पोखराको जेलबाट टीकापुर काण्डका दोषि सकलको प्रश्न: रेशम चौधरी छुटे, म कहिले छुट्छु ?

पाेखरा | जेठ १८, २०८०

पोखराको जेलबाट टीकापुर काण्डका दोषि सकलको प्रश्न: रेशम चौधरी छुटे, म कहिले छुट्छु ?

पोखराः ०७२ भदौ ७ गतेको टीकापुर घटनाका योजनाकार मानिएका रेशम चौधरीलाई तीनै तहका अदालतले जन्मकैद सुनाएपनि हालैको आममाफीबाट उनी रिहा भएका छन् ।
 

रेशम जेलबाट छुटेपनि सोही घटनाका अर्का एक आरोपी पोखराको जेल (बाल सुधार गृह)मा सजाय काटिरहेका छन् । 
 

घटनाताका १५ वर्ष उमेरका सकलकुमार चौधरीलाई १७ दिनपछि पक्राउ गरी अदालत पेश गरिएको थियो । सकल नाबालक रहेको भन्दै उनलाई पोखराको बाल सुधार गृह पठाइएको हो । 
 

रेशम जेलबाट छुटेपछि सकलको अवस्था बुझ्न सुधार गृह पुग्दा उनी अध्ययनमा व्यस्त थिए । ‘अहिले स्नातकतह दोस्रो वर्षमा अध्ययनरत छु’ सकलले भने ‘यहाँ आएपछि पनि पढाईलाई निरन्तरता दिएको छु ।’
 

रेशमले आममाफी पाएर छुटेको खबर सुनाएपछि सकलले भने ‘उनी (रेशम) छुटेको मैलेपनि थाहा पाए, म यतै सजाय भोग्दैछु ।’

 

सुधार गृहका इन्चार्ज अजय थापा क्षेत्रीसँग अनुमति लिएपछि सकलले ८ वर्षअघिको घटनालाई संक्षेपमा सुनाए । ‘म १५ वर्षको थिए, साथीले त्यसदिन टीकापुर जाउँ, हेरौ भनेपछि त्यतै लाग्यौ ।’

 

उनका अनुसार थरुहट आन्दोलन र रेशम चौधरीबारे केही जानकारी थिएन । ‘मैले रेडियोमा रेशम चौधरी भन्ने नाम सुनेकोमात्रै थिए’ सकल भन्छन् ‘त्यहाँ हो–हल्ला हुन थालेपछि डराउँदै हामी फर्केर आयौं ।’

 

सकल र साथी त फर्किए तर १५ गते ‘प्रहरी मारेको’ भन्दै सकललाई खोज्न गाउँमा प्रहरी पुगिसकेको थियो । प्रहरीले गाउँ घेरेर धरपकड गर्न थालेपछि सकल भागेर भाउजुको घर लुकेर बसे । 

 

परिवार र पुरै गाउँलेलाई प्रहरीले सताउन थालेपछि सकलले २५ गते सरेन्डर गरेका रहेछन् । त्यसपछि सुरुभयो उनीमाथि एकोहोरो यातना । ‘मैले प्रहरीको सक्कली अनुहार त्यसपछि थाहा पाए’ सकलले प्रहरी कार्यालयमा

 

बिताएको विगत सम्झँदै भन्छन् ‘डिएसपीको कमाण्डमा ४ प्रहरीले दिएको यातना झेल्न नसकेपछि उनीहरुले तयार पारेको बयानमा सही गर्न बाध्य भए ।’

 

प्रहरीले उनलाई पक्राउ गरेपछि यातना दिँदै आफुले तयार पारेको बयानमा सही नगरे बुवा आमालाई पक्रेर ठिक पार्ने चेतावनी बाराम्बार दिएपछि सकल गलेछन् । त्यसपछि प्रहरीले भिडियो खिचेर त्यही बोल्न लगाएछन् जुन प्रहरीले पहिल्यै लेखेका थिए ।

 

‘बयानमा के लेखेको थियो, याद छ ?’ सकलको जवाफ छ ‘टीकापुर हत्याकाण्डको नाइके रेशम चौधरी हो । र, मैलेपनि ७ प्रहरीलाई लखेटी–लखेटी मारेको हो ।’ पछि सरकारी वकिलको कार्यालय र अदालतमा पनि सोही बयान घोकेर भन्न बाध्य पारिएको उनले सुनाए । 

 

‘म ९ कक्षामा पढ्दै गरेको १५ वर्षको ठिटोले ७ जना प्रहरीलाई लखेट्दै मारेको भनेर अदालत, राज्यले पत्यायो, तर वास्तविकता बुझ्नेतिर कोही लागेन’ उनी दुखी देखिए । 

 

उनले आफुलाई त्यसबेला खास के भइरहेको छ र किन टीकापुरमा मान्छेको सागर ओइरियो भन्ने कुनै जानकारी नभएको सुनाए । ‘मलाई फसाइयो’ सकल भन्छन् ‘रेशमलाई मैले पोलेको हो तर प्रहरीले किन जबर्जस्ती उसको नाम लिन लगायो जवाफ खोजिरहेको छु ।’
 

प्रतिकुल परिस्थितिमा पनि अध्ययनलाई निरन्तरता दिइरहेका सकल स्नातकतहमा अंग्रेजी मुख्य विषय लिएर पढिरहेका छन् । तर किताब पन्छाउँदै उनले बाराम्बार सोधेको प्रश्न हो, ‘एउटै घटनामा दोषि रेशम चौधरी छुटे, म कहिल्यै छुट्छु ?’
 

सकलको प्रश्नको जवाफ खोज्न सुधार गृहका कानूनी सल्लाहकार एवं अधिवक्ता विशेश्वर ढकालसँग सम्पर्क गर्दा उनले टीकापुर घटनामा सकलको संलग्नता नभएको भन्दै छुटाउन पहल गरिरहेको बताए । 

 

‘सकलकुमारको मुद्दा राजनीतिक हो, रिसइबीकाकारण उनलाई फसाइएको छ’ अधिवक्ता ढकालले भनेका छन् ‘कानूनी प्रक्रिया जारी छ, सर्वाेच्च जाँदैछौं, असोजसम्म उनी छुट्नेछन् ।’
 

 

रेशम छुटेपनि सकललाई भेट्न कोहीपनि पुगेका छैनन् । उनका अनुसार कसैले भेट्न आवश्यक पनि छैन । सकलकै शब्दमाः उनले राजनीति १५ वर्षे उमेरमा बुझेका थिएनन् र आजपनि खासै चासो छैन । ‘म निर्दोष हुँ, मलाई फसाइयो’ उनको भनाईको सार यही हो । 

 

आफ्नो थातथलोबाट कोसौ टाढा रहेको चारघेराबाट भदौ ७ लाई सम्झँदै उनले थुप्रै ‘रहस्य’ सुनाउन बाँकी रहेको बताएका छन् । टाढा भएकै कारण परिवार र आफन्त सँधै भेट्न आउन नसक्ने उनैले सुनाए । 

 

पीडाबीच पनि मुस्कुराउँदै सकलले दायाँ नाडीमा खोपेको ट्याटु देखाउँदै भने ‘मेरो बुवा आमा म सँगै हुनुहुन्छ ।’

 

उनी अध्ययनशील र आचरण पनि राम्रो भएकाले सुधार गृहमा सह–नाइके भएका रहेछन् । कुराकानीलाई बिट मारेपछि आत्मविश्वासी सकलले हात मिलाउँदे भने ‘म छुट्ने बेला फोन गर्छु, आउनोस् है ।’

 

कैलालीको टीकापुरमा भएको थरुहट आन्दोलनका दौरान नेपाल प्रहरीका एसएसपी लक्ष्मण न्यौपानेसहित ७ सुरक्षाकर्मी र २ वर्षका बालक टेकेन्द्र साउदको पनि मृत्यु भएको थियो 

 

उक्त घटनाका अन्य ३ जना कैलाली कारागारमा सजाय काटिरहेका छन् । 

(दोषीको आग्रहमा नाम परिवर्तन गरिएको छ ।)

पोखरा:  वीरगञ्जका उद्योग व्यवसायीले सिमरा–पोखरा हवाई उडानलाई निरन्तरता दिनुपर्ने माग गरेका छन् ।    नेपालकै प्रमुख औद्योगिक सहर वीरगञ्ज र पर्यटनको राजधानी पोखराबीच हवाई उडानला...

थप पढ्नुहोस्

काठमाडौं:   उपत्यका अपराध अनुसन्धान कार्यालयले डेढ किलोभन्दा बढी सुन र १ करोड ४३ लाख ६० हजार रुपैयाँ बरामद गरेको छ ।   विशेष सूचनाका आधारमा खटिएको कार्यालयको टोलीले अवैध सुन र नगदसह...

थप पढ्नुहोस्

काठमाडौं:  धीरज मगर र उपसना सिंह ठकुरी स्टारर सोसल-रोमान्टिक फिल्म ‘खुश्मा’को प्रदर्शन मिति घोषणा भएको छ ।   यो फिल्म असोज ३ गते नेपालसहित अन्तर्राष्ट्रिय बजारमा रिलिज हुने जनाइएको...

थप पढ्नुहोस्