पोखरा:  नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा हुने १०औँ पोखरा स्पोर्ट्स अवार्ड २०८२ को मिति घोषणा गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष एमबी आस्था मगरको अध्यक्षतामा सोमबार बसेको का...

काठमाडौं:   नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको छ । निगमले गएराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर पाँच रुपैयाँले वृद्धि गरेको हो । यस्तै, मट्टितेल र डिजलमा प्रतिलिटर चार रुपैयाँले वृद्धि गरेको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १६५ रुपैयाँ पुगेको छ भने डिजल र मट्टितेल प्रतिलिटर १४९ रुपैयाँ पुगेको छ । इण्डियन आयल निगमले पठाएअनुसार यहाँ मूल्यवृद्धि गरिएको जनाइएको छ । यस्तै, हवाई इन्धन अन्तरराष्ट्रियतर्फ प्रतिकिलोलिटर अमेरिकी डलर ५१ ले वृद्धि भएको निगमले जनाएको छ ।

पोखरा: कास्कीको मादी गाउँपालिका–६ का स्थानीय बामदेव बरालका १९ वर्षीय विजय बराल करेन्ट लागेर गम्घिर घाइते भएका छन् ।  शनिबार बिहान करिव १०ः५० बजेको समयमा बारीमा मकैको ढोडको भारी बोक्दा सुुपरमादी हाईड्रोपावरको हाईटेन्सन लाइनमा छुदा करेन्ट लागेर बराल घाइते भएको मादी गाउँपालिका–६ वडा कार्यालयले जनाएको छ ।  वडा कार्यालयले आइतबार विज्ञप्ती जारी गर्दै घटनाको अनुसन्धान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण समेत गरेको छ ।  विज्ञप्तीमा लेखिएको छ, ‘सार्वजनिक पूर्वाधार तथा विद्युत सुरक्षासम्बन्धी कानुनी दायित्वअनुसार सुपरमादीले आफ्नो विद्युत प्रसारण लाइनको सुरक्षा मापदण्ड पालना गर्नुुपर्ने कानूनी दायित्व रहँदासेमत उक्ता दुर्घटना हुन अत्यन्तै दुःखद र लापरवाही देखिन्छ ।’ वडा कार्यालयले नेपालको प्रचलित कानून अनुसार कुनै पनि कम्पन्नी वा संस्थाको कारणबाट तेस्रो पक्षलाई भएको क्षतिको लागि सम्बन्धित संस्था जिम्मेवार ठहरिन्छ ।तसर्थ पीडित परिवारलाई यथासिघ्र उचित राहत क्षतिपूर्ति तथा आवश्यक उपचार सहयोग उपलब्ध गराउन वडाको तर्फबाट जोडदार माग गर्दछौं । मादी गाउँपालिका–६का वडाध्यक्ष डिल बहादुर क्षेत्रीले करेन्ट लागेर गम्भिर घाइते भएका युवकको पोखराको गण्डकी र मणिपाल अस्पतालमा उपचारपछि थप उपचारका लागि हिजो राति नै काठमाडौैं रिफर गरिएको बताए । ‘अहिले गाउँमा खेतमा धान रोप्ने चटारो छ, बरालले आफ्नै बारीमा मकैको ढोडको भारी बोक्दा हाईटेन्सन लाइनमा छुँदा करेन्ट लागेर युवक गम्भिर घाइते भए, वडाध्यक्ष क्षेत्रीले भने, ‘मापदण्ड अनुसार हाइड्रोपावरको लापरवाही देखिन्छ, युवकको अहिले काठमार्डौको किर्तिपुर बर्न अस्पतालमा उपचार भइरहेको छ ।’ घटनापछि गण्डकी प्रदेशका पूर्व मन्त्री एवम् सांसद बेद बहादुर गुरुङ ‘श्याम’ले घाइते युवकको उपचार र क्षतिपूर्तिको लागि सम्बन्धित कम्पन्नीको ध्यानाकर्षण गर्दै जोखिम युक्त लाईन तत्काल सुधार गरेर मात्र विद्युत सञ्चालन गर्न समेत अनुरोध गरेका छन् ।   

काठमाडौं:   संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्त’ सम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन स्पेनको सेभियास्थित फेबिस प्रदर्शनी केन्द्रमा आजेदखि सुरू भएको छ । सम्मेलनमा नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीसहित विश्वका राष्ट्रप्रमुख तथा सरकार प्रमुख र प्रतिनिधिहरू सहभागी हुनुहुन्छ । उद्घाटनसत्रमा स्पेनका नरेश फिलिप द्वितीय, स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री) पेड्रो साञ्चेज, संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरेसले सम्बोधन गर्नुभयो । उद्घाटनसत्रमा प्रधानमन्त्री ओलीका साथ प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी नियोगका स्थायी प्रतिनिधि लोकबहादुर थापा, परराष्ट्र मन्त्रालयका शिष्टाचार महापाल कुमारराज खरेल सहभागी हुनुहुन्छ । ‘इन्टरनेसनल कन्फरेन्स अन फाइनान्सिङ फर डेभलपमेन्ट अफ युनाइटेड नेसन्स् (एफएफडि–४)’ का लागि राष्ट्रसङ्घका महासचिव गुटेरेस र स्पेनका प्रधानमन्त्री सान्चेजको मैत्रीपूर्ण निमन्त्रणमा प्रधानमन्त्री ओलीबाट यो भ्रमण भएको हो ।  विकासका लागि वित्तसम्बन्धी यो सम्मेलनमा विश्वका सबै सरकारका नेताहरू, विश्व र क्षेत्रीय संस्था, वित्तीय र व्यापारिक संस्था, व्यवसायी, नागरिक समाज र संयुक्त राष्ट्र प्रणालीका सम्बन्धित प्रतिनिधिहरू जुटेका छन् । नेपालले अल्पविकसित, साना र टापु मुलुकको आवाजसमेतलाई अगुवाइ गर्दै सम्मेलनमा वकालत गर्नेछ । धनी मुलुकले गरिब र साना मुलुकका लागि गरेका लगानी प्रतिबद्धताको कार्यान्वयनका लागि पनि सम्मेलनमा छलफल हुनेछ । सन् २०३० सम्म पूरा गर्नुपर्ने राष्ट्रसङ्घीय दिगो विकास लक्ष्यका लागि अन्तरराष्ट्रिय सहयोगलाई बढावा दिन यो मञ्च महत्त्वपूर्ण हुने ठानिएको छ । विश्वस्तरको वित्तीय संरचनामा सुधार गर्दै दिगो विकासका लागि तत्काल र दीर्घकालका लागि आवश्यक सहयोग र लगानीको चुनौतीमा सम्मेलन केन्द्रित रहनेछ । यसले दिगो विकास, विकासका लागि वित्त र खासगरी विकास सहायता, लगानी, प्रविधि हस्तान्तरणलगायत मुद्दामा छलफल र निष्कर्ष निकाल्नेछ ।

काठमाडौं:  रुपन्देही– ३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले दिएको जानकारीअनुसार रिक्त स्थानमा कात्तिक १७ गते उपनिर्वाचन गर्न लागिएको छ । राप्रपाबाट निर्वाचित सांसद दीपक बोहोराका निधनपछि उक्त निर्वाचन क्षेत्र खाली रहेको छ । निर्वाचन आयोगले काठमाडौँमा पत्रकार सम्मेलन गर्दै उपनिर्वाचन गर्ने मिति सार्वजनिक गरेको हो ।   २०७९ मङ्सिर ४ गते भएको निर्वाचनमा रुपन्देही ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का तर्फबाट निर्वाचित बोहोराको चैत १९ मा काठमाडौंमा निधन भएपछि सो पद रिक्त छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले दिएको जानकारीअनुसार कात्तिक १७ गते सोमबारका लागि उपनिर्वाचनको मिति तय भएको छ ।

पोखरा:  इन्टरसिटी एडभेन्चर ट्राभल्स एण्ड टूर प्रालिले पोखराको छोरेपाटनबाट काठमाडौंसम्म अत्याधुनिक लग्जरी बस सेवा सुरु गरेको छ। पृथ्वी राजमार्ग बस व्यवसाय समितिका अध्यक्ष योगेन्द्र केसीले रिबन काटेर बसको उद्घाटन गर्दै यात्रुको आवश्यकता र चाहनाअनुसार गुणस्तरीय, आरामदायी र प्रविधिमैत्री सेवा प्रदान गर्न समितिसहित व्यवसायीहरू नयाँ लगानी र पहलमा सक्रिय रहेको बताए ।  उनले समय र प्रविधिको मागअनुसार सेवाहरू परिमार्जन गर्न नसके व्यवसायमै पछि पर्ने अवस्था आउन सक्ने समेत बताए ।  निकट भविष्यमा मिनिबार सुविधा र थप प्रविधियुक्त गाडीहरू सञ्चालन गर्ने तयारी समितिको रहेको अध्यक्ष केसीको भनाई छ।  यो बस सञ्चालनका लागि कासिराम न्यौपाने, रामु न्यौपाने र अमित बहादुर भण्डारी (माइला)ले संयुक्त रूपमा ४ करोड रुपैयाँ लगानी गरेका छन् ।  छोरेपाटनमा काउण्टर रहेको यस कम्पनीले पर्यटक लक्षित चार वटा बस मार्फत पोखरा - काठमाण्डौ र काठमाण्डौ-पोखरा गरी दैनिक सेवा दिने छ। “पर्यटक तथा स्थानीय यात्रीका लागि सहज र गुणस्तरीय सेवा प्रदान गर्नु हाम्रो प्राथमिकता हो,” सञ्चालक कासिराम न्यौपानेले भने ।  उनका अनुसार यो सेवा काठमाडौं–पोखरा यात्रा अझ सुरक्षित, आरामदायी र व्यवस्थित बनाउने उद्देश्यले सुरु गरिएको हो। शर्माका अनुसार, गाडीमा वाइफाइ, आरामदायी सिट, सीसीटीभी सुरक्षा र अनुभवी चालकको व्यवस्था गरिएको छ। यात्रुहरूको सुविधालाई मध्यनजर गर्दै नियमित मर्मतसम्भार तथा समयमै सेवा सुरुवातमा विशेष ध्यान दिइएको छ। पृथ्वी राजमार्ग बस सञ्चालक समिति लिमिटेड अन्तर्गत सञ्चालित बसबाट यात्रुहरू अब हरेक दिन बिहान र बेलुका गरी दुई–दुईवटा लग्जरी बस छुट्ने छन्।  बसमा विशेषगरी रातको लामो यात्रालाई आरामदायी बनाउन बसमा स्लिपर सिट, एसी, वाइफाइ, मोबाइल चार्जिङ, चिया–बिस्कुट, स्न्याक्स र ब्ल्याङ्केटजस्ता सुविधाहरू रहेको अर्का सञ्चालक अमित बहादुर भण्डारीले जानकारी दिए । “यो बस प्रविधियुक्त र पर्यटकमैत्री हो, हामीले यात्रुहरूलाई घरजस्तो महसुस गराउने सबै सुविधा राखेका छौं, बस सेवा आन्तरिक र बाह्य पर्यटकलाई जोड्न तयार पारिएको हो,” भण्डारीले भने ।  कम्पनीले हालका लागि पोखरा-काठमाडौंको भाडादर १५ सय रुपैयाँ तोकेको छ। आगामी दिनमा थप गाडी र सेवा विस्तार गर्ने योजना इन्टरसिटी एडभेन्चर ट्राभल्सको छ।  

कञ्चनपुर:   गएराति देखिको अविरल वर्षाले डुबानमा पार्दा कृष्णपुर नगरपालिका–५ पवित्राबस्तीका आरती विकको चार जनाको परिवारलाई प्रहरीले सुरक्षित स्थानमा सारेको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक सागर बोहराका अनुसार विकको परिवारलाई नजिकै रहेको पवित्र आधारभूत विद्यालयमा सारिएको छ । वर्षाका कारण विकको घर डुबानमा परेपछि परिवारलाई सुरक्षित रूपमा विद्यालयमा सारिएको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो। “वर्षा हुने क्रम निरन्तर जारी रहेकाले खोला नालामा माछा मार्न हिँड्डुल गर्न तथा जथाभाबी घर बाहिर नजानका लागि आग्रह गरेका छौँ”, उहाँले भन्नुभयो, “डुबान तथा कुनै क्षति हुन गएमा नजिकको प्रहरी चौकीमा खबर गर्नका लागि स्थानीयसँग अनुरोध गरेका छौँ ।” उहाँका अनुसार महाकाली नदीमा पानीको बहाव खतरा तहभन्दा तल ६५ हजार चार सय ९० क्यूसेक रहेको छ । मोहना, चौधर, स्याली, सुनवोरालगायत नदीमा पानीको बहाव उच्च रहेको छ । मानवीय र चौपाया क्षति भने अहिलेसम्म नभएको प्रहरी नायब उपरीक्षक बोहराले बताउनुभयो । यसैबिच जल तथा मौसम विज्ञान विभागले सूचना जारी गर्दै जिल्लाको अधिकांश स्थानमा भारी वर्षा भएको र थप वर्षा हुन सक्ने भएकाले नदी तटीय क्षेत्र, डुबान भइरहने होचा भूभागमा बाढीको जोखिम रहेकाले भोलि बिहानसम्म उच्च सर्तकताका साथ सुरक्षित स्थानमा जान अनुरोध गरिएको छ ।

कैलाली:   गए रातिदेखिको अविरल वर्षा कारण धनगढी बजारलगायत आसपासका विभिन्न क्षेत्र आज जलमग्न भएका छन् ।  मुख्यगरी धनगढीको विशालनगर, मिलनचोक, शिवनगर, हसनपुर, क्याम्पस रोड, मालिका टोल, कृष्णनगर, पुरानो भन्सार कटान गाउँको दक्षिणपट्टिको बस्तीलगायत आसपासका स्थानहरू जलमग्न भएका छन् । त्यसैगरी, अधिकांश पसल पनि डुबानमा परेका छन् । भारी वर्षाले सडक तथा नाली पूरै भरिएर सडकमा हिँड्न सर्वसाधारणलाई समस्या भएको छ । अव्यवस्थित तथा पुराना नालीका कारण अलि पनि बढी पानी परेपछि निकासा हुन नसक्दा हरेक वर्ष वर्षातमा यस्तो अवस्था सृजना हुने गरेको छ । पानी निकासा हुने पुराना खोलानालाहरू अतिक्रमण भएका कारण पनि वर्षैपिच्छे यहाँका बस्तीहरू डुबानमा पर्ने गरेको स्थानीयवासीको भनाइ छ । ढलको व्यवस्थापन नभई सडक पिच हुने गरेका कारण पनि बस्ती डुबानमा पर्ने गरेको स्थानीय अगुवा शिवराज जोशीले बताउनुभयो । पानी निकास हुने पुराना खोलानाला मासिएकाले पनि डुबानको समस्या दोहोरिँदै गरेको वडा नं २ का अध्यक्ष धर्मराज ओझाकोे भनाइ छ । धनगढीका विभिन्न स्थान जलमग्न भए पनि मानवीय तथा भौतिक क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

काठमाडौं:   मन्त्रिपरिषद् बैठकले १५ निर्णय सार्वजनिक गरेको छ । सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले यही असार १३ गते बसेको मन्त्रिपरिषद् बैठकले १५ वटा निर्णय गरेको जानकारी दिनुभयो । मन्त्री गुरुङले सार्वजनिक खरिद पुनरवलोकन समितिको अध्यक्षमा पूर्वसचिव रघुराम विष्ट र सदस्यहरुमा पूर्वसचिवहरु रोहितकुमार विसुराल तथा थानेश्वर गौतमलाई नियुक्त गर्ने निर्णय बैठकले गरेको बताउनुभयो । यसैगरी, बैठकले नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानको रिक्त कार्यकारी निर्देशक पदमा रामशरण पुडासैनीलाई नियुक्त गर्ने निर्णय गरेको छ । मन्त्री गुरुङले विदेशी विनिमय विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने, सम्पत्ति व्यवस्थापन विधेयक तर्जुमाको लागि सिद्धान्त स्वीकृत गर्ने निर्णय बताउनुभयो ।   

काठमाडौं:  प्रधानमन्त्री केपी शर्मा ओलीले सिभिल सोसाइटी फोरमको प्लेनरी समापनसत्रलाई प्रमुख अतिथिका रुपमा सम्बोधन गर्दै अन्तरराष्ट्रिय वित्तीय प्रणाली सुधारमा लागि जोड दिनुभएको छ । संयुक्त राष्ट्रसङ्घको ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री ओलीले वित्तीय लगानीका लागि विकासिल देशले आफ्ना प्रतिबद्धताहरुलाई पूरा गर्नुपर्ने जोड दिनुभएको हो । उहाँले विकास सहयोग, ऋण दिगोपना र अन्तर्राष्ट्रिय वित्तीय प्रणाली सुधारका लागि पूरा नभएका कार्यसूचीमा नागरिक समाजले निरन्तर आवाज उठाउनुपर्ने बताउनुभयो । “तपाईंहरु यस सम्मेलनका सहभागी मात्रै होइन, परिवर्तनका लागि उत्प्रेरक र सशक्त आवाज पनि हो । तपाईंहरुको वकालत र आवाजले देखिने प्रकारको परिणामका लागि योगदान दिन सक्नेछ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “नेपाल सुशासन, विधिको शासन र लोकतान्त्रिक मूल्य, मान्यतामा विश्वास गर्दै सुशासन, विकास र समृद्धिको यात्रामा अघि बढिरहेको छ । समावेशीता, आवश्यकता र समानुपातिकताका आधारमा विश्वमा लगानी हुनुपर्छ भन्ने मान्यतामा नेपाल स्पष्ट रहेको छ । यसमा नागरिक समाजको विश्वव्यापी साझेदारी र सहभागिताको म प्रशंसा गर्दछु ।” नागरिक समाजको वकालतबाट जनता, पृथ्वी र साझा दायित्वका लागि बल प्रदान हुने बताउँदै उहाँले कसैलाई पछाडि नराखी समतामूलक र दिगो भविष्य निर्माणका लागि अग्रसर हुन आह्वान गर्नुभयो । स्पेन सरकारका उपाध्यक्ष काल्भो पोयाटोसमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले निजी क्षेत्रको पुँजीलाई राम्रो रोजगारी सिर्जना गर्न र समावेशी वृद्धिलाई प्रवर्द्धन र परिचालन एवं विकासका लागि स्रोतहरुको खोजी गर्न सबैले साझा दायित्व निर्वाह गर्नुपर्ने बताउनुभयो । नागरिक समाजको उक्त सत्रबाट पारित घोषणापत्रलाई ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलन’ले वीकार गर्नेछ ।