पोखरा:  पुसको जाडोको मौसमको कुनै प्रवाह नगरी लेखनाथमा जारी महोत्सवमा विहानै देखि दर्शकहरुको वाक्लो उपस्थिति देखियो  । मध्यान्ह देखि खुलेको मौसमसगै मेलामा प्रवेश गर्ने दर्शकको क्रम पनि वढदै जादा...

पोखरा:     कास्कीको रूपा गाउँपालिकामा पर्ने रामकोट—ठूलीवेशी—देउपूरवेसी—पोल्याङ (रुपा रिङरोड)को दोस्रो खण्डको काम अघि बढेको छ ।  गण्डकी प्रदेशका निवर्तमान मुख्यमन्त्री खगराज अधिकारी र भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले बिहीबार रूपा १ र ७ मा पर्ने उक्त रिङ रोडको दोस्रो खण्डको संयुक्त शिलान्यास गरे ।  संघ र प्रदेश सरकारले बराबर आर्थिक भार व्यहोर्ने गरी (समपूरक योजना) ४७ करोड १८ लाख ९१ हजार रूपैयाँ लागतमा १६।१२९ किलोमिटर दूरीको यो बाटो बन्ने छ ।  शिलान्यास कार्यक्रममा बोल्दै निवर्तमान मुख्यमन्त्री अधिकारीले प्रदेश सरकार भएकाले यो सडक बन्न लागेकाले प्रदेश संरचनाको आवश्यकता पुष्टि भएको बताए ।  प्रदेश सरकारकै सहयोगमा गाउँपालिकामा गाउँ—गाउँमा मोटरबाटो पुगेको उनले सुनाए । ‘प्रदेश सरकार बन्नु पहिले ५० मिटर पिच बाटो थियो । अहिले धेरै ठाउँमा बाटो बनेको छ,’ निवर्तमान मुख्यमन्त्री अधिकारीले भने, ‘अहिले केही टोलमा पिच बाटो बन्न बाँकी छ । यसले प्रदेश सरकार किन चाहिने रहेछ भनेर देखाउँछ ।’ गाउँमा सडक पूर्वाधार पुग्ने तर मानिस सहर झर्ने परिस्थिति बन्नु दुःखद भएको उनले टिप्पणी गरे । रूपा रिङरोड बनेपछि गाउँका उत्पादनलाई बजारसम्म पुर्‍याउने विषयमा ध्यान दिनुपर्ने अधिकारीको भनाइ थियो । ‘खेतबारी बाँझो रहन दिनु हुँदैन ।  बजारबाट किनेको खान्न भन्ने हुनुपर्छ,’ उनले भने, ‘बजारबाट खाली आउने गाडीलाई यहाँबाट भरेर पठाउनुपर्छ । पोखराबाटै सामान बोकेर आउने अवस्था भयो भने हामी र भोलिको पुस्ताका लागि अभिशाप हुन्छ ।’ भौतिक मन्त्री केसीले समयमै काम सक्न र जनतालाई दुःख दिने काम नगर्न निर्माण व्यवसायीलाई निर्देशन दिए । काम गर्ने क्रममा निर्माण व्यवसायीलाई कुनै समस्या भए प्रदेश सरकारले त्यसलाई समाधान गर्न सहयोग गर्ने उनले प्रतिबद्धता जनाए ।  निर्माण कार्यमा बजेट अभाव हुन नदिने मन्त्री केसीले सुनाए । ‘अहिले बेगनास तालबाट रामकोटसम्म आउने सडक स्तरोन्नतिका लागि संघ र प्रदेश सरकारबाट विभिन्न खण्डमा काम भइरहेको अवस्था छ,’ मन्त्री केसीले भने, ‘प्रदेशले काम गर्ने गरि छुट्टाइएको खण्डमा बजेट अभाव हुन नदिने तथा सघंले काम गरिरहेको खण्डमा समेत समयमा नै काम सम्पन्न गराउन मेरो पहल रहने छ ।’ गाउँपालिका अध्यक्ष नवराज ओझाले यो रिङरोडको काम सकिएपछि लमजुङ, तनहुँ र कास्कीको आवागमन धेरै सहज हुने विश्वास व्यक्त गरे । सडकमा धेरै लगानी गरेको भनेर प्रश्न आउने गरेको तर उत्पादनलाई बजारसँग जोड्दा जनताको जीवनस्तर उकासिने भएकाले सडक आवश्यक रहेको उनले बताए ।  आगामी आर्थिक वर्षमा रिङरोडको बाँकी ३५ किलोमिटर सडकलाई पनि बजेट विनियोजन गरिदिन प्रदेश सरकारलाई अध्यक्ष ओझाले आग्रह गरे ।  निर्माण कम्पनीका प्रतिनिधि भीमकुमार श्रेष्ठले काम गर्ने क्रममा स्थानीय स्तरबाट समस्या नभए समयभन्दा अघि नै काम सक्ने प्रतिबद्धता जनाए ।  उनले स्थानीय एकजुट भएमा काम गर्न सहज हुने सुनाए । शिलान्यास कार्यक्रममा भौतिक मन्त्रालयका निमित्त सचिव रामकुमार श्रेष्ठ, गाउँपालिका उपाध्यक्ष लालसुब्बा गुरूङ, रूपा—१ का वडाध्यक्ष रामबहादुर गोदार, रूपा—७ का वडाध्यक्ष कृष्णराज सुवेदी, अन्य जनप्रतिनिधि, नेपाली कांग्रेस रूपा गाउँपालिका समिति सभापति विमल न्यौपाने, माओवादी केन्द्रका प्रतिनिधि माधव पौडेललगायत उपस्थित थिए ।   यो मोटर बाटो निर्माणको ठेक्का एमरएस जी.एन.सी.पी.एल—बी.बी.आर कन्स्ट्रक्सन जेभी, हेटौंडाले पाएको छ । यसका लागि गत साउन १७ मा निर्माण कम्पनीसँग सम्झौता भएको छ ।  निर्माण कार्य २०८३ साल माघ १६ सम्म सक्नुपर्ने सम्झौता भएको पूर्वाधार विकास कार्यालय कास्की प्रमुख सी।डी।ई सोभियत खड्काले जानकारी दिए । रिङरोडको पहिलो खण्डअन्तर्गत फैंचोकदेखि पोल्याङसम्म १० किलोमिटर, रूपा परियोजनाअन्तर्गत ९ किलोमिटर सडक बनिसकेको छ ।

पोखरा:    गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुु कुमार थापाले विज्ञान र प्रविधिको विकासमा प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   १२ औं राष्ट्रिय विज्ञान दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले विज्ञानलाई समाजको अनिवार्य अंगको रुपमा विकास गर्न आवश्यक रहेको बताए ।   “विज्ञानलाई समाजको अनिवार्य अंगको रुपमा विकास गर्न आवश्यक छ । नेपालको हावापानी र माटो सुहाउँदो आविस्कार चाहियो ।”, उनले भने ।   मन्त्री थापाले विज्ञान र प्रविधिले ल्याएका कुराहरुलाई सहि ठाउमा प्रयोग गर्न सके मात्र लाभ मिल्ने उल्लेख गरे ।   आजको युग विज्ञान र प्रविधिको युग भएको बताउँदै मन्त्री थापाले कुनै पनि वस्तु वा विषयको प्रयोग र अवलोकनमा आधारित क्रमिक अध्ययन नै विज्ञान हो भएको बताए ।   आजको समयमा विज्ञान र प्रविधिलाई देशको विकास र समृद्धिको आधारका रुपमा लिन सकिने भनाई उनको छ ।   प्रा.डा.भरत पहारीले विज्ञानले अरुको गाली गर्न नसिकाउने र जिज्ञासा बढाउने बताए । विषयको विशिष्टिताको ज्ञान हुन आवश्यक रहेको भनाई उनको छ । प्रा.डा. नवराज देवकोटाले साइन्स एण्ड टेक्नोलोजी उत्पादन सङ्ग जोडिनुपर्ने बताए ।   डा.ढाकाराम भण्डारीले रिसर्चमा वहुवर्षीय रुपमा काम गर्न आवश्यक रहेको बताए । सस्तो लोकप्रियताले विज्ञानमा फड्को मार्न नसकिने भनाई उनको छ ।   डा.पुनम गौचनले रिसर्चमा महिलाहरुको उपस्थिति कम भएको बताइन् । पारिवारिक कारणले गर्दा यस्तो हुन गएको भनाई उनको छ ।   विज्ञान तथा प्रविधि ः विकास र उत्पादन वृद्धि भन्ने नारा सहित मनाइएको विज्ञान दिवसको समय पारेर प्यानल डिस्कसन गरिएको थियो । जसको सहजीकरण डा. कपिल अधिकारीले गरेका थिए ।  

पोखरा:   कास्की जिल्ला मुवाँथाई संघको संयोजकमा धन पुन चयन भएका छन् ।  मुवाँथाई संघ गण्डकी प्रदेशका अध्यक्ष मिलन थापाको प्रमुख आतिथ्यतामा भएको भेलाले पुनको संयोजकत्वमा कास्की जिल्ला मुवाँथाई संघको तदर्थ समिति गठन गरेको हो ।  समितिको सदस्यमा रोशन गुरुङ, विक्की गुरुङ, पूर्णिमा गुरुङ, पुष्पा पुन, लक्ष्मण गुरुङ र सचिन पुन रहेका छन् ।  रामबजार युथ क्लबको अध्यक्ष समेत रहेका पुन मुवाँथाईको प्रशिक्षण समेत दिदै आएका छन् । 

पोखरा:  पोखरामा आउँदो असोज १२ गते हुने ‘प्रथम पर्वतीय दौड प्रतियोगिता–२०८१’ मा सहभागि हुने प्रतियोगिहरुले अनलाइनबाटै फारम भरी दर्ता गर्न सक्ने भएका छन् । पोखरा वडा–२२ सहित समग्र पोखराको खेलपर्यटन माध्यमबाट प्रवद्र्धन गर्ने उद्देश्यले पोखरा क्लिक प्रा.लि. आयोजना गर्न लागेको उक्त पर्वतीय दौडमा सहभागिताको लागि भदौ ३० देखि असोज ८ गतेसम्म स्वदेशी तथा विदेशी खेलाडीहरुले दर्ता गर्न सक्ने भएको प्रा.लि.ले जनाएको छ ।   खेलाडीहरुको बिमा देखि उहाँहरुलाई प्रोत्साहन गर्न स्थानियले भव्य स्वागत गर्ने भएका छन् । ‘खेलपर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड’ नाराका साथ हुने ८ किलोमिटरको दौड प्रतियोगितामा सहभागिहरुले आफ्नो परिचय सहितको ठेगना खुल्ने गरी अनलाइनबाटै फारम भर्न सक्ने व्यबस्था मिलाएको पोखरा क्लिक प्रालि अध्यक्ष एवं प्रतियोगिता संयोजक दीननाथ बरालले बताए ।  पोखरा वडा २२ सँगै खेलकुदमार्फत समग्र पोखराको आन्तरिक एवं बाह्य पर्यटन प्रवद्र्धनका लागि प्रतियोगिता आयोजना गर्न लागिएको उनको भनाई छ । पोखरा २२  पुम्दी–भुम्दीमा मानवनिर्मित विश्व शान्ति स्तुप, पुम्दीकोट विशाल महादेवको मूर्ति तथा बुद्ध पार्क पछिल्लो समय पर्यटकीय गन्तव्य बन्दै गएका छन् । विश्व शान्ति स्तुपदेखि सुरु भइ पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा वडा २२ कार्यालय हुँदै बुद्ध पार्क (निगाले डाँडा) सम्म पुगेर दौडको रुट टुंगिने छ । खुलातर्फ प्रथमलाई २५ हजार, दोस्रोलाई १५ हजार र तेस्रोलाई ७ हजार साथमा ट्रफी, मेडल र प्रमाणपत्र पुरस्कार प्रदान गरिनेछ । यस्तै, महिला धावक र यू–१६ बालबालिका, पोखरा २२ का वडा धावकमध्ये उत्कृष्ट एक–एक जनालाई नगद ७ हजारसहित प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ ।   आगामी २१ सेप्टेम्बरलाई विश्व शान्ति दिवस तथा २७ सेप्टेम्बरलाई विश्व पर्यटन दिवसको रुपमा मनाइँदैछ । यही सन्दर्भ पारेर पहिलो प्रयास गरिएको पत्रकार एवं कम्पनी अध्यक्ष बरालले बताए । पोखरा क्लिक प्रालिअन्तर्गत हाल पोखरा क्लिक डटकम न्यूज पोर्टल संचालित रहेको कम्पनीका व्यबस्थापक सागर सुनारले जनाए ।  

पोखरा:    गण्डकी प्रदेशकी नवनियुक्त प्रेस रजिस्ट्रार विमला भण्डारीले सोमबार सपथ लिँदा मुख्यमन्त्री कार्यालय बाहिर विरोध भएको छ ।   कास्कीका १८ जना क्रियाशील पत्रकारले भण्डारीको विरोधमा प्रदर्शन गरेका हुन् ।    क्रियाशील पत्रकार समूहले ‘पत्रकारलाई अन्याय गर्नेलाई प्रेस रजिष्ट्रार उपहार ! प्लेकार्ड देखाएर भण्डारीको विरोध गरे ।   पत्रकार महासंघले भदौ २९ गते निर्वाचनको कार्यातालिका सार्वजनिक गर्दै अन्तिम मतदाता नामावली प्रकाशन गरेको थियो ।    अन्तिम नामावलीमा कास्की शाखाले छनोट गरी गण्डकी प्रदेश कार्यालय पठाएकोमा प्रदेश कार्यालयले समेत उक्त नाम अनुमोदन गरेर पठाएपछि पनि केन्द्रले सबैको नाम नसमेटेकोमा भण्डारीले कास्की शाखाकोतर्फबाट नबोलेको भन्दै सपथ ग्रहणबाहिर विरोध गरिएको समूहका सदस्यले बताएका छन् ।   सदस्यता वितरणमा राजनीतिकरण हुँदा ३२ भन्दा बढी पत्रकार महासंघ जिल्ला शाखाले नै क्रियाशील पत्रकारलाई समेट्न माग गर्दै संयुक्त विज्ञप्ति निकालेका छन् ।   तर, कास्की शाखाकी अध्यक्ष भण्डारीले सदस्यता वितरणमा राजनीतिकरण गर्दै मौनता साधेको, पत्रकार महासंघमा शान्तिपूर्ण आन्दोलन गर्दा प्रहरी बोलाएर आन्दोलन तुआउन खोजेको आरोप समूहको छ ।      डेढ वर्षअघि सदस्यता आह्वान गर्दा ९३ जनाको आवेदन परेकोमा कास्की शाखाले क्रियाशील १८ जना मात्र छनोट भई प्रदेश समिति हुँदै केन्द्रमा पठाइएको थियो । तर, केन्द्रले ३ जनाको मात्र अन्तिम नामावलीमा प्रकाशन गरेको भन्दै १८ जना क्रियाशील पत्रकार नै पुनः आन्दोलन उत्रर्दै सोमबार नै कास्की शाखामा तालाबन्दी गरेका छन् ।    कास्की शाखामा तालाबन्दी लगत्तै सपथ ग्रहणमा पुगेर क्रियाशील पत्रकार समूहले विरोध प्रदर्शन गरेका हुन् ।   क्रियाशीप पत्रकार समूहले यसअघि  महासंघ भवनमा ताला लगाउँदा कास्की अध्यक्ष विमला भण्डारी र विभिन्न संगठनका नेताले सदस्यता आउने आश्वासन दिएपछि ताल्चा खालेको समूहको भनाइ छ । तर, सहमति अनुसार गरिएको वाचा पूरा नगरिएको भन्दै १८ जनाको समूह पुनः आन्दोलनमा उत्रेको बताए ।     ‘हामीले लगाएको ताला खोलेका थियौं । अहिले फेरि हाम्रो आन्दोलन र मागलाई कमजोर ठानेर जुन तरिकाले नाम प्रकाशन भएको छ यसमा हाम्रो सहमति छैन,’ क्रियाशील पत्रकार समूहले निकालेको ध्यानकर्षण पत्रमा उल्लेख छ ।    

पोखरा:    संविधान दिवसको अवसरमा आज पोखराको फेवातालमा सरसफाइ गरिएको छ ।      कास्कीस्थित जिल्ला प्रशासन कार्यालय, कर्मचारी मिलन केन्द्र, नागरिक समाज, पोखरा महानगरपालिकाको संयुक्त संयोजनमा पोखराको फिर्के खोला मिसिएको फेवाताल किनारा एवं ड्यामसाइड क्षेत्रमा सरसफाइ गरिएको हो ।      सरसफाइमा सबै सुरक्षा निकाय, नगर प्रहरी, सरकारी कर्मचारी र नागरिक समाजको उपस्थिति रहेको थियो । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले संविधान दिवसका अवसरमा प्रदेशस्तरमा विभिन्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।  फेवाताल यहाँको मुख्य सम्पदा भएको बताउँदै उहाँले फेवातालले छिट्टै आफ्नो आकार पाउने विश्वास व्यक्त गर्नुभयो ।      कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले संविधान दिवसका अवसरमा फेवातालको सरसफाइ आयोजना गरिएको बताउँदै यसको संरक्षण सबैको दायित्व भएको बताउनुुभयो ।      कर्मचारी मिलन केन्द्रका अध्यक्ष लोकनाथ आचार्यले केन्द्रका तर्फबाट हरेक महिनाको एक दिन पोखराका सम्पदास्थल सरसफाइ गरिएको बताउँदै संविधान दिवसको अवसरमा सरसफाइ कार्यक्रम फेवातालमा केन्द्रित गरिएको जानकारी दिनुभयो ।       नागरिक समाज कास्कीका संयोजक रामबहादुर पौडेलले पोखराको गौरव फेवातालको संरक्षणका लागि राज्यको ध्यान पुग्नु जरुरी भएको बताउनुुभयो । फिर्के खोलाबाट फेवातालमा फोहर नआउने गरी व्यवस्थापन गर्नुु जरुरी रहेको उहाँको भनाइ छ । संविधान दिवस असोज ३ गते मनाउने गरिन्छ ।

पोखरा:   नेपाल पत्रकार महासंघ कास्कीको भवनमा क्रियाशील पत्रकारले तालाबन्दी गरेका छन् ।    सदस्यता वितरणमा राजनीतिकरण गरिएको भन्दै कास्कीका १८ जना पत्रकारको समूहले सोमबार फेरि तालाबन्दी गरेका हुन् ।   समूहले शान्तिपूर्ण आन्दोलन गर्ने जानकारी दिएपनि नेतृत्वले महासंघमा प्रहरी बोलाएर आन्दोलनलाई दबाउन खाजेको आरोप लगाएको छ ।    समूहले नेपाल पत्रकार महासंघको निर्वाचन गर्न गठित केन्द्रीय निर्वाचन समितिले भदौ २९ गते प्रकाशन गरेको अन्तिम नामावलीप्रति आपत्ति जनाएको हो ।   डेढ वर्षअघि सदस्यता आह्वान गर्दा ९३ जनाको आवेदन परेकोमा कास्की शाखाले क्रियाशील १८ जना मात्र छनोट भई प्रदेश समिति हुँदै केन्द्रमा पठाइएको थियो । तर, केन्द्रले ३ जनाको मात्र अन्तिम नामावलीमा प्रकाशन गरेको भन्दै १८ जना क्रियाशील पत्रकार नै पुन: आन्दोलनमा उत्रेका छन् ।    महासंघले लिष्टमै नभएका व्यक्तिको नाम पनि नामावलीमा देख्दा महासंघले राजनीतिक भागबण्डाअनुसार सदस्यता प्रदान गरेको समूहको आरोप छ ।   ‘पत्रकारको छाता संगठन बन्नुपर्नेमा पत्रकार महासंघ दलीय भातृ संगठनको रुपमा उभिएकोमा हाम्रो घोर विरोध छ । महासंघले प्रकाशन गरेको नामावलीमा ३२ जिल्ला शाखाले आपत्ति जनाउँदै विज्ञप्ति जारी गर्दा हाम्रो कास्की र गण्डकी प्रदेश शाखा मौन हुनुले केन्द्रसँगको साँठगाँठ भएको स्पष्ट छ,’ समूहले जारी गरेको पत्रमा उल्लेख छ ।    उनीहरुले महासंघमा नेता पत्रकार कुरीकुरी’, ‘१८ जनामा ३ जनाको मात्र सदस्यमात्र कसरी आयो,’ ‘सिफारिसमै नभएकाको नाम कसरी आयो’, पत्रकार महासंघ कस्ले चलाउँछ,’ ‘पत्रकार महासंघ पत्रकारको छाता संस्था कि कार्यकर्ता भर्ती केन्द्र’ लगायतका नारा लगाउँदै प्रदर्शन गरेका थिए ।   यो समूहले यसअघि पनि महासंघ भवनमा ताला लगाउँदा कास्की अध्यक्ष विमला भण्डारीलगायतले सदस्यता आउने आश्वासन दिएपछि खुलेको थियो । तर,   सहमति अनुसार गरिएको वाचा पूरा नगरिएको भन्दै १८ जनाको समूह पुन आन्दोलनमा उत्रेको हो ।      ‘हामीले लगाएको ताला खोलेका थियौं । अहिले फेरि हाम्रो आन्दोलन र मागलाई कमजोर ठानेर जुन तरिकाले नाम प्रकाशन भएको छ यसमा हाम्रो सहमति छैन,’ पत्रमा उल्लेख छ ।   समूहले माग सम्बोधन नभए पत्रकार महासंघको कुनै पनि निर्वाचन हुन नदिने धम्की दिएको छ ।   यस्तो परिस्थितिमा हुने क्षतिको सम्पूर्ण जिम्मेवारी नेपाल पत्रकार महासंघले नै लिनुपर्ने उल्लेख छ । नेपाल पत्रकार महासंघ कास्कीले २०७९ मंसिरमा आवेदन मागेको थियो । कास्कीबाट १८ जनाको नाम सिफारिस भएका थिए ।   यी सदस्यलाई प्रदेशले पनि अनुमोदन गरेर पठाए पनि पत्रकार महासंघ केन्द्रले सदस्यता वितरणमा राजनीति भागबण्डा गरेको समूहको आरोप छ ।    

पोखरा:   नेपाल मगर संघका संस्थापक अध्यक्ष स्व. हेमबहादुर पुनमगरको २० औं स्मृति दिवस पोखरामा पनि मनाइएको छ ।    हेमबहादुर पुन स्मृति प्रतिष्ठा–नेपाल र नेपाल मगर संघ जिल्ला समन्वय समिति कास्कीको आयोजनामा मगरका संघका संस्थापक अध्यक्ष स्व. हेमबहादुर पुनमगरको २० औं स्मृति दिवस मनाएको हो ।    स्व. हेमबहादुर पुनमगरको २० औं स्मृति दिवसको अवसरमा बोल्दै गण्डकी प्रदेशका उपसभामुख बिना कुमारी थापाले स्व.हेमबहादुर पुनमगरले देशका लागि महत्वपूर्ण योगदान पु¥याएको बताइन् ।    ‘बेलायत आर्मीबाट अवकाश लिएर नेपाल प्रहरीको निरीक्षक सम्म हुनुभएका स्व. हेमबहादुर पुनमगरले राष्ट्र र देशका लागि महत्वपूर्ण योगदान दिनुभएको छ’, उपसभामुख थापाले भनिन्, ‘मगर  समुदाय र पिछडिएका वर्गको उत्थानका लागि नै उनले जागिर छोडेर तत्कालिन समयमा आन्दोलन होमिए जसको कारण आज हामी यो स्थानमा पुग्न सकेका छौं ।’   उपसभामुख थापाले स्व. हेमबहादुर पुनमगरले सम्पूर्ण मगर जातिलाई एकतावद्ध भएर अगाडि बढाउन मगर संघको स्थापना गरेको बताए ।    ‘स्व. हेमबहादर पुनमगरले सम्पूर्ण मगर जातिलाई एकतावद्ध बनाउन २०३८ सालमा लाङघाली परिवार संघको स्थापना गर्नुभयो’, उनले भनिन् ‘मगरहरुको हकहित र सामाजिक परिवर्तनमा काम गर्दै आएको लाङघाली परिवार संघलाई मगर संघमा रुपान्तरण गरिएको छ जसको नेतृत्व समेत उहाँले नै गर्नुभयो जसको कारण हामी मगर जातिलाई फुटाउन केही तत्वहरु लागेका छन् जसबाट हामी बच्नु पर्छ ।’   कार्यक्रममा हेमबहादुर पुन स्मृति प्रतिष्ठान–नेपालका संरक्षक, नेपाल मगर संघका संस्थापक अध्यक्ष स्व. हेमबहादुर पुनमगरका छोरा एवम् पूर्व मन्त्री उत्तमबहादुर पुनमगरले सामाजिक कार्यमा अग्रसर हुन स्मृति प्रतिष्ठान खोलिएको बताए ।    ‘अहिले देशमा धेरै नेता तथा व्यक्तिहरुको नाममा स्मृति प्रतिष्ठान स्थापना भएका छन्, यसैको शिलशिलामा हामीले पनि मगर संघका संस्थापक अध्यक्ष स्व. हेमबहादर पुनको नाममा प्रतिष्ठान स्थापना गरिसकेका छौं, पुनमगरले भने, ‘सामाजिक कार्यक्रममा अग्रसर हुन र सम्पूर्ण मगर समुदायलाई एकतावद्ध बनाएर अगाडि बढाउन प्रतिष्ठान स्थापना गरेका छौं ।’   उनले पुनमगर र पुन जाति भनेर अलग हुन खोजको भन्दै जाति टुक्रिदा समुदाय नै कमजोर भएर जाने भकाले एकताबद्ध भएर अगाडि बढ्नसमेत सुझाब दिए ।    यस्तै नेपाल मगर संघका केन्द्रीय समितिका सल्लाहकार बालसिंह काउछामगरले स्व. हेमबहादर पुन प्रतिष्ठानलाई राज्यले सहयोग गर्न आवश्यक रहेको बताए ।    ‘स्व. हेमबहादुर पुनको योगदानलाई राज्यले उचित न्याय गर्नुपर्छ, हिजोका दिन बेलायत आर्मी र नेपाल पुलिसको जागिरबाट अवकाश लिइसकेपछि राणा शासन देखि जनताको हकअधिकारका लागि लडेका हुन् राज्यले सम्मान गर्नुपर्छ’, काउछामगरले भने ।    अर्का वक्ता नेपाल मगर संघका पूर्व केन्द्रिय महासचिव एवम् अधिवक्ता सुरेन्द्र थापामगर, नेपाल मगर संघका केन्द्रिय उपमहासचिव खेमबहादुर पुनमगर, नेपाल मगर संघका केन्द्रिय सल्लाहकार एवम् नेपाल पुनमगर समाजका केन्द्रिय अध्यक्ष हर्कबहादुर पहरेपुनमगर र नेपाल मगर संघ गण्डकी प्रदेश समितिका अध्यक्ष तारामाया थापामगर लगायतले बोलेका थिए ।    कार्यक्रममा स्व. हेमबहादुर पुनमगरको योगदान र जिवनीसँग सम्बन्धित पुस्तक ‘ज्यूँदो इतिहास’ लेखक बालकृष्ण काउछा मगरलाई सम्मान गरिएको थियो । यस्तै हेमबहादुर पुन स्मृति प्रतिष्ठान नेपालका महासचिव  मेकबहादुर पुनमगरले स्व. हेमबहादुर पुनमगरको जीवनी प्रस्तुत गरे ।    कार्यक्रममा हेमबहादुर पुन स्मृति प्रतिष्ठान–नेपालका अध्यक्ष संगिता पुनमगरको अध्यक्षता, नेपाल मगर संघ कास्कीका अध्यक्ष रामबहादुर थापामगरको स्वागत र सचिव लालबहादुर रानामगरको सञ्चालनमा सम्पन्न भएको थियो ।   

कास्कीमा डेंगी संक्रमणबाट तीनजनाको मृत्यु भएको छ ।   पोखरा महानगरपालिका–५ का ५२ वर्षीया महिला, १२ का ४० वर्षीय र १० का ८० वर्षीय पुरुषको मृत्य भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यालयका भेक्टर   कन्ट्रोल अधिकृत याम बरालकानुसार गत जनवरियता जिल्लाका तीन हजार सात सय ६८ जनामा डेंगी संक्रमण पुष्टि भएको छ ।   आइतबारसम्ममा सबैभन्दा बढी पोखरा महानगरपालिकामा तीन हजार एक सय ११, अन्नपूर्ण गाउँपालिकामा २३, माछापुछ्रे गाउँपालिकामा ४०, मादी गाउँपालिकामा १० र रुपा गाउँपालिकामा १३ जनामा डेंगी संक्रमण देखिएको हो ।   यस्तै अन्य जिल्लाका दुई सय ६३ र ठेगाना नखुलेका तीन सय आठ गरी कास्कीमा कूल तीन हजार सात सय ६८ जनामा डेंगी संक्रमण पुष्टि भएको हो । पोखरा महानगरपालिका वडा नं ५ र ८ लगायतका वडा डेंगीको प्रकोपबाट बढी प्रभावित भएको भेक्टर कन्ट्रोल अधिकृत बरालले बताए ।   जनघनत्व बढी भएका ठाउँमा संक्रमण छिटो फैलने हुँदा पोखरा डेंगीको ‘हट स्पट’ बनिरहेको उनको भनाइ छ । स्वास्थ्य कार्यालयले डेंगीको उपचारका क्रममा पोखराका अस्पतालमा ज्यान गुमाउनेमा अन्य जिल्लाका संक्रमितसमेत रहेको जनाएको छ ।   संक्रमण तीव्र बन्दै जाँदा उक्त रोग सङ्क्रमणबाट जोगिन विशेष सावधानी अपनाउन चिकित्सक तथा स्वास्थ्यकर्मीले सुझाएका छन् ।   स्वास्थ्य कार्यालय प्रमुख रामबहादुर नेपालीले संक्रमण जटिल बनेर मानिसको मृत्युसमेत हुन सक्ने भएकाले रोग सार्ने लामखुट्टेको टोकाइबाट बच्न आग्रह गरे ।   पछिल्लो तीन महिनामा डेंगी संक्रमणको दर ह्वात्तै बढेको र अब समयमा जोखिम न्यूनीकरण र नियन्त्रण गर्न नसके महामारीको रूप लिनसक्ने प्रमुख नेपालीले बताए । “डेंगीलाई सामान्य रूपले नसोचौँ, यसका अप्रिय उदाहरण हामीसँग छन्”, उनले भने, “संक्रमणपछि उपचार र हेरचाह पुगेन भने स्वास्थ्य अवस्था जटिल बन्दै बिरामीको मृत्युसमेत हुनसक्छ । यसैले डेंगी रोकथाम र नियन्त्रणका लागि सबै पक्ष सचेत र जिम्मेवार हुनुपर्छ ।”