पोखरा:  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।   आयोगका कार्यवाहक अध्यक्ष जुद्ध बहादुर गुरूङले शुक्रबार प्रदेश...

काठमाडौं:    सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङले बाढीपहिरोपीडितप्रति संवेदनशील भएर सरकारले काम गरिरहेको बताउनुभएको छ ।  फास्ट फुड एशोसिएसन नेपालले आज यहाँ आयोजना गरेको ‘कर प्रशिक्षण’ कार्यक्रममा उहाँले चाडपर्व प्रारम्भ हुन लागेका बेला बाढीपहिरोबाट देश र जनताले भोग्नुपरेको अकल्पनीय परिस्थितिप्रति सरकार संवेदनशील रहेको तथा पीडितलाई राज्यका निकायबाट सक्दो सहयोग गर्नुपर्छ भन्नेमा कसैको विमति नरहेको बताउनुभयो ।     “देशका विभिन्न स्थानमा एकैपटक बाढीपहिरोबाट मानवीय क्षति भयोे, सडक सञ्जाल विच्छेद भयो, कैयौँ नागरिक घरबारविहीन भएका छन् । यस्तो जटिल अवस्थामा सरकारले सम्बन्धित निकायलाई परिचालन गरेर सहायता परिचालन गरिरहेको छ,” मन्त्री गुरूङले भन्नुभयो ।  उहाँले दसैँतिहारमा यातायात सेवा सहज ढङ्गले सञ्चालन गर्न सरकार कटिबद्ध रहेको तथा सडक विभागसँगको समन्वयमा अवरोध भएका स्थानमा युद्धस्तरमा काम भइरहेको बताउनुभयो ।  पृथक् प्रसङ्गमा सञ्चारमन्त्रीले लगानीमैत्री वातावरण बनाउन सरकार लागिपरेको, लगानी बढेपछि सेवा क्षेत्र  विस्तार भई रोजगारीका अवसर सृजना हुने भएकाले त्यसप्रति नै सरकारले ध्यान दिएको   बताउनुभयो । उहाँले भन्नुभयो, “स्थिर सरकार भएन भने नीतिगत स्थायित्व हुँदैन । नीतिगत स्थायित्व भएनभने विकास र समृद्धिले फड्को मार्न सक्दैन ।  राजनीतिक स्थायित्वका  लागि नेकपा एमालले नेपाली कांग्रेससँगखसहकार्य गरेको हो ।”   नेपाली जनताले तत्काल परिणाम खोजेका तर नीतिगत सुधार गरी त्यसलाई कार्यन्वयनमा लैजान केही समय लाग्ने भएकाले तत्काल परिणामको अपेक्षा गर्नु स्वाभाविक नहुने तर्क गर्नुभयो । जनताले महसुस गर्नेगरी परिणाम निकाल्न सरकार क्रियाशील रहेको उहाँको कथन थियो ।  त्यस अवसरमा एसियाली खेलकुदमा पदक विजेता एरिका गुरूङ, सेफ गोविन्दनरसिंह केसीलगायत उच्च शिक्षा हासिल गरेका ‘फास्ट फुड’  व्यवसायीका सन्तति, लायन्स क्लबलगायत सामाजिक सङ्घसंस्थालाई सम्मान गरिएको एशोसियसनका अध्यक्ष राजु श्रेष्ठले बताउनुभयो ।

तनहुँ:    डिभिजन वन कार्यालय तनहुँले चार अजिङ्गरको उद्धार गरी सुरक्षित स्थानमा छाडेको छ । गत वैशाखदेखि यहीअसोज महिनासम्म जिल्लाका विभिन्न स्थानबाट उद्धार गरेको हो ।   गत बिहीबार मात्रै व्यास नगरपालिका–१२ स्थित कमलबारीमा भेटिएको अजिङगरको उद्धार गरिएकोसो कार्यालयले जनाएको छ ।       दश फिट चार इन्च लामो र १५ किलो दुई सय ग्रामको तौल भएको अजिङ्गको उद्धार गरिएको उद्धारकर्ता अर्जुन श्रेष्ठले जानकारी दिनुभयो ।   उद्धार गरिएका अजिङगरको बस्तीदेखि टाढा,घनाजंगल र सुरक्षित स्थानमा लगेर छाड्ने गरिएको छ । केही अघि मात्रैव्यास–२ अमरापुरी,व्यास–१३ बेलबास लगायतका स्थानमा अजिङगर भेटिएको थियो ।        विस्तारको काम भइरहेको पृथ्वी राजमार्गको मुग्लिन–पोखरा खण्डअन्तर्गत सडकको नालीमा फेला परेको अजिङ्गर स्थानीयले जानकारी दिएपछि डिभिजन वन कार्यालयले उद्धार गरेको हो ।           सवारी चालक अर्जुनकुमार श्रेष्ठ, सशस्त्र वन रक्षक जमदार सूर्य सुवेदी, सशस्त्र वन रक्षकहरु कृष्ण कैनी, रामकाजी अधिकारी, गुननारायण श्रेष्ठ र चौकीदार उत्तम मल्लको टोलीले  अजिङ्गरको उद्धार गरेको  डिभिजन वन कार्यालयले जनाएको छ ।       राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐनअनुसार अजिङ्गरलाई संरक्षित सरिसृपको रुपमा लिइने गरिएको वन अधिकृत राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । “अजिङ्गर हत्तपत्त भेटिने जीव होइन”, उहाँले भन्नुभयो,  “यसले मानव जातिलाई क्षति नगरे पनि बाख्राका ससाना पाठापाठी खाएर नोक्सान पु¥याउने गर्दछ ।”  

नुवाकोट:    काठमाडौंबाट लमजुङतर्फ जाँदै गरेको लमजुङको सुपर दोर्दी ‘ख’ आयोजनाको गाडी नुवाकोटमा दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । पाँचजना घाइते भएका छन् ।       बा१४च ३८५४ नम्बरको गाडी नुवाकोटको शिवपुरी–८ काफलडाँडामा दुर्घटना हुँदा काठमाडौँका ५८ वर्षीय उपेन्द्र खनालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिनुभयो ।  गम्भीर घाइते खनालको उपचारका लागि काठमाडौँ लैजाने क्रममा बाटोमै मृत्यु भएको उहाँले बताउनुभयो ।       उक्त दुर्घटनामा घाइते भएका गाडी चालक ४६ वर्षीय विश्वनाथ अधिकारी, ५२ वर्षीय रामशरण अधिकारी, ७६ वर्षीया हरिकला खनाल, ५१ वर्षीया गायत्री खनाल र ६३ वर्षीय चन्द्रनाथ शर्माको काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  

ताप्लेजुङ:     कञ्चनजङ्घा आधार शिविरतर्फ गइरहेको पर्यटक टोलीका एक सदस्यको ढुङ्गाले लागेर मृत्यु भएको छ ।  फक्ताङलुङ गाउँपालिका– ६ को जापानटार नजिक इलिफोक भन्ने ठाउँमा पहिरोसँगै खसेको  ढुङ्गाले लागेर सङ्खुवासभाको सिलिचोङ गाउँपालिका– ५ का टीकाबहादुर राईको निधन भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त ठाउँमा पहिरो झरिरहेकाले प्रहरी चौकी लुङ्थुङबाट गएको टोलीले निजको शव निकाल्न नसकेपछि थप सुरक्षाकर्मी परिचालन गरिएका छन् । उक्त टोलीका अन्य सबै सदस्य सकुशल छन् । 

तनहुँ:     गत असोज ११ र १२ गतेको अविरल वर्षापछि त्रिशूली नदीमा आएको बाढीले दुई जिल्ला जोड्ने झोलुङ्गे पुल जोखिममा परेको छ ।  त्रिशूली नदीमा आएको बाढीले तनहुँको आँबुखैरेनी गाउँपालिका–५ र चितवनको भरतपुर महानगरपालिका–२९ जोड्ने घुमाउनेको झोलुङ्गे पुल जोखिममा परेको हो ।       बाढीले पुल जोखिममा परेपछि आवतजावतमा समस्या भएको आँबुखैरेनी–५ का वडाध्यक्ष सन्तोष गुरुङले जानकारी दिनुभयो । घुमाउनेमा निर्माणाधीन पक्की पुल विगत १० वर्षदेखि अलपत्र हुँदा यस भेगका सर्वसाधारणलाई आवतजावतका लागि यो पुलमात्रै विकल्प हो ।  पुल पनि बाढीले जोखिममा परेपछि हिँडडुलमा समस्या भएको वडाध्यक्ष गुरुङको भनाइ छ । उहाँले भन्नुभयो, “घुमाउनेका सर्वसाधारण यही पुल प्रयोग गरी मुग्लिन–नारायणगढ खण्डमा निस्किएर यात्रा गर्छन्, पुल खतरामा परेको छ ।”      दसैँ सुरु भएसँगै सर्वसाधारणको आवतजावत बढेको र पुलको जोखिमका कारण समय मिलाएर पुल वारपार गर्ने व्यवस्था मिलाइएको गुरुङले बताउनुभयो । बाढीले गर्दा पुल नै कोल्टिएको छ । यसैबीच गण्डकी प्रदेशसभा सदस्य एवं पूर्वमन्त्री हरिबहादुर चुमान र आँबुखैरेनीका अध्यक्ष शुक्र चुमानले शुक्रबार उक्त पुलको अवलोकन गर्नुभएको छ ।       झोलुङ्गे पुल जोखिममा पर्दा यस भेगका जनतालाई आवतजावतमा असुविधा भएकाले उक्त पुलको गाउँपालिकाले मर्मत गर्ने अध्यक्ष चुमानले बताउनुभयो । उहाँले भन्नुभयो, “प्राविधिकसहितको टोलीले पुलको अवलोकन गरेको छ, दसैँका बेला सर्वसाधारणलाई सहज रुपमा आवतजावत मिलाउन तत्कालै यो पुलको मर्मत गर्छौं ।”      बुद्धसिंह मार्गअन्तर्गत पर्ने यो पुल हुँदै चितवन निस्कन मिल्छ । सदरमुकाम दमौलीबाट बुद्धसिंह मार्ग प्रयोग गर्दै मोटरसाइकलमा यहाँबाट यात्रा गर्न सकिन्छ । सोही पुल नजिकै पक्की पुल निर्माण सुरु भएको १० वर्ष भए पनि पुलको प्रगति जम्मा ४० प्रतिशत मात्रै छ ।

काठमाडौं:     बडा दसैँ अर्थात् नवरात्रको तेस्रो दिन आज बिहानैदेखि देशभरका शक्तिपीठ एवं देवी मन्दिरमा पूजा, आराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो लागेको छ । नवरात्रका अवसरमा शक्तिपीठमा पूजा, आराधना एवं दर्शन गरेमा मनोकामना पूरा हुने धार्मिक विश्वास छ । नवरात्र शक्ति प्राप्तिका लागि साधना गर्न उत्तम समयका रुपमा लिइन्छ ।  यसैले देशभरका शक्तिपीठमा भक्तजनको घुइँचो लागेको हो । राजधानीका पशुपति क्षेत्रस्थित गुह्येश्वरी र जयवागेश्वरीलगायत देवी मन्दिर, मैतीदेवी, कालिकास्थान, भद्रकाली, शनि, सङ्कटा, शोभाभगवती, बिजेश्वरी, कङ्केश्वरी, रक्तकाली, श्वेतकाली, नक्साल भगवती, चामुण्डामाई, सुन्दरीमाई, इन्द्रायणी, वनदेवी, बज्रयोगिनीलगायत शक्तिपीठ एवं देवी मन्दिरमा भक्तजनको घुइँचो लागेको हो ।        यसैगरी काठमाडौँ उपत्यका बाहिरका नाला भगवती, चण्डेश्वरी, पलाञ्चोक भगवती, पाल्चोक भगवती, कमलामाई, रौतामाई, कालिञ्चोक, पाथीभरा, गहवामाई, मनकामना, इच्छाकामना, दन्तकाली, राजदेवी, छिन्नमस्ता, गढीमाई, शैलेश्वरी, विन्ध्यवासिनी, भुवनेश्वरी, उग्रतारालगायत देवी मन्दिरमा पनि बिहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको जनाइएको छ । नवरात्रको तेस्रो दिन आज शनिबारको सार्वजनिक बिदा परेकाले पनि भक्तजनको घुइँचो लागेको हो ।        नवरात्रको तेस्रो दिन आज दसैँ घर वा पूजा कोठामा नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाको आह्वान गरी विशेष पूजा आराधना गरिँदै छ ।  नौ दिनसम्म नौ वटी देवीको विशेष पूजा हुन्छ । नौ दिनसम्म पूजा गरी विजयादशमीका दिन देवीको प्रसादका रुपमा प्रसाद र समृद्धिको प्रतीकका रुपमा जमरा लगाइन्छ । यो क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ ।

पोखरा:    पोखरा नागढुङ्गामा सबै किसिमका सवारीसाधनका लागि हुने टायरको आउटलेट तालबाराही अटोमोबाइल्स संचालनमा आएको छ ।  पोखराको चाउथेमा रहेको भद्रकाली टायर रिसोलिङ ले आफ्नो शाखा विस्तार गरेको हो । बजारको मागलाई मध्यनजर गरि पोखरा नागढुङ्गामा शाखा विस्तार गरेको युवा व्यवसायी हुमबहादुर खत्री ‘अर्जुन’ ले जानकारी दिनुभयो ।  विगत १३ बर्ष देखि टायर रिसोलिङ तथा बस ट्रकको नयाँ टायरको सेवा दिंदै आएको कम्पनीले नागढुङ्गा शाखाबाट मोटरसाइकल, स्कुटर, कार, जिप, भ्यान लगायत सम्पुर्ण सवारी साधनको जुनसुकै साइटका नया टायर विक्री केन्द«बाट सेवा शुरु गरेको हो ।  उक्त शाखाबाट इण्डियन तथा चाइनिज ब्राण्डका टायर विक्री हुनेछ । पोखरा बजार तथा सिद्धार्थ हाइवे लक्षित गरि सेवा विस्तार गरिएको अर्का संचालक हितेष अधिकारीले जानकारी दिनुभयो ।  विस्तारित शाखामा भद्रकाली टायर रिसोलिङबाट दिदैं आएको सेवालाई यथावत राख्दै मोटरसाइकलदेखि बस, ट्रक तथा ट्रयाक्टरका सम्पुर्ण साइजका टायर सर्वसुलभ तथा सुपथ मुल्य उपलब्ध गराएको संचालक हुमबहादुर खत्री ‘अर्जुन’ बताउनुभयो ।  अत्याधुनिक हाइड्रोलिक प्रविधीबाट टायर खोल्ने फिटिङ गर्ने, निशुल्क खोल्ने तथा फिटिङ गर्ने, टायरको हावा चेक गर्ने, टायर सम्बन्धी सम्पुर्ण परामर्श सेवा प्रदान गरिएको छ ।  निकट भविष्यमा आधुनिक प्रविधीको भाइकिंग गाडी को टयुबलेस टायर रिसोलिंग को शुरुवात गर्ने पनि केसीको योजना छ ।   

धादिङ:     एक साताअघिको बाढी र पहिरोमा परी ज्यान गुमाएका तीन जनाको परिवारलाई घरमै पुगेर राहत उपलब्ध गराइएको छ ।           पानी परिरहेका बेला शरीर भिज्नबाट जोगिन ओडारमुनि ओत लागेका बेला ओडार नै खस्दा पुरिएका धादिङको बेनीघाट रोराङ गाउँपालिका– ६ का जनता भनिने श्यामकुमार चेपाङ र शन्तबहादुर चेपाङ र घरमा आएको पहिरो सोर्ने क्रममा पहिरोले पुरिएर ज्यान गुमाएका थाक्रे गाउँपालिका– ६ का कान्छा राईको परिवारलाई उनीहरुको घरमा नै पुगेर राहत उपलब्ध गराइएको हो ।      जिल्ला प्रशासन कार्यालय धादिङका सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालसहितको टोलीले मृतक तीनै जनाको घरमा पुगेर परिवारलाई रु दुई लाखका दरले राहत रकम वितरण गरिएको हो ।  सरकारले तय गरेको स्वीकृत मापदण्डका आधारमा मृतकको परिवारलाई राहत रकम वितरण गरिएको सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।      “राहत रकमको सदुपयोग होस् भनेर पालिकाको रोहवरमा वितरण गरेका छौँ । यो राहत रकमले थोरै भए पनि आफन्तको घाउमा मलमको काम गर्ने अपेक्षा गरेका छौँ”, उहाँले भन्नुभयो ।      त्यस्तै, निरन्तरको वर्षासँगै गाउँकै खोलामा आएको भलले बगाएर ज्यान गुमाएकी गजुरी गाउँपालिका–८ की छ वर्षीया युना तामाङको परिवारलाई वितरण गरिने राहत रकम प्रक्रियामा रहेको अर्यालले जानकारी दिनुभयो ।  कागजात जुटाउने तथा प्रक्रियामा रहेकाले केही दिनमै युनाको परिवारलाई पनि राहत रकम वितरण गरिने उहाँको भनाइ छ ।

बाँके:     खजुरा गाउँपालिका–६ स्थित गिजरा सामुदायिक वनबाट शुक्रबार एउटा चितुवालाई नियन्त्रणमा लिइएको छ ।  चितुवा बस्तीमा पस्न थालेको स्थानीयको गुनासो आएपछि बर्दिया राष्ट्रिय निकुञ्ज, बाँके राष्ट्रिय निकुञ्ज र एनटिएनसीको सहयोगमा उक्त चितुवालाई नियन्त्रणमा लिइएको हो ।      “शुक्रबार खजुराको गिजरा सामुदायिक वनको जङ्गलबाट चितुवालाई नियन्त्रणमा लिएका छौँ”, डिभिजन वन कार्यालय बाँकेका प्रमुख शङ्करप्रसाद गुप्ताले भन्नुभयो, “चितुवाले समस्या पारेको जनगुनासो आइरहेको थियो । वन्यजन्तुबाट हानिनोक्सानी हुन आएको पुष्टि भएपछि बर्दिया र बाँके राष्ट्रिय निकुञ्ज तथा एनटिएनसीको सहयोगमा उक्त चितुवालाई नियन्त्रणमा लिएका हौँ ।”      सोही गाउँपालिका–६ का वीरेन्द्र पुन मगरकी साढे दुई वर्षीया छोरी लक्ष्मी पुन मगर गत भदौ ३० गते बेलुका घरको आँगनबाट एक्कासि हराएकी थिइन् । खोजी गर्दा घटनाको दुई दिनपछि नजिक रहेको गिजरा सामुदायिक वन क्षेत्रमा आधा शरीर खाएको अवस्थामा बालिकाको शव फेला परेको थियो ।  उक्त घटना घटेको १८ दिनपछि सोही ठाउँबाट शुक्रबार भाले चितुवालाई नियन्त्रणमा लिइएको डिभिजन वन कार्यालयका प्रमुख गुप्ताले बताउनुभयो ।      खोजीका क्रममा नाबालिकालाई जङ्गलमा मृत अवस्थामा फेला परेकामा स्थानीयले सोही चितुवाले उनलाई मारेको हुनसक्ने अनुमान गरेका थिए । एउटा चितुवा नियन्त्रणमा दिए पनि बच्चा खाने चितुवा यही हो भन्ने यकिन हुन नसकेको डिभिजन वन प्रमुख गुप्ताले बताउनुभयो ।  “कुन चितुवाले लगेर मा¥यो भन्ने पुष्टि हुन सकेको छैन । बच्चाको ‘पोष्टमार्टम रिपोर्ट’ पनि अझै आइपुगेको छैन”, उहाँले भन्नुभयो, “अनुसन्धानका क्रममा भएको कुरा पुष्टि नहुँदै यकिनका साथ भन्न सक्दैनौँ ।”      उक्त चितुवा नियन्त्रण गर्न कार्यालयले सामुदायिक वनको विभिन्न स्थानमा क्यामेरासमेत जडान गरेको थियो । चितुवा नियन्त्रणमा लिन बाँके राष्ट्रिय निकुञ्जका दुईवटा हात्तीलाई नौ दिनसम्म गिजरा वन क्षेत्रमा परिचालन गरिएको थियो ।       ठाउँठाउँमा क्यामेरा जडान गरी जङ्गलमा आहारा राखेर खोरमा फसाउन सफल भएको डिभिजन वन कार्यालयले जनाएको छ । नियन्त्रणमा लिइएको चितुवालाई डिभिजन वन कार्यालय बाँकेमा राखिएको छ ।  चितुवाको स्वास्थ्य परीक्षण गरेपछि उक्त चितुवालाई कहाँ छाड्ने भन्ने विषमा सम्बन्धित पक्षबीच छलफल गरी निर्णय गरिने डिभिजन वन प्रमुख गुप्ताले जानकारी दिनुभयो ।       उजाड अवस्थामा रहेको खाली जमिनमा वृक्षरोपण गरेर करिब तीन दशकअघि यहाँका स्थानीयले वन संरक्षण गर्दै आएका हुन् । वन, जङ्गल बढ्दै गएपछि स्थानीयले गिजरा सामुदायिक वन उपभोक्ता समूह स्थापना गरेका थिए । अहिले उक्त वन क्षेत्र विभिन्न वन्यजन्तुको बासस्थान बनेको छ ।       राँझा सबडिभिजन वन कार्यालयका प्रमुख एवं सहायक वन अधिकृत राजबहादुर चौधरीले चितुवालाई नियन्त्रणमा लिन निकै सास्ती बेहोर्नु परेको बताउनुभयो ।  “धेरै दिनको प्रयासपछि चितुवालाई नियन्त्रणमा लिन सक्यौँ”, उहाँले भन्नुभयो, “यसलाई नियन्त्रणमा लिएसँगै स्थानीयमा केही सहजता महसुस भएको पाएका छौँ ।”      खजुरा गाउँपालिकाका अध्यक्ष डम्मर विकले चितुवा नियन्त्रणमा लिन खटिएका सबैलाई धन्यवाद दिँदै पीडित परिवारलाई राज्यले आवश्यक राहत तथा क्षतिपूर्ति दिनुपर्नेमा जोड दिनुभयो । आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सबैले सजगता अपनाउनुपर्ने आवश्यकता रहेको उहाँले बताउनुभयो ।