कर्णाली:   नेपालगञ्जबाट स्कुटरमा बसेर सुर्खेततर्फ आइरहेका एक युवक यात्राका क्रममा बेहोस भए । बेहोसीमै कर्णाली प्रदेश अस्पताल पुर्‍याइएका उनको  मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका सू...

पर्सा:  जिल्ला प्रशासन कार्यालय पर्साले आइतबार मध्यरातदेखि वीरगञ्ज महानगर क्षेत्रमा लगाएको कर्फ्यूहटाएको छ ।       पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले आइतबार मध्यरात १२ बजेदेखि कर्फ्यू हटाइएको जानकारी दिनुभयो ।        ‘‘वीरगञ्ज महानगरभित्र समग्र शान्ति सुरक्षाको अवस्था विश्लेषण गर्दा परिस्थिति क्रमशः सुधार हुँदै गएको र सम्बद्ध पक्षहरुसँग आइतबार सर्वपक्षीय बैठकमा भएको निर्णयका आधारमा उक्त कर्फ्यू आदेशलाई निरन्तरता दिइरहन पर्ने नदेखिएकाले राति १२ बजेदेखि उक्त कर्फ्यू आदेश हटाउने निर्णय भएको छ’’, प्रजिअ अर्यालले भन्नुभयो, ‘‘परिस्थिति पूर्णरुपमा सामान्य भई नसकेको वर्तमान अवस्थालाई मध्यनजर गरी वीरगञ्ज महानगर पूर्वतर्फ बाइपास रोड, पश्चिमतर्फ सिर्सियापुल ,उत्तरतर्फ गण्डक चोक र दक्षिणतर्फ शङ्कराचार्य गेटतर्फ वैशाख १ गतेदेखि अर्को आदेश नभएसम्मका लागि कुनै किसिमको भेला गर्न, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३ क) बमोजिम निषेधाज्ञा आदेश जारी गरिएको छ ।’’       प्रजिअ अर्यालले उक्त आदेशको उल्लङ्घन गर्नेलाई नियन्त्रणमा लिइ कानुन बमोजिम कारबाही गरिने पनि स्पष्ट पार्नुभएको छ । वीरगञ्ज महानगर क्षेत्रमा दुई समूहबीच शनिबार बेलुका झडप भएपछि शनिबार बेलुका ६ः३० बजेदेखि कर्फ्यू आदेश जारी गरिएको थियो । 

काठमाडौं: आज विक्रम संवत् २०८२ साल वैशाख १ गते नयाँ वर्षको पहिलो दिन देशभर एकआपसमा शुभकामना आदानप्रदान गरी हर्षोल्लास साथ मनाइँदैछ । आज सूर्यले मीन राशिको भोग समाप्त गरी मेष राशिबाट भोग सुरु गर्ने दिन, वैशाख सङ्क्रान्ति अर्थात् मेष सङ्क्रान्ति तथा वर्षको पहिलो दिन पनि हो । सूर्यको गतिसँग चल्ने भएकाले विक्रम संवत् शाश्वत भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्वअध्यक्ष  माधव भट्टराई बताउनुहुन्छ ।  “विक्रम ६० संवत्सरमध्ये एक र आदित्य सूर्यसँग सम्बन्धित भएकाले यसलाई विक्रमादित्य संवत् भनिएको हो, सूर्यको गति र स्थिति अनुसार विक्रम संवत् चल्दछ, शक संवत्का विशेषतादेखि इश्वी संवत्का व्यावहारिक गुण यसभित्र समावेश गरिएको छ”, उहाँले भन्नुभयो । सूर्य मेष राशिमा प्रवेश गर्दा सुरु भएर मीन राशि छोड्दा यो संवत्को पुरानो वर्ष सकिएर नयाँ वर्ष लाग्ने भएकाले वैज्ञानिक रहेको विद्वानहरुको भनाइ छ । सौरमान र चान्द्रमानको समन्वय पनि यो संवत्मा भएको छ । कलि युग सुरु भएको तीन हजार ४४ वर्षपछि विक्रम संवत् सुरु भएको हो ।       हरेक व्यक्तिले आज गत वर्ष गरेका कामको सफलता÷असफलता मूल्याङ्कन गरी असफलता दोहोरिन नदिने र सफलता प्राप्त गर्न योजना निर्माण एवं सङ्कल्प गर्दछन् ।  आज बिहानै नुहाउने, घरकोठा–आँगन सफा गर्ने, मठ मन्दिरमा गई पूजा आराधना एवं दर्शन गर्ने, मीठोमीठो खाने, साथीसङ्गी तथा इष्टमित्रसँग भेटघाट गरी एक आपसमा शुभकामना आदानप्रदान गर्ने गरिन्छ । विश्वका जुनसुकै कुनामा बस्ने नेपालीले वैशाख १ गतेलाई नयाँ वर्षका रुपमा मनाउँछन् ।        चान्द्रमान अनुसार चैत्र शुक्ल प्रतिपदाका दिन नै सुरु हुने नयाँ संवत्सर भने चैत १७ गतेदेखि नै सुरु भइसकेको छ । चैत १७ गतेदेखि सिद्धार्थी नामको संवत्सर सुरु भएको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताउनुभयो ।       वैदिक सनातन हिन्दू धर्म अनुसार ६० संवत्सर छन् । यी संवत्सर आदि अनादिकालदेखि घुम्दै आएका छन् । षष्टि संवत्सरमध्येको पहिलोको नाम प्रभव हो । अहिले चलिरहेको सिद्धार्थी ५३ औँ संवत्सर हो । 

ललितपुर:   नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकमा सामाजिक  सद्भाव कायम मुस्लिम समुदायले निर्वाह गरेको भूमिकाको सराहना गर्नुभएको छ ।    पार्टीको भ्रातृ संस्था नेपाल मुुस्लिम सङ्घ केन्द्रीय समितिद्वारा पार्टी केन्द्रीय कार्यालयमा आज  आयोजित इद मिलन तथा नववर्ष २०८२ को शुभकामना आदानप्रदान कार्यक्रममा उहाँले सामाजिक सद्भाव कायम गर्न तथा पार्टीलाई सबल बनाउन मुस्लिम समुदायले निर्वाह गरेको भूमिकाको प्रशंसा गर्नुभयो ।  “मुस्लिम समुदायमा धेरै सहयोगी दाजुभाई दिदीबहिनी हुनुहुन्छ, मुलुककले अङ्गीकार गरेको समावेशी, समानुपातिक शासन व्यवस्थाले सबै जात र समुदायलाई समेटेको र यसलाई अझ समावेशी बनाउन पार्टी सचेत रहेको सभापति देउवाले बताउनुभयो ।  पार्टीका सहमहामन्त्री भीष्मराज आङ्दम्वेले धार्मिक स्वतन्त्रता र सहिष्णुतालाई स्वीकार गर्दै लोकतान्त्रिक व्यवस्थामा विश्वास गर्ने नेपाली कांग्रेसले सबैको आस्था, विचार र मुल्य मान्यतालाई स्वीकार गरेर हार्दिककता प्रदर्शन गरिरेहको बताउनुभयो ।   केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले मुस्लिम समुदायले लोकतान्त्रिक व्यवस्था र देशको विकासमा पु¥याएको योगदान बिर्सन सकिदैन भन्नुभयो ।  अर्का केन्द्रीय सदस्य अब्दुल सतारले नववर्ष २०८२ को शुभकामना व्यक्त गर्दै सबै जातजाति,समुदायबीचको एकताबाटै देशको विकास गर्न सकिने बताउनुभयो ।  त्यस अवसरमा नेपाली कांग्रेस ललितपुरका सभापति जितेन्द्रकुमार श्रेष्ठ, नेपाल मुस्लिम सङ्घका केन्द्रीय अध्यक्ष अताबुल मन्सुर र मुस्लिम आयोगका कार्यवाहक अध्यक्ष महमद्दिन अलीले धार्मिक एकता, सद्भाव र सहिष्णुता नेपालीको पहिचान भएको बताउनुभयो ।

काठमाडौं:  नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले उच्चस्तरीय आर्थिक सुधार आयोगका सुझावअनुरुप बजेट निर्माण गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।  अर्थ मन्त्रालय, राजस्व परामर्श समितिले शनिबार रुपन्देहीमा आयोजना गरेको बजेट तथा राजस्व नीतिसम्बन्धी अन्तरक्रिया कार्यक्रममा आयोगका सदस्यसमेत रहनुभएका अध्यक्ष ढकालले आयोगको सुझावअनुरुप बजेट निर्माण गर्दा अर्थतन्त्रका धेरै विषय सम्बोधन हुने बताउनुभयो ।   उहाँले बजेट जनता केन्द्रित विकास, वर्तमान आवश्यकता र प्राथमिकताका आधारमा उत्पादन र रोजगारी वृद्धि गर्ने गरी ल्याउनुपर्नेमा जोडदिँदै सरकारले राजस्व सङ्कलनलाई मात्र प्राथकितामा राख्दा रोजगारी सिर्जना र उत्पादन वृद्धि तथा आयात प्रतिस्थापनको विषय ओझेलमा परेको बताउनुभयो ।   अध्यक्ष ढकालले विगत दुई वर्षदेखि विप्रेषणको आन्तरिक कारोबार शून्य बनाइएकाले साना व्यवसायी तथा विद्यालय, कलेज, अस्पताललगायत सङ्गठित सङ्घसंस्थामा आवश्यक पर्ने सानो रकम प्रयोगमा सर्वसाधारणले समस्या भोग्नु परेकाले यसलाई पुनः सुचालु गर्नुपर्नेमा जोड दिनुभयो ।

झापा: प्रधानमन्त्री केपी शर्मा ओलीले झापा, तेह्रथुम र ताप्लेजुङका १५ सामुदायिक विद्यालयलाई कम्प्युटरलगायत शैक्षिक सामग्री वितरण गर्नुभएको छ ।      सामाजिक उत्तरदायित्वअन्तर्गत भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय कोषको रकमबाट आज दमकमा आयोजित कार्यक्रममा ती सामग्री वितरण गरिएको हो ।      प्रधानमन्त्री ओलीले शैक्षिक गुणस्तर वृद्धिका लागि सरकारी र निजी क्षेत्रले यस्ता शैक्षिक सामग्री उपलब्ध गराई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाललगायत सहभागी हुनुहुन्थ्यो ।

पर्सा:  जिल्ला प्रशासन कार्यालय पर्साले जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न वीरगञ्ज महानगरपालिका र वरपरका क्षेत्रमा निषेधाज्ञा (कर्फ्यु)को समय बढाएको छ ।       आज मध्याह्न १२ः०० बजेसम्मका लागि जारी भएको निषेधाज्ञाको समय बढाएर मध्यरात १२ः०० बजेसम्म निषेधाज्ञा जारी गरिएको हो ।  पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले शनिबार साँझ ७ः३० बजेदेखि आइतबार १२ः०० बजेसम्मका लागि जारी भएको कर्फ्युको समय आज राति १२ः०० बजेसम्मका लागि बढाएको जानकारी दिनुभयो । 

म्याग्दी:  यस वर्ष डढेलोका कारण जिल्लामा करिब एक सय हेक्टर वनमा क्षति पुगेको छ । जिल्लामा रहेका २८ सामुदायिक वनको ९९ हेक्टर क्षेत्रफलमा डढेलोले क्षति पु¥याएको डिभिजन वन कार्यालयले जनाएको छ ।       कार्यालयका वन अधिकृत विनयबहादुर अधिकारीले सबैभन्दा बढी धवलागिरि गाउँपालिकास्थित नौ वटा सामुदायिक वनमा डढेलो लागेको जानकारी दिनुभयो ।  उहाँका अनुसार मालिका गाउँपालिकाको चार, मङ्गला गाउँपालिकाको दुई, रघुगङ्गा गाउँपालिकाको चार, अन्नपूर्ण गाउँपालिकाको छ र बेनी नगरपालिकाको तीन वटा सामुदायिक वनमा डढेलो लागेको छ ।      “विगतका वर्षका तुलनामा यस वर्ष ढडेलो कम लागेको छ”, अधिकारीले भन्नुभयो, “शुक्रबार र शनिबारको वर्षाले पछिल्लो पटक वनजङ्गलमा लागेको डढेलो निभाएकाले मौसम सफा र सुन्दर देखिएको छ ।” घाँस पलाउने बहानामा, अवैध सिकार र आगोको जथाभावी प्रयोगले वनजङ्गलमा डढेलो लाग्ने गरेको उहाँको भनाइ छ ।      गोठालाहरूले राम्रो घाँस पलाउँछ भनेर जङ्गल र भिरमा आगो लगाउने गरेका भन्दै वन अधिकृत अधिकारीले सिकारीहरूले वन्यजन्तु र पन्छीलाई भगाउन पनि डढेलो लगाउने गरेको पाइएको उल्लेख गर्नुभयो । उहाँका अनुसार जिल्लामा दुई लाख २९ हजार ७०६ हेक्टर क्षेत्रफल वनले ओगटेको छ ।       अधिकारीले ३६ दशमलव ७६ प्रतिशत वन, एक दशमलव ८५ प्रतिशत झाडी र २१ दशमलव २७ प्रतिशत चरन क्षेत्र रहेका जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा तीन सय १० सामुदायिक वन उपभोक्ता समूह छन् ।       वन डढेलो नियन्त्रणका लागि समुदायमा आधारित वन व्यवस्थापनसम्बन्धी कार्यक्रम गर्ने, डढेलो नियन्त्रण सञ्जाल गठन गर्ने, अग्निरेखा निर्माणलगायत काममा आवश्यक सहजीकरण गर्नुका साथै सुरक्षा निकायलाई आवश्यकपर्ने सामग्री सहयोग गरिएको डिभिजन वन अधिकृत विष्णु अधिकारीले जानकारी दिनुभयो । 

भक्तपुर: भक्तपुरमा आठ रात नौ दिनसम्म चल्ने बिस्केट जात्राको अवसरमा आज बिहान ११ बजे भक्तपुरको पोटरीस्क्वायरस्थित कुमाले टोलमा हात नभएको लिङ्गो उठाइएको छ ।  प्रत्येक वर्ष चैत मसान्तका दिन स्थानीय भक्तपुरको कुमाले टोलमा बिहानै उठाइने हात नभएको लिङ्गो आज विधिपूर्वक पूजा गरी उठाइएको हो ।  बिस्केटजात्राको अवसरमा हरेक वर्ष चैत मसान्तको दिन उठाइएको हात नभएको लिङ्गो जात्राको अन्तिम दिन वैशाख ५ गते बिहान ढाल्ने गरिन्छ ।  कुमाले टोलमा बिहान लिङ्गो उठाएपछि दिउँसो भैरव र भद्रकालीको पूजा गरी रथलाई साँझ भेलुखेलमा हातसहितको नाग–नागिनीको प्रतीक रहेको तान्त्रिक विधिद्वारा तयार पारिएको इन्द्रध्वजासहितको ५५ हात लामो लिङ्गो उठाउने गरिन्छ ।  यसलाई विश्वप्रसिद्ध लिङ्गो जात्रा भन्ने गरिन्छ । यो लिङ्गो भने वैशाख १ गते दिनभर जात्रा गरेर साँझ विधिपूर्वक ढाल्ने गरिन्छ । यता मध्यपुरथिमि–८ बोडेस्थित महालक्ष्मी मन्दिर अगाडि पनि आज बिहान लिङ्गो उठाइएको छ ।  मध्यपुरथिमि नगरपालिकाका प्रमुख सुरेन्द्र श्रेष्ठको उपस्थितिमा जनप्रतिनिधिहरु समेतको सहभागितामा स्थानीयले महालक्ष्मी मन्दिर अगाडि लिङ्गो उठाएका हुन् । तान्त्रिकविधि पूरा गरी बिहान स्थानीयले लिङ्गो उठाएपछि थिमि क्षेत्रको जात्रा एवं पर्वको विधिवतरूपमा सुरु हुने, मठमन्दिरमा मेला लाग्ने र भोज सुरु हुने परम्परा रहेको स्थानीय दिलकृष्ण प्रजापतिले जानकारी दिनुभयो ।       “महालक्ष्मी मन्दिर अगाडि लिङ्गो उठाएर जिब्रो छेड्ने जात्राको साइत गरिएको छ । यस मन्दिर अगाडि लिङ्गो उठाएपछि जिब्रो छेड्ने जात्रा पनि सुरु भएको मानिन्छ”, उहाँले भन्नुभयो । यहाँ आज नै कुमारीको रथ लहीटोलमा पु¥याइन्छ भने राति करिब ९ बजे निलबारही जङ्गलबाट ल्याएको दाउरा बालेर पूजा गरेपछि २८ वर्षीय सुजन वांग श्रेष्ठले व्रत प्रारम्भ गरी वैशाख २ गते जिब्रो छुड्नुहुनेछ ।  आज व्रत सुरु भएपछि जिब्रो छेड्ने व्यक्तिले केही खान नहुने, महिलासँग बोल्न तथा छुन नुहने, कुकुर, कुखुरा, बिरालोलगायतका पशुपक्षीलाई छुन नुहने चलन छ ।  मध्यपुरथिमिमा बिस्केट जात्राको अवसरमा सिन्दुरजात्रा विष्णुवीर जात्रा, रात्रिको चान्हेसिया जात्रा, सिद्धिकाली जात्रालगायतका जात्रा एवं पर्व स्थानीयले भव्यरूपमा मनाउने गरेका छन् ।

पर्सा:   हनुमान् जयन्तीका अवसरमा आइतबार निकालिएको शोभायात्राका क्रममा उत्पन्न परिस्थितिपछि आज भएको राजनीतिक दलका प्रतिनिधिहरुको सर्वदलीय बैठकले शान्तिसुरक्षा र अमनचयनमा खलल पुग्ने गतिविधि नगर्न र सामाजिक सद्भाव कायम गर्न सम्बद्ध सबै पक्षसँग अनुरोध गरेको छ ।       बैठकले स्थानीय सङ्घसंस्था र समुदायलाई ¥याली, बन्दलगायत गतिविधि नगर्न अनुरोध पनि गरेको छ । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालको संयोजकत्वमा भएको सर्वदलीय बैठकले सामाजिक सद्भाव कायम राख्न सबैसँग अनुरोध गरेको हो ।        बैठकले बहुजातीय, बहुभाषिक, बहुधार्मिक एवं बहुसांस्कृतिक विशेषतायुक्त हाम्रो राष्ट्रको गरिमालाई आत्मसात् गर्दै सबै धर्म एवं सम्प्रदायसँग सम्बद्ध सङ्घसंस्था विविधताबीचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण र प्रवद्र्धन गर्ने हिसाबले समतामूलक समाजको निर्माणमा अगाडि बढ्ने हाम्रो राष्ट्रको मर्मअनुसार अघि बढ्न अनुरोध गरेको संयोजक अर्यालले बताउनुभयो ।      बैठकले घाइते भएका सुरक्षाकर्मी, सञ्चारकर्मी, आमनागरिकको स्वास्थ्यलाभको कामना गर्दै साथै घाइतेहरुको उपचार राज्यले गर्नुपर्ने निर्णय गरेको छ ।       नेपाली कांग्रेस पर्साका सभापति जर्नादनसिंह क्षेत्रीले सामाजिक सद्भाव कायम गरेर शान्ति कायम गर्न आग्रह गर्नुभयो ।