पोखरा:   स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकामा आयोजित बृहत् स्वास्थ्य शिविरबाट ६३१ जना स्थानीय बासिन्दा लाभान्वित भएका छन्।  खुमा अर्याल फाउन्डेसन र अर्जुनचौपारी गाउँपालिकाको संयुक्त आयोजना तथा गण्डक...

पोखरा:   पोखरामा क्रियाशिल रहेको बुद्धटोल युवा (बिटी) क्लबले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा पहिलाे पटक रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।      बुद्धटोल युवा क्लबका अध्यक्ष अशिम थापाले अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा यही साउन २८ गते खुल्ला रक्तदान कार्यक्रम आयोजना गरिने जानकारी दिए ।   उनका अनुसार पोखरा महानगरपालिका–१ स्थित पुरानो टुडिखेलमा बिहान ७ बजेदेखि खुल्ला रक्तदान कार्यक्रम हुनेछ ।    खेलकुदको क्षेत्रमा निकै सक्रिय रहेको यस क्लबले युवा दिवसको अवसरमा पहिलाे पटक रक्तदान आयोजना गर्न लागेको क्लबको कोषाध्यक्ष दीपक कार्कीले जानकारी दिए ।   उनका अनुसार क्लबले सेभेन ए साइड फुटबल प्रतियोगिता आयोजना गर्दै आएको छ ।   क्लबले यसअघि सामाजिक कार्यक्रम अन्तरगत कोरोना भाइरसको महामारीको समयमा राहात वितरण, सरसफाई, टोटोलको सडकबत्तीको मर्मत-संभार, सिसिटिभी जडान, विभिन्न विषयमा जनचेतनामूलक अन्तरक्रिया लगायतका कार्यक्रमहरु आयोजना गर्दै आएको छ ।

चितवन:    यहाँको भरतपुर अस्पतालमा अर्थोपेडिक विभागमा आज दुई सय ५० जनाले मात्रै बहिरङ्ग सेवामा टिकट काट्न पाउने भएका छन् । सोभन्दा बढी सेवाग्राहीले टिकट नपाउने अवस्था रहेको अस्पताल प्रशसानले जनाएको छ ।      अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले आज बिहान मातहतका कर्मचारीलाई आज दुई सय ५० भन्दा बढीको टिकट नकाट्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “हिजो टिकट काटेका एक सयभन्दा बढी बिरामी उपचार नलिई फर्किनु प¥यो, सेवा नलिई बिरामीलाई फर्काउनुभन्दा क्षमताअनुसार मात्रै टिकट उपलब्ध गराउनु उपयुक्त हुन्छ ।”      स्वास्थ्य बीमाको नियमअनुसार टिकट काटेको दिनमा मात्रै उक्त टिकटबाट सेवा लिन सकिन्छ । अर्को दिन आउँदा नयाँ टिकट लिनुपर्ने हुन्छ । आईतबार बिहानभरी लाइन बसेर टिकट काटेका एक सयभन्दा बढी बिरामी फिर्ता भएका अस्पतालका अर्थोपेडिक सर्जनसमेत रहनुभएका डा पौडेलले बताउनुभयो । उहाँहरुले आज परीक्षण गर्न पुनःटिकट काट्नुपर्ने हुन्छ ।      सरकारी भरतपुर अस्पतालमा यो समस्या अर्थोपेडिकसँगै मेडिकल, सर्जिकललगायत विभागमा छन् । मेडिसिन विभागमा मात्रै दैनिक पाँच सयभन्दा बढी बिरामी आउने बताउँदै डा पौडेलले कतिपयले टिकट काट्नै नपाउने अवस्था रहेको उल्लेख गर्नुभयो । स्वास्थ्य बीमामार्फत सेवा लिनेको घुइँचो, सीमित जनशक्तिलगायत कारण लामो लाइन बसेर काटेको टिकटबाट कतिपयले उपचार नलिई फर्किनुपरेको उहाँले स्वीकार्नुभयो ।       डा पौडेलका अनुसार पत्थरीको शल्यक्रियाका लागि एक वर्ष दुई महिनापछिको पालो दिनुपर्ने अवस्था छ । शल्यक्रिया गर्दा शरीरभित्र राखिएको ‘स्टिल’ निकाल्न एक वर्ष पालो कुर्नु परिरहेको भन्दै उहाँले आकस्मिक बाहेकका सबै शल्यक्रियाका लागि लामो समय पालो कुर्नुको विकल्प नभएको बताउनुभयो ।        “आईतबार अस्पतालमा बहिरङ्ग सेवा लिन आएका दुई हजार छ सय ५४ बिरामीमध्ये एक हजार सात सय ४५ जना स्वास्थ्य बीमामार्फत् सेवा लिने बिरामी थिए । यो सङ्ख्या कुनै दिन तीन हजार नाघ्ने गरेको छ”, पौडेलले भन्नुभयो ।         अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले बिरामीले टिकट नपाएको गुनासो आउन थालेपछि बहिरङ्गको समय बढाउने गरी विकास समितिले निर्णय गरेको बताउनुभयो । अहिले अस्पतालमा बिहान ९ः३० बजेदेखि ३ बजेसम्म बहिरङ्ग सेवा सञ्चालन हुँदै आएकामा मङ्गलबारदेखि बिहान ९ बजेदेखि दिउँसो ४ बजेसम्म सेवा सञ्चालन गरिने उहाँले जानकारी दिनुभयो ।        स्वास्थ्य मन्त्रालयले सरकारी अस्पतालमा दुई सिफ्ट बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देश गरेको छ । सोहीअनुसार चिकित्सकलाई अप्ठ्यारो नपर्ने गरी व्यवस्थापन गरिएको अध्यक्ष पौडेलले बताउनुभयो । उहाँका अनुसार पहिलो सिफट्मा ९ बजेदेखि अपह्रान्न २ सम्म र दोस्रोमा ११ बजेदेखि अपह्रान्न ४ बजेसम्म सिफ्ट मिलाइएको छ ।       पहिलो सिफट्मा ८० प्रतिशत र दोस्रोमा २० प्रतिशत चिकित्सक आउने जनाउँदै अध्यक्ष पौडेलले अपुग चिकित्सकका लागि नयाँ नियुक्तिको मागसहित सूचना प्रकाशित गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अस्पतालमा आउने बिरामी उपचार नपाएर फर्किनु हुँदैन । अब पुरानो तरिकाले नयाँ परिणाम पाउन सकिँदैन । बहिरङ्गको समय बढाएर सेवा दिने तयारी भइसकेको छ ।”        हाल अस्पतालमा अस्पताल विकास समितिका तर्फबाट ९० र सरकारी÷स्थायी ४५ जना विशेषज्ञ चिकित्सक कार्यरत छन् । मेडिकल अधिकृत ५९, छात्रवृत्ति÷करारका चिकित्सक ३६ र चार सय २५ जना नर्स रहेका अस्पताल प्रशासनले जनाएको छ । 

गलकोट:     बागलुङ नगरपालिका–८ सिगाना स्थित सिगाना स्वास्थ्यचौकी पहिरोको उच्च जोखिममा परेको छ । भिरालो जग्गामा जोखिम मूल्याङ्कन नगरी भवन निर्माण गरिएको थियो ।   जमिन भासिँदा र पहिरो जाँदा स्वास्थ्यचौकी भवन जोखिममा परेको स्वास्थ्यचौकी संरक्षण उपभोक्ता अनुगमन समितिका संयोजक यज्ञराज गौतमले जानकारी दिनुभयो ।  “स्वास्थ्यचौकी भवन नजिकै पानीको मूल छ, निर्माण गर्दा फालेको माटो र पानी तर्काउन नसक्दा बर्सेनि पहिरो बढेर गयो, लाखौँको स्वास्थ्यचौकी जोगाउन करोडौँ खर्च गर्नुपर्ने देखियो, हालसम्म पहिरो रोकथामका लागि रु ५० लाख खर्च भइसकेको छ”, उहाँले भन्नुभयो, “पहिरो रोकथामा लागि लगाइएको पक्की पर्खालले पूर्णता नपाउँदा यसपटक स्वास्थ्यचौकीको प्राङ्गण नै कोल्टे परेको छ ।”  अघिल्लो आर्थिक वर्षको अन्त्यमा गण्डकी प्रदेशबाट पहिरो रोकथामका रु ५० लाख विनियोजन भएकामा रु २५ लाखको पक्की पर्खाल निर्माण  गरिएको थियो ।   गत आवमा रु २५ लाख गरी अहिलेसम्म रु ५० लाख लागतमा पहिरो रोकथामको काम भए पनि  अहिले पुनः पहिरो गएको बागलुङ –८ सिगनाका वडाध्यक्ष राजु कार्कीले जानकारी दिनुभयो । रु एक करोड ८२ लाखको लागतमा भवन  निर्माण गरिएको थियो  ।   झण्डै सय मिटर तलदेखि स्वास्थ्यचौकीसम्मै पहिरो गएर जमिन चिरा पारेको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरोका कारण जोखिममा रहेको तित्याङ स्वास्थ्यचौकी पहिरो रोकथामको प्रयास सफल भए पनि सिगानाको पहिरो ठूलो भएकाले समस्या भएको बताउनभुयो ।

चितवन:   चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।   तीन सय जनाको परीक्षणका क्रममा उनीहरुमा डेङ्गु सङ्क्रमण देखिएको हो । सङ्क्रमितमध्ये ५१ जना चितवनका हुन् ।   जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रुपाखेतीका अनुसार यस वर्ष इच्छाकामना गाउँपालिकामा डेङ्गुको सङ्क्रमण बढेको छ । गाउँपालिकामा हालसम्म ४५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको उनले बताए ।   भरतपुर महानगरपालिकामा हालसम्म ६ जनामा डेङ्गु देखिएको छ । उनले भने, ‘डेङ्गुको सङ्क्रमण इच्छाकामना गाउँपालिका र भरतपुर महानगरपालिकाको बजार क्षेत्रमा बढी छ ।’ सङ्क्रमण बढेसँगै सङ्क्रमित क्षेत्रमा सचेतना बढाइएको उनले बताए ।   जिल्लामा २०८० साउनदेखि २०८१ असारसम्म एक हजार आठ सय ३१ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । प्रमुख रुपाखेतीका अनुसार २३ हजार आठ सय ४० जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण देखिएको हो ।

काठमाडौँ:  पाइलट मनीषरत्न शाक्यलाई सघन उपचार कक्ष (आईसीयू) बाट सामान्य वार्डमा सारिएको छ ।   सौर्य जहाज दुर्घटनामा घाइते भएका पाइलट शाक्यलाई स्वास्थ्यमा सुधार आएपछि सामान्य वार्डमा सारिएको हो ।​   काठमाडौं मेडिकल कलेज तथा शिक्षण अस्पतालका निर्देशक प्रा.डा.मीना थापाका अनुसार अस्पतालको आकस्मिक कक्षमा प्राथमिक उपचारपछि उनलाई निगरानीका लागि आईसीयूमा राखिएको थियो । तर, हिजो (बिहीबार) साँझ उनलाई क्याबिनमा सारिएको हो ।   शाक्यलाई न्युरो र हाडजोर्नी विशेषज्ञ चिकित्सकहरूको निगरानीमा राखिएको छ ।

सङ्खुवासभा:    सङ्खुवासभाको जिल्ला अस्पताल खाँदबारीमा भाइरल ज्वरो र डेङ्गीका बिरामी बढेका छन् । असारको अन्तिम सातादेखि अस्पतालमा ज्वरो र डेङ्गीका बिरामी बढ्न थालेपछि शय्या अभाव हुन थालेको हो ।      साउनयता भाइरल ज्वरो र डेङ्गीका बिरामीको सङ्ख्या ह्वात्तै बढेपछि उपचार गर्ने शय्या अपुग हुन थालेको अस्पतालका सूचना अधिकारी शेखर खत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “शय्या नहुँदा अहिले बिरामीलाई भुईमा राखेर उपचार गरिरहेको छौँ ।”      जिल्ला अस्पतालमा ज्वरोका बिरामीको सङ्ख्या अत्याधिक बढेकाले भुइँ, खाली स्थान र हलमा राखेर उपचार गरिरहेको अस्पताल प्रशासनले जनाएको छ ।       अहिले अस्पतलमा आउने अधिकांश बिरामी ज्वरो, डेङ्गी र स्क्रब टाइफसका भेटिएका सूचना अधिकारी खत्रीले बताउनुभयो । उहाँका अनुसार वैशाखयता स्क्रब टाइफसका एक सय ६० र डेङ्गीका २७ जना बिरामी भेटिएका छन् ।       गत आर्थिक वर्षमा एक हजार एक सय ४४ जनामा डेङ्गु, पाँच सय २० जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको थियो । भाइरल ज्वरोले टाउको दुख्ने, ज्वरो आउने, वान्ता हुने, वाकवाकी लाग्ने र रुघाखोकी लाग्ने जस्ता लक्षण देखिने चिकित्सक बताउँछन् ।         भाइरल ज्वरोले सङ्खुवासभाका सरकारी तथा निजी अस्पतालमा समेत बिरामीको सङ्ख्या वुद्धि हुँदै गएको छ । यो वर्ष जिल्लामा भाइरल ज्वरोको सङ्क्रमण अत्यधिक बढेको अस्पतालका सूचना अधिकारी खत्रीले बताउनुभयो ।       विसं २०३३ मा निर्माण भएको अस्पताल अहिले ५० शय्यामा सञ्चालित छ । जिल्लाका १० स्थानीय तहकाका साथै छिमेकी जिल्ला भोजपुरका आधाभन्दा बढी भागका सेवाग्राही जिल्ला अस्पताल सङ्खुवासभा उपचारका लागि आउने गरेका छन् ।

दाङ:     दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताललाई धेरैले ‘रेफर’ सेन्टर भन्ने गर्छन् । सामान्य ज्वरो आउँदा पनि बिरामीहरु सकेसम्म काठमाडौँ उपचार गर्न जान खोज्छन् ।  बिरामी र बिरामीका आफन्तलाई यही अस्पतालमा राम्रो उपचार सम्भव छ भनेर विश्वास दिलाउन यहाँ कार्यरत डा. प्रमिला गुप्ता र डा. रोशन गुप्ताले आफ्नै आमाको सफल शल्यक्रिया गर्नुभएको छ । डा. प्रमिला र रोशन दिदी–भाइ हुनुहुन्छ ।  “काठमाडौँ लगेर उपचार गर्ने हैसियत नभएको होइन्, हामीले हाम्रो ठाउँको अस्पताललाई विश्वास गर्न सकेनौँ”, डा. प्रमिलाले भन्नुभयो, “यहीँ गुणस्तरीय उपकरण छन्, चिकित्सक छौँ, त्यसैले ठूला उपचार हुन्छन्, भन्ने सन्देश दिन हामीले आमाको शल्यक्रिया यहीँ गरेका हौँ ।”  डा. प्रमिला आफैले आमाको शल्यक्रिया गर्नुभएको हो । डा. रोशन सोही अस्पतालको एनेस्थिेसियामा हुनुहुन्छ । डा. प्रमिला स्त्रीरोग विशेषज्ञ हुनुहुन्छ । उहाँले ६६ वर्षीय आमा अर्जुनकुमारी गुप्ताको पाठेघरको शल्यक्रिया गर्नुभएको हो ।  गएको बुधबार आमाको शल्यक्रिया गर्नुभएपछि अहिले आमाले घरमा आराम गरिरहनु भएको  डा. प्रमिलाले बताउनुभयो । दुई महिनादेखि लगातार पिसाब नलीबाट रगत बगेपछि जाँच गर्दा पाठेघरमा क्यान्सर देखिएको थियो । त्यसपछि घरपरिवारको सल्लाह बमोजिम प्रादेशिक अस्पतालमै शल्यक्रिया गरिएको हो ।  “धेरैले यो अस्पताललाई रेफर अस्पताल भन्नुहुन्छ, यही सुधार गर्न म अन्य जिल्ला छोडेर सेवा गर्न आफ्नै ठाउँमा आएकी छु”, डा. प्रमिलाले भन्नुभयो, “सामान्य ज्वरो आउँदा पनि बाहिर जानुपर्दैन, ठूलाठूला शल्यक्रिया गरिन्छ, भन्ने सन्देश दिन हामीले यहीँ उपचार गरेका हौँ ।”  डा. प्रमिलाले यसअघि बारा, पर्सा, वीरगञ्ज, घोराही प्रतिष्ठानलगायतका स्थानमा बसेर चिकित्सकको रुपमा सेवा दिनुभएको छ । उहाँ पछिल्लो छ महिनादेखि राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा कार्यरत हुनुहुन्छ । उहाँ तुलसीपुर–५ का स्थायी निवासीसमेत हुनुहुन्छ ।  उहाँले बिरामीका आफन्त सकारात्मक भएमा प्रादेशिक अस्पतालमै प्रभावकारी सेवा दिन सकिने बताउनुभयो । “डाक्टरले कहिल्यै बिरामीलाई नराम्रो होस्, भन्ने चाहँदैनन्, जसरी हुन्छ सन्चो बनाएर पठाउने  डाक्टरले सोचिरहेको हुन्छ”, उहाँले भन्नुभयो “तर, केही अप्रिय घटना भएमा डाक्टरमाथि आक्रमण हुन्छ, यसले गर्दा डाक्टरले जोखिम लिन मान्दैनन् ।”  अहिले पनि पाठेघरमा समस्या भएका दैनिक पाँच÷सातजना बिरामी आउने गरेका छन् । तर, तीमध्ये सरदर एक जना बिरामीको मात्रै प्रादेशिकमा उपचार हुने गरेको छ, अन्य सबै बाहिरी जिल्लामै उपचारका लागि जाने गरेको डा गुप्ताले बताउनुभयो । सर्वसाधारणमा सकारात्मक सन्देश प्रवाह गर्न सकिएमा अहिले जस्तो रेफर दर नबढ्ने उहाँको भनाइ छ । 

चितवन:    डेङ्गु सङ्क्रमण बढेसँगै यहाँको इच्छाकामना गाउँपालिकाले लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’अभियान सञ्चालन गरेको छ ।  गाउँपालिकाले केही दिनअघि मात्रै मुग्लिन र शान्ति बजार क्षेत्रमा डेङ्गु रोगसम्बन्धी सचेतनासँगै ‘लार्भा खोज र नष्ट गर’अभियान सञ्चालन गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिबहादुर देवकोटाले जानकारी दिनुभयो । गाउँपालिकाको सबै वडामा कार्यक्रम सञ्चालन गरिने उहाँले  बताउनुभयो । स्वास्थ्य शाखा प्रमुख देवकोटाले भन्नुभयो, “गाउँपालिकाको सबै वडा र टोलहरुमा लामखुट्टेको ‘लार्भा खोज र नष्ट गर’अभियान सञ्चालन गर्ने  छौँ ।” गाउँपालिकाले उपलब्ध गराएको तथ्याङ्क अनुसार साउनको एक हप्तामा मात्रै २४ जनामा डेङ्गु सङ्क्रमण देखिएको छ । सोमबार मात्रै सात जनामा डेङ्गुु सङ्क्रमण देखिएको छ ।  इच्छाकामना गाउँपालिकामा जेठदेखि डेङ्गु सङ्क्रमण देखिन थालेको र अहिलेसम्म ५८ जनामा देखिएको स्वास्थ्य शाखा प्रमुख देवकोटाले जानकारी दिनुभयो । उहाँका अनुसार सङ्क्रमित बिरामीमध्ये वडा नं ५ को मात्रै ५५ जना छन् । बाँकी वडा नं ३ र ४ का तीन जनामा डेङ्गु सङ्क्रमण भएको छ ।  सङ्क्रमितमध्य अधिकांश मुग्लिन बजारमा बसोबास गर्नेहरु छन् । उहाँका अनुसार गाउँपालिकाको बजार क्षेत्रमा सङ्क्रमणको बढी जोखिम छ ।  सङ्क्रमितहरुको इच्छाकामना आधारभूत अस्पतालमा उपचार भइरहेको अस्पतालका जनस्वास्थ्य निरीक्षक नवराज अधिकारीले बताउनुभयो । अस्पतालमा डेङ्गुको निःशुल्क परीक्षणको व्यवस्था गरिएको छ । 

पोखरास्ग   ण्डकी प्रदेश सरकारका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री विन्दु कुमार थापाले स्याङजा जिल्ला अस्पतालको निरीक्षण गरेका छन् ।   आइतबार अस्पतालले आयोजना गरेको बालरोग सम्बन्धि सघन उपचार सेवा पिआइसियु र एनआइसियु को सेवा शुभारम्भ गर्दै उनले निरीक्षण गरेका हुन् ।   मन्त्री थापाले हिजो भन्दा आज अस्पतालको सेवामा विस्तार भएको जानकारी पाउँदा खुशी लागेको बताए ।   ‘हिजो भन्दा आज स्याङजा अस्पतालले प्रवाह गर्दै आइरहेको सेवामा विस्तार भएको रहेछ, खुशी लाग्यो । नागरिकको स्वास्थ्य उपचारमा अस्पतालको काम प्रशंसनिय छ । यसलाई अझै प्रभावकारी र विश्वसिनय बनाउँदै लैजानुहोला ।’, उनले भने ।   अस्पतालमा शुभारम्भ गरिएको पीआइसियु र एनआइसियु जस्तो सेवाले बालबालिकाको उपचारमा सहयोग मिल्ने विश्वास उनको छ । मन्त्री थापाले स्याङजा अस्पतालको विभिन्न विषयलाई प्रभावकारी रुपमा संचालन गर्न ३ करोड ८ लाख २६ हजार रुपैयाँ बजेट प्रदेश सरकारले विनियोजन गरेको जानकारी गराए ।   सिमित स्रोतसाधनका बीच पनि प्रदेश सरकारले स्याङजा अस्पतालको स्तरोन्नतिमा कुनै कसर बाँकी नराखेको भनाई उनको छ ।   मन्त्री थापाले अस्पतालमा देखिएको जनशक्ति अभावको विषयलाई प्राथमिकतामा राखेर काम गर्न स्वास्थ्य सचिवलाई निर्देशन समेत दिएका छन् । ‘स्याङजा अस्पतालमा देखिएको समस्यालाई समाधान गर्न सचिवज्यूलाई मेरो आग्रह छ ।   आवश्यक जनशक्तिको उपलब्धतामा जोड गर्नुहोला । नागरिकको स्वास्थ्य उपचारमा कुनै समस्या सिर्जना नहोस् ।’, उनले भने ।   पूर्वमन्त्री सिता सुन्दासले स्वास्थ्यको क्षेत्रमा सबै संवेदनशील हुन आवश्यक रहेको उल्लेख गरिन् ।   स्याङजा जिल्लामा देखिएको स्वास्थ्य समस्यालाई सुधार गर्न सबै एक हुनुपर्ने भनाई उनको छ । गण्डकी प्रदेशका सांसद सुधिर कुमार पौडेलले स्याङजा अस्पताल पुग्ने सडक संजालको विकासमा समेत ध्यान दिनुपर्ने आवश्यकतालाई औंल्याएका छन् ।   उनले अस्पतालमा काम गर्ने कर्मचारी देखि चिकित्सक सम्मका परिवारले सरकारी अस्पतालबाट नै उपचार गर्नुपर्ने र अस्पताल प्रतिको विश्वास बढाउनुपर्ने बताए ।   सांसद महेश भट्टराईले स्याङजा जिल्लाको स्वास्थ्य र शिक्षामा सुधार ल्याउनुपर्ने आवश्यकतालाई औंल्याएका छन् । स्वास्थ्य मन्त्रालयको सचिव विनोदविन्दु शर्माले गण्डकी प्रदेशको दश वर्ष अगाडिको स्वास्थ्य अवस्था र अहिलेको स्वास्थ्य अवस्थामा आमुल परिवर्तन आएको उल्लेख गरे ।   स्याङजा जिल्ला अस्पतालमा देखिएको जनशक्ति अभावलाई पूर्ति गर्न आफु र मन्त्रालय लागिपर्ने उनले बताए ।   अस्पतालका मेसु सुशिल कुमार मरासिनीले २०५७ सालमा स्थापना भएको स्याङजा अस्पतालबाट ५६ शैयाको सेवा प्रवाह गरिरहेको जानकारी गराए ।   अस्पतालको ८४ जना कर्मचारी कार्यरत रहेकोमा १३ जना मात्रै स्थायी दरबन्दी कर्मचारी रहेको उल्लेख गरे ।   अस्पतालको भौतिक संरचना जीर्ण रहेको र यसको सुधारमा चाँसो दिन प्रदेश सरकारलाई उनको आग्रह छ । कार्यक्रममा स्याङजा जिल्लाकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपाली, बालरोग विशेषज्ञ डा. विनोद गैरे लगायतले बोलेका थिए ।