काठमाडौं: केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले कञ्चनपुर जिल्ला भीमदत्त नगरपालिकाकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा आफू प्रत्यक्षदर्शी भएको भन्दै अन्तर्वार्ता दिने एक व्यक्तिलाई नियन्त्रणमा लिएको छ । प्राइम टाइम टेलिभिजनमा अन्तर्वार्ताका क्रममा पन्तको हत्या भएको घटनाको आफू प्रत्यक्षदर्शी भएको र उक्त घटनामा संलग्नको नाम दिन सक्ने भन्दै अन्तर्वार्ता दिने गोरखा घर भई हाल काठमाडौँ बस्ने नवराज अर्याललाई नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता एवं प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “निजले अन्तर्वार्ताका क्रममा भनेको कुनै पनि कुरो मेल खाँदैन । घटनाको समयमा निज व्यक्ति कञ्चनपुरमा पनि थिएनन् । तर किन र कस्को उक्साहटमा उनले त्यो कुरो बोले हामी अनुसन्धानसहित छानबिन गर्दैछौँ ।” विसं २०७५ साउन १० गते निर्मला पन्तको बलात्कारपछि हत्या भएको थियो ।
जुम्ला: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको दायरालाई फराकिलो बनाउन लागिएको जानकारी दिनुभएको छ । यहाँस्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रथम दीक्षान्त समारोहमा उहाँले कर्णालीको स्वास्थ्य सेवालाई सुदृढ बनाउन प्रतिष्ठानले थप जिम्मेवारीका साथ काम गर्न निर्देशन दिनुभयो । उहाँले भन्नुभयो, “स्वास्थ्य सेवालाई सहज बनाउन मन्त्रालय लागिपरेको छ । प्रतिष्ठानले दक्ष जनशक्ति उत्पादन गर्नेगरी काम गर्न आश्यक छ । मन्त्रालयले वार्षिक बजेटमा कर्णालीको स्वास्थ्य क्षेत्रलाई सदृढ बनाउन विशेष प्रथामिकतामा राखेको छ ।” स्वास्थ्यमन्त्री पौडेलले जलनका सबै बिरामीहरूलाई सरकारले निःशुल्क उपचारको व्यवस्था समेत गरेको जानकारी दिनुभयो । संयुक्त राज्य अमेरिकाको हार्वड मेडिकल कलेज सेन्टर फर प्राइमरी केयर र सिस्टम स्ट्रेन्थेनिङका निर्देशक प्रा डा क्रिस्टिन मसेङ्गर प्रमुुख अतिथि रहनुुभएको सो प्रथम दीक्षान्त समारोहमा जनस्वास्थ्य, नर्सिङ र चिकित्साशास्त्र विषयमा स्नातक र स्नातकोत्तर तहमा अध्ययन गरेका ५८ विद्यार्थी दीक्षित भएका प्रतिष्ठानका प्रशासकीय अधिकृत अमृतबहादुर भण्डारीले जानकारी दिनुभयो । दीक्षान्त समारोह यसअघि गत भदौ २३ गते तय गरिएको थियो । सो अवसरमा प्रधानमन्त्री ओलीले प्रतिष्ठानको नवनिर्मित शैक्षिक भवन उद्घाघटन गर्नुभएको थियो ।
पोखरा: पोखरामा ७ जना जुवाडे १ लाख १२ हजार ९० रुपैयाँसहित पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१६ अमरदिपस्थित गौमाया गुरुङको घरको कोठामा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ७ जना जुवाडेलाई हिजो (मंगलबार) पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१६दिप बस्ने ४० वर्षीय कृष्ण गुरुङ, ४५ वर्षीय गौमाया गुरुङ, ३८ वर्षीय जुनिता भट्टचन, पोखरा–८ सिमलचौर बस्ने ६४ वर्षीय गौमान गुरुङ, ४८ वर्षीय रुपा गुरुङ, पोखरा–१३ पाटनबेशी बस्ने ४० वर्षीय हेमजार गुरुङ र पोखरा–२७ बस्ने ४६वर्षीय बुद्धि बहादुर गुरुङको रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । कास्की प्रहरीका अनुसार ७ जना जुवाडेको साथबाट २ सय १२ पत्ति तास र १ लाख १२ हजार ९० रुपैयाँ बरामद भएको छ । उनीहरुलाई हारजित हुनेगरी जुवतास खेलिरहेको हुँदा नियन्त्रणमा लिएको कास्की प्रहरीले जनाएको छ । पक्राउ परेका उनीहरुलाई जिल्ला प्रशासन कार्यालय कास्कीबाट सार्वजनिक हित स्वास्थ्य, सुरक्षा सुविधा र नैतिकता विरुद्धको कसूरमा जुवा खेल्न वा सट्टाबाजी गर्न नहुने मुद्धामा १० दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जनतालाई अध्यारामा राखेर उद्योगीलाई दिइएको बिजुलीको बक्यौता कानुनबमोजिम उठाइने बताउनुभएको छ । प्राधिकरणको केन्द्रीय कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले अबको १५ दिनभित्र पनि बक्यौता नउठे प्रक्रियाअनुसार अघि बढ्ने स्पष्ट पार्नुभयो । “मन्त्रिपरिषद्को निर्देशनअनुसार बक्यौता नतिरेका उद्योगीको लाइन जोडिएको छ, अब उद्योगीहरुले बक्यौता बुझाउनुपर्छ, फेरि पनि आलटाल गरे प्रक्रियाअनुसार अघि बढ्छौँ”, कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, “यसबीचमा बक्यौता उठाउन सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयलगायत सबैले सहयोग गर्नुपर्छ ।” प्राधिकणले बक्यौता बुझाउनका लागि उद्योगीलाई किस्ताबन्दीको सुविधा दिएको भए पनि उद्योगीहरुले त्यसको सदुपयोग नगरेको जानकारी दिँदै उहाँले अबको १५ दिनभित्र बक्यौता नबुझाए यो विषय सरकार, ऊर्जा मन्त्रालय र प्राधिकरणको सरोकार मात्रै नभई जनसरोकारको विषय बन्ने स्पष्ट पार्नुभयो । “लाइन काट्ने, पुनः जोड्ने तर बक्यौता नउठ्ने विषय अब रहन हुँदैन, बक्यौतासम्बन्धी समस्या समाधानको चरणमा पुगेको अवस्थामा प्राधिकरणले सरकारको निर्देशन मानेको हो”, उहाँले भन्नुभयो । प्राधिकरणबाट डेडिकेटेड र ट्रङ्क लाइन सुविधा लिएकामध्ये २८ बाहेक अन्य उद्योगीले नियमित महसुल तिरिरहेको जानकारी दिँदै कार्यकारी निर्देशक घिसिङले ठूला घरानाका उद्योगले महसुल नतिर्दा ग्राहकले पनि शुल्क तिर्न गाह्रो मानिरहेको बताउनुभयो । ठूलो मात्रामा रहेको बक्यौता समयमै नउठे प्राधिकरणको वित्तीय अवस्था नै खराब हुनसक्ने खतरा औँल्यउँदै उहाँले भन्नुभयो, “ठूला औद्योगिक घरानाको लाइन जोड्दै जाने, तर न्यूनतम शुल्क तिर्न नसक्नेको लाइन काट्दै जाँदा महसुल सङ्कलन घट्दै गएको छ, यो चिन्ताको विषय हो ।” बक्यौता नउठ्दा उत्पादन र प्रसारणलाइन निर्माण तथा नगद प्रवाहमै ठूलो समस्या आउन सक्ने उहाँको अनुमान छ । प्राधिकरणले खपत अनुसारको बिल उद्योगलाई दिएको स्पष्ट पार्दै कार्यकारी निर्देशकले अहिले प्रिमियम शुल्क मात्रै उठाउन खोजिएको जानकारी दिनुभयो । विद्युत् नियमन आयोग बाहेक अन्यले बिल ठिक होइन भन्न नमिल्ने जनाउँदै उहाँले बिलमा चित्त नबुझे सम्बन्धित निकायमा जान उद्योगीलाई बाटो खुला रहेको बताउनुभयो । प्राधिकरणको खरिद प्रक्रिया र उपकरण मौज्दातको विषयमा गरिएका टिकाटिप्पणीको खण्डन गर्दै कार्यकारी निर्देशक घिसिङले प्रचलित कानुनअनुसार नै खरिद प्रक्रिया अघि बढाइएको स्पष्ट पार्नुभयो । “कुन सामग्री कति मौज्दात राख्ने भन्ने परियोजनाअनुसार हुन्छ, हामीले अत्यन्तै थोरै परिणाममा मात्रै मौज्दात राखेका छौँ”, उहाँले भन्नुभयो, “माग भएपछि उपकरण खरिद गर्ने भन्ने हो भने समयमै मागअनुसार उपलब्ध गराउन सकिदैन ।”
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले नेपालका तर्फबाट आयोजना गर्नुभएको ‘पर्वतीय क्षेत्रमा जलवायुजन्य नोक्सानीको सम्बोधन’ विषयक विशेष सत्र अहिले यहाँ सुरु भएको छ । पर्वतीय क्षेत्रका जनताले भोग्नुपरेका समस्या तथा यसका चुनौतीलगायत वातावरणसँग सम्बन्धित समसामयिक विषयमा विश्व समुदायको ध्यानाकर्षण गराउने उद्देश्यले नेपालले विशेष सत्र आयोजना गरेको हो । कार्यक्रमको सुरुआत गर्दै नेपालका तर्फबाट वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरी र सचिव डा दीपक खराल, परराष्ट्र मन्त्रालयका सह–सचिव अमृत राई र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी निर्देशक अनिल पोखरेलले विशेष सत्रमा कार्यक्रमबारे जानकारी गराउनुभयो । यसअघि आजै पर्वतीय मुलुक कीर्गिस्तानले जलवायु परिवर्तन र असरका विषयमा उच्चस्तरीय सत्र सञ्चालन गरेको थियो । उक्त सत्रमा नेपालका तर्फबाट राष्ट्रपति पौडेलले जलवायु समस्या र गरिबी निवारण कार्यक्रमलाई एकीकृत रुपमा सम्बोधन गर्न विश्व समुदायको ध्यानाकर्षण गराउनुभएको थियो । नेपालद्वारा आयोजित विशेष सत्रमा संयुक्त अधिराज्य बेलायत, फ्रान्स, भूटान, कीर्गिस्तान, अजरबैजानलगायतका देशका राष्ट्र तथा सरकार प्रमुख र प्रतिनिधिसहित विज्ञ समुदायको सहभागिता रहेको छ ।
महोत्तरी: हिन्दू परम्परामा नयाँ अन्न उपयोगमा ल्याउन होम गरिने चलन छ । यस वर्षको नयाँ धान थन्क्याएका किसानले यो अन्न उपयोगमा ल्याउन आज कात्तिक शुक्ल द्वादशीका दिन आज ‘न्वागी’ खाने पूजाको तयारी गरेका छन् । घरघरमा उत्सवका रुपमा गरिने यो पूजा खास पर्वकै रुपमा मनाइन्न्छ । न्वागी खाने पूजासँग दुई चलन जोडिएको पाइन्छ । कात्तिक शुक्लपक्षको एकादशी अर्थात् हरिबोधनीको व्रत साङ्गतासँगै नयाँ अन्न होम गरेर चलनमा ल्याइने चलन हिन्दू परम्पराका पर्वते समुदायमा छ । यो चलनले पर्वते समुदायको सघन बसोबास रहेका महोत्तरीका बर्दिबास, गौशाला, औरही र भङ्गाहा नगरक्षेत्रका बस्तीमा आज न्वागी पूजाको तयारी छ । केही दशकअघिसम्म स्थानीय जातका धान लगाइँदा न्वागी पूजा मङ्सिर शुक्लपक्षमा गरिने न्वागी पूजापछि चाँडै पाक्ने विकासे जातका धान लगाउने चलन बढेसँगै यो पर्व हरिबोधनीको साङ्गतासँगै जोडेर गर्न थालिएको बर्दिबास–३ गौरीडाँडाका बासिन्दा कर्मकाण्डी ब्राह्मण दुर्गामणि काफ्ले बताउनुहुन्छ । न्वागी पूजामा नयाँ धानको चामल र तील गाईको दूधबाट बनेको घीउ ९घ्यू०मा मुछेर तुलसीका मठ छेउमा यज्ञवेदी बनाई त्यहाँ प्रज्वलित गरिएको आगोमा होम गरिने चलन छ । यस पर्वमा सेलरोटी, पञ्चामृत र अपुङ्गसहितका प्रसाद सामग्री बनाइए पनि भिजाएका चामल चाहिँ मुख्य मानिन्छ । नयाँ चामललाई दहीमा भिजाएर सख्खरमा मोलिएपछि यो प्रसाद सामग्री तयार हुन्छ । पहिलेपहिले स्थानीय जातका धान लगाइँदा ती पाक्न मङ्सिर लाग्थ्यो । त्यतिखेर न्वागी पूजा पनि मङ्सिर शुक्लपक्षमै दिन जुराएर गरिन्थ्यो । पछिल्ला केही दशकयता महोत्तरीका उत्तरीक्षेत्रमा चाँडै पाक्ने विकासे जातका धान लगाउने चलन बढेपछि यो अन्न प्रयोगमा ल्याइन कात्तिक शुक्ल द्वादशीकै दिन एकादशी व्रतको साङ्गतासँग जोडेर न्वागी पूजाको चलन बढेको अर्का कर्मकाण्डी ब्राह्मण बर्दिबास–७ किसाननगर जुरेटोलका किशोर सुवेदी बताउनुहुन्छ । घरका आँगनमा रहने तुलसीका मठ नजिकै नयाँ धानको चामलमा घीउ (घ्यू) र तिल मुछेर वैदिक मन्त्रोच्चारणसहित पुरोहितले होम गरेपछि नयाँ अन्न खानमा वर्षभरि प्रयोग गर्न बाटो खुल्ने हिन्दू मान्यता रहँदै आएको छ । हिन्दूहरुको आदि भाषा संस्कृतमा सबै अन्नलाई ‘धान्यादि’ भनिएर अन्नको राजा धानलाई मानिएको हुँदा धानको नयाँ फसल होम गरेर अग्नि देवतालाई चढाइएपछि सबै अन्न खानमा प्रयोग गर्न सकिने धार्मिक मान्यताले यो न्वागीपूजा परम्परा चलेको सुवेदीको भनाइ छ । वैदिकशास्त्रमा नयाँ अन्न प्रचलनमा ल्याउनुअघि होमादि नगरिए त्यस्तो अन्न शुभकार्य र पितृकार्यमा नचल्ने पुरानो विश्वास रहेको छ । कात्तिक द्वादशीका दिन यो न्वागीपूजाको तयारी गर्न नभ्याएका किसानले मङ्सिर शुक्लपक्षमा उपयुक्त दिन जुराएर गर्ने गर्छन् । पर्वमा होमादि गर्न कूल पुरोहित वा अन्य कर्मकाण्डी ब्राह्मण चाहिने हुँदा आज पुरोहितको व्यस्तता पनि निकै बढेको देखिन्छ । यस पर्वमा होमादि अर्पण गरी इष्टजनलाई आमन्त्रण गरेर ख्वाउने खाने प्रचलन रहेको छ । मधेशको मिथिला क्षेत्रमा यो पर्वलाई ‘लवान’ भनिन्छ । महोत्तरीका मध्य र दक्षिणी क्षेत्रमा अझै स्थानीय जात (पाक्न मङ्सिर लाग्ने) का धान लगाइने गरिएको छ । त्यसैले हिन्दू मैथिलले भने यो पूजा मङ्सिर शुक्लपक्षमै गर्छन् । मैथिल चलनमा नयाँ धानको चिउरा, दूध र सख्खर प्रसाद सामग्री हुन्छन् । यी सामग्री अग्नीलाई समर्पित गरी परिवारजनले प्रसादस्वरुप खाएपछि नयाँ अन्न दैनिक जीवनमा उपयोगमा ल्याइने चलन रहेको राजकीय संस्कृत माध्यमिक विद्यालय मटिहानीका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउनुहुन्छ ।
कर्णाली: सुर्खेतको वीरेन्द्रनगरमा नगरपालिका–११ स्थित गङ्गामाला देउती बज्यै मन्दिरका एक महिला पुजारी मृतावस्थामा फेला परेका छन् । मृत फेला पर्नेमा सोही वडा निवासी रुद्रबहादुर राजीका श्रीमती अन्दाजी वर्ष ५१ वर्षीया सरस्वती राजी रहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रुपेश खड्काले जानकारी दिनुभयो । मृतक राजी मन्दिरको मूल ढोकाको भित्रपट्टि रहेको फलामको हत्कडीमा झुन्डिएकामा अवस्थामा आज बिहान ५ बजे फेला परेको प्रहरी उपरीक्षक खड्काले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीयले सूचना दिएपछि आफैँ बिहान ५ः३० बजेदेखि घटनास्थलमै पुगेको थिए, घटनाको प्रकृति हेर्दा त्यस्तो कुनै शङ्कास्पद देखिएको छैन, शव जाँच तथा घटनास्थल मुचुल्का गरेर परीक्षणका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेतमा पठाइएको छ, शव परीक्षणपछि केही खुल्छ ।” पुजारी मृत अवस्थामा भेटिएपछि आज बिहानदेखि देउती बज्यै मन्दिर दर्शनको कार्य स्थगित भएको छ ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु समस्या र गरिबी निवारण कार्यक्रमलाई एकीकृत रुपमा सम्बोधन गर्नुपर्ने बताउनुभएको छ । अजरबैजानको बाकुमा सोमबारदेखि सुरु भएको कोप–२९ सम्मेलनका क्रममा किर्गिस्तानद्वारा आज यहाँ आयोजित उच्चस्तरीय सत्रलाई सम्बोधन गर्दै जलवायु परिवर्तनका कारण पीडित हुनेहरुलाई न्याय दिने हो भने उनीहरुले भोगेका समस्यालाई एकीकृत रुपमा सम्बोधन गर्नुपर्ने बताउनुभएको हो । “जलवायु परिवर्तनका कारण पर्वतीय क्षेत्रका युवा विदेश पलायन हुँदा गरिब, महिला, बालबालिका र वृद्धवृद्धा अझ बढी प्रभावित भएका छन्, उनीहरुलाई न्याय दिने हो भने उनीहरुले भोगेका जलवायु समस्या र गरिबी निवारण कार्यक्रमलाई एकीकृत रुपमा सम्बोधन गर्नुपर्ने हुन्छ”, राष्ट्रपति पौडेलले भन्नुभयो । पर्वतीय क्षेत्रका नागरिकले व्यहोरेका जलवायु समस्या उनीहरुको आफ्नै कारणले नभई त्यो द्रुत गतिमा प्राकृतिक स्रोतको दोहन गरेर धनी भएका विकसित राष्ट्रहरुले गरेको कार्बन उत्सर्जनका कारण भएको उहाँको धारणा थियो । “उनीहरुलाई जलवायु न्याय दिनमा कोप–२९ सफल हुनेछ भन्ने मेरो पूर्ण विश्वास छ”, राष्ट्रपति पौडेलले भन्नुभयो । जलवायु परिवर्तनका प्रभाव हरेक वर्ष बढ्ने क्रममा रहेको र त्यसले नयाँ ‘रेकर्ड’ कायम गर्दै गएको बताउँदै त्यसका कारण पर्वतीय क्षेत्र तुलानात्मक रुपमा बढी जोखिममा परेको उहाँको भनाइ थियो । गत अगस्तमा नेपालको सगरमाथा क्षेत्रमा हिउँताल फुट्दा सोलुखुम्बुको थामेगाउँका ३५ भन्दा बढी घरधुरी विस्थापन भई करोडौँको हानिनोक्सानी व्यहोर्नु परेको सन्दर्भ उल्लेख गर्दै उहाँले गत मनसुन ‘सिजन’मा आएको बाढीपहिरोमा नेपालका पाँच सय बढी नागरिकले जीवन गुमाउनु परेको जानकारी दिनुभयो । “यसको पीडा अझै सञ्चो भएको छैन, आउँदा दिनमा यो समस्या अझ बल्झिनेछ र विकराल अवस्था सृजना गर्नेछ भन्ने आकलन अहिले नै गरेनौँ र उपयुक्त सावधानी लिएनौँ भने भोलि अझ बढी हानिनोक्सानी व्यहोर्नुपर्नेछ”, राष्ट्रपति पौडेलले भन्नुभयो । उहाँले नेपाल र किर्गिस्तान दुवै पर्वतीय मुलुक भएकाले हामीहरुले भोगेका जलवायु परिवर्तनका असर र प्रभाव पनि समान छन् भन्नुभयो । साथै, नेपाल र किर्गिस्तानले विगतमा हिउँ चितुवा संरक्षणमा सहकार्य गरेकोे अनुभव उहाँले स्मरण गर्नुभयो । सो कार्यक्रममा किर्जिकिस्तानका राष्ट्रपति, मङ्गोलियाका राष्ट्रपति, अजरबैजानका विदेश मामिलामन्त्रीलगायतले बोल्नुभएको थियो । अजरबैजानको बाकु सहरमा यही कात्तिक २६ गतेदेखि सुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र सङ्घीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औँ सम्मेलन (कोप–२९)अन्तर्गत मङ्गलबार राष्ट्रपति पौडेलले उच्चस्तरीय सत्रको ‘विश्व नेताहरू जलवायु कार्य शिखर सम्मेलन’लाई सम्बोधन गर्नुभएको थियो ।
पाँचथर: बाढीपहिरोले बगाएको सडक र गोरेटो बाटो मर्मत नहुँदा जिल्लाको याङवरक गाउँपालिका–१ च्याङथापूका बासिन्दाले १८ महिनादेखि समस्या झेल्दै आएका छन् । यहाँका १० वटा बस्तीबाट बिरामीलाई ‘स्टेचर’मा स्वास्थ्य संस्था पुर्याउने बाटो पनि छैन । यहाँका मेवा खोलासहित उक्त खोलामा जोडिने मुरुङ्गा, देवीखोला र लम्बाखोलामा आएको बाढी तथा सयौँ स्थानमा खसेको पहिरोका कारण भौतिक संरचना क्षतिग्रस्त हुँदा गोरेटो बाटोसमेत अवरुद्ध छ । बाटो नहुँदा च्याङथापूका समरजुङ, मङ्गरडाँडा, खोलाघारी, मास्लोगाउँ, एकराते, चोक, फेदी, ढाँडगाउँ, याकलिङ र काङदाङका बासिन्दाले बिरामीलाई स्टेचरमा बोकेर सडकसम्म पुर्याउन कठिन भएको याङवरक–१ का वडाध्यक्ष राजेन्द्र खालिङ राईले बताउनुभयो । जिल्लाको उत्तरी च्याङथापू बजारबाट पर्यटकीय क्षेत्र लामपोखरी जोड्ने सडकले यी बस्तीलाई समेटेको थियो । गत वर्षको बाढीले उक्त सडकको मेवाखोला किनारामा पर्ने झण्डै तीन किलोमिटर मोटरबाटोे बगाएको छ । मोटरबाटो नै यी बस्तीबाट च्याङथापू पुग्ने पैदलमार्ग थियो । बाढीले दशकौँदेखि चलनचल्तीमा रहेको गोरेटो बाटा पनिक्षतिग्रस्त बनाएको हो । “खोला किनारामा सडकको संरचना पनि नभेटिने अवस्था छ”, वडाध्यक्ष खालिङले भन्नुभयो, “यहाँका झण्डै तीन सय घरपरिवार अहिले सडकको पहुँचभन्दा बाहिर छौँ”, गोरेटो बाटो पनि नभएपछि गत महिना यहाँका एक बालक गम्भीर बिरामी भएपछि उपचारका लागि बोकेर समरजुङ हुँदै च्याङथापू पुर्याउनु परेको उहाँले बताउनुभयो । यी क्षेत्रबाट मेवा खोलालाई ५ स्थानमा तरेपछि मात्रै च्याङथापू बजार पुगिन्छ । खोला तर्नुपर्ने ५ मध्ये ३ स्थानमा बाँस र काठको अस्थायी फड्केको सहायताले खोला तर्ने गरिएको छ । गाउँले मिलेर पैदलमार्ग बनाए पनि स्टेचर बोकेर हिँड्न मिल्ने ठाउँ छैन । “हामी ठूलो समस्यामा छौँ । डेढ वर्ष भयो यस्तो बेहाल भोगेको । बाढी आयो कि फड्के बगाइहाल्छ”, बाढीपहिरो प्रभावित क्षेत्र मङ्गरडाँडाका स्थानीयवासी वडाध्यक्ष खालिङले भन्नुभयो, “गाउँलेहरू मसँग गुनासो गर्नुहुन्छ । हामी एक्लैले समस्या समाधान गर्न सकेनौँ ।” आफूले याङवरक गाउँपालिकासहित सम्बन्धित निकायलाई जानकारी गराए पनि उक्त सडकको तत्कालै पुनर्निर्माण हुने स्थिति नरहेको उहाँले बताउनुभयो । “यो सडक पुनर्निर्माण गर्न थोरै पैसाले पुग्दैन । प्रदेश र सङ्घीय सरकारले हाम्रा समस्या बुझेका छैनन्”, वडाध्यक्ष खालिङले भन्नुभयो । गोरेटो बाटो नहुँदा यहाँका स्थानीयले खाद्यान्नलगायत आवश्यक सामग्री बोकेरै घर पुर्याउने गरेका छन् । अर्कातर्फ यहाँका बालबालिकालाई विद्यालय पुग्न असाध्यै कठिन छ । खोलाघारीकी सुकमाया राईका अनुसार स–साना बालबालिका फड्के तरेर विद्यालय जान र फर्किन सक्दैनन् । बच्चाहरूलाई जोखिम मोलेर विद्यालय पठाउनुपर्ने बाध्यता छ । यी क्षेत्रबाट कतिपय स्थानीय बसाइँ सरेका छन् । “कोही च्याङथापू झरेका भने कोही झापा नै पुगे”, वडाध्यक्ष खालिङले भन्नुभयो, “साना नानी हुने धेरै जनाले अहिले गाउँ छाडिसकेका छन् ।” दर्जनौँ स्थानमा पहिरो झरेर झण्डै तीन महिना विस्थापित हुनुपरेपछि यहाँको चोक नामक बस्तीका अशोक राईको परिवार अहिले च्याङथापूमा डेरा लिएर बसेको छ । “सानो नानी जोगाउन नै कठिन हुने । जताततै पहिरो थियो”, अशोककी श्रीमती धनकुमारी राईले भन्नुभयो, “नानी पढाउनकै लागि च्याङथापूमा बसेर सानो व्यवसाय थालेका छौँ ।” बाढीपहिरो प्रभावित बस्तीसहित लामपोखरीलाई जोड्ने उद्देश्यले समरजुङबाट मङ्गरडाँडासम्म विस्तार भएको कृषि सडकलाई गाउँपालिकाले मास्लोगाउँमा रहेको पुरानो ट्रयाकमा जोडेको थियो । नयाँ ट्रयाक निर्माण भएपछि ट्रयाक्टरमा खाद्यान्नलगायत सामग्री गाउँसम्म पुर्याइएको थियो । लामपोखरीस्थित सुकाढापमा रहेको सशस्त्र प्रहरी बलको बोर्डर आउट पोष्ट (बिओपी)मा समेत नयाँ ट्रयाकबाट खाद्यान्न पुर्याइएको थियो । तर गत साउन र असोजमा खसेको पहिरोले उक्त ट्रयाक पनि क्षतिग्रस्त बनाएको छ । “यही नयाँ ट्रयाकलाई वैकल्पिक सडक बनाउने हाम्रो योजना छ”, वडाध्यक्ष खालिङले भन्नुभयो, “सडक मर्मत गर्न प्राविधिकले निरीक्षण पनि गरिसकेका छन् । गाउँपालिका र प्रदेश सरकारलाई बजेट मागेका छौँ । याङवरक–१ च्याङथापूका १० बस्तीका तीन सय घरपरिवार डेढ वर्षदेखि बाढीपहिराको चपेटामा परे पनि सरकारी निकायको यहाँ उपस्थिति छैन ।” खोलाघारीका राजेश राईले भन्नुभयो, “हामी बर्खा लाग्यो कि त्रासमा बाँच्नुपर्छ । गाउँपालिकाले सामान्य सहयोग गरे पनि अन्य सरकारी निकायले हामीलाई हेरेका छैनन् ।”

