राष्ट्रिय थारु साहित्य सम्मेलन सम्पन्न
नेपालगञ्ज | माघ २३, २०७९
तस्बिर साभार
नेपालगञ्ज: थारु भाषा, साहित्य, संस्कृति उन्नयनका लागि थारु साहित्यिक सङ्घसंस्था, भाषाप्रेमी, लेखक, प्रकाशक, सम्पादकहरू एकजुट भएर सहकार्य गर्नेलगायतका १२ बुँदे घोषणापत्र जारी गर्दै सातौँ राष्ट्रिय थारु साहित्य सम्मेलन बाँकेमा सम्पन्न भएको छ ।
थारु लेखक सङ्घ र थारु गोचाली समाज फत्तेपुरले आयोजना गरेको सम्मेलनको समापन गर्दै थारु लेखक सङ्घका अध्यक्ष डा. कृष्णराज सर्वाहारीले यो सम्मेलनले थारु साहित्यको विकास र जगेर्नाका लागि महत्त्वपूर्ण काम गरेको बताउनुभयो ।
दाङ, देउखुरी, बाँके, बर्दिया, कैलाली, कञ्चनपुर र सुर्खेतमा थारु साहित्यकारको अवस्था हेरेर लुम्बिनी प्रदेशमा प्रज्ञा प्रतिष्ठान बन्नु पर्ने आवश्यकता औँल्याउँदै उहाँले केन्द्रको प्रज्ञा प्रतिष्ठानमा पनि थारु सदस्यलाई प्राज्ञ बनाउनुपर्ने माग गर्नुभयो ।
थारु समुदायको कला संस्कृतिको खोज अनुसन्धान तथा इतिहासबारे दस्तावेजीकरण गर्ने उद्देश्यले थारु लेखक सङ्घले प्रत्येक वर्ष राष्ट्रिय सम्मेलनको आयोजना गर्दै आएको छ । ७ औँ राष्ट्रिय थारु साहित्य सम्मेलनमा ६ वटा विविध विषयमा छलफल, बहस गरिएको थियो ।
राप्ती सोनारीको विकासकालागि प्राथमिकताहरू, आदिवासी भाषा दशक र बाँकेको मातृभाषा, विकासमा वरघर, होमस्टेमा थारु समुदाय, आख्यानमा थारु, बाँकेमा थारु साहित्यको अवस्था, थारु साहित्यमा युवा र सिकलसेल एनिमियाको कहर: जनस्वास्थ्यमा प्रतिकुल असरबारे विषयगत सम्बन्धित ब्यक्तित्वहरुलाई प्यानलिस्ट बनाएर घनिभूत छलफल गरिएको थियो ।
बहसमा पत्रकार विमला चौधरी, लेखक तथा थारु कला संस्कृति खोजअनुसन्धान कर्ता शेखर दहित, सञ्चारकर्मी तथा वरघर अभियन्ता एकराज चौधरी, सञ्चार कर्मी तथा साहित्यकार नवीन अभिलाषी, साहित्यकार सागर गैह्रे, लेखिका वालिका चौधरी, सिकलसेल एनिमिया रोकथामका अभियन्ता प्रभुराम चौधरी, युवा साहित्यकार भूमिका थारुलगायतले सहजकर्ताको भूमिका निभाउनुभएको थियो ।
कोरोना कहरले यस वर्ष थारु भाषाका नयाँ पुस्तक धेरै प्रकाशित नभए पनि लक्ष्मी रानाले लेख्नुभएको सोरठ र गणेश वर्तमानले लेख्नुभएको ट्वाना उपन्यास र थारु क्यालेण्डर विमोचन गरिएको थियो ।
सम्मेलनमा पूर्व सुनसरी, मोरङदेखि सुदूरपश्चिमको कञ्चनपुरलगायतका जिल्लाबाट झण्डै तीन सय लेखक, पत्रकार, विश्लेषक, अध्येताहरूको सहभागिता थियो ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

