पोखरा: गण्डकी प्रदेशमा जेठ १३ देखि २६ गतेसम्म आई.पि.भी खोप अभियान सञ्चालन हुने भएको छ । जेठ १३ गतेदेखि देशभर सञ्चालन हुन लागेको आई.पि.भि खोप अभियानमा १४ लाख बढी बालबालिकालाई उक्त खोप लगाइँदै छ । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले आज पोखरामा एक कार्यक्रमको आयोजना गर्दै प्रदेशका ११ जिल्लामा १ लाख १० हजार ३ सय २७ जना बालबालिकालाई आई.पि.भी खोप लगाउन लागेको जानकारी दिएको हो । सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशका सचिव डा. विनोद विन्दु शर्माले वि.सं २०७३ बैशाखदेखि ०७५ आश्विनसम्म जन्मिएका बालबालिकाहरुलाई मात्र आई.भि.पी खोप लगाइने बताए । ‘जेठ १३ देखि देशभर नै सुरु हुने आई.भि.पी खोप अभियानमा गण्डकी प्रदेशमा १ लाख १० हजार ३ सय २७ जना बालबालिकालाई खोप लगाउँदै छौं’, सचिव डा. शर्माले भने, ‘ वि.सं २०७३ बैशाखदेखि ०७५ आश्विनसम्म जन्मिएका बालबालिकाहरुलाई मात्र खोप लगाउँछौं ।’ पोलिइव रोग निर्मुल पार्नका लागि २०७१ बाट सुरु भएको आई.भि.पी खोप ०७३ बाट विश्व बजारमा खोप अभाव भएर आपूर्ति नभएका कारण दुई वर्ष भन्दा बढी अवधि सम्म खोप लगाउन छुटेका बालबालिकालाई खोप लगाउने उद्धेश्यले अभियान सुरु गरिएको उनले बताए । खोप अभियानका लागि निर्धारण गरिएका उमेर समूहका अधिकांश बालबालिकाहरु विद्यालयमा अध्ययन गर्ने भएकाले विद्यालयमै गएर खोप लगाइने मन्त्रालयका सचिव डा. शर्माले बताए । ‘खोप अभियानमा गण्डकी प्रदेशका ११ वटै जिल्लामा ३ हजार ४ सय ५३ वटा खोप केन्द्र सञ्चालनमा ल्याइँदै छ’, उनले भने, ‘खोप अभियानका लागि निर्धारण गरिएका उमेर समूह अधिकांश विद्यालयमा अध्ययनरत भएकाले विद्यालयमा नै गएर खोप अभियान सञ्चालन गछौं ।’ उनले २ हप्तासम्म सञ्चालन हुने अभियानमा विद्यालय नजाने र विद्यालयमा खोप लगाउन छुटेका बालबालिकाहरुलाई पायक पर्ने बाह्य खोप केन्द्र तथा अभियानको अन्तिम दिन स्वास्थ्य संस्थामा खोप लगाइने बताए । गण्डकी प्रदेशका कुन जिल्ला कति बालबालिकालाई लगाइँदै छ खोप ? गण्डकी प्रदेशको सबैभन्दा बढी आई.भि.पी खोप कास्कीका बालबालिकालाई लगाइने सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कास्कीमा २८ हजार ३ सय ७, नवलपुरमा १९ हजार ७ सय २९,तनहुँमा १४ हजार ५ सय १२, बागलुङमा ११ हजार ७ सय ७७, र स्याङ्जामा १० हजार १ सय ४५ जना बालबालिकालाई आई.भि.पी खोप लगाइँदै छ । यस्तै गोरखामा ८ हजार ५ सय ३९ लमजुङमा ६ हजार ६ सय ६५, पर्वतमा ५ हजार ७ सय,म्याग्दीमा ४ हजार ३ सय ५६, मुस्ताङमा ४ सय ५० र मनाङमा १ सय ५३ जना बालबालिकालाई उक्त खोप लगाइँदै छ । जेठ १३ देखि २६ गतेसम्म सञ्चालन हुने आई.भि.पी खोप अभियानमा गण्डकी प्रदेशमा ३ हजार ४ सय ५३ जना स्वास्थ्यकर्मी र ६ हजार ९ सय ६ जना स्वास्थ्य स्वयंसेवक परिचालन हुनेछन् । मन्त्रालयले गण्डकी प्रदेशको ११ वटै जिल्लाहरुमा खोप अभियान सम्बन्धि गोष्ठी, स्वास्थ्यकर्मी, स्वयंसेवक र विद्यालयका शिक्षकहरुसँग अभिमुखिकरण कार्यक्रम सम्पन्न गरिसकेको छ । खोप अभियानका लागि आवश्यक सामग्री र खोप प्रदेशको सबै जिल्लामा पुगीसकेको जनाएको छ । नियमिततर्फ पोलियोविरुद्ध ६ हप्ता,१० हप्ताका बालबालिकाहरुलाई मुखबाट थोपा तथा १४ हप्ता र ९ महिनासम्मका बालबालिकालाई खोप लगाइन्छ । नेपालले सन् २०१४ मै पोलियो मुक्त राष्ट्रको रुपमा प्रमाणपत्र पाएपनि दक्षिण एसियाली मुलुक पाकिस्तान र अफगानिस्तानमा अहिले पनि पोलियोको केश देखिएका कारण नेपालमा जोखिम कायमै रहेकाले खोप अभियान सञ्चालन गर्न लागेको जनाइएको छ । विश्व स्वास्थ्य संगठनले यो रोग २०२६ सम्म उन्मूलन गर्ने लक्ष्य राखेको छ ।
लेखनाथ: पोखरा महानगरपालिका ३० मोहोरियास्थित संक्रामक तथा सरुवा रोग अस्पताल भवन निर्माण कार्यले गति लिन सकेको छैन । ठेक्का सम्झौता अनुसार आगामी असारभित्र भवन निर्माण गरिसक्नुपर्नेमा हालसम्म ५२ प्रतिशतमात्र भौतिक प्रगति र ५५ प्रतिशत वित्तीय प्रगति भएको छ । गण्डकी प्रदेश सरकारले बहुवर्षीय आयोजनामा समेटेको अस्पताल भवन निर्माण कार्य ‘यम–धुलिखेल–प्याराडाइज जेभी’ले गरिरहेको छ । वि.सं.२०७८ असारमा २८ मा ३ वर्षमा निर्माण सक्ने सम्झौता भए पनि निर्माण कार्यले गति लिन नसकेको प्रदेश सरकारको सहरी विकास तथा भवन कार्यालयले जनाएको छ । कार्यालयका निमित्त प्रमुख रवीन्द्र तिवारीले प्रदेश सरकारले प्राथमिकताका साथ बजेट विनियोजन गरे पनि निर्माण कम्पनीले सोचे जसरी काम देखाउन सकेको जनाए । गत आर्थिक वर्षसम्म भवन निर्माणमा १२ करोड ३८ लाख खर्च भइसकेको छ । चालु आवमा थप ५ करोड विनियोजन गरिएको थियो, जसमध्ये हालसम्म ४ करोड बराबरको काम पनि नभएको निमित्त प्रमुख तिवारीले जानकारी दिए । ‘अब जति तीव्र गतिमा काम गरे पनि आगामी असारभित्र १ करोडको काम हुने अवस्था छैन । निर्माण कम्पनीले आन्तरिक व्यवस्थापन मिलाउन नसक्दा काममा ढिलासुस्ती भइरहेको हो’, उनी भन्छन् । कम्पनीले ३० करोड २० लाखको लागतमा ४ तलाका ३ वटा ‘ब्लक’ निर्माणको ठेक्का पाएको छ । सरकारले प्रदेशकै पहिलो संक्रामक तथा सरुवा रोग अस्पताल भएकाले भवन निर्माणमा बजेट अभाव हुन नदिने बताउँदै आएको छ । निर्माण कम्पनीका प्राविधिक वीरेन्द्र जिसीले भने आगामी असारभित्र विनियोजित बजेट अनुसार काम हुने बताए । उनले यसरी नै बजेट विनियोजन गर्दा भवनले पूर्णता पाउन अझै ३ वर्षजति लाग्ने भन्दै बजेट र भुक्तानी प्रक्रियालाई सहज बनाउन आग्रह गरे । सुरुको वर्ष जग्गा व्यवस्थापन, पर्खाल र जग निर्माणले समय बढी लिएको उनको दाबी छ । “आगामी वर्षदेखि बजेट बढाएमा आफूहरू समयमै काम गर्न तयार छौँ । अहिले पनि ढलानलगायतका काम भइरहेका छन् ।” २० वर्षअघि सञ्चालनमा ल्याइएको लेखनाथ सामुदायिक लायन्स अस्पताल चार वर्षअघि गण्डकी प्रदेश सरकारलाई हस्तान्तरण गरिएको थियो । प्रदेश सरकारले सोही अस्पताललाई सङ्क्रामक तथा सरुवा रोग अस्पतालको रूपमा विकास गरिरहेको छ । १५ शय्याबाट सुरु गरिएको उक्त अस्पतालको क्षमता हाल ५० शय्याको छ । अस्पतालले बहिरङ्ग र अन्तरङ्ग सेवा दिँदै आएको छ । एक सय रोपनी क्षेत्रफलमा फैलिएको अस्पताल हाल पुरानै भवनबाट सञ्चालन भइरहेको छ ।
पोखरा: कास्कीको रुपा गाउँपालिका–४ ठकुरी बस्तीमा निशुल्क आँखा शिविर सम्पन्न भएको छ । दर्शन फाउन्डेसनको आयोजना तथा गोर्खा कालिका क्लब र दर्शन आमा समुहको सहआयोजना साथै हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा एक दिने निशुल्क आँखा जाँच सम्पन्न भएको छ । शिविरमा कास्की र लमजुङका गरि १३७ जनाले लाभ प्राप्त गरेका छन् । हिमालय आँखा अस्पतालका वरिष्ठ नेत्र अधिकृत गोबिन्दनाथ योगीले आँखाको महत्वबारे प्रकाश पार्दै शिविरमा सहभागी मध्य अप्रेसन नै गर्नुपर्ने बिरामीहरुलाई रेफर गर्दै अस्पतालले निशुल्क अप्रेसन गर्ने गरि आँखाको हिफाजतबारे जानकारी गराए । कार्यक्रममा रुपा गाउपालिकाको अध्यक्ष एवम् प्रमुख अतिथि नवराज ओझाले साविक सिद्ध गाविसमा पहिलो पटक शिविर संचालन गरेकोमा बधाई शुभकामना दिदै रुपामा क्लब, समुहले स्वास्थ्य सम्बन्धी कार्यक्रम आयोजना गर्नु पर्ने बताए । उनले युवा क्लवहरु प्रायः सामान्य खेलकुद सामाग्री, महिला समुहहरु भाँडाकुडा मात्र माग गर्ने गरेका बताए । स्वस्थ आँखा भयो भने झिलिमिली सन्सार हेर्न मात्र होइन दैनिक कामकाजमा सहज हुन्छ भन्दै रुपा मै क्लबद्वारा आयोजना गरिएको आँखा शिविर दोस्रो पटक भएको समेत बताए । विभिन्न भेगबाट आँखा जाँचका लागि आएका मध्ये अवस्था हेरी चश्मा तथा औषधि समेत निशुल्क वितरण गरिएको थियो । दर्शन फाउण्डेशनका अध्यक्ष पितम बहादुर सेनको अध्यक्षतामा भएको कार्यक्रमको संचालन सचिव मदन मल्ल छाँयाले गरेका थिए ।
तनहुँ: जिल्लाको शुक्लागण्डकी नगरपालिका–५ बेलचौतारास्थित जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई एसियाकै ठूलो उपचार केन्द्र बनाउन पहल थालिएको छ । तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाको राजकीय भ्रमणको सिलसिलामा भारत सरकारसँग भएको सहमतिअनुसार उक्त केन्द्रलाई श्वासप्रश्वाससम्बन्धी अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्न लागिएको हो । सन् २०१७ मा तत्कालीन प्रधानमन्त्री देउवाको भारत भ्रमणका बेला अन्तर्राष्ट्रियस्तरको अस्पताल निर्माण गर्ने सहमति भएको थियो । सोहीअनुरुप भारत सरकारको सहयोगमा तीन सय शय्या क्षमताको आधुनिक उपकरणसहितको पूर्वाधार निर्माण प्रक्रिया सुरु भएको केन्द्रका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिनुभयो । भारत सरकारले तीन सय शय्याको श्वासप्रश्वास र नेपाल सरकारले सात सय शय्याको जनरल अस्पताल बनाएर एक हजार शय्या क्षमताको बनाउने लक्ष्य रहेको केन्द्रले जनाएको छ । स्वास्थ्य मन्त्रलायले परराष्ट्र मन्त्रालयमार्फत प्रक्रिया अघि बढाइएको छ”, कार्यकारी निर्देशक डा श्रेष्ठले भन्नुभयो, “एक हजार शय्या अस्पतालका लागि भौतिक संरचना निर्माण गर्न भवन विभागबाट विस्तृत आयोजना प्रतिवेदन (डपिआर) तयार भइसकेको छ ।” उहाँका अनुसार करिब सात सय रोपनी क्षेत्रफलमा जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रलाई केन्द्रीय अस्पतालका रूपमा स्थापना गरी पचास शय्याको जनरल अस्पताल सञ्चालनमा ल्याइएको छ । केन्द्रले विशेषज्ञसहितका चिकित्सकबाट श्वासप्रश्वाससम्बन्धी उपचार सेवा दिन सुरु गरिसकेको डा. श्रेष्ठले जानकारी दिनुभयो । हाल श्वासप्रश्वाससहित ५० शय्या क्षमताको जनरल अस्पताल सञ्चालन भइरहेको उहाँको भनाइ छ । “केन्द्रलाई श्वासप्रश्वाससम्बन्धी एसियाकै ठूलो अस्पताल बनाउने योजनामा लागेका छौँ”, डा. श्रेष्ठले भन्नुभयो, “यसले देशको स्वास्थ्य क्षेत्रमा अग्रणी फड्को मार्न सक्ने श्विास लिइएको छ ।” उहाँका अनुसार केन्द्रमा तनहुँ, कास्की, गोरखा, लमजुङ र नवलपुरलगायत जिल्लाबाट दैनिक तीन सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेका छन् । “उपचारका लागि आउनेमध्ये करिब ८० प्रतिशत बिरामी बीमा गराएका हुन्छन्”, कार्यकारी निर्देशक डा. श्रेष्ठले भन्नुभयो । उहाँका अनुसार हाल केन्द्रमा एक सय दुई जना जनशक्ति कार्यरत छन् । साविक सेतीगङ्गा सामुदायिक अस्पतालका रुपमा सञ्चालन हुँदै आएकामा आर्थिक अभावले निरन्तरता दिन नसकेपछि वि.सं. २०७३ मा नेपाल सरकारलाई हस्तान्तरण गरिएको थियो । पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको राजनीतिक योगदानलाई उच्च मूल्याङ्कन गर्दै सरकारले जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र सञ्चालनमा ल्याएको थियो । केन्द्रले सघन उपचार कक्ष (आइसियु), शल्यक्रिया, हाडजोर्नी, नाक, कान र घाँटी, एक्से–रे, भिडियो एक्स–रे, ल्याब, श्वासप्रश्वासलगायत क्षेत्रमा विशेषज्ञ चिकित्सकबाट सेवा प्रदान गर्दै आएको जनाएको छ ।
पोखरा: कास्कीको रूपा गाउँपालिका पूर्ण खोप सुनिश्चित पालिका घोषणा भएको छ। आइतबार उक्त पालिकाको स्वास्थ्य शाखाले विशेष कार्यक्रमको आयोजना गरेर सो घोषणा गरिएको हो। कार्यक्रममा उक्त घोषणा गर्दै जिल्ला जिल्ला खोप समन्वय समिति कास्कीका संयोजक तथा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले कास्की जिल्ला रूपाको उक्त घोषणा संगै छिट्टै कास्कीलाइ पूर्ण खोप सुनिश्चित जिल्ला घोषणाको तयारी भएको जानकारी दिनुभयो। पौडेलले सो घोषणाले कास्कीमा कुनै पनि बालबालिका खोपबाट बन्चित हुनु नपर्ने भन्दै निरन्तरतामा अझ घनिभुत ढंगले लागी पर्न पालिकालाइ आग्रह गर्नुभयो । पौडेलले खोप प्राप्त गर्ने बालबालिकाको नैसर्गिक अधिकार भएको र पूर्ण खोपको प्रत्याभुती संगै सरकारले परिकल्पना गरेको आधारभुत स्वास्थ सेवाको ग्यारेन्टी गर्दै स्वस्थ नागरिक निर्माण मार्फत समृद्ध नेपाल सुखी नेपालीको नारा साकार हुने बिश्वास व्यक्त गर्नुभयो । रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाले सुनिश्चितता घोषणा गर्ने कार्य सम्पन्न भए संगै र यसको निरन्तरतामा पालिका कटिबद्धताका साथ लाग्ने प्रतिबद्धता व्यक्त गर्दै सहयोग गर्ने सम्पूर्णमा हार्दिक आभार ब्यक्त गर्नुभयो । कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका सदस्य हर्क बहादुर गुरुङ,गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत चिरञ्जीवी बराल, स्वास्थ शाखा प्रमुख रामचन्द्र ओझा ,जनस्वास्थ्य कार्यालय कास्कीका खोप अधिकृतद्वय , एकनारायण लम्साल , बद्री आचार्य ,राधा सुवेदी सहितले मन्तव्य व्यक्त गर्नुभएको थियो। रूपा गाउँपालिका अध्यक्ष नवराज ओझाको अध्यक्षतामा उक्त घोषणा कार्यक्रम सम्पन्न भएको थियो ।
पोखरा: पोखरामा किशोरकिशोरीमैत्री स्वास्थ्य सेवा सञ्चालन सम्बन्धमा अन्तरक्रियात्मक छलफल कार्यक्रम गरिएको छ । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाको आयोजना तथा स्वास्थ्यको क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्थाहरुको समन्वयमा सम्पन्न कार्यक्रममा स्वास्थ्य संस्थाहरू किशोर अवस्थाका व्यक्तिहरूका लागि कति पहुँचयुक्त छन्, भन्ने विषयमा केन्द्रित थियो । कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले महानगरपालिका अन्तरगतका स्वास्थ्य संस्थाहरू लगायत महानगर क्षेत्रमा सञ्चालित सम्पूर्ण हस्पिटल तथा सेवा प्रदायक संस्थाहरूलाई किशोर किशोरी मैत्री सेवायुक्त बनाउन निर्देशन दिनुभयो । स्वास्थ्य सेवामा सबै वर्गहरूको पहुँच स्थापित गर्न महानगरपालिका प्रतिबद्ध रहेको उहाँले बताउनुभयो । यौन तथा प्रजनन स्वास्थ्यका दृष्टिकोणले किशोर किशोरीहरूमा उमेर नपुग्दै हुने गरेको विभिन्न क्रियाकलापका कारण उनीहरूको स्वास्थ्य अवस्था जोखिममा पर्दै गएको प्रति प्रमुख आचार्यले चिन्ता व्यक्त गर्नुभयो । स्वास्थ्य सम्बन्धी सचेतनाको अभावका कारण किशोर किशोरी उमेरका व्यक्तिहरूमा देखिएको यस प्रकारको समस्याले भविष्यमा गम्भीर असर गर्ने उहाँले बताउनुभयो । पोखरा महानगरपालिका वडा नं।१७ की वडा अध्यक्ष राधिका कुमारी शाही योगीले किशोर किशोरीहरूलाई यौन तथा प्रजनन स्वास्थ्यका विषयमा विद्यालय तहदेखि नै उपयुक्त शिक्षा दिनुपर्ने आवश्यकतामा जोड दिनुभयो । किशोर अवस्थाको असावधानीले भविष्यमा गम्भीर प्रकृतिका स्वास्थ्य समस्याहरू आउन सक्ने भएकाले समयमा नै यससम्बन्धी सेवालाई पहुँचयुक्त बनाउनु पर्ने उहाँले बताउनुभयो । स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले जनसमुदायमा मास स्केलमा स्वास्थ्य सचेतना सम्बन्धी वकालतको आवश्यक रहेको बताउनुभयो । यससम्बन्धी सेवा प्रदान गर्ने सरकारी निकायहरूमा जनशक्तिको अभाव, कम उमेरमा हुने विवाह र सामुदायिक रूपमा जनचेतना अभिवृद्धि चुनौतीपूर्ण रहेको उहाँले बताउनुभयो । पोखरा महानगरपालिका स्वास्थ्य व्यवस्थापन समितिका सदस्य डा. डमरु पनेरुले स्वास्थ्यका सन्दर्भमा मानिसको जीवनशैली चिन्ता गर्नुपर्ने अवस्थामा रहेको बताउनुभयो । मानिसहरू आफ्नो स्वास्थ्यको नियमित चेकजाँच र स्वस्थ जीवनशैलीमा आधारभूत सवालहरूमा सचेत रहन नसकेको उहाँले उल्लेख गर्नुभयो । किशोरावस्थामा हुने स्वास्थ्य सम्बन्धी लापरबाहीरकमजोरीहरू भविष्यमा गम्भीर चुनौतीका रूपमा देखिन सक्नेप्रति सचेत रहन उहाँले सुझावसमेत दिनुभयो । पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य अधिकृत फुलदेव तिमिल्सिनाले आफूहरू महानगरद्वारा सञ्चालित अस्पताल लगायत संस्थाहरूलाई किशोरकिशोरीमैत्री सेवायुक्त बनाउन लागि परेको बताउनुभयो । महानगरको किशोर किशोरी मैत्री स्वास्थ्य सेवा कार्यक्रमका फोकल पर्सन सत्यराज साँखीले महानगर क्षेत्रमा यस प्रकार सेवाको विस्तारमा जोड दिइएको बताउनुभयो । राष्ट्रिय जनसाङ्ख्यिक स्वास्थ्य सर्वेक्षण २०२२ का अनुसार १५–१९ वर्षका १४ प्रतिशत किशोर किशोरीहरू गर्भवती हुने गरेको तथ्याङ्क छ । गण्डकी प्रदेशमा कुल प्रजननको १.४ प्रतिशत प्रजनन दर यही उमेर समूहका किशोर किशोरीहरूमा छ । करिब ३१ प्रतिशतले चाहेको बेला परिवार नियोजन सेवा प्राप्त गर्न नपाउने अवस्था छ । गत आर्थिक वर्ष २०७९र८० मा २० वर्ष मुनिका झण्डै २ हजार किशोर किशोरीहरू गर्भवती भएको तथ्याङ्क स्वास्थ्य कार्यालय कास्कीको अभिलेखमा छ । गर्भपतन गराउने २० वर्षमुनिका किशोर किशोरीहरूको सङ्ख्या पनि डरलाग्दो रहेको स्वास्थ्य अधिकारीहरूले बताएका छन् ।
पोखरा: गण्डकी प्रदेशमा डायलासिस सेवाको लागि पर्खाइमा रहेका व्यक्तिहरुको संख्या शुन्यमा झार्ने लक्ष्य पुरा भएको छ । बुधबार गण्डकी प्रदेशको सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयमा आयोजित कार्यक्रममा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीसमक्ष सो जानकारी गराइएको हो । मन्त्रालयका सचिव डा. विनोद विन्दु शर्माले तथ्यांक प्रस्तुत गर्दै यस बारेमा प्रष्ट पारे । अब डायलासिल गर्ने बिरामीले कुर्न नपर्ने बताउदै शर्माले भने, ‘गण्डकी प्रदेशमा सेवा नपाएर प्रतिक्षारत अवस्थामा कोही पनि हुनुहुन्न । डायलासिस गर्ने बिरामी जानुभयो भने सेवा पाइन्छ’ । २०७९ साल माघको अध्ययन प्रतिवेदन अनुसार सरकारी १० र निजी ६ वटा गरी जम्मा १६ वटा संस्थाबाट डायलासिस सेवा दिने गरिएको थियो । त्यतिबेला ५ सय ७६ जना बिरामीहरुले डायलासिस सेवा लिइरहँदा ३ सय ३ जना डायलाइसिस सेवाको पर्खाइमा रहेका थिए । अधिकारी पहिलोपटक मुख्यमन्त्री हुँदा भएको मन्त्रीपरिषदको निर्णय अनुसार डायलासिस सेवा विस्तार गरेर, २५ शैया क्षमताको डायलासिस केन्द्र स्थापना, अन्य अस्पतालको क्षमता विस्तार गरेको कारण सेवाका लागि पर्खाइमा रहनेको संख्या शुन्यमा झार्न सफल भएको सचिव डा.शर्माले बताए । ‘माननीय मुख्यमन्त्रीज्यूकै निर्णयबाट गण्डकी प्रदेशमा डायलासिस गर्नुपर्ने प्रतिक्षारत व्यक्तिको संख्या शुन्यमा झार्ने प्रण गरिएको थियो, त्यसमा गण्डकी प्रदेशले विशेष फड्को मारेको छ । जुन राष्ट्रिय रुपमा चर्चाको रुपमा आएको छ’ उनले भने । डायलासिसका लागि हाल प्रदेशमा १ सय ३६ वटा मेसिन सञ्चालनमा रहेका छन् । सचिव डा. शर्माले स्वास्थ्य तर्फको मन्त्रालयले हाँसिल गरेका उपलब्धि, कार्यगत संरचना, आगामी दिनमा गर्नुपर्ने कार्य लगायतका विषयमा जानकारी गराएका थिए । बिस्तारित ओपिडी सेवा बेनी अस्पताल म्याग्दी, लमजुङ अस्पताल, पर्वत अस्पताल, मध्यविन्दु अस्पताल, दमौली अस्पताल, स्याङजा अस्पताल र गोरखा अस्पतालमा सञ्चालनमा रहेको डा.शर्माले बताए । जनशक्तिको अभावमा सुचारु हुने नसकेका धौलागिरी अस्पताल, संक्रामक तथा सरुवा रोग अस्पताल कास्की, मातृशिशु मितेरी अस्पताल, मुस्ताङ अस्पताल र मनाङ अस्पतालमा सुचारु गर्ने प्रक्रियामा मन्त्रालय रहेको सुनाए । मन्त्रालयगत रुपमा भएका गतिविधिको बारेमा जानकारी लिएपछि मुख्यमन्त्री अधिकारीले कर्मचारीलाई उच्च मनोबलका साथ काम गर्न स्वास्थ्यकर्मीलाई आग्रह गरे । स्वास्थ्य क्षेत्रमा काम गर्नेले गर्व गर्नुपर्ने उनको भनाई थियो ।
पोखरा: गण्डकी प्रदेशमा दोस्रो पटक मुख्यमन्त्री बन्नुभएका खगराज अधिकारीले पदभार ग्रहण गरेपश्चात गरेको पहिलो निर्णय कार्यान्वयन हुन थालेको छ । विभिन्न ११ जिल्लाका अस्पतालहरूको सेवालाई प्रभावकारी बनाउनको लागि बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्मको ओपीडी सेवा सञ्चालन गर्ने भनेर प्राथमिकताका साथ मुख्यमन्त्री अधिकारीले कार्यभार सम्हाल्नु हुँदा पहिलो निर्णय गर्नुभएको थियो । यो निर्णय अनुसारको सेवा प्रदान गर्ने कार्य केही अस्पतालले सुरु गरिसकेका छन् भने केही अस्पताल निर्णय कार्यान्वयन गर्नको लागि आन्तरिक तयारीमा समेत जुटेका छन् । सेवा सुरु गरेको अस्पतालको तथ्यांक हेर्दा यो प्रभावकारी देखिएको गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले जनाएको छ । गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. विनोद विन्दु शर्माले निर्णय कार्यान्वयन हुन थालेको बताउनुभयो । ‘कार्यान्वयनको तहमा हेर्ने हो भने म्याग्दीको बेनी अस्पतालमा ७ बजेदेखि ७ बजेसम्म सञ्चालन भइरहेको छ, लमजुङ अस्पतालमा पनि सञ्चालनमा रहेको छ, मध्यविन्दु अस्पतालमा समेत सञ्चालनमा गएको छ । मैले हिजो मात्र अपडेट लिएको थिए स्याङजा अस्पतालले यहीं आइतबार वा सोमबारबाट सुरु गर्दैछ’ उहाँले भन्नुभयो । अरु धेरैं अस्पतालमा यो सेवा ७ बजेदेखि ७ बजेसम्म सञ्चालन गर्ने भनेर तयारी भइरहेको समेत उहाँले खुलाउनुभयो । यो सेवाको कार्यान्वयनको लागि आवश्यक पर्ने स्रोतको लागि मुख्यमन्त्रीबाट स्विकृत भएर स्रोत सुनिश्चित गर्नको लागि फाइल अगाडि बढेको समेत उहाँले जानकारी दिनुभयो । ‘यो सेवालाई प्रभावकारी रुपमा सञ्चालन गर्नको लागि थप जनशक्ति र स्रोत के चाहिन्छ हामीले त्यो आकलन गरिसकका छौं । त्यसको बन्दोवस्तीको लागि माननीय मुख्यमन्त्रीज्यू अहिले हाम्रो विभागीय मन्त्री पनि हुनुहुन्छ उहाँले स्वीकृत गरेर अर्थ मन्त्रालयमा थप स्रोत सुनिश्चित गर्नको लागि फाइल अगाडि बढेको छ’ सचिव डा.शर्माले भन्नुभयो । उहाँका अनुसार सेवा सुरु भएका अस्पतालको तथ्यांक अनुसार सेवा थप भएको समयमा सेवा लिनेको संख्या ४५ प्रतिशत रहेको छ । ‘१० बजेदेखि ५ बजेसम्मको अवस्थामा ५५ प्रतिशत र बिहान र बेलुकाको समयमा ४५ प्रतिशतले सेवा लिएको छ । यसरी हेर्दा थोरै जनशक्ति र स्रोतले यो कार्यक्रम प्रभावकारी भएको छ । बिहान ७ देखि बेलुका ७ को ओपीडीको अवधारणले ४५ प्रतिशत सेवाग्राहीलाई फाइदा देखिएको छ’ उहाँले थप्नुभयो । यसले टाढा गाउँबाट उपचारको लागि सदरमुकाम झरेका बिरामीको खर्च बचाउनुको सट्टा उनीहरूलाई जिल्ला अस्पतालको सेवा लिनमा सहजता बनेको उहाँले सुनाउनुभयो । ‘माननीय मुख्यमन्त्रीज्यूले यो ढोका खोल्नु भएको छ । यो अत्यन्तै अपेक्षित छ, यसबाट के पनि सिकाइ भयो भने बिहान गाउँबाट सदरमुकाममा आउँछन् उनीहरू सदरमुकाम आइपुग्दा बेलुका हुन्छ, अस्पतालको १० देखि ५ को समय टरेको हुन्छ । बेलुका उनीहरू बजारमा आएर स्थानीय स्वास्थ्य क्लिनिक, पोलिक्लनिकहरूमा देखाएर औषधी पोको पारेर जाने अवस्था थियो । उनीहरूलाई अस्पतालको सेवाले समावेश गर्न सकेको थिएन, यो विशेष सिकाइ भएको छ’ उहाँको भनाइ थियो । अब अर्को वर्षको कार्यक्रममा विशेष कार्यक्रमको रुपमा लिएर जाने तयारी मन्त्रालयले गरेको समेत उहाँले बताउनुभयो । न्युनतम स्रोत र साधनको सहयोगले पनि विशेष काम गर्न सकिन्छ भन्ने पुष्टि भएकोले यसलाई निरन्तर लैजाने हिसाबले व्यवस्थित गर्ने तयारी भएको छ ।
काठमाडौं: प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा.सुनील शर्माले वरिष्ठ मुटुरोग विशेषज्ञ डा.भगवान कोइरालाको अगुवाइमा निर्माण हुन लागेको बाल अस्पताललाई २० लाख सहयोग गर्नुभएको छ । शर्माले आज हेपाली हाइटमा रहेको डा.भगवान कोइरालाको निर्माणाधीन अस्पताल काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (कियोच) मा पुगेर सो सहयोग गर्नुभएको हो । रकम हस्तान्तरण गर्दै डा.शर्माले राज्यले गर्नुपर्ने काम डा.कोइरालाले आफैँ गर्न लाग्नुभएको देखेर कोइरालाको सम्मानस्वरुप आफूले सो सहयोग उपलब्ध गराएको बताउनुभयो । डा.कोइराला अध्यक्ष रहेको (कियोच)ले काठमाडौंसँगै सातै प्रदेशमा विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजना अगाडि बढाएको छ । गैरनाफामूलक अस्पताल स्थापना गर्ने लक्ष्य लिएको कियोचको दमकमा भने निर्माण सम्पन्न भई अस्पतालले सेवा सुरु गरिसकेको छ । कियोचले राजधानी काठमाडौंमा एक सय शय्याको अस्पताल निर्माण गर्नेछ । त्यसपछि सात वटै प्रदेशमा ५० शय्याको अस्पताल स्थापना गर्ने डा.कोइरालाले जानकारी दिनुभयो ।