मुस्ताङ:  मङ्गलबार रातिदेखि मुस्ताङका विभिन्न भेगमा भारी हिमपात भएको छ । यहाँका डाँडाकाँडा पूरै सेताम्मे भएका छन् । अधिकांश स्थानमा वर्षा पनि भएको छ । भारी हिमपात कारण कागबेनी–कोरला सडक अवर...

  पोखरा ।  पोखरामा ओली एण्ड एशोसिएटले ‘ग्लोबल एजुकेशन फेयर २०२२’ आयोजना गर्ने भएको छ ।    उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थीहरुलाई लक्षित गर्दै आगामी २३ र २४ गते ‘ग्लोबल एजुकेशन फेयर २०२२’ अर्थातः विश्व शिक्षा मेला आयोजना हुने भएको हो ।   पोखराको जिरो किलोमिटरस्थित शान्ति निवासको तस्रो तल्लामा मेला सञ्चालन हुने एसोसिएट पोखरा प्रमुख तिलक लामिछानेले बताए ।    ‘ग्लोबल एजुकेशन फेयर’ विद्यार्थीहरुका लागि समर्पित गरिएको हो, उनले भने, ‘यस विश्व शैक्षिक मेलाबाट विदेशमा रही थप अध्ययन गर्न र विदेशमा गई अध्ययन गर्न इच्छुक विद्यार्थीहरुको लागि फाइदाजनक हुनेछ ।’   लामिछानेका अनुसार सो मेलामा ‘विद्यार्थीहरुले अष्ट्रेलिया, क्यानडा, युके, न्युजील्याण्ड र अमेरिका लगायतका देशहरुको बोरमा बुझ्न र सम्बन्धित परामर्शदाताहरुलाई भेट्ने अवसर प्राप्त गर्नेछन् ।    मेलामा प्रवेश निशुल्क रहेको बताउदै लामिछानेले ‘ग्लोबल एजुकेशन फेयर २०२२’ सफलताको साथ सम्पन्न गर्न र वैदशिक अध्ययनको लागि जान इच्छुक विद्यार्थीहरुलाई मेलाको लाभ उठाउन आग्रह गरे ।

  काठमाडौँ ।  विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको अमिताभ बुद्ध मार्गमा काठमाडौँ महानगरपालिकाले कालोपत्र गरेको सडक तीन महिना पनि टिकेन ।        बौद्ध क्षेत्रको टुसालबाट महाँकाल र सम्पदा मार्ग हुँदै बौद्ध चैत्य पुग्न सकिने सडक गत आर्थिक वर्षमा कालोपत्र भएको थियो । कालोपत्र भएको तीन महिना पनि सडक नटिकी भत्केर पानी जम्न थालेको बौद्धनाथ क्षेत्र विकास समितिका कार्यकारी निर्देशक नयनकुमार लामाले राससलाई जानकारी दिनुभयो ।        “विकास निर्माणका कामबाट हुने कमिसनको खेल र काममा झारा टार्ने प्रवृत्तिले यस्तो भएको हो, महानगरपालिकाले तीन महिना पनि नटिक्ने कस्तो कालोपत्र गर्यो ?, तोकिएको गुणस्तरमा काम नहुँदा यस्तो भयो, समितिले तीनपटक बजेट छुट्याए पनि महानगरपालिकाले नै गर्न खोजेकाले यो सडकको काम गर्न दिइएको हो”, उहाँले भन्नुभयो ।         कालोपत्र हुनु एक वर्षअघि भने यो सडक समितिको बजेटबाट मर्मत सम्भार गरिएको थियो । विश्व सम्पदा क्षेत्रको सडक बनाएको तीन महिनामै भत्कँदा पर्यटकका माध्यमबाट देशका बारेमा गलत सन्देश गएको स्थानीय व्यवसायी मङ्गलकुमार श्रेष्ठ बताउनुहुन्छ । जसका कारण स्थानीयवासी, पर्यटक र बौद्धनाथ चैत्यमा दर्शनका लागि आउने भक्तजनले वर्षामा हिलो र हिउँदमा धुलोको बीचबाट जान बाध्य हुनुपरेको छ ।        महानगरपालिकाको रु नौ करोड लागतमा निर्माण भएको करिब एक किमी सडक तीन महिना पनि नटिक्दा स्थानीयवासी, पर्यटक र बौद्धनाथ दर्शन गर्न आउने भक्तजन दैनिक प्रभावित हुने गरेका छन् । काठमाडौँ महानगरपालिका–६ का पूर्वअध्यक्ष दीपेन्द्रकुमार लामा निर्माण व्यवसायीले गुणस्तरहीन काम गरेकाले सडकको कालोपत्र तीन महिना पनि नटिकेको बताउनुहुन्छ ।        “महानगरपालिका निर्माण विभाग प्रमुख राम थापालाई गुणस्तरहीन काम भएकाले भुक्तानी रोकेर राम्रो काम गराउन भनेँ, वडाले त्यहाँभन्दा बढी गर्न नसक्ने भएकाले सडक बनाएको केही समयमै भत्कियो, अहिले हिँड्न नै समस्या भएको छ”, उहाँले भन्नुभयो ।   यस सम्बन्धमा महानगरपालिका निर्माण विभाग प्रमुख थापासँग प्रतिक्रियाका लागि सम्पर्क गर्दा आफू बैठकमा भएकाले केही भन्न नसक्ने बताउनुभयो । विदेशबाट आउने धेरै पर्यटक बस्ने हायात रिजेन्सी होटलको पूर्वोत्तरको पर्खालको यो सडकको दुरावस्थाले नेपालले विश्व सम्पदा क्षेत्रलाई कति महत्व दिएको छ भन्ने सन्देश जाने महानगरपालिका– ६ का अध्यक्ष भुवन लामा बताउनुहुन्छ ।        आफू वडामा निर्वाचित हुनुअघि बनेको सडक भएकाले यस विषयमा के–के भएको भन्ने बुझी महानगरपालिकाको कार्यपालिका बैठकमा कुरा उठाउने उहाँले जानकारी दिनुभयो ।

  काठमाडौँ । हरेक नेपालीको घरमा बिजुली पुर्याउने सरकारको योजना क्रमशः पूरा हुने चरणमा अगाडि बढेको छ । सरकारको योजनाअनुसार नै काम भएको खण्डमा आगामी दुई वर्षभित्र बाँकी रहेका सबै नेपालीको घरमासमेत स्वच्छ ऊर्जाको पहुँच पुग्नेछ ।   सात सय ५३ स्थानीय तहमध्ये हालसम्म कूल  चार सय ७६ स्थानीय तहमा पूर्णरूपमा विद्युतीकरण भएका छन् । त्यस्तै दुई सय ४२ स्थानीय तहमा आंशिकरूपमा विद्युतीकरण भएको छ । आंशिकरूपमा विद्युतीकरण भएका स्थानीय तहमा पूर्णरूपमा सेवा उपलब्ध गराउने योजनाका साथ सरकार र नेपाल विद्युत् प्राधिकरण लागिपरेको छ ।   यस्तै ३५ स्थानीय तहमा प्राधिकरणले विद्युत् सेवा उपलब्ध गराउन सकेको छैन । ती स्थानीय तहलाई केन्द्रमा राखेर प्राधिकरणले योजनाबद्ध प्रयास गरिरहेको छ । विशेषगरी कर्णालीका केही स्थानीय तहमा बिजुली उपलब्ध हुनसकेको छैन । ती क्षेत्रमा बिजुली पुर्याउनका लागि प्राधिकरणले रु २८ अर्ब बराबरको स्रोतको प्रबन्ध गरी बोलपत्रसमेत गरिसकेको छ । आगामी दुई वर्षभित्र सबै स्थानीय तहमा बिजुलीको सहज पहुँच पुर्याउने प्राधिकरणको तयारी छ ।   प्राधिकरणले मुलुकभरका स्थानीय तहका गाउँपालिका र नगरपालिका वडासम्मको विस्तृत अध्ययन गरी तयार पारेको विद्युतीकरण तथ्याङ्क, २०७९ अनुसार कुल जनसङ्ख्याको ९२ दशमलव ५१ प्रतिशतमा विद्युत्को पहुँच पुगेको छ । विद्युत्को पहुँच पुगेकामध्ये ९२ दशमलव ३७ प्रतिशत राष्ट्रिय ग्रिडबाट र शून्य दशमलब १४ प्रतिशतले ग्रिडभन्दा बाहिरबाट विद्युत् पाएका छन् ।   सबैभन्दा बढी मधेस प्रदेशमा ९९ दशमलव ९५ र सबैभन्दा कम कर्णाली प्रदेशमा ५६ दशमलव  ७९ प्रतिशत विद्युतीकरण भएको छ । विवरणानुसार प्रदेश नं १ मा ९१ दशमलव २३ प्रतिशत, बागमतीमा ९७ दशमलव ४७, गण्डकीमा ९७ दशमलव ७६ प्रतिशत, लुम्बिनीमा ९६ दशमलव ७३ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ७८ दशमलव ८५ प्रतिशत क्षेत्रमा विद्युतीकरण भएको छ ।   कुल ७७ जिल्लामध्ये ४२ जिल्ला पूर्ण विद्युतीकरण भएको  छ । झापा, मोरङ, सुनसरी, धनकुटा, सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, रामेछाप, दोलखा, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, काठमाडौँ, भक्तपुर र ललितपुर सारभूतरूपमा विद्युतीकरण भएका जिल्ला भएको प्राधिकरणको भनाइ छ ।   यसैगरी नुवाकोट, रसुवा, धादिङ, चितवन, तनहुँ, लमजुङ, कास्की, स्याङ्जा, पाल्पा, पर्वत, मुस्ताङ, बागलुङ, गुल्मी, प्यूठान, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी, रुपन्देही, अर्घाखाँची, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली, कञ्चनपुरमा सारभूतरूपमा विद्युतीकरण भएको छ ।   इलाम, पाँचथर, तेह्रथुम, सङ्खुवासभा, खोटाङ, उदयपुर, सिन्धुली, मकवानपुर, गोरखा, पाल्पा, म्याग्दी, रुकुमपश्चिम, डोटी र डडेलधुरा गरी १४ जिल्लामा ७५ देखि ९५ प्रतिशत विद्युतीकरण भएको छ । ताप्लेजुङ, भोजपुर, ओखलढुङ्गा, मनाङ, रोल्पा, सल्यान, सुर्खेत, दैलेख, अछाम र दार्चुला गरी १० जिल्लामा  ५० देखि ७५ प्रतिशत विद्युतीकरण भएको छ ।   रुकुमपूर्व, जुम्ला, कालिकोट, मुगु, हुम्ला, बझाङ र बैतडी गरी सात जिल्ला २५ देखि ५० प्रतिशत विद्युतीकरण भएका जिल्लामा पर्दछन् । सोलुखुम्बु, डोल्पा, जाजरकोट र बाजुरा गरी चार जिल्लामा २५ प्रतिशतमात्र विद्युतीकरण भएको छ ।   डोल्पा, मुगु र हुम्लामा अझैसम्म राष्ट्रिय ग्रिड पुग्नसकेको छैन । राष्ट्रिय प्रसारण लाइन पु¥याउन नसकिने ठाउँमा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रमार्फत सौर्य, लघुजलविद्युत (माइक्रोहाइड्रो)लगायतमार्फत विद्युतीकरण गर्ने सरकारको कार्यक्रम छ । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आगामी दुई वर्ष (सन् २०२४) भित्र सबै नेपाली जनतामा भरपर्दो र गुणस्तरीय विद्युत् सेवा पुर्याउने सरकारको घोषणालाई पूरा गर्न योजनाबद्धरूपमा काम भइरहेको बताउनुभयो ।   “आर्थिक वर्ष २०७२/७३ मा ६२ दशमलव १६ प्रतिशत घरपरिवारमा मात्रै विद्युतीकरण भएको थियो भने अहिले ९२ दशमलव  ५१ प्रतिशतमा पुगेको छ ।  सात प्रदेशमध्ये चार प्रदेश करिब–करिब पूर्ण विद्युतीकरण भएका छन्”, उहाँले भन्नुभयो ।     भौगोलिक कठिनाइ तथा विकटताले गर्दा कर्णाली प्रदेशका जिल्लाहरूमा विद्युतीकरणमा केही ढिलाइ भएता पनि अब दुई वर्षभित्रमा सबैको घरधुरीमा विद्युत् पुर्याउने गरी उच्च प्राथमिकताकासाथ काम भइरहेको छ ।  त्यसका लागि बजेट व्यवस्थापन गरी निर्माण व्यवसायी छनोटका लागि बोलपत्र आह्वान भइसकेको छ ।   प्राधिकरणले एसियाली पूर्वाधार लगानी बैंक (एआइआइबी) र युरोपेली लगानी बैंक (इआइबी)बाट  २२ करोड अमेरिकी डलर (करिब रु २८ अर्ब) सहुलियतपूर्ण ऋण लिएर लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लाहरूमा विद्युतीकरण गर्दै छ ।   सरकारको लगानी र प्राधिकरणले आफूले कमाएको नाफाबाट केही अंश छुट्याएर अन्य क्षेत्रमा विद्युत्को पहुुँच विस्तारमा रकम जुटाइएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो ।    प्राधिकरणका वितरण तथा ग्राहक सेवा निर्देशनालयका उपकार्यकारी निर्देशक मनोज सिलवाललले कोभिड–१९ महामारीको प्रभाव, निर्माण सामग्री तथा उपकरणहरुको मूल्यवृद्धि, विश्वव्यापीरूपमा बिग्रिएको आपूर्ति चेनको अवस्थामा पनि गत आवमा थप १० जिल्लालाई विद्युतीकरण गर्न सकिएको बताउनुभयो । उहाँले भन्नुभयो, “आंशिक विद्युतीकरण भएका र विद्युतीकरण हुन नसकेका स्थानीय तहमा विद्युतीकरण गर्न बोलपत्रको प्रक्रियामा गइसकेका छौँ ।”

  काठमाडौं । कोरोना भाइरसको सङ्क्रमण आज दुई सय ६९ मा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको नियमित बुलेटिनमा तीन हजार पाँच सय ५७ परीक्षणमध्ये दुई सय ६९ मा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । आज दुई सय १५ जना कोरोना भाइरसबाट स्वास्थ्य लाभ लिई घर फर्किएका छन् । निको हुने प्रतिशत ९८.५ प्रतिशत छ । सक्रिय सङ्क्रमितको सङ्ख्या तीन हजार एक सय ५८ पुगेको छ ।     यस्तै आज कोरोना भाइरसको  सङ्क्रमणबाट एक जनाको निधन भएको छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर छन् । सङ्क्रमित शून्य भएका जिल्ला मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, जुम्ला र मुगु छन् ।     यस्तै होम आइसोलेसनमा तीन हजार चार, संस्थागत आइसोलेसनमा एक सय ५४, सघन उपचार कक्ष (आइसियु)मा ४६ र भेन्टिलेटरमा सात जनाको उपचार भइरहेको छ । आज कसैले पनि कोरोना भाइरसविरुद्धको खोप लगाएका छैनन् ।

  कञ्चनपुर । पूर्व–पश्चिम राजमार्गसँगै जोडिएको शुक्लाफाँटा नगरपालिकाको पूर्वी सीमा नदी वनहरा छेउमा झुपडी बनाई बस्दै आएका भूमिहीन परिवारलाई ज्यान जोगाउनै मुस्किल हुन थालेको छ । वनहरा नदीले भूमिहीन परिवार बसोबास गर्दै आएको क्षेत्रतर्फ कटान गर्न थालेपछि उनीहरु जोखिममा परेका हुन् ।    “एकातर्फ नदीले जग्गा कटान गरिरहेको छ”, पीडित दलबहादुर बोहराले भन्नुभयो, “अर्कातर्फ नालामा वर्षाको पानी भरिन्छ, बाढी आए भाग्ने ठाउँ नै छैन ।” आकाशमा वर्षा गराउने बादल आउने क्रम सुरु भएसँगै झुपडी छाडेर सुरक्षित स्थानमा जानुपर्ने बाध्यता भएको उहाँले बताउनुभयो । रातिका बेला वर्षा हुन थालेपछि नजिकैको नदीमाथि बनाइएको पुलमा ओत लाग्नका लागि जाने गरेको पीडित प्रकाश साउदले बताउनुभयो ।    “वर्षा कतिबेला हुन्छ थाहा हुँदैन”, उहाँले भन्नुभयो, “त्यही भएर बालबालिकासहित पुलमुनि छाडा चौपायासँगै सुत्नुपर्ने बाध्यता छ ।” दिउँसो झुपडीमा गर्मीका कारण बस्नै सकिँदैन । वर्षा भए झोपडी चुहिन्छ । यस्तो अवस्थामा पुलमुनि सुत्नुको विकल्प नभएको उहाँ बताउनुहुन्छ । शिविरमा बस्दै आएका परिवारका छानामा राखिएका त्रिपाल पुराना भइसकेका छन् । त्यसबाट वर्षात्को पानी चुहिन्छ । अत्यावश्यक सामान जोगाउनका लागि निकै समस्या भएको भूमिहीन परिवारको दुःखेसो छ ।    वन क्षेत्र नजिकै बस्दै आएका भूमिहीन परिवारलाई नदीको बाढीसँगै जङ्गली जनावरको समेत उत्तिकै डर छ । “झुपडी छेउबाटै गए राति बाघले गाईलाई मारेर घिसार्दै वन क्षेत्रमा लग्यो”, पीडित अमृता साउदले भन्नुभयो, “जीउ जोगाउनसमेत मुस्किल भइसकेको छ, सुरक्षित स्थानमा शिविर सार्न पाए ज्यान जोगिन्थ्यो ।”    डडेल्धुराको आलितालमा पहिराले घरखेत सबै बगाएर लग्दा भूमिहीन भएर शिविरमा बस्न आएको उहाँले बताउनुभयो । “पीडित भएर बस्नका लागि ठाउँ खोज्दै यहाँ आइपुग्यौँ, यहाँ पनि सुरक्षितरूपमा बस्न नपाइने भएको छ, राति लामखुट्टेले टोकेर हैरान बनाउँछन्, बालबालिकालाई लामखुट्टेबाट जोगाउन जाग्रामसमेत बस्नुपर्छ, नदीमा बाढी आए पूरै परिवार जाग्राम नै बस्छौँ”, उहाँले भन्नुभयो ।   पुनःस्थापनको आशैआशमा बस्नुपर्ने अवस्था आएको उहाँले दुखेसो पोख्नुभयो । नदीको वारि र पारि गरी दुई ठाउँमा आर्यघाटसमेत रहेको छ । “नजिकमा मजदुरी पाइँदैन, कयौँ रात भोकै पनि सुतेका छौँ”, पीडित मानध्वज लुहारले भन्नुभयो, “टाढा गएर फर्कन सकिँदैन, परिवारलाई एक्लै छाडेर जान पनि सकिँदैन, यसैगरी दुई दशक बित्नै लागे पनि पुनःस्थापनको कुनै निकायबाट पहलसम्म हुनसकेको छैन ।”   नदीको दूषित पानी पिउनुपर्ने बाध्यता भएकाले बालबालिकासहित युवादेखि बूढापाकासम्म बिरामी पर्ने गरेका उनीहरुको भनाइ छ । पीडित कलावती दमाइले भन्नुभयो, “उपचारका लागि आर्थिक अभाव हुँदा झुपडीमै पीडा सहेर बस्नुपर्ने अवस्था रहेको छ, आधारभूत स्वास्थ्य केन्द्रबाट सामान्य किसिमको औषधिमात्रै पाइन्छ, स्वास्थ्यकर्मीले औषधि बाह्य क्षेत्रबाट खरिद गर्नुपर्ने लेखिदिन्छन्, पैसा हुँदैन, औषधि खरिद गर्न पाउँदैनाँै, त्यसपछि एउटै विकल्प पीडा सहनुमात्रै रहन्छ ।” दुई दशकदेखि भूमिहीन परिवारले बस्दै आएको शिविरमा १२ परिवारमात्रै बस्दै आएका थिए ।    “शव जलाएको धुवाँ शिविरसम्म पुग्ने गर्दछ, पहिला पहिला शव जलाएको गन्ध आउँदा निकै अप्ठ्यारो हुन्थ्यो”, शिविरका बासिन्दाले भन्नुभयो, “अब बानी नै परिसक्यो, यो क्षेत्र छाडेर अरु ठाउँ जान सकिँदैन, कुन ठाउँ गएर बस्ने हो, पहाडमा छदा बाबुबाजेले अरुको काम गरे, कामै नपाइने भएपछि बाध्य भएर यहाँ आइपुगेका हौँ, यस क्षेत्रमा समेत जीवन जिउन निकै कठिन छ ।”   डडेल्धुराका पहिरो पीडितसमेत थपिएपछि शिविरमा २८ परिवार बस्दै आएका छन् । शिविरमा बाजुरा, बझाङ, अछाम, बैतडी र डडेल्धुराबाट आएका भूमिहीन परिवारको बसोबास रहेको छ । शिविरमा बसोबास गर्दै आएका परिवारको एउटै भनाइ रहेको छ, “हामीलाई सुरक्षित स्थानमा पुनःस्थापन गरिदिनुपर्यो ।”

  दमौली । तनहुँको व्यास नगरपालिका–४ निवासी इन्द्र गुरुङको आधा जीवन फुटबल खेलेरै बित्यो । उहाँ सानै हुँदादेखि फुटबल खेल्नुहुन्थ्यो । उहाँले खेल्न सुरु गरेदेखि नै जिल्लामा व्यवस्थित खेलमैदान थिएन । उमेरले ३५ पुग्नुभएका उहाँ जिल्लामा हालसम्म पनि व्यवस्थित खेलमैदान नबन्दा निराश हुनुहुन्छ ।    गुरुङ हाल अखिल नेपाल फुटबल सङ्घ (एन्फा) बाट मान्यताप्राप्त रेफ्रीको भूमिका हुनुहुन्छ । जिल्लाका विभिन्न ठाउँमा आयोजना हुने फुटबल खेलमा उहाँले रेफ्रीको भूमिका निभाइरहनुभएको छ ।    “म पूर्व खेलाडी र फुटबललाई एकदमै माया गर्ने मान्छे, आधा जीवन फुटबलमै गयो, न आफू खेल्दा राम्रो मैदानमा खेल्न पाइयो न त अहिलेका खेलाडीले राम्रो मैदानमा खेल्न पाएका छन्”, गुरुङ भन्नुहुन्छ, “न पहिला न अहिले, न हिजो न आज खेलसँग सम्बन्धित निकायले खेल मैदानलाई अनि खेलाडीलाई वास्ता नगरेको देख्दा नरमाइलो लाग्छ ।”   आफूले पनि राम्रो खेलमैदानमा खेल्न नपाएको र अहिलेका खेलाडीले पनि राम्रो खेलमैदानमा खेल्न नपाएकामा उहाँको गुनासो छ । “जिल्लामा फुटबलप्रति एकदमै आकर्षण छ, तर खेल्ने वातावरण छैन, सम्बन्धित निकाय किन हो कुन्नी कानमा तेल हालेर बसेको छ”, उहाँले प्रश्न गर्नुभयो, “व्यवस्थित रङ्गशाला बनाउन केले छेकेको रहेछ ?”   खेलाडी अनि खेलमैदानका लागि भन्दा पनि पार्टीगत हिसाबले काम गर्ने प्रवृत्ति रहेको गुरुङको आरोप छ । “खेलाडीलाई प्रोत्साहन गर्ने परम्परा नै छैन”, उहाँले भन्नुभयो, “त्यसो भएपछि कसरी खेलकुद र खेलाडीको विकास हुन्छ ।”    जिल्लामा व्यवस्थित रङ्गशाला नहुँदा जस्तोसुकै खेलमैदानमा पनि खेल खेलाउनुपर्ने बाध्यता छ । व्यास–३ स्थित खुलामैदानमा कयौ वर्ष फुटबल प्रतियोगिता भए । अहिले यो मैदानलाई नगरपालिकाले पार्क बनाउन लागेको छ । यसको विकल्पमा विपी वनवाटिकामा खेल सञ्चालन हुँदै आएको छ । फुटबल खेलाडी प्रेम आलेमगरले व्यवस्थित मैदानको अभावमा फुटबल खेलाडीले सीप सिक्न नपाएको बताउनुभयो ।   भलिबलका खेलाडी एवं प्रशिक्षक पदम सुनार जिल्लामा भलिबलको राम्रो सम्भावना भए पनि पूर्वाधार अभावका कारण खेलाडीले राम्रो गर्न नसकेको बताउनुहुन्छ । “जस्तो छ त्यस्तैमा खेलाडीले प्रशिक्षण गर्नुपर्ने अवस्था छ, अनि कसरी खेलाडीको सीप विकास हुन्छ ?”, उहाँले भन्नुभयो । व्यास–२ निवासी खेलप्रेमी विवेक भट्टराईले व्यवस्थित खेलमैदान नहुनु दुःखद् रहेको बताउनुभयो । “सदरमुकाममै व्यवस्थित खेलमैदान नहुनु दुःखद पक्ष हो, यो वा त्यो भन्नै पाइँदैन, सरोकारवालाहरुले जिम्मेवारी लिनुपर्छ”, उहाँ भन्नुहुन्छ ।   दमौलीकै खेलप्रेमी अन्जिपकुमार श्रेष्ठले भएको खेलमैदानलाई व्यवस्थित गराउनुभन्दा पार्क बनाइएको भन्दै गुनासो गर्नुभयो । अर्का युवा किरण श्रेष्ठले व्यवस्थित खेलमैदान बनाउन यतिसारो किन गाह्रो भएको भन्दै सरोकारवाला निकायलाई प्रश्न गर्नुभयो । व्यास–१३ का मेघनाथ आचार्य व्यवस्थित खेलमैदान निर्माणका लागि सबैले दबाब दिनुपर्ने बेला आएको बताउनुहुन्छ ।    केही दिन अगाडि दमौलीस्थित विपी वनवाटिकामा प्रथम मेयरकप फुटबल प्रतियोगिता आयोजना गरियो । प्रतियोगितामा देशका विभिन्न जिल्लाबाट खेलाडी खेल खेल्न आए । कुनै टिममा त विदेशी खेलाडी पनि थिए । विपी वनवाटिकास्थित खेलमैदान पानी परेपछि हिलाम्य भयो । हिलाम्य खेलमैदानमै खेल सञ्चालन गर्न आयोजक बाध्य भयो ।    “हिलै हिलो भएको खेलमैदानमा खेल्नुपर्दा खेलाडीलाई कस्तो भयो होला ?”, म्याग्दे गाउँपालिका–७ हर्षपुर घर भई हाल व्यास–३ बस्ने मोहन बरालीले भन्नुभयो, “जिल्लामा त राम्रो खेलमैदान नै छैन भन्ने छाप खेलाडीमा पर्यो ।”   केही दिन अगाडि जिल्ला खेलकुद विकास समितिले नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि तनहुँबाट खेलाडी छनोट गर्यो । समितिका अध्यक्ष अनिल पाण्डे पूर्वाधार अभावकै बीचमा खेल सञ्चालन गरेर खेलाडी छनोट गर्न बाध्य भएको बताउनुभयो । “खेलकुद पूर्वाधार निर्माणका लागि राज्यको कम चासो हुँदा खेलकुदका गतिविधि सञ्चालन गर्न समस्या हुने गरेको छ, खेलकुद सञ्चालनका लागि पूर्वाधार छैन, भित्र खेलाइने खेलका लागि कभर्डहल छैन, भलिबल कोर्ट छैन”, पाण्डेले भन्नुभयो ।    विपी वनवाटिकास्थित खेलमैदानमा रङ्गशाला बनाउने कुरा चलेको धेरै भयो । जिल्ला समन्वय समितिको स्वामित्वमा रहेको उक्त खेलमैदान नगरपालिकालाई हस्तान्तरण गरिएको छ । रङ्गशाला बनाउने चर्चा त्यत्तिकै सेलाएको छ । जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले खेलप्रति आकर्षण बढे पनि खेलमैदान नहुँदा समस्या भएको बताउनुभयो । “खेलकुद मैदानलाई व्यवस्थित गर्नेतर्फ जनप्रतिनिधि गम्भीर भएर लाग्नुपर्छ”, उहाँले भन्नुभयो ।    नगरपालिकाले भने विपी वनवाटिकास्थित खेलमैदानलाई व्यवस्थित गराउनेतर्फ गम्भीर रहेको बताएको छ । नगरपालिकाका प्रवक्ता एवं नगर खेलकुद विकास समितिका अध्यक्ष जीवन गुरुङले उक्त खेलमैदानलाई खेल खेल्न सक्ने बनाइने बताउनुभयो । “यो मैदानलाई व्यवस्थित गराउनकै लागि बीचमा रहेको कभर्डहल सारेका छौँ”, उहाँले भन्नुभयो ।

देउखुरी । तीजको रौनक जताततै थियो । तीजमा माइतीको घर आएका तथा गाउँकै रहेका महिला दिदीबहिनी जम्मा भएर दिउँसो गाउँको सालडाँडामा पुगेर नाचगान गरेर बेलुकी घर फकिँदै गर्दा चट्याङले दुई किशोरीलाई एकै चिहान बनायो । यही भदौ १३ गते मङ्गलबार (तीजको दिन) बेलुका घोराही–१२ गुरौँगाउँका १२ महिला, बालबालिका चट्याङमा परेका थिए ।   मङ्गलबार बेलुकी करिब साढे ५ बजे चट्याङ लागेर दुई जनाको ज्यान गयो । नौ जना घाइते भए । सोही घटनामा घाइते भएकाको मन अझैसम्म झस्किरहन्छ ।  तीजको दिन रातो साडी लगाएर नाच्ने रहरसँगै दिदीबहिनी टिकटक बनाउँदै रमाइलो गरेको बेलाको दृश्य मोबाइलमा हेरेर  टोलाउँदै आँशु पुछ्दै  गर्नुभएकी घोराही–१२ गुरैकी जयन्ती घर्तीले भन्नुभयो, “सँगै नाचेको भिडियो टिकटकमा राख्ने रहर पूरा नहुँदै बहिनीलाई  आँखा अगाडि गुमाउनुपर्यो, मनै थाम्नै सकिएको छैन ।” सोह्र वर्षीया बहिनी दीपा घर्तीले चट्याङमा परेर अकालमा ज्यान गुमाउनुपर्यो  । आँखामा राखे पनि नबिझाउने बहिनी गुमाउँदा एक्लै भएको उहाँले बताउनुभयो । यतिबेला गुरौँगाउँ नै शोकमा परेको छ ।   दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक कक्षमा यमकुमारी साह उपचाररत भेटिनुभयो । उहाँलाई चट्याङ लागेको करिब २४ घण्टा बितिसकेको छ । मङ्गलबार बेलुका ५ बजे घटना भएको थियो उपचारका लागि घोराही ल्याउँदा बुधबार ५ बजेको थियो । गुरौँगाउँबाट उहाँसहित नौ बिरामीलाई घोराहीबजार ल्याउन २४ घण्टा लाग्यो । यमकुमारीलाई चट्याङ लाग्दा  आफूसँगै रमाइलो गर्न गएकी १९ वर्षीया छोरी मनिषा साहको घटनास्थलमै मृत्यु भयोे ।   आँखा अगाडि छोरी गुमाउनुपर्दा उहाँँलाई सम्हालिन गाह्रो भएको छ । यमकुमारीका चार छोरी चट्याङमा परेकामा दुई महिनाकी छोरी जेनिसालाई पनि चट्याङले घाइते बनाएको छ । “नाचेर रमाइलो गर्ने भनेर सालडाँडाको नयाँ बस्तीमा दिउँसो दुई वजेदखि नाच्न गएका थियौँ, ठूलो पानी पर्न थालेपछि साँझ पाँच वजे घर फर्किने बेलामा अचानक चट्याङले हान्यो, हामी सबै ढल्यौँ, होश आउँदा नजिकै रहेकी छोरी जलेर प्राण त्यागिसकेकी थिइन्”, उहाँले भन्नुभयो । चट्याङको चपेटामा परेका सबै बेहोस भएका थियौँ । अहिले शरीर थलिएको छ, खुट्टा सुन्निएका छन् । त्यो घटनाले मन स्थिर हुनसकेको छैन ।    घाइतेलाई उपचारका लागि समयमै अस्पताल पुर्याउन सकिएन । त्यो ठाउँ भौगोलिकरूपमा विकट छ । सडक र सञ्चारको सुविधा छैन । घटना भएपछि गाउँलेका घरघरमा खबर गर्न हिँड्दाहिँड्दै थकाइ लागेको थियो । साँघुरो कच्ची बाटोका कारण डोको र कपडाको झोलुङ्गा बनाएर घाइतेलाई अस्पताल ल्याउनुपरेको सोही घटनामा परेकी घोराही–१२ की  बेलकुमारी घर्तीले बताउनुभयो । घटना भएपछि आकुलब्याकुल भएका गुरौँवासी रातभर सुत्न सकेनौँ । घाइतेलाई उपचारका लागि अस्पतालसम्म पुर्याउन पनि नसकेको उहाँले बताउनुभयो । गाउँका युवा, बलिया सबै रोजीरोटी र कामको सिलसिलामा विदेशी भूमिमा गएका छन् । गाउँमा महिला, बालबालिका र ज्येष्ठ नागरिकमात्रै रहेको बेलकुमारीको भनाइ थियो  ।    सोही वडाका वडाध्यक्ष द्रोर्ण बहकरीले आफ्नो वडाको पीडा देखेर निकै दुःखी भएको बताउनुभयो । यसका लागि नगर कार्यपालिकाबाट दुर्गमका नागरिकको आधारभूत सेवाका लागि विशेष पहल गर्न लगाउने बचन दिनुभयो । “कहिले पनि त्यो ठाउँमा फोन लाग्दैन, बिजुली बत्तीको पनि व्यवस्था छैन, खानेपानीको समस्या पनि उस्तै छ,  उहाँले भन्नुभयो, “अब कसरी हुन्छ गुरौँका नागरिकका लागि केही गरेरै छाड्नेछु”, उहाँले भन्नुभयो ।   घाइते सबैको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । बिरामीको उपचार गर्दा अस्पतालमा लाग्ने सबै खर्च घोराही उपमहानगरले व्यहोर्ने नगरप्रमुख नरुलाल चौधरीले जानकारी दिनुभयो । ज्यान गुमाएकाहरूको परिवारलाई विपद् व्यवस्थापन समितिबाट रकमसहित राहतको व्यवस्था गर्ने उहाँले बताउनुभयो । घाइतेलाई मानसिक पीडा धेरै छ । उपचारसँगै परामर्शको काम भइरहेको सम्बद्ध चिकित्सकको भनाइ थियो ।   चट्याङ लागेर घाइते हुनेमा १५ वर्षीया निरुता साह, १५ वर्षीया जयन्ती घर्ती, १६ वर्षीया यामुसरी थापा, ३८ वर्षीया यमकुमारी साह रहेको दाङ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिनुभयो । यसैगरी सामान्य घाइते हुनेमा चार वर्षकी जेनिशा साह, १४ वर्षीया अन्जना घर्ती, १५ वर्षीया सावित्रा वली, ३८ वर्षीया बेलकुमारी घर्ती, ४२ वर्षीया मनकुमारी वली रहेको प्रहरी नायब उपरीक्षक राजन गौतमले जानकारी दिनुभयो ।

  पोखरा  । २४ औं संस्करणको लामाचौर तीज महोत्सव–२०७९ अन्तरगत लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगितामा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।   फाइनलमा न्यु डायमण्ड एकेडेमीलाई सोझो सेटमा पराजित गर्दै साविक विजेता पुलिसले उपाधि सहित १ लाख ५० हजार १११ पुरस्कार प्राप्त गरेको छ । उपविजेता न्यु डायमण्डले १ लाख १११ पायो । फाइनलमा पुलिसले २५–१५, २५–१४ र २५–८ ले जित आफ्नो पक्षमा पारेको हो । तेस्रो स्थानको लागि भएको खेलमा त्रिभुवन आर्मी क्लबले गण्डकी प्रदेशको टिमलाई सोझो सेटमा २५–१७, २५–१७ र २५–१५ मा हराउँदै तेस्रो स्थानको पुरस्कार ५० हजार १११ प्राप्त गरेको छ ।   प्रतियोगितामा नेपाल पुलिसकी उषा भण्डारी सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट प्रशिक्षक पुलिसकै रुपेश बिट घोषित हुँदै जनही ५ हजार पुरस्कार प्राप्त गरेका छन् ।   यसैगरी, विधागततर्फकै अन्य पुरस्कारमा उत्कृष्ट सेटर न्यु डायमण्डकी प्रगती नाथ, उत्कृष्ट ब्लकर आर्मीकी सोफिया पुन, उत्कृष्ट सर्भर डायमण्डकी सलिना बुढा मगर, उत्कृष्ट स्पाइकर पुलिसकी कामना बिस्ट, उत्कृष्ट लिब्रो न्यु डायमण्डकी सलिना श्रेष्ठ घोषित भए । उनीहरुले ट्रफी र प्रमाणपत्र पुरस्कार प्राप्त गरेको प्रतियोगिता संयोजक सुशीलकुमार श्रेष्ठले जानकारी दिए ।   यसैगरी बुधबार भएको पुरुषतर्फको राष्ट्रिय भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा पुलिसले त्रिभुवन आर्मी क्लबको टिमलाई ३–१ सेटमा हराउँदै जित आफ्नो पक्षमा पारेको हो । खेलमा २६–२४, २५–१९, १८–२५ र  २५–१९ ले हराउँदै गण्डकी प्रदेशको टिमसँग भेट सुनिश्चित गरेको हो । बिहीबार पुरुषतर्फको फाइनल खेल बिहान १० बजे पुलिस र गण्डकीबीच खेल हुुने भएपनि वर्षाका कारण खेल हुुन नसकेको आयोजकले जानकारी दिएको छ ।    विजेताले १ लाख ५० हजार १११ पुरस्कार प्राप्त गर्ने छन् । उपविजेताले १ लाख १११ र तेस्रो हुनेले ५० हजार १११, सर्वोत्कृष्ट खेलाडी र उत्कृष्ट विधामा आकर्षक पुरस्कार दिइने छ ।

  पोखरा । प्लास्टिक पेलेर पक्की सडक बनाउन सकिन्छ भन्ने नमूना प्रस्तुत भएको चार वर्षभन्दा बढी भयो । पोखरा महानगरपालिका–१४ अनुपम टोलको एक सय मिटर सडक प्लास्टिकबाट पिच गरेर २०७५ साउन १ गते उक्त कार्यको शुभारम्भ गरिएको हो ।      प्लास्टिक सडक सय मिटर मात्र छ । हजारौँ हजार किलोमिटरको कोशेढुङ्गा हो । सहरमा जताततै प्लास्टिक छन् । सहरको फोहर व्यस्थापन गर्न नगरपालिकालाई हम्मेहम्मे छ । तर तिनै फालिएका प्लास्टिकबाट पक्की सडक बनाउन सकिन्छ भने नमूना पनि हो यो सडक । चार वर्षअघि ग्रिन रोड बेस्ट म्यानेजमेन्ट कम्पनीका युवाद्वारा प्लास्टिक पेलेर बाटो कालोपत्र गर्ने प्रविधि भुटानमा सिकेर पोखरामा प्रयोग गरिएको हो ।    कम्पनीबाट मेकानिकल इञ्जिनीयर विमल बाँस्तोला र सिभिल इञ्जिनीयर राजिव सुवेदीले प्लास्टिकबाट सडक पिच गर्ने प्रविधि सिक्न भुटान जानुभएको थियो । त्यहाँ एकहप्ते तालिम लिएर फर्केपछि उक्त सीपलाई नेपालमा प्रयोग गरिएको हो । यसमा उहाँहरू सफल बन्नुभयो । यो प्रविधि अरु ठाउँमा पनि विकास गर्न चाहे पनि स्रोतसाधनको कमी यतिखेर समस्याका रुपमा देखिएको छ ।     यसका लागि प्लास्टिक टुक्रा पार्नुपर्छ । जुन काम गर्न मेसिन पाउनै मुस्किल छ । भएका मेसिन बिग्रदा बनाउनका लागि चीन वा भारत पुर्याउनुपर्छ । हैरानी खेप्नुभन्दा मेसिन नेपालमै बनाउनेतर्फ उहाँहरू ध्यान मोडियो । अनुसन्धान कै क्रममा गण्डकी प्रदेशले सञ्चालन गरेको गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान ‘जिपास्ट’ सँग ग्रिन रोड बेस्ट म्यानेजमेन्ट कम्पनीले काम गरेको हो ।  “हामीले प्लास्टिक टुक्रा कसरी बनाउने भनेर रिसर्च गरिरहेका थियौँ”, इञ्जिनीयर विमल बाँस्तोलाले भन्नुभयो, “त्यही क्रममा गण्डकी प्रदेश विज्ञान तथा प्रविधि प्रतिष्ठान (जिपास्ट) सित कुरा भयो ।” त्यसपछि आफूहरुको काममा जिपास्टले सहयोग गरेको उहाँले बताउनुभयो ।       उक्त प्लास्टिक पेल्ने मेसिनको अनुसन्धान विकासका लागि धेरै रकम आवश्यक पर्ने भएकाले जिपास्टले सहयोग गरेको बास्तोलाले जानकारी दिनुभयो । “अहिले हामीलाई धेरै कुरामा सहज भएको छ”, उहाँले भन्नुभयो, “प्लास्टिक सडक कार्यक्रम देशैभरि फैलाउने हाम्रो योजना छ, त्यसमा जिपास्टबाट सहयोग पाए सहज हुने थियो ।” गण्डकी प्रदेश सरकारले विज्ञान तथा प्रविधि क्षेत्रमा नवीतम सोच राख्नेका लागि जिपास्ट स्थापना गरेको हो ।    प्रदेश सरकारले विज्ञान तथा प्रविधि क्षेत्रमा अध्ययन अनुसन्धान गर्ने संस्था तथा व्यक्तिलाई सहयोग पुर्याउन यसको  स्थापना गरिएको प्रतिष्ठानका प्रमुख ढाका भण्डारीले जानकारी दिनुभयो । यो स्थापना भएको २० महिना भयो । “प्रदेशभर विज्ञान तथा प्रविधि क्षेत्रमा क्रियटिभ रुपमा लाग्नेहरूलाई सहयोग पुग्ने गरी यो प्रतिष्ठानको परिकल्पना अघि बढेको हो”, उहाँले भन्नुभयो, “स्थापना भएको छोटो समयमा पनि ग्रिन रोड बेस्ट म्यानेजमेन्ट कम्पनीजस्तै अन्य संस्था र व्यक्तिलाई सेवा दिन पाएका छौँ ।” प्रतिष्ठानले कर्मचारी भर्नादेखि प्रयोगशाला स्थापना, अनुसन्धानकर्ताका लागि फेलोसिप, अनुसन्धानका लागि लागत साझेदारी, वर्कसप, तालिमको काम गरिरहेको उहाँले जानकारी दिनुभयो ।     जिपास्ट प्रदेश सरकारको शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकास मन्त्रालयअन्तर्गत सञ्चालित छ । प्रदेशलाई सक्षम बनाउन आवश्यकताका आधारमा प्रतिष्ठानलाई प्रयोग गर्ने मन्त्रालयको योजना छ । यसलाई अझै प्रभावकारी बनाउन यस वर्ष पनि नयाँ योजना बनाएर बजेट छुट्याइएको प्रदेश शिक्षा, संस्कृति, विज्ञान, प्रविधि तथा सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठले जानकारी दिनुभयो ।      मन्त्री श्रेष्ठले भन्नुभयो, “लुप्त अवस्थामा रहेका चिजलाई अनुसन्धान गरेर कसरी उत्पादन बढाउने, आयस्रोत बढाएर प्रदेशलाई सक्षम बनाउने कुरा जिपास्टसँग जोडिएको छ ।” चालु आर्थिक वर्षमा विनियोजन गरिएको रकमबाट ग्रिन रोड बेस्ट म्यानेजमेन्ट कम्पनी जस्तै विज्ञान तथा प्रविधि क्षेत्रमा नवीनतम सोचका साथ काम गर्ने सङ्घ वा व्यक्तिलाई सहयोग गर्ने जिपास्टको योजना रहेको उहाँले जानकारी दिनुभयो ।