पोखरा: गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली जारी गरेपछि राइडर्स र सेल्फ ड्राईभ सञ्चालकहरुले सरकारलाई धन्यवाद दिएका छन् । आईतवार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई भेटेर उनीहरुले नेपालमै पहिलो पटक गण्डकी प्रदेश सरकारले राईड सेयरिङ नियमावली जारी गरेर युवाहरुको रोजगारी र यात्रुको सस्तो, सहुलियत सुविधाको ग्यारेन्टी गरेको भन्दै धन्यवाद दिएका हुन् । ‘यहाँ प्रशस्त राइड सेयरिङ चलिरहेकै थियो, हजारौं व्यक्तिले यसबाट सेवा पाइरहेकै थिए, हामीले सेवा दिईरहेका थियौँ’ राइडर्स नेपाल पोखराका अध्यक्ष अनील श्रेष्ठले भने ‘यात्रुले सजिलो, छिटो, स्तरीय सेवा पाउन् र हामीजस्ता युवाहरुको रोजीरोटीको पनि गण्डकी सरकारको यो निर्णयले ग्यारेन्टी गरेको छ ।’ सेल्फ ड्राईभ सञ्चालक रमेशराज पाण्डेले भने ‘सरकारले ल्याएको नियमावलीले हामीलाई ब्यवशाय गर्न सहज हुनेछ, अव पहिलेजस्तो दुःख भोग्नु नपर्ला भन्नेमा खुसी छौँ ।’ सरकारले ल्याएको मापदण्ड भित्र रहेर सेवा दिन तयार रहेको बताउँदै उनले नेपालको पर्यटकीय राजधानीमा आन्तरिक तथा बाह्य पर्यटकलाई नियम कानून भित्र रहेर सेवा दिन पाउने ढोका खुलेको भन्दै मुख्यमन्त्रीलाई धन्यवाद दिए । राइडर्सहरुको कुरा सुनेपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सरकारले यात्रुको सुरक्षा र सुविधालाई पहिलो प्राथमिकता दिएर नियमावली जारी गरेको बताए । ‘यसले यातायात संचालन गरिरहेका ब्यवशायीलाई पनि घाटा हुँदैन’ उनले भने ‘भाडाका सवारी सञ्चालन गर्दै आएका कम्पनीलाई प्रोत्साहित गर्न दर्तामा छुट दिने नीति लिइएको छ ।’ राईड सेयरिङमा दर्ता हुने कम्पनी र एप्सले सुरक्षाको सबै मापदण्ड पुरा गरेको हुनुपर्छ । ‘यात्रु र राईडर्सको पनि सुरक्षा हुने गरि नियमावलीमा ब्यवस्था गरिएको बताउँदै उनले पूर्ण पालना गर्न सुझाव दिए । ‘नागरिकले पनि सुविधा पाउने, थप रोजगारी सिर्जना हुने, अहिले कानूनी रुपमा अवैध रहेर संचालन भईरहेको सेवाले कानूनी मान्यता पाउने र सरकारलाई पनि राजस्व बढ्ने हुन्छ’ उनले भने ‘राईड सेयरिङ नियमावलीले कसैलाई घाटा छैन ।’ प्रक्रिया पुरा नगर्नेहरुलाई जरिवाना धेरै रहेको स्मरण गराउँदै मुख्यमन्त्री पाण्डेले भने ‘अटेर गर्नेलाई छुट हुँदैन, सबैले नियम पालना गर्नुहोला, सबैलाई गर्न भन्नुपनि होला ।’ गण्डकी प्रदेश सरकारले बैशाख ३१ गतेको मन्त्रिपरिषद् बैठकबाट राइड सेयरिङ नियमन र व्यवस्थापन सम्बन्धी छुट्टै नियमावली जारी गरेको हो ।
काठमाडौं: नेपाल सरकारले पहिलो पटक आयोजना गरेको सगरमाथा संवाद २५ बुँदे ‘सगरमाथा कार्य आह्वान’ जारी गर्दै आइतबार सम्पन्न भएको छ । ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ विषयको पहिलो संस्करण यही जेठ २ देखि सुरु भएको थियो । सगरमाथा कार्य आह्वानले दिगो भविष्य सुनिश्चित गर्न साझेदारीलाई सुदृढ गरेर पूर्व–औद्योगिक स्तरभन्दा १।५ डिग्री सेल्सियसभन्दा बढी विश्वव्यापी औसत तापक्रम वृद्धि हुन नदिने अत्यावश्यकतालाई पुनः पुष्टि गरेको छ । आफ्नो देश विशेष अनुकूलन आवश्यकताहरू पूरा गर्न राष्ट्रिय अनुकूलन योजनाहरू विकास र कार्यान्वयन गर्न थप प्रोत्साहित गरिने, विकासशील र विशेष परिस्थितिमा रहेका देशमा जलवायु कार्य कार्यान्वयनका लागि अन्तरराष्ट्रिय वित्तीय सहायताको वृद्धि र परिचालन गर्न आह्वान गरिने उल्लेख छ । संवादले विकासशील र जलवायु परिवर्तनको जोखिममा रहेका देशलाई द्विपक्षीय, बहुपक्षीय र वैकल्पिक स्रोतबाट वित्तीय संयन्त्रका सञ्चालन निकाय र यूएनएफसीसीसी र पेरिस सम्झौताअन्तर्गतका कोषसहित अन्तरराष्ट्रिय जलवायु वित्तमा समान र सरलीकृत पहुँच सुनिश्चित गर्न सामूहिक प्रयासहरूलाई प्रोत्साहित गर्न आह्वान गरेको छ । पर्वतीय क्षेत्रहरूमा जलवायु कार्य र दिगो विकासका लागि लक्षित वित्तीय स्रोतहरू परिचालन गर्न पर्वतीय देशहरूको विकासका लागि समर्पित कोष स्थापना गर्ने आह्वानलाई समर्थन गर्ने र मौजूदा तथा नवप्रवर्तनकारी वित्तीय स्रोतहरूको उपयोग गरी पर्वतीय पारिस्थितिक प्रणाली सेवाहरूको मान्यता, सम्मान र पुरस्कृत गर्न प्राथमिकता दिने सगरमाथा कार्य आह्वानमा उल्लेख छ । दिगो जलवायु कार्यलाई बढावा दिन निजी क्षेत्रको वित्त र कार्बन बजारहरूको भूमिकालाई जोड दिने, जलवायुमैत्री प्रविधिमा पहुँच सहज बनाउन र क्षमता अभिवृद्धि गर्न विश्वव्यापी र क्षेत्रीय साझेदारीलाई सुदृढ गर्ने संवादको निष्कर्ष छ । संवादले ग्रामीण र सहरी समुदाय दुवैमा सानादेखि ठूला स्तरका पूर्वाधारसम्म हरित, लचिलो र समावेशी विकास प्रवर्द्धन गर्ने महत्त्वलाई स्वीकार गर्र्दै स्वच्छ ऊर्जा, ऊर्जा दक्षता र न्यायपूर्ण ऊर्जाको महत्वलाई जोड दिने, स्वच्छ ऊर्जाका साथै हरित, चक्रीय र बायो–अर्थतन्त्रमार्फत भविष्यलाई शक्ति प्रदान गर्ने महत्त्वलाई स्वीकार गरेको छ । जलवायुजन्य विपद्हरूलाई सम्बोधन गर्न र हिमनदी, जलस्रोत, वन र कृषि प्रणालीको संरक्षणका लागि विज्ञान, प्रविधि र नवप्रवर्तनमा आधारित समाधानहरूलाई प्रवर्धन गर्ने आह्वानमा उल्लेख छ । ‘क्षेत्रीय जलवायु, मनसुन, क्रायोस्फियर र जनस्वास्थ्यमा गहिरो प्रभाव पार्ने ट्रिपल प्लानेटरी क्राइसिस र अल्पकालीन जलवायु प्रदूषकहरूमा विशेष ध्यान दिई हिमाल र जलवायु परिवर्तन एजेन्डामा संवादलाई प्रोत्साहित गर्दछौं । विकासशील देशहरूको आवश्यकता अनुरूप तथ्याङ्क प्रणालीलाई सुदृढ गर्ने, तथ्याङ्क साझेदारी र अन्तरसञ्चालन सुनिश्चित गर्ने र जलवायु एट्रिब्युशन र पूर्वचेतावनी संयन्त्रहरू विकास गर्ने अत्यावश्यकतालाई स्वीकार गर्दछौं’ सथरमाथा कार्य आह्वानका उल्लेख छ । बालबालिका, युवा, महिला, अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिकहरूको सक्रिय सहभागितामार्फत समावेशी जलवायु कार्यहरूलाई बढावा दिन र अन्तर–पुस्ता र अन्तर–पुस्ता समानता कायम राख्दै लैङ्गिक सन्तुलन कायम गर्ने आह्वानमा उल्लेख छ । पर्वतीय समुदायहरूको आवाजलाई विश्वव्यापी जलवायु प्रक्रियाहरूमा बुलन्द गर्ने उद्देश्यले संवाद, नवप्रवर्तन र सशक्तीकरणका लागि हिमाल र जलवायु परिवर्तनसम्बन्धी बहु–सरोकारवाला अन्तरराष्ट्रिय मञ्चको सिर्जना गर्न आह्वान गरिएको छ । आह्वानमा भनिएको छ, ‘स्थानीय र आदिवासी समुदायहरूको जलवायु नीति, कार्यक्रम र कार्यहरूमा, अनुकूलन र संरक्षण पहलसहित भूमिकालाई स्वीकार गर्दछौं । वातावरणीय सेवाहरूको भुक्तानीका लागि संयन्त्रहरू विकास गर्ने आवश्यकतालाई जोड दिने र नवप्रवर्तनकारी जलवायु वित्तपोषण अपनाउन सक्षम बनाउन आह्वान गर्दछौँ ।’ ज्ञान केन्द्रहरू विकास, उत्कृष्ट अभ्यासहरू साझा गर्ने र जलवायु नीति, कार्यक्रम र कार्यहरूमा स्थानीय समुदायहरूको भूमिका बढाउने आवश्यकतालाई जोड दिइएको छ । संवादमा सगरमाथादेखि समुद्रसम्म र उच्च भूभागदेखि टापुसम्म गुञ्जिने गरी तत्काल जलवायु कार्यका लागि साझा आवाज बनाउने संकल्प गरिएको छ ।
मुगु: मुगुको पूर्वी करान भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको वन क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्बा सङ्कलनका लागि याम सुरु भएको छ । यार्सा सङ्कलनको समय सुरु भएसँगै गाउँपालिकाले यही जेठ १३ गतेबाट वन प्रवेश खुला गर्ने भएको हो । गाउँपालिकाका दुई दर्जन बढी पाटनमा पाइने यार्सागुम्बा सङ्कलनका लागि जिल्लाका बासिन्दा र बाहिर जिल्लाबाट सर्वसाधारण यार्सा सङ्कलनका लागि आउने गर्दछन् । जिल्लावासीका लागि प्रतिव्यक्ति रु २ हजार र बाहिरी जिल्लाबाट आउने सङ्कलनकर्ताका लागि रु दुई हजार ५०० वन प्रवेश शुल्क निर्धारण गरिएको गाउँपालिकाकाले जनाएको छ । जेठ १३ गते वन प्रवेश खुला गरिने भएकाले वन प्रवेशपछि यार्सा सङ्कलनका क्रममा वातावरणमा असर पुग्ने खालका क्रियाकलाप नगर्न सङ्कलनकर्तालाई गाउँपालिकाकाले आग्रह गरेको छ । यार्सा सङ्कलनका समयमा सिसा प्लाष्टिकजन्य वस्तु नफाल्न र जथाभावी रुखबिरुवा नकाट्न तथा चोरी नगर्नसमेत आग्रह गरिएको गाउँपालिकाका अध्यक्ष छिरिङ क्याप्ने लामाले बताए । गाउँपालिकाको वडा नं १ र २ मा रहेका रिर्माण, ठूलो कोइकी, सानो कोइकी, छापाखोला, चार्कुलगायतका दुई दर्जन बढी वन तथा पाटनमा यार्सागुम्बा पाइन्छ । वन प्रवेशका लागि गाउँपालिकाले वन प्रवेश शुल्क बुझाएका सङ्कलनकर्ताले जेठ १३ गते बिहान वन क्षेत्रमा प्रवेश गर्न पाउने छन् । विकट उच्च हिमाली भू–भाग सुरक्षामा चुनौती मुगुम कामारोङ अन्तर्गत पर्ने पाटन क्षेत्रमा सुुरक्षा चुनौतीले अनुमति नलिइ यार्सागुम्बा सङ्कलन गर्न वन प्रवेश गरिसकेका छन् । गाउँपालिकाको निर्णयअनुसार जेठ १३ गतेपछि मात्र यार्सा सङ्कलनका लागि पाटन प्रवेशको अनुमति दिने भनिए पनि यार्सा चोरी गर्ने वन प्रवेश गरिसकेका छन् । सुरक्षा चुनौतीसँगै चोरी गर्ने मनसायले यार्सा सङ्कलक समयअघि नै सयौँ जना पाटन क्षेत्रमा प्रवेश गरेका छन् । गाउँपालिकाका स्थानीयका अनुसार दैनिक दुई सयभन्दा बढी व्यक्ति, स्थानीय र बाह्य जिल्लाका यार्सा सङ्कलक रातारात पाटन प्रवेश गरी यार्सा सङ्कलनमा लागेका छन् । अवैध प्रवेशबारे सूचना आएपछि गाउँपालिका, सुरक्षा निकाय र सरोकारवालाबीच बैठक बसी नियम उल्लङ्घन गर्नेमाथि कडा जरिवाना र कानुनी कारबाहीको तयारी गरिएको गाउँपालिकाले जनाएको छ । गत वर्ष यार्सा सङ्कलनमार्फत गाउँपालिकाले रु ७१ लाख राजस्व सङ्कलन गरेको थियो । यस वर्ष त्योभन्दा बढी रु ८० लाखसम्म राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको गाउँपालिका अध्यक्ष लामाले जानकारी दिनुभयो । यार्सा सङ्कलनलाई व्यवस्थित गर्न गाउँपालिकाले नेपाल प्रहरी, सशस्त्र प्रहरी र सरोकारवालासँगको समन्वयमा अनुमति प्रणाली कडाइका साथ लागू गर्ने जनाएको छ । पछिल्ला केही वर्षदेखि यार्सागुम्बाको परिमाण कमहुँदै गएको स्थानीयको भनाइ छ । यार्साको संरक्षण र व्यवस्थापनमा चुनौती थपिँदै जाँदा पालिकाले नियम पालना गराउन थप सुरक्षा चुनौती थपिएको छ ।
काठमाडौं: सगरमाथा संवादको सन्देशसहित हिमाल आरोहणमा गएका सशस्त्र प्रहरी सहायक निरीक्षक दन्तबहादुर छत्यालले विश्वको सर्बोच्च शिखर सगरमाथा सफल आरोहण गरेका छन् । जेठ ४ गते बिहान ९ः२० बजे उनले सगरमाथाको चुचुरोमा ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा फहराउन सफल भएको सगरमाथा बेसक्याम्पमा रहेका समन्वय अधिकृत सशस्त्र प्रहरी निरीक्षक निर्मल बस्नेतले जानकारी दिए । उनीसँगै गएका वङ्दी शेर्पाले पनि सोही समयमा सगरमाथाको सफल आरोहण गरेका छन् । जेठ २ गतेदेखि ४ गतेसम्म आयोजना भएको सगरमाथा संवाद कार्यक्रममार्फत सगरमाथा संवाद सन्देशलाई विश्वमाझ प्रबर्द्धन गर्ने उद्देश्यले सद्भावना दुतको रुपमा उनले सगरमाथा आरोहण गरेका हुन् । सहायक निरीक्षक छत्यालले बैशाख २२ गते ६ हजार ११४ मिटर अग्लो लोबुचे हिमालको समेत सफल आरोहण गरेका थिए । सहायक निरीक्षक छत्याल ‘सगरमाथा संवाद’ र सशस्त्र प्रहरी बल नेपालको झण्डा लिई सगरमाथा आरोहण लागि बैशाख १५ गते त्यसतर्फ प्रस्थान गरेका थिए । उनलाई बैशाख १४ गते प्रधानमन्त्री केपी शर्मा ओली र सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सगरमाथा सफल आरोहणको शुभकामनासहित हार्दिक बिदाई गरेका थिए । सहायक निरीक्षक छत्याल सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय उच्च भूभाग बिपद् उपशाखामा कार्यरत रहेको जानकारी सशस्त्र प्रहरी सह–प्रवक्ता डिएसपी शैलेन्द्र थापाले दिए ।
गोरखा: गुम्दा गाउँका ८८ वर्षीय रामबहादुर गुरुङले एक दशकपछि संसार देख्न थाल्नुभयो । विगत १० वर्षदेखि दुवै आँखाको ज्योति गुमाउनुभएका उहाँलाई ज्वाइँ कर्णमाहिला गुरुङले बोकेर विद्यालयको आँगनमा ल्याइपुर्याउनुभएको थियो । उहाँजस्तै अरु ४८ जनाले पनि अब आँखा देख्न थाल्नुभएको छ । आफ्नै गाउँमा गत मङ्गलबार, बुधबार र बिहीबार आयोजना गरेको शल्यक्रिया शिविरमा गुरुङको आँखाको शल्यक्रिया गरिएको थियो । निर्धारित समयमा वरिष्ठ आँखारोग विशेषज्ञ कमलबहादुर खड्का नेतृत्वको टोलीले धमाधम आँखाको पट्टि खोल्न थाल्यो । उहाँको पालो सबैभन्दा पछि थियो । जब चिकित्सकले गुरुङको आँखाको पट्टि खोल्नुभयो, उहाँ बसिरहेको कुर्चीबाट उठ्न्भयो र विस्तारै आँखाका परेला खोल्न थाल्नुभयो । “एक दशकदेखि अन्धकार बनेको रङ्गीन संसार देखेँ । ऊ, मेरो ज्वाइँ”, घरबाट बोकेर ल्याएका कर्णमाहिलातिर देखाउनुभयो । सबैतिर हेर्न हतार नगर्न चिकित्सक गुरुङले सुझाव दिनुभयो । उहाँले आफूलाई संसार देखाइदिने चिकित्सकलाई धन्यवाद दिनुभयो । दुर्गम भेगमा रहेको गोरखाको धार्चे गाउँपालिका–५ गुम्दाका ८८ वर्षीय रामबहादुर गुरुङले दुवै आँखाको ज्योति गुमाएको १० वर्ष पुग्यो । “२०६८ सालमा बारी जोत्दा हलोको फालीले लागेर दाहिने आँखा गुमाएको थिएँ, त्यसको चार वर्षपछि देब्रे आँखा पनि देख्न छाडेँ”, गुरुङले भन्नुभयो । त्यसयता गुरुङलाई आफ्नो घरआँगन परदेश लाग्न थाल्यो, आफन्तहरू परायाजस्ता । आफैँ हिँड्न नसक्ने भएपछि उहाँलाई परिवारले सुताउने, उठाउने, खाना खुवाउने र शौचालयसम्म लैजाने, ल्याउने गर्नुपथ्र्यो । “पहिले त स्वरले चिन्थेँ । स्वर पनि र्बिसिएर विस्तारै चिन्न छाडेको थिएँ । म फलानो हुँ भन्यो भने बल्ल याद आउँथ्यो”, गुरुङले भन्नुभयो, “घरमा बूढी पनि रोगी, छोरा बाहिर विदेशमा छ । एउटा बुहारीले घरबारीको काम, हामी बुढाबूढीको स्याहार, नातानातिनीको स्याहार सबै हेर्नुपर्छ । बुढेसकालमा अरु केही गर्न नसके पनि आफ्नो काम चाहिँ आफैँ गर्न पाए हुन्थ्यो भन्ने लाग्थ्यो । त्यो सपना आज पूरा भयो”, शल्यक्रियापछि आँखाको ज्योति पाउनुभएका गुरुङले भन्नुभयो । शल्यक्रियापछि ससुरा आफैँ हिँड्डुल गर्न सक्ने भएपछि कर्णमाइलालाई पनि सन्तोष मिलेको छ । “बुढो मान्छे, त्यसमाथि आँखा नदेख्ने भएपछि साह्रै बिजोग हुनेरहेछ”, उहाँले भन्नुभयो, “अब त सबै देखेँ, हिँड्छु भनेका छन् । यति भयो भने घरपरिवारलाई धेरै हलुका हुन्छ ।” धार्चे गाउँपालिकाको आयोजना, मुटु फाउन्डेसन र मनोज एसोसिएसन फ्रान्सको आर्थिक सहयोग तथा मात्रिका आई फाउन्डेसनको प्राविधिक सहयोगमा गुम्दामा निःशुल्क आँखा शिविर सञ्चालन गरिएको थियो । शिविरमा धार्चेको गुम्दा, सिङ्ला, लप्सीबोट, यामगाउँ, खानीगाउँलगायत आसपास क्षेत्रका चार सय सात जनाले सेवा लिएका थिए । शिविरमा रामबहादुरसहित ४९ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको थियो । तीन दिनसम्म चलेको शिविरमा वरिष्ठ आँखारोग विषेशज्ञ डा कमलबहादुर खड्का नेतृत्वको टोलीले सेवा दिएको थियो । विकट ठाउँमा आएर वृद्धवृद्धालाई सेवा दिन पाउँदा खुसी लागेको डा खड्काले बताउनुभयो । “गाउँघर यस्तै हो, कति दुःख कति सुख । जे होस् यति टाढा आएर सेवा दिने मौका मिल्यो । खुसी लागेको छ”, उहाँले भन्नुभयो ।
काठमाडौं: हाल देशमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ । साथै बङ्गालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली रहने छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत बाँकी प्रदेशको पहाडी भागका केही स्थानमा र बाँकी भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाद्वारा मौसम बुलेटिनमा उल्लेख छ । उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेसलगायत कोशी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका भागका केही स्थानमा हुरीबतासको पनि सम्भावना छ । त्यसैगरी, आज राति कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशलगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफादेखि आंशिक बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशलगायत बाँकी तराई भागका केही स्थानमा र बाँकी पहाडी भू–भागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ । मधेसलगायत कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका भागका केही स्थानमा हुरीबतासको पनि सम्भानवा रहेको महाशाखाले जनाएको छ ।
नवलपरासी: नवलपरासीको सुनवलमा रुखले च्यापिएर दुई जनाको मृत्यु भएको छ भने तीन जना गम्भिर घाईते भएका छन् । शुक्रबार अपरान्ह हावाहुरीसहित पानी परेपछि सुनवल नगरपालिका वडा नम्बर ७ चारपालामा रहेको प्रतीक्षालयमा बसिरहेका स्थानीयलाई रूख ढलेर च्यापेको हो । घटनामा सुनवल ७ कि ३० वर्षीय मिरा बयम्बु र ४० वर्षीय दुर्गा बहादुर पुनको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलका प्रमुख सन्तोष पौडेलले जानकारी दिनुभयो । घटनामा सोही स्थानका ४० वर्षीय नरमती परियार, ५१ वर्षीय दुर्गेश्वरा खाम्चा र २२ वर्षीय अनिल थापा घाईते भएका छन् । उनीहरूको देवदह मेडिकल कलेज रूपन्देहीमा उपचार भइरहेको छ । पानी परेपछि प्रतीक्षालयमा बसिरहेको स्थानीयलाई हावाहुरीले ढलेको ठुलो रुखले च्यापेको थियो । रूख प्रतीक्षालयमाथी ढलेपछि प्रतीक्षालय समेत भत्किएको प्रहरीले जनाएको छ । शुक्रबारअपरान्ह नवलपरासी सहित आसपासका जिल्लामा तिव्र हावाहुरी सहित वर्षा भएको थियो । अहिले मौसममा क्रमिक सुधार हुँदै छ ।
पोखरा: अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा हुने पाँचौ संस्करणको अन्नपूर्ण म्याराथन जेठ २० गते हुने भएको छ । अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले आज पोखरामा पत्रकार सम्मेलन गर्दै पाँचौ संस्करणको म्याराथनबारे जानकारी दिएको हो । समितिका अध्यक्ष ललित गुरुङले म्याराथनको ९० प्रतिशत तयारी पूरा भएको बताए । ‘म्याराथनको ९० प्रतिशत तयारी पूरा भइसकेको छ, प्रतियोगितामा, महिला तथा पुरुषतर्फ छुट्टाछुट्टै प्रतिस्पर्धामा स्वदेशी तथा विदेशी धावकले नाम दर्ता गराउने क्रम जारी छ, अध्यक्ष गुरुङले भने, ‘अहिले सम्म १० विदेशी धावकसहित ६० जनाले नाम दर्ता गराइसकेका छन् ।’ उनले फ्रान्सेली पर्वतारोही मौरिस हर्जोगको टोलीले सन् १९५० जुन ३ मा अन्नपूर्ण हिमाल (८०९१ मिटर) सफलतापूर्वक आरोहण गरेको ७५ औं वर्षगाँठको म्याराथन पनि हीरक महोत्सवको रुपमा मनाइने बताए । प्रतियोगिताको महिला तथा पुरुष दुवै विधाका विजेताले समान १लाख ५० हजार, द्धितिय हुनेले १लाख र तृतीय हुनेले ७५ हजारसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रतियोगितामा सहभागिता जनाउन एक धावकलाई ७ हजार दर्ता शुल्क निर्धारण गरिएको छ । प्रतियोगितामा अन्नपूर्ण गाउँपालिकाबाट सहभागिता भएर प्रथम हुने,गण्डकी प्रदेशबाट प्रथम हुने धावक, महिलातर्फ निरन्तर ३ पटकसम्म सहभागी हुने धावक र विदेशी महिला तथा पुरुष धावकलाई विशेष पुरस्कार प्रदान गर्ने आयोजकले जनाएको छ । प्रतियोगितामा ७५ औं स्थान प्राप्त गर्ने धावकलाई डायमण्ड जुब्ली अवार्ड प्राप्त गर्नेछन् । अन्नपूर्ण आधारशिविर (४१३० मिटर) बाट सुरु हुने म्याराथन माछापुच्छ्रे आधारशिविर, देउराली, दोभान, बम्बो, छोम्रोङ, किम्रोङखोला, उरी हुँदै घान्द्रुकस्थित श्री मेश्राम वराह माविको खेल मैदानमा सम्पन्न हुनेछ। म्याराथनको दूरी ४२.१९५ किलोमिटर हुनेछ। यस म्याराथनलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने लक्ष्यसहित अल्टिमेट एडभेन्चर नेपालले प्राविधिक व्यवस्थापन गर्नेछ। म्याराथनकै अवसरमा “अन्नपूर्ण पत्रकारिता पुरस्कार–२०८२” पनि प्रदान गरिनेछ। अन्नपूर्ण गाउँपालिकाको पर्यटन प्रवर्द्धनमा सञ्चार माध्यममार्फत योगदान गरेका पत्रकारलाई उक्त पुरस्कार दिइनेछ। साथै, विविध सांस्कृतिक कार्यक्रमहरू पनि आयोजना गरिनेछन्। कार्यक्रम सम्पन्न गर्न करिब ३८ लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।
धनगढी: बाजुराको हिमाली गाउँपालिकामा जीप दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । बुढीनन्दा नगरपालिकाको कोल्टीबाट हिमाली गाउँपालिकाको धुलाचौरतर्फ जाँदै गरेको म १ ज २३३ नम्बरको जीप सिउडी खोलामा दुर्घटनामा परेको हो । दुर्घटनामा परेका घाइतेहरूमा जीप चालक सबिन बोहरा, हिमाली–५ निवासी १८ वर्षीया रंगीता बुढा, जुनिता बुढा, २९ वर्षीय विवेक बुढा, वडा नं। ६ का २२ वर्षीय अस्मिता शाही र वडा नं। ४ का १८ वर्षीय विज्ञान सार्की रहेका छन् । उनीहरू सबै कक्षा १२ को परीक्षा सकेर घर फर्कँदै गरेका विद्यार्थीहरू हुन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार जीप अचानक अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेर कर्णाली नदीमाथिको रुखमा अड्किएको हो। घाइतेहरूको अवस्था मध्यम रहेको र हाल कोल्टी अस्पतालमा उपचार भइरहेको प्रहरीको भनाइ छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।

