पोखरा:  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।   आयोगका कार्यवाहक अध्यक्ष जुद्ध बहादुर गुरूङले शुक्रबार प्रदेश...

काठमाडौं:     यस वर्षको चाडपर्वमा १५ देखि १८ लाख मानिस उपत्यकाबाट बाहिरिने अनुमान गरिएको छ । यो सङ्ख्या गत वर्षको तुलनामा पाँच लाखले बढी हो । काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यलयका प्रवक्ता विश्वराज खड्काले मौसम राम्रो भएमा १८ लाखको हाराहारीमा मानिसहरू उपत्यकाबाट बाहिरिने सम्भावना रहेको बताउनुभयो ।  उहाँका अनुसार अघिल्लो वर्ष १३ लाखको सङ्ख्यामा सर्वसाधराणहरू उपत्यकाबाट बाहिरिएका थिए । प्रवक्ता खड्काले भन्नुभयो, “यो वर्षको दशैंमा वर्षा भएन भने गत वर्षको तुलनामा पाँच लाख बढी सर्वसाधारणहरूले उपत्यका छाड्ने अनुमान गरिएको छ ।” चाडपर्वका बेलामा आवतजावत गर्नेको चाप बढ्दा दुर्घटना पनि बढ्नसक्ने भएकाले सो विषयमा सरोकारवालाहरूसँग छलफल भइरहेको उहाँले बताउनुभयो ।  प्रवक्ता खड्काले भन्नुभयो, “सडक राम्रो नहुनु, सावारी साधनको बढी चाप हुनु, क्षमताभन्दा बढी यात्रु बोक्नु, हतारहतार गरेर यात्रु ओसारपोसार गर्नु, बिग्रिएका सवारी साधनहरू पनि सञ्चालन गर्नुलगायतका कारण चाडपर्वमा बढी दुर्घटना हुने गरेको छ । त्यसलाई न्यूनीकरण गर्ने विषयमा सम्बन्धित निकायसँग छलफल भइरहेको छ ।” खड्काकाअनुसार सम्भावित दुर्घटनाका विषयमा उपत्यकाका तीनै जिल्लाको सहकार्यमा एकीकृत सुरक्षा योजना तर्जुमा भइरहेको छ । दशैंमा सजकतापूर्वक जाँच गरेर कडाइका साथ नियम पालना गराउन आफूहरू लागिपर्ने उहाँले बताउनुभयो ।  प्रवक्ता खड्काले चाडवाडका बेलामा सवारी चालक एवं सहचालकलाई अझ बढी होसीयारी पुर्‍याउन र यात्रुलाई पनि सजगरहन आग्रहसमेत गर्नुभयो ।

काठमाडौं:       त्रिभुवन विश्वविद्यालय (त्रिविवि)ले विश्वविद्यालयद्वारा सञ्चालित जुनसुकै तहको परीक्षामा ‘आर्टिफिसियल इन्टेलिजेन्स’ (एआई)को प्रयोग गरेको पाइएमा परीक्षा रद्द हुने जनाएको छ ।  त्रिविवि परीक्षा सुधार समितिका अध्यक्ष एवं शिक्षाध्यक्ष प्राडा खड्क केसीको अध्यक्षतामा सोमबार भएको बैठककाले सो निर्णय गरेको हो ।  त्रिविविका शिक्षाध्यक्ष केसी प्रविधिको भर पर्दा विद्यार्थीमा पठन संस्कृति कमजोर हुने तथा चोर्ने प्रवृत्ति देखिएकाले परीक्षामा त्यस्ता प्रविधिको प्रयोगमा निरुत्साहित गर्ने उद्देश्यका साथ विद्यार्थीलाई सूचित गरिएको बताउनुहुन्छ ।  एआईका कारण विद्यार्थीको मौलिकता र सिर्जनाशीलता कमजोर हुँदै गएको तथा पढ्ने संस्कृतिलाई निरुत्साहित गरेको त्रिविको बुझाइ छ ।           “विद्यार्थीमा पढ्ने संस्कृति कमजोर भयो, परीक्षामा पढ्ने नभई चोर्ने प्रवृत्ति बढेको, पठनपाठन गर्ने विषयलाई प्रोत्साहित तथा प्रविधिको दुरुपयोगलाई दुरुत्साहित गर्ने उद्देश्यले विद्यार्थीलाई सचेत गराउने ढङ्गबाट सूचना जारी गरिएको हो”, उहाँले भन्नुभयो ।           त्रिविविका परीक्षा मोबाइल, स्मार्टवाचलगायत विद्युतीय सामग्रीको प्रयोगमा पूर्णतः रोक लगाइएको भए पनि कतिपय परीक्षा केन्द्रमा परीक्षार्थीले प्रविधिको प्रयोग गरी चोरी गर्ने गरेको सूचना पाइएकाले विद्यार्थीलाई सचेत गराइएको शिक्षाध्यक्ष केसीले राससलाई बताउनुभयो ।           यसैबीच, विश्वविद्यालयले मानविकी तथा सामाजिक शास्त्र, शिक्षा, व्यवस्थापन, कानुन सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थानअन्तर्गतका विद्यार्थीका हकमा वार्षिक प्रणालीअन्तर्गत २०५८ देखि र सेमेस्टर प्रणालीअन्तर्गत २०६९ देखिका समयसीमा पार गरेका परीक्षार्थीलाई एक पटकका लागि मौका परीक्षाको अवसर दिइएको जनाएको छ । 

काठमाडौं:    संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा सहभागी हुन न्युयोर्कमा रहनुभएकी परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले अतिवादी समूह हमासको नियन्त्रणमा रहेका विपीन जोशीको सकुशल रिहाइका लागि प्रयास गर्न विश्व समुदायसँग आग्रह गर्नुभएको छ ।  सोमबार भएको असंलग्न आन्दोलन ९नाम०को मन्त्रिस्तरीय बैठकमा उहाँले जोशीको रिहाइका लागि विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको हो ।  नेपाल विपीन जोशीको रिहाइको प्रतिक्षामा रहेको बताउँदै उहाँले त्यसका लागि सहयोग गर्न विश्व समुदायसँग  आग्रह गर्नुभयो ।  गत अक्टोबरमा ७ मा हमास समूहद्वारा इजरायलमा भएको आतङ्ककारी आक्रमणमा १० जना नेपालीको ज्यान गएको थियो । आक्रमणपछि हमासले जोशीलाई नियन्त्रणमा लिएको थियो ।  सरकारले सो हमलाको निन्दा गर्दै जोशीको सकुशल रिहाइको माग गर्दै आएको परराष्ट्रमन्त्रीले बताउनुभयो ।    विश्वशान्ति स्थापनाका लागि सामूहिक प्रयास आवश्यक भएको बताउँदै उहाँले भन्नुभयो “दोश्रो विश्वयुद्धपछि विश्वका धेरै स्थानमा द्वन्द्व बढेको छ । हामी इतिहासको जटिल मोडमा उभिएका छौँ, सशस्त्र द्वन्द्वबाट आफ्ना नागरिकहरुको रक्षाको लागि उच्च प्राथमिकताका साथ काम गर्नुपरेको छ । जेनेभा अभिसन्धिमा हस्ताक्षर भएको ७५ औँ वर्षमा हामी छौँ तर पनि नागरिकहरुको रक्षाका लागि यसले आत्मसात् गरेका सिद्धान्तहरुलाई बेवास्ता गरिरहेका छौँ । यस्तो अवस्थाको चाँडै अन्त्य हुनुपर्छ र हामीहरु सबै शान्तिपूर्ण सहअस्तित्वको सम्मानका साथ अघि बढ्नुपर्छ ।”   परराष्ट्रमन्त्रीले गाजा, रुस र युक्रेनमा जारी द्वन्द्व तत्काल रोकेर समस्याको शान्तिपूर्ण निकास खोज्न आग्रह गर्नुभयो । उहाँले गाजामा नागरिक, पत्रकार, राष्ट्रसङ्घीय कर्मचारी, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको हत्या, पूर्वाधारहरुमाथिको आक्रमणको निन्दा गर्नुभयो ।  मन्त्री राणाले इजरायल र प्यालेष्टिन, रुस युक्रेन होस् या अन्य यस्ता प्रकारका द्वन्द्वहरुको समाधान रचनात्मक तरिकाबाट खोज्न र हिंसा अन्त्यका लागि दबाब दिन अन्तर्राष्ट्रिय समुदायलाई अनुरोध गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।  नेपाल असंलग्न आन्दोलनको प्रतिबद्ध सदस्य भएकाले सबै देशसँग शान्ति, मैत्री र सहअस्तित्वका आधारमा सम्बन्ध विस्तार गर्न चाहन्छ भन्नुभयो । 

बैतडी:   बैतडीको मेलौली नगरपालिका–६ लामालेक बजारमा आगलागी हुँदा रु ३५ लाख बराबरको क्षति भएको छ ।  लामालेक बजारमा रामदत्त भट्टले सञ्चालन गर्नुभएको महारुद्र फेन्सी पसल एन्ड आटा चक्कीमा आगलागी हुँदा उक्त क्षति भएको प्रहरीले जनाएको छ ।       सोमबार राति ११ः२० बजेको समयमा भएको आगलागीबाट खाद्यान्न, फेन्सी, ‘डेकोरेसन’, खुद्रालगायत सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक जनकराज ढुङ्गानाले जानकारी दिनुभयो ।       प्रारम्भिक अनुसन्धानमा विद्युत् ‘सर्ट’ भएर आगलागी भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा र प्रहरीको सहयोगमा आगो निभाइएको थियो । 

महोत्तरी:     विगत एक सातादेखि अचानक गर्मी बढेपछि जिल्लाका अधिकांश विद्यालय तथा क्याम्पस बन्द गरिएका छन् ।      बिहानैदेखि चर्को घाम र तातो हावा चल्न थालेपछि जिल्लाका चार स्थानीय तहहरुले आजदेखि चार दिनका लागि विद्यालय बन्द गरेका छन् । अन्य स्थानीय तहले पनि बन्द गर्ने तयारी गरेका छन् ।  ४० देखि ४४ डिग्रीसम्म तापक्रम पुगेपछि सदरमुकाम जलेश्वर नगरपालिकाले नगरक्षेत्रका सबै २९ वटा सामुदायिक एवं धार्मिक विद्यालयहरु आजदेखि लागू हुनेगरी चार दिनका लागि बिदा दिएको नगर प्रमुख सुरेश साह सोनारले बताउनुभयो ।       मनरासिस्वा नगरपालिकाले पनि आउँदो शनिबारसम्मका लागि सबै २३ वटा सामुदायिक, धार्मिक तथा मदर्सामा बिदा दिएको नगरप्रमुख मोहन पाण्डेले जानकारी दिनुभयो । महोत्तरी गाउँपालिकाले आजदेखि सबै सामुदायिक विद्यालयहरुमा शनिबारसम्मका लागि बिदा दिएको छ ।        बर्दिबास नगरपालिकाले गर्मीलाई दृष्टिगत गरी आजदेखि चार दिनका लागि नगरभित्रका विद्यालयहरुमा पठनपाठन बन्द गरेको नगर प्रमुख प्रल्हादकुमार क्षेत्रीले बताउनुभयो ।  जलेश्वरस्थित रामनन्दन विशेश्वर महेन्द्र क्याम्पसमा पनि बिदा दिइएको क्याम्पस प्रमुख अजयकुमार झाले बताउनुभयो । गर्मीकै कारण सदरमुकाम जलेश्वरस्थित प्रादेशिक अस्पतालमा ज्वरो, रुघाखोकी, झाडापखाला र टाइफाइडजस्ता बिरामीहरुको चाप बढेको छ ।

काठमाडौं:     प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा रहेका नेपाली युवालाई रोजगारी विकासका लागि स्वदेशमा फर्केर अवसर सृजना गर्न आग्रह गर्नुभएको छ ।  संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा रहनुभएका प्रधानमन्त्री ओलीले सोमबार कोलम्बिया विश्वविद्यालयद्वारा आयोजित वल्ड लिडर्स फोरममा गरिबी निवारण गरी सबैलाई सम्मानजनक रूपमा बाँच्न पाउने अधिकार दिलाउन समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा अघि सारिएको स्पष्ट पार्नुभयो ।  ‘नेपालको लोकतन्त्र र आर्थिक विकासको यात्रा’ विषयक संवादमा मुख्य वक्ताका रुपमा सम्बोधन गर्दै उहाँले नेपालबाट विदेश गएका विद्यार्थी र युवाहरूको मात्रै सङ्ख्या बाहिर आउने तर विदेशबाट स्वदेश फर्किएकाहरूको हिसाब नभएको उल्लेख गर्दै फर्कनेहरूको क्रम पनि बढेको स्पष्ट गर्नुभयो ।   प्रधानमन्त्री ओलीले रोजगारीका अवसरका लागि नेपाल सरकारले साना–साना उद्योग र ‘स्टार्टअप’जस्ता कार्यक्रम ल्याएको जनाउँदै युवाहरूबिना मुलुकले रुपान्तरण गर्न सक्दैन भन्नेमा आफू स्पष्ट रहेकाले युवालाई राष्ट्र निर्माणमा एकजुट हुन आग्रह गर्नुभयो । “नेपालको आर्थिक अवस्था त्यस्तो धेरै कमजोर छैन । बरु म यसको समृद्धिको प्रचुर सम्भावना देखिरहेको छु, जुन हामीले मेहनत गरेमा छोटो समयभित्र हाँसिल गर्न सक्नेछौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “हामी उदाउँदो लोकतन्त्र भएका मुलुक हौँ । भारत र चीनजस्ता आर्थिक शक्तिराष्ट्रका छिमेकी पनि हौँ । त्यस अर्थमा नेपाल आर्थिक विकासका लागि बहुआयामिक अर्थतन्त्र बन्न सक्ने अवस्थामा छ ।” उहाँले आफूले नेपालको लोकतान्त्रिक आन्दोलनमा निर्णायक भूमिका निर्वाह गरेका संसद्का दुई ठुला दलसहितको सरकारको नेतृत्व गरिरहेको अवगत गराउँदै सुशासन र पारदर्शिता कायम गर्ने सङ्कल्प लिएको जानकारी दिनुभयोे ।  “नेपालीलाई समृद्ध र सुखी बनाउनेबाहेक हामीसँग अरु कुनै अभिष्ट छैन । समृद्धिको यात्रामा हामी पूर्ण कटिबद्ध रहेका छौँ”, प्रधानमन्त्री ओलीले भन्नुभयो । यसैगरीप्रधानमन्त्री ओलीले युएसआइडी र युनिसेफद्वारा आयोजित ‘लिड फ्रि फ्युचरः पार्टनरसिप लन्च एण्ड प्लेजिङ इभेन्ट’लाई सम्बोधन गर्दै लिडमुक्त अभियानमा ऐक्यबद्धता जनाउनुभयो ।  उहाँले नेपालले पहिलेदेखि नै लिडको प्रयोगका कारण बालबालिकाको स्वास्थ्यमा असर परेको बुझाइसहित त्यसलाई मुक्त गर्ने नीति कार्यान्वयन गर्दै आएको र हालै संसद्मा खाद्य सुरक्षासम्बन्धी विधेयक ल्याएको स्पष्ट पार्नुभयो । कार्यक्रममा अमेरिकी राष्ट्रपति जो बाइडेनका पत्नी डा जिल वाइडेन, डोमिनिकाका राष्ट्रपति, मलावीका राष्ट्रपतिलगायतले पनि सम्बोधन गर्नुभएको थियो ।

सार्वजनिक सवारीसाधनले यात्रुबाट बढी भाडा लिने गरेको जनगुनासो आएपछि अनिवार्य टिकटको व्यवस्था गरिएको छ ।   जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सवारीसाधनमा यात्रा गर्दा बढी शुल्क तिर्नुपर्ने गुनासो आएपछि अनिवार्य टिकट दिएर मात्र सवारी सञ्चालन गर्नुपर्ने निर्णय गरेको हो ।   दसैँतिहार तथा छट पर्व नजिकिँदै गर्दा जिल्ला प्रशासन कार्यालयले आयोजना गरेको सर्वपक्षीय बैठकले हरेक यात्रुलाई अनिवार्य टिकट दिएर मात्रै यात्रा गर्ने÷गराउने व्यवस्था कार्यान्वयन गर्ने निर्णय गरेको हो ।   जिल्लामा सञ्चालित कतिपय जिपले यात्रुबाट तोकिएभन्दा बढी भाडा लिने, टिकट नदिने जनगुनासो आएकाले अनिवार्य टिकटको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले बताउनुभयो ।   “हरेक यात्रुको टिकट काटे÷नकाटेको, सवारीसाधनले तोकिएभन्दा बढी शुल्क लिए÷नलिएको विषयमा जयराम, दिक्तेललगायत पोष्टमा प्रहरीले चेकजाँच गर्नेछ”, उहाँले भन्नुभयो । सार्वजनिक सवारीसाधनले बढी भाडा लिए वा टिकट नदिएको पाइए तत्काल प्रहरीलाई खबर गर्न यात्रुलाई प्रजिअ कार्कीले आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “जिल्लामा सञ्चालित सवारीसाधनले तोकिएभन्दा बढी भाडा लिएको वा टिकट नखिएको खण्डमा प्रचलित कानुन अनुसार कारबाही गर्नेछौँ ।   यसका लागि मातहतका सबै प्रहरी परिचालन गरेका छौँ ।”   जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वपक्षीय बैठकले जिल्लाबाट छुट्ने जिप तथा बसको पुरानो भाडा दर कायम गर्ने निर्णयसमेत गरेको छ । बैठकमा सहभागी यातायात व्यवसायी सङ्घका प्रतिनिधिले चाडपर्वको समयमा एकतर्फी मात्रै यात्रु हुने जानकारी दिँदै भाडादर वृद्धिको प्रस्ताव राखेका छन् ।   दसैँतिहार तथा छठ पर्वलाई लक्षित गर्दै ग्रामीण सडक मर्मत गर्न सम्बन्धित स्थानीय तहलाई अनुरोध गरिएको बताउँदै प्रजिअ कार्कीले मध्यपहाडी लोकमार्गअन्तर्गत दिक्तेल–हलेसी, दिक्तेल–चखेवाभञ्ज्याङ खण्ड तथा दिक्तेल–गाईघाट खण्ड तत्काल मर्मत गरी आवागमन सहज बनाउने निर्णय भएको जानकारी दिनुभयो ।   बैठकमा दसैँतिहार तथा छठका लागि खाद्यान्न, लत्ताकपडा, दलहन, तेलहनलगायत दैनिक उपभोग्य सामान सुपथ मूल्यमा उपलब्ध गराउन उद्योग वाणिज्य सङ्घले पहल गर्ने निर्णय भएको छ ।   स्थानीय तह, जिल्ला प्रशासन कार्यालय र घरेलु तथा साना उद्योग कार्यालयबाट निर्णय प्रभावकारी कार्यान्वयन भए÷नभएकोबारे जानकारी लिन नियमित बजार अनुगमन गर्ने निर्णय भएको प्रजिअ कार्कीले उल्लेख गर्नुभयो ।   उहाँका अनुसार चाडपर्वको समयमा हुनसक्ने चोरीलगायत आपराधिक घटनालाई निरुत्साहित गर्न सुरक्षा व्यवस्था कडा बनाउने निर्णय पनि भएको छ ।

पर्सा:    अत्यधिक गर्मीका कारण वीरगञ्ज महानगरभित्रका विद्यालय दुई दिन बन्द गरिने भएको छ । वीरगञ्ज महानगर वरिपरि क्षेत्रको तापक्रम अत्यधिक बढेर पठनपाठन कार्य प्रभावित भएसँगै विद्यालय बन्द गर्न लागिएको हो ।   वीरगञ्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णले बढ्दो गर्मीका कारणबाट विद्यार्थीको स्वास्थ्यमा परेको प्रतिकू प्रभावलाई मध्यनजर गर्दै यही असोज ८ र ९ गते पठनपाठन कार्य स्थगित गर्न लागिएको जानकारी दिनुभयो । “अत्यधिक गर्मीको कारणले पठनपाठन गराउँदा धेरै ठाउँबाट गुनासो आएकाले पनि दुई दिनको लागि स्थगित गर्न लागेका हौँ,” उहाँले भन्नुभयो, “पठनपाठन बन्द भए पनि विद्यालयको प्रशासनिक कार्य भने सञ्चालन हुनेछ ।” महानगरले सम्बन्धित विद्यालयलाई आवश्यक गृहकार्य दिएर घरमै अध्ययन गर्ने वातावरण मिलाउन पनि अनुरोध गरेको छ । महानगरले यसअघि पनि गर्मी बढेको भन्दै गत जेठ १६ देखि १८ गतेसम्म तीन दिन विद्यालयको पठनपाठन कार्य स्थगित गरेको थियो ।  महानगरभित्र सामुदायिकतर्फ ९२ वटा र निजीतर्फ एक सय ३८ विद्यालय रहेका छन् । सामुदायिक विद्यालयतर्फ २१ माध्यमिक, १५ आधारभूत, ५५ वटा प्राथमिक विद्यालय र एउटा पूर्वप्रथामिक विद्यालय रहेको छ ।