पाल्पा: इलाका प्रशासन कार्यालय रामपुरमा तोकेअनुसारको दरबन्दी व्यवस्थापन नहुँदा सेवा प्रवाहमा समस्या थपिएको छ । कार्यालयबाट राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा सुरुआत भए पनि जनशक्ति व्यवस्थापन नहुँदा सेवा दिन कार्यालयलाई समस्या परेको जनाइएको छ । कार्यालयमा यही पुस ३ गतेदेखि राहदानी तथा राष्ट्रिय परिचयपत्र सेवा थप गरिएको थियो । तर कर्मचारी अभावमा काम गर्न समस्या भएको कार्यालय प्रमुख गणेशबहादुर कार्कीले बताउनुभयो । उहाँले भन्नुभयो, “कर्मचारीको अभाव भए पनि हामीले निकै कष्टका साथ सेवा दिएका छौँ, हालसालै राहदानी तथा परिचयपत्र सेवा थपिएको छ तर हामीसँग जनशक्ति छैन, दरबन्दी अनुसारको कर्मचारी व्यवस्थापन नहुँदा कार्यालयको कामकाजमा समस्या छ ।” राहदानी सेवाका लागि तीनवटा कम्प्युटर आवश्यक पर्छ तर कार्यालयमा हाल एउटा मात्रै कम्प्युटर छ । कार्यालयमा एक कार्यालय प्रमुख, एक नायब सुब्बा, दुई खरिदार, एक सहायक लेखापाल, एक कम्प्युटर अपरेटरको स्थायी दरबन्दी छ । तर हाल १ कार्यालय प्रमुख, एक सहायक लेखापाल, एक कम्प्युटर अपरेटर स्थायी दरबन्दीमा र दुईजना कार्यालय सहयोगी, एक सरसफाइ कर्मचारी कार्यरत छन् । रामपुर नगरपालिकाले प्रशासन कार्यालयको सेवालाई सहज बनाउन एक जना कर्मचारी काजमा खटाएको नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । हाल कार्यालयमा राष्ट्रिय परिचयपत्र पञ्जीकरण विभागबाट यही पुस ३ गतेदेखि एकजना कम्प्युटर अपरेटरको व्यवस्था गरिएको छ । कार्यालयमा दैनिक औसत एक सयजना सेवाग्राही आउने गरेका छन् । अहिले दैनिक नेपाली नागरिकता ४० देखि ४५, राष्ट्रिय परिचयपत्र ३५ देखि ४०, सेवा शुभारम्भ भएको दिनदेखि हालसम्म दशवटा राहदानी सेवा दिइएको कार्यालयले जनाएको छ । रामपुर–४ भीमसेनटोल बस्ने विष्णुमाया केसीले गाउँघरमा नै सेवा पाउँदा स्थानीयलाई धेरै राहत पुगेको बताउनुभयो । कार्यालयमा राहदानी तथा राष्ट्रिय परिचय सेवा थालनी भएपछि पहिलो सेवाग्राहीका रुपमा राहदानी सेवा लिनुभएकी केसीले खुसी व्यक्त गर्दै यहीँबाट सेवा विस्तार गर्न पहल गर्ने सबैलाई धन्यवाद दिनुभएको छ । “सानो बच्चाका कारणले राहदानी बनाउन सदरमुकाम तानसेन जान सकिरहेकी थिइन्, अहिले भने गाउँमा सेवा सुरु गरेपछि हामीलाई सजिलो भयो” उहाँले भन्नुभयो । यही पुस ३ गते कार्यालयको नवनिर्मित भवन उद्घाटन, राहदानी र राष्ट्रिय परिचयपत्र सेवा विस्तार कार्यक्रममा सरिक हुँदै गृहमन्त्री रमेश लेखकले प्रशासन कार्यालयमा कर्मचारी तथा कुनै उपकरण, सामग्रीको अभावमा सेवा अवरुद्ध हुन नदिने प्रतिबद्धता जनाउनुभएको थियो । नागरिकलाई सरल किसिमले सेवा दिनु सरकारको पहिलो दायित्व भएकाले यस कार्यालयमा जनशक्ति, सामग्री अभावले सेवा रोकिने वातावरण नहुन नदिने गृहमन्त्री लेखकले विश्वास दिलाउनुभयो । रामपुर नगरपालिका–५ स्थित बेझाड बजारमा अवस्थित प्रशासन कार्यालयको चौध कोठासहितको साढे दुई तलाको नयाँ भवन निर्माण गरी सञ्चालनमा छ । रु चार करोड ५६ लाख ७७ हजार पाँच सय ७१ बराबरको लागतमा गत असारमा भवन निर्माण सम्पन्न भएको हो । आधुनिक प्रविधिबाट निर्माण भएको अपाङ्गमैत्री कार्यालय भवनसँगै सुरक्षा कर्मचारी गृह (गार्ड हाउस), चमेनागृह तथा पर्खाल निर्माण गरिएको छ ।सेवा विस्तारसँगै राहदानी र राष्ट्रियपत्रका लागि सदरमुकाम तानसेन पुग्नुपर्ने बाध्यता सधाका लागि हटेको छ । कार्यालयको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा समस्या हुँदै आएको थियो । विसं २०७३ मा तत्कालीन गृहमन्त्री शक्तिबहादुर बस्नेतले कार्यालय स्थापनाको शुभारम्भ गरी सेवा प्रारम्भ भएको हो ।
काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले आज विभिन्न देशका लागि नवनियुक्त राजदूतहरुलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको छ । राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा रुसी महाङ्घका लागि नवनियुक्त राजदूत जङ्गबहादुर चौहान, संयुक्त अधिराज्यका राजदूत चन्द्रकुमार घिमिरे, स्पेनका राजदूत शनिल नेपाल, गणतन्त्र कोरियाका राजदूत डा शिवमाया तुम्बाहाङ्फे र गणतन्त्र भारतका राजदूत डा शङ्करप्रसाद शर्माले राष्ट्रपति समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ । त्यस अवसरमा नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको जनाइएको छ ।
बागमती: हेटौँडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई सुरुङमार्ग सर्वसाधारणको अवलोकनका लागि खुला गर्ने तयारी सुरु भएको छ । बागमती प्रदेश सरकारको रु ४ करोड ५७ लाखको लागतमा पुनःनिर्माण भएपछि सर्वसाधारणको अवलोकनका लागि खुला गर्न लागिएको हो । प्रदेश सरकारअन्तर्गतको प्रदेश यातायात पूर्वाधार निर्देशनालयले पुनःनिर्माण गरिएको सो सुरुङमार्ग आज औपचारिक रुपमा हेटौँडा उपमहानगरपालिकालाई हस्तान्तरण गर्न लागेको छ । हस्तान्तरण लगत्तै सुरुङमार्ग सर्वसाधारणका लागि खुला गरिने उपमहानगरका प्रमुख मिनाकुमारी लामाले जानकारी दिनुभयो । सुरुङमार्ग व्यवस्थापन तथा सञ्चालन गर्ने सहमति भइसकेकाले सर्वसाधारणको अवलोकनका लागि खुला गर्न लागिएको प्रमुख लामाले बताउनुभयो । सुरुङमार्ग अवलोकनका लागि आउने नेपालीलाई प्रतिव्यक्ति रु ५०, विदेशीलाई प्रतिव्यक्ति रु १ सय २०, विद्यार्थीलाई प्रतिव्यक्ति रु २० र ५ वर्षमुनीका बालबालिका, जेष्ठनागरिक र आपाङता भएका व्यक्तिलाई निःशुल्क गरिने प्रमुख लामाको भनाइ छ । पुनःनिर्माण गरिएको उक्त सुरुङमार्गलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्ने योजनाका साथ अवलोकन गर्न आउनेहरुका लागि खुला गर्न लागिएको प्रमुख लामाले बताउनुभयो । मधेस प्रदेशको बारा र बागमती प्रदेशको मकवानपुरलाई जोड्ने उक्त सुरुङमार्ग विसं १९७४ मा तत्कालिन प्रधानमन्त्री चन्द्रशमशेरको पालामा निर्माण गरिएको थियो । सो सुरुङमार्गबाट विसं २०२० सम्म सवारी साधनहरु सञ्चालन हुँदै आएको थियो ।जिर्ण भएको सो सुरुङमार्गको गत २०७९ साल वैशाख १९ गते जिर्णोद्वार सम्पन्न गर्ने गरी काम सुरु भएको थियो । सुरुङमार्ग पुनःनिर्माण भएपनि त्यसको सञ्चालन कसले गर्ने भने अन्यौलताका कारण लामो समयदेखि बन्द थियो । उपमहानगरले सुरुङमार्ग सञ्चालन गर्ने सहमति भएपछि हस्तान्तरण गरी सञ्चालनमा ल्याउन लागिएको प्रदेश यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुष्पकरराज पोखरेलले जानकारी दिनुभयो । कुल एक सय ९८ मिटर लम्बाई उक्त सुरुङमार्ग पुनःनिर्माण पश्चात दुई सय २५ मिटरको पुगेको जनाएको छ ।
तेह्रथुम: तमोर नदीस्थित तेह्रथुम–पाँचथर जोड्ने लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण सुरु भएको छ ।म्याङलुङ नगरपालिकाका प्रमुख सञ्जयकुमार तुम्बाहाङ्फेले करिव १३ वर्षपछि लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण थालिएको जानकारी दिनुभयो । सडक विभाग मातहतको पुल सेक्टरको रु १७ करोड लागतमा उक्त पुल निर्माण गर्ने ठेक्का पाएको थियो । निर्माण कम्पनीले विसं २०६८ असार २६ गते तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता गरेको थियो । निर्माण कम्पनीले काम नगरी पुल अलपत्र छाडेको थियो ।तेह्रथुम र पाँचथरका जनप्रतिनिधि, स्थानीय प्रशासन र सरोकारवालाको दबाबपछि निर्माण कम्पनीले अधुरो छाडेको काम पुनर्निर्माण पुनः सुरु गरेको नगरप्रमुख तुम्बाहाङ्फे को भनाइ छ । पुल जग निर्माण गर्ने क्रममा १० मिटर गहिराइमा ढुङ्गा भेटिएपछि पुनः ‘सोइल टेष्ट’ गरेर ‘रिडिजाइन’ गर्ने विषयमा विवाद भएपछि पुल निर्माणको काम रोकिएको सांसद सीता गुरुङले बताउनुभयो । गत मङ्सिर २० गते भौतिक पूर्वाधार मन्त्रालयमा बसेको सर्वपक्षीय बैठकमा पुरानै डिजाइनमा पुल बनाउने सहमति भएपछि निर्माण कार्यले निरन्तरता पाएको उहाँको भनाइ छ । सबै पक्षको सहयोग रहे आउने असारसम्ममा पुल निर्माणको काम सम्पन्न गरिसक्ने निर्माण कम्पनीका साइड इञ्चार्ज विजय लामिछानेले बताउनुभयो । पाँचथरको कुम्मायक गाउँपालिका र तेह्रथुमको म्याङलुङ नगरपालिकालाई जोड्ने उक्त मोटरेबल पुल निर्माण सम्पन्न भएपछि दुई जिल्लाको सदरमुकाम सबैभन्दा छोटो दूरीमा जोडिने छन् । पाँचथर सदरमुकाम फिदिमबाट ४५ किलोमिटर र तेह्रथुम सदरमुकाम म्याङलुङबाट १९ किलोमिटरको दूरी रहेको तमोर नदीमाथिको उक्त पुल निर्माण सम्पन्न भएपछि दुवै जिल्लाका नागरिकलाई आवातजावतमा सहज हुने म्याङलुङ–२ का विश्वराज तुम्बाहाङफेले बताउनुभयो । पाँचथरको कुम्मायक गाउँपालिकाका भुल्के, खाल्ले, स्यावरुम्बालगायतका गाउँबाट करिब आठ घण्टाको पैदलयात्रा गरी हप्तैपिच्छे पिठ्यूँमा बोकेर कृषिउपज तेह्रथुमको म्याङलुङस्थित शुक्रबारे हटियामा बिक्री गर्न ल्याउनुपर्ने बाध्यता छ । पुल निर्माण भएपछि म्याङलुङदेखि लुमुघाट हुँदै तमोर करिडोर भएर छोटो दूरीमै सुनसरीको धरान र प्रदेश राजधानी विराटनगर पुग्न सकिन्छ । तेह्रथुमबाट पूर्वी तराईसँगको दूरी घटाउने भएकाले पनि उक्त मोटरेबल पुल निर्माणले महत्व राख्ने जनाइएको छ ।
रसुवा: उत्तरी रसुवाको टिमुरेस्थित रसुवागढी हाइड्रो पावरले परीक्षण उत्पादन सफल भएको छ । गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र २ को तातोपानीस्थित भोटेकोसीको तटीय क्षेत्रमा भूमिगत संरचनाबाट सो विद्युत् गृह निर्माण गरिएको छ । उक्त विद्युत् गृहमा जडित ३३÷३३ मेगावाट क्षमताको तीनवटा मेसिन विद्युत् उत्पादनहुने जनाइएको छ । हाल चिसोयामका कारण खोलाको पानी बहाव घटेपछि पहिलो परीक्षणबाट ५२ मेगावाट विद्युत् उत्पादन गरिएको आयोजना प्रमुख सत्यराम ज्याख्वाले जानकारी दिनुभयो । ३ वटै युनिट चालु गराईसकिएको र वर्षायाममा भने क्षमताअनुसार विद्युत् उत्पादन हुने उहाँले बताउनुभयो । सो आयोजना कूल लागत रु १८ अर्ब ६९ करोड २० लाखको रहेको बताइएको छ । सन् २०१४ देखि पूर्णरूपमा निर्माण सुरू भए पनि विगतमा भएको पेट्रोलियम पर्दाथको अभाव, विसं २०७२ को विनाशकारी भूकम्प, भोटेकोशीमा बर्सातको समयमा आइरहने बाढी, वर्षायाममा राजमार्ग अवरूद्ध हुँदा सामान ढुवानीमा परेको असरले निर्माण सम्पन्न गर्न केही समय ढिलाइ भएको बताइएको छ । रसुवागढी जलविद्युत्ले वार्षिकरूपमा रु ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत् उत्पादन गरेर रु तीन अर्ब २५ करोड आय गर्ने आयोजनाले गर्ने छ । रसुवागढीमुनि भोटेकोशीमा बाँध बानेर ४ हजार १ सय ८५ मिटर सुरूङको सहायताले टिमुरे गाउँको दुहार तातोपानीपारिको पहराभित्र निर्माण गरिएको विद्युत् गृहमा तीनवटा टर्वाइन जडान भएको र जडित सबै उपकरण चालु भइसकेको प्राविधिकले बताएका छन् । चिलिमे जलविद्युत् कम्पनीको भगेनी संस्था रसुवागढी जलविद्युत् कम्पनीमार्फत सो आयोजना निर्माण भएको हो । यहाँको चिलिमे जलविद्युत् केन्द्रलाई धितो बन्धक राखी कर्मचारी सञ्चय कोषको ऋण, नेपाल विद्युत् प्राधिकरण र स्थानीय निकाय समेतको शेयर लगानीमा सो आयोजना निर्माण सम्पन्न भएको हो ।
काठमाडौँ: मन्त्रिपरिषद्को यही पुस ५ गतेको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा दुई जना र गृहसचिवस्तरको सोही दिनको निर्णयबाट प्राविधिक प्रहरी नायब उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा पाँच जना गरी पदोन्नति भएका ७ जना प्रहरी अधिकृत दर्ज्यानी चिह्न प्रदान गरिएकाे छ । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित समारोहमा उहाँरूलाई दर्ज्यानी चिह्नद्वारा सुशोभित गरेकाे केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ । दर्ज्यानी चिह्नद्वारा सुशोभित हुनेहरूमा प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षकद्वय दुर्गा सिंह र भरतबहादुर बोहरा रहेका छन् । यस्तै प्राविधिक प्रहरी नायब उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा पदोन्नति भएका प्राविधिक प्रहरी उपरीक्षकहरू डा.राम प्रसाद शर्मा, डा.नविन लागेजु, डा.समृद्धि कार्की, डा.अन्जली तण्डुकार र प्रदिन ताम्राकार रहेका छन् ।
मकवानपुर: यहाँको राक्सिराङ गाउँपालिका–३ सिमलडाँडामा रुखको हाँगा लागेर १ जनाको मृत्यु भएको छ । स्थानीय जङ्गलमा पानीको कुलो खन्ने क्रममा एक्कासि सिमलको रुखको हाँगा भाँचिएर लाग्दा आज ५२ वर्षीय महादेव प्रजाको मृत्यु भएको प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिनुभयो । सोही गाउँपालिका–५ ठाडे गाउँमा बस्दै आएका प्रजाको घटनास्थलमै मृत्यु भएको हो ।
ताप्लेजुङ: ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिरलाई विश्व सम्पदा सूचीमा समावेश गर्नका लागि पाथीभरा क्षेत्र विकास समितिले पहल गर्ने निर्णय लिएको छ । पाथीभरा क्षेत्र विकास समितिको बैठकले पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्न र १ अन्तर्राष्ट्रिय सम्पदाको रूपमा विकास गर्न महत्वपूर्ण कदम चाल्ने निर्णय गरेको समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो । यसका लागि पाथीभरा क्षेत्र विकास समितिले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गतको पुरातत्व विभागसँग समन्वय गर्दै पाथीभरालाई विश्व सम्पदा सूचीमा सूचीकरण गर्नका लागि औपचारिक अनुरोध गर्ने निर्णय गरेको हाङ्बाङले जानकारी दिनुभयो । पाथीभरा मन्दिर नेपालका प्रमुख शक्तिपीठमध्ये एक हो । धार्मिक, ऐतिहासिक र सांस्कृतिक रूपमा महत्वपूर्ण मानिने पाथीभरालाई विश्व सम्पदा सूचीमा समावेश गर्नु महत्वपूर्ण कार्य भएकाले यसका लागि पहल सुरु गरिएको समितिका अध्यक्ष रक्की थेबेले बताउनुभयो । पाथीभरा मन्दिरमा वार्षिक स्वदेशी तथा विदेशी गरि लाखौँको सङ्ख्यामा भक्तजन आउने गरेका छन् । पाथीभराको दर्शन गरे मनोकामना पूरा हुने जनविश्वास रहेकाले हरेक वर्ष यहाँ आउने भक्तजनको दर बढ्दै गएको समितिले जनाएको छ ।
काठमाडौं: लठ्ठीको साहारामा उभिएको बुढो शरीर । पावरवाला चस्माले परैबाट कसैलाई ठम्याउन खोज्दै थियो । आफ्नै जिल्लाबाट चुनिएर गएका नेता मन्त्री बनी गाउँघर आउनुभएको खबर सुनेर लमजुङ राइनास नगरपालिका–७ का ७९ वर्षीय वृद्ध धनश्याम गिरी हर्षित देखिनुहुन्छ । आफूले भोट दिएर जिताएको जनप्रतिनिधि मन्त्रीका हैसियतले एक्कासी आफ्नै घरआँगनमा आउँदा खुशी देखिनलाई स्वभाविकै मान्नुपर्ला ।प्रायः जन्मथलो सम्झेर गाउँमा पुग्ने नेताहरूमध्येमा पर्नुहुन्छ, नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचनाप्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ । जिल्लावासी तथा स्थानीय गाउँलेले उहाँप्रति देखाएको आशा र भरोसालाई अझ जगाउनु पर्दछ भन्ने मूल्यमान्यतालाई आत्मसात् गर्दै जिल्लाबासी जनतासँग एकापसमा साक्षात्कार गरी रमाउन मनपराउने मन्त्री गुरुङ यही पुस ३ र ४ गते गृह जिल्ला लमजुङको राइनास नगरपालिका हुँदै क्व्हलासोथार गाउँपालिका र पर्यटकीयस्थल घले गाउँसम्म पुग्नुभयो । क्व्हलासोथार गाउँपालिकाको प्रशासकीय भवन र मालिङ प्राथमिक अस्पतालको भवन उद्घाटन गर्नुभएका मन्त्री गुरुङले स्थानीयवासीसँग प्रत्यक्ष भेटेर उहाँहरुको दुःखसुख बुझ्नुभयो । मन्त्री भेट्नैका लागि काम छोडेर बाटामा हात जोड्दै उभिएका स्थानीयप्रति कृतज्ञ भई मन्त्री गुरुङ हालखबर सोध्दै भन्नुहन्थ्यो,“ज्यानलाई आरामै छ नि बुबा–मुवा, दाजू–दिदी, साथी १” मन्त्री गुरुङ आफू सदैव जनताप्रति जवाफदेही र उत्तरदायी हुनुपर्छ भन्ने मान्यता राख्नुहुन्छ । फोनको भरमा र सुनेको भरमा जनताका वास्तविक समस्या बुझिदैन । त्यसैले त घर–दैलोमै पुगी स्थानीयका सुखदुःखमा साथ दिन उहाँ चाहनुहुन्छ । राइनास नगरपालिका–८ तार्कुघाटस्थित श्री वीरभक्ति माध्यमिक विद्यालयको ५७औँ वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा पुग्नुभएका मन्त्री गुरुङले विद्यालयको अवस्था प्रत्यक्ष नियाल्नुभयो । विद्यार्थीका लागि आवश्यक पर्ने कम्प्युटर प्रयोगशाला, स्कुल बस र खेल मैदानलगायत भौतिक पूर्वाधारको अभाव भएको महशुस गर्दै उहाँले थप्नुभयोे,“शौचालय निकै फोहर रहेछ, यसलाई व्यवस्थित गर्नुहोस् ।” सूचनाप्रविधिमैत्री विद्यालय बनाउने उद्देश्यका साथ उहाँले जिल्लाका दश विद्यालयमा कम्प्युटर प्रयोगशालाका समेत व्यवस्था गरिदिनुभएको रहेछ । मन्त्री गुरुङ अहिले मन्त्रालयको जिम्मेवारीअन्तर्गत देशभर इन्टरनेट फोन सेवा विस्तार गर्न लाग्नुभएको छ । उहाँका अनुसार डिजिटल फेर्मवक बनाउने उद्देश्य सार्थक पार्न देशका कुना–कन्दरामा इन्टरनेट तथा टेलिफोन सेवा पु¥याउनै पर्छ । डिजिटल फेर्मवकको व्यवस्थासँगै इन्टरनेटमा आधारित शिक्षा, रोजगार तथा व्यापारको प्रबद्र्धन, विकास तथा विस्तारमा सहयोग पुग्ने भएकाले त्यसतर्फ सरकारले विशेष ध्यान दिएको उहाँले स्पष्ट गर्नुभयो । गाउँमा मन्त्री पुग्दा जनताका असिमित आशा र माग त हुन्छन् नै राम्रो काम गरेको भनेर प्रशंसा गर्ने जनता पनि प्रसस्तै भेटिए । राइनास नगरपालिका–४ का पद्मराज पन्थीले मन्त्री गुरुङलाई हार्दिकता साथ धन्यवाद दिँदै भन्नुभयो, “यो चिल्लो सडक तपाईकै कारणले सम्भव भएको हो मन्त्रीज्यू १”, ७२ वर्षीय स्थानीय पन्थीले भन्नुभयो,“सडक पक्की बनेपछि हामी गाउँलेको दैनिकी फेरिएको छ । रोजगार र व्यापार फस्टाएको छ । मान्छेहरुको चहलपहल बढ्दो छ ।” वृद्ध पन्थीले आजभन्दा तीन दशकअघि सदरमूकामबाट हिँडेर गाउँ आउँदा खुट्टामा फोका उठ्ने गरेको विगत सम्झिनुभयो । दुई वर्षअघि धुलाम्मे हुुने राइनास गाउँपालिकाको सडक अहिले मन्त्री गुरुङकै पहलमा कालोपत्र भएको छ । सडक पक्की भएपछि गाउँको जग्गाको मूल्य आकासिएकोमा स्थानीय खुसी छन् । “कुनै बेला एक हजार दुई सय पर्ने घडेरीको मूल्य अहिले ३० लाख रुपैयाँ भन्दामाथि पुगिसक्यो”, उहाँले भन्नुभयो,“यी सबै सडक विस्तारको चमत्कार हो, जुन मन्त्रीज्यूको कारण सम्भव भएको हो, हामी खुशी छौँ ।” पुस ४ गते मन्त्री गुरुङ क्व्हलासोथार गाउँपालिका र मालिङ प्राथमिक अस्पताल भवन उद्घाटन गर्न जाँदाको दृश्य झनै रोचक देखिन्थ्यो । पञ्चेबाजासहित परम्परागत गुरुङ वेषवुषामा सजिएका आमा समूहले आफ्ना अभिभावक एवं नेतालाई फूलमालाले स्वागत गर्नुभयो । दहीमा मुछिएको सेतो टीका लगाउँदै मन्त्री गुरुङको हातमा सयपत्री फूल थमाउँदै ७७ वर्षीय एक वृद्धले भन्नुभयो,“राम्रो गरेका छौ, अझै राम्रो गर्नु है छोरा ।” गण्डकी प्रदेशको मुख्यमन्त्री हुँदा उहाँले ल्याएका थुपै्र विकासनिर्माणका योजना प्रशंसनीय रहेको स्थानीय सम्झन्छन् । वषौदेर्खि एउटै कोठामा खुम्चिएको प्राथमिक अस्पतालको सुविधा सम्पन्न भवन मन्त्री गुरुङकै पहलमा निर्माण भएको छ । सेवाग्राहीलाई बस्ने ठाउँसमेत नभएको पालिकाको प्रशासकीय भवन निर्मा९ा भएपछि गाउँमै सिंहदरदबार आएको स्थानीयले महसुस गरेका छन् । क्व्हलासोथार गाउँपालिका अध्यक्ष सूर्यप्रसाद गुरुङले पालिकाको भवन निर्माण भई उद्घाटन भएपछि अब दैनिक कार्य प्रणाली थप जनमुखी र प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गर्दै यसबाट जनतालाई परिवर्तनको महशुस हुनेगरी काम गर्न हौसला मिलेको बताउनुभयो । “हामीले भवन मात्र होइन, स्थानीय सिंहदरबार पाएका छौँ”, उहाँले भन्नुभयो, “जनताको सेवालाई प्रविधिमैत्री बनाउँदै छिटो र सहज सेवा प्रदान गर्नेतर्फ उन्मुख हुनेछौ ।” मन्त्री गुरुङले हालै चीनसँग गरेका विभिन्न सम्झौताबारे बुझिनेगरी सो अवसरमा स्थानीयवासीलाई अवगत गराउनुभएको थियो । गाउँमा व्यापार र रोजगारीका प्रशस्त सम्भावना रहेको बताउँदै उहाँले चीनलाई मकैको घाँस बेचेर आयआर्जन गर्न सकिने बताउनुभयो । “हामीले चीनसँग सम्झौता गरेका छौँ, अब मकैको घाँस चीनमा बिक्री हुन्छ । घाँस लगाउनुहोस्”, मन्त्रीले यसो भनेको सुनिरहेकी स्थानीय रुपाकुमारी गुरुङ आश्चर्यचकित हुनुभयो । गाउँमा घाँस बेचेर जीविकोपार्जन गर्न सकिने सम्भावना सुन्दा उहाँको मन कतै आशावादी देखिन्थ्यो । उहाँले रमाइलो भावमा भन्नुभयो,“अहा कस्तो नयाँ कुरा १ चीनमा घाँस बेच्ने १ मन्त्रीले भने जस्तै हो भने त अब यहीँ घाँस बेची पैसा कमाउँला, विदेश किन जाउँला, आयस्रोत भइदिए गावैं रमाइलो ।”

