तनहुँ: जिल्ला प्रशासन कार्यालयले भोली पृथ्वी राजमार्ग अन्तर्गत तनहुँ-१ मा अत्यावश्यकबाहेकका गाडी चल्न रोक लगाएको छ । तनहुँ-१ मा उपनिर्वाचन हुने भएकोले निर्वाचन क्षेत्रमा गाडी आवागमन रोकिने जिल्ला प्रशासन कार्यालय तनहुँले सूचना निकालेर जानकारी गराएको छ । तनहुँका प्रमुख जिल्ला अधिकारी छवि रिजालले निकाल्नुभएको सूचनामा बिहान ५ बजेदेखि साँझ ५ बजेसम्म राजमार्गमा समेत गाडी चलाउन नपाइने उल्लेख छ । पृथ्वी राजमार्ग हुँदै तनहुँ कटेर अन्त जाने यात्रुहरुले आइतबार बिहान ५ बजेअघि वा बेलुका ५ बजेपछि मात्रै यात्रा गर्नुपर्नेछ । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिनको पुलदेखि दमौलीमा रहेको मादी पुलसम्म र डुम्रे बेशीशहर सडक खण्ड, गोरखा आँबुखैरेनी सडक खण्ड र दमौली दुईपिप्ले सडक खण्डमा अत्यावश्यक बाहेकका गाडी चल्न रोक लगाइएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिनुभयो । दमकल, एम्बुलेन्स, खानेपानी, दूध र फोहोरमैला बोक्ने सवारी साधन, शववाहन, परिचयपत्र बोकेका चिकित्सक तथा स्वास्थ्यकर्मी र सूचना विभागको परिचयपत्र बोकेका पत्रकार चढेको गाडी भने चलाउन पाइनेछ । भोल तनहुँ १ सहित चितवन २ र बारा २ मा पनि उपचुनाव हुँदै छ ।
तनहुँ: आइतबार हुने तनहुँ-१ को उपनिर्वाचनमा सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन दुई हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । जिल्ला सुरक्षा समितिको संयोजक तथा प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले सुरक्षाको दृष्टिकोणले मतदान केन्द्रलाई अति संवेदनशिल, संवेदनशिल र सामान्य गरी विभाजन गरेर सो सङ्ख्यामा सुरक्षाकर्मी परिचालन गरिएको जानकारी दिए । उनले मतदान केन्द्रको पहिलो घेरामा नेपाल प्रहरी, दोस्रोमा सशस्त्र प्रहरी रहने र उनीहरुलाई पछिल्लो घेराबाट नेपाली सेनाले साथ दिने बताए । निर्वाचनको सुरक्षा व्यवस्था चुस्त बनाउन सबैभन्दा धेरै नेपाल प्रहरी एक हजार छ सय, सशस्त्र प्रहरी ४४२, नेपाली सेना पाँच सय र राष्ट्रिय अनुसन्धानका सुरक्षाकर्मी परिचालन गरिएको प्रजिअ रिजालको भनाई छ । यसका अतिरिक्त सदरमुकाम दमौलीमा रिजर्व फोर्स पनि तयारी अवस्थामा राखिएको र आवश्यकता अनुसार परिचालन गरिने उनले बताए ।
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिका-९ प्रुन्धुमा भालुले आक्रमण गर्दा गुञ्जबहादुर थापामगर घाइते भएका छन् । आज बिहान घाँस काट्न जंगल जाने क्रममा ५९ वर्षीय थापामगरलाई भालुले आक्रमण गर्दा घाइते भएको माछापुच्छ्रे गाउँपालिका-९ का वडाध्यक्ष राजेन्द्र क्षेत्रीले जानकारी दिए । घाइते थापामगरको अहिले पोखराको फिस्टेल अस्पतालमा उपचार भइरहेको वडाध्यक्ष क्षेत्रीले बताए । घाइते थापामगरको टाउको, अनुहार, हात र गुप्ताङ वरिपरि चोट लागेको छ । भालुले आक्रमण गरेर घाइते बनाएको अवस्थामा स्थानीय शुसिल क्षेत्रीले देखेपछि जंगलबाट गाउँसम्म उद्धार गरेर ल्याएपछि उपचारका लागि पोखराको ल्याइएको हो ।
झापा: जङ्गली हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका-५ खारखोलाका एक वृद्धको मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईका अनुसार आज बिहान ७० वर्षीय भीमबहादुर भट्टराईलाई हात्तीले कुल्चेर मारेकोे हो । बारीमा पाक्न लागेको मकैबाली खान आएको हात्तीलाई लखेट्ने क्रममा भट्टराईलाई हात्तीले आक्रमण गरेको प्रमुख राईले जानकारी दिनुभयो । डिभिजन वन कार्यालय र प्रहरीको टोली घटनास्थलतर्फ पठाइएको जनाउँदै उहाँले थप विवरण आउन बाँकी रहेको बताउनुभयो । जिल्लाको पूर्वी क्षेत्र बाहुनडाँगी हुँदै भारतबाट समेत जङ्गली हात्तीको हुल नेपाल प्रवेश गर्दै आएको छ भने एक दर्जनको सङ्ख्यामा रैथाने हात्ती स्थानीय जङ्गलमा बस्दै आएका छन् । हुलबाट एक्लिएको जङ्गली हात्तीले मान्छेमाथि आक्रमण गर्दै आएको स्थानीयवासी बताउँछन् ।
कञ्चनपुर: कञ्चनपुरको बेलौरीमा बाघको आक्रमणबाट बेपत्ता महिलाको शव २२ घण्टापछि फेला परेको छ। महिलालाई आक्रमण गरी बेपत्ता पार्ने पाटे बाघलाई राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले नियन्त्रणमा लिएलगत्तै सोही स्थानमा महिलाको शव फेला परेको प्रहरीले जनाएको छ। कञ्चनपुरको बेलौरी नगरपालिका-८ पचुइका गंगा चन्दको शव शनिबार बिहान फेला परेको हो। प्राविधिक टोलीले करिब २२ घण्टापछि बाघ नियन्त्रणमा लिन सफल भएको हो। बर्दिया राष्ट्रिय निकुञ्जको र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बाघ नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रकाश डांगीले बाघ फेला परेकै स्थानमा महिलाको शव पनि फेला परेको बताए। चन्दसहित स्थानीय महिला घाँस काट्न गएका बेला बाघले आक्रमण गरेको थियो। सो क्रममा अन्य महिला भागेर ज्यान जोगाउन सफल भएका थिए। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत रोशनसिंह ठगुन्नाले बाघ नियन्त्रणमा लिएर बेल्डाँडी पोस्टमा पुर्याइएको बताए। उनले केही समय बाघलाई निगरानीमै राख्ने र पछि विभागको निर्देशनअनुसार थप निर्णय लिने बताए। सो घटनापछि दक्षिण क्षेत्रका स्थानीय त्रसित छन्।
काठमाडौं: प्रतिनिधिसभा सदस्य उपनिर्वाचन हुने तीनवटा निर्वाचन क्षेत्रमा आइतबार सार्वजनिक बिदा दिइएको छ। गृह मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक बिदाबारे जानकारी दिएको हो । बारा जिल्ला क्षेत्र नं २, चितवन जिल्ला क्षेत्र नं २ र तनहुँ जिल्ला क्षेत्र नं १ मा वैशाख १० गते उपनिर्वाचन हुँदैछ। मतदानस्थल रहेका विद्यालय तथा सरकारी निकायमा भने वैशाख ८ गतेदेखि १० गतेसम्म तीन दिन बिदा हुने मन्त्रालयले जनाएको छ।
काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुस्लिम समुदायको इद (इदुल फित्र) पर्वको अवसरमा इस्लाम धर्मावलम्बी दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको कामना गर्नुभएको छ । इदको अवसरमा आज शुभकामना दिंदै उहाँले ईद इस्लाम समुदायको सबैभन्दा ठूलो एवं महत्वपूर्ण पर्व भएको र मुस्लिम समुदायले यस पर्वलाई आपसी सद्भाव, सहकार्य, विश्वास एवं साझा उद्देश्य प्राप्तिको महत्वपूर्ण अवसरका रूपमा मनाउँदै आएको बताउनुभएको छ । बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विशेषतायुक्त नेपाल र नेपाली समाजका निम्ति ईदलगायतका पर्वहरू कुनै समुदाय विशेषका मात्र पर्व नभएर राष्ट्रिय पर्वका रूपमा स्थापित भएको प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ । शुभकामना सन्देशमा प्रधानमन्त्रीले हरेक चाडपर्वहरूको आफ्नो ऐतिहासिकता र विशिष्ट महत्व हुने गर्दछ, मानव जातिले जीवनवृत्तिका क्रममा प्राप्त गरेका अनुभव, शिक्षा र ज्ञानको समुच्चय प्रक्रियाबाट नै चाडपर्वहरू विकसित र स्थापित हुँदै आएका पनि बताउनुभएको छ । ईद पर्वले संविधानको प्रभावकारी कार्यान्वयनमार्फत् बलियो राष्ट्रिय एकता, समुन्नत एवं समृद्ध नेपाल निर्माण गर्ने राष्ट्रिय अभियानमा थप प्रेरणा मिल्ने प्रधानमन्त्रीको सन्देशमा उल्लेख छ ।
काठमाडौं: एक महिनाको व्रत पछि आज इस्लाम धर्मावलम्बीको महान् पर्व इदुलफित्र हुने भएको छ । एक महिना व्रत रोजा आज समाप्त हुने भएको हो । एक महिनासम्म चल्ने ‘रमजान’ पर्वमा मुसलमान समुदायका मानिसहरू दिनमा निराहार बस्छन् । बिहानको समयमा सेहरी हलुका खानेकुरा खाएर दिनभर निराहार बसी सूर्यास्त भएपछि ‘एफतार मिठो खानेकुरा खाएर रोजा खोल्ने चलन रहेको छ । रमजान उर्दू क्यालेन्डर अनुसार हिजरी संवत् १४४४ हो भने रमजान महिना नवौँ महिना हो । रमजान महिनामा नै मुसलमानको सबैभन्दा ठुलो ग्रन्थ कुरान अवतरण भएको र यो महिनामा अल्लाहको कृतज्ञता प्राप्त हुने विश्वास लिएको छ । दान दिनु गरिब र दीन दुःखीलाई सेवा गर्नु, जकात निकाल्नु यो महिनाको ठुलो विशेषता हो । रमजानामा व्रत बस्ने र साँझ पश्चिम दिशामा आकाश हेरेर चन्द्रमा हेर्ने र चन्द्रमा नजर आएमा अत्यधिक खुसी हुने र एक आपसमा इद मुबारक बधाई सटासट गर्ने प्रचलन रहँदै आएको छ ।
मुस्ताङ: सामाजिक काममा अग्रणी स्थानमा रहेको युनाइटेड क्लबले उपल्लो मुस्ताङको छोसेर गाँउमा पुगी आफ्नो १३ औं वार्षिकोत्सव मनाएको छ । गुफै गुफाको गाउँले परिचित उपल्लो मुस्ताङको लोमान्थाङ गाँउपालिका वडा नम्बर २ मा रहेको छोसेर गाँउमा पुगेर युनाइटेड क्लबले वार्षिकोत्सव मनाएको हो । सो अवसरमा बोल्दै प्रमुख अतिथि लोमान्थाङ गाँउपालिका वडा नम्बर २ का अध्यक्ष कर्मा नामग्याल गुरुङले पर्यटन र सामाजिक क्षेत्रमा काम गर्दै आएको पोखरामा रहेको युनाइटेड क्लबले पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गुफै गुफाको गाँउ छोसेरमा आएर आफ्नो वार्षिकोत्सव मनाएकोमा धन्यवाद ब्यक्त गरे । छोसेर गाँउ पछिल्लो समय गुफा गाँउले परिचित भइरहेको सन्दर्भमा पोखरामा रहेर पर्यटन प्रवद्र्धनको क्षेत्रमा समेत काम गर्दै आएको युनाइटेड क्लबले आफ्नो वडामा रहेको छोसेर गाँउमा आइपुगेर कार्यक्रम गरिरहदा आफु निकै हर्षित रहेको वताउदै युनाइटेड क्लवको प्रगतिको कामना समेत गरे । युनाइटेड क्लबका संस्थापक अध्यक्ष हिमालय बख्रेलले युनाइटेड क्लबले स्थापना कालदेखीनै शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन, सेती नदी संरक्षण र दैवी प्रकोपको क्षेत्रमा काम गर्दै आइरहेको सन्दर्भमा १३ औँ वार्षिकोत्सव गण्डकी प्रदेशकै ऐतिहांसिक ठांउ लोमान्थाङ गाउपालिकामा रहेको गुफाको गाँउले परिचित छोसेरमा आएर वार्षिकोत्सव मनाउन पाउदा खुसी लागेको बताए । त्यस्तै क्लबका संस्थापक सह सचिव सन्तोष सिग्देलले युनाइटेड क्लब १३ औं वर्ष प्रवेश गरिरहदा संस्थाले लिएको उद्देश्य र लक्ष्य हांसिल गर्न अग्रसर भइरहेको आफुले महशुस गरेको वताउदै सामाजिक काममा लाग्ने युनाइटेड क्लबको अनुसरण गरेमा समृद्ध समाज बन्ने बताए । एघारौ पोखरा महोत्सबवाट करिव १५ लाख बचत क्लबले गत पुष २७ देखी माघ १० गते सम्म आयोजना गरेको एघारौं पोखरा महोत्सवबाट १४ लाख ८२ हजार ६ सय ९९ रुपैैयाँ बचत गरेको छ । वार्षिकोत्सव समारोह मार्फत महोत्सवको आय ब्याय सार्वजनिक गर्दै एघारौ पोखरा महोत्सवबाट कुल आम्दानी ७६ लाख ४ हजार ४ सय गरेको र खर्च ६१ लाख २१ हजार ७ सय १ रुपैया खर्च भइ १४ लाख ८२ हजार ६ सय ९९ रुपैैयाँ बचत भएको क्लबका कोषाध्यक्ष तथा एघारौं पोखरा महोत्सवको अर्थ ब्यवस्थापन उपसमिति संयोजक सूर्य बहादुर बानियाँले जानकारी दिए । शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धन, (सेती खोंच एक साहसिक पर्यटकीय गन्तब्य)का लागि हरेक विद्यामा १५ प्रतिशत छुट्याइने छ भने केही रकम क्लबको आफ्नै जग्गामा आवासिय छात्राबास निर्माणको लागि छुट्याइने क्लबका कोषाध्यक्ष सूर्य बहादुर बानियाँले बताए । स्थापना कालदेखीनै पोखरा महोत्सवको आयोजना गरी महोत्सवबाट बचत भएको रकमबाट दशौं महोत्सव सम्म आइपुग्दा ५८ लाख ८५ हजार पोखरा जुलोजिकल पार्क निर्माणका लागि प्रदान गरिसकेको बताउदै क्लबका अध्यक्ष राजु श्रेष्ठले पोखरा जुलोजिकल पार्क प्रदेश सरकारले प्रदेश गौरवको योजनामा पारी पञ्चवर्षिय योजनामा पारी २८ करोड भन्दा बढी बजेट बिनियोजन गरी जिल्ला डिभिजन बन कार्यालय कास्की र चिडियाखाना निर्माण समिति मार्फत निर्माणकार्य अगाडी बढेकाले एघारौं पोखरा महोत्सवबाट चिडियाखाना निर्माणका लागी क्लवले कुनैपनि रकम नछुट्याइएको बताए । पर्यटन प्रवद्र्धनका लागी छुट्याइदै आएको उक्त रकम एघारौं पोखरा महोत्सव देखी पर्यटन प्रवद्र्धन (सेती खोंच एक शाहसिक पर्यटकीय गन्तब्य)का लागी छुट्याइने बताउदै हरेक महोत्सवमा पोखराको बीच भागबाट बग्ने सेती नदी संरक्षणका लागि महोत्सवको प्रत्येक टिकटबाट एक रुपैया छुट्याइदै आएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । युनाइटेड क्लबका महासचिव दिनेश सुनारले सञ्चालन गरेको कार्यक्रममा क्लबका पूर्व अध्यक्ष सुकबहादुर गुरुङ लगायतले बोलेका थिएभने क्लबका वरिष्ठ उपाध्यक्ष लोक बहादुर थापाले स्वागत मन्तब्य राखेकोका कार्यक्रममा क्लवका प्रथम उपाध्यक्ष गणेश तिमिल्सिनाले धन्यवाद मन्तब्य राखेका थिए ।

