चितुवाको आक्रमण बढेपछि स्थानीय त्रसित
तनहुँ | असार १, २०७९

तनहुँ : केही वर्षदेखि तनहुँमा मानव र वन्यजन्तुबीचको द्वन्द्व बढ्दो छ । बर्सेनि चितुवाको आक्रमणबाट मानिसको मृत्यु हुने र घाइते हुने क्रम रोकिएको छैन ।
केही दिनदेखि पुनः चितुवाको त्रास बढेको छ । अहिले बन्दीपुर गाउँपालिकामा चितुवाको आतङ्क बढेपछि स्थानीयवासी त्रसित बनेका छन् । बन्दीपुर गाउँपालिकामा चार दिनको अवधिमा तीन पटक चितुवाको आक्रमण भएको छ । चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ भने एक बालिका र एक पुरुष घाइते भएका छन् ।
मङ्गलबार घरको आँगनमै खेलिरहेका बेला चितुवाको आक्रमणमा परेर बन्दीपुर–१ का पाँच वर्षीय सुप्रिम रिलामीको मृत्यु भएको छ । चितुवाको आक्रमणमा परेका बालकको शव घरभन्दा दुई सय मिटरमाथि जङ्गलमा भेटिएको थियो ।
शनिबार बन्दीपुर–४ टावरमा चितुवाको आक्रमणमा परेर आठ वर्षीया रियाना थापा र आइतबार बन्दीपुर–१ मा ३५ वर्षीय भीमलाल गरञ्जा घाइते हुनुभएको थियो । चितुवाको आक्रमण बढेपछि स्थानीयवासी त्रसित बनेको बन्दीपुर–१ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताउनुभयो । घरछेउमै चितुवाको आक्रमण हुन थालेपछि घरबाहिर निस्कन पनि डर हुन लागेको बन्दीपुर–४ का सन्तोष थापाले बताउनुभयो ।
बन्दीपुर गाउँपालिकाकी निवर्तमान उपाध्यक्ष करुणा गुरुङले चितुवाको त्रास न्यूनीकरण गर्नका लागि सरोकारवाला निकायबाट अल्पाकालीन र दीर्घकालीन समाधान खोजिनुपर्ने बताउनुभयो ।
चितुवाको आक्रमण बढेपछि चितुवा नियन्त्रणका लागि खोर राखिए पनि खोरमा चितुवा पर्न सकेको छैन । डिभिजन वन कार्यालय तनहुँको सहयोगमा बन्दीपुर–१ बाघदलेमा आइतबार फलामे खोर राखिएको थियो ।
सहायक वन अधिकृत काशिराज पण्डितले चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाउन, एक्लै नहिँड्न आग्रह गर्नुभयो । “चितुवासँग जोगिन साँझ तथा रातको समयमा घरगोठ उज्यालो बनाऔँ, झाडी सफा गरौँ, एक्लै नहिँडौँ,” उहाँले भन्नुभयो, “बच्चा तथा वृद्धहरुको विशेष ख्याल र रेखदेख गरौँ ।”
मृग, वन कुखुरालगायत वन्यजन्तु मानिसले सिकार गरिदिँदा वनमा सिकारको अभाव भई चितुवाले मानिसको सिकार गर्न थालेको वनको भनाइ छ । “मानव र वन्यजन्तुबीचको द्वन्द्व न्यूनीकरण गर्नेतर्फ सबै लाग्नुपर्छ,” उहाँले भन्नुभयो । डिभिजन वन प्रमुख कोमलराज काफ्लेले भन्नुभयो, “चितुवा सक्रिय हुने समय र आनीबानी बुझ्न सकिए यसबाट बच्न सकिन्छ ।” चितुवाको आक्रमणबाट पाँच वर्षमा १२ बालबालिकाले ज्यान गुमाएका छन् । चितुवाको आक्रमणबाट ज्यान गुमाउनेमा १२ वर्षभन्दा कम उमेरका बालबालिका छन् ।
मुस्ताङ: नेकपा (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुस्ताङमा पार्टीको भवन शिलन्यास गर्नुभएको छ । दुई दिने भ्रमणका लागि मुस्ताङ आउनुभएका अध्यक्ष प्...
पोखरा: पोखरामा विद्यालयबाट घर हिडेकी एक बालिका ६ दिन पछि सम्पर्कमा आएकी छन् । पोखरा महानगरपालिका १ बगरस्थित संस्कृत माविमा पढ्दै आएकी १२ वर्षिय पूर्णिमा तामाङ शुक्रबार विद्यालय छुट्टिभए...
पोखरा: पोखरामा आज दिउँसो ल्यान्डिङ गर्ने क्रममा दुई वटा प्याराग्लाइडिङ दुर्घटनामा परेका छन् । पोखरा महानगरपालिका–१८ तोरेपानीबाट उडेको २ वटा प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने क्रममा अनियन्त्रि...