काठमाडौं: छायाङ्कन सुरु भएको ३९ औँ दिनमा चलचित्र ‘कुस्ती’ को छायाङ्कन सकिएको छ । काठमाडौँ तथा आसपासका क्षेत्रमा छायाङ्कन गरिएको चलचित्रमा प्रेमसँगै स्वभाव भिन्नताले एकसाथ जीविकोपार्जन गर्न सङ्घर्ष गर्न बाध्य जोडीको कथालाई देखाइने निर्माता तथा निर्देशक अनिल योञ्जनले जानकारी दिनुभयो । “कलाकार र प्राविधिकको मेहनतका कारण हामीले निर्धारित समयमा छायाङ्कन सम्पन्न गर्न सफल भयौँ । एक अर्कासँग छुट्टिएर बस्न नसक्ने र सँगै रहन पनि नसक्ने भावनाको मधुर यात्रालाई यस चलचित्रमा समेटेका छौँ । भावनात्मकतासँगै हाँस्यरसले भरिएको प्रेम कथानक चलचित्र तयार गरेका छौँ”, उहाँले भन्नुभयो । चलचित्रमा मिरुना मगर, धीरज मगर, पुस्कर गुरुङ, भोलाराज सापकोटा, दीकिला शेर्पा, रवीन्द्र झा, पुस्कर गुरुङ, राजाराम पौडेल, किरण केसी, लुनिभा तुलाधर, सूर्यमान लिम्बू, अरविन गुरुङ, रजनी गुरुङ, सुवर्ण थापालगायत कलाकारले अभिनय गर्नुभएको छ । अभिनेत्री मगरले लेखिएको कथालाई चलचित्रको पर्दामा उतार्न कुनै कसर बाँकी नराखिएको बताउनुभयो । “सहरको एक आधुनिक जोडीको कथालाई चलचित्रमा दर्शकले हेर्न पाउनु हुनेछ । बाहिरबाट हेर्दा सामान्य देखिने विषयले एउटा दम्पतिको जीवनमा पार्ने असरलाई हामीले प्रस्तुत गर्नेछौँ”, उहाँले भन्नुभयो । उहाँले चलचित्र आगामी वर्ष विसं २०८२ को भदौमा प्रदर्शन हुने बताउनुभयो । चलचित्रमा उमङ्ग शाहीले छायाङ्कन, मित्रदेव गुरुङले सम्पादन, दीपक शर्मा, अनिल योञ्जन, कल्याण सिंहले सङ्गीत सिर्जना, शिशिर खातीले नृत्य निर्देशन गर्नुभएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले बहुजाति, बहुभाषा, परपम्परा र संस्कृति रहेको देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवद्र्धनमा तीनै तहको सरकारले ध्यान दिनु जरुरी रहेको बताएका छन्। पाटन दरबार क्षेत्रमा पुन:निर्माण गरिएको श्री देगुतलेजु मन्दिर उद्घाटन तथा शिलापत्र अनावरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले सम्पदा संरक्षणमा नागरिकस्तरको सचेतना, जागरुकता र चासो उत्तिकै आवश्यक रहेको पनि बताए। ‘भावी सन्ततिका लागि यी अमूल्य सम्पदा हाम्रो समय, इतिहास र पूर्खालाई बुझ्ने महत्वपूर्ण कडी हुन् । देशका यस्ता महत्वपूर्णस्थलको संरक्षण र संवद्र्धन गरी पूर्खाको मेहनत, परिश्रम र चिनोको रुपमा रहेका कैंयौँ सम्पदाको संरक्षण हाम्रो साझा दायित्व हो’, राष्ट्रपति पौडेलले भने। उनले अनुपम भौगोलिक विविधताको सुन्दर देश नेपालमा प्राकृतिक, धार्मिक, सांस्कृतिक, ऐतिहासिक एवं प्रकृतिको बरदानका रुपमा कैयौं रमणीयस्थल रहेको उल्लेख गर्दै अनगिन्ति मठमन्दिर, शक्तिपीठ, देवस्थल र तीर्थस्थल नेपालीको सभ्यता, संस्कृति तथा राष्ट्रिय गौरवसँग जोडिएको बताए। राष्ट्रपति पौडेलले ललितपुर महानगरपालिकास्थित विश्व सम्पदा सूचीभित्र पर्ने पाटन दरबार क्षेत्रको यो एउटा बहुमूल्य सम्पदा भएको उल्लेख गर्दै स्वदेशी विदेशीको प्रमुख पर्यटकीय गन्तव्य यहाँका सम्पदाले नेपाललाई अन्तरराष्ट्रियस्तरमा चिनाएको बताए। देशभर रहेका हाम्रा ऐतिहासिक, धार्मिक, सांस्कृतिक सम्पदा नेपाल र नेपालीको शान र पहिचान भएको उनको भनाइ थियो।
भीमदत्त नगरपालिकाले नगर क्षेत्रका युवालाई दमाहा बजाउन सिकाउन थालेको छ । १५ दिने तालिमको व्यवस्था गरी नगरपालिकाले युवाहरुलाई दमाहा बाजा बजाउनमा पोख्त बनाउन थालेको हो । “सुदूरपश्चिम क्षेत्रको लोकसंस्कृतिमा दमाहा बाजाको महत्वपूर्ण स्थान रहेको छ,” नगर प्रमुख पदम बोगटीले भन्नुभयो, “दमाहा बाजा हराउँदै जान थालेकाले संरक्षण गर्न आवश्यक छ, नयाँ पिँढीका युवालाई सिकाउन तालिम दिन थालेका छौँ ।” परम्परागत बाजासँगै संस्कृति संरक्षणका कार्यक्रमलाई प्राथमिकतमा राखेर कार्यक्रम सञ्चालन गरिँदै आएको उहाँले बताउनुभयो । कलासंस्कृति संरक्षणका लागि सबैले आ–आफ्नो क्षेत्रबाट लाग्नुपर्नेमा उहाँको जोड रहेको छ । दमाहा बाजा बजाउने सीप सिकेका युवाका लागि बजारीकरणका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने भएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशबहादुर बमले दमाह बाजा नेपालको मौलिक वाद्ययन्त्रमध्ये एक भएकाले यसको संरक्षण हुनु जरुरी भएकाले तालिम सञ्चालन गरिएको बताउनुभयो । “सुदूरपश्चिमको संस्कृतिअनुसार परम्परागत समारोह, जात्रा तथा सांस्कृतिक पर्वहरूमा सगुनका रुपमा दमाह बाजा बजाइन्छ,” उहाँले भन्नुभयो, “आधुनिकताको प्रभावसँगै संस्कृतिसँग जोडिएको बाजाको प्रयोग घट्दै गएकाले संरक्षणका लागि तालिम आवश्यक छ ।” तालिममा महिला–पुरुष गरी १९ जनाको सहभागिता रहेको छ । तालिममा दमाहाको महत्व दर्शाउने कार्यसँगै कुन कार्यका लागि कुन तालमा बजाउने भन्नेबारे सिकाउने कार्य भइरहेको छ । बूढापाकाहरुले युवालाई दमाहा बजाउने कलाकौशल युवालाई सिकाउने कार्य गर्न थालेका छन् । पछिल्लो समय माङ्गलिक कार्यका लागि दमाहालगायतको पञ्चेबाजा बजाउनेहरुको कमी हुन थालेको छ । यस पेसाबाट जीविका धान्न निकै गाह्रो हुँदै गएपछि युवाहरुले यस पेसालाई छाड्दै गएका छन् । पेसा पलायन भएर युवाहरु अन्य कार्य गर्न थालेका छन् । “बूढापाकाहरुमा मात्रै दमाहा बजाउने सीप सीमित रहेको छ,” नगरपालिकाको सामाजिक विकास समितिका संयोजक सुशील भट्टले भन्नुभयो, “बूढापाकाहरुसँग रहेको दमाहालगायतका पञ्चैबाजा बनाउने कला नयाँ पुस्तामा पुस्तान्तरण गर्न आवश्यक भएकाले युवाहरुलाई तालिमका माध्यमबाट सिकाउने कार्य भइरहेको छ ।”
जनकपुरधामलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै चैती छठपर्व हर्सोल्लासका साथ सकिएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईको विभिन्न जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै धुमधामका साथ चैती छठपर्व सम्पन्न भएको हो । छठपर्वको विशेषता भनेको यसको आधिकारिक पूजा पोखरी र नदीमा मात्र गर्नुपर्ने परम्परा हो । यस पर्वको अवसरमा जनकपुरधामका प्रमुख पोखरीजस्तै गङ्गासागर, अङ्गराज सर, दशरथ तलाउमा किनारमा धार्मिक विधिपूर्वक मनाइएको छ । भक्तजनहरू बिहीबार साँझ परम्परागत फलफूलजस्तै केरा, भुसवा, ठकुवा, नरिवल, उखु, मुला आदि लिएर सूर्यलाई अर्घ अर्पण गरेको थियो । पौराणिक कथनअनुसार आदिकालमा सती अनुसूयाले रोगग्रस्त पतिलाई निको पार्न भगवान सूर्य र षष्ठी देवीको पूजा आराधना गरेका थिए । महाभारत कालमा पनि पाँच पाण्डवकी पत्नी द्रौपदीले कौरवहरूको पराजयको लागि सूर्यदेवको उपासना गर्दै छठपर्व मनाएको उल्लेख पाइन्छ । सत्य र अहिंसाप्रति मानवको रुचि बढाउने तथा सबै जीवप्रति सहानुभूति राख्न अभिप्रेरित गर्नु यस पर्वको विशेषता रहेको छ । सूर्य उपासना परम्पराको मोहक पद्धति मानिएको यस पर्वमा अस्ताउँदो र उदाउँदो सूर्यको पूजा गरिन्छ । पारिवारिक सुख, शान्ति, समृद्धि, शारीरिक कल्याण, रोगबाट मुक्ति तथा विभिन्न मनोकाङ्क्षा पूरा होस् भन्ने उद्देश्यले श्रद्धापूर्वक मनाइने छठपर्वका अवसरमा पोखरी, नदी, तलाउ र जलाशयमा श्रद्धालु भक्तजनको घुइँचो लाग्छ । चार दिनसम्म मनाइने यस पर्वको पहिलो पर्वको पहिलो दिन ‘नहाय–खाय’, दोस्रो दिन ‘खरना’, तेस्रो दिन अस्ताउँदो सूर्यलाई अघ्र्य अर्पण गर्ने र चौथो दिन उदाउँदो सूर्यलाई अघ्र्य दिने परम्परा रहिआएको छ त्यस्तै, षष्ठीका दिन अर्थात् साँझ गहुँ, चामल, ओखल, जाँतो वा ढिकीमा कुटान–पिसान गरी सोबाट निस्केको पीठोबाट बनाइएका विभिन्न गुलियो खाद्य सामग्री ठकुवा, भुसवा, खजुरिया, पेरुकियाजस्ता पकवान र विभिन्न पलफूल तथा मुला, गाजर, बेसारको गाँहो, भोगटे, ज्यामिरी, नरिवल, सुन्तला, केरा नाङ्लो, कोनिया, सरवा, ढाकन, माटोको हात्ती, ठूलो ढक्कीमा राखी परिवारका सम्पूर्ण सदस्य विभिन्न भक्ति एवं लोकगीत गाउँदै निर्धारित जलाशय नजिक बनाएको छठ घाटसम्म पुगेका थिए । षष्ठीका साँझ व्रतीले सन्ध्याकालीन अघ्र्यका लागि पानीमा पसेर सूर्य अस्ताउञ्जेलसम्म अस्ताउँदो सूर्यलाई आराधना गर्दै दुवै हत्केलामा पिठार र सिन्दूर लगाएर अक्षता फूल हालेर अन्य अघ्र्य सामग्री पालैपालो गरी अस्ताचलगामी सूर्यलाई अर्घ अर्पण गरेका थिए । यस्तै छठपर्व को चौथो दिन अर्थात् आज बिहानै पुन: छठ घाटमा पुगी जलाशयमा पसेर अघिल्लो दिन गरेको क्रम दोहो¥याइ प्रातः कालीन उदाउँदो सूर्यलाई अर्घ दिई छठपर्व सम्पन्न गरेका छन् ।
पोखरा सभागृहमा चैत २२ गते शुक्रबार पुरुषोत्तम न्यौपाने सांगीतिक साँझ हुँदैछ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको आयोजनामा आउँदो शुक्रबार दिउँसो ३ बजेदेखि वरिष्ठ लोकदोहोरी गायक तथा सर्जक पुरुषोत्तम न्यौपानेको सांगीतिक साँझ हुन लागेको हो । आयोजक प्रतिष्ठानले बुधबार पत्रकार सम्मेलन गर्दै उक्त साँझमा पुरुषोत्तमका १८ गीत प्रस्तुत हुने जनाएको छ । सांगीतिक साँझमा पुरुषोत्तम न्यौपानेको जीवनीमा तयार पारिएको वृत्तचित्र पनि प्रदर्शन गरिने प्रतिष्ठानकी अध्यक्ष रिता थापामगरले जानकारी दिइन् । सांगीतिक साँझमा प्रवेशका लागि निशुल्क राखिएको अध्यक्ष मगरले बताइन् । पुरुषोत्तमका सररर पानीघट्टामा, ऐना हेरेर, रुन्छनी मन किन रुदैन जस्ता धेरै गीत चर्चित छन् । २०२९ सालमा स्याङजामा जन्मिएका न्यौपाने नेपाली लोक दोहोरी क्षेत्रमा एउटा गर्विलो ईतिहास कोर्न सफल भएका छन् । झण्डै साढे तीन दशकदेखि निरन्तर नेपाली लोकसंगीतमा रहेका न्यौपानका करिब हजार भन्दा बढी गीतहरु रेकर्डिङ छन् । पुरुषोत्तमले २०४६ सालमा बलाम देबीथान बोलको गीत गाएर सांगीतिक यात्रा प्रारम्भ गरेका थिए । स्वदेशका प्राय: सबै जिल्लादेखि थुप्रै विदेशका भूमिहरुमा समेत पुगेर दर्शकलाई मन्त्रमुग्ध पारिसकेका न्यौपानेले थुप्रै सम्मान, पुरस्कार र अवार्ड जितिसकेका छन् । उनले लोकगीतमा लगातार तीनपटक म्युजिक नेपाल अवार्ड पनि हात पारेका थिए । प्रतिष्ठानका पूर्व केन्द्रीय अध्यक्ष समेत रहेका न्यौपाने अहिले रेडियो नेपाल प्रादेशिक प्रसारण कार्यालय पोखरामा कार्यक्रम अधिकृतको रुपमा कार्यरत छन् । कर्मथलो पोखरा र जन्मघर स्याङ्जा भएकाले पनि सांगीतीक साँझ पोखरामा गर्न लागिएको गायक पुरुषोत्तमले बताए । जन्मघरबाट आउन पायक हुने र सम्बन्ध अल्ली बढी भएकाले पोखरा रोजिएको उनको भनाइ छ । अग्रजलाई सम्मान र नवप्रतिभालाई प्रोत्साहन भन्ने नाराका साथ अघि बढेको प्रतिष्ठानले गत वर्ष ‘नारायण रायमाझी सांगीतिक साँझ २०८०’ आयोजना गरेको थियो । वर्षेनी एक प्रतिष्ठित लोकदोहोरी कलाकारलाई प्रस्तुत गर्ने प्रतिष्ठानको योजनाअनुसार कार्यक्रम गर्न लागिएको प्रतिष्ठानकी अध्यक्ष मगरले बताइन् । लोक सङ्गीतको संरक्षण, सम्बद्र्धन र प्रबद्र्धन गर्ने उद्देश्यले विस २०५८ सालमा स्थापना भएको राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल लोकगीत, सङ्गीत र लोककलाको क्षेत्रमा क्रियाशील हुँदै आएको छ । अहिले प्रतिष्ठानको ७ प्रदेश समिति, १ काठमाडौं उपत्यका समन्वय समिति, ७७ जिल्लास्तरिय समिति तथा १० वटा देशमा आफ्ना शाखा समिति छन् ।
पोखरामा पनि इस्लाम धर्मावलम्बीहरूको ईद (ईद–उल–फित्र पर्व मननाइएको छ । पोखरा महानगरपालिका १३ स्थित मस्जिदमा उनीहरुले ईद पर्व मनाएका हुन् । ईद–उल–फित्र पर्व इस्लाम धर्मावलम्बीहरूको एक महत्वपूर्ण पर्व हो । रमजानको तीस दिने उपवासपछिको रातमा खुर्पेचन्द्रमा देखिएको भोलिपल्ट ईद अर्थात् ईद–उल–फित्र मनाउने प्रचलन छ । यो पर्व नेपाल लगायत विश्वभरिकै मुस्लिम समुदायको महान् पर्वको रुपमा मनाइदैँ आएको छ । ईदमा विशेष नमाज समर्पण गरिसकेपछि आपसमा शुभकामना र आशीर्वचन आदान प्रदान गरिनुका साथै मिष्ठान्न परिकारसमेत खाने र खुवाउने परम्परा रहिआएको छ । यस पर्वले भाइचाराको भावना तथा बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिल्ने विश्वास लिइएको छ । सुनगाभाको लेन्सबाट हेर्नुहोस्, इस्लाम धर्मावलम्बीहरूको ईद:-
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले हरेक धर्मका असल परम्परालाई अनुशरण गर्नुपर्ने बताउनुभएको छ । इस्लाम धर्मावलम्बीहरूको पर्व ईद (ईद–उल–फित्र) को अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले सबै धर्मको सकारात्मक पक्षलाई अनुशरण गर्नुपर्ने बताउनुभएको हो । ‘यस धार्मिक मान्यताले नेपाली समाजलाई सहयोगी तथा मानवीय बन्न उत्प्रेरित गर्दै आएको छ, उहाँले शुुभकामना सन्देशमा भन्नुभएको छ, ‘यस पर्वसँग जोडिएको यस प्रकारको असल परम्परालाई हामीले संरक्षण गर्दै भावी पुस्तालाई हस्तान्तरण गर्नुपर्नेछ ।’ विविधतामा एकता नेपालीको विशिष्ट पहिचान भएको बताउँदै उहाँले विविधता बीचको एकता नेपालीको विशिष्ट पहिचान रहेको उल्लेख गर्नुभयो । शुभकामना सन्देशमा उल्लेख छ, ‘यी प्रत्येक पर्वहरुलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सद्भावयुक्त परम्परा छ, त्यस मध्ये ईद–उल–फित्र पर्व पनि एक महत्वपूर्ण पर्व हो । यसको संरक्षण जरुरी छ ।’ रमजानको तीस दिने उपवासपछिको रातमा खुर्पेचन्द्रमा देखिएको भोलिपल्ट ईद अर्थात् ईद–उल–फित्र मनाउने प्रचलन छ । यो पर्व नेपाल लगायत विश्वभरिकै मुस्लिम समुदायको महान् पर्वको रुपमा मनाइदैँ आएको छ । ईदमा विशेष नमाज समर्पण गरिसकेपछि आपसमा शुभकामना र आशीर्वचन आदान प्रदान गरिनुका साथै मिष्ठान्न परिकारसमेत खाने र खुवाउने परम्परा रहिआएको छ । यस पर्वले भाइचाराको भावना तथा बृहत् राष्ट्रिय एकताको सोच अभिवृद्धि गर्न प्रेरणा मिल्ने प्रदेश प्रमुख भट्टको विश्वास रहेको छ ।
काठमाडौं: सङ्गीतकार, गीतकार, अभिनेताका रूपमा परिचित गायक प्रकाश सपूतले निर्देशन गर्नुभएको पहिलो चलचित्र ‘वसन्त’ आउँदो शुक्रबार अर्थात् चैत २२ मा प्रदर्शन हुँदैछ । गीत र श्रव्यदृश्यमार्फत आफ्नो कथालाई व्यक्त गरिरहनुभएका गायक सपूतले चलचित्रमार्फत आफ्नो भोगाई र विसं २०६० देखि हालसम्मको समाजलाई चित्रण गर्न खोज्नुभएको छ । विशेषगरी माओवादी द्वन्द्व, वर्गीय र जातीय विभेदका विषयलाई चलचित्रमा समेटिएको सपूतले बताउनुभयो । “यो मेरो स्कुल जीवन र त्यो समयको ग्रामीण समाजको चित्रण हो । यस चलचित्रमा मेरो देखाइ, भोगाई र अनुभवलाई समेटेको छु । यसले कुनै विधि वा पद्धतिलाई राम्रो वा नराम्रो देखाउनेभन्दा पनि उक्त समयको एउटा वसन्त नामक पात्रको कथा भनेको छ”, उहाँले भन्नुभयो । गायक सपूतले ‘वसन्त’ नामक पात्र आफूसँग धेरै नजिक रहेकाले उक्त पात्रको भोगाईले आफ्नो जीवनको महत्वपूर्ण समय चित्रण गरेको उल्लेख गर्नुभयो । “मैले सिर्जना गर्ने कृतिमा समाजकै पात्र र अवस्थालाई चित्रण गर्ने गरेको छु । जे भइरहेको छ, त्यसकै बिम्ब चलचित्रमा प्रस्तुत गरेको छु । मेरा गीत झैँ चलचित्रमा पनि आफ्ना भावनालाई प्रस्तुत गरेको छु, गीतको तुलनामा चलचित्रमा ती झनैँ परिपक्क भएर आएका छन्”, उहाँको भनाइ छ । सपूतका अनुसार चलचित्रमा एउटा पात्रले लेखक बन्न गरेको सङ्घर्षलाई देखाइएको छ । त्यो सङ्घर्षमा घट्ने घटनाक्रम, सामाजिक परिवेश, वर्गीय विभेद, जातीय अस्तित्वलाई समेटेर सामाजिक चेतनालाई प्रश्न गरिएको छ । चलचित्रमा उहाँको जोडीका रूपमा अभिनेत्री स्वस्तिमा खड्का हुनुहुन्छ । सपूतले दलित समुदाय र अभिनेत्री खड्काले ब्राह्मण समुदायको पात्रको भूमिका निर्वाह गर्नुभएको छ । अन्तरजातीय मित्रता र प्रेमले निम्त्याउने असरलाई पनि चलचित्रमा देखाइएको अभिनेत्री खड्काले बताउनुभयो । “मैले बाचेको जीवनभन्दा मैले चलचित्रका लागि निर्वाह गरेको शान्ति शर्मा नामक पात्रको जीवन फरक छ । गाउँ, त्यो समयले ममा भिन्न दृष्टिकोण निर्माण गरेको छ । त्यो परिवेश मेरो लागि नितान्त नयाँ थियो, उक्त पात्रले नयाँ जीवन बाँचेको अनुभूतिसमेत दिएको छ”, उहाँले भन्नुभयो । गीतमार्फत आफ्नो अनुभवलाई प्रस्तुत गरिरहनुभएका सपूतले आफ्ना कथा सकिने डर र आफ्नो सिर्जनालाई न्याय गर्नसक्छु भन्ने लागेर निर्देशक बनेको बताउनुभयो । “आफैँ निर्देशक र अभिनेता बन्दा सहज त पक्कै भएन तर मेरो भोगाइलाई मैले नै पर्दामा ल्याउनुपर्छ भन्ने लाग्यो किनकि यो मजस्ता धेरै मध्यमवर्गीय युवाको कथा हो । यसले सामाजिक चेतनालाई प्रश्न गर्दै समतामूलक समाजको कल्पना गरेको छ”, उहाँले भन्नुभयो । सपूतले निर्देशन गर्न हतारिएको प्रश्नको सामना गर्नुभएको छ किनकि उहाँ गीतसङगीतमै व्यस्त हुनुहुन्थ्यो । केही समयपछि निर्देशनमा आउँदा परिपक्वता बढेता पनि चलचित्रमा उठाइएको विषयसँग नयाँ पुस्तालाई जोड्न समय लाग्ने भएकाले यो समय चलचित्र निर्देशन गर्न उपयुक्त लागेको उहाँले सुनाउनुभयो । “मैले जुन समयको कथा उठाएको छु, त्यहाँ परिवेश देखाउन पनि त्यस बेलाको अवस्थालाई चित्रण गर्नै पथ्र्यो, त्यहि गरेँ । मैले सिर्जनामार्फत समाजलाई गरेको प्रश्न सही छ भने म त्यहाँ डराउनुहँुदैन, मैले एउटा सर्जकका हिसाबले मनबाटै अनुभूति गरेका कुरालाई चलचित्रमा समेटेको छु”, सपूतको कथन छ । अभिनेत्री खड्काले गायक सपूतले एउटा परिपक्व चलचित्रकर्मी भएर काम गरेको बताउनुभयो । उहाँले भन्नुभयो, “गायक सपूतलाई मैले नयाँजस्तो कहीँकतै पाइनँ । उहाँको काममा परिपक्वता थियो, जसलाई दर्शकले छिट्टै पर्दामा महसुस गर्नुहुनेछ । वर्षौँसम्म सम्झिने पात्र चलचित्रमा निर्वाह गरे जस्तो लागेको छ ।” चलचित्रमा प्रभातपाल ठकुरी, अनुप बराल, कमलमणि नेपाल, प्रकाश घिमिरेलगायत कलाकारले अभिनय गर्नुभएको छ ।
काठमाडौं: अखिल नेपाल फुटवल सङ्घ (एन्फा) का अध्यक्ष पङ्कजविक्रम नेम्वाङ्गले चलचित्र ‘अञ्जिला’ मा देखाइएको सङ्घर्ष हरेक खेलाडीको जीवनीसँग मिल्ने बताउनुभएको छ । मङ्गलवार ललितपुरको लाविम मलमा रहेको एक चलचित्र भवनमा नेपाली राष्ट्रिय महिला फुटवल टिमकी कप्तान तथा गोलरक्षक अञ्जिला तुम्बापो सुब्बाको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ हेरेपछि अध्यक्ष नेम्वाङ्गले चलचित्रले खेलमा आफ्नो भविष्य देख्नेलाई प्रेरणा दिने बताउनुभयो । उहाँले भन्नुभयो, “चलचित्रमा देखाइएको पात्रले हाम्रो सबै खेलाडीको प्रतिनिधित्व गर्छ, कप्तान सुब्बाको जस्तो सङ्घर्ष गरेर धेरै खेलाडीले गर्नुभएको छ । यहाँ हामीले आफ्नो बच्चा पनि लिएर आएका छौँ, किनकी चलचित्रले उनीहरूलाई लक्ष्य प्राप्तिका लागि मेहनत गर्न प्रेरणा दिन्छ । यो हरेक खेलाडी हेर्नु पर्ने चलचित्र बनेको छ ।” उहाँले खेलाडीको विषयमा चलचित्र बन्नु प्रसंशनीय रहेको बताउदै निर्माता प्रेमकुमार श्रेष्ठ र निर्देशक मिलन चाम्सलाई धन्यवाद दिनुभयो । कप्तान सुब्बाका धर्मपिता समेत रहनुभएका निर्माता श्रेष्ठले यसचलचित्रको सफलताले आगामी दिनमा खेलाडीको विषयमा चलचित्र बनाउन अन्यलाई पनि प्रोत्साहित गरेको बताउनुभयो । “नेपालमा खेलाडीका विषयमा बनेका चलचित्रले व्यावसायिक सफलता आर्जन गर्न नसकेका कारण अन्य निर्माताले लगानी गर्न सक्नुभएको थिएन, यद्यपि अञ्जिलाको सफलताले उहाँहरूलाई हौसला दिएको छ । मैले कप्तान सुब्बालाई लिएर देखेको सपना पनि छिटै पूरा हुने भएको छ”, निर्माता श्रेष्ठले भन्नुभयो । चलचित्रका निर्देशक चाम्सले धेरै खेलाडीको कथा चलचित्रमा आउन योग्य रहेको बताउनुभयो । “अब आउँदो समयमा खेलाडी वा खेलको विषयमा चलचित्र बन्ने छ, मैले केही चलचित्रको छलफल भएको सुनेको छु । यो एउटा खेलप्रेमीका लागि पनि सुखद खबर हो”, निर्देशक चाम्सले भन्नुभयो । आयोजित विशेष प्रदर्शनीमा एन्फाका महासचिव किरण राई, पूर्व कप्तान हरि खड्का र विराज महर्जन, खेलाडी सङ्घका अध्यक्ष विक्रम लामा, महिला फुटवल सङ्घका केन्द्रीय सदस्य पेमा लामा र विना श्रेष्ठ, राष्ट्रिय महिला फुटबल टिमको म्यानेजर विन्द्रा देवानलगायत उपस्थित हुनुहुन्थ्यो । नेपालमा यो चलचित्र गत फागुन २९ देखि प्रदर्शनमा आएको हो ।

