नवलपरासी: पश्चिम नवलपरासीको दाउन्नेमा सडक भासिएपछि अवरुद्ध यातायात सेवा दुईतर्फी रुपमा सञ्चालनमा आएको छ । गत शुक्रबार साँझ साढे ५ बजे बर्दघाट नगरपालिका–४ दाउन्नेस्थित खुर्सानीखोलामा भासिएको सडक मर्मतपछि आज बिहान ११ बजेदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक एवं सूचना अधिकारी रेशम बोहराले जानकारी दिनुभएको छ । शनिबार विहान ९ बजेदेखि एकतर्फी सञ्चालनमा ल्याइएपनि मालवाहक सवारीसाधनलाई भने दाउन्ने प्रवेशमा रोक लगाइएको थियो ।
काठमाडौं: स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु तीन सयले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, शुक्रबार प्रतितोला रु एक लाख ६१ हजार तीन सयमा कारोबार भएको छापावाला सुन आजका लागि भने रु एक लाख ६१ हजार निर्धारण भएको छ । यस्तै, चाँदीको मूल्य तोलामा रु पाँचले बढेको छ । शुक्रबार प्रतितोला रु एक हजार नौ सय ८० मा कारोबार भएको चाँदी आजका लागि भने रु क हजार नौ सय ८५ मा कारोबार हुने गरी निर्धारण भएको छ ।
काठमाडौं: नेपाल बैँक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु दुुई करोड सहयोग गरेको छ । नेपाल बैँक सञ्चालक समितिका अध्यक्ष डा चन्द्रबहादुर अधिकारीसहितका पदाधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष आज उक्त चेक हस्तान्तरण गर्नुभयो । बाढी, पहिरो र डुबानका कारण प्रभावित जनताको राहतका लागि बैंकले उक्त सहयोग गरेको हो । सो अवसरमा प्रधानमन्त्री ओलीले धन्यवाद दिँदै लगानीकर्ता र उद्योगधन्धालाई प्रोत्साहन हुने गरी कर्जा प्रवाह गर्न र खराब कर्जाप्रति कडाइका साथ काम गर्न आग्रह गर्नुभयो । उहाँले कसैको अनुहार नहेरी प्रणाली र कानुनअनुसार काम गर्न पनि आग्रह गर्नुभयो । यसअघि शुक्रबार विभिन्न वित्तीय संस्थाबाट गरी रु तीन करोड ४८ लाखको चेक हस्तान्तरण भएको थियो । मन्त्रिपरिषद्को गत सोमबारको बैठकले उक्त कोषमा प्रारम्भिकरुपमा रु एक अर्ब रकम जम्मा गर्ने निर्णय गरेको थियो । कोषमा अन्य संस्था र व्यक्तिहरुबाट सहयोगको क्रम जारी छ ।
काठमाडौं: हालैको बाढीपहिरामा परी हालसम्म दुई सय ४४ जनाको मृत्यु भएको छभने १९ जना बेपत्ता छन् । अन्य एक सय ७९ जना घाइते भएका छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छभने सहायता परिचालन र अवरुद्ध राजमार्गको मर्मतसम्भार गरी यातायातका साधन सञ्चालनको प्रयास जारी छ । “बाढीपहिरो पीडितको विवरण सङ्कलन स्थानीयस्तरबाट भइरहेको छ । त्यो प्राप्त भएपछि अस्थायी आवासका निम्ति सरकारले प्रदान गर्ने सहायता रकम वितरण हुनेछ । स्थानीय तहबाट प्रभावित परिवारलाई खाद्यान्नलगायत सहयोग प्रदान भएको छ”, उहाँले भन्नुभयो । सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमार्फत प्रतिमृतक रु दुई लाखका दरले निजका परिवारलाई सहायता रकम उपलब्ध गराएको छ । हालसम्म त्यस्तो सहायता एक सय ६० परिवारले पाइसकेका छन् । बाढीपहिरामा परी सबैभन्दा बढी काभ्रेपलाञ्चोकमा ७२ जनाको मृत्यु भएको छभने त्यहाँ हालसम्म ५९ मृतकका आफन्तलाई आर्थिक सहयोग प्रदान गरिएको प्रवक्ता तिवारीले बताउनुभयो ।
काठमाडौं: जल तथा मौसम विज्ञान विभागले देशभर मनसुनी वायुको प्रभाव रहेको तथा पूर्वी र मध्यभागमा बङ्गलादेशको उत्तर भूभाग तथा भारतको पश्चिम बङ्गाल आसपासको क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको छ । विभागका अनुसार हाल लुम्बिनी र गण्डकीसहित देशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । लुम्बिनीका केही र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । आज राति मुलुकका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । साथै कोशी र गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागले आगामी २४ घण्टामा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने पूर्वानुमान गरेको छ ।
काठमाडौं: नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । केन्द्रीय बैंकका अनुसार विदेशी मुद्राको विनिमय दर आज स्थिर छ । राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ छ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ६६ पैसा निर्धारण गरेको छ । युरोपियन युरो एकको खरिददर एक सय ४७ रुपैयाँ ८९ पैसा र बिक्रीदर एक सय ४८ रुपैयाँ ५६ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७६ रुपैयाँ ५५ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ ३४ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर एक सय ५७ रुपैयाँ ४७ पैसा र बिक्रीदर एक सय ५८ रुपैयाँ १७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९१ रुपैयाँ ७२ पैसा र बिक्रीदर ९२ रुपैयाँ १३ पैसा, क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९९ रुपैयाँ ३५ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रुपैयाँ ३१ पैसा र बिक्रीदर एक सय तीन रुपैयाँ ७७ पैसा निर्धारण गरिएको छ । जापानी येन १० को खरिददर ९ रुपैयाँ १५ पैसा र बिक्रीदर ९ रुपैयाँ १९ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रुपैयाँ १० पैसा र बिक्रीदर १९ रुपैयाँ १९ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३५ रुपैयाँ ७० पैसा र बिक्रीदर ३५ रुपैयाँ ८६ पैसा, कतारी रियाल एकको खरिददर ३६ रुपैयाँ ७८ पैसा र बिक्रीदर ३६ रुपैयाँ ९४ पैसा तोकिएको छ । केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर ४ रुपैयाँ ०५ पैसा र बिक्रीदर ४ रुपैयाँ ०७ पैसा, युएई दिराम एकको खरिददर ३६ रुपैयाँ ५० पैसा र बिक्रीदर ३६ रुपैयाँ ६६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रुपैयाँ ७७ पैसा र बिक्रीदर ३१ रुपैयाँ ९१ पैसा कायम छ । साउथ कोरियन वन एक सयको खरिददर १० रुपैयाँ ०१ पैसा र बिक्रीदर १० रुपैयाँ ०५ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १३ रुपैयाँ ०४ पैसा र बिक्रीदर १० रुपैयाँ ०८ पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रुपैयाँ ८३ पैसा र बिक्रीदर १९ रुपैयाँ ९२ पैसा निर्धारण गरिएको छ । राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १७ रुपैयाँ २७ पैसा र बिक्रीदर १७ रुपैयाँ ३५ पैसा, कुवेती दिनार एकको खरिददर चार सय ३८ रुपैयाँ १२ पैसा र बिक्रीदर चार सय ४० रुपैयाँ ०८ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ५५ रुपैयाँ ४८ पैसा र बिक्रीदर तीन सय ५७ रुपैयाँ ०७ पैसा तोकेको छ । भारतीय रुपैयाँ एक सयको खरिददर एक सय ६० रुपैयाँ र बिक्रीदर एक सय ६० रुपैयाँ १५ पैसा तोकेको छ । राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ ।
काठमाडौं: नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । श्री दुर्गा सप्तशती (चण्डी)को देवी कवचमा भनिएको छ, ‘कुत्सितः ऊष्मा कुष्मा–त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररुपायां यस्याः सा कूष्माण्डा’ अर्थात् त्रिविध तापयुक्त संसार जसको पेटमा छ, त्यही भगवती कूष्माण्डाका रूपमा चिनिनुहुन्छ । नवरात्रको पहिलो दिन असोज १७ गते बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरियो । दोस्रो दिन शुक्रबार पूजास्थलमा दोस्रो ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो भने तेस्रो दिन शनिबार चन्द्रघण्टा देवीको निष्ठाका साथ पूजाआराधना गरिएको थियो । बडादसैँको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती ९चण्डी०, श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै विश्वासका आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष पूजाआराधना गर्छन् । नौ दिनसम्म पूजाआराधना गरेको प्रसाद विजयादशमीदेखि कोजाग्रत पूर्णिमाका दिनसम्म लगाइन्छ । यसरी १५ दिनसम्म नेपालीले बडादसैँ पर्व मनाउँछन् । दुर्गापक्ष समेत भनिने दसैँको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौँ दिन स्कन्दमाता, छैटौँ दिन कात्यायनी, सातौँ दिन कालरात्रि, आठौँ दिन महागौरी र नवौँ दिन सिद्धिदात्रीको पूजाआराधना गर्ने शास्त्रीय नियम छ । यिनै नौवटा दुर्गाका रूपलाई नवदुर्गा पनि भनिन्छ । नवरात्रमा देशभरका शक्तिपीठमा पूजाआराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ । काठमाडौँ उपत्यकाका गुह्येश्वरी, जयवागेश्वरी, मैतीदेवी, कालिकास्थान, नक्साल भगवती, भद्रकाली, शोभाभगवती, रक्तकाली, श्वेतकाली, बिजेश्वरी, कङ्केश्वरी, कलङ्कीमाई, चामुण्डा देवी, सुन्दरीमाई, बज्रयोगिनी, इन्द्रायणीलगायत मन्दिरमा बिहानैदेखि भक्तजनको घुइँचो लाग्छ । यसैगरी उपत्यका बाहिरका पलाञ्चोक भगवती, नाला भगवती, चण्डेश्वरी, पाल्चोक भगवती, कमलामाई, इच्छाकामना, मनकामना, गढीमाई, छिन्नमस्ता, गहवामाई, बागलुङ कालिका, विन्ध्यवासिनी, तालबाराही, शैलेश्वरी, उग्रतारा, बागेश्वरीलगायत शक्तिपीठमा पनि भक्तजनको घुइँचो लाग्छ ।
भक्तपुर: नेपाल पत्रकार महासङ्घको प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला मध्यपुरथिमिको बोडेमा गएराति सम्पन्न भएको छ । नेपाल पत्रकार महसङ्घ केन्द्रीय समितिको आयोजना तथा नेपाल पत्रकार महासङ्घ भक्तपुर शाखाको व्यवस्थापनमा बोडेमा शनिबार बिहानदेखि राष्ट्रिय भेला सुरु भएको थियो । भेलाले आगामी मङ्सिर २८ गते शुक्रबार महासङ्घका तीनै तहको निर्वाचन गर्ने निर्णय गरेको भेला सम्पन्न पछि महासङ्घका महासचिव रोशन पुरीले जानकारी दिनुभयो । भेलाले सदस्यता विवादको सन्दर्भमा सर्वसम्मत भएका जिल्ला शाखाको सदस्यता जिल्लाको कायम गर्ने, प्रदेशले थप गरेको नामावलीलाई सर्वसम्मतले स्वीकार गर्ने निर्णय भएको उहाँले बताउनुभयो । त्यस्तै सदस्यताको विवाद भएको खण्डमा केन्द्र र प्रदेशको एक–एक जना प्रतिनिधि र शाखा अध्यक्ष रहनेगरी समिति गठन गरेर सर्वसम्मतबाट विवाद टुङ्गो लगाउने निर्णय भएको महासचिव पुरीले जानकारी दिनुभयो । उहाँका अनुसार आगामी कात्तिक मसान्तसम्म सदस्यता टुङ्गो लगाउने निर्णय गर्दै टुङ्गो लागेको सदस्य प्रदेशले केन्द्र पठाउने र केन्द्रले अभिलेख राख्ने निर्णय भएको छ । नेपाल पत्रकार महासङ्घको सदस्यता विवादका कारण पटक–पटक तोकिएको निर्वाचनको मिति सारेर अन्योल बनेको अवस्थामा प्रदेश तथा जिल्ला अध्यक्षहरूको राष्ट्रिय भेला आयोजना गरेको हो । कार्यवाहक अध्यक्ष बाला अधिकारीको अध्यक्षतामा भएको भेलामा पूर्वकेन्द्रीय अध्यक्ष डा सुरेश आचार्य, डा महेन्द्र विष्ट, तारानाथ दाहाललगायत विभिन्न जिल्ला एवं प्रदेशका अध्यक्षहरूको सहभागिता थियो ।
गण्डकी: नवरात्रको तेस्रो दिन शनिबार सखारैदेखि बागलुङस्थित कालिका भगवती मन्दिरमा भक्तजनको चहपहल देखिन्थ्यो । कोही पूजाका सर्जाम थालीमा सजाएर लाममा उभिएका थिए । कोही भाकलको बोका डो¥याइरहेका त कोही भाले कोखिलामा च्यापरिहेका देखिन्थे । शक्तिरुवरुपा देवी कालिकाको पूजाअर्चनाका लागि टाढा–टाढाबाट दर्शनार्थी बागलुङ आइपुगेका थिए । मन्दिरको माहोलले दसैँ आएको आभास दिलाएको थियो । भक्तजनहरु एकापसमा शुभकामना साटिरहेका थिए । मन्दिर परिसरको वातावरण पर्वमय बनेको थियो । पूजाआजाका लागि व्यग्र भक्तजनले धर्मप्रतिको आफ्नो आस्थालाई झल्काइरहेका थिए । घण्टौँसम्म लाममा उभिँदा पनि उनीहरु शान्त र धैर्य देखिन्थे । पर्वतको पातीचौरकी चीनमाया पुनले विदेशमा रहेका छोराछोरीले धूपध्वजा चढाइदिन भनेकाले उनीहरुको मनोकामनाका लागि कालिका मन्दिर आएको सुनाउनुभयो । धर्मकर्ममा विश्वास भएकाले बेलाबखत पूजाआजाका लागि मन्दिर आउने गरेको उहाँको भनाइ थियो । भाले भाकल चढाउन म्याग्दीको सिँगाबाट आउनुभएका खड्कबहादुर कार्कीले मनले चिताएको पूरा हुने विश्वासमा भाकल गरेको बताउनुभयो । देवी भगवतीको दर्शन गर्नाले मनले आँटेताकेको पूरा हुने जनविश्वासले भक्तजनहरु मन्दिर परिसरमा लामबद्ध थिए । मनोकाङ्क्षा पूरा गर्नकै लागि कतिपयले बोका, कुखुरा, हाँस, परेवा आदिको भाकल गरेका सुनाए । कोही भाकलको वाचा पूरा गर्न मन्दिर आएका भेटिए । बडादसैँको घटस्थापनादेखि मन्दिरमा भक्तजनको चहलपहल बढेको मन्दिर गुठी व्यवस्थापन समितिका अध्यक्ष कुमार खड्काले बताउनुभयो । दसैँको फूलपाती र अष्टमीका दिनमा ठूलो सङ्ख्यामा भक्तजन आउने उहाँको भनाइ थियो । “बडादसैँभर बिहान तीन बजेदेखि नै मन्दिर खुला हुन्छ, यस अवधिमा दैनिक हजारौँ भक्तजन मन्दिर दर्शनका लागि आउनुहुन्छ”, उहाँले भन्नुभयो, “भक्तजनको सेवा सुविधा र सहजताका लागि पूजाको सम्पूर्ण व्यवस्थापन चुस्त बनाइएको छ ।” मन्दिरको सुरक्षा प्रबन्ध मिलाउन प्रहरी प्रशासन र स्वयंसेवक खटाइएको उहाँले बताउनुभयो । मन्दिर परिसरमा आकस्मिक स्वास्थ्य सेवाकक्ष सञ्चालन गरिएको छ । भक्तजनको मनोरञ्जनका लागि नियमित भजन र साँझमा आरतीको प्रबन्ध मिलाइएको छ । नवरात्रभर पाँच लाख भक्तजनले मन्दिरको दर्शन गर्ने आँकलन गरिएको अध्यक्ष खड्काले बताउनुभयो । यसपटकबाट भक्तजनलाई प्रसादी पनि वितरण गर्न सुरु गरिएको छ । विसं १५९१ मा बागलुङ नगरपालिका–१ मा स्थापित कालिका भगवती मन्दिरमा बर्सेनि बडादसैँ र चैतेदसैँमा विशेष मेला लाग्ने गर्छ । बडादसैँको पूजासँग कालिका भगवती मन्दिरको लामो इतिहास र परम्परा जोडिएको अध्यक्ष खड्काले बताउनुभयो । मध्यकालमा पर्वत राज्य हुँदादेखि नै यस मन्दिरमा पूजाआजाको थिति बसेको इतिहासमा उल्लेख छ । तत्कालीन पर्वते राजा प्रतापीनारायण मल्लले पाल्पाका राजा मणिमुकुन्द सेनकी छोरीसँग विवाह गर्ने क्रममा दाइजोस्वरुप ल्याएको माझकी देवीको मूर्तिलाई अहिले कालिका मन्दिर रहेको ठाउँमा प्रतिस्थापन गरि पूजापाठ सुरु गरिएको किम्बदन्दी छ । पाल्पाली राजाले आफूले पूजाआजा गर्दै आएको माझकी देवीको मूर्ति छोरीलाई दाइजो दिएको र सो मूर्तिलाई पर्वत राज्यमा ल्याउने क्रममा यहाँ डोली बिसाएको इतिहासमा उल्लेख छ । पछि डोली उठाउन खोज्दा कसैले उठाउन नसकेपछि देवीको मूर्तिलाई यहीँ राखेर पूजापाठ सुरु गरिएको हो । तिनै माझकी देवीलाई अहिले कालिका भगवतीका रुपमा पूजिन्छ । सुरुमा खरले छाएको झुप्रोमा मन्दिर रहेको र पछि विभिन्न समयमा पुनःनिर्माण हुँदै मन्दिरले अहिलेको स्वरुप लिएको हो । उक्त मन्दिरमा महाकाली, महालक्ष्मी र महासरस्वतीको पूजा गरिन्छ । “देशका विभिन्न भूभागदेखि भारतसम्मका धार्मिक पर्यटक कालिका मन्दिर दर्शनका लागि आउने गर्छन”, अध्यक्ष खड्काले भन्नुभयो, “कालिका भगवती मन्दिर नेपालकै प्रसिद्ध धार्मिक शक्तिपीठका रुपमा चिनिन्छ ।” नवरात्रको अष्टमी र नवमीको दिन विशेष प्रकारले बलि दिएर पूजा गर्ने गरिएको छ । मन्दिरमा परेवा, कुखुरा, हाँस, बोका, सु्ङ्गुर र राँगोकोसमेत बलि दिइन्छ । नवदुर्गाका बेला विवाहको समेत शुभमूर्हत पर्ने भएकाले मन्दिरमा विवाह गर्न पनि उत्तिकै आउने गरेका छन् । विवाह, पूजाआजा, यज्ञ, भेटी, दान लगायतबाट मन्दिरको आम्दानी यस अवधिमा बढ्ने गरेको छ । विशिष्ट पहिचान बोकेको कालिका मन्दिरको महिमागान अनेक तबरबाट भइरहेको छ । गायक शुभराम भारी र गायिका बिमाकुमारी दुराले २३ वर्षअघिको गीतमा देवी कालिकालाई समेट्नुभएको थियो । ‘आँटेको पु¥याइदेऊ रेशम बागलुङ कालिका...’

