गण्डकी: पोखरा विश्वविद्यालयको २०औँ दीक्षान्त समारोहबाट सात हजार ८७२ विद्यार्थी दीक्षित भएका छन् । पोखरा महानगरपालिका–३० ढुङ्गेपाटनस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित विशेष समारोहबीच विश्वविद्यालयका कुलपति एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थीहरुलाई दीक्षित गराउनुभएको हो । सो विश्वविद्यालयअन्तर्गतका विभिन्न क्याम्पसबाट स्नातक, स्नातकोत्तर र विद्यावारिधि तह उत्तीर्ण गरको विद्यार्थी आज दीक्षित भएका हुन् । पोखरा विश्वविद्यालयअन्तर्गत देशभर सञ्चालित क्याम्पसहरूबाट विभिन्न ६८ विधामा करिब ४० हजार विद्यार्थी अध्ययनरत रहेको सो विश्वविद्यालयले जनाएको छ ।
तनहुँ: मुग्लिन–पोखरा सडकअन्तर्गत पृथ्वी राजमार्गको पूर्वी खण्डमा सडक विस्तार कार्र्य ७७ दशमलव सात प्रतिशत भौतिक प्रगति भएको छ । पूर्वी खण्डमा पर्ने ४१ दशमलव ४५ किलोमिटर दूरी सडकमध्ये ७२ दशमलव एक किमी सडक कालोपत्र गरिएको हो । त्यसमा ३४ दशमलव पाँच चार लेन र तीन दशमलव एक दुई लेन सडक कालोपत्र गरिएको हो । आयोजनाका अनुसार ४४ किमी सडकमा दोस्रो (अन्तिम चरण)को कालोपत्र भएको छ । सोमा १५ दशमलव छ चारलेन र १२ दशमलव ७३ किलोमिटर दुई लेन रहेको आयोेजनाको पूर्वी खण्डका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिनुभयो । पहिलो चरणमा छ सेन्टिमिटर मोटाइको सडक कालोपत्र गरिएको थियो । दोस्रो चरणमा चार सेमी गरी कुल १० सेन्टिमिटरको सडक कालोपत्र हुनेछ । जिल्लाको आँबुखैरेनी गाउँपालिकाको मार्कीचोकबाट ‘डबल लेयर’को कालोपत्र कार्य अघि बढाउनाका साथै कालोपत्र नगरिएका स्थानमा पनि काम सुरु गरिएको उहाँले बताउनुभयो । “दुईतर्फी सडकमध्ये एकतर्फी कालोपत्र भई बाँकी रहेका अर्को सडक साइडमा पनि कालोपत्रको कार्य अघि बढाइएको छ”, उहाँले भन्नुभयो, “जिल्लाको सदरमुकाम दमौली खण्डमा अहिले सडक विस्तार कार्यले गति लिइरहेको छ ।” पृथ्वी राजमार्गको पूर्वी खण्डमा पर्ने आँबुखैरेनी–जामुने विसं २०७७ माघ १७ गते चाइना कन्स्ट्रक्सन कम्पनी कर्पोरेसनले रु छ अर्ब २१ करोड ३१ लाखमा ठेक्का सम्झौता गरेको थियो । विसं २०८१ वैशाखसम्म काम सम्पन्न गर्नेगरी सम्झौता गरिएको थियो । हाल पुनः म्याद थप गरी निर्माण कार्यलाई निरन्तरता दिइएको छ । एसियाली विकास बैङ्क एडिबीको ऋण सहयोगमा चार लेनमा सडक विस्तार भइरहेको हो ।
म्याग्दी: पश्चिम म्याग्दीको मालिका गाउँपालिकामा सञ्चालित प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी उपभोक्ता समितिका सदस्य र कामदारलाई आवश्यक सुरक्षा सामग्री वितरण गरिएको छ । गाउँपालिकाभित्रका सातवटै वडाका १४ उपभोक्ता समिति र कामदारलाई आवश्यक सुरक्षा सामग्री वितरण गरिएको हो । गाउँपालिकामा चालु आर्थिक वर्ष २०८१/८२ का लागि प्रत्येक वडामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रमअन्तर्गतका दुई–दुई योजना गरी सात वडामा १४ योजना सञ्चालनमा छन् । स्वरोजगार कार्यक्रमअन्तर्गतका योजनामध्ये सार्वजनिक शौचालय निर्माण, पदमार्ग निर्माणलगायत योजनाका उपभोक्ता समिति र कामदारलाई हेल्मेट, ग्लोभ्स, बुट, ज्याकेटलगायत सुरक्षा सामग्री वितरण गरिएको गाउँपालिकाका रोजगार सहायक मिलन सुवेदीले जानकरी दिनुभयो । सुरक्षित, व्यवस्थित र प्रभावकारी कार्य सञ्चालन सुनिश्चित गर्न श्रमिकलाई प्रदान गरिएका सुरक्षा सामग्रीले काम गर्दा सुरक्षित वातावरण बन्ने सुवेदीले बताउनुभयो ।
सुर्खेत: जाजरकोटको कुशे गाउँपालिका–१ स्थित आधारभूत स्वास्थ्य केन्द्र काफलबाटामा कार्यरत महिला स्वास्थ्य स्वयंसेविकाका देवीसरा वादीको घाँस काट्दै गर्दा लडेर मृत्यु भएको छ । आज बिहान घाँस काट्दै गर्दा लडेर घटनास्थलमै मृत्यु भएको स्वास्थ्य चौकी टालेगाउँका स्वास्थ्य चौकी प्रमुख शेरबहादुर बस्नेतले जानकारी दिनुभयो । जाजरकोटको कुशे–१ को गातिना सामुदायिक वनको राता पहारामा सुकेको घाँस काट्ने क्रममा भिरबाट लडेर वादीको मृत्यु भएको हो ।
बर्दिया: यहाँस्थित बढैयाताल गाउँपालिकाको एक मात्र सभाहल उपयोगमा चासो नदिँदा निर्माण सम्पन्न नहुँदै जीर्ण र बेवारिसे बनेको छ । बढैयाताल गाउँपालिका–८ पशुपतिनगरमा रहेको उक्त सभाहल रु ७० लाख २६ हजारमा निमार्ण गरिएको थियो । दुई सय ४२ वर्गमिटर क्षेत्रफलमा निर्मित तीन सय जना क्षमताको सुविधा सम्पन्न सभाहलमा शौचालय, आराम कक्ष र पोसाक परिवर्तन गर्ने कक्ष रहेको गाउँपालिकाको योजना शाखा उपप्रमुख उमानबहादुर हमालले जानकारी दिनुभयो । गाउँपालिका र निमार्ण कम्पनीबीच भएको सम्झौता अनुसार निर्माण कम्पनीले काम नगरेको र समयमा हस्तान्तरण नगर्दा सभाहल जीर्ण र बेवारिसे बनेको वडा नं ८ का वडा सदस्य दिल्लीप्रसाद गौतमले बताउनुभयो । जय बागेश्वरी निमार्ण सेवा कम्पनी र बढैयाताल गाउँपालिकाबीच विसं २०७८ जेठ ८ गते ठेक्का सम्झौता भएको थियो । सम्झौता बमोजिम पूर्ण रुपमा निर्माण सम्पन्न नभएपछि निर्माण कम्पनीले पुनः भत्किएका ठाउँमा मर्मत सुरु गरेको छ । सभाहल उपयुक्त स्थानमा निर्माण नगर्दा महँगो भाडा तिरेर गाउँपालिकाले होटलमा कार्यक्रम गर्ने गरेको स्थानीयको भनाइ छ । गाउँपालिकाको कार्यालय रहेको स्थानदेखि पाँच किलोमिटर पश्चिममा निर्मित सभाहलका झ्यालका सिसा फुटेका छन्् भने छाडा पशुको विश्रामस्थल र बालबालिका खेल्ने ठाउँ बनेको छ ।
म्याग्दी: म्याग्दीको धवलागिरि गाउँपालिका–४ मुदीको दुर्गम बस्ती बगर गाउँमा सडकको पहुँच पुगेको छ । सोही वडाको नाउरामा पुगेको सडकलाई ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत आयोजनाले पहुँचमार्ग निर्माणको क्रममा बगर स्थित जेल्टुङ बस्तीमा सडकको पहुँच पुगेको हो । नाउरादेखि म्याग्दी खोलाको किनार हुँदै भिर पहाड काटेर छ किलोमिर लामो सडकको ट्याक निर्माण भएपछि बगरको जेल्टुङ सडकको पहुँचमा जोडिएको म्याग्दीखोला जलविद्युत आयोजना प्रमुख ज्योतिकुमार केसीले जानकारी दिनुभयो । ट्याक खोल्न बाँकी रहेको नाउराको भिर छिचोलिएसंगै बुधवार जेल्टुङमा पहिलो पटक बोलेरो जीप पुगेको थियो । चक्रीय धौलागिरि पदमार्ग अन्तरगत अन्तिम मानव बस्तीको रुपमा रहेको बगर सडक सञ्जालले जोडिएसंगै स्थानीयबासीलाई गाउँपालिकाको केन्द्र र जिल्ला सदरमुकाम आवत जावत गर्न सहज भएको धवलागिरि – ४ मुदीका वडा अध्यक्ष यामप्रसाद घर्तिमगरले बताउनुभयो । सडकले बगर र जेल्टुङ गाउँका करिब ६० घरधुरी लाभान्वित भएका छन् । यस अघि नाउराको अक्करे भिरमा बनाइएको गोरेटो बाटो हुँदै करिब २ देखि ३ घण्टा लाग्ने बाटो सडक सञ्जालले ३० मिनेटमा छोटिएको छ । सडकको पहुँच विस्तार भएसंगै उर्जा डेभलपर्स प्रा.लि. अन्तगत रहेको हाइड्रो भिलेज प्रा।लि प्रवद्र्धक रहेको ६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युतको जेल्टुङमा विद्युतगृहको लागि बंकर घर र क्याम्प लगायतका पूर्वाधार निर्माण सुरु हुने भएको छ । यस आयोजनाको बाँधस्थल रहने दोभानसम्म थप ११ किलोमिटर सडकको पहुँच विस्तार गर्ने कार्यसंगै विद्युतगृह, सुरुङमार्ग निर्माणको काम एकैसाथ अघि बढाउने आयोजनाले जनाएको छ । धवलागिरि गाउँपालिका– ४ को चेचुङ गाउँमा हालै ३७ मेगावाट क्षमताको अपर म्याग्दी जलविद्युत आयोजनाले सडकको पहँच विस्तार गरेको थियो । यस वडाको अर्चे र नेरवाङमा अझै सडक पुग्न सकेको छैन् ।
तनहुँ: अफ्रिकन स्वाइन फिभर रोगबाट जिल्लामा बङ्गुर मर्न र बिरामी हुन थालेपछि ओसारपसारमा प्रतिबन्ध लगाइएको छ । यहाँ १८ वटा बङ्गुर मर्नाका साथै केही बिरामी भएपछि ओसार–पसारमा रोक लगाइएको हो । जिल्लामा एक महिनाअघि यस रोगको सङ्क्रमण देखिएको थियोे । त्यसयता जिल्लाको भीमादमा १४, शुक्लागण्डकी नगरपालिकामा दुई, व्यासमा एक र ऋषिङमा एक बङ्गुर मरेका भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र प्रमुख डा राजेश चौधरीले जानकारी दिनुभयो । बाह्य मानिसलाई फार्ममा जान नदिन, सतर्कता अपनाउन र बङ्गुर तथा सुँगुर ओसार–पसारमा प्रतिबन्ध लगाइएको उहाँले बताउनुभयो । डा चौधरीले भन्नुभयो, “केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले हाल जिल्लाका बङ्गुर फार्ममा पुगेर अनुसन्धान गरिरहेका छन् । बङ्गुर मरेका फार्ममध्ये ऋषिङबाट पाँच, व्यासबाट पाँच र बङ्गुर नमरेका फार्मबाट दुईवटा गरी १२ वटा बङ्गुरको नमूना परीक्षणका लागि पशुपन्छी रोग अन्वेषण प्रयोगशाला पोखरा पठाइएको छ ।” यहाँका १० पालिकामध्ये भिमाद, शुक्लागण्डकी र व्यास गरी तीन नगरपालिकामा ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण देखिएको हो । सबैभन्दा बढी भिमाद नगरपालिका यस रोगबाट प्रभावित भएको छ । जिल्लामा १३ हजार ५०० किसानले ४० हजार बङ्गुर पालेका पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । यो रोग किर्नाको टोकाइ, दूषित दानापानी, सङ्क्रमित भाँडाकुँडा तथा कपडाबाट तथा सङ्क्रमित सुईबाटसर्ने हुँदा सतर्कता अपनाउन पशु चिकित्सकले सल्लाह दिएका छन् । महामारीका रूपमा रहेको यस रोगको उपचार नहुने भएकाले उच्च जैविक सुरक्षा अपनाउन किसानलाई आग्रह गरिएको छ । उक्त रोगविरुद्ध हालसम्म कुनै ‘भ्याक्सिन’ नबनेकाले सङ्क्रमण नफैलिएका अन्य पालिकामा पनि किसानलाई सतर्कता अपनाउन आग्रह गरिएको छ । बङ्गुरमा उच्च ज्वरो आउने, खाना मन नगर्ने, झोक्राउने, पेट तथा कानमा रगतका धब्बा देखापर्ने, एकैपटक धेरै सुँगुर बङ्गुर बिरामी पर्ने र मर्ने जस्ता लक्षण देखिने गरेको डा चौधरीले बताउनुभयो ।
भैरहवा: भारतको उडिसा राज्यस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआइआइटी) मा प्राण त्यागेकी प्रकृति लम्सालको यहाँस्थित स्वर्गद्वारी घाटमा अन्तिम संस्कार भएको छ । उहाँको पार्थिव शरीर भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पु¥याइएको थियो । शवयात्रामा सिद्धार्थनगरका सर्वसाधारणका केआइआइटीमा अध्ययनरत नेपाली विद्यार्थी पनि सहभागी थिए । उहाँलाई हजुरबुवा देवनाथ लम्सालले मुखाग्नि दिनुभएको थियो । उहाँको पार्थिक शरीर बुधबार उडिसाबाट ल्याइएको हो । विसं २०६१ असार ४ गते भैरहवामा जन्मिनुभएकी लम्सालको गत आइतबार निधन भएको हो । उहाँको शरीर केआइआइटी छात्रावासमा झुण्डिएको अवस्था भेटिएको थियो ।
काठमाडौं: नेपाल प्रेस युनियनले ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ फिर्ता लिन सरकारसँग माग गरेको छ । युनियन केन्द्रीय समितिको आयोजनामा काठमाडौँमा यही फागुन ५ गते आयोजित प्रदेश अध्यक्ष र ६–७ गते शाखा अध्यक्षको राष्ट्रिय सम्मेलनले १२ बुँदे घोषणापत्र जारी गर्दै यस्तो माग गरेको हो । ‘सामाजिक सञ्जाल विधेयक, २०८१’ मा व्यवस्था भएका केही विषयमा युनियनको गम्भीर असहमति रहेको युनियनले सम्मेलन समापनपछि जारी घोषणापत्रमा उल्लेख छ । विधेयकमा ‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’मा असर पार्ने गरी राखिएका प्रावधान सरोकार भएकाहरूसँग छलफल तथा परामर्श गरेर प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई सुनिश्चितताका लागि फिर्ता लिन माग गरिएको हो । सम्मेलनले नेपाल प्रेस युनियनका साङ्गठनिक गतिविधि, श्रमजीवी पत्रकार र पत्रकारिताका मुद्दा, पत्रकारको पेसागत सुरक्षा, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, प्रविधिको विकासले सञ्चारक्षेत्रमा थपेका चुनौती, सञ्चारसँग सम्बन्धित ऐन, कानुन, सञ्चारमाध्यमका समस्यालगायत विषयमा घनिभूत छलफल गरी १२ बुँदे घोषणापत्र सार्वजनिक गरिएको जनाएको छ । सम्मेलनमा महासचिव दिलीप पौडेलद्वारा प्रस्तुत साङ्गठनिक प्रतिवेदन र वरिष्ठ उपाध्यक्ष तथा अनुशासन विभाग संयोजक प्रेम केसीद्वारा प्रस्तुत अनुशासन समितिको प्रतिवेदन पारित गरिएको छ । सम्मेलनले दिएको सुझावका आधारमा केन्द्रीय समितिले तयार गर्ने कार्ययोजना पूर्ण रूपमा कार्यान्वयन गर्ने घोषणा पनि युनियनले गरेको छ । सदस्यतालाई थप व्यवस्थित गर्दै युनियनको विधानमा भएको व्यवस्थाअनुसार क्रियाशील पत्रकारलाई समावेश गरेर सदस्यता शुद्धीकरण अभियान सञ्चालन गर्ने र प्रदेश तथा शाखाहरूले वैशाख मसान्तभित्र साधारणसभा सम्पन्न गर्ने पनि घोषणा गरिएको छ । श्रमजीवी पत्रकार ऐन, न्यूनतम पारिश्रमिक कार्यान्वयन, नियमित पारिश्रमिक भुक्तानी, पत्रकारको पेसागत, भौतिक, आर्थिक, सामाजिक सुरक्षालगायत विषयमा सरकार तथा सञ्चार प्रतिष्ठानको ध्यानाकर्षण गराउँदै आवश्यकताअनुसार युनियनका सबै संरचनाले दबाबमूलक अभियान अघि बढाउने पनि घोषणा गरिएको छ । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको हक कुण्ठित हुने गरी विभिन्न तहका सरकारले निर्माण गरेका कानुन तथा निर्देशिकाबारे ध्यानाकर्षण भएको जनाउँदै संविधानप्रदत्त अधिकार सुनिश्चित हुने गरी सञ्चारसँग सम्बन्धित नीति, नियम, ऐन, कानुन, नियमावली बनाउन तीनै तहका सरकारसँग युनियनले जोडदार माग गरेको छ । “मुलुकको अर्थतन्त्रमा देखिएका समस्याको प्रभाव विज्ञापन बजारमा परेकाले छापा, टेलिभिजन, रेडियो सञ्चारमाध्यम बन्द हुने क्रममा छन् । अनलाइन सञ्चारमाध्यम खोल्ने क्रमले व्यापकता पाएको अवस्थामा समानुपातिक विज्ञापन वितरण प्रणालीलाई व्यवस्थित बनाउँदै अनलाइन सञ्चारमाध्यमलाई लोककल्याणकारी विज्ञापनमा समावेश गरी विज्ञापनको रकम वृद्धि गर्न प्रदेश एवं शाखा अध्यक्षको सम्मेलन आग्रह गर्दछ”, जारी घोषणापत्रमा भनिएको छ । व्यावसायिक पत्रकारिता, पत्रकारको पेसागत सुरक्षा, पत्रकारको क्षमता विकासलगायत विषयमा केन्द्रीय समितिले घोषणा गरेको ‘पत्रकारसँग प्रेस युनियन’ अभियानलाई प्रभावकारी बनाउन क्षमता विकास, पत्रकारिताको विधागत प्रशिक्षण, पत्रकार दुःखसुखमा साथ दिने कार्यक्रम, बिमा, सामाजिक सुरक्षा, प्रोत्साहन तथा लेखनवृत्तिलगायत कार्यक्रम सबै शाखा र प्रदेश समितिले कार्यान्वयन गर्ने प्रतिवद्धता सम्मेलनले व्यक्त गरेको छ । प्रेस युनियनको विधान २०४८ (छैटौँ संशोधन–२०७९) लाई समयानुकूल र व्यावहारिक बनाउन विधान संशोधन प्रक्रिया अघि बढाइने जनाइएको छ । चैतमा ‘लोमन्थाङ अन्तरराष्ट्रिय मिडिया समिट’ आयोजना गरिने नेपालको पत्रकारिताका मुद्दालाई अन्तरराष्ट्रियकरण गर्दै अन्तरराष्ट्रिय अभ्यासलाई नेपालमा अनुसरण गर्ने वातावरण सिर्जना गर्न युनियनले चैत अन्तिम साता ‘लोमन्थाङ अन्तरराष्ट्रिय मिडिया समिट’ आयोजना गर्ने भएको छ । सम्मेलनले सो समिट भव्य रूपमा सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपाल पत्रकार महासङ्घको सदस्यताबाट छुटेका र छुटाइएका पत्रकारको सदस्यता कायम राख्ने प्रक्रिया तत्काल थाल्न युनियनले महासङ्घलाई आग्रह गरेको छ । नेपालको नामकरणको इतिहास जोडिएको नेमुनि ऋषिको तपस्यास्थल बज्रयोगिनी, स्वस्थानी व्रतकथामा उल्लेख भएको शालीनदी, माधवनारायण तथा साँखु क्षेत्रका मणिचुड, पञ्चमहालक्ष्मी, नारायणीश्वर, कुण्डेश्वरलगायत धार्मिक, सांस्कृतिक पर्यटकीय क्षेत्र तथा आलु र धान प्रमुख बाली रहेको यस क्षेत्रमा कृषि पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्न आमसञ्चारमार्फत जोड दिने र यस क्षेत्रका पूर्वाधार विकासका लागि पनि युनियनले सरकारको ध्यानाकर्षण गराएको छ । प्रेस युनियनको प्रदेश तथा शाखा अध्यक्षहरूको राष्ट्रिय सम्मेलन सम्पन्न गर्न प्रेस युनियन काठमाडौँ, ललितपुर, भक्तपुर, साँखु शाखासहित प्रत्यक्ष तथा अप्रत्यक्ष सहयोग गर्ने सबैप्रति केन्द्रीय समितिले आभार तथा धन्यवाद ज्ञापन गरेको छ ।

