पोखरा महानगरपालिका ८ न्यूरोडमा ‘द ब्युटी वर्ल्ड’को शाखा अन्तर्गत डाइमन्ड ब्यूटी सैलुन एण्ड ट्रेनिङ सेन्टर सञ्चालनमा आएको छ । विर्तामोडमा प्रधान कार्यालय रहेको डाइमन्ड ब्युटी सैलुनको शाखा युवा व्यवसायी राकेश पुरी र ममता कार्की पूरीले (महानगरपालिको कार्यालय पारी) सञ्चालनमा ल्याएका हुन् । उक्त शाखाबाट ब्युटीसियन सन्बन्धी सबै सेवाहरु प्रदान गरिने सञ्चालिका ममता कार्की पुरीले जानकारी दिइन् । महिलाहरुलाई दक्ष गर्ने तथा स्वरोजगारी बनाउने उद्देश्यसहित द ब्युटी वर्ल्डले तालिम प्रदान गर्दै आएको छ । उनले सौन्दर्यसँग सम्बन्धित तालिमहरुपनि प्रदान गर्ने गरी तयारी भइरहेको बताइन् । गत सोमबारदेखि सेवा शुभारम्भसँगै उद्घाटन भएको सो कार्यक्रममा सौन्दर्यकमी उशा गुरुङ, पूर्व सांसद शारदा पौडेल, दशनामी समाजका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तारा गिरी, महिला उपाध्यक्ष सरस्वती गिरी, जगतमोहन गिरी लागायतको उपस्थिती रहेको थियो ।
पोखरा: मिलन नेवारको ‘राजै’ गीत युटुबमार्फत सार्वजनिक भएको छ । गीतमा स्वर नेवारको छ भने निर्देशन सुरज थापाले गरेका हुन् । भिडियोमा राज बुढा, मिलन नेवार, विजय पुनमगर, प्रियंका गर्वुजामगर, पवित्रा थापा र बिनु राना मगरको अभिनय छ । गीत राजकुमार बगरले लेखेका हुन् साथै संगीत पनि उनकै छ । थापाले गीतमा मौलिक संस्कृतिको भावनालाई समेट्ने प्रयास गरिएको बताए । मौलिकताबाट प्रेरित भएर नयाँ शैलीमा प्रस्तुत गरिएकाले सबैपुस्ताले मनपराउनेमा उनी विश्वत देखिए । अग्रज साहित्यकार सरु भक्तले गीतसंगीतका माध्यमबाट जातीय पहिचानका साथै संस्कृती संरक्षण र प्रवद्र्धन गर्न सकिने बताए । गीत मनोरञ्जनको साधन मात्र नभई मौलिक संस्कृति, परम्परालाई जोगाउन भूमिका खेल्ने उनको भनाइ छ । मिलन नेवार गीतका माध्यमबाट मगर समाजसँग नजिक हुने मौका पाएको बताइन् । उनले भ्युज र लाइकको पछि नलागी कालजयी गीत बनाउनतर्फ लाग्नुपर्ने बताइन् । ‘सुटिङको समयमा साच्चिकै रोधी बसे जस्तो अनुभव भएको थियो । गीत कमले सुनेपनि राम्रो प्रतिक्रिया पाउनु महत्वपुर्ण हो,’ नेवारले भनिन् ।
कुमार तामाङ, लमजुङ । माफ गर्नुहोस् महोदय ! यो बजेट शब्दको ठेट नेपाली समकक्षी थाहै भएन मलाई लाग्छ यो शब्द हाम्रै बोलिचालीको ‘रकम’ सँग नजिक छ सुन्दै रङ्गिन लाग्ने रकम जो छ साथैमा सधै ‘कम ’ भन्ने विशेषण बोकी हिड्छ, लुखुर/लुखुर एउटा आश्चर्य ! यो रकम सफाचट / टाइसुटधारी सुटकेसधारी / लुटकेसधारी सफा साडिवाला / महङ्गो गाडीवाला पुटुक्क पुष्टिएको पेट भोगटे झै भुक्क परेको गाला गलाको महङ्गो माला सबै सबैलाई सधै कम लाग्ने गर्छ अर्को आश्चर्य यो रकम यति पक्षपाती छ कि सजिव भन्दा निर्जिव हुदाखाने भन्दा हुनेखाने जिवित भन्दा मृत कामको भन्दा नामको मामको भन्दा दामको समिप बस्छ प्रत्येक साल तसर्थ दिन्छु भनेर ठोकुवा नगर्ने लुते रकम हरेक बर्ष दिइने छ / मिलाइने छ / देखाइने छ पोस्याइने छ / लुकाइने छ लुटाइने छ / लुटिइने छ भन्दै अदृश्य भविष्यको कल्पना मात्रै गर्छ तर दिने कसरी / कस्लाई / किन ? केही बोल्दैन जिउन सङ्घर्ष गर्नेहरुको हुर्मत तिर्ने रवाफी रकम प्रत्येक वर्ष पितृहरुको नाममा घ्वाप्पै घोप्टिन्छ हरेक साल मृत मदन, स्वर्गबासी सान्दाजु सान्दाजुको पनि भाई पुष्पलाल, गणेशमान हुदाँहुदाँ जिउदो हुदाँ अकुत कुम्ल्याएको खुम बहादुर जी पनि आफ्नो भागमा रकम छुट्याउन सक्छन् विडम्बना ! सर्वहाराको सवालमा खुसुक्क बोल्छ एकपाँऊ मल / त्यति नै जति बिऊ एकदुई पत्ता सिटामोल एक पुरिया जिवनजल स्कुले नानीहरुलाई म्याद नाघेको एकपोका चाउचाउ किरै सराबरिको मैदा / आटाको रकम छुट्याइने छ र...कम छुट्याइने ।
यामबहादुर थापा मगर बागलुङ नगरपालिका -१०, भकुण्डे, धौलेचउर, बागलुङ सकारात्मक सोच बोकेका अभियन्ताहरू शब्द बिना झल्किने दीप जस्तै अहिलेसम्म ओझेलमा छन् । ध्यानभन्दा टाढा, ध्वनि भन्दा मौन। उनीहरूले सुझाव दिन्छन्, सल्लाह दिन्छन्, तर ती ध्वनि हावादारी भाइरलको कोलाहलमा हराउँछ। किनभने आज नकारात्मकता बिक्छ, भय बेचिन्छ, र विभाजन रमाइलो ठानिन्छ। सृजनशील विचार पर्खिरहेका हुन्छन् शान्त कोठामा तर चिच्याउने झूटा आरोपहरू स्क्रिन भरि फैलिन्छन्। अब प्रश्न उठ्छ । कसरी सिर्जनात्मक बनाउने यो बिग्रिएको समाज? कसरी हुर्काउने ती सकारात्मक सोचका बिरुवाहरू जुन माटोमै बाँच्न चाहन्छन्, तर पानीको साटो विष पाउँछन्? सुरुवात आफैंबाट गरौं। एक विचार लेखौं— जुन जोड्छ, एक कथा बनाऔं— जसले पुल बनाउँछ, र एक दृष्टिकोण विकास गरौं । जो आलोचना होइन, समाधान खोज्छ। हामी सबै बन्न सक्छौं पथप्रदर्शक । जब नकारात्मकताको बिरूद्ध एक चोखो विचार उभिन्छ। जब ‘भाइरल’ होइन, ‘वास्तविकता’ बन्छ मूल्य। सकारात्मक सोच कमजोरी होइन, साहस हो। सल्लाह दिनेहरू हँसिला मात्र होइनन्, गम्भीर सपना देख्नेहरू हुन्। त्यसैले, हामी लेखौं, बोलौं, सिर्जना गरौं । शब्दमा गहिरो उज्यालो बोकेर, कथा बनाऔं— जुन टोड्ने होइन, टुटाउने होइन जोड्ने हो।
पोखरा: गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले इस्लाम धर्मावलम्बीहरूको पवित्र पर्व ईद–उल–अज्हा (बकर इद)–२०८२ को अवसरमा शुभकामना व्यक्त गर्नुभएको छ । आज एक शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख भट्टले मुस्लिम समुदायमा ईद–उल–फित्रपछिको दोस्रो ठूलो पर्वको रूपमा बकर इद आपसी रिस, राग र द्वेषलाई बिर्सेर एकआपसमा खुसी, सद्भाव तथा शुभकामना आदानप्रदान गरी मनाउने पर्व भएको उल्लेख गर्नुभएको छ । ‘यस पर्वले मेलमिलाप, एकता र सहकार्यको वातावरण निर्माणमा सहयोग पुग्नेछ । साथै, सामाजिक संस्कृति, परम्परा, रीतिरिवाज, जातजाति र भेषभूषाको विविधता रहेको हाम्रो मुलुकमा यो पर्वले धार्मिक सहिष्णुता, सामाजिक सद्भावको वातावरणलाई अझ मजबुत बनाउन सहयोग पुग्नेछ भन्ने मैले विश्वास लिएको छु ।’ उहाँले भन्नुभएको छ । ‘विविधतामा एकता’ हाम्रो मौलिक राष्ट्रिय पहिचान हो भन्दै भट्टले हाम्रो सामाजिक विविधताभित्र सुदृढ र प्रगाढ एकताले नेपालको राष्ट्रिय भावनालाई थप मजबूत बनाउन यो पर्वले योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । ‘यस पर्वले सबै नेपालीहरूबीच राष्ट्रिय एकता, सहिष्णुता र सद्भाव कायम गरी समृद्ध र समुन्नत समाज निर्माण गर्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गर्दछु ।’ शुभकामना सन्देशमा उल्लेख छ ।
पोखरा: विश्व वातावरण दिवसको अवसरमा विन्ध्येश्वरी आदर्श बोर्डिङ स्कुलले विविध कार्यक्रम सम्पन्न गरेको छ । विश्व वातावरण दिवसमा प्लाष्टिक प्रदूषण अन्त्य गरौँ भन्ने मूल नाराका साथ विद्यालयका शिक्षक, शिक्षिका र विद्यार्थीहरुको सहभागितामा बिन्ध्यवासिनी मन्दिर परिषरमा सरसफाई कार्यक्रम सम्पन्न गरेको हो । साथै, मोहरिया टोल क्षेत्र र विद्यालय परिसरमा पनि सरसफाई तथा फूलका विरुवाहरु रोपिएको प्राचार्य कृष्ण कुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार सोही सन्दर्भमा विद्यार्थीहरुले विभिन्न भनाईहरुसमेत प्रस्तुत गरेका थिए । सोही क्रममा कक्षा १ देखि कक्षा १० सम्मका विद्यार्थीहरुबीच विश्व वातावरण दिवसको थिममा चित्रकला प्रतियोगिता सम्पन्न भएको थियो । सो प्रतियोगितामा कक्षा ७ की सृष्टिका कोइराला प्रथम , कक्षा ८ का छात्रा उपासना रेग्मी द्वितीय र कक्षा ८ का छात्र नोआ ब्रमशा तृतीय भइन् । उक्त प्रतियोगिताको निर्णायकको भूमिकामा कला शिक्षिका अनिता थापा रहेकी थिइन् । प्रतियोगितामा विजयी विद्यार्थीहरुलाई प्राचार्य कृष्णकुमार श्रेष्ठले पुरस्कार वितरण गरेका थिए । भने, कार्यक्रम सञ्चालन अतिरिक्त क्रियाकलाप प्रमुख राजु बयलकोटीले गरेका थिए ।
काठमाडौं: भारतीय अभिनेत्री तथा उत्कृष्ट नृत्याङ्गना नोरा फतेहीले शनिबार बौद्धस्थित हायात मैदानमा आयोजित ‘नोरा फतेही लाइभ इन नेपाल’ कार्यक्रममा आफ्नो जादुमयी प्रस्तुतिमार्फत हजारौँ नेपाली दर्शकलाई मन्त्रमुग्ध पार्नुभयो । पहिलोपटक नेपाल आउनुभएकी अभिनेत्री फतेहीले कार्यक्रममा नेपाली कला र आतिथ्यताको बारम्बार प्रशंसा गर्नुभयो । उहाँले नेपाल र नेपालीबाट आफ्ना गीतले पाएको अपार माया आफ्ना लागि ऊर्जाको स्रोतसहित अविस्मरणीय रहेको बताउनुभयो । “नेपाली कलाकारहरूले मेरा गीतमा गर्नुहुने नृत्य प्रस्तुतिसँग राम्रोसँग परिचित छु र उहाँहरूका ‘डान्स क्लिप’हरू पनि हेर्ने गर्छु । मेरा केही नेपाली साथीहरू पनि छन्, मलाई नेपालबाट प्राप्त हुने मायाकाबारेमा उहाँहरूले पनि भन्नुहुन्छ”, अभिनेत्री फतेहीले भन्नुभयो । प्रस्तुतिका क्रममा उहाँले अप्रत्याशित रूपमा नेपाली कलाकार सुशान्त खत्रीलाई मञ्चमा बोलाएर सबैलाई चकित पार्नुभयो । त्यसो त कलाकार खत्रीको आगमनबारे दर्शकसँगै आयोजक पनि बेखर थिएँ । ‘मेरो नेपाली साथी जो, धेरै प्रतिभावान् छन्’ भन्दै अभिनेत्री फतेहीले कलाकार खत्रीलाई मञ्चमा स्वागत गर्नुभयो । दुवैले ‘गेहरा समन्दर’ गीतमा आकर्षक नृत्य प्रस्तुत गर्दा ‘हुटिङ’ सहित दर्शकले तालि बजाएर धन्यवाद व्यक्त गरेका थिए । यतिमात्र नभई सामाजिक सञ्जालमा आफ्ना श्रव्यदृश्य तयार पार्ने (कन्टेन्ट क्रिएटर आर्टिस्ट) गौरव सिटौलालाई दर्शककै भिडमा चिनेर अभिनेत्री फतेहीले मञ्चमा लानुभयो । उहाँ दुईले ‘दिलवर’ मा प्रस्तुति दिनुभयो । अभिनेत्री फतेहीका गीतहरूमा आकर्षक र ऊर्जावान् प्रस्तुतिसहितको श्रव्यदृश्य तयार गरेर सामाजिक सञ्जालमार्फत सिटौलाले सार्वजनिक गर्दै आउनुभएको छ । “म अभिनेत्री फतेहीको ठूलो प्रशंसक हुँ । मैले उहाँको हरेक गीतको नृत्यलाई मञ्च वा श्रव्यदृश्यमार्फत प्रस्तुत गरेको छु । आजसँगै नाच्न पाउँदा निकै उत्साहित छु”, सिटौलाले भन्नुभयो । आफ्नो २३ सदस्यीय नृत्य टोलीसँग करिब ४० मिनेटसम्म अभिनेत्री फतेहीले लोकप्रिय गीतमा ऊर्जावान् प्रस्तुति दिनुभयो । उहाँ आफैँले गाउँनुभएको ‘स्नेक डान्स’ बाट प्रस्तुतिको सुरुआत गर्दै ‘कुसु कुसु’, ‘ओ साकी साकी’, ‘नाच मेरी रानी’ जस्ता गीतहरूमा दर्शकलाई नचाउनुभयो । “नेपालमा दर्शकले देखाउनुभएको माया र आतिथ्यताले मलाई झनै ऊर्जा थपिएको छ । यहाँ मैले निकै माया पाएकी छु, यो सुन्दर देशका मानिस पनि सुन्दर छन्”, फतेहीले आफ्नो अनुभव सुनाउनुभयो । यही जेठ ३ गते शनिबार बिहान आफ्ना दुई सहयोगीसहित काठमाडौँ आइपुग्नुभएकी अभिनेत्री फतेही आज आइतबार बिहान संयुक्त अरब इमिरेटस् प्रस्थान गर्नुभयो । कार्यक्रम शिक्षाबाट वञ्चित बालबालिकाको सहयोगार्थ कार्यरत सामाजिक संस्था ‘ह्युमन रेस्पेक्ट नेपाल’को सहयोगका वल्र्डवाइड फिल्मस्का देव मगर र मनु मिडियाका मनिष कार्कीले आयोजना गर्नुभएको हो । उक्त कार्यक्रममा अभिनेत्री फतेहीका साथै नेपाली कलाकारहरू गायक दुर्गेश थापा, प्रतिभाशाली नृत्याङ्गना तेरिया मगर र समर्पण लामा र ‘भ्वाइस अफ नेपाल सिजन ६’ का उत्कृष्ट पाँच कलाकार प्रोसेस पाण्डे, रोशन राई, अर्पणा आचार्य, प्रमेश राई तथा इन्द्रकला राईले पनि आ–आफ्नो प्रस्तुति दिनुभयो । भारतीय र नेपाली कलाको यो सुन्दर संयोजनले कार्यक्रमलाई थप आकर्षक, मनोरञ्जक र अविस्मरणीय बनाएको थियो ।
काठमाडौंः प्रदर्शनरत नेपाली चलचित्र ‘ऊनको स्वीटर’ले पहिलो साता राम्रो ग्रसकलेक्सन गरेको छ । पहिलो साता यो चलचित्रले पाँच करोड ७५ लाख रुपैयाँ ग्रसकलेक्सन गरेको निर्माणपक्षले जनाएको छ । निर्माण कम्पनी आर्टमाण्डू नेपालले निर्माण गरेको चलचित्रमा नवीन चौहानको लेखन तथा निर्देशन छ । अहिले पनि यो चलचित्र उच्च शोसहति चलिरहेको छ । चलचित्रमा विपीन कार्की, मिरुना मगर, परीक्षा लिम्बू, एलेक्स पारस, विल्सन विक्रम राई, सुरज तमु, भावना खपांगी मगर, सुनील पोखरेललगायतको अभिनय छ ।
पोखरा: कथा वाचिका देवी प्रतिभा नेपाल आएकी छिन् । उनी गण्डकी शत कुण्डीय गायत्री कोटिहोमका लागि पोखरा आइपुगेकी हुन् । देवी प्रतिभाले आज पोखरा महानगरपालिका १७ मा आयोजित ऐतिहासिक श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोममा समुद्घाटन गर्ने आयोजक मानवसेवा फाउन्डेसनका संस्थापक विजय कृष्ण मूर्तिले जानकारी दिए । देवी प्रतिभाको टिममा २५ जना सदस्य रहेका छन् । उनको टिममा पहिला जस्तै सुरक्षा गार्ड र आफ्नै बाद्ययबादनको समूह समेत रहेको बताइएको छ । उनले कोटिहोममा १४ दिनसम्म कथा वाचन गर्नेछिन् । त्यस्तै शितकृष्ण महाराजजी पनि यतिबेला पोखरामा छन् । हिजो पोखरा आइपुगेका उनले देवी प्रतिभाको कथा वाचन समुद्घाटन कार्यक्रममा पनि प्रवचन दिने कार्यक्रम रहेको बताइएको छ ।

