पोखरा:  राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गण्डकी प्रदेश प्रमुखसमक्ष आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पेश गरेको छ ।   आयोगका कार्यवाहक अध्यक्ष जुद्ध बहादुर गुरूङले शुक्रबार प्रदेश...

गोरखा:    युनाइटेड मिसन टु नेपाल नामक संस्थाले २०१३ सालमा गोरखामा खोलेको अस्पताल २०५९ सालदेखि संघ सरकार मातहत छ ।  गत वर्ष फागुनमा उक्त अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय संघ सरकारको मन्त्रिपरिषद् बैठकले गरेपनि प्रक्रिया पूरा भइसकेको छैन ।  ५० शय्यामा स्तरोन्नति गरेर संघ सरकारले प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको उक्त अस्पतालको अवस्था बुझ्न गण्डकी सरकारका स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठक पालुङटार पुगेका छन् ।  ग्रामीण भेगमा विशेषज्ञ सेवा प्रवाह गरिरहेको अस्पतालको जनशक्ति र भौतिक पूर्वाधारको अवस्था बुझ्न मन्त्री पाठक आइतबार आँपपिपल पुगेका हुन् । ‘त्यहाँ उपकरण र भौतिक पूर्वाधारको समस्या देखिएन ।  उपकरणअनुसार जनशक्ति पनि व्यवस्थापन गरिएको रहेछ,’ उनले भने, ‘अब कर्मचारीको तलब सुविधाको समस्या हुनेजस्तो बुझियो । संघ सरकारले हस्तान्तरण गरिसकेपछि त्यो समस्या पनि समाधान हुन्छ ।’ आँपपिपल अस्पतालमा विशेषज्ञ चिकित्सकसहित ६४ जना कार्यरत छन् । तीमध्ये ३२ जनालाई संघ सरकारबाट प्राप्त अनुदानमार्फत पालुङटार नगरपालिकाले र बाँकीलाई अस्पताल व्यवस्थापन समितिले तलब सुविधा भुक्तानी गर्दै आएको छ ।  यो अस्पतालले दाँत, आँखा, हाडजोर्नी, जनरल मेडिसिन, मानसिक स्वास्थ्य, सामान्य शल्यक्रियालगायत सेवा प्रवाह गर्छ ।  आफूले प्रधानमन्त्री र संघ सरकारका स्वास्थ्यमन्त्रीलाई अस्पताल हस्तान्तरणको प्रक्रिया पूरा गरिदिन मन्त्री हुनेबित्तिकै भेटेर आग्रह गरेको मन्त्री पाठकले सुनाए ।  कार्तिकभित्र हस्तान्तरण भएमा त्यसपछि उक्त अस्पतालको सबै जिम्मा प्रदेश सरकारले लिने उनले बताए ।  ‘आँपपिपल अस्पताल प्रविधिमैत्री पनि रहेछ । त्यहाँ इलोक्ट्रोनिक मेडिकल सिस्टम छ । एकपटक आएको बिरामीले कागजात बोकेर आउनुपर्ने झन्झट नहुने बुझेँ,’ मन्त्री पाठकले भने, ‘आँपपिपल अस्पतालको निरीक्षणमा जाँदा नयाँ कुरा सिक्ने मौका मिल्यो । अरु अस्पतालमा पनि यो प्रविधि जडान गर्न पहल हुन्छ ।’  मन्त्री पाठकले आइतबार नै गोरखा जिल्ला अस्पतालको निरीक्षण गरे । ५० शय्याको उक्त अस्तपालमा नयाँ भवन रहेको र त्यहाँ एमआरआई र सीटीस्क्यान सेवा माग भएको मन्त्री पाठकले बताए ।  ‘गोरखा अस्पताल प्रदेशकै धेरै बिरामी उपचार गर्ने जिल्ला अस्पताल हो । त्यहाँको व्यवस्थापन समितिले एमआइरआई र सीटीस्क्यानको माग गर्नुभएको छ,’ उनले भने ।  माग भएका उपकरण जनशक्तिसहित व्यवस्थापन गर्न प्रदेश सरकार सकारात्मक रहेको मन्त्री पाठकले बताए ।  आफूले सार्वजनिक गरेका स्वास्थ्य सुधारका कार्यक्रम कार्यान्वयनमा तदारुकता साथ काम भइरहेको र त्यसमा सक्रिय सहयोग गर्न दुई अस्पतालका व्यवस्थापन समिति, स्वास्थ्यकर्मी, कर्मचारीलाई उनले आग्रह गरे ।   

दाङ:   कुवामा डुबेर एकजनाको मृत्यु भएको छ ।  तुलसीपुर उपमहानगरपालिका–२ कुमलगडी निवासी २९ वर्षीय रजमान चौधरीको आज बिहान कुवामा डुबेर मृत्यु भएको हो ।       आफ्नै घरको कुवामा डुबेको अवस्थामा चौधरी मृत फेला परेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिनुभयो ।  चौधरीकी भाउजु आँसी चौधरीले कुवाबाट पानी तान्ने क्रममा रजमान डुबेपछि प्रहरीलाई खबर गरेको बताउनुभयो ।  प्रहरीले निजको शव निकालेर परिवारलाई जिम्मा लगाएको छ ।  

काठमाडौं:    सरकारले उपचार खर्च गर्न बेहोर्न नसक्नेलाई जलनपीडितको निःशुल्क उपचार गर्ने निर्णय गरेको छ ।  आज मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले कस्मेटिकबाहेकको जलन उपचारको व्यवस्था निःशुल्क गर्ने निर्णय भएको जानकारी दिनुभयो ।       सरकारले कोशी प्रदेशमा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेस प्रदेशमा नारायणी अस्पताल, बागमती प्रदेशमा कीर्तिपुर अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, लुम्बिनी प्रदेशमा भेरी अस्पताल, कर्णाली प्रदेशको सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमार्फत निःशुल्क उपचारको व्यवस्था गरिने जनाएको हो ।      स्वास्थ्य मन्त्रालयको आकलनअनुसार नेपालमा वार्षिक ५७ हजार व्यक्तिहरु जलनबाट प्रभावित हुने गरेका छन् ।  हालसम्म जलनको उपचार कीर्तिपुर अस्पताल, त्रिवि शिक्षण अस्पताल, पाटन अस्पताल र सुस्मा मेमोरियल अस्पतालमा हुँदै आएको छ ।  वीर अस्पतालले लामो समयदेखि बन्द रहेको बर्न युनिट यही भदौदेखि सञ्चालनमा ल्याइसकेको छ । 

गलकोट:     बागलुङको कुडुलेमा शालग्राम संरक्षणका लागि सङ्ग्रहालय बनेको छ वर्ष पुग्यो । तिरुपति बालाजीधाममा सङ्ग्रह गरेका २४ हजार शालग्रामलाई सङ्ग्रहालयमा राख्ने उद्देश्यले सङ्ग्रहालय बनाएर संरक्षण थालिएको थियो ।      संरक्षण अभियानले तीव्रता पाएपछि शालग्रामको सङ्ख्या बढाएर सवा लाख पुर्‍याइयो । अहिले उक्त सङ्ग्रहालयमा शालग्रामको सङ्ख्या बढाएर पाँच लाख पुर्‍याउने लक्ष्यसहित शालग्राम खोजीलाई पनि तीव्रता दिइएको छ ।       भूमिगत सङ्ग्रहालयमा सजायर राखिएका शाखग्राम शिला दर्शन गर्न आउने नेपाली तथा विदेशी पर्यटकको सङ्ख्या बढेपछि शालग्रामको सङ्ख्यालाई थप गर्ने योजना श्रीधराचार्य शालग्राम सङ्ग्रहालयले लिएको छ ।       श्रीधराचार्य शालग्राम सङ्ग्रहालयका अध्यक्ष ऋषि प्रपन्नचार्यले लोप हुन थालेको शालग्रामको महत्व बढ्दै जानु, सङ्ग्रहालय अवलोकनका लागि आउने धार्मिक पर्यटकको सङ्ख्या बढ्दै गएकाले सङ्ख्या थपेर पाँच लाख पु¥याउने उद्देश्यअनुसार शालग्राम जुटाउन थालिएको बताउनुभयो ।       “कालीगण्डकी नदीमा मात्र पाइने शालग्राम शिला हिन्दू धर्मावलम्बीका लागि महत्वपूर्ण र पुज्य छ । कालीगण्डकीको दोहन र शालग्रामको चोरी बढेकाले पछिल्लो पुस्तालाई शालग्राम देख्नै नपाएने अवस्था नआउला भन्न सकिँदैन”, अध्यक्ष प्रपन्नचार्यले भन्नुभयो, “शालग्रामको संरक्षणसँगै धार्मिक पर्यटक भित्र्याउने हाम्रो लक्ष्य थियो, २४ हजार शालग्राम सङ्कलन गरी थालिएको अभियानलाई सवा लाखमा पुर्‍याएको थियो ।”      अहिले सङ्ग्रहालयको पूर्वतर्फ शालग्राम राख्न पूर्वाधार तयार गरी दोस्रो चरणअन्तर्गत करिब तीन लाख शालग्राम पुर्‍याउने उद्देश्यले सङ्कलनमा जुटेको प्रपन्नचार्यले जानकारी दिनुभयो । “केही वर्षभित्र शालग्रामको सङ्ख्या बढाएर पाँच लाख पुर्‍याउने योजना छ, एकै पटक पाँच लाख शालग्राम सङ्ग्रह गरिएको स्थान विश्वमा चर्चित बन्ने विश्वास लिएका छौँ”, उहाँले भन्नुभयो ।      प्रपन्नचार्यका अनुसार शालग्राम संरक्षण र पर्यटकीय पूर्वाधार निर्माण एकसाथ अघि बढिरहेकोे छ । लोपन्मुख मानिएको शालग्राम शिलाको सङ्ग्रह गरी बनाइएको सङ्ग्रहालयमा पर्यटकको आकर्षण बढ्न थालेपछि शालग्राम संरक्षण अभियानले तीव्रता पाएको उहाँले उल्लेख गर्नुभयो ।  धार्मिक महत्व जगाउन, कालीगण्डकी सभ्यता जोगाउन र शालग्रामको संरक्षण गर्न अभियान थालिएको भन्दै वर्षौँदेखिको योजनाले क्रमशः सफलता पाउँदै गएको उहाँले बताउनुभयो ।       विश्वमै दुर्लभ मानिएको शालग्राम शिलाको संरक्षण र प्रचारप्रसारका कारण बागलुङ–४ कुडुलेस्थित शालग्राम सङ्ग्रहालयमा धार्मिक पर्यटक आउने क्रम बढ्दै गएको छ । दसैँ र तिहार जस्ता चाडपर्वको समयमा धेरै धार्मिक पर्यटक आउने गरेका बताउँदै अध्यक्ष प्रपन्नचार्यले चार वर्षदेखि सर्वसाधरणलाई खुल्ला गरिएको भूमिगत सङ्ग्रहालयले शालग्रामको संरक्षण गर्न थालेपछि भारतीय पर्यटकसमेत आकर्षित हुन थालेका जानकारी दिनुभयो ।      मुस्ताङको मुक्तिनाथबाट म्याग्दी, बागलुङ र पर्वत भएर बहने कालीगण्डकी (कृष्णगण्डकी) नदीमा मात्र पाइने शालग्राम शिलाको संरक्षण गर्न बागलुङ–४ कुडुलेस्थित तिरुपति बालाजीधाममा श्रीधराचार्य शालग्राम सङ्ग्रहालय निर्माण भएपछि शालग्राम दर्शन गर्न आउने धार्मिक पर्यटकको सङ्ख्या वृद्धि भएको हो ।  शालग्राम संरक्षणसँगै यसको सङ्ख्या बढाउन सङ्कलन अभियान थालिएको अध्यक्ष प्रपन्नचार्यले उल्लेख गर्नुभयो ।      हिन्दूधर्मावलम्बीका लागि कालो रङ्गको बाटुलो शिला ९ढुङ्गा० शालग्राम अति पूजनीय मानिन्छ । वैष्णवहरु र सनातनीहरुले पनि शालिग्रामलाई साक्षात विष्णुको अवतारका रुपमा लिने गरेकाले यसको महत्व धेरै रहेको अध्यक्ष प्रपन्नचार्यले जानकारी दिनुभयो ।       सङ्ग्रहालय अवलोनका लागि विद्यालय, आमा समूह, सहकारी, स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि तथा धार्मिक पर्यटक उल्लेख्य मात्रमा यहाँ आउने गरेका छन् । अहिले दैनिक तीन सयको हाराहारीमा पर्यटक शालग्राम दर्शनका लागि  आउने गरेका अध्यक्ष प्रपन्नचार्यले जानकारी दिनुभयो ।       शालग्रामको महिमा बढाउन सङ्ग्रहालयले शालग्राम महोत्सव, शालग्रामसम्बन्धी प्रवचन गरिरहेको बताउँदै शालग्राम दर्शनपछि पुण्य कमाउने विश्वासका साथ यहाँ आउने दर्शनार्थीको सङ्ख्यामा वृद्धि हुँदै गएको स्थानीय रामप्रसाद शर्माले उल्लेख गर्नुभयो । शालग्राम थप गरेर पाँच लाख पुर्‍याउने अभियानले स्थानीयमा उत्साह छाएको उहाँको भनाइ छ ।      भगवान् शिवको प्रिय अस्त्रका रुपमा मानिने शालग्राम सङ्ग्रहालय त्रिशूल आकारमा भू–गर्भभित्र ७६ मिटर लामो सुरुङ निर्माण गरी व्यवस्थित गरिएको छ ।  यहाँ सङ्ग्रहालय, त्रिवेणीधामबाट दामोदर कुण्डसम्मको नक्सा, विभिन्न धार्मिक महत्वका मठमन्दिर, वृतचित्र, प्रदर्शनी कक्षलगायत संरचना निर्माण गरिएका छन् । सङ्ग्रहालयमा स–साना तथा तीन सय किलोसम्मका शालग्राम संरक्षण गरी राखिएका छन् ।

मनाङ:    मनाङको ङिस्याङ गाउँपालिकामा लेक लागेर एकजना पर्यटकको मृत्यु भएको छ ।  ङिस्याङ–३ याकखर्कमा टेन्टमा बसिरहेका स्विजरल्याण्डका नागरिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।       चुलु फरेष्ट जाने क्रममा टेन्टमा बसेका स्विजरल्याण्डका नागरिक राहदानी नं एस ०८८५१८७ भएका करिब ६३ वर्षीय मार्कुस सेसलरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक राजेन्द्रबहादुर केसीले जानकारी दिनुभयो ।  राति सकुशल सेतेका निज बिहान नउठेपछि लेक लागेर मृत्यु भएको अनुमान गरिएको उहाँले बताउनुभो ।       “लेक लागेर मृत्यु भएको छ भन्ने खबर आज बिहान सुरक्षामा खटिएका गार्ड कर्मा शेर्पामार्फत प्राप्त भएको हो”, प्रहरी निरीक्षक केसीले भन्नुभयो, “सूचना प्राप्त भएलगत्तै घटनास्थलमा पुगेर उद्धार गरी हेलिकप्टरमार्फत काठमाडौँ पठाउने तयारी भइरहेको छ ।” उहाँले १० विदेशी र २३ जना नेपाली नागरिकको उद्धार गरिएको जानकारी दिनुभयो ।  

पोखरा:    आठ हजार मिटरभन्दा बढी उचाइका १४ वटा हिमाल सफल आरोहण गर्नुभएका आरोही तेजन गुरुङलाई गुरुङ पर्यटन व्यवसायी सङ्घ (जिटिन) गण्डकी प्रदेशले पोखरामा सम्मान गरेको छ ।      उद्योग तथा पर्यटन मन्त्रालय गण्डकी प्रदेशको समन्वय र नेपाल पर्यटन बोर्डको प्रवद्र्धनमा आयोजित एक कार्यक्रमबीच गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्याल, जिटिन गण्डकीका अध्यक्ष किसमकुुमारी गुरुङ, कार्यक्रम संयोजक एवं जिटिन गण्डकीका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङलगायतले संयुक्त रुपमा आरोही गुरुङलाई सम्मान गर्नुभएको हो ।      कार्यक्रममा मन्त्री बस्यालले गण्डकी प्रदेश पर्वतीय पर्यटनका धेरै सम्भावना बोकेको प्रदेश भएको बताउँदै यसको प्रवद्र्धन र विकासमा सबैको सामूहिक प्रयास आवश्यक हुने बताउनुभयो ।  कार्यक्रम संयोजक एवं जिटिन गण्डकी प्रदेशका संस्थापक अध्यक्ष बोबरजङ्ग गुरुङले तेजनले गर्नुुभएको १४ वटा हिमालको आरोहण गण्डकी प्रदेशको मात्र नभई समग्र राष्ट्रको गौैरव भएको बताउनुभयो ।      गण्डकी पदयात्रा र पर्वतीय पर्यटनमा धेरै सम्भावनायुक्त प्रदेश भएको बताउँदै उहाँले अन्नपूर्ण चक्रीय पदमार्ग २१ दिनबाट छोटिएर पाँच÷छ दिनमा सीमित भएको वास्तविकतामा जिटिन गण्डकी प्रदेशले हालै कास्कीको ताङतिङदेखि मनाङको तिमाङसम्मको गुरुङ सम्पदा पदमार्गको प्रवद्र्धन गरेको जानकारी गराउनुभयो । चार दिनदेखि १४ दिन समयावधिको गुरुङ सम्पदा पदमार्गलाई अन्नपूर्ण चक्रीय पदमार्गसँग जोड्न सकिने उहाँले बताउनुभयो ।      जिटिन गण्डकी प्रदेशका अध्यक्ष किसमकुुमारी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा जिटिन गण्डकीका महासचिव तुल गुरुङ, सम्मानित व्यक्तित्व तेजन गुुरुङ, नेपाल पर्यटन बोर्डका पूर्वकार्यकारी सदस्य गणेशबहादुर भट्टराई, पोखरा पर्यटन परिषद्का उपाध्यक्ष चौबहादुुर गुरुङ, नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुन्दन मिश्र, पोखरा उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष बलराम आचार्यलगायतले नेपालको पर्वतीय पर्यटनका सम्भावनाको खोजी गर्नुपर्नेमा जोड दिनुभयो ।      कार्यक्रमअघि आरोही गुरुङलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पृथ्वीचोक, हल्लनचोक हुँदै कार्यक्रमस्थलसम्म बाजागाजाका साथ नगर परिक्रमा गराइएको थियो ।  गुरुङले विभिन्न मितिमा आठ हजार मिटरभन्दा बढी उचाइका सगरमाथा, ल्होत्से, अन्नपूर्ण, मकालुु, कन्चनजङ्घा, नान्गा पर्वत, जी टू, जी वान, बोर्ड पिक, के टू, मनास्लु, धौलागिरि, चोयु, शिसापन्ज्म हिमालहरू आरोहण गर्नुभएको थियो । कार्यक्रममा अर्का आरोही मिङ्मा शेर्पालाई पनि सम्मान गरिएको थियो । 

काठमाडौं:    पर्यटन व्यवसायी वसन्तराज मिश्रको उपचारका क्रममा ७२ वर्षको उमेरमा निधन भएको छ ।  मिश्र केही दिनअघि डेङ्गी लागेर नर्भिक अस्पताल भर्ना हुनुभएको थियो ।  मिश्रको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि कुपण्डोलस्थित निवासमा दुई घण्टा राखिने र दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।  मुलुकको पर्यटन विकासका खातिर टेम्पल टाइगर ग्रुपका अध्यक्ष मिश्रले पाँच दशकभन्दा लामो समय योगदान गर्नुभएको थियो । मिश्रका श्रीमती र एक छोरा हुनुहुन्छ ।

काठमाडौं:     हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको बताउँदै जल तथा मौसम विज्ञान विभागले कोशी, मधेश, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने जनाएको छ ।  कोशी, मधेश, बागमती र कर्णाली, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।  आज दिउँसो कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदलीदेखि मुख्यतया मौसम सफा रहने छ ।   कोशी, मधेश, बागमती प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भागका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । विभागका अनुसार आज राति कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनीलगायत बाँकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम  सफा रहने छ ।   कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

सप्तरी:     कञ्चनरुप नगरपालिका बरमझियामा आज बिहान बस दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छभने २६ जना घाइते भएका छन् ।  कञ्चनपुरस्थित इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परी आठ जना गम्भीर घाइते भएका छन् ।  उनीहरूलाई  उपचारका लागि विराटनगर पठाइएको छ ।  घाइते अन्य १८ जनाको उपचार स्थानीय धर्मेश्वर अस्पतालमा  भइरहेको छ । दुर्घटनामा उदयपुरकी २१ वर्षीया मैया राईको मृत्यु भएको हो । उदयपुरको गाईघाटबाट काँकडभिट्टा गइरहेको बस विपरीत दिशाबाट आएको मोटरसाइकल जोगाउन खोज्दा दुर्घटना भएको हो ।