबुद बनाउने बताए ।  राष्ट्रिय भुमी अधिकार मञ्च कास्कीका अध्यक्ष प्रेमबहादुर गुरुङले तालिमबाट सिकेका कुराहरु व्यवहारमा लागू गर्न आवश्यक रहेको बताए ।    कार्यक्रम कृष्ण युवा क्लबका अध्यक्ष कृष्ण विकको अध्यक्षता र सचिव युवराज गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो ।   

गण्डकी:   पोखरा महानगरपालिका–३२ स्थित मालेपाटन र मालमूलघारी जोड्ने ताल खोलामाथिको झोलुङ्गे पुल सञ्चालनमा आएको छ ।   वर्षौंदेखि पुलको आशामा रहेका स्थानीयमा पुल बनेसँगै खुसियाली छाएको छ ।   मालेपाटनसँगै यहाँका बडहरे, देउराली, खड्का गाउँ, डोटेल कुनालगायत स्थानका बासिन्दालाई वडा कार्यालयका साथै गण्डकी विश्वविद्यालयसँगको पहुँच सहज बनाएको हो ।   पुल निर्माणले मालेपाटन क्षेत्रका बालिबालिकालाई ब्रम्हरुपा माध्यमिक विद्यालयसम्म पुुग्न सहज भएको स्थानीय ब्रम्हरुपा माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गालाल पण्डितले बताउनुभयो ।   झोलुङ्गे पुल निर्माणले मालेपाटन र आसपासका सर्वसाधारणलाई पृथ्वीराजमार्गअन्तर्गतको तल्लो गगनगौडा पुग्न सहज भएको उहाँले जानकारी दिनुभयो ।   गण्डकी प्रदेश सरकारको रु एक करोड सात लाखको लागतमा उक्त झोलुङ्गे पुल निर्माण भएको पोखरा–३२ का वडाध्यक्ष अक्कलबहादुर कार्कीले जानकारी दिनुभयो ।   पुल निर्माणसँगै यस क्षेत्रका स्थानीयको आवतजावतका साथै दैनिक उपभोग्य वस्तु ओसारपसार गर्न सहज भएको उहाँको भनाइ छ ।   मर्मत नहुँदाको सास्ती दुुई वर्षअघि जग भत्किएको मालेपाटनबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–१ सेराबेँसी जोड्ने फुर्सेखोलामाथिको झोलुङ्गे पुल हालसम्म मर्मत नहुँदा सो पुलबाट आवतजावत गर्ने सर्वसाधारण समस्यामा परेका छन् ।   उक्त पुलको जग भत्किँदा मालेपाटनसहित तनहुँको सेराबेँसीलगायत ठाउँका सर्वसाधारण समस्यामा परिरहेका स्थानीय तारानाथ रिजालले बताउनुभयो ।   नौलो घुम्ती नेपालको प्राविधिक सहयोगमा विसं २०७४ मा निर्मित एक सय १९ मिटर लम्बाइको उक्त पुल कूल रु ४१ लाख २५ हजार पाँच सय २८ लागतमा बनेको थियो ।   संरक्षणको अभावमा बर्सेनि फुस्रेखोलामा वर्षासँगै आउने बाढी र कटानले पुल भत्किएको स्थानीय महेश्वर पौडेलले उल्लेख गर्नुभयो ।   यस क्षेत्रमा आवतजावत गर्न पुल अत्यावश्यक रहेको बताउँदै उहाँले यसतर्फ राज्यको ध्यान दिनुपर्नेमा जोड दिनुभयो ।   पोखराको मालेपाटनका साथै तनहुँको शुक्लागण्डकीका सेराबेँसी, आरुस्वाँरा, सिम्ले, नयाँ गाउँ, थप्रेकसँगै भुजिकोटलगायत स्थानका बासिन्दाका लागि यो पुल आवश्यक भएको स्थानीय नारायण पाण्डेले बताउनुभयो ।   पुलको जग मर्मत गर्न पहल भएको बताउँदै पोखरा–३२ का वडाध्यक्ष कार्कीले यसका लागि प्रदेश सरकारबाट रु ३२ लाख बजेट विनियोजन भएको जानकारी दिनुभयो ।   पुलको मर्मतसँगै यसको केही माथिबाट अर्को पुलको निर्माण गर्ने योजनासहित पहल भइरहेको उहाँले बताउनुभयो ।

पोखरा:   नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), गण्डकीद्वारा सञ्चालित ‘कञ्चन पत्रकारिता पुरस्कार–२०८१’ बाट दीपेन्द्र श्रेष्ठ (कास्की) र कमला रानामगर (नवलपुर) पुरस्कृत भएका छन् ।   फोनिजको २५ औं स्थापना दिवस (रजत जयन्ती) को अवसरमा आज आइतबार) पत्रकारद्वयलाई गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट तथा पुरस्कारदाता व्यवसायी विमलमान गुभाजु तथा गुभाजु परिवारले पुरस्कार स्वरुप फेटा, दोसल्ला, सम्मानपत्रसहित जनही नगद रु २५ हजार अर्पण गरे ।   सो अवसरमा बोल्दै प्रदेश प्रमुख भट्टले पछिल्लो समय पत्रकरिता आफ्नो लयमा नबगेको प्रदेश प्रमुख भट्टले बताए ।   उनले नेपालको पत्रकारिताको विकासमा आदिवासी जनजाति पत्रकारको पनि भूमिका रहेको उल्लेख गर्दै सञ्चार गृहमा पनि समान अवसरम दिनुपर्ने धारणा राखे ।    प्रदेश प्रमुख भट्टले आदिवासी जनजातिको भाषा, धर्म, कला, संस्कृति देशकै सम्पत्ति भएकाले पत्रकारितामार्फत संरक्षण गर्न सकिने बताउदै त्यसतर्फ ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।   यस्तै पुरस्कृत व्यक्तित्व दीपेन्द्र श्रेष्ठले आवश्यकता महसुस भएर पत्रकारितामा लागेको स्मरण गरे ।    उनले कञ्चन पत्रकारिता पुरस्कार अर्पण गरेर आफुलाई थप जिम्मेवार बनाएको बताए । ‘यो पुरस्कारले आदिवासी जनजातिको हक अधिकारको पक्षमा झनै आवाज बुलन्द गर्न प्रेरणा मिलेको छ, उनले भने, ‘यसले मलाई थप जिम्मेवार बनाएको छ ।’   अर्का पुरस्कृत व्यक्तित्व कमला रानामगरले प्राप्त गरेको कञ्चन पत्रकारिता पुरस्कार अहिलेसम्मकै महत्वपूर्ण पुरस्कार रहेको बताइन् ।     ‘आज मलाई दिनुभएको यो पुरस्कार हेभी छ, उनले भनिन्,  ‘यसले मलाई पत्रकारितामा थप सत्रिय हुन हौसला दिएको छ । त्यसैले म आजिवन सत्रिय पत्रकारिता गरिरहनेछु ।’   पुरस्कृत श्रेष्ठ एभरेष्ट एफ एमका स्टेसन म्यानेजरका रुप्मा कार्यरत छन् भने, रानामगर नवलपुर टाइम्सका सम्पादक हुन् ।   यस्तै सम्मानित व्यक्तित्व वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगरले आफुलाई सम्मान अर्पण गरेकाले फोनिजप्रतिको जिम्मेवारी थप भएको धारणा राखे ।   उनले पछिल्लो समय पत्रकारिताले आफ्नो बाटो बिराएको बताउदै चिन्ता व्यक्त गरे । उनले आवाजविहीनका आवाज नभई पत्रकारिताले सिंहदबार र आवाज हुनेहरुलाई मात्रै बोकेको टिप्पणी गरे ।    यस्तै कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले पत्रकारिता समाजको ऐना भएको बताउदै नागरिकलाई झुक्याउन नहुने बताए । ‘पत्रकारिता समाजको ऐना हो त्यसैले यसले जे हो त्यही देखाउनुपर्छ । झुक्याउनु हुँदैन,’ उनले भने ।     अक्षयकोषमा यस वर्षपनि थपियो राशी, पुग्यो १० लाख   अक्षयकोषमा यसवर्षपनि नगद राशी थपिएको छ ।   फोनिज गण्डकीका महासचिव धन बहादुर गुरुङका अनुसार पोखराका प्रतिष्ठित व्यवसायी विमलमान गुभाजु र उनका परिवारले आफ्ना स्व. बावुआमा वेदमान गुभाजु र नेत्रकुमारी गुभाजुको स्मृतिमा यो पुरस्कार स्थापना गरेका हुन् ।    ५ लाख रुपैयाँदेखि सुरु गरिएको यस अक्षयकोषमा गुभाजु परिवारले हरेक वर्ष १ लाख थप गर्दै आएका छन् । यस वर्षपनि १ लाख थप गर्ने घोषणा गरेको महासचिव गुरुङले बताए । उनका अनुसार हाल अक्षयकोषमा १० लाख रुपैयाँ रहेको छ ।   यो पुरस्कार गण्डकी प्रदेशलाई कार्यक्षेत्र बनाई क्रियाशील २ पत्रकारलाई हरेक वर्ष प्रदान गरिँदै आइएको छ ।   सो पुरस्कारबाट यसअघि कास्कीका रुद्रबहादुर थापा, शान्ति गुरुङ, उदयबहादुर अमात्य, बागलुङका राजेशचन्द्र राजभण्डारी, नवलपुरका केबी राना र लमजुङका आश गुरुङ, कास्कीका हुम बहादुर गुरुङ र मुस्ताङका शुन्दरकुमार थकाली पुरस्कृत भइसकेका छन् ।   सोही कार्यक्रमको अवसरमा तत्कालिन अनिज र हालको फोनिजकोे विकासमा स्थापनाकालदेखि नै योगदान पुर्याएको भन्द्र वरिष्ठ अधिवक्ता सुरेन्द्र थापामगर र बालासिंह काउछामगरलाई सम्मान अर्पण गरिएको थियो ।     यस्तै मिस मगर नेपाल २०२३ का विजेता विनु थापामगर, फस्ट रनरअप दिवा पाइजा मगर, सेकेन्ड रनरअप कविता थापामगर, थर्ड रनरअप दिक्षा थापामगर र म्यूअर्स च्वाइस उमा पुनमगरलाई सम्मान अर्पण गरिएको थियो ।    सो कार्यक्रममा तमुधिं नेपालका संस्थापक अध्यक्ष कर्मा तमु, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सरिता तिम्सिना पंगेनी, फोनिजका संस्थापक उपाध्यक्ष बालासिंह काउछा मगर लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।   फोनिज गण्डकीका अध्यक्ष रुद्र श्रीसमगरको सभापतित्वमा सम्पन्न कार्यक्रममा फोनिज कास्कीका अध्यक्ष दिल प्रसाद गुरुङले स्वागत मन्तव्य व्यक्त गरेका थिए भने गण्डकीका महासचिव धन बहादुर गुरुङ (सुमन) ले कार्यक्रम सञ्चालन गरेका थिए ।