महिला सशक्तीकरण र लैङ्गिक समानतामा हासिल गरेको उपलब्धि विशिष्टः राष्ट्रपति भण्डारी

काठमाडाैं | फागुन २४, २०७९

महिला सशक्तीकरण र लैङ्गिक समानतामा हासिल गरेको उपलब्धि विशिष्टः राष्ट्रपति भण्डारी

काठमाडौं: राष्ट्रपति  विद्यादेवी भण्डारीले महिला सशक्तीकरण र लैङ्गिक समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको बताउनुभएको छ ।

      
राष्ट्रपति भण्डारीले ११३ औँ अन्तर्राष्ट्रिय महिला दिवस (८ मार्च) को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै उक्त कुुरा बताउनुभएको छ ।

 
“महिला सशक्तीकरण र लैङ्गिक  समानताका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि विश्व महिला आन्दोलनकै निम्ति विशिष्ट रहेको छ, यद्यपि महिलाको नेतृत्व विकास, अवसरको समतामूलक उपलब्धता र वितरण तथा आर्थिक प्रगतिका क्षेत्रमा तय गर्नुपर्ने लामो यात्रा बाँकी नै छ”, शुभकामना सन्देशमा भनिएको छ, “यस सन्दर्भमा महिलाको सहभागिता र प्रतिनिधित्व गर्न संविधानमार्फत हामीले व्यवस्था गरेका संरचनात्मक आधारले सकारात्मक परिणाम ल्याउन थालेको पक्षलाई हृदयङ्गम गर्नु सान्दर्भिक हुन्छ, यसको फलस्वरूप मुलुकका तीनै तहका सरकार, संसद् र नीति निर्माणका निकायमा महिलाको भूमिका सुदृढ हुँदै गएको छ, यसबाट नेपाली महिलाको प्रतिष्ठा क्रमशः अभिवृद्धि हुँदै गएको छ भन्ने मलाई लाग्दछ ।”

      
अन्तर्राष्ट्रिय महिला दिवसले महिलाविरूद्ध हुने सबै प्रकारका हिंसा, विभेद, उत्पीडन एवं समाजमा विद्यमान विकृत प्रथा र परम्परालाई निर्मूल गर्दै समानता र न्याय सुनिश्चित गर्न सबैमा थप ऊर्जा र उत्साह प्राप्त हुने विश्वाससहित शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले महिला सशक्तीकरण, प्रतिनिधित्व र सहभागितालाई लैङ्गिक समानता हासिल गर्ने प्रमुख माध्यमका रूपमा लिनुपर्नेमा जोड दिनुभएको छ ।

      
“राष्ट्र, समाज र परिवारप्रतिको अधिकार एवं दायित्वलाई महिला र पुरुष दुवैमा बराबर वितरण हुने परिवेशको निर्माण गर्नु लैङ्गिक समानताको अभिप्राय हो”, सन्देशमा भनिएको छ, “त्यसकारण महिला र पुरुष दुवैको साझा सरोकारको विषय भएको हुनाले महिला सशक्तीकरणका निम्ति दुवैको समान र सक्रिय भूमिका आवश्यक रहेकोतर्फ म विशेष जोड दिन चाहन्छु ।”

      
अन्तर्राष्ट्रिय महिला दिवसले विश्व महिला आन्दोलनको आरम्भलाई स्मरण गर्दै महिलाको न्यायपूर्ण हक र अधिकारका क्षेत्रमा हालसम्म प्राप्त उपलब्धि संस्थागत गर्न हामीलाई अभिप्रेरित गर्ने विश्वास राष्ट्रपति गर्र्नुभएको छ । विज्ञान र प्रविधिको क्षेत्रमा महिलाको पहुँच स्थापित गर्ने उद्देश्यले यस वर्षको अन्तर्राष्ट्रिय महिला दिवसका सन्दर्भमा नेपालले ‘लैङ्गिक  समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने राष्ट्रिय सङ्कल्प निर्धारण गरेको छ ।

      
यस वर्षको राष्ट्रिय सङ्कल्पले एकातिर सूचना तथा सञ्चार प्रविधिको विकास र विस्तारबाट प्राप्त अवसरमा महिलाको सहभागिता अभिवृद्धि गर्न जोड दिएको छ भने अर्कोतिर पछिल्लो समयमा बढ्दै गएको प्रविधिको दुरुपयोगबाट महिलाविरुद्ध हुने हिंसालाई नियन्त्रण गर्नसमेत सम्बद्ध पक्षको ध्यानाकर्षण गरेको छ ।

       
“डिजिटल प्रविधिको उपयोगमा महिलाको पहुँचमार्फत सार्वजनिक सेवा प्रवाह, उत्पादन र उत्पादकत्व अभिवृद्धि गर्न गुणात्मक प्रगति हासिल गर्न सकिन्छ”, सन्देशमा भनिएको छ, “नवप्रवर्तन तथा प्रविधिको विकासमा महिलाको योगदानलाई कदर गर्दै, सामाजिक तथा संरचनात्मक रूपान्तरणद्वारा मुलुकको समृद्धि र दिगो विकासतर्फ अग्रसर रहनका निम्ति यसबाट हामीलाई थप प्रेरणा प्राप्त हुने विश्वास व्यक्त गर्दछु ।”

पोखरा:     गण्डकी प्रदेशका विभिन्न क्षेत्रमा स्थापित बनिसकेका ७ जना श्रष्टा सम्मानित हुने भएका छन् । गण्डकी प्रज्ञा–प्रतिष्ठानले तेस्रो  वार्षिकोत्सवको अवसरमा उनीहरुलाई सम्मान अर्पण गर्न लागेको हो ...

थप पढ्नुहोस्

सिन्धुली:    प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुनकोशी मरिन डाइभर्सन बहुउद्देश्यीय आयोजना कार्यान्वयनमा आएपछि राष्ट्रिय अर्थतन्त्रमा गुणात्मक योगदान पुग्ने बताउनुभएको छ । सुनकोशी मरिन ...

थप पढ्नुहोस्

गोरखा:     सहिद लखन गाउँपालिका–८ बुंकटस्थित रामेश्वरी माध्यामिक विद्यालयको चारकोठे पक्की भवन निर्माण सम्पन्न भएको छ ।  जापान सरकारको आर्थिक सहयोगमा करिब रु दुई करोड ८९ लाख लागतमा व...

थप पढ्नुहोस्