भोटेकोशी बाढीपछि रसुवाका जलविद्युत् आयोजनाका सुरुङ तथा प्रभावित क्षेत्रमा हराइरहेकाको खोजीलाई तीव्र पारिएको छ ।   नेपाली सेना, आयोजनाका प्रतिनिधि तथा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले माथिल्लो...

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका तर्फबाट आयोजना गर्नुभएको ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयक विशेष सत्र अहिले यहाँ सुरु भएको छ । पर्वतीय क्षेत्रका जनताले भोग्नुपरेका समस्या तथा यसका चुनौतीलगायत वातावरणसँग सम्बन्धित समसामयिक विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले नेपालले विशेष सत्र आयोजना गरेको हो ।     कार्यक्रमको सुरुआत गर्दै नेपालका तर्फबाट वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र सचिव डा दीपक खराल, परराष्ट्र मन्त्रालयका सह–सचिव अमृत राई र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले विशेष सत्रमा कार्यक्रमबारे जानकारी गराउनुभयो ।  यसअघि आजै पर्वतीय मुलुक कीर्गिस्तानले जलवायु परिवर्तन र असरका विषयमा उच्चस्तरीय सत्र सञ्चालन गरेको थियो ।  उक्त सत्रमा नेपालका तर्फबाट राष्ट्रपति पौडेलले जलवायु समस्या र गरिबी निवारण कार्यक्रमलाई एकीकृत रुपमा सम्बोधन गर्न विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको थियो ।  नेपालद्वारा आयोजित विशेष सत्रमा संयुक्त अधिराज्य बेलायत, फ्रान्स, भूटान, कीर्गिस्तान, अजरबैजानलगायतका देशका राष्ट्र तथा सरकार प्रमुख र प्रतिनिधिसहित विज्ञ समुदायको सहभागिता रहेको छ । 

महोत्तरी:    हिन्दू परम्परामा नयाँ अन्न उपयोगमा ल्याउन होम गरिने चलन छ । यस वर्षको नयाँ धान थन्क्याएका किसानले यो अन्न उपयोगमा ल्याउन आज कात्तिक शुक्ल द्वादशीका दिन आज ‘न्वागी’ खाने पूजाको तयारी गरेका छन् । घरघरमा उत्सवका रुपमा गरिने यो पूजा खास पर्वकै रुपमा मनाइन्न्छ ।      न्वागी खाने पूजासँग दुई चलन जोडिएको पाइन्छ । कात्तिक शुक्लपक्षको एकादशी अर्थात् हरिबोधनीको व्रत साङ्गतासँगै नयाँ अन्न होम गरेर चलनमा ल्याइने चलन हिन्दू परम्पराका पर्वते समुदायमा छ । यो चलनले पर्वते समुदायको सघन बसोबास रहेका महोत्तरीका बर्दिबास, गौशाला, औरही र भङ्गाहा नगरक्षेत्रका बस्तीमा आज न्वागी पूजाको तयारी छ ।      केही दशकअघिसम्म स्थानीय जातका धान लगाइँदा न्वागी पूजा मङ्सिर शुक्लपक्षमा गरिने न्वागी पूजापछि चाँडै पाक्ने विकासे जातका धान लगाउने चलन बढेसँगै यो पर्व हरिबोधनीको साङ्गतासँगै जोडेर गर्न थालिएको बर्दिबास–३ गौरीडाँडाका बासिन्दा कर्मकाण्डी ब्राह्मण दुर्गामणि काफ्ले बताउनुहुन्छ ।       न्वागी पूजामा नयाँ धानको चामल र तील गाईको दूधबाट बनेको घीउ ९घ्यू०मा मुछेर तुलसीका मठ छेउमा यज्ञवेदी बनाई त्यहाँ प्रज्वलित गरिएको आगोमा होम गरिने चलन छ ।  यस पर्वमा सेलरोटी, पञ्चामृत र अपुङ्गसहितका प्रसाद सामग्री बनाइए पनि भिजाएका चामल चाहिँ मुख्य मानिन्छ । नयाँ चामललाई दहीमा भिजाएर सख्खरमा मोलिएपछि यो प्रसाद सामग्री तयार हुन्छ ।      पहिलेपहिले स्थानीय जातका धान लगाइँदा ती पाक्न मङ्सिर लाग्थ्यो । त्यतिखेर न्वागी पूजा पनि मङ्सिर शुक्लपक्षमै दिन जुराएर गरिन्थ्यो ।  पछिल्ला केही दशकयता महोत्तरीका उत्तरीक्षेत्रमा चाँडै पाक्ने विकासे जातका धान लगाउने चलन बढेपछि यो अन्न प्रयोगमा ल्याइन कात्तिक शुक्ल द्वादशीकै दिन एकादशी व्रतको साङ्गतासँग जोडेर न्वागी पूजाको चलन बढेको अर्का कर्मकाण्डी ब्राह्मण बर्दिबास–७ किसाननगर जुरेटोलका किशोर सुवेदी बताउनुहुन्छ ।      घरका आँगनमा रहने तुलसीका मठ नजिकै नयाँ धानको चामलमा घीउ (घ्यू) र तिल मुछेर वैदिक मन्त्रोच्चारणसहित पुरोहितले होम गरेपछि नयाँ अन्न खानमा वर्षभरि प्रयोग गर्न बाटो खुल्ने हिन्दू मान्यता रहँदै आएको छ ।  हिन्दूहरुको आदि भाषा संस्कृतमा सबै अन्नलाई ‘धान्यादि’ भनिएर अन्नको राजा धानलाई मानिएको हुँदा धानको नयाँ फसल होम गरेर अग्नि देवतालाई चढाइएपछि सबै अन्न खानमा प्रयोग गर्न सकिने धार्मिक मान्यताले यो न्वागीपूजा परम्परा चलेको सुवेदीको भनाइ छ ।      वैदिकशास्त्रमा नयाँ अन्न प्रचलनमा ल्याउनुअघि होमादि नगरिए त्यस्तो अन्न शुभकार्य र पितृकार्यमा नचल्ने पुरानो विश्वास रहेको छ । कात्तिक द्वादशीका दिन यो न्वागीपूजाको तयारी गर्न नभ्याएका किसानले मङ्सिर शुक्लपक्षमा उपयुक्त दिन जुराएर गर्ने गर्छन् ।  पर्वमा होमादि गर्न कूल पुरोहित वा अन्य कर्मकाण्डी ब्राह्मण चाहिने हुँदा आज पुरोहितको व्यस्तता पनि निकै बढेको देखिन्छ । यस पर्वमा होमादि अर्पण गरी इष्टजनलाई आमन्त्रण गरेर ख्वाउने खाने प्रचलन रहेको छ ।      मधेशको मिथिला क्षेत्रमा यो पर्वलाई ‘लवान’ भनिन्छ । महोत्तरीका मध्य र दक्षिणी क्षेत्रमा अझै स्थानीय जात (पाक्न मङ्सिर लाग्ने) का धान लगाइने गरिएको छ ।  त्यसैले हिन्दू मैथिलले भने यो पूजा मङ्सिर शुक्लपक्षमै गर्छन् । मैथिल चलनमा नयाँ धानको चिउरा, दूध र सख्खर प्रसाद सामग्री हुन्छन् ।  यी सामग्री अग्नीलाई समर्पित गरी परिवारजनले प्रसादस्वरुप खाएपछि नयाँ अन्न दैनिक जीवनमा उपयोगमा ल्याइने चलन रहेको राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउनुहुन्छ ।

कर्णाली:   सुर्खेतको वीरेन्द्रनगरमा नगरपालिका–११ स्थित गङ्गामाला देउती बज्यै मन्दिरका एक महिला पुजारी मृतावस्थामा फेला परेका छन् ।  मृत फेला पर्नेमा सोही वडा निवासी रुद्रबहादुर राजीका श्रीमती अन्दाजी वर्ष ५१ वर्षीया सरस्वती राजी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिनुभयो । मृतक राजी मन्दिरको मूल ढोकाको भित्रपट्टि रहेको फलामको हत्कडीमा झुन्डिएकामा अवस्थामा आज बिहान ५ बजे फेला परेको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीयले सूचना दिएपछि आफैँ बिहान ५ः३० बजेदेखि घटनास्थलमै पुगेको थिए, घटनाको प्रकृति हेर्दा त्यस्तो कुनै शङ्कास्पद देखिएको छैन, शव जाँच तथा घटनास्थल मुचुल्का गरेर परीक्षणका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको छ, शव परीक्षणपछि केही खुल्छ ।” पुजारी मृत अवस्थामा भेटिएपछि आज बिहानदेखि देउती बज्यै मन्दिर दर्शनको कार्य स्थगित भएको छ । 

काठमाडौं:    राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु समस्या र गरिबी निवारण कार्यक्रमलाई एकीकृत रुपमा सम्बोधन गर्नुपर्ने बताउनुभएको छ ।  अजरबैजानको बाकुमा सोमबारदेखि सुरु भएको कोप–२९ सम्मेलनका क्रममा किर्गिस्तानद्वारा आज यहाँ आयोजित उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण पीडित हुनेहरुलाई न्याय दिने हो भने उनीहरुले भोगेका समस्यालाई एकीकृत रुपमा सम्बोधन गर्नुपर्ने बताउनुभएको हो ।  “जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रका युवा विदेश पलायन हुँदा गरिब, महिला, बालबालिका र वृद्धवृद्धा अझ बढी प्रभावित भएका छन्, उनीहरुलाई न्याय दिने हो भने उनीहरुले भोगेका जलवायु समस्या र गरिबी निवारण कार्यक्रमलाई एकीकृत रुपमा सम्बोधन गर्नुपर्ने हुन्छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।  पर्वतीय क्षेत्रका नागरिकले व्यहोरेका जलवायु समस्या उनीहरुको आफ्नै कारणले नभई त्यो द्रुत गतिमा प्राकृतिक स्रोतको दोहन गरेर धनी भएका विकसित राष्ट्रहरुले गरेको कार्बन उत्सर्जनका कारण भएको उहाँको धारणा थियो ।  “उनीहरुलाई जलवायु न्याय दिनमा कोप–२९ सफल हुनेछ भन्ने मेरो पूर्ण विश्वास छ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।  जलवायु परिवर्तनका प्रभाव हरेक वर्ष बढ्ने क्रममा रहेको र त्यसले नयाँ ‘रेकर्ड’ कायम गर्दै गएको बताउँदै त्यसका कारण पर्वतीय क्षेत्र तुलानात्मक रुपमा बढी जोखिममा परेको उहाँको भनाइ थियो ।  गत अगस्तमा नेपालको सगरमाथा क्षेत्रमा हिउँताल फुट्दा सोलुखुम्बुको थामेगाउँका ३५ भन्दा बढी घरधुरी विस्थापन भई करोडौँको हानिनोक्सानी व्यहोर्नु परेको सन्दर्भ उल्लेख गर्दै उहाँले गत मनसुन ‘सिजन’मा आएको बाढीपहिरोमा नेपालका पाँच सय बढी नागरिकले जीवन गुमाउनु परेको जानकारी दिनुभयो ।    “यसको पीडा अझै सञ्चो भएको छैन, आउँदा दिनमा यो समस्या अझ बल्झिनेछ र विकराल अवस्था सृजना गर्नेछ भन्ने आकलन अहिले नै गरेनौँ र उपयुक्त सावधानी लिएनौँ भने भोलि अझ बढी हानिनोक्सानी व्यहोर्नुपर्नेछ”, राष्ट्रपति पौडेलले भन्नुभयो ।   उहाँले नेपाल र किर्गिस्तान दुवै पर्वतीय मुलुक भएकाले हामीहरुले भोगेका जलवायु परिवर्तनका असर र प्रभाव पनि समान छन् भन्नुभयो ।  साथै, नेपाल र किर्गिस्तानले विगतमा हिउँ चितुवा संरक्षणमा सहकार्य गरेकोे अनुभव उहाँले स्मरण गर्नुभयो । सो कार्यक्रममा किर्जिकिस्तानका राष्ट्रपति, मङ्गोलियाका राष्ट्रपति, अजरबैजानका विदेश मामिलामन्त्रीलगायतले  बोल्नुभएको थियो । अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९)अन्तर्गत मङ्गलबार राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्नुभएको थियो ।   

पाँचथर:   बाढीपहिरोले बगाएको सडक र गोरेटो बाटो मर्मत नहुँदा जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका बासिन्दाले १८ महिनादेखि समस्या झेल्दै आएका छन् ।  यहाँका १० वटा बस्तीबाट बिरामीलाई ‘स्टेचर’मा स्वास्थ्य संस्था पुर्याउने बाटो पनि छैन । यहाँका मेवा खोलासहित उक्त खोलामा जोडिने मुरुङ्गा, देवीखोला र लम्बाखोलामा आएको बाढी तथा सयौँ स्थानमा खसेको पहिरोका कारण भौतिक संरचना क्षतिग्रस्त हुँदा गोरेटो बाटोसमेत अवरुद्ध छ । बाटो नहुँदा च्याङथापूका समरजुङ, मङ्गरडाँडा, खोलाघारी, मास्लोगाउँ, एकराते, चोक, फेदी, ढाँडगाउँ, याकलिङ र काङदाङका बासिन्दाले बिरामीलाई स्टेचरमा बोकेर सडकसम्म पुर्याउन कठिन भएको याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईले बताउनुभयो ।  जिल्लाको उत्तरी च्याङथापू बजारबाट पर्यटकीय क्षेत्र लामपोखरी जोड्ने सडकले यी बस्तीलाई समेटेको थियो । गत वर्षको बाढीले उक्त सडकको मेवाखोला किनारामा पर्ने झण्डै तीन किलोमिटर मोटरबाटोे बगाएको छ । मोटरबाटो नै यी बस्तीबाट च्याङथापू पुग्ने पैदलमार्ग थियो । बाढीले दशकौँदेखि चलनचल्तीमा रहेको गोरेटो बाटा पनिक्षतिग्रस्त बनाएको हो । “खोला किनारामा सडकको संरचना पनि नभेटिने अवस्था छ”, वडाध्यक्ष खालिङले भन्नुभयो, “यहाँका झण्डै तीन सय घरपरिवार अहिले सडकको पहुँचभन्दा बाहिर छौँ”, गोरेटो बाटो पनि नभएपछि गत महिना यहाँका एक बालक गम्भीर बिरामी भएपछि उपचारका लागि  बोकेर समरजुङ हुँदै च्याङथापू पुर्याउनु परेको उहाँले बताउनुभयो । यी क्षेत्रबाट मेवा खोलालाई ५ स्थानमा तरेपछि मात्रै च्याङथापू बजार पुगिन्छ । खोला तर्नुपर्ने ५ मध्ये ३ स्थानमा बाँस र काठको अस्थायी फड्केको सहायताले खोला तर्ने गरिएको छ ।  गाउँले मिलेर पैदलमार्ग बनाए पनि स्टेचर बोकेर हिँड्न मिल्ने ठाउँ छैन । “हामी ठूलो समस्यामा छौँ । डेढ वर्ष भयो यस्तो बेहाल भोगेको ।  बाढी आयो कि फड्के बगाइहाल्छ”, बाढीपहिरो प्रभावित क्षेत्र मङ्गरडाँडाका स्थानीयवासी वडाध्यक्ष खालिङले भन्नुभयो, “गाउँलेहरू मसँग गुनासो गर्नुहुन्छ ।  हामी एक्लैले समस्या समाधान गर्न सकेनौँ ।” आफूले याङवरक गाउँपालिकासहित सम्बन्धित निकायलाई जानकारी गराए पनि उक्त सडकको तत्कालै पुनर्निर्माण हुने स्थिति नरहेको उहाँले बताउनुभयो ।  “यो सडक पुनर्निर्माण गर्न थोरै पैसाले पुग्दैन । प्रदेश र सङ्घीय सरकारले हाम्रा समस्या बुझेका छैनन्”, वडाध्यक्ष खालिङले भन्नुभयो । गोरेटो बाटो नहुँदा यहाँका स्थानीयले खाद्यान्नलगायत आवश्यक सामग्री बोकेरै घर पुर्याउने गरेका छन् ।   अर्कातर्फ यहाँका बालबालिकालाई विद्यालय पुग्न असाध्यै कठिन छ । खोलाघारीकी सुकमाया राईका अनुसार स–साना बालबालिका फड्के तरेर विद्यालय जान र फर्किन सक्दैनन् ।  बच्चाहरूलाई जोखिम मोलेर विद्यालय पठाउनुपर्ने बाध्यता छ । यी क्षेत्रबाट कतिपय  स्थानीय बसाइँ सरेका छन् । “कोही च्याङथापू झरेका भने कोही झापा नै पुगे”, वडाध्यक्ष खालिङले भन्नुभयो, “साना नानी हुने धेरै जनाले अहिले गाउँ छाडिसकेका छन् ।”  दर्जनौँ स्थानमा पहिरो झरेर झण्डै तीन महिना विस्थापित हुनुपरेपछि यहाँको चोक नामक बस्तीका अशोक राईको परिवार अहिले च्याङथापूमा डेरा लिएर बसेको छ । “सानो नानी जोगाउन नै कठिन हुने ।  जताततै पहिरो थियो”, अशोककी श्रीमती धनकुमारी राईले भन्नुभयो, “नानी पढाउनकै लागि च्याङथापूमा बसेर सानो व्यवसाय थालेका छौँ ।” बाढीपहिरो प्रभावित बस्तीसहित लामपोखरीलाई जोड्ने उद्देश्यले समरजुङबाट मङ्गरडाँडासम्म विस्तार भएको कृषि सडकलाई गाउँपालिकाले मास्लोगाउँमा रहेको पुरानो ट्रयाकमा जोडेको थियो । नयाँ ट्रयाक निर्माण भएपछि ट्रयाक्टरमा खाद्यान्नलगायत सामग्री गाउँसम्म पुर्याइएको थियो । लामपोखरीस्थित सुकाढापमा रहेको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी)मा समेत नयाँ ट्रयाकबाट खाद्यान्न पुर्याइएको थियो । तर गत साउन र असोजमा खसेको पहिरोले उक्त ट्रयाक पनि क्षतिग्रस्त बनाएको छ । “यही नयाँ ट्रयाकलाई वैकल्पिक सडक बनाउने हाम्रो योजना छ”, वडाध्यक्ष खालिङले भन्नुभयो, “सडक मर्मत गर्न प्राविधिकले निरीक्षण पनि गरिसकेका छन् । गाउँपालिका र प्रदेश सरकारलाई बजेट मागेका छौँ । याङवरक–१ च्याङथापूका १० बस्तीका तीन सय घरपरिवार डेढ वर्षदेखि बाढीपहिराको चपेटामा परे पनि सरकारी निकायको यहाँ उपस्थिति छैन ।”  खोलाघारीका राजेश राईले भन्नुभयो, “हामी बर्खा लाग्यो कि त्रासमा बाँच्नुपर्छ । गाउँपालिकाले सामान्य सहयोग गरे  पनि अन्य सरकारी निकायले हामीलाई हेरेका छैनन् ।”  

गण्डकी:   उच्च पहाडी र हिमाली भेगमा घुम्न निस्केका पर्यटकको लेक लागेर मृत्यु भएका घटना बर्सेनि सुनिन्छन् । मुख्य पर्यटकीय याम (असोज–मङ्सिर)र (चैत–जेठमा)यस्ता घटना बढी हुने गर्छन् ।    पदयात्रा र तीर्थयात्राका लागि प्रख्यात अन्नपूर्ण क्षेत्रमा मात्र गत आवमा लेक लागेर २१ जना पर्यटकले ज्यान गुमाएका थिए । जसमध्ये ६ जना नेपाली, ११ जना भारतीय, मलेसियाका २, युक्रेनका १ र १ बेलायती नागरिक थिए ।  यसरी लेक लागेर मृत्यु हुनेको सङ्ख्या सालिन्दा बढ्दो छ । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)का अनुसार अधिकांश लेक लाग्ने घटना मुस्ताङको मुक्तिनाथ क्षेत्रमा हुने गरेका छन् ।  मुक्तिनाथ दर्शनका लागि आउने भारतीय धार्मिक पर्यटक उक्त समस्याबाट बढी प्रभावित हुने गरेका छन् ।  न्यून चापीय क्षेत्रबाट उच्च स्थानमा पुग्दा हुने उक्त स्वास्थ्य समस्याबाट कसरी जोगिने /स्वास्थ्य सतर्कताका उपाय के छन् /चिकित्सक रविरञ्जन प्रधान र पर्यटक पथप्रदर्शक दिवस गुरुङसँगको कुराकानीमा आधारित रहेर हामीले यो सामग्री प्रस्तुत गरेका छौँ ।  सतर्कता र सावधानी उच्च पहाडी या हिमाली भेगको यात्रामा जाँदा विश्राम लिँदै जानुपर्छ । कम उचाइ भएको ठाउँबाट उचाइ भएको ठाउँमा एक्कासी पुग्दा लेक लाग्न सक्छ । यो समस्या विशेष गरी मुस्ताङको मुक्तिनाथ र मनाङको तिलिचो ताल जाने पर्यटकका बढी देखिने गरेको छ ।  काठमाडौँ उपत्यकालगायत तराई भेगबाट एकैदिनमा ३७ सय १० मिटरमा पर्ने मुक्तिनाथ र चार हजार नौ सय १९ मिटरको उचाइमा अवस्थित तिलिचो ताल पुग्दा लेक लाग्ने गरेका उदाहरण धेरै छन् ।  मुक्तिनाथ पुग्ने भारतीय पर्यटक पनि मोटर लिएर एकैपटकमा मुक्तिनाथ पुग्दा लेक लाग्ने समस्या बढी देखिने गरेको हो ।  लेक लागेर पर्यटकको मृत्यु हुने क्रम बढ्दै जान थालेपछि पछिल्लो समय मुक्तिनाथमा प्राररम्भिक उपचार र उद्धारका लागि आकस्मिक कक्षसमेत सञ्चालनमा ल्याइएको छ ।   पदयात्रा गर्नेहरु ठाउँठाउँमा विश्राम लिँदै जाने हुँदा लेक लाग्ने सम्भावना न्यून हुन्छ, गाडी र मोटरसाइकलमा एकैचोटिमा उचाइमा जानेहरुलाई बढी समस्या देखिने गरेको छ ।  स्थानीय हावापानीसँग अनुकूलन हुँदै विश्राम लिँदै यात्रा गर्दा लेक लाग्ने समस्याबाट बच्न सकिन्छ । पदयात्रा गर्ने पर्यटकले एक दिनमा पाँच सयभन्दा बढीको उचाइ पार नगर्नु राम्रो मानिन्छ ।   शारीरिक, मानसिक स्वास्थ्य र तन्दुरुस्तीसहित पदयात्रामा निस्कुनपर्छ । नयाँ र टाढाको गन्तव्यस्थल छ भने एक्लै पदयात्रा गर्नुहुँदैन । पदयात्रा गर्दा पथप्रदर्शक साथ लिएर जाँदा धेरै सहज हुन्छ ।  हिमाली क्षेत्रमा झण्डै छ हजार मिटरसम्म उचाइ छिचोलेर पदयात्रा गर्नुपर्ने गन्तव्य रहेकाले एक्लै जानु जोखिमपूर्ण हुन्छ । सामान्यतया समुद्री सतहदेखि तीन हजार मिटरको उचाइमा पुग्दा ‘अल्टिच्युड सिकनेस’को लक्षण देखिन सक्छ ।  स्थानीय वातावरणमा अनुकूलन हुँदै अगाडिको यात्रा तय गर्नुपर्छ । जस्तो कि मुक्तिनाथ जानु छ भने एकदिन जोमसोममा विश्राम लिएर जानु उपयुक्त हुन्छ । तिलिचो ताल पुग्नु छ भने आधार शिविरमा एकदिन विश्राम लिनुपर्छ ।  हिमाली भेगको यात्रामा जाँदा स्वास्थ्यको विशेष ख्याल राख्नुपर्छ । लामो दुरीको पदयात्रामा जानु छ भने समूहमा या पथप्रदर्शक लिएर मात्र जानुपर्छ ।   हिमाली क्षेत्रको मौसमको अनुकूलतालाई ध्यान नदिँदा पनि कतिपय पर्यटकहरु समस्यामा पर्ने गरेका छन् ।  लक्षण र उपचार लेक लाग्नुलाई मेडिकल भाषामा ‘हाइपोब्यारिक हाइपोक्जिया’ भनिन्छ । यो समस्या अक्सिजनको कमीले हुने गर्छ । जुनसुकै उमेरको व्यक्तिमा लेक लाग्ने समस्या निम्तन सक्छ ।  लेक लाग्दा टाउको भारी हुने, वाकवाकी लाग्ने, बान्ता हुने आदि लक्षण देखिन सक्छ । पदयात्रामा जाँदा प्राथमिक उपचारका औषधि र सामग्री साथमा बोक्नुहोस् । लेक लाग्दा अक्सिजनको मात्रा घट्न गई मानिसको ज्यानसमेत जान सक्छ ।  लेक लागेर सिकिस्त हुनुपर्व यति कुनै लक्षण देखिएको छ भने तत्काल यात्रा अगाडिको यात्रा रोकेर कम उचाइ भएको ठाउँमा फर्कनुहोस् । लेक लाग्न नदिन चिकित्सकले सुझाएको औषधि पनि खान सकिन्छ ।  तर सामान्य लक्षण देखिएपनि तल फर्किनुपर्छ । लेक लागेर जटिल अवस्थामा पुगेका बिरामीको समयमा उद्धार र उपचार हुन सकेन भने ज्यान जोखिममा पर्छ । हिँड्दा प्रशस्त पानी पिउनपर्छ ।  लेक लागेको बेला आराम गर्ने पानी वा झोलिले खानेकुरा उत्तम मानिन्छ । पहिलोपटक धेरै उचाइमा पुग्नेलाई लेक लाग्ने सम्भावना बढी हुन्छ । लेक लाग्ने समस्याका तीन अवस्था हुन्छन् ।  पहिलो अवस्थामा टाउको दुख्ने, वाकवाकी लाग्ने, बान्ता आउने, कमजोर महसुस हुने जस्ता लक्षण देखिन्छन् । दोस्रो अवस्थामा फोक्सो सुनिने, फोक्सोमा पानी जम्ने, श्वासप्रश्वास सम्बन्धि समस्या निम्त्याउँछ ।  तेस्रो र अन्तिम अवस्था भनेको मस्तिष्क सुनिनु हो । फोक्सो र मस्तिष्क सुनिएका बिरामीले समयमा उपचार नपाउँदा अवस्था गम्भीर भएर मृत्यु हुनसक्छ ।  जटिल अवस्थाका बिरामीलाई हेलिकप्टरबाट उद्धार गरेर अस्पताल प¥याइएका उदाहरण पनि छन् ।  

तेह्रथुम:   तेह्रथुम, सङ्खुवासभा र ताप्लेजुङ जिल्लाको सङ्गमस्थल तीनजुरे–मिल्के–जलजले (टिएमजे) क्षेत्रलाई गुराँसको राजधानी घोषणा गरिएको छ । २८ प्रजातिका गुराँस पाइने टिएमजेअन्तर्गतको तीनजुरे क्षेत्र तेह्रथुम जिल्लामा पर्छ । तीनजुरे क्षेत्रमा गुराँस फुल्ने याममा हजारौँ पर्यटक आउने गरेका छन् । यही तीनजुरे क्षेत्रमा पर्ने लालीगुराँस नगरपालिका–७ स्थित तीनजुरे रातपोखरी सामुदायिक वनमा आबद्ध समूहले २८ हजार पाँच सय गुराँसको नर्सरी हुर्काइरहेको छ । गुराँसको फूल हेर्न आउने पर्यटकलाई गुराँसको बिरुवा पनि उपलब्ध गराउने उद्देश्यले बिरुवा उत्पादन गरिएको हो । तीनजुरे रातपोखरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष बेगबहादुर खड्काका अनुसार बिरुवा बेचेर आम्दानीसँगै गुराँस संरक्षणको सन्देश प्रवाह गर्न नर्सरी राखिएको हो । हाल सात प्रजातिका गुराँसका बिरुवा नर्सरीमा हुर्किरहेका छन् ।  उपभोक्ता समूहले नर्सरीबाट यस वर्ष इलामको सूर्योदय नगरपालिकामा चार सय ४० र दार्चुलामा एक सय ८६ गुराँसका बिरुवा बेचेको गरेको छ ।  डिभिजन वन कार्यालयसँगको साझेदारीमा यस वर्ष १७ हजार ५ सय गुराँसका बिरुवा रातपोखरी सामुदायिक वनले हुर्काएको छ । गत वर्ष लालीगुराँस नगरपालिकाको सहयोगमा ११ हजार बिरुवा उत्पादन गरिएको छ । जङ्गलबाट सानासाना बिरुवा उखेलेर नर्सरीमा राख्ने गरिएको छ । २, ३ वर्षयताका बिरुवा नर्सरीमा छन् । वन उपभोक्ता समूहले बिरुवा खरिद गर्ने ग्राहकको खोजी पनि गरिरहेको छ ।  गुराँसका बिरुवा वैशाख अन्तिमदेखि असार मसान्तसम्ममा रोपिसक्नुपर्ने उपभोक्ता समूहका सचिव देवी पौडेललेले बताउनुभयो । जिल्ला समन्वय समितिले गरेको अनुगमनका क्रममा ९० प्रतिशत बिरुवा सरेको समन्वय उपप्रमुख श्री कार्कीले बताउनुभयो । सो क्षेत्रमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट रु एक करोडको लागतमा राष्ट्रिय लालीगुराँस उद्यान निर्माण भएको छ ।लालीगुराँस उद्यानमा नयाँ सहर आयोजनाले बाटो र शौचालय निर्माण गरेपछि त्यहाँ पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ । 

कञ्चनपुर:    उत्तरी धु्रवमा चिसो बढेसँगै कञ्चनपुर–कैलालीका सिमसार क्षेत्रमा आगन्तुक चराको सङ्ख्या बढेको छ ।  साइबेरियालगायत क्षेत्रमा हिमपातसँगै चिसो बढेपछि सुरक्षित बासस्थान र आहारको खोजीमा चरा यहाँ आइपुगेका नेपाल पक्षी संरक्षण सङ्घ (बिसिएन)का सदस्य हिरुलाल डगौराले बताउनुभयो ।  कञ्चनपुर–कैलालीका सीमसार क्षेत्रमा मालक हाँस, हरियोटाउके हाँस, कालीजुरे हाँस, सुइरेपुच्छ«े हाँस, खरखरे हाँस, कल हाँस, सुनजुरे हाँस, ठूलो जलेवा, चखेवालगायत चरा सिमसारमा आएका उहाँले बताउनुभयो ।  विशेषगरी रूस, किर्जिस्तान, तुर्किस्तान, उज्वेकिस्तान, अजरवैजानलगायत क्षेत्रबाट आगन्तुक चरा चिसो छल्नका पुग्ने गरेको चराबारे जानकारी भएका डगौराले बताउनुभयो ।  आगन्तुक चरा कैलालीको घोडाघोडी ताल, कर्णाली नदी क्षेत्र, कञ्चनपुरको पुरैनी ताल, कालिकिच सिमसार क्षेत्र, शुक्लाफाँटा राष्ट्रिय निकुञ्जभित्रका सलगौडी ताल, रानीताल, सिकारीताल, महाकाली, चौधर नदी क्षेत्रमा पुगेका उहाँले बताउनुभयो । 

पोखरा:   मर्दी हिमाल आरोहणको क्रममा लडेर मृत्यु भएका पर्यटक गाइड लालबहादुर तामाङको शव ल्याउन समस्या भएको छ ।    माछापुच्छ्रे गाउँपालिका–९ का वडाध्यक्ष हरीबहादुर क्षेत्री (राजेन्द्र)ले खोज तथा उद्धारको टोलीले मंगलबार मर्दी हिमालमा फेला पारेको शव ल्याउन समस्या भएको बताए ।  ‘शनिबार मर्दी हिमाल आरोहणको क्रममा लडेर मृत्यु भएका पर्यटक गाइड लालबहादुर तामाङको शव काठमाडौंको खोज तथा उद्धार टोलीले मंगलबार फेला पारेको छ’, वडाध्यक्ष क्षेत्रीले भने, ‘खोज तथा उद्धारको टोलीले शवलाई भिरको खोँचमा अड्केको अवस्थामा निकालेर डोरीको सहायताले केही समथर भुभागमा ल्याएर राखेको छ ।’ मंगलबार बिहान काठमाडौैबाट आएको खोज तथा उद्धारको टोलीमा रहेको शेर्पाको समूहले हेलीकप्टरबाट सम्भावित क्षेत्रमा रेकी गर्ने क्रममा हिउँमा शव जस्तो देखिने वस्तु देखेपछि हेलीकप्टर ल्याण्ड गरेर त्यस स्थानतर्फ लागेको वडाध्यक्ष क्षेत्रीले उद्धार टोलीको भनाई उद्धत गर्दै भने । खोज तथा उद्धार टोलीलाई हेलीकप्टरले उपर बेसक्यापमा ल्याण्ड गराएपछि दुर्घटना स्थलमा पुग्न करिव ३ घण्टा लागेको वडाध्यक्ष क्षेत्रीले बताए ।  ‘खोज तथा उद्धार टोलीले तामाङको शवलाई सुरक्षित तरिकाले प्याक गरेर २ सय मिटर तल केही समथर भुभागमा ल्याएर राखेको छ’, उद्धार टोलीको भनाई उद्धत गर्दै क्षेत्रीले भने, ‘भौगोलिक कारण शवलाई हामीले ल्याउन सकेनौ, शव ल्याउन अब हेलीकप्टर ल्याउनुको विकल्प छैन् ।’ मर्दी हिमाल आरोहणको क्रममा मृत फेला परेका तामाङको शव निकाल्न गएको खोज तथा उद्धारको टोली शव निकालेर मंगलबार राति नै हाईक्यापमा फर्किएको छ ।  तामाङको शव ल्याउन काठमाडौंको सनराइज कम्पनी, पर्यटक प्रहरी,जनप्रतिनिधि, व्यवसायीले छलफल गरेर हेलीकप्टर ल्याउने तयारी भएको वडाध्यक्ष क्षेत्रीले बताए । खोज तथा उद्धारको टोलीमा लाक्या छिरिङ शेर्पा, छिरिङ लामा भोटे र पासाङ शेर्पा रहेका छन् ।  नर्वेका नागरिकलाई मर्दी हिमाल आरोहण गराउने र आफु पनि हिमाल आरोहण गर्ने योजनासहित आएका ६२ वर्षीय तामाङको लडेर शनिबार (कात्तिक२५ गते) मृत्यु भएको थियो । उनीहरुको टोलीले मुख्य गाइडसमेत रहेका तामाङसहित ४ नेपाली र एक नर्वेली नागरिक रहेका थिए ।    यो पनि पढ्नुहोस   मर्दी फलोअप: गाइडको शव निकाल्न समस्या, वडाध्यक्ष नेतृत्वको टोली जाँदै फलोअप: तामाङको शव भेटियो, काठमाडौंबाट आएको टोलीले निकाल्दै