काठमाडौं: सरकारले कोदोजन्य बालीहरूको आयात रोक्न, उत्पादन तथा उत्पादकत्व बढाउने उद्देश्यले पहिलोपटक शुक्रबार राष्ट्रिय कोदो दिवस मनाउने भएको छ । कोदोजन्य बालीले साना किसानको आयआर्जन बढाउन, खाद्य तथा पोषण सुरक्षाका लागि आज साउन १६ गते दिवस मनाउन लागिएको हो । कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलको अध्यक्षतामा प्रथम राष्ट्रिय कोदो दिवस मूल आयोजक समिति गठन गरी ‘कोदोजन्य परिकारको आहारः खाद्य सुरक्षा र स्वस्थ जीवनको आधार’ भन्ने नारा तय गरिएको हो । देशको दिगो विकास लक्ष्य हासिल गर्न, जलवायु परिवर्तनवाट हुने असर कम गर्न र जैविक विविधता जोगाउँदै खाद्य प्रणालीको रुपान्तरण गर्न दिवस महत्त्वपूर्ण हुने विभागका महानिर्देशक सन्जेलले जानकारी दिनुभयो । कृषि विभागले आर्थिक वर्ष २०८१/८२ मा रु ७६ करोड ६३ लाख ८६ हजारबराबरको करिब १८ हजार ३१६ मेट्रिक टन कोदोजन्य उत्पादनको आयात भएको जनाएको छ । दिवसका अवसरका चाँगुनारायण नगरपालिकास्थित ताथलीमा कोदो रोपाइँ तथा कृषक, राष्ट्रिय कृषक समूह महासङ्घ, पत्रकारलगायतका विभिन्न विधामा पुरस्कार तथा कदरपत्र वितरणको कार्यक्रम छ । प्रदेश र स्थानीय तहहरूबाट पनि उक्त अवसरमा विविध कार्यक्रम सञ्चालन गरिने जनाइएको छ । कोदो दिवस मूल आयोजक समितिका अध्यक्ष सञ्जेलले रासायनिक मलखाद र विषादीको प्रयोग नगरी वा कम गरेर पनि औसत उत्पादन लिन सकिने बताउँदै हानिकारक हरित ग्यास उत्सर्जन कम गर्नमा सघाउ पुर्याइ जलवायु परिवर्तन न्यूनीकरणमा समेत सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । विभागले दिवसको सबै तयारी पूरा भएको जनाएको छ ।
पोखरा: गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था कार्यालयले गएको वर्ष चार वर्ष यताकै उच्च प्रगति हाँसिल गरेको छ । आर्थिक वर्ष २०८१/८२ मा ८० प्रतिशत प्रगति गर्ने लक्ष्य लिइएकोमा ७९.५ प्रतिशत भौतिक प्रगति भएको हो । मन्त्रालयको वित्तीय प्रगति ७६.५२ प्रतिशत छ । बिहीबार पोखरामा भएको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयको मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठक तथा वार्षिक प्रगति समीक्षामा यस्तो जानकारी दिइएको हो । भौतिक मन्त्री प्रकाशबहादुर केसीले गएको वर्ष लक्ष्य नजिक पुगेको जनाउँदै आगामी वर्ष मन्त्रालयको प्रगति अझ बढ्ने उल्लेख गरे । “यसपालि जुन प्रगति हाँसिल भएको छ, त्यो सन्तोषजनक पक्ष हो । थोरै खर्च हुने प्रवृत्तिलाई निरुत्साहित गर्न यसपालिबाट आर्थिक वर्षको सुरुबाटै स्पष्ट कार्ययोजना बनाउँदै योजनाहरु कार्यान्वयन गर्न आवश्यक छ,” उनले भने । गण्डकी प्रदेश सरकारको करिब आधा बजेट भौतिक पूर्वाधार मन्त्रालयमा छ । कार्यक्रममा मन्त्री केसीले नियमित रुपमा कार्यालयहरुको प्रगतिको जानकारी लिई समयमै काम सकन गराउन पटक पटक निर्देशन दिने गरेका छन् । पहिलो चौमासिकमै २० लाखभन्दा माथिका योजनालाई ठेक्का प्रक्रियामा लैजान मन्त्रालयले लिखित निर्देशन दिएको थियो । उनले सालवसाली आयोजनाहरुको कार्यान्वयको तत्काल सुरु गर्न कार्यालय प्रमुखज्यूहरुलाई निर्देशनसमेत दिए । केसी अघिल्लो वर्षको भदौ १७ गते भौतिक मन्त्री नियुक्त भएका थिए । नियमित रुपमा काम गर्ने व्यवसायीलाई प्रोत्साहित गर्न र सहयोग गरी समयमै गुणस्तरीय कार्य गर्न उनले कार्यालय प्रमुखहरुलाई निर्देशन दिए । कार्यालयहरुमा प्राविधिक कर्मचारीहरुको अभाव रहेकोमा यो वर्ष करारमा भर्ना गर्ने व्यवस्था मिलाइएको उनको भनाइ छ । यातायात व्यवस्था कार्यालय कास्की सवारी चालक अनुमतिपत्रमा मन्त्रालयबाट ७ कर्मचारी काजमा खटाइएको र २२ जनाको अस्थायी दरबन्दी स्वीकृतिका लागि निर्णय भइसकेको उनको भनाइ छ । यही वर्ष सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को समस्या समधान हुने मन्त्री केसीले विश्वास दिलाए । उनले भने, ‘सवारी चालक अनुमतिपत्र छपाई गर्न बजेट विनियोजन भई प्रक्रिया सुरु भइसकेकाले लाईसन्स छपाइको समस्या समेत चाँडै समाधान हुने देखिन्छ ।’ राइड सेयरिङसम्बन्धी नियमावली २०८२ तयार भई सकेको जनाउँदे उनले चाँडै त्यो कार्यान्वयनमा जाने प्रष्ट पारे । “यसमा यातायात व्यवसायीका केही असहमति छन्, त्यसलाई समाधान गर्न हामी निरन्तर वार्तामा छौं,” उनले भने, ‘नियमावली सौहार्दपूर्ण एवं सहज वातावरणमा अविलम्व कार्यान्वयन हुने कुरामा म विश्वस्त छु ।’ कार्यक्रममा मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले असारे विकास नभईमात्र भुक्तानीमात्र हुने गरेको बताए । “हामी आफैं क्लिियर हुन जरुरी छ, समग्र वर्ष दिनको कामको भुक्तानी हुने हुँदा असारमा बजेट गएकोलाई असारे विकास भन्नु भएन,” उनले भने । मुख्यमन्त्री पाण्डेले असार १५ देखि २० गतेभित्र कामको अन्तिम भुक्तानी दिने वातावारण बनाउने गरी काम गर्न निर्देशन दिए । यसपालि बहुवर्षीय योजनामा ७० प्रतिशत पुग्ने गरी रकम छुट्याइएको उल्लेख्य प्रगति हाँसिल हुने उनको भनाइ छ । आर्थिक मामिला मन्त्री डा टकराज गुरूङले आन्तरिक आम्दानी बढाउन राइड सेयारिङ सहयोगी हुने अपेक्षा गरे । भौतिक मन्त्रालयका सचिव कमलकुमार अधिकारीले यो वर्ष यातायात र पूर्वाधार कार्यालय नवलपुरमा निर्माण गरिने बताए । उनले प्रदेश सरकारले हालसम्म बनाएका पुलहरुको विवरण भएको पुस्तिका हालै सार्वजनिक भएको जानकारी दिँदै छिट्टै सडकमा भएका कामहरुको प्रगति पुस्तिका सार्वजनिक हुने जानकारीसमेत दिए । कार्यक्रममा मन्त्रालय अन्तर्गतका पूर्वाधार विकास निर्देशनालय, पूर्वाधार कार्यालय, यातायात कार्यालय, सहरी विकास तथा भवन कार्यालयका प्रमुखहरु सहभागी थिए । उनीहरुले कार्यालयको वार्षिक प्रगति, भोग्नुपरेका समस्या, गर्न सकिने उपलब्धिहरुबारे प्रस्तुति राखेका थिए । समारोहमा २० निर्माण व्यवसायीलाई समय अगावै काम सम्पन्न गरेकोमा सम्मान गरिएको थियो ।
दाङ: दाङको तुलसीपुरमा भएको ट्याक्टर दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। बिहीबार बिहान ११ बजे तुलसीपुर–घोराही सडकखण्ड अन्तरगत तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुरको ओरालोमा रा १ त ३४७८ नम्बरको ट्याक्टर दुर्घटनामा परी दुई जनाको घटनास्थलमै मृत्यु भएको हो। तुलसीपुर–१७ का १५ वर्षीय सविन भण्डारी र १७ वर्षीय मनोज रोका मगरको मृत्यु भएको छ। दुर्घटना पछि ट्याक्टरले च्यापेको अवस्थामा रहेका दुबै जनालाई उद्धार गरी अस्पताल पुर्याइएको तुलसीपुरका प्रहरी निरीक्षक सूर्य राना मगरले जानकारी दिए। गम्भीर घाइते उनीहरूलाई नजिकैको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्याइएको थियो। त्यहाँ चेकजाँच गर्ने क्रममा चिकित्सकले दुबै जनालाई मृत घोषणा गरेको प्रहरी निरीक्षक मगरले बताए। सोही दुर्घटनामा परी ट्याक्टरमा सवार सोही ठाउँका १५ वर्षीय धनबाहदुर चौधरी र तुलसीुपर–१८ बजौरीका २६ वर्षीय प्रकाश चौधरी पनि घाइते छन्। उनीहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। ट्याक्टर चालक तुलसीपुर–१७ मानपुरका २६ वर्षीय सुरेश चौधरीको बाँया हातमा चोट छ।
काठमाडौं: सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ । बिहिबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै साउन १२ गतेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको हो । सरकारले बाढीबाट क्षतिग्रस्त सिन्धुली सडकको आपतकालीन पुन: स्थापनाको लागि जापान सरकारबाट प्राप्त हुने २.८ अर्ब जापानी येन बराबरको अनुदान सहायत स्वीकार गर्ने निर्णय निर्णय भएको प्रवक्ता गुरुङले जानकारी दिनुभयो। राज्यकोषबाट लगानी भएका प्रतिष्ठान, बोर्ड, समिति तथा सार्वजनिक संस्था लगायत निकायका पदाधिकारी र कर्मचारी पारिश्रमिक तथा सेवा सुविधामा एक रुपता कायम गर्ने सम्बन्धमा सुझावसहितको प्रतिवेदन पेश गर्न रामु प्रसाद डोटेल, पर्वतको संयोजकत्वमा, रमेश प्रसाद शिवाकोटी, दोलखा र चण्डी प्रसाद घिमिरे, ललितपुर सदस्य रहनेगरी कार्यदल गठन गर्ने निर्णय समेत भएको छ ।
पोखरा: पोखरामा भोलिदेखि पहिलो पटक हुन लागेको आरयु फेष्टको तयारी पूरा भएको छ । साउन १६ र १७ गते पोखरामा पहिलो पटक हुन लागेको आरयु फेष्टको तयारी पूरा भएको आज (बुधबार) पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । पोखरा महानगरपालिकासँगको सहकार्यमा कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को आर्थिक सहयोग तथा संयुक्त राष्ट्र सङ्घीय विकास कार्यक्रम (युएनडिपी) को प्राविधिक सहयोगमा पोखरामा सञ्चालित रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना (GCRU) अन्तरगत आरयु फेष्ट (RU FEST-2025) गर्न लागिएको हो । यही साउन १६ र १७ गते बुलौदी स्थित पोखरा इभेन्ट सेन्टरमा फोहोरलाई खजना (मोहोर) बनाउने मुलमन्त्र सहित यो फेस्टिभल आयोजना गरिएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए । पोखरा महानगरपालिकाका नगर प्रमुख आचार्यले पोखरा लगायत सिङ्गो मुलुकको हरित विकासका लागि एक नवीनतम प्रयासका रूपमा फेस्टिभल स्थापित हुने अपेक्षा समेत व्यक्त गरे । फेस्टिभलले सृजनशीलता, नवप्रवर्तन र दिगोपनाका लागि हातेमालो गर्दै वातावरणमैत्री र सुरक्षित भविष्य निर्माण गर्ने लक्ष्य राखेको उनले बताए । “दैनिक जीवनमा प्रयोगहीन सामाग्रीहरू रिसाइक्लिङ र अपसाइक्लिङ गरी हरित रोजगारी सिर्जना सहित चक्रीय अर्थतन्त्रको निर्माणमा फेस्टिभलले नयाँ ज्ञान, सीप र मार्गदर्शन प्रदान गर्नेछ, नगर प्रमुख आचार्यले भने, यसले उद्यमशीलता र रोजगारी सिर्जनामा महत्त्वपूर्ण योगदान गर्नेछ ।” फेस्टिभलमा रिसाइक्लिङ र अपसाइक्लिङ सम्बन्धी नेपालको मौलिक सीप र दक्षिण कोरियाको चक्रीय अर्थतन्त्रमा यसले पारेको सकारात्मक प्रभाव र प्रेरणादायी अनुभवहरू आदान प्रदान गरिने उनले बताए । फेस्टिभलमा देशभरिका नवप्रर्तनयुक्त रिसाइक्लिङ र अपसाइक्लिङ उत्पादनहरूको प्रदर्शनी, फोहोरलाई उपयोगी वस्तुमा रूपान्तरण गर्ने प्रक्रियाको प्रत्यक्ष प्राविधिक डेमो सो, जलवायु, दिगो पर्यटन विकास, हरित उद्यमशीलता र प्लास्टिक टु रोड प्रविधि माथि संवाद, युवाहरूका लागि सिर्जनात्मक कार्यशाला, सार्वजनिक कला प्रदर्शनी, सहभागितामूलक गतिविधिहरू प्रस्तुत, दक्षिण कोरियाको सफलता अनुभवमाथि विशेष संवाद सत्र, हरित रोजगारी, बजार पहुँच र दिगो जीविकोपार्जनका उपायहरू लगायत विषयहरू माथि चर्चा परिचर्चा हुनेछ । हाल रिसाइक्लिङ र अपसाइक्लिङ मार्फत हरित रोजगारी सिर्जना परियोजना अन्तरगत कोइकाको ९.८ मिलियन अमेरिकी डलर र युएनडिपीले ०.८७ मिलियन अमेरिकी डलर आर्थिक सहयोगमा पोखरामा जिभिजेड सेन्टर निर्माण भइसेको छ । नयाँ बजार स्थित प्रदर्शनी केन्द्रमा कोसेली घर निर्माणको काम भइरहेको छ । पोखरा महानगरपालिका क्षेत्रमा १३६ वटा सामुदायिक समूहहरू निर्माण गरी उनीहरूलाई आवश्यक तालिम तथा प्राविधिक प्रशिक्षण पनि प्रदान गरिएको छ । “यस परियोजनाले युवाहरूलाई रोजगारीसँग जोड्ने छ भने, हरित अर्थतन्त्रको विकासमा महत्त्वपूर्ण योगदान गर्नेछ ।” नगर प्रमुख आचार्यले भने । फोहोरमैलाको उचित व्यवस्थापन मार्फत हरित रोजगारी सृजना र चक्रीय अर्थतन्त्रको सृजनशील उपयोग आम समुदायका लागि निकै महत्त्वपूर्ण हुने विश्वास गरिएको छ । हरित अर्थतन्त्रमा योगदान पुर्याउने आरयू उद्यमहरूलाई बढवा दिन दिगो नीतिको सुनिश्चितता सहित महानगरपालिकाले परियोजनाको स्वामित्वमा लिनेछ । परियोजना मार्फत आगामी २ वर्षमा ३ हजार रोजगारी सृजना गर्ने लक्ष्य राखिएको छ । फेस्टिभल उत्सुक विद्यार्थीहरू, उद्देश्यमूलक उत्पादनहरू, दूरदर्शी नीतिनिर्माताहरु र जिज्ञासु नागरिकहरूका लागि यो फेस्टिभल सहकार्य, सृजनशीलता र सकारात्मक कदमको साझा मञ्च बन्नेछ । पर्यटकीय राजधानी पोखरालाई हरित, दिगो र स्मार्ट बनाउने यात्रामा हातेमालो गर्न पोखरा महानगरपालिकाले आम पोखरेलीहरूलाई सार्वजनिक आह्वान समेत गरेको छ ।
गुल्मी: पहिरोका कारण कालीगण्डकी सडक पूर्णरुपमा अवरुद्ध भएको छ । कालीगण्डकी गाउँपालिकाको गरगरे र मुल्कमा ठूलो चट्टानसहितको पहिरो आज बिहान खसेपछि उक्त सडक पूर्णरुपमा अवरुद्ध भएको हो । सडक अवरुद्ध भएको जानकारी प्राप्त हुनासाथ प्रहरीचौकी पुर्तीघाटबाट सुरक्षाकर्मी परिचालन गरिएका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकरी गङ्गाबहादुर सारुले जानकारी दिनुभयो । पहिरो पन्छाउने प्रयास जारी छ ।
उदयपुर: उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अँधेरीमा बिहीबार बिहान सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । काठमाडौँबाट इटहरीतर्फ गइरहेको ट्रक दुर्घटना हुँदा चालक त्रियुगा नगरपालिका–४ बगाहाका ३५ वर्षीय जीवन विश्वकर्माको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार दुर्घटनामा गम्भीर घाइते चालक विश्वकर्मालाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
काठमाडौं: साउन १५ गते आज नेपाली समाजमा खीर खाएर मनाइँदै छ । वर्षा ऋतुका बेला असार १५ गते दही च्यूरा र साउन १५ मा खीर खाने प्राचीनकालदेखिको नेपाली परम्परा छ । साउने झरी पर्ने बेलामा दूधमा मरमसलालगायत चीजबीज हालेर बनाइने खीरले स्वास्थ्यमा राम्रो गर्ने भएकाले यस्तो परम्परा बसेको जानकारहरू बताउँछन् । संस्कृत भाषामा ‘पायस’ भनिने खीर सात्विक आहारमध्येमा उत्तम मानिने भएकाले पितृ एवं देव कार्यमा पनि महत्त्वपूर्ण वस्तुका रूपमा वैदिकशास्त्रमा वर्णन गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका पूर्वअध्यक्ष प्राडा रामचन्द्र गौतम बताउनुहुन्छ । “साउन महिनामा गाउँघरमा पनि खेतीपातीको काम सकिन्छ । हरियाली बढी हुने भएकाले घाँस बढी पाइन्छ । धेरै घाँस पाइने बेलामा गाई–भैँसीले पनि धेरै दूध दिन्छन् । दूध धेरै भएपछि इष्टमित्र र चेलबेटीलाई घरमा बोलाएर खीर खाने चलन चलेको हो । यो स्वास्थ्यका हिसाबले पनि उत्तम मानिएको छ”, उहाँले भन्नुभयो । साउन भगवान् शिवको महिना हो । शिवलाई दूध र दूधमा बनेका परिकार मनपर्ने भएकाले खीरलगायत मिठाई विधिपूर्वक चढाइन्छ । यसैले गर्दा साउनको मध्य पारेर खीर खाने प्रचलन चलेको हुनसक्ने धर्मशास्त्रविद् गौतमको भनाइ छ । यसको कुनै शास्त्रीय वचन भने नरहेको उहाँले बताउनुभयो । ऋषिमुनिको पालादेखि नै श्राद्धलगायत पितृ कार्यमा निमन्त्रणा गरिएकालाई पायस अर्थात् खीर खुवाउने गरिएको थियो । वैदिक सनातन धर्मावलम्बीले श्राद्धका दिन अनिवार्य रूपमा गाईको दूधमा पायस अर्थात् खीर बनाएर खुवाउने चलन अझै कायमै छ । चामल, सावधाना, सेवई, मकै, गाजरलगायतको खीर बनाउने गरिन्छ । सावधानलाई फलफूलकै वर्गमा राखिन्छ । यसैगरी, साउन महिनामा हरियो मकै धेरै पाइने भएकाले मकैको खीर पनि बनाएर खाने चलन छ । नेपाली बृहत् शब्दकोशले ‘दूधमा पकाइएको भात, दूधमा चामल, चिनी, मसला आदि हाली पकाइएको स्वादिष्ट खाद्यपदार्थ, पायस, तस्मै’ भनी खीरलाई परिभाषित गरिएको छ । नेपाली समाजमा असार १५ गते दही च्यूरा, साउन १५ गते खीर, भदौ १५ गते पोलेको मकै, पुस १५ गते घीउ खट्टे, माघ १५ गते मालपुवालगायत चीजबीज बनाएर इष्टमित्र एवं छोरीचेलीलाई बोलाएर खुवाउने र आफू पनि खाने लौकिक चलन रहिआएको छ । राष्ट्रिय दुग्ध विकास बोर्डले साउन १५ लाई खीर खाने दिन अर्थात् खीर दिवसका रूपमा मनाउने गरेको छ ।
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्चको आयोजनामा हुने २२ औं सस्करणको एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड–२०८१ पोखरामा हुने भएको छ । पोखरा महानगरपालिका मुख्य प्रवर्द्धक रहेको उक्त अवार्ड कार्यक्रम आगामी भाद्र २९ गते नेपालको पर्यटकीय राजधानी पोखरामा हुने भएको हो । अवार्ड कार्यक्रमको प्रवर्द्धनका लागि महानगरपालिकाले आफ्नो वार्षिक विकास कार्यक्रम मै उल्लेख गरेको नगर प्रमुख धनराज आचार्यले बताउनुभयो । पोखरा महानगरपालिकाले पोखरा भ्रमण वर्ष २०२५ मनाइरहेको सन्दर्भमा एनएसजेएफ पल्सर स्पोर्टस् अवार्ड–२०८१ पहिलो पटक काठमाडौँ बाहिर पोखरामा आयोजना गरिनु पोखराका लागि निकै महत्त्वपूर्ण हुने उहाँले बताउनुभयो । स्पोटर््स अवार्डका माध्यमबाट पोखराको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म प्रचारप्रसारमा उल्लेखनीय टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो । पर्यटकीय राजधानी पोखरालाई खेलकुदको हबको सहरका रूपमा विकास गर्ने गरी मौजुदा पूर्वाधारहरूको सबलीकरण र पूर्वाधारहरू निर्माण गर्ने कार्यमा पोखरा महानगरपालिकाले आवश्यक समन्वय तथा सहकार्य गरिरहेको नगर प्रमुख आचार्यले बताउनुभयो । पोखरालाई सबै हिसाबले पर्यटन गन्तव्यका रूपमा विकास गर्न यस्ता प्रकारका कार्यक्रमहरूको नियमिततामा उहाँले जोड दिनुभयो । नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष निरञ्जन अधिकारीले काठमाडौँ बाहिर पहिलो पटक पर्यटकीय राजधानी पोखरामा अवार्ड गर्न पाउँदा आफूहरू निकै उत्साहित भएको बताउनुभयो । पोखरा भ्रमण वर्ष २०२५ को प्रवर्द्धन र राजधानी बाहिर खेल पत्रकारिताको विकास तथा प्रोत्साहनका लागि आफूहरूले पोखरालाई रोजेको उहाँले बताउनुभयो । कार्यक्रममा खेलकुदको विभिन्न विद्याहरूमा उत्कृष्टता हासिल गरेका खेलाडी, खेलकुद प्रेमी र खेल पत्रकारहरूलाई पुरस्कृत गरिने छ ।

