काठमाडौंः पर्यटन क्षेत्रका लागि रात्रिकालीन व्यवसायको महत्वपूर्ण भूमिका रहेको भन्दै नेपाल चेम्बर कमर्सले काठमाडौंको ठमेल, चितवनको सौराहा र पोखरामा रात्रिकालीन व्यवसायहरु निर्वाध ढंगले सञ्चालन गर्न पाउने वातावरण मिलाउन चेम्बरले आग्रह गरेको छ । नेपाल चेम्बर अफ कमर्सले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई बुधबार बधाई एवं शुभकामना दिने क्रममा भारतसँगको खुला सीमाको फाइदा उठाएर हुने अवैध व्यापारलाई नियन्त्रण गर्न काठमाडौंको ठमेल, चितवनको सौराहा र पोखरामा रात्रिकालीन व्यवसायहरु निर्वाध ढंगले सञ्चालन गर्न पाउने वातावरण मिलाउन चेम्बरले आग्रह गरेको हो । गृहमन्त्री लामिछानेसँगको भेटमा चेम्बरका अध्यक्ष रोजेन्द्र मल्लले भारतसँगको सीमालाई व्यवस्थित गरेर अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्ने बताए । मल्लले भने, ‘नेपाल–भारत खुला सीमाको फाइदा उठाएर अवैध कारोबारहरु भइरहेका छन् । सीमामा हुने अवैध व्यापारका कारण सरकारले अर्बौं रुपैयाँ राजश्व समेत गुमाइ रहेको छ ।’ ‘खुल्ला सीमा भएकाले अनियन्त्रित रुपमा अनधिकृत व्यापार फस्टाइ रहेको छ । यसबाट राजस्व प्रभावित हुन पुगेको र स्वच्छ व्यवसायीहरुले प्रतिस्पर्धा गर्न समेत नसकिरहेको परिस्थिति रहेकोले यसमा प्रभावकारी अनुगमन गरी करको दायरामा ल्याउनु पर्ने छ’ सुझावमा भनिएको छ । नेपाल(भारत खुला सीमाको फाइदा उठाएर झण्डै ४० प्रतिशत अवैध कारोबार भइरहेको भन्दै अध्यक्ष मल्लले मुलुकको व्यापारिक सन्तुलनका लागि आयात निर्यातलाई पनि व्यवस्थित गराउनु पर्नेमा जोड दिए । चेम्बर पदाधिकारीको भेटपछि गृहमन्त्री लामिछानेले सीमामा भइरहेको अनधिकृत व्यापार रोक्न सुरक्षा निकायलाई सचेत गराएको बताए । नेताले संरक्षण गर्ने नभई नीतिले संरक्षण गर्ने व्यवस्थाका लागि आफू प्रयासरत रहेको गृहमन्त्री लामिछानेको भनाइ रहेको चेम्बरले जनाएको छ । चेम्बरले सीमा व्यापारलाई व्यवस्थापन गर्नुपर्ने लगायत विभिन्न १० बुँदे सुझाव गृहमन्त्रीलाई दिएको छ ।
पोखरा: पोखरा महानगरपालिका वडा नं.९ महेन्द्र पुलमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माणका लागि पोखरा महानगरपालिका र गैर आवासीय नेपाली सङ्घ (एनआरएनए) बिच मङ्गलवार सम्झौता भएको छ । पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको रोहबरमा भएको सम्झौतामा महानगरपालिकाको तर्फबाट सहायक प्रमुख प्रशासकीय अधिकृत जितेन्द्रजंग केसी र एनआरएनएको तर्फबाट कार्यकारी अध्यक्ष रविना थापाले हस्ताक्षर गर्नुभएको हो । पर्यटन प्रवर्द्धन तथा नागरिकको सेवाका लागि उक्त स्थानमा सार्वजनिक शौचालयको आवश्यकता महसुस गरी त्यहाँ रहेका अति जीर्ण भवनहरू विस्थापित गरी जनतालाई सर्वसुलभ तरिकाबाट सेवा प्रदान गर्ने उद्देश्यले चमेना गृह सहितको सार्वजनिक शौचालय निर्माण गर्न लागिएको महानगरपालिकाका प्रमुख आचार्यले बताउनुभयो । स्तनपान कक्ष सहित निर्माण गर्न लागिएको शौचालयमा सेनेटरी प्याड समेत उपलब्ध हुनेछ । एनआरएनएका कार्यकारी अध्यक्ष थापाले पोखरा महानगरपालिकाको महेन्द्र पुलमा आफूहरूले नेपाली शैलीको अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माणका लागि महानगरपालिकासँग सहकार्य गर्न पाउँदा खुसी लागेको बताउनुभयो । यसले पोखरा आउने पर्यटकहरूलाई समेत अप्ठ्यारो परिस्थितिमा सहजता प्रदान गर्नुका साथै पोखराको स्वच्छता प्रवर्द्धनमा विशेष योगदान गर्ने विश्वास व्यक्त गर्नुभयो । एनआरएनए पोखरा महानगरपालिकाका विभिन्न स्थानहरूमा यस्तै प्रकारका स्वच्छता प्रवर्द्धनको अभियानमा थप सहकार्यका लागि तयार रहेको समेत बताउनुभयो । सम्झौता अनुसार महेन्द्र पुलको उत्तर तर्फ रहेको कि.न.८२ को ५ आना क्षेत्रफलमा एनआरएनए र पोखरा महानगरपालिको संयुक्त लगानीमा अत्याधुनिक सार्वजनिक शौचालय र चमेना गृह निर्माण गरिने छ । यसमा एनआरएनएले कुल लगानीको ६० प्रतिशत र पोखरा महानगरपालिकाले ४० प्रतिशत खर्च गर्नेछ । करिब १ करोडको लागतमा ३ महिना भित्र निर्माण सम्पन्न गरिने सार्वजनिक शौचालय र चमेना गृहका लागि ६० लाख बराबरको खर्च एनआरएनए र ४० लाख बराबरको खर्च भने महानगरपालिका आफैले बेहोर्नेछ । सम्झौता कार्यक्रममा पोखरा महानगरपालिका वडा नं.१७ की वडा अध्यक्ष एवं नेकपा एमाले दलकी नेता राधिका कुमारी शाही योगी र पोखरा महानगरपालिका वडा नं. ९ का वडा अध्यक्ष दीपेन्द्र मर्सानीको पनि सहभागिता रहेको थियो । पोखरा महानगरपालिकामा हाल १५ बढी स्थानमा महानगरले निर्माण गरेका सार्वजनिक शौचालय र ६० बढी स्थानमा निजी साझेदारीमा सञ्चालन गरिएका सार्वजनिक शौचालयहरू रहेका छन् । महेन्द्र पुलको दक्षिण भागमा भने महानगरपालिकाले अन्तर्राष्ट्रिय झन्डा पार्क निर्माण गर्नेछ । त्यहाँ संयुक्त राष्ट्र सङ्घमा आबद्ध १९५ देश सहित साझेदार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घ संस्थाहरूको झन्डा समेत राखिनेछन् । पार्कको बिच भागमा नेपालको सबैभन्दा ठुलो झन्डा राखिनेछ । विशेष अवसरहरूमा झण्डात्तोलनका लागि सोही स्थानमा कार्यक्रम गरिनेछ ।
स्याङ्जा: जाडो बढेर जनजीवन प्रभावित भएपछि दलित उत्थान केन्द्र र अर्जुनचौपारी गाउँपालिकाले ३० घर परिवारलाई न्यानो कपडा वितरण गरेको छ । अर्जुनचौपारी गाउँपालिका भित्रका अति विपन्न परिवारको स्वास्थ्यलाई मध्यनजर गर्दै न्यानो कपडा वितरण गरेको केन्द्रका अध्यक्ष दिपक बिश्वकर्माले बताउनुभयो । पालिकाको प्रत्येक वडाका पाँच पाँच जना अति बिपन्न तथा एकल दलित महिला छनौटगरी न्यानो कपडा वितरण गरिएको विश्वकर्माले बताउनुभयो । एक–एक सेट बिस्तारा प्रदान गरिएको उहाँले बताउनुभयो । न्यानो कपडा प्रदान गर्दै गाउँपालिका अध्यक्ष प्रकाश तिवारीले विपन्न वर्गको उत्थानका लागि पालिकाले सहयोग गरेको बताउनुभयो । पालिकाले विपन्नको जनप्रतिनिधिको सुबिधा कटौती गरेर निःशुल्क स्वास्थ्य बीमा, निःशुल्क एम्बुलेन्स सेवा प्रदान गरेको बताउदै तिवारीले पालिका बिपन्न र गरिबको हितमा रहेको बताउनुभयो । यस्तै, रुजी फाउण्डेशनले स्याङ्जाको गल्याङ नगरपालिका पनि वडा नं ८ को चण्डिका आधारभूत विद्यालयका लागि न्यानो कपडा वितरण गरेको छ । बिद्यालयको कक्षा ५ सम्मका ६५ जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरेको छ ।
सिरहा: सिरहा प्रहरीले ७२ वर्षीया दरपी कोइरीको हत्या गरेको अभियोगमा एक महिलाईलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढीमाई नगरपालिका–६ मोतियाही टोल बस्ने ४२ वर्षीया चन्दा देवी महतो रहेकी छिन् । चन्दादेवी कोइरीकी बुहारी हुन् । ईलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई बुधबार बिहान पक्राउ गरेको हो । पक्राउ परेकी उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बुहारी चन्दा देवीले बाँसको भाटा प्रहार गर्दा दरपीको घट्नास्थलमै मृत्यु भएको प्रहरीको भनाइ छ ।
पोखरा: पोखरा महानगरपालिका वडा नं.१९ पुरानचौर स्थीत नेपालको पहिलो स्लोप कन्सेप्ट मा बनेको माछापुच्छ्रे इको रिर्सोट (मेको रिर्सोट) पछिल्लो समय पर्यटकीय गनतव्य स्थलको रुपमा झनै लोकप्रिय बन्दै गइरहेको छ । करिब साढे तीन करोड लागतमा बनेको यस रिर्सोटमा सुजन बास्तोला,सन्तोष पौडेल र विशाल तिवारीको संयुक्त लगानी रहेको छ । कोरोना महामारीको समयमा सञ्चालनमा आएको यस रिर्सोटमा १६ जना कर्मचारीहरुले रोजगार पाइरहेका छन् । कोरोना महामारीको कहरले आन्तरीक तथा वाहय पर्यटकलाई नकारात्मक प्रभाव परेको बेलामा पर्यटकलाई आर्कषित गर्नका लागी कोरोना महामारीको समयमा रिर्सोट सुरु गरेको माछापुच्छ्रे इको रिर्सोटका सञ्चालक सुजन बास्तोलाले जानकारी दिएका छन् । यस रिर्सोटमा घुम्न आउने पयटकलाई शुद्ध अर्घानिक खाना तथा प्राकृतिक वातावरणमा आफ्नो समय बिताई मनोरम दृश्यको आनन्द दिने उद्धेश्य रहेको बास्तोलाले जानकारी दिए । रिर्सोटमा घुम्न आउने व्यक्तिहरुले विशेष गरी यहाँको वनावट क्षेत्रलाई मनपराएको बताए । कतिपय पछिल्लो समय सञ्चालनमा आएका रिर्सोटहरुले प्राकृतिक वनावटलाई मोडिफाइड गरी रिर्सोट सञ्चालन गरेका छन् तर यस माछापुच्छ्रे इको रिर्सोटमा कुनै पनि प्राकृतिक वनावटलाई परिवर्त नगरी डाँडालाई कुनै पनि मोडिफाइड नगरी यहाँको भिर तथा रिर्सोट वरिपरिको डाँडाको आकारमा रिर्सोट सञ्चालन गरेका छौँ बास्तोलाले भने । पछिल्लो समय धेरै रिर्सोट बनेका छन् जुन डाँडामा तथा अनेक आकर्षित तरिकाले रिर्सोट खोलिएका छन् जुन राम्रो पनि हो यसले पर्यटक लाई थप उत्साहित बनाएको छ । माछापुच्छ्रे इको रिर्सोट घुम्न आउने पर्यटकले साहशी खेल जीप साइकलीङ तथा खन्य थुप्रै प्रकारले मनोरञ्जन का माध्यम एकै ठाँउमा रहेको बास्तोलाले बताए ।रिर्सोटमा घुम्न आउने पर्यटकलाई लक्षित गर्दै विभिन्न आकर्षित घुम्ने तथा मनोरञ्नात्मक ठाँउहरु बनाइएको छ । पिङ , गार्डेन तथा अन्य थुप्रै ठाँहरुका् निर्माण गरिएको छ । यस रिर्सोटलाई पर्यटकीय गनतव्य स्थल रुपमा चिनिएको छ । यहाँबाट पोखराको मनोरम दृश्य देखिनुका साथै पोखराको ३६० डिग्रीको दृश्य हेर्न सकिन्छ । यस रिर्सोटमा अग्लो पहाडी स्विङ,रुखको घर,हावामा काठको पुल,हावाँमा साइकलिङ ,माछापुच्छ्रे हिमालको मनोरम दृश्य जस्ता थुपै्र आकषित खेल तथा ठाँउहरुको निर्माण गरिएको छ ।
पोखरा: गण्डकी प्रदेश सरकारका कानून,संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाले प्रेसलाई मर्यादित बनाउन प्रेस युनियनको भूमिका महत्वपूर्ण हुने बताएका छन् । नेपाल प्रेस युनियन गण्डकी प्रदेशको प्रथम अधिवेशनको समापन कार्यक्रममा बोल्दै मन्त्री थापाले यस्तो बताएका हुन् । ‘प्रेस मर्यादित हुन आवश्यक छ । जसका लागि यस सम्बद्ध संघसंस्थाहरुले महत्वपूर्ण भूमिका खेल्नुपर्छ । गलत सूचना पर्वाह गरी नागरिकलाई समस्यामा पार्ने बाटो तर्फ मिडिया लाग्न हुँदैन । अवलोकन र अनुगमन मिडिया क्षेत्रलाई पनि आवश्यकता छ ।’, उनले भने । मन्त्री थापाले प्रदेश सरकार प्रेसमैत्री कानून निर्माणको सवालमा सकरात्मक रहेको अभिव्यक्ति दिएका छन् । आमसंचार विधेयक सम्पूर्ण रुपमा तयार भइसकेको र अब पारित हुन मात्रै बाँकी रहेको उल्लेख गर्दै श्रमजीवि पत्रकारहरुको हक,हितका लागि दत्तचित्त भएर लाग्न उनको आग्रह छ । कार्यक्रममा निर्वाचन प्रतिनिधि रामप्रसाद दाहालले सहमति, सहकार्य र एकताको सवालमा श्रमजीवि पत्रकारको मुद्धामा प्रेस युनियन बोल्ने विश्वास व्यक्त गरेका छन् । नवनिर्वाचित अध्यक्ष टंक अधिकारीले प्रेस युनियनको विधानलाई टेकेर विधानले निर्दिष्ट गरेका कामकारबाहीलाई पालना गर्दै संगठनलाई अगाडि बढाउन कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । निर्वाचन समिति संयोजक कपिलमणि दाहालको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमलाई नेपाल प्रेस युनियनका केन्द्रीय उपाध्यक्ष रिसीकान्त पौडेलले स्वागत गरेका थिए । प्रेस युनियन गण्डकीको प्रथम अधिवेशनबाट अध्यक्षमा टंक अधिकारी चयन भएका छन् । यस्तै उपाध्यक्षमा माधव रेग्मी र संगिता केसी, समावेशी उपाध्यक्ष शारदा झेडी, महासचिव प्रकाश ढकाल, सचिव नारायण रिजाल, महिला सचिव अन्जना तिमिल्सिना, समावेशी सचिव मोहम्मद अलि मिया, कोषाध्यक्ष सन्देश पौडेल, लेखा समिति संयोजक राधाकृष्ण डुम्रे चयन भएका छन् । त्यसै गरी कार्यसमिति सदस्यमा शंकरराज नहर्की, गिता लामिछाने, सुभाष पौडेल, ऋषि बस्याल, रीमा शाही, खगेन्द्र भण्डारी, देवराज पुरी, प्रेम चन्द्र रौनियार, गोविन्द लामिछाने, गिता खत्री र निरज अधिकारी रहेका छन् ।
धनगढी: नेपाली कांग्रेसको सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा कमलबहादुर शाह निर्विरोध निर्वाचित हुनुभएको छ। सो पार्टीका प्रदेश समितिका महामन्त्री नरनारायण शाह मनुका अनुसार आजको चुनावी प्रक्रियामा शाहको मात्र उम्मेदवारी परेपछि उहाँ निर्विरोध निर्वाचित हुनुभएको हो। शाह कैलाली क्षेत्र नम्बर २ को ९क० बाट निर्वाचित हुनुभएको हो। दलको नेताका लागि प्रदेश सभा सदस्य बहादुरसिंह थापा, दिवानसिंह विष्ट, मानबहादुर रावल, शिवराज भट्ट, प्रकाशबहादुर देउवा र मेघराज खड्कालगायतले आकांक्षा राख्नुभएको थियो। सुदूरपश्चिममा कांग्रेसका १९ जना प्रदेश सभा सदस्य छन्। नेपाली कांग्रेस प्रदेश सभामा ठूलो दल हो।
काठमाडौं: नेपाल टेलिकमले आफ्नै नाममा दर्ता भएका मोबाइल नम्बरमात्र प्रयोग गर्न आह्वान गरेको छ । टेलिकमले बुधबार एक विज्ञप्ति जारी गर्दै मोबाइल नम्बर अत्यन्तै संवेदनशील वस्तुका रूपमा स्थापित हुँदै गएको भन्दै यस्तो आग्रह गरेको हो । ‘हालको अवस्थामा मोबाइल नम्बर (सिमकार्ड) कुराकानी गर्ने, सन्देश पठाउने र इन्टरनेट चलाउने सजिलो माध्यमका रूपमा मात्र नरही राष्ट्रिय परिचय पत्र, नागरिक एप, बैंकिङ कारोबार, शेयर कारोबार, नगद लेनदेन तथा सामाजिक सञ्जाल लगायत विभिन्न डिजिटल गतिविधिहरूमा मोबाइल नम्बरको प्रयोगले जीवनशैली सहज बन्दै गएको छ’, टेलिकमले भनेको छ, ‘यसका साथै मोबाइल नम्बरको माध्यमबाट सम्पूर्ण व्यक्तिगत तथ्यांकदेखि कागजातहरू, बचत तथा अन्य मूल्यवान र दैनिक प्रयोगमा रहने सामग्री र सूचनाहरूमा पहुँच पु¥याउन सक्ने अवस्थाका कारण मोबाइल नम्बर अत्यन्तै संवेदनशील वस्तुका रूपमा पनि स्थापित हुन गएको छ । आफूले प्रयोग गरिरहेको÷गर्ने मोबाइल नम्बर आफ्नै नाममा दर्ता रहेको अवस्थामा उल्लेखित सम्पूर्ण कार्यहरू सुरक्षित ढंगले सम्पन्न गर्न सकिने अवस्था रहेको छ ।’ टेलिकमले प्रयोगकर्ता ग्राहक स्वयंको नाममा दर्ता नरहेको वा अरू कसैको नाममा दर्ता रहेको मोबाइल नम्बर प्रयोग गर्दा मोबाइल नम्बरमा रहेका सम्पूर्ण तथ्यांक, बैंकिग कारोबार र अन्य कतिपय महत्त्वपूर्ण व्यक्तिगत सामग्रीहरू असम्बन्धित व्यक्तिको पहुँचमा पुग्नसक्ने जोखिम सधैं रहन सक्ने जनाएको छ । यस अवस्थामा प्रयोगकर्ताको मोबाइल बैंकिगको दुरुपयोग भई नगद गुमाउनुपर्ने, सामाजिक सञ्जालको अनधिकृत प्रयोग भई सुरक्षाको जोखिम लगायत अनेक कानुनी झमेलामा समेत पर्ने सम्भावना रहने टेलिकमको विज्ञप्तिमा उल्लेख छ । ‘यस्तो अवस्थाको सिर्जना नहोस् भनी नेपाल टेलिकम सम्पूर्ण ग्राहक वर्गमा आफ्नै नाममा दर्ता मोबाइल नम्बर प्रयोग गर्न तथा सिमकार्ड हराएको÷बिग्रिएको खण्डमा आफू स्वयं उपस्थित भई सिमकार्ड प्राप्त गर्न अनुरोध गर्दछ’, विज्ञप्तिमा भनिएको छ । टेलिकमले अगाडि भनेको छ, ‘मोबाइल नम्बरमार्फत गरिने आर्थिक कारोबारलाई थप सुरक्षित र भरपर्दो बनाउन सम्बन्धित वित्तीय संस्थाहरुले ग्राहकको वित्तीय सुरक्षा प्रत्याभूतिका लागि सिमकार्डमा प्राप्त हुने ओटिपी (वन टाइम पासवर्ड)को मात्र भर नपरी टू फ्याक्टर अथेन्टिकेसन प्रणालीलाई अनिवार्य प्रयोगमा ल्याई दिनुहुन पनि नेपाल टेलिकम अनुरोध गर्दछ ।’
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग नेपालका लागि युरोपेली सङ्घका राजदूत नोना डिप्रेजले आज (बुधबार) शिष्टाचार भेटवार्ता गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको सो भेटवार्तामा उहाँहरुबीच आपसी हितका विविध विषयमा विचारविमर्श भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस्तै, आजै प्रधानमन्त्री दाहालसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजाबेथ भन क्याप्लरले पनि शिष्टाचार भेट गर्नुभएको छ । सो क्रममा उहाँहरुबीच द्विपक्षीय सम्बन्धका बारेमा कुराकानी भएको थियो ।

