काठमाडौं: सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले तीन वर्षभित्र संविधान संशोधन प्रक्रिया पूरा हुने बताउनुभएको छ । सञ्चार मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उठेका प्रश्नको जवाफ दिने क्रममा उहाँले संविधान संशोधन सरकारको महत्वपूर्ण काम भएको उल्लेख गर्नुभयो । “सरकार अहिले सुशासन प्रणालीलाई गतिशील बनाउन कटिबद्ध छ, संविधान संशोधनको काम तीन वर्षभित्र पूरा हुन्छ”, उहाँले भन्नुभयो । नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कांग्रेस मिलेर वर्तमान सरकार गठन हुँदा भएको सहमतिमा संविधान संशोधन पनि एउटा महत्वपूर्ण बुँदा रहेको उल्लेख गर्दै उहाँले संविधान कार्यान्वयनका चरणमा देखिएका समस्या पहिचान गर्ने काम भइरहेको समेत बताउनुभयो । नेपाल सरकारका प्रवक्ता समेत रहनुभएका मन्त्री गुरुङले अहिले शासन प्रणालीलाई जनतामुखी कसरी बनाउने भन्नेतर्फ यो सरकार केन्द्रित रहेको बताउनुभयो । कोमामा रहेको मुलुकको अर्थतन्त्र सुधार गर्दै सुशासनमा जोड दिएको अहिलेको सरकारले संविधान संशोधन तीन वर्षभित्र गरेरै छाड्ने उल्लेख गर्नुभयो । “संविधान संशोधनको विषय पहिचानका लागि समिति बनाएका छौँ । समस्या पहिचान गरेर मात्रै संविधान संशोधन प्रक्रिया अघि बढाउछौँ”, मन्त्री गुरुङले भन्नुभयो, “संविधान संशोधन सबै दलको साझा सहमतिमा मात्रै हुन्छ ।” त्यसअवसरमा पछिल्लो समय राजतन्त्रका सम्बन्धमा भइरहेका गतिविधिसम्बन्धी प्रतिक्रिया दिँदै मन्त्री गुरुङले आजका दिनमा राजतन्त्र रोज्नु भनेको सामन्ती व्यवस्थालाई रोज्नु रहेको बताउनुभयो । “लोकतन्त्र विरोधी राजतन्त्र कहिल्यै जनताको हितमा हुँदैन, आफ्नो दरबारको रक्षा गर्न नसक्ने राजतन्त्रले देश कसरी बचाउन सक्छ रु”, उहाँले भन्नुभयो । उहाँले राजतन्त्रात्मक प्रणालीमा विश्वास गर्नु लोकतन्त्र विरोधी रहेको समेत उल्लेख गर्नुभयो ।
सर्लाही: नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तराई–मधेस जागरण अभियानले जनतामा नयाँ आशाको सञ्चार गरेको बताउनुभएको छ । सर्लाहीको मलङ्गवामा आज ‘हुलाकी मार्ग केन्द्रित जनतासँग माओवादी तराई–मधेस जागरण अभियान’अन्तर्गत एकीकृत अखिल नेपाल शिक्षक सङ्गठन जिल्ला समन्वय समितिले आयोजना गरिएको कार्यक्रममा उहाँले झापाबाट सर्लाहीसम्म आइपुग्दा बुद्धिजीवी, किसान, मजदुर, मधेसी, दलित, आदिवासीलगायत सम्पूर्ण जनतामा नयाँ आशाको सञ्चार छाएको महसुस गरेको बताउनुभयो । अध्यक्ष दाहालले अहिले विद्यमान रहेका भ्रष्टाचारलगायत बेथिति अन्त्यका लागि सबै तह र तप्काका जनता एकजुट भएर सरोकार भएका निकाय र प्रतिनिधिलाई खबरदारी गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकको समाजिक, आर्थिक, राजनीतिक रुपान्तरण शिक्षकको भूमिका महत्वपूर्ण रहेको बताउँदै शिक्षासम्बन्धी विधेयकबारे सम्बन्धित समितिमा छफलफल भइरहेको जानकारी दिनुभयो । अध्यक्ष दाहालले उक्त विधेयकमा एक हजार सात सय संशोधन परेको बताउँदै जटिलताका बाबजुद पनि निरन्तर छलफल भइरहेकाले सबैको हितलाई मध्यनजर गर्दै सहमतिका आधारमा विधेयक आउने धारणा राख्नुभयो । माओवादी केन्द्रले अभियान सुरु गरेपछि राज्यको सम्पूर्ण ध्यान अहिले मधेसतिर केन्द्रित भएको उहाँको दाबी छ । मधेसको दक्षिणी भागमा रहेका गरिब, दलित, मजदुर, किसानका हकअधिकार प्रदान गर्न पहल गर्ने, यहाँको आर्थिक, पर्यटन र कृषि क्षेत्रको विकास गर्ने तथा सीमा क्षेत्रको अवस्था अध्ययन गरेर राष्ट्रिय रूपमा स्थापित गर्ने उद्देश्यले हुलाकी मार्ग केन्द्रित अभियान सञ्चालन गरिएको अध्यक्ष दाहालले बताउनुभयो । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका उहाँले रोकिएर रहेको पूर्व–पश्चिम हुलाकी सडक आफू प्रधानमन्त्री हुँदा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल गरेर निर्माण अघि बढाएको दाबी गर्नुभयो । माओवादी केन्द्रका अध्यक्ष दाहालले आज जिल्लाका एक दर्जन बढी स्थानमा पार्टीका नेता, कार्यकर्तालाई सम्बोधन गर्नुभएको थियो । उक्त अभियानअन्तर्गत यहाँ आयोजित कार्यक्रम सकेर आजै अध्यक्ष दाहालसहित पार्टीका शीर्षनेता रौतहट प्रस्थान गर्ने कार्यतालिका रहेको पार्टीका जिल्ला इन्चार्ज अच्युतम काफ्लेले जानकारी दिनुभयो ।
महोत्तरी: आफ्नो जिल्लामा मुख्य दलका नेताको एकैचोटी जमघट हुँदा महोत्तरीमा उत्साह छाएको छ । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दलका नेतासमेत रहनुभएका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को बिहीबार एकै दिन जिल्लामा भएका कार्यक्रममा सहभागिताले यहाँ उत्साह देखिएको हो । “मुलुकका जिम्मेवार दलका नेताहरू एकैदिन जिल्लाका विभिन्न कार्यक्रममा सरिक हुनुहुन्छ, यसले यहाँका जनतामा आशा र उत्साह पलाएको छ”, बर्दिबास नगरपालिकाका प्रमुख प्रल्हादकुमार क्षेत्री भन्नुहुन्छ, “मुख्य दलका नेताले यहाँका विषय उठाउनुभएको छ, यहाँका आवश्यकताले उपल्लो तहमा चासो बढाएको छ, यो हाम्रा लागि अवसर हो ।” तत्कालै कुनै परिणाम देखिनहाले पनि नेताहरूको यो जमघटले जिल्लालाई दूरगामी रूपमा फाइदा नै पुग्ने क्षेत्रीको विश्वास छ । प्रधानमन्त्री ओली बिहीबार जिल्लाको गौशाला–१ स्थित नेपाल पल्प एण्ड पेपर इण्डष्ट्रिज प्रालिको उद्घाटन समारोहमा सभापति देउवा पार्टी कार्यकर्ताबीच बर्दिबासमा र अध्यक्ष दाहाल सम्सीमा ‘जनतासँग माओवादी, तराई मधेस जागरण अभियान’को कार्यक्रममा सरिक हुनुहुन्थ्यो । “तीनै ठाउँमा मधेसको आर्थिक विकास र समृद्धिका कुरा उप्किए, तीनै नेताले यहाँको विकासमा आपूm प्रतिबद्ध रहेको बताउनुभयो”, गौशाला–४ रजखोरका सामाजिक राजनीतिक कार्यकर्ता अजय कुशवाहा भन्नुहुन्छ, “नेताहरूको यो जमघटले यहाँका विकास सम्भावनाबारे चर्चा बढेका छन् ।” बहालवाला प्रधानमन्त्री र दुई पूर्वप्रधानमन्त्री नै रहनुभएका हुँदा आशलाग्दो स्थिति बनेको कुशवाहाको बुझाइ छ । बुधबारदेखि नै जिल्लामा विभिन्न भेटघाट र सभामा सरिक हुनुभएका माओवादी अध्यक्ष दाहालले बिहानबेलुका सर्वसाधारणसँग पनि प्रत्यक्ष भेटघाट र कुराकानी गर्नुभएको छ । यसैगरी शुक्रबारको मनराशिशवा नगरपालिकाको कार्यक्रममा सरिक हुन बिहीबार नै बर्दिबास आइपुग्नुभएका सभापति देउवाले यहाँका कृषि, उद्योग र सुक्खा बन्दरगाहको कुरा महत्वका साथ हेरिने बताउनुभएको छ । अध्यक्ष दाहालले त सुक्खा बन्दरगाहबारे आपूm निकै उत्साही रहेको र यसका लागि पहलकदमी लिने सार्वजनिक प्रतिबद्धता नै जनाउनुभएबाट अब केही हुन्छ भन्ने विश्वास पलाउँदै गएको जलेश्वर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवचन्द्र चौधरीको प्रतिक्रिया छ । प्रधानमन्त्री ओली सरिक कार्यक्रममा नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक कल्याणमन्त्री तथा लोसपाका वरिष्ठ नेता शरतसिंह भण्डारी र मधेस प्रदेशका मुख्यमन्त्री तथा जनमत पार्टीका नेता सतिशकुमार सिंहको सरिकताले यहाँका कुरा केन्द्र र प्रदेश सरकारसम्म जिम्मेवार तहमा पुगेका गौशालाका नगरप्रमुख डा दीपेन्द्र महतो बताउनुहुन्छ । यसबाहेक प्रदेश सरकारका मन्त्रीहरू सरोजकुमार यादव र राजकुमार लेखीसहितको नेताहरूको सामूहिक सहभागिताले यहाँका प्रस्ताव अब सबैजसो दलका मुख्य नेतासम्म पुगेका डा महतोको भनाइ छ । कार्यक्रम सकेर प्रधानमन्त्री ओली र माओवादी अध्यक्ष दाहाल महोत्तरीबाट फर्किसके पनि सभापति देउवा भने आज मनराशिशवामा आयोजना हुने कार्यक्रममा सरिक हुने तालिका छ । नेताहरूको यो जमघट जति बढ्यो, यहाँका आवश्यकताका कुराले जिम्मेवार ठाउँमा उति चर्चा पाएका शिक्षाविद् बर्दिबास–१ स्थित देउराली माध्यमिक विद्यालयका प्रधानाध्यापक कुमार घिमिरे बताउनुहुन्छ । यस भेगमा नेताहरूको जमघटबीच यहीँकै विकास निर्माण र त्यससम्बन्धी बहसका मुद्दा जोडतोडका बढ्दा अब नयाँ कामका विषयबारे सघन चासो र चर्चा बढेको घिमिरेको ठम्याइ छ ।
ललितपुर: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा भूतपूर्व सैनिकले पु¥याएको योगदान महत्वपूर्ण रहेको बताउनुभएको छ । पार्टीको केन्द्रीय कार्यालय सानेपामा आज आयोजित नेपाल भूतपूर्व सैनिक सङ्घको छैठौँं केन्द्रीय महाधिवेशन उद्घाटन गर्नुहँुदै उहाँले सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भएमात्रै कांग्रेस पार्टी बलियो हुने चर्चा गर्नुभयो । उहाँले कांग्रेस बलियो भएमात्रै लोकतन्त्र सुदृढ हुने र नेपाल समृद्ध मुलुक बन्नसक्ने बताउनुभयो । सभापति देउवाले भन्नुभयो “लोकतन्त्रमा मात्रै सबै वर्गको अधिकार सुनिश्चित हुन्छ, सबै भ्रातृ एवं शुभेच्छुक संस्था बलियो भए हाम्रो पार्टी बलियो हुन्छ । नेपाली कांग्रेस बलियो पार्टी भएमात्रै नेपाल समृद्ध मुलुक बन्नसक्छ । यसमा विशेष ध्यान दिन मेरो अनुरोध छ ।” उहाँले भूतपूर्व सैनिकका सेवा र सुविधाका विषयमा समस्या रहेको कुरालाई बुझेर आफूले समाधानका लागि पहलकदमी गरिरहेको बताउनुभयो । उहाँले गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको पनि जानकारी गराउनुभयो । गोरखा भर्तीका समस्या समाधानका लागि कूटनीतिक तहमा कुरा अगाडि बढाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो ,“नेपालका भूतपूर्व सैनिक साथीको समस्या नभएको होइन, यसमा स्पष्ट छु । गोरखा भर्ती केन्द्रका बारेमा सरकारसँग कुरा भइरहेको छ । साथीहरुको सुझाव लिएर भोलिका दिनमा समस्या समाधानका लागि कूटनीतिक तहमा कुरा अगाडि बढाइनेछ । नेपाली भूतपूर्व सैनिकमा पेन्सनको जुन विभेद् छ, त्यसप्रति म जानकार छु । समस्या समाधानका लागि हामी लागिरहनेछौँ ।” पार्टीका सहमहामन्त्री भीष्मराज आङ्दम्बेले भूतपूर्व सैनिकको त्याग, तपस्या र बलिदानले नेपाली कांग्रेसले यो स्थान हासिल गर्न सफल भएको बताउनुभयो । उहाँले नेपाली कांग्रेसलाई थप व्यवस्थित बनाउन अनुशासनको व्यवस्थालाई प्रभावकारी बनाइनुपर्छ भन्नुभयो । लोकतान्त्रिक खेलकुद सङ्घको महाधिवेशन निर्देशक समितिका प्रमुख एवं केन्द्रीय सदस्य मोहनबहादुर बस्नेतले भूतपूर्व सैनिक सङ्घ पार्टीले भर गर्नसक्ने सङ्गठनका रुपमा विकसित हुन सकोस् भन्ने शुभकामना व्यक्त गर्नुभयो । उहाँले नेपाली सैनिकको नाम लिने वित्तिकै विश्वले शिर उच्च बनाउने अवस्था रहेको भन्दै पार्टीलाई पनि अनुशासित बनाउन महत्वपूर्ण योगदान दिन आग्रह गर्नुभयो । बस्नेतले सार्वजनिक खपतका लागि पार्टीभित्रको विषयलाई अनावश्यक उछाल्ने काम हुन नहुने भन्दै सैनिक सङ्घलाई बलियो बनाउँदा पार्टी बलियो हुने प्रष्ट पार्नुभयो । नेपाली कांग्रेसको महिला विभागको प्रमुख एवं केन्द्रीय सदस्य पुष्पा भुुसालले भूतपूर्व सैनिकले हरेक राजनीतिक उत्तरचढावमा काम गर्न, नेपालको पहिचान कायम राख्न ठूलो योगदान पु¥याएको बताउनुभयो । कांग्रेस केन्द्रीय सदस्य डिला सङ्ग्रौलाले लोकतन्त्र प्राप्ति र पुनःप्राप्तिको आन्दोलनमा भूतपूर्व सैनिकको महत्वपूर्ण योगदान रहेको बताउँदै भूतपूर्व सैनिकले जानेको सीप र दक्षतालाई पार्टीमा उपयोग गरेर बलियो बनाउनुपर्छ भन्नुभयो । उहाँले पार्टीको अबको यात्रामा भूतपूर्व सैनिकको भूमिकालाई प्रभावकारी बनाइनुपर्छ भन्नेमा जोड दिनुभयो । सङ्घको राष्ट्रिय महाधिवेशन यही फागुनसम्म २४ गतेसम्म चल्नेछ ।
काठमाडौँ: प्रमुख सत्तारूढ दल नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले बुधबार बस्ने सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठकमा अनिवार्य उपस्थित हुन आफ्ना सांसदहरुलाई ह्विप जारी गरेको छ । बुधबार दिउँसो १ बजे बस्ने संसद् बैठकमा सरकारले ल्याएको ‘सुशासन प्रवद्र्धन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) अध्यादेश, २०८१’, ‘निजीकरण (पहिलो संशोधन) अध्यादेश, २०८१’ र ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’, सहित पाँच अध्यादेश संसद्बाट पारित गर्नुपर्ने भएकाले दुवै पार्टीले आफ्ना सांसदलाई अनिवार्य उपस्थितिका लागि निर्देशनात्मक ह्विप जारी गरेका हुन् । सरकारले ‘सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१’ तथा ‘सुशासन प्रवद्र्धनसम्बन्धी अध्यादेश, २०८१’ पनि बुधबार संसद्मा पेस गर्ने भएको छ ।
धनुषा: नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले हाल कुनै पनि पार्टीसँग एकीकरणको सम्भावना नरहेको बताउनुभएको छ । आज प्रेस सङ्गठन नेपालद्वारा जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका नेता खनालले पार्टी एकीकरण गर्नुपर्ने अवस्था नआएकाले हाल यसको सम्भावना नरहेको स्पष्ट पार्नुभयो । तर उहाँले महत्त्वपूर्ण ‘एजेन्डा’का आधारमा कार्यगत एकता गर्न सकिने बताउनुभयो । “तत्काल पार्टी एकीकरण सम्भव छैन तर, ‘इस्यु’का आधारमा कार्यगत एकता गर्न सकिन्छ । जस्तै, अहिले राष्ट्रियतामाथि खतरा छ । यस्तो अवस्थामा वामपन्थी मात्र होइन, सबैले एकताबद्ध भएर उभिनुपर्छ,” खनालले भन्नुभयो । पूर्वप्रधानमन्त्री खनालले संविधानअनुसार ऐन निर्माणको प्रक्रिया सहजै अघि बढ्न सक्ने भए पनि सरकारले अनावश्यक रूपमा अध्यादेश ल्याएको उल्लेख गर्नुभयो । “संविधानअनुसार सामान्य प्रक्रियाबाट ऐन बनाउन कसैले अवरोध गरेको छैन । यस्तो अवस्थामा अध्यादेश ल्याउनु गलत हो,” खनालले भन्नुभयो । खनालले वर्तमान सरकारलाई सङ्कटको भारी बोकेर हिँडिरहेको आरोप लगाउनुभयो ।
पोखरा: आगामी चैत ५ गतेका लागि तोकिएको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचनका लागि पोखराको पृथ्वीनारायण क्याम्पसमा १२ वटा सङ्गठन दर्ता भएका छन् । आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म निर्वाचनका लागि सङ्घ, सङ्गठन र समूह दर्ता गर्ने समय निर्धारण गरिएको थियो । निर्वाचन समितिले दिएको जानकारी अनुसार स्ववियु निर्वाचनका लागि पिएन क्याम्पस पोखरामा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु), अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियू), प्राज्ञिक विद्यार्थी परिषद् नेपाल, नेपाल विद्यार्थी संघ, अखिल (क्रान्तिकारी) बहुमत, नयाँ शक्ति विद्यार्थी युनियन, अखिल छैठौ), अखिल (समाजवादी), अखिल (क्रान्तिकारी), अखिल (क्रान्तिकारी) वैद्य, नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) दर्ता भएका हुन् । स्ववियु निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनका लागि तोकिएको छ । दुवै तर्फको उम्मेदवारको अन्तिम नामावली २९ फागुनमा सार्वजनिक गरिने छ । ५ चैतमा बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म मतदान हुने कार्यतालिका छ ।
पोखरा: नेकपा (एमाले)निकट विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)ले पोखरास्थित जनप्रिय बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को सभापति पदका उम्मेद्वार घोषणा गरेको छ । पार्टी जिल्ला कमिटी सचिव दर्शन लामाको प्रमुख आतिथ्यतामा सोमबार क्याम्पस गेटमा आयोजित कार्यक्रममा पार्टी जिल्ला कमिटी सदस्य एवं विद्यार्थी इलाका इन्चार्ज महेन्द्र उपाध्याय (मन्नु)ले उम्मेद्वार घोषणा गरेका हुन् । आगामी ५ चैतमा हुने निर्वाचनका लागि अनेरास्ववियुबाट संगठनका क्याम्पस कमिटी संयोजक आविष्कार केसी सभापति लड्ने इन्चार्ज पौडेलले सार्वजनिक गरे । प्रत्यक्ष निर्वाचन हुने सचिव, कोषाध्यक्ष र सदस्यका उम्मेद्वारको नाम मनोनयन दर्ताअघि घोषणा गरिने अनेरास्ववियु क्याम्पस कमिटी सचिव सचिन अधिकारीले जानकारी दिए । स्ववियु कार्यसमितिका उपाध्यक्ष, सहायक सचिव र केही सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चुनिने छन् । उम्मेद्वार सार्वजनिक कार्यक्रममा बोल्दै एमाले कास्की सचिव दर्शन लामाले अनेरास्ववियुलाई निर्वाचनमा पराजित हुने छुट नरहेको बताए । विद्यार्थीको मुद्दा उठाउँदै आएकाले अनेरास्ववियुमा विद्यार्थीको आकर्षण देखिएको उनको भनाइ थियो । त्रिवि स्ववियुअन्तर्गत सोमबार क्याम्पसहरूमा विद्यार्थी संगठन दर्ता भएका छन् । स्ववियु निर्वाचनअन्तर्गत प्रत्यक्ष र समानुपातिक दुवै तर्फको उम्मेदवारको मनोनयन पत्र नामावली दाखिला गर्ने समय २७ फागुनका लागि तोकिएको छ । दुवै तर्फको उम्मेदवारको अन्तिम नामावली २९ फागुनमा सार्वजनिक गरिने छ । ५ चैतमा बिहान ८ बजेदेखि दिनको ४ बजेसम्म मतदान हुने कार्यतालिका छ । जनप्रिय बहुमुखी क्याम्पसमा करिब ३ हजार ५ सय विद्यार्थी छन् । क्याम्पसले बुधबार मतदाता नामावली प्रकाशन गरेपछि क्याम्पसमा कति सदस्यीय समिति बन्ने भन्ने तय हुनेछ । हाल विद्यार्थी संख्याअनुसार मतदाता नामावलीको संख्या आएमा जनप्रियमा १९ सदस्यीय समिति बन्ने छ । त्यसमा दुई पदाधिकारीसहित १० जना समानुपातिक र तीन पदाधिकारीसहित ९ जना प्रत्यक्षतर्फका हुनेछन् । समानुपातिक सदस्य निर्वाचित भएकामध्येबाट उपाध्यक्ष र सहायक सचिव निर्वाचित हुन्छन् । को हुन् आविष्कार ? स्याङ्जा चापाकोट घर भएका आविष्कार जनप्रिय क्याम्पसमा एम.बी.एस दोस्रो सेमेष्टरमा अध्ययनरत छन् । उनले सोही क्याम्पसबाट व्यवस्थापन संकायमा कक्षा १२ उत्तीर्ण गरे । कक्षा ११–१२ पढिरहँदा उनी अनेरास्ववियुको क्याम्पस कमिटीमा आबद्ध भएका थिए । आविष्कारले जनप्रियमै बी.बी.ए सके । २०७३ सालमा उनी संगठनको कक्षा ११÷१२ कमिटीको सदस्य भए । २०७४ देखि २०७८ मा उनी संगठनको क्याम्पस कमिटी सदस्य र सचिवालय सदस्य भए । २०७८ मा उनले क्याम्पस कमिटी संयोजकको जिम्मा पाए । २०७९ मा क्याम्पस कमिटी सचिव बने । त्यसपछि २०८० देखि उनी संगठनको क्याम्पस कमिटी संयोजक छन् ।
भैरहवा: नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली कांग्रेस र नेकपा (एमाले) गठबन्धनको वर्तमान सरकार एकताबद्ध भई अगाडि बढिरहेको बताउनुभएको छ । पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा आजदेखि भैरहवामा सुरु भएको प्रतिनिधिसभा क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरुको प्रशिक्षण तथा अभिमुखीकरणमा उहाँले दुई ठूला पार्टी मिलेर सरकार गठन भइसकेपछि मुलुकमा आशा सञ्चार भएको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओली र आफूबीच सरकार सञ्चालन विषयमा सम्झौता भए पनि दुई तिहाइको सरकार बने पनि पूर्णरुपमा बहुमत नपुगेको उहाँको भनाइ थियो । उहाँले गठबन्धनको सरकारलाई सबैले एकताबद्ध रुपमा सहयोग गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । उहाँले सरकारमा अन्य पार्टीहरु पनि समावेश रहेको उल्लेख गर्दै प्रजातन्त्रमा प्रतिस्पर्धी पार्टी पनि आवश्यक रहेको बताउनुभयो । उहाँले नेपाली कांग्रेसमा विभिन्न किसिमका मतभेद हुन सक्ने भए पनि ती कुराहरुलाई आपसी छलफलबाट समाधान गर्न सकिनेमा जोड दिनुभयो । नेपाली कांग्रेस देशको ठूलो पार्टी भए पनि बहुमत प्राप्त पार्टी नभएकाले प्रशिक्षणबाट पार्टीलाई बहुमतप्राप्त पार्टी बनाउन सहयोग पुग्नेमा उहाँले विश्वास व्यक्त गर्नुभयो । नेपाली कांग्रेस केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा सुरु भएको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा देशैभरिका प्रतिनिधिसभाअन्तर्गतका एक सय ३० जना सहभागी छन् । साथै सोही सङ्ख्यामा क्षेत्रीय सभापति, क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरु तथा एउटा मात्र निर्वाचन क्षेत्र रहेका ३५ जिल्लाबाट प्रदेशसभाअन्तर्गतका क्षेत्रीय सभापति ७० जना गरी जम्मा तीन सय ३० जनाको सहभागिता रहेको नेपाली कांग्रेसका उपसभापति तथा केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका संयोजक पूर्णबहादुर खड्काले जानकारी दिनुभयो । संयोजक खडकाले त्यसअवसरमा पार्टीसँग जोडिएका विषय, पार्टीका महत्वपूर्ण काम, २०४६ सालपछि नेपाली कांग्रेस सरकारमा हुँदा गरेका नीतिगत सुधार, संविधान, सङ्घीयताको कार्यान्वयन, नेपाली कांग्रेसको क्रियाशील सदस्यताको अभियान, पार्टी सङ्गठनसँग जोडिएका विषय र पार्टीको केन्द्र, प्रदेश, जिल्ला हुँदै निर्वाचन क्षेत्रसँग जोडिएका अन्तरसम्बन्धका विषयबारे प्रस्तुति रहने बताउनुभयो । यस्तै समसामायिक विषयवस्तुसँग जोडिएका विभिन्न छ वटा विषयमा प्रस्तुति रहने उहाँको भनाइ छ । दोस्रो दिन सात वटा समूह विभाजन गरी सहभागीले आफ्नो क्षेत्रको अनुभव, नेपाली कांग्रेस पार्टी सञ्चालनमा रहेका समस्यालगायतका बारे गहन छलफल गर्नेछन् । अर्को सत्रमा सरकारसँग जोडिएका विषयमा छलफल गरी सुझाव सङ्कलन गरिने कार्यक्रम रहेको खड्काले जानकारी दिनुभयो । त्यसअवसरमा पार्टीबाट सरकारमा सहभागी परराष्ट्रमन्त्री आरजु राणा देउवा र गृहमन्त्री रमेश लेखकले जवाफ दिनुहुनेछ कार्यक्रम छ । केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भएको कार्यक्रमलाई नेपाली कांग्रेस रुपन्देही निर्वाचन क्षेत्र नम्बर ३ को क्षेत्रीय समितिले व्यवस्थापन गरिरहेको छ ।