काठमाडौं: पशुपतिनाथको स्वामित्वमा रहेको गौशालास्थित धर्मशाला २१ वर्षपछि फिर्ता भएको छ । काठमाडौँ जिल्ला अदालतले विसं २०६० मा श्री पशुपतिनाथ अमालकोट कचहरी (हाल पशुपति क्षेत्र विकास कोष) र मारवाडी सेवा समितिबीच भएको पशुपति गौशाला धर्मशाला सञ्चालनसम्बन्धी सम्झौता खारेजी सदर गरिदिएपछि धर्मशाला पशुपतिनाथ मातहतमा आएको हो । पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद्ले २०८० साउन १७ गते मारवाडी सेवा समितिसँग भएको नौबुँदे सम्झौता खारेज गर्ने निर्णय गरेपछि समितिले दायर गरेको मुद्दामा अदालतले दाबी नपुग्ने फैसला गरेको हो । समितिले ‘करार रद्द गर्ने निर्णय बदर गरी यथावत् पुनर्वहाली गरिपाऊँ’ भनी जिल्ला अदालतमा मुद्दा दायर गरेको थियो । अदालतका सूचना अधिकारी मेलिस बाँस्कोटाले समितिले दायर गरेको मुद्दामा दाबी नपुग्ने फैसला भएको बताउनुभयो । यससँगै कोष र समितिबीच भएको नौबुँदे सम्झौता रद्द गर्ने निर्णय सदर भएको छ । अब मारवाडी सेवा समितिले २१ वर्षदेखि कब्जा गरेको काठमाडौँको गौशालास्थित कित्ता नं। ८३ को चार रोपनी १५ आना दुई पैसा क्षेत्रफल र सोही स्थानको कित्ता नं। ८५ को चार रोपनी दश आना क्षेत्रफल गरी जम्मा नौ रोपनी नौ आना जग्गा कोषमै फिर्ता भएको सदस्य सचिव डा मिलनकुमार थापाले राससलाई जानकारी दिनुभयो । “वर्षको ५१ हजार तिरेर व्यापारिक लाभका लागि पशुपतिनाथको स्वामित्को धर्मशाला प्रयोग भएको थियो । लामो प्रयासपछि कौडीको भाउमा कब्जामा रहेको सम्पत्ति फिर्ता भएको छ । अब धर्मशालालाई धार्मिक प्रयोजनकै लागि प्रयोग गरिनेछ,” उहाँले भन्नुभयो । पशुपतिनाथ अमालकोट कचहरीले मारवाडी सेवा समितिलाई धार्मिक प्रयोजनका लागि उपलब्ध गराउने सम्झौता गरेको थियो । सम्झौता–पत्रमा सेवा समितिले वार्षिक रु ५१ हजार तिर्ने, रकम दुवै पक्षको सहमतिमा संशोधन गर्न सकिने र पशुपतिनाथमा छाडिएका साँढेलाई परम्पराअनुसार संरक्षण गर्न सेवा समितिले सहयोग गर्ने उल्लेख थियो । मारवाडी सेवा समितिले होटल, लज, रेस्टुरेन्ट, डायलासिस सेन्टर सञ्चालन गरिरहेको थियो । समितिले व्यावसायिक प्रयोजनकै लागि जर्सी गाई पालेर दुध बेच्दै आएको थियो । गौशाला धर्मशालामा तला थपेर लज विस्तार गरेको सेवा समितिले १९ वटा सटर मासिक रु ३५ हजारसम्ममा भाडामा लगाएको थियो । सम्झौतापत्रमा तत्कालीन अमालकोट कचहरीका तर्फबाट द्वारे कृष्णलाल वैद्य र सेवा समितिका तर्फबाट महासचिव शिव भगवान् अग्रवालले हस्ताक्षर गर्नुभएको कोषले जनाएको छ । कोषका सदस्य सचिव वसन्त चौधरीको पालामा यो सम्झौता भएको थियो । स्वार्थ बाझिने गरी सम्झौता गराएका चौधरीले आफूनिकट मारवाडी सेवा समितिलाई पशुपतिनाथको सम्पत्ति कौडीको भाउमै सुम्पिएकामा स्थानीयवासीले विरोध गर्दै आएका थिए । सम्झौता अनुसार समितिले अहिले पनि वार्षिक रु ५१ हजार कोषलाई बुझाउँदै आएको थियो । ‘सहयोग’ शीर्षकमा उक्त रकम बुझाउने र समयानुकूल सम्झौता नवीकरण गर्ने भनिएको थियो । तर सेवा समितिले पशुपतिनाथ मन्दिरको जग्गामा मोहियानी हक दाबी गर्दै सम्झौता नवीकरण गर्न वा धर्मशाला छोड्न अस्वीकार गरेपछि सञ्चालक परिषद्ले सम्झौता खारेज गर्ने निर्णय गरेको थियो । सदस्य सचिव थापाले अदालतको फैसलापछि धर्मशाला व्यवस्थितरूपमा सञ्चालन गरिने जानकारी दिनुभयो ।
काठमाडौं: मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनको सक्रियतामा आज काभ्रेपलाञ्चोकको रोशी गाउँपालिकाका बाढीपहिरोपीडित तीन सयभन्दा बढी परिवारलाई राहत सामग्री हस्तान्तरण गरिएको छ । रोशी गाउँपालिकाको वडा नं २ को नारायणटारका एक सय ८६ परिवार र वडा नं ५ महादेवस्थानका करिब डेढ सय घरपरिवारलाई ती सामग्री हस्तान्तरण गरिएको हो । हालैको बाढीपहिरोबाट प्रभावित परिवारलाई रु ३० लाख बराबरको खाद्यान्न, लत्ताकपडा, कम्बल, मोबाइल चार्जरसहितको सोलार बत्ती सामग्री हस्तान्तरण गरिएको मानवसेवा आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारीले जानकारी दिनुभयो । विपद्बाट देश नै दुःखमा परेको बेला सरकारलाई गाली गरेर बस्नु र नकारात्मकतालाई प्रशय दिनु भन्दा पनि आ–आफ्नो ठाउँबाट सकेको योगदान गर्नु बुद्धिमानी हुने भएकाले यस कठिन परिस्थितिलाई पार लगाउन सबै एकजुट भइदिन उहाँले आग्रह गर्नुभयो । सरकारले नेपाली सेनाको हेलिकप्टर उपलब्ध गराएका कारण पीडितपरिवारलाई प्रत्यक्ष सहयोग गर्न सकिएको उहाँले बताउनुभयो । फाउण्डेशनकी अध्यक्ष एवं समाजसेवी आनी छोइङ डोल्माले विपद्बाट आपत्मा परेका मानिसलाई सहयोग गर्नु हरेक नागरिकको कर्तव्यअनुसार नै केही राहत गरिएको उल्लेख गर्दै यस्तो बेला अर्काले टिप्प्णी गर्नुभन्दा आफूले सकेको सहयोग गर्नु नै धर्म हुने बताउनुभयो । विपद्को घडीमा दुःखमा रहेका आफन्तलाई आफ्नोपनको अनुभूति गराउन पाउँदा हर्ष लागेको बताउँदै उहाँले प्रभावित क्षेत्रमा दिगो व्यवस्थापनका लागि ठोस् कदम चाल्न सरकार र सम्बन्धित निकायहरुसमक्ष अनुरोध गर्नुभयो । गाउँपालिकाका अध्यक्ष दिनेश लामाले बाढीपहिरोबाट घरबारविहीन बन्न पुगेका र प्रत्यक्ष प्रभावित जनतालाई सहयोग गर्नुभएकामा मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनप्रति आभार व्यक्त गर्दै पालिकामा जतिसक्दो छिटो बत्ती, खानेपानी, सडकजस्ता पूर्वाधार पु(याउन प्रयास भइरहेको बताउनुभयो ।
काठमाडौं: बाढीपहिरो र डुबान लगायत प्राकृतिक विपद्मा परेका १७ हजार १२० जनाको सकुशल उद्धार गरिएको छ । विपद्मा खोज उद्दारमा खटिएको नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र स्वयम्सेवकबाट आज विहानसम्म १७ हजार भन्दा बढीको उद्धार गरिएको गृह मन्त्रालयका प्रवक्ता सहसचिव ऋषिराम तिवारीले जानकारी दिनुभयो । उहाँले विपद्मा परी बेपत्ता परेका २२ जनाको खोजी जारी रहेको जानकारी दिँदै विपद्का घटनामा घाइते भएका १६९ जनाको विभिन्न अस्पतालहरुमा निःशुल्क उपचारको प्रवन्ध गरिएको बताउनुभयो । “घाइते मध्ये अघिकांश घर फर्किसक्नु पनि भएको छ ।” प्रवक्ता तिवारीले भन्नुभयो–“ विपद्का बेला अतिप्रभावित क्षेत्रमा सुरक्षाकर्मीद्धारा घटनास्थलमै स्वास्थ्य शिविर र तत्कालको राहत सामग्री समेत वितरण गरिएको थियो ।” गृह मन्त्रालयका अनुसार हालसम्म काठमाडौं उपत्याकाबाट २ हजार १५८ , कोशी प्रदेशबाट ९० जना, मधेश प्रदेशबाट ३५ , सबैभन्दा बढी बागमती प्रदेशबाट १३ हजार ६४० जनाको उद्धार गरिएको छ । “ प्रभावित जिल्लाबाट नेपाली सेनाको हेलिकप्टरबाट पनि बिरामी, घाइते, बालबालिका, जेष्ठ नागरिकहरुलाई प्राथमिकतामा राखेर यो अवधीमा उद्दारकार्य गरियो ” ,उहाँले भन्नुभयो“ खोज तथा उद्दारको काम अन्तिम चरणमा पुग्नुका साथै बेपत्ताको खोजी तीव्र रुपमा भइरहेको छ ।” त्यसैगरी गृह मन्त्री रमेश लेखकले खोज, उद्धार तथा राहत वितरणका साथै अवरुद्ध राजमार्ग खुलाउन सरोकारवाल निकाय एवं मन्त्रालयसित समन्वय गरिरहनुभएको छ । उहाँले प्रभावित जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुलाई उद्धार, राहत वितरण र घाइतेहरुको स्वास्थ्य उपचारमा विषेश ध्यान दिन निर्देशन दिनुभएको छ । गृहमन्त्री लेखकले राजमार्ग सुचारु गर्न सहजीकरण, यात्रुहरुको सहज र सुरक्षित यात्रा गर्ने लगायतका विषयमा यातायात व्यवसायीहरुसित पनि छलफल गर्नुभएको थियो । त्यस्तै काठमाडौ, ललितपुर, भक्तपुर, धादिङ, सिन्धुली लगायतका जिल्लामा विपद्मा मृत्यु भएका मृतकका परिवारलाई आर्थिक सहायता बाफत राहत रकम उपलब्ध गराउनुका साथै घर भत्किाएका परिवारलाई राहत रकम वितरण सुरु गरिएको छ । भने प्रभावित जिल्लामा विभिन्न दातृ निकाय र दाताहरुबाट पनि राहत सामाग्री जिल्ला विपद् व्यवस्थापन समितिलाई उपलब्ध भइरहेको छ । सहसचिवको नेतृत्वमा कार्यदल गठन गरी गृह मन्त्रालयले प्रभावित आठ जिल्लामा आवश्यक, समन्वय सहकार्य र विपद्मा परेका नागरिकहरुको सहजीकरणका लागि कार्यदल खटाएको छ । कार्यदललाई प्रभावितहरुको तत्काल उद्धार तथा राहत कार्यमा समन्वय र सहजीकरण, मानवीय र भौतिक क्षेत्रको संक्षिप्त विवरण तयारी गरी तत्काल गर्नुपर्ने कार्यका सम्वन्धमा सुझाव दिने लगायतका कार्यदेश दिइएको छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँका अवसरमा वैदिक विधिपूर्वक दुर्गादेवीको पूजाअर्चनाका साथ राष्ट्रपति भवनमा घटस्थापना गर्नुभएको छ । दुर्गापक्षको पहिलो दिन आज राष्ट्रपतिले देशको प्रतिनिधित्व गर्दै शक्तिकी अधिष्ठात्री देवी दुर्गाको पूजा, आराधनाका साथ विधिपूर्वक घटस्थापना गरेर जमरा राख्ने परम्परा छ । सोही परम्परालाई निरन्तरता दिँदै उहाँले घटस्थापना गरेर जमरा राख्नुभएको हो । आज विधिपूर्वक जमरा राखिएको स्थानमा महानवमीसम्म दुर्गा सप्तशति पाठका साथै वैदिक नियमअनुसार नवदुर्गाको पूजाआराधना गरिन्छ । विजयादशमीका दिन देवी विसर्जन गरी घटस्थापना गरिएको घडाको जलले अभिषेक गरी प्रसादस्वरुप टीका र समृद्धिको प्रतीक जमरा लगाइन्छ
काठमाडौं: सर्वोच्च अदालत दसैँ पर्वका अवसरमा आजदेखि बिदा हुने भए पनि बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने जनाइएको छ । उक्त निवेदन सुनुवाइका लागि बिदाको समयमा बिहान ११ बजेदखि ३ बजेसम्म खुला हुने भएको हो । सर्वोच्च अदालतको प्रशासनले जारी गरेको सूचनामा घटस्थापनादेखि कोजागत पूर्णिमासम्म अदालत बन्द रहने भए पनि बन्दी प्रत्यक्षीकरणको को रिट निवेदनमा सुनुवाइका लागि अदालत खुला रहने उल्लेख छ । न्याय प्रशासन ऐन, २०७३ को दफा २६ बमोजिम उक्त अवधिअन्तर्गत घटस्थापना, शनिबार र विजया दशमीका दिनबाहेक अन्य दिनमा बन्दी प्रत्यक्षकीकरणको रिट निवेदनमा सुनुवाइ हुने उल्लेख गरिएको हो ।
काठमाडौं: नेपाल नेत्रज्योति सङ्घले विश्व दृष्टि दिवसका अवसरमा दक्षिणकाली नगरपालिका सतिदेवी स्थित फेन्दे उत्थान केन्द्र, बाल सेवाघरमा निःशुल्क आँखा परीक्षण सहित खाद्यान्न वितरण गरेको छ । यही असोज २४ गते अर्थात अक्टोबर १० तारिखका दिन परेको विश्व दृष्टि दिवसका अवसरमा बाल सेवाघरमा रहेका करिब ४० बालबालिकाहरुको आँखा परीक्षण गरी चस्मा र आवश्यक औषधी बालबालिकाहरुलाई निःशुल्क उपलब्ध गराइएको छ । त्यस्तै सोही अवसरमा बाल सेवाघरका लागि आवश्यक खाद्यान्न सामाग्री समेत हस्तान्तरण गरिएको थियो । सो अवसरमा सङ्घका महासचिव भरतबहादुर चन्द यस वर्षको विश्व दृष्टि दिवसमा बाल आँखा स्वास्थ्यलाई प्राथमिकता दिइएकाले खाद्यान्न सहयोग सहित बाल सेवाघरमा आँखा परीक्षण गरिएको बताउनुभयो । उहाँले भन्नुभयो “अहिले विश्वमा नै बालबालिकाहरुको आँखा स्वास्थ्यलाई प्राथमिकता दिई विश्व दृष्टि दिवस मनाईदै छ त्यसैले हामिले नेपालमा पनि बढिभन्दा बढि बालबालिकाहरुलाई आँखा उपचार सेवा प्रवाह गर्दै उनिहरुको आँखा स्वास्थ्यका बारेमा सबैलाई जनचेतना अभिबृद्धि गर्ने गरी कार्यक्रम संचालन गरिरहेका छौ । ” दक्षिणकाली – ५ का वडाध्यक्ष श्यामबहादुर खत्रीले सङ्घलाई धन्यवाद दिँदै बाल आँखा स्वास्थ सबैको प्राथमिकतामा पर्नुपर्ने बताउनुभयो । सो अवसरमा आँँखा परीक्षण तथा खाद्यान्न वितरण कार्यक्रममा सङ्घका कोषाध्यक्ष चिजकुमार मास्के सङ्घका सल्लाहकार एवं पूर्व मुख्यसचिव लिलामणी पौडेल समेत सहभागि हुनुभएको थियो । सन् १९९८ को अक्टोवर ८ तारिखदेखि हरेक बर्ष अक्टोबर महिनाको दोस्रो बिहीबारलाई विश्व दृष्टि दिवस मनाइन्छ । यस वर्षपनि यही असोज २४ गते(अक्टोबर १०) मा नेपालमा पनि ‘आँखालाई माया गरौं’ (बालबालिकाको आँखा उपचारलाई प्राथमिकतामा राखौँ) भन्ने नारा सहित विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
गोरखा: गोरखा दरबारको दसैँघरमा आज विधिपूर्वक जमरा राखिएको छ । नवरात्रको पहिलो दिन घटस्थापनाका अवसरमा मूलदरबारस्थित दसैँघर, कालिका र गोरखनाथ मन्दिरमा बिहान ९:१६ बजेको साइतमा जमरा राखिएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले जानकारी दिनुभयो । परम्पराअनुसार बिहान सबेरै गोरखकाली मन्दिरको कैलाश कोठाबाट देवी भगवतीलाई मूल दरबारको गर्भगृह ९पूजाकोठा० मा पदस्थापना गराइ पानी घडा थापेर जमरा राखिएको उहाँले बताउनुभयो । “गोरखा दरबारको जमरा घरमा एक पाथी, कालिका मन्दिरमा र गोरखनाथ मन्दिरमा चाररचार मानाको दरले जौ को जमरा राखिएको छ”, उहाँले भन्नुभयो, “उपल्लो कोट, तल्लो कोटहरुमा पनि एकरएक मानाका दरले जमरा राख्ने गरिन्छ, गोरखा दरबारका सबै ठाउँमा कुल तीन पाथीको जमरा राखिएको छ ।” यहाँ जमरा राखेपछि मात्र देशभरका हिन्दू धर्मावलम्बीले घरघरमा जमरा राख्छन् भन्ने मान्यता रहँदै आएको छ । प्रतिपदा सुरु भएसँगै कालिका मन्दिरमा नियमित कालो बोकाको बलि दिने प्रचलन छ । बडादसैँमा टीकासँगै जमरा लगाउँदा शुभ हुने धार्मिक विश्वास पाइन्छ । घटस्थापनाको दिन राखिएको जमरा विजयादशमीको दिन टीकासँगै लगाउने गरिन्छ ।
पोखरा: पोखरा र आसपासका शक्तिपीठमा नवदुुर्गा महोत्सव सुरु भएको छ । कास्कीकोट दरबारमा रहेको गुप्तकालीमा राष्ट्रशान्तिको कामना गर्दै महोत्सव आरम्भ भएको छ । गुप्तकाली कश्यप धार्मिक क्षेत्रविकास समितिले महोत्सव आयोजना गरेको हो । नवरात्र प्रारम्भ भएसँगै यहाँका देवीस्थान र कोटहरूमा महोत्सव आयोजना भएका हुन् । परापूर्वकालदेखि तान्त्रिक तथा वैदिक विधिबाट पूजा हुँदै आएको गुप्तकालीमा दशमीसम्म पुजारीहरू मन्दिरमा नै बसेर पूजाआराधना गर्ने प्रचलन छ । विधिपूर्वक कोतघरमा प्रवेश गरी नवमीसम्म नित्य दुर्गा सप्तशती पाठ गरिन्छ । फूलपातीका दिन रामघाटबाट लगेको फूलको डोली विधिवत् गुप्तकालीमा प्रवेश गराएर नवपत्रिकाले पूजा गरिन्छ । फूलपातीकै दिन कुँवर जातिको लोपोन्मुख सैन्य अभ्यास सरुन खेल प्रदर्शन गरिनेछ । अष्टमीको मध्यरातमा कालरात्रि पूजा र नवमीमा पञ्चबलि दिइन्छ । यस अवसरमा नगरा बजाउने, सत्रौँ शताब्दीका ढाल, तरबार र तोप प्रदर्शन गरिन्छ । विन्ध्यावासिनी मन्दिरमा पनि महोत्सव सुरु भएको छ । विन्ध्यवासिनी धार्मिक क्षेत्र विकास समितिले २०६४ सालदेखि महोत्सव आयोजना गर्दै आएको छ । महोत्सवभर देवीभागवत ज्ञान महायज्ञ पनि हुँदैछ
सप्तरी: सप्तरी र सुनसरीको सिमानामा रहेको कोशी नदीमा जलसतह घट्दै जाँदा चहलपहल बढेको छ । कोशी ब्यारेजको हुँदै आफ्नो गन्तव्यतर्फ जानेहरू निश्चिन्त भएर गरिरहेको देख्न सकिन्छ । केही दिनअघि अविरल वर्षाले कोशीमा पानीको बहाव बढेका कारण यहाँ व्यक्ति र यातायातका साधन आवतजावतमा रोक लगाइएको थियो । गर्मीयाम होस् या चाडपर्वका बेला सधैँजसो चहलपह हुने यस स्थानमा पुनः पुरानै अवस्था फर्किन थालेको स्थानीय भागवत मण्डलले बताउनुभयो । कोशी पुलमा दशैँ सुरु भएदेखि यहाँ विभिन्न ठाउँबाट वनभोज मनाउन आउनेको धेरै भीड लाग्ने गरेकामा यस वर्ष पनि सोही अवस्था कायमै रहने विश्वास जागेको उहाँको भनाइ छ । “विशेषगरी कात्तिक, मङ्सिर, पुस, माघ र फागुनमा आन्तरिक तथा बाह्य पर्यटक बढी आउने गरेको देखिन्छ”, उहाँले भन्नुभयो, “कोशी ब्यारेजको अवलोकन र भम्रण गर्न बढी भारतको विहारबाट आउने गर्दछ ।” केही दिनअघि कोशी ब्यारेजमा भेटिनुभएका भारत विहार राज्यको सुपौलका भागवत मिस्त्रीले बाढीले यहाँको अवस्था त्रस्त रहे पनि विस्तारै सहज बन्दै गएको र भारतबाट पनि यहाँ अवलोकन गर्न आउनेको सङ्ख्या बढ्न थालेको सुनाउनुभयो । “म यहाँ पहिलोपटक आएको हो वास्तवमै राम्रो रहेछ । यहाँको हावापानी पनि निकै राम्रो छ । यसलाई पर्यटकीय रूपमा विकास गर्न सकेको भए यहाँ धेरै मान्छे आउँथे । यहाँका जनता र सरकारलाई फाइदा हुन्थ्यो”, उहाँले भन्नुभयो । सोही ठाउँका शम्भु यादवले कोशी ब्यारेजको अवलोकन गर्न सुपोलबाट धेरैजसो विद्यार्थी घुम्न आउने गरेको बताउनुभयो । नजिकै रहेको कोशी क्षेत्रमा उनीहरू वनभोज, घुम्नघाम र रमाइलोका लागि आउने गरेको उहाँको भनाइ छ । “वर्षाका कारण केही दिन पहिले निकै समस्या भयो । हामीले सोचेका थियौँ, अब त तहसनहसका अवस्था पो आउँछ कि तर त्यस्तो भएन । फेरि चहलपहल देख्दा खुसी लागेको छ”, उहाँको भनाइ थियो ।

