भोटेकोशी बाढीपछि रसुवाका जलविद्युत् आयोजनाका सुरुङ तथा प्रभावित क्षेत्रमा हराइरहेकाको खोजीलाई तीव्र पारिएको छ ।   नेपाली सेना, आयोजनाका प्रतिनिधि तथा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले माथिल्लो...

काठमाडौं:    नेपालीहरुको महान् पर्व दसैँ, तिहार तथा छठ मनाउन घर जानका लागि दुई दिनमा २९ हजार नौ सय ५५ यात्रुले बसको अग्रिम टिकट लिएका छन् । नयाँ बसपार्कबाट मात्र दुई दिनमा सो सङ्ख्यामा अग्रिम टिकट बिक्री भएको हो ।  सरकारले यही असोज १२ गतेदेखि चाडपर्वका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो ।  यातायात व्यवस्था विभाग, काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घको गतहप्ता बसेको बैठकले गत शनिबारदेखि लामो दूरीका सवारीसाधनका लागि अग्रिम टिकट बुकिङ खुला गरेको थियो । नयाँबसपार्क सञ्चालनको जिम्मा लिएको ल्होत्से बहुउद्देश्यीय प्रालिका मानव संशाधन प्रमुख पङ्कज मल्लका अनुसार असोज १२ गते  १८ हजार तीन सय ६५ र असोज १३ गते ११ हजार पाँच सय ९० यात्रुले अग्रिम टिकट लिएका थिए । सरकारले सुदूरपश्चिमको दार्चुला, धनगढी, टीकापुर, बझाङ, बाजुरा, प्यूठान, रुकुम, रोल्पालगायतका स्थान तथा पूर्वको काँकडभिट्टा, भद्रपुर, तेह्रथुम, खाँदबारी, ताप्लेजुङ, भोजपुर, इलाम, पशुपतिनगर, धरान, विराटनगरलगायतका स्थानमा जाने यात्रुलाई अग्रिम टिकट दिन सुरु गरेको हो ।  पृथ्वी राजमार्गअन्तर्गत गोरखा, पोखरा, लमजुङ, बागलुङ, म्याग्दी, स्याङ्जा, नुवाकोट, रसुवालगायतका छोटो दूरीमा जाने सवारीसाधनको टिकट भने चाँडै खुला गर्ने सरकारको तयारी छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजयबहादुर स्वाँरले दसैँ मनाउन घर जाने यात्रुलाई सुरक्षित तवरले गन्तव्यस्थलमा लैजान महासङ्घ लागिपरेको बताउनुभयो ।  वर्षाका कारण तीन दिनदेखि काठमाडौँमा रोकिएका सार्वजनिक सवारीसाधान क्रमशः नयाँ बसपार्कबाट गन्तव्यस्थलतर्फ जान थालेका छन् । दसैँमा २० लाखभन्दा बढी यात्रु प्रत्येक वर्ष उपत्यकाबाट बाहिरिने गरेको तथ्याङ्क छ । 

काठमाडौं:    स्थानीय बजारमा आज पहेँलो धातुको मूल्यमा सामान्य गिरावट आएको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाला सुन आइतबार प्रतितोला रु एक लाख ६० हजार छ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ६० हजार पाँच सय निर्धारण भएको छ ।       यस्तै, चाँदीको मूल्य तोलामा रु पाँचले घटेको छ ।  आइतबार प्रतितोला रु एक हजार नौ सय ४५ मा कारोबार भएकामा आजका लागि रु एक हजार नौ सय ४० कारोबार हुने गरी निर्धारण भएको छ ।

तनहुँ:    पृथ्वीराजमार्गअन्तर्गत तनहुँको बन्दीपुर गाउँपालिका–४ विमलनगरमा खसेको ठूलो ढुङ्गा हटाइएपछि विमलनगर–ऑबुखैरेनी खण्ड दुईतर्फी सञ्चालनमा आएको छ ।       वर्षासँगै आएको पहिरोका कारण आइतबार दिउँसो खसेको ढुङ्गा हटाएर एकतर्फी सञ्चालनमा आएको उक्त खण्ड आज बिहानदेखि दुईतर्फी सञ्चालनमा आएको हो ।  ढुङ्गा हटाउनका लागि बिहान केही बेर सवारीसाधन रोकिएका थिए ।  जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दीपक रायले जिल्लाका सबै सडक सञ्चालनमा रहेको जानकारी दिनुभयो ।

काठमाडौं : ललितपुर महानगरपालिका २५ सुगम टोलस्थित नख्खु खोलामा बग्दै गरेका दुई जनाको सकुशल उद्दार गरेका काभ्रेका चणिकलाल तामाङलाई बागमती प्रदेश सरकारले डेढलाख नगदसहित सम्मान गर्ने भएको छ।    मुख्यमन्त्री बहादुरसिंह लामाले चणिकको सहासिक कामबाट दुई जनाको ज्यान जोगिएको भन्दै प्रदेश सरकारले सम्मान गर्न लागेको जानकारी दिए।     काभ्रेको तेमाल गाउँपालिका– ९ चोकटारका तामाङले गत शनिबार नख्खु खोलामा बग्दै गरेका  रौतहटका राजु साहकी छोरी ६ बर्षीया मेघना साह र राजुका भाइ २२ बर्षीय राज साहको उद्दार गरेका थिए।    तामाङलाई टेलिफोनमार्फत् साहासिक कामका लागि धन्यावाद दिएको बताउँदै मुख्यमन्त्री लामाले प्रदेश सरकारले नगदसहित सम्मान गर्न लागेको जानकारी तामाङलाई गराइएको जानकारी दिए।    विपद् प्रतिकार्यमा तामाङले खेलेको भुमिकाले नागरिक स्तरमा समाजसेवी भावना जागृत गरेको बताउँदै मुख्यमन्त्री लामाले सामाजिक कामका लागि सम्मान गर्न लागिएको जानकारी दिए।    तामाङको सहासिक कार्यले विपद् व्यवस्थापनमा आम नागरिकले कस्तो भुमिका खेल्न सक्छन् भन्ने उदाहरण र प्रेरणा मिलेको बताउँदै मुख्यमन्त्री लामाले आगामी दिनमा विपद् प्रतिकार्यका लागि तामाङ जस्ता युवालाई प्रदेश सरकारले साथमा लिने बताए। 

प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा सहभागी भई आज अपराह्न ४:०० बजे स्वदेश फर्कँदै हुनुहुन्छ ।   महासभामा भाग लिन यही असोज ४ गते संयुक्त राज्य अमेरिकाको न्युयोर्क जानुभएका प्रधानमन्त्री प्रधानमन्त्री ओलीले महासभालाई असोज १० गते सम्बोधन गर्नुभएको थियो ।   महासभाका क्रममा यस वर्ष ‘कोही पनि पछाडि नछोडिने: वर्तमान र भावी पुस्ताका लागि शान्ति, दिगो विकास र मानव मर्यादाको विकासका लागि मिलेर काम गर्ने’ भन्ने विषयमा केन्द्रित भई छलफल भयो ।   न्युयोर्क रहँदा प्रधानमन्त्री ओली महासभाको साधारण बहसको उद्घाटनसत्र र अमेरिकाका राष्ट्रपति जो बाइडेनले आयोजना गर्नुभएको स्वागत समारोहमा सहभागी हुनुभयो ।   उहाँले अति कमविकसित देशहरूको सम्मेलन र ‘एन्टिमाइक्रोबियल’ प्रतिरोध विषयक उच्चस्तरीय बैठकलाई सम्बोधनसहित विभिन्न कार्यक्रममा सहभागी हुनुभयो ।   उहाँले भ्रमणका क्रममा संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेस तथा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहितका आफ्ना समकक्षीसँग भेटघाट गरी द्विपक्षीय वार्ता गर्नुभयो ।   प्रधानमन्त्री ओलीका साथमा उहाँकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री डा आरजु राणा देउवा, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्रसचिव सेवा लम्साल र नेपाल सरकारका वरिष्ठ अधिकृत हुनुहुन्छ ।

काठमाडौं:    अविरल वर्षाका कारण भएको बाढीपहिरो र डुबानमा परी हालसम्म १ सय ९२ को मृत्यु भएको छ भने ३० जना बेपत्ता भएका छन् ।  प्राकृतिक विपद्मा  एक सय ९४ जना घाइते भएको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो ।  बाढीपहिरोपछिको खोज, उद्धार र राहतका लागि सबै सुरक्षा निकाय परिचालित भई हालसम्म करिब चार हजार पाँच सयभन्दा बढी विपद् प्रभावितको उद्धार गरिएको उहाँले जानकारी दिनुभयो । बाढीपहिरो प्रभावितलाई खाद्यान्नलगायत आपत्कालीन राहत सामग्री उपलब्ध गराइएको तथा घाइतेको निःशुल्क उपचार भइरहेको जानकारी दिइएको छ ।  सरकारले खोज, उद्धार र राहतलाई उच्च प्राथमिकता दिएको छ । यातायात सञ्चालन गर्न अवरुद्ध राजमार्ग खोल्न पहल भइरहेको पनि प्रवक्ता तिवारीले बताउनुभयो ।  

सप्तरी:    पूर्व–पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलमा आइतबार साँझबाट यातायात सुचारु गरिएको छ ।      कोशी नदीमा पानीको प्रवाह घटेपछि यातायात र पैदलयात्रीलाई आउजाउ गर्न दिने निर्णय गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मग्रातीले जानकारी दिनुभयो ।  कोशी पुलमा बाढी आएर थुपारिएको लेदो, प्लास्टिकजन्य पदार्थ, दाउरासहितका फोहर सफा गरिएकाले यातायात सुचारु गर्न सहज भएको उहाँले बताउनुभयो ।      प्रजिअ मग्रातीले भन्नुभयो, “कोसीमा पानीको प्रवाह अत्यधिक भएर पुलमाथिबाटै बग्न थालेपछि शनिबार दिउँसो ४ बजेबाट सो पुल भएर आउजाउमा रोक लगाइएको थियो । आइतबार बिहानबाट कोसीमा पानीको बहाव निरन्तर कम हुँदै गएपछि आइतबार साँझबाट सर्वसाधारणका लागि आवतजावत खुला गरिएको छ ।”      कोशीको पुलमा बाढीले थुपारेको फोहर सफा गर्न आठ घण्टा लागेको थियो । सुरक्षाकर्मी, स्थानीय बासिन्दा र डोजर प्रयोग गरी पुलको फोहर हटाएर कोशीमै फालिएको छ । कोशी नदीमा पानीको बहाव घट्ने क्रममा छ ।  कोशी ब्यारेज नियन्त्रण कक्षले दिएको जानकारी अनुसार आइतबार साँझ ७ः३० बजे पानीको प्रवाह घटेर तीन लाख ४५ हजार चार सय १५ क्युसेकमा झरेको छ ।      पूर्वी–पहाडी तथा मधेससहित तराईका जिल्लामा दुई दिनदेखि परेको लगातार वर्षाका कारण शनिबार ५६ वर्षकै इतिहासमा सबैभन्दा बढी कोशी नदीमा छ लाख ६१ हजार क्युसेक पानीको प्रवाह पुगेको थियो । 

काठमाडौं:     नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३३ रुपैयाँ ६३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ २३ पैसा कायम भएको छ ।       युरोपियन युरो एकको खरिददर एक सय ४९ रुपैयाँ १८ पैसा र बिक्रीदर एक सय ४९ रुपैयाँ ८५ पैसा कायम गरिएको छ । युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७८ रुपैयाँ ७२ पैसा र बिक्रीदर एक सय ७९ रुपैयाँ ५३ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५८ रुपैयाँ ९८ पैसा र बिक्रीदर एक सय ५९ रुपैयाँ ६९ पैसा कायम गरिएको छ ।       अष्ट्रेलियन डलर एकको खरिददर ९२ रुपैयाँ २४ पैसा र बिक्रीदर ९२ रुपैयाँ ६५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३२ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय चार रुपैयाँ ३० पैसा र बिक्रीदर एक सय चार रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ ।       जापानी येन १० को खरिददर नौ रुपैयाँ ४० पैसा र बिक्रीदर नौ रुपैयाँ ४४ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १९ रुपैयाँ १५ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३५ रुपैयाँ ७८ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३६ रुपैयाँ ८३ पैसा कायम भएको छ ।       केन्द्रीय बैंकका अनुसार थाइ भाट एकको खरिददर चार रुपैयाँ १३ पैसा र बिक्रीदर चार रुपैयाँ १५ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ३८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ५५ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५४ पैसा कायम छ ।  साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ २० पैसा र बिक्रीदर १० रुपैयाँ २४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ २४ पैसा र बिक्रीदर १३ रुपैयाँ ३० पैसा र डेनिस क्रोनर एकको खरिददर २० रुपैयाँ  एक पैसा र बिक्रीदर २० रुपैयाँ १० पैसा तोकिएको छ ।       राष्ट्र बैंकले हङकङ डलर एकको खरिददर १७ रुपैयाँ १९ पैसा र बिक्रीदर १७ रुपैयाँ २७ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १५ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ११ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५४ रुपैयाँ ४६ पैसा र बिक्रीदर तीन सय ५६ रुपैयाँ पाँच पैसा तोकेको छ ।  भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ ।       वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । 

काठमाडौं:    अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले नेपालसहित ३२ देशका लागि बडादसैैँको टीकाको साइत सार्वजनिक गरेको छ ।       विभिन्न देशमा बसोवास गर्ने सनातन धर्मावलम्बीबाट विजया दशमी टीकाको साइतबारे जिज्ञासा राखिएकाले विजया दशमी २०८१ को शुभसाइत सार्वजनिक गरिएको समितिका सदस्य सचिव लक्ष्मण पन्थीले राससलाई जानकारी दिनुभयो ।       समितिले दिएको साइतअनुसार नेपालको काठमाडौँका लागि असोज २६ गते बिहान ११ः३६ बजेको साइत शुभ रहेको छ ।  यसैगरी देहली भारतका लागि १२ अक्टोबर बिहान ११ः४२, न्यूयोर्क अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः०१, फ्याङ्कफर्ट केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः३९, वोवेन्स्वोरोक, केन्टुकी, अमेरिकाका लागि १२ अक्टोबर बिहान ०९ः४५, टेक्सास, अमेरिकाका लागि १२ अक्टोबर बिहान १०ः०५, वासिङ्टन डिसी, अमेरिकाका लागि ०९ः५५, क्यालिफोर्निया, अमेरिकाका लागि ०९ः३९ बजेको समय शुभ रहेको समितिले जनाएको छ ।      यसैगरी टोरन्टो, क्यानडाका लागि १२ अक्टोबर बिहान १०ः१५, भ्यानकुभर, क्यानडाका लागि १२ अक्टोबर बिहान १०ः२७ बजेको साइत उत्तम रहेको सदस्य सचिव पन्थीले बताउनुभयो ।  टोकियो, जापानका लागि १३ अक्टोबर बिहान ११ः३५, सिड्नी, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः२१, मेलबर्न अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः२७, ब्रिसवेन, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः२९, क्याबेरा, अष्ट्रेलियाका लागि १३ अक्टोबर ११ः१५, वेलिङ्टन, न्युजिल्याण्डका लागि १३ अक्टोबर ११ः२५ बजेको साइत शुभ रहेको समितिका अध्यक्ष डा माधव भट्टराईले जानकारी दिनुभयो ।       लिस्बन, पोर्चुगलका लागि १२ अक्टोबर बिहान १०ः२४, लण्डन, बेलायतका लागि १२ अक्टोबर बिहान १०ः२१, पेरिस, फ्रान्सका लागि १२ अक्टोबर बिहान १०ः२३, ओस्लो, नर्वेका लागि १२ अक्टोबर बिहान १०ः१९, क्वालालम्पुर, मलेसियाका लागि १२ अक्टोबर बिहान ११ः५७, अबुधावी, युनाइटेड अरब इमिरेट्सका लागि १२ अक्टोबर बिहान ११ः४५, दोहा, कतारका लागि १२ अक्टोबर बिहान ११ः०५, बैंकक, थाइल्याण्डका लागि १२ अक्टोबर बिहान ११ः२१, सियोल, दक्षिण कोरियाका लागि १३ अक्टोबर बिहान ०९ः१५, तेल अभिभ इजरायलका लागि १२ अक्टोबर बिहान ०९ः१६, सिङ्गापुरका लागि १२ अक्टोबर बिहान ११ः४५, हङ्कङ्का लागि १३ अक्टोबर बिहान ११ः४३, साउदी अरेबियाका लागि १२ अक्टोबर बिहान ११ः२३, याङ्गुन, म्यानमारका लागि १२ अक्टोबर बिहान ११ः२१, जेनेभा, स्वीट्जरल्याण्ड १२ अक्टोबर बिहान ११ः५५ र माल्टामा १२ अक्टोबर बिहान १०ः४५ बजे विजयादशमीको टीका लगाउन उत्तम रहेको समितिका सभापति भट्टराईले बताउनुभयो ।      वैदिक सनातन हिन्दू धर्मावलम्बी विश्वभर फैलिएका र ती देशमा नेपालीको सङ्ख्या पनि बढेर दसैँको साइत माग भएपछि समितिले निर्णय गरेको उहाँले सुनाउनुभयो ।